कमलमा सनातन धर्म संरक्षण समितिको हाजिरीजवाफ र सम्मान

कमल/  झापाको कमलमा श्री वैदिक सनातन धर्म संरक्षण समिति कमल गाउँपालिका समितिले पालिका भित्रका भजन कीर्तन मण्डलीहरुबीच हाजिरीजवाफ प्रतियोगिता सम्पन्न गरेको छ ।

प्रतियोगितामा श्री लक्ष्मीनारायण कीर्तन मण्डली कमल ६ पहिलो बनेको छ । त्यसैगरी श्री पाथिभरा कीर्तन मण्डली कमल ५ दोश्रो भएको छ भने मिलनहरी कीर्तन मण्डली कमल २ र ३ मिलनचोक तेस्रो बन्न सफल भएको छ ।
कमल गाउँपालिकाको वडा नम्बर ७ मा रहेको सिद्धेश्वर शिवालय मन्दिरमा आयोजित सो प्रतियोगिताको अवसरमा धार्मिक व्यक्तित्व आचार्य पण्डीत काशीनाथ नेपाललाई सम्मान समेत गरिएको आयोजक समितिका सहसचिव  सुरज गुरागाइँले जानकारी दिनु भयो ।

प्रतियोगितामा कमल गाउँपालिका उपाध्यक्ष प्रमिला न्यौपाने (तिवारी)को प्रमुख आतिथ्य रहेको थियो । प्रतियोगितामा पहिलो हुनेलाई नगद ११ हजार, दोश्रो हुने टोलीलाई ७ हजार ५ सय र तेस्रो हुने टोलीलाई ५ हजार १ सयसहित प्रमाण पत्र प्रदान गरिएको थियो । १ नम्बरदेखि ७ नम्बर सम्मका धार्मिक व्यक्तित्वहरु, बैदिक सनातन धर्मावलम्बीहरुको विशेष उपस्थिती रहेको थियो ।

 

मोटरबाट सिँचाई गर्ने क्रममा करेन्ट लागेर मृत्यु

दमक/ बिद्युत मोटरबाट खेतमा रोपाइँका लागि सिँचाई गर्ने क्रममा झापामा एक जनाको करेन्ट लागेर मृत्यु भएको छ । मृत्यु हुनेमा झापाको बुद्धशान्ती गाउँपालिका वडा नम्बर ३ सयपत्री टोलका ३९ बर्षिय रोशन जिमी रहेका छन् ।
आज आइतबार साँझ घर नजिकैको खेतमा सिचाइँका लागि पैनीबाट मोटर सेट गरी सिँचाई गर्ने प्रयास गर्दा करेन्ट लागेर उनको मृत्यु भएको हो । करेन्ट लागेर सख्त घाईते भएका जिमीलाई बिएण्डसी अस्पताल विर्तामोड ल्याइएकोमा साँझ करिब ७.१५ बजे चिकित्सकहरुले मृत घोषणा गरेका जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

दमकका गोकूल श्रेष्ठको नेतृत्वमा कोशी प्रदेश टेनिस संघ

दमक/ कोशी प्रदेश टेनिस संघ गठन भएको छ । कोशी प्रदेश सामाजिक बिकास मन्त्रालय अन्तर्गतको प्रदेश खेलकुद बिकास बोर्ड बोर्डले प्रदेशमा पहिलो पटक टेनिस संघ गठन गरेको हो ।
२२ असारको सदस्य सचिवस्तरीय निर्णय अनुसार झापा दमकका गोकूल श्रेष्ठको संयोजकत्वमा ११ सदस्यीय प्रदेश टेनिस संघ गठन गरिएको हो ।


संघका सदस्य सचिव कृष्ण बस्नेतका अनुसार संयोजक श्रेष्ठको नेतृत्वमा गठन भएको टेनिस संघमा प्रतापसिंह कार्की (मोरङ), किरण लामा (मोरङ) मो. वसिम अख्तर सुनसरी, सुवास आङथुपो (इलाम) , रोशन ढकाल (झापा) ,सुवासचन्द्र गड्तौला (पाँचथर), मुकेश मित्रुका (झापा) , निराशव प्रधान (झापा), रेशु तामाङ (सुनसरी) र विशाल श्रेष्ठ (सुनसरी) रहेका छन् ।

 

तीन जना बालकको डुबेर मृत्यु

दमक/ झापा र सुनसरीमा खोलामा पौडी खेल्ने क्रममा डुबेर तीन जनाको मृत्यु भएको छ । भद्रपुर ३ मेची खोलाको दोभानमा डुबेर एक जनाको र इटहरी उपमहानगरपालिका–१६ मा पर्ने मुर्रा खोलामा दुई जनाको मृत्यु भएको हो ।
कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरका अनुसार भद्रपुर–२ का अर्जुन लिम्बुको १३ बर्षीय छोरा अर्पण लिम्बु मेची खोलाको दोभानमा साथीहरु संग पौडी खेल्ने क्रममा डुबेर बेपत्ता भएकोमा प्रहरी चौकी किच्चकबदबाट खटिएको प्रहरी टोलीले उनको खोजी गर्ने क्रममा मृत अवस्थामा फेला पारेको हो ।
त्यस्तै असार २१ गते मुरा खोलामा पौडी खेल्ने क्रममा इटहरी–१६ का रमेश खत्रीको ९ बर्षीय छोरा युनिस खत्री र इटहरी–५ का बुद्दी परियारको ११ बर्षीय छोरा हेम बहादुर परियारको त्यहाँस्थित पानी जमेको दहमा डुबेर मृत्यु भएको हो । इलाका प्रहरी कार्यालय पकलीबाट खटिएको प्रहरी टोलीले दुबै बालकको उद्दार गरी उपचारको लागि सान्बी सिटी अस्पताल इटहरी पुरयाउने साथ चिकित्सकले मृत घोषित गरेका थिए ।

महाधिवेशन तोकिएसँगै झापाली तरुणहरु उत्साहित, शिवसताक्षीमा चुनियो नयाँ नेतृत्व

दमक/ झापाको शिवसताक्षी नगरमा नेपाल तरुण दलको आसन्न राष्ट्रिय महाधिवेशन केन्द्रित वडा अधिवेशनहरु सम्पन्न भएका छन् ।  तरुण दलको महाधिवेशन आगामी मंसिर २६ देखि २८ गते सम्म हुने तय भएको जनाइएको छ ।
यसअघि पार्टीले तरुण दल लगायतका भ्रातृ एवं भगिनी संस्थालाई गत चैत मसान्तसम्मको समय दिइएकामा सो अवधि भित्र महाधिवेशनको तयारी नभएपछि १८ असारमा अर्को मिति तय भएको हो ।
लामो समयदेखि निष्क्रिय रहेको नेपाल तरुण दलको राष्ट्रिय महाधिवेशनको मिति निर्धारण भएसँगै वडा तहमा अधिवेशन सम्पन्न गरिएको तरुण दलका नेता तुला बोखिमले जानकारी दिनु भयो ।

उहाँका अनुसार शिवसताक्षीको १ नम्बर वडामा जंग बहादुर माझीको अध्यक्षतामा तरुण दलको वडा समिति गठन भएको छ ।
त्यसैगरी वडा नम्बर २ मा नवीन गुरुङ, वडा नम्बर ३ मा सुमन कटुवाल, वडा नम्बर ४ मा बद्री गिरी, वडा ५ मा आकाश आङदेम्बे, ६ मा यादव बुढाथोकी, वडा ७ मा आइत लिम्बु वडा समिति अध्यक्ष चुनिएका छन् ।
त्यस्तै वडा नम्बर ८ मा युवराज भट्टराई, वडा नम्बर ९ मा महेन्द्र नाल्बो , १० मा सोमिल राई र वडा नम्बर ११ मा सन्त कुमार राईको अध्यक्षतामा वडा अधिवेशन सम्पन्न भई तरुण दलको नयाँ नेतृत्व चयन भइसकेको नेता बोखिमले जानकारी दिनु भयो ।

वडा अधिवेशनले सबै वडाबाट ३/३ जनाका दरले क्षेत्रीय प्रतिनिधिहरु पनि चुनिएको तरुण दलले जनाएको छ ।

तरुण दल झापा क्षेत्र नम्बर ५ का अध्यक्ष गोकूल श्रेष्ठले महाधिवेशनको मिति तय भएसँगै तरुणहरु उत्साहित भएको बताउँदै संगठन पुननिर्माणमा जुटेको बताउनु भयो । उहाँले भन्नु भयो– महाधिवेशन नहुँदा तरुणहरुमा रहेको अन्योलकाबीच नयाँ मिति तोकिएको कारण नयाँ नेतृत्वका लागि तरुणहरु जुर्मुराएका छन् । यसले तरुण दललाई मात्रै नभएर सिंगो पार्टी संगठन निर्माणमा पनि सकारात्मक भुमिका खेल्ने विश्वास लिएका छौं ।

 

पूर्वाधार बिकासमा फड्को मार्दै कमल, एकै बर्ष १६ किमि सडक कालोपत्रे

कमल/ कमल गाउँपालिका भित्र पुर्वाधार विकासको कामले फड्को मारेको छ ।

पूर्वाधारसँगै गाउँपालिका शिक्षा, स्वस्थ्य, कृषी ,युवा स्वारोजगार,महिलाको क्षमता विकासमा समेत अब्बल देखिएको छ ।

पुर्वाधार तर्फ कमल गाउँपालिकामा कालोपत्रे सडक सञ्जालले सबै वडालाई जोडिएको छ । चालु आर्थिक वर्ष २०८२÷०८३ मा मात्र गाउँपालिकाको आन्तरिक श्रोतबाट ७ किलोमिटर , संघ र प्रदेशबाट थप करीब ९ किलोमिटर गरि जम्मा १६ किलोमिटर सडक कोलोपत्रे भएको गाउँपालिका पूर्वाधार शाखा प्रमुख इञ्जीनियर सागर यादवले जानकारी दिनु भयो ।

कलोपत्रे भएका सडकमा आदित्य टोल खानेपानी सडक, दही चौक –जीवन चौक हुदै क्याम्पा जोड्ने सडक, पाथीभरा मार्ग, रेडक्रस जोड्ने सडक, बाह्रविघे महाभारा सडक, क्याम्पा समायगढ चौक लगायतका सडक कालोपत्रे भएका छन् ।

गाउँपालिकाको प्रशासनिक भवनको पहिलो तला सम्मको निर्माण कार्य सम्पन्न भएको छ भने दोश्रो तला निर्माणाधिन अवस्थामा रहेको र वडा नम्बर ६ मा आधारभुत स्वास्थ्य चौकी भवनको निर्माण कार्य समेत धमाधम अघि बढेको गाउँपालिका अध्यक्ष हुकुमसिंह राईले बताउनु भयो । उहाँले हरेक पूर्वाधार निर्माणमा कमल गाउँपालिकाबासीले प्रत्यक्ष चासो र सरोकार राख्दै निर्माणको गुणस्तरबारे सम्बन्धित निर्माण कम्पनी र नियमनकारी निकायलाई खबरदारी गर्ने काम भने जारी राख्नु पर्ने अवस्था रहेको उल्लेख गर्नु भयो ।

निर्माणको गुणस्तरमा स्थानीय सरकारले कसैसँग पनि कुनै किसिमको सम्झौता नगर्ने अध्यक्ष राईको प्रतिबद्धता छ । गाउँपालिका उपाध्यक्ष एवं योजना अनुगमन समिति संयोजक प्रमिला न्यौपाने तिवारीले निर्माणाधीन योजनाहरुमा अनुगमन समितिले अनुगमन निर्देशिका अनुसार तीन चरणमा अनुगमन गर्ने काम भइरहेको जानकारी दिनु भयो ।

अन्य पूर्वाधारतर्फ कमल ५ मा राधा गौर गोविन्द मन्दिरको भवन निर्माण भइरहेको छ । त्यस्तै वडा नम्वर २ मा महेन्द्ररत्न माध्यमिक विद्यालयको गेट निर्माण सहित खेल मैदानको स्तरउन्नती योजना सञ्चालनमा छ भने गुरुङ्गटोल सडक कालोपत्रे , सिता चौक नौलो चौक सडक कालोपत्रे गर्ने काम सम्पन्न भएको गाउँपालिकाको पूर्वाधार शाखाले जनाएको छ ।

कमल गाउँपालिकाले गाउँपालिका भित्र संचालनमा रहेका सबै सामुदायिक विद्यालयहरुमा सके सम्म एक रुपता ल्याउनका लागि सबै विद्यालयमा पहेलो रङ लगाइएको छ ।

भौतिक पुर्वाधार तर्फ सभाहल सहितका भवन निर्माण भएका छन् भने विद्ययालयमा सुविधा सम्पन्न शौचालय निर्माण गर्ने काम भइरहेको छ ।

विद्यालयको अनुगमनलाई प्रभावकारी बनाउन सीसी क्यामेरा जडान गरिएको छ । त्यस्तै विद्याार्थीलाई अतिरिक्त कृयाकलापका लागि नृत्य र भलिवल प्रशिक्षक नियुक्ति गरेको गाउँपालिका शिक्षा युवा तथा खेलकुद शाखा प्रमुख सुर्य प्रसाद न्यौपानेले जानकारी दिनुभयो ।

डाँफे सामुदायिक सहकारीको १९ औं स्थापना दिवस, रक्तदान र ५१ जना उत्कृष्ट सदस्यहरु पुरस्कृत

दमक/ झापाको दमक ५ मा सञ्चालित डाँफे सामुदायिक बचत तथा ऋण सहकारी संस्थाले १९ औं स्थापना दिवस मनाएको छ ।
शुक्रबार संस्थाले रक्तदान र शेयर सदस्यहरुको सम्मान तथा सहकारी अभियान्ता र सदस्यहरुबीच अन्तरक्रियात्मक कार्यक्रम गरेको हो । सो अवसरमा कूल ५१ जनाले रक्तदान गरेका संस्थाका व्यवस्थापक शंकर नेपालले जानकारी दिनु भयो ।

कार्यक्रममा आफ्ना शेयर सदस्यहरुमाझ संस्थाको हाल सम्मको वित्तीय अवस्थाबारे जानकारी गराउँदै उत्कृष्ट कारोबार गर्ने सदस्यहरुलाई पुरस्कृत एवं सम्मान प्रदान गरेको छ ।
कार्यक्रममा उत्कृष्ट कारोबार गर्ने संस्थाका शेयर सदस्यहरु कुमार राई, मैना दाहाल, गोपाल ढुंगेल, खेमनाथ सापकोटा, देवीमाया कटुवाल, खगेन्द्र खतिवडा, लिलादेवी भट्टराई, युनिसा भट्टराई, सदिक्षा उप्रेती लगायत ५१ जनालाई पुरस्कृत गरिएको थियो ।
संस्थाका अध्यक्ष तुलाराम न्यौपानेको अध्यक्षता र राष्ट्रिय सहकारी महासंघका वरिष्ठ उपाध्यक्ष रमेशकुमार पोखरेलको प्रमुख आतिथ्यमा आयोजित सो कार्यक्रममा सहकारी अभियान्ताहरु र संस्थाका सदस्यहरुबीच सघन छलफल र अन्तरक्रिया समेत सञ्चालन गरिएको थियो ।


संस्थाका अध्यक्ष न्यौपानेले संस्थाको हालको वासलात ९३ करोड रुपैयाँ बराबरको रहेको जानकारी गराउनु भयो ।
सो अवसरमा संस्थाले हाल महिला शेयर सदस्यहरुलाई लक्षित गर्दै अधिकतम १० लाख रुपैयाँ सम्म महिला उद्यमी कर्जा लगानी गर्ने नीति लिएको जानकारी गराइएको थियो । संस्थामा कूल ८ हजार २ सय २१ शेयर सदस्यहरु रहेको पनि कार्यक्रममा जानकारी गराइयो ।


सो अवसरमा अवकाशको सन्मुखमा रहनु भएका कोशी प्रदेश सहकारी रजिष्टार हरीबहादुर खत्रीलाई डाँफे सामुदायिक साकोस र जिल्ला बचत तथा ऋण सहकारी संघ झापाका तर्फबाट सम्मान समेत गरिएको थियो ।
सो संस्थाको स्थापना दिवस विशेष कार्यक्रमको उदघाटन गर्दै प्रमुख अतिथी राष्ट्रिय सहकारी महासंघका वरिष्ठ उपाध्यक्ष रमेश पोखरेलले देशभरका सहकारी संस्थाहरुमा ११ खर्ब रुपैयाँ बराबरको कारोबार रहेबाट पनि मुलुकको अर्थतन्त्रको ठुलो हिस्सा सहकारी क्षेत्रले ओगटेको उल्लेख गर्नु भयो । उहाँले सहकारी संस्थाहरुलाई सरकारले हेर्ने दृष्टिकोणमा परिवर्तनको खाँचो रहेको पनि औंल्याउनु भयो ।

कार्यक्रममा सम्मानित व्यक्तित्व रजिष्टार खत्री, जिल्ला सहकारी संघ झापाका अध्यक्ष प्रेम कोइराला, मेची सहकारी संस्थाका सचिव राजेन्द्र दाहाल, मेनेजर्स क्लब झापाका अध्यक्ष खोमप्रसाद बगाले लगायत सहकारी क्षेत्रका अगुवा अभियान्ताहरुले शुभकामना मन्तव्य राख्दै सहकारीहरुबीचको एकता, अभियानका क्रममा देखिएका समस्या, राज्यको दृष्टिकोण, सरकारले लिएको सहकारी सम्बन्धिको कर्जा नीति आदीका बारेमा भनाईहरु राख्नु भएको थियो । संस्थाका उपाध्यक्ष सन्तोष श्रेष्ठले स्वागत मन्तव्य राख्दै संस्थाको इतिहासदेखि वर्तमान अवस्थाका बारेमा जानकारी गराउनु भएको थियो भने संस्थाका सचिव लिलानाथ खनालले सञ्चालन गर्नु भएको थियो ।

कमलको शैक्षिक क्षेत्रमा सम्मान र बिद्यार्थीलाई नगद छात्रवृत्ती

  कमल /   कमल गाउँपालिकाले पालिका भित्रका उत्कृष्ट विद्यालय व्यवस्थापन समिति , अवकाश प्राप्त तथा कार्यरत शिक्षक , कर्मचारीलाई सम्मानसँगै बिद्यार्थीहरुलाई नगद छात्रवृत्ति वितरण गरेको छ ।

१९ असारमा कमल २ स्थित महेन्द्ररत्न माध्यमिक विद्यालयको सभाकक्षमा आयोजित कार्यक्रमबीच एसइइ परीक्षा २०८१ मा शतप्रतिशत विद्यार्थीलाई उत्कृष्ट ग्रेड हासिल गराउन सफल कमल १ स्थित बाँसवारी माध्यमिक विद्यालयका प्रधानाध्यापक केशर बहादुर श्रेष्ठ लगायत विभिन्न विद्यालयमा कार्यरत शिक्षक र कर्मचारी गरी २० लाई सम्मान पत्र , खादा र नगद ८ हजार रुपैयाँसहित सम्मान गरिएको हो ।

गाउँपालिका अध्यक्ष हुकुमसिंह राई र उपाध्यक्ष प्रमिला न्यौपानेले सम्मानितहरुलाई सम्मान गर्नुभएको थियो । उत्कृष्ट विद्यालयको रुपमा बाँसवारी माबिलाई सम्मान पत्र सहित नगद ३० हजार रुपैयाद्वारा सम्मान गरिएको हो
उत्कृष्ट अध्यक्षको सम्मान राईलाई
त्यसैगरी गरी लामो समय बिद्यालयमा अध्यापन गराई सेवा निवृत्त हुनुभएका १२ जना शिक्षकलाई समेत सम्मान पत्र र खादाले सम्मान गरिएको थियो । त्यस्तै विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हरु मध्ये वडा नम्बर २ स्थित महेन्द्र रत्न माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष पवन राईलाई सम्मान पत्र र खादा द्वारा सम्मान गरिएको थियो ।
त्यसैगरी कमल गाउँपालिका भित्र सञ्चालनमा रहेका सामुदायिक विद्यालयमको शैक्षिक तथा भौतिक सुधारका साथै विद्यालयमा शुद्ध पिउने पानीको व्यवस्थापनका लागि उत्कृष्ट कार्य गरेकोमा वर्क फर नेपाललाई समेत सम्मान गरिएको थियो ।
त्यसैगरी कक्षा ११ र १२ मा अध्यायनरत सिमान्तकृत ६८ जना विद्यार्थीलाई जनही ४ हजार ३ सय रुपैया, ११ जना दलित विद्यार्थीलाई १५ हजार देखी ५० हजार रुपैया सम्म र बुबा आमा विहीन १४ जना विध्यार्थीलाई ३ हजार देखी १० हजार रुपैया सम्म छात्रवृत्ति प्रदान गरिएको थियो ।
त्यसैगरी कमल गाउँपालिका वडा नम्वर २ स्थित महेन्द्ररत्न माध्यमिक विद्यालय र कमल ७ स्थित सरस्वती माध्यमिक विध्यालयमा प्राविधिक विषय अध्यायनरत २१ जना विध्यार्थीलाई जनही २३ हजार ५ सय रुपैयाका दरले छात्रवृत्ति प्रदान गरिएको थियो ।

कमल गाउँपालिकाका सामुदायिक बिद्यालयहरुले यस बर्षको एसइइ परीक्षाको नतिजामा ७१ प्रतिशत बिद्यार्थीलाई ग्रेड हासिल गराउन सफल भएपछि कमलको शिक्षा क्षेत्रमा यसले राम्रो सन्देश दिएको छ । सामुदायिक शिक्षालाई उत्कृष्ट बनाउन कुनै एक पक्षको प्रयासबाट मात्रै सम्भव नहुने भन्दै गाउँपालिका अध्यक्ष राईले सबैको साझा प्रयासबाटनै यस किसिमको सफलताको उचाई बढ्दै जाने बताउनु भयो । गाउँपालिका भित्र सञ्चालनमा रहेका सामुदायीक विद्यालयमा कार्यरत शिक्षकहरुलाई सम्मानसहित प्रोत्साहनका कार्यक्रम ल्याइएको उहाँले बताउनु भयो । सेवा निवृत्त र कार्यरत शिक्षकलाई समेत एउटै मञ्चमा राखेर सम्मान गर्न पाउदा खुशी लागेको र यसलाई समेत निरन्तता दिने राईले बताउनु भयो । त्यसैगरी हुने खाने र हुँदा खाने बिचको अन्तरलाई हटाउदै सबै कमलबासीलाई समान शिक्षा पाउनु पर्छ भनेर गाउँपालिकाले अभिभावक विहीन, सिमान्तकृत दलित विद्यार्थीलाई छात्रवृत्ति समेत प्रदान गरेको अध्यक्ष राईले बताउनु भयो ।

गाउँपालिका उपाध्यक्ष न्यौपानेले बिद्यार्थीहरुले पाएको छात्रवृत्ति रकमलाई सहि ठाउँमा उपयोग गर्न सुझाव दिनुभयो । कमल गाउँपालिकाकाको शिक्षा सुधार गर्न जनप्रतिनिधी र शिक्षक मिलेर अघि बढ्न सक्नु पर्छ – न्यौपानेले भन्नु भयो । कमल २ का वडाध्यक्ष अशोक सुब्बाले सम्पुर्ण शिक्षकहरु बिगतमा रहेका कमी कम्जोरीलाई सच्याउँदै आफ्नो ठाउँको शैक्षिक सुधारमा सकारात्मक सोच राखेर एकजुट भएर लाग्नुपर्ने बताउनु भयो ।
पछिल्लो समय कमल गाउँपालिकाले शिक्षाको क्षेत्रमा गरेको योगदानले गाउँपािलकाको समग्र शैक्षिक गुणस्तरमा धेरै सुधार आएको कमल ५ स्थित मंगलमय माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष टिकाराज सापकोटाले बताउनु भयो ।


त्यसैगरी सेवा निवृत्त शिक्षकका तर्फबाट गोपाल चन्द्र भुजेलले सम्मानित हुन पाएकोमा गाउँपालिका प्रति आभार व्यक्त गदै धन्यवाद दिनुभयो ।
कार्यक्रम शिक्षा युवा तथा खेलकुद शाखामा प्राविधिक सहायक तथा कार्यक्रम संयोजक रविन गौतमले सञ्चालन गर्नु भएको थियो भने शाखा प्रमुख सुर्य प्रसाद न्यौपानेले स्वागत गर्नु भएको थियो ।

अनुदान आयोगको सहयोगमा प्राध्यापकहरूको क्षमता विकास तालिम

दमक/  विश्व बिद्यालय अनुदान आयोग (युजीसी)को सहयोगमा पूर्व क्षेत्रका सामुदायिक क्याम्पसका प्राध्यापकहरुको क्षमता बिकासका लागि महत्वपूर्ण तालिम झापाको दमकमा शुरु भएको छ ।

आयोगको परियोजना सञ्चालनमा रहेका झापा, मोरङसहित पूर्व क्षेत्रका विभिन्न जिल्लाका १३ वटा सामुदायिक क्याम्पसका प्रतिनिधिमुलक ३० जना प्राध्यापकहरु सम्मिलित सो तालिम दमक बहुमुखी क्याम्पसको आयोजनामा शुरु भएको हो ।
६ दिन सम्म सञ्चालन हुने सो तालिमको मंगलबार उदघाटन गर्दै विश्व बिद्यालय अनुदान आयोगका अध्यक्ष प्राध्यापक डा. देवराज अधिकारीले देशभरका ८४ वटा सामुदायिक क्याम्पसहरुको अवस्था दयनीय रहेको उल्लेख गरे । अध्यक्ष प्रा.डा. अधिकारीले नेपालको उच्च शिक्षामा बिद्यार्थीहरुको आकर्षण घट्दै जानुले समग्र मुलुकको अवस्था चिन्ताजनक भएको बुझ्न सकिने भएकाले यसको जड अर्थात कारण पहिचान गरिनुपर्नेमा जोड दिए ।

उनले हालै विदेशका युनिभर्सिटीहरुमा अध्ययनका लागि जान लागेका ३ सय ९३ जना बिद्यार्थीहरुसँग गरिएको सोध अनुसन्धानले नेपालको शैक्षिक गुणस्तरका कारण उनीहरु विदेश अध्ययनका लागि जान लागेका नभई यहाँको सामाजिक र राजनीतिक कारणले जान लागेको तथ्य पहिचान भएको अध्यक्ष प्रा.डा अधिकारीले सार्वजनिक गरे ।
शिक्षालाई विश्वसनीय र विश्व बजारमा बिक्ने र टिक्ने गुणस्तरको बनाउन नीतिगत पहलको खाँचो रहेको कार्यक्रमका वक्ताहरुले जोड दिए । उनीहरुले रोजगारसहितको शिक्षा अर्थात कमाउँदै पढ्दै गर्ने किसिमको शिक्षा भए नेपाली बिद्यार्थीहरुको विदेश पलायन रोक्न सकिने साझा धारणा राखे ।
दमक बहुमुखी क्याम्पस सञ्चालक समितिका अध्यक्ष ढुण्डीराज भण्डारीको अध्यक्षतामा भएको उदघाटन कार्यक्रममा दमक नगरपालिकाका प्रमुख रामकुमार थापा, आयोगका सल्लाहकार एवं तालिमका मुख्य प्रशिक्षक प्राध्यापक डाक्टर ह्रदयराज बज्राचार्य, पब्लिक क्याम्पस कोशी प्रदेशका कार्यवाहक अध्यक्ष अर्जुन अधिकारी, दमक बहुमुखी क्याम्पसका सञ्चालक समितिका पूर्व अध्यक्ष सुरेश सुब्बा, सदस्य अम्बिका खनाल लगायतले सञ्चालित तालिमको उपयोगिताका विषयमा चर्चा गरेका थिए ।
दमक बहुमुखी क्याम्पसका प्रमुख यज्ञराज गिरीले स्वागत मन्तव्य राखेको सो कार्यक्रमको सञ्चालन सञ्चालन प्राध्यापक डिल्लीप्रसाद भट्टराईले गरेका थिए ।

 

 

सन्ध्यालाई उच्च शिक्षामा लायन्स क्लबकी अध्यक्ष विनिताको सहयोग

दमक/ सामाजिक सेवाका क्षेत्रमा क्रियाशील अन्तर्राष्ट्रिय सञ्जाल भएको सामाजिक संस्था लायन्सको नयाँ कार्यकाल आज जुलाई १ बाट विश्वभर सुरु भएको छ ।

लायन वर्ष २०२५/२६ का संसारभरका लायन गभर्नरहरुले र उनीहरु मातहतका लायन्स क्लबहरुका नेतृत्वले आफ्नो कार्यकालका लागि विभिन्न योजनासहित जुलाई १ बाट कार्यकाल सुरु गरेका छन् ।
यसै सन्दर्भमा झापाको गौरादह क्षेत्रमा क्रियाशील लायन्स क्लब अफ गौरादहको प्रेसिडेन्टका रुपमा सो क्लबको नेतृत्व विनिता अधिकारी (कट्वाल)ले लिएकी छिन् ।

सामाजिक तथा धार्मिक परिवारकी एक सदस्य उनले आफ्नो कार्यकालको पहिलो दिन मंगलबार एक जना दलित बिद्यार्थीको प्लस टु (कक्षा ११–१२ ) को शैक्षिक खर्च ब्योहेर अभिभावकत्व लिँदै शुरु गरेकी छिन् । लायन्स चिल्ड्रेन पार्क गौरादहमा आज आयोजित कार्यक्रमबीच अध्यक्ष कटवालले गौरादह १ की सन्ध्या शिवा दर्जीको उच्च शिक्षाका लागि शैक्षिक सहयोग गरेकी हुन् । सन्ध्या गौरादहस्थित अमर माविबाट यस बर्षको एसइइ परीक्षामा ३.४ जीपिए हासिल गरेर उच्च शिक्षाका लागि योग्य बनेकी हुन् ।