गुरु पूर्णिमामा समर्पण र सम्मान

काठमाडौँ / आज आषाढ शुक्ल पूर्णिमा, अर्थात् गुरु पूर्णिमा । आफूलाई अज्ञानको अन्धकारबाट ज्ञानको उज्यालोतर्फ डोऱ्याउने गुरुप्रति श्रद्धा, भक्ति र सम्मान अर्पण गरी देशभर यो पर्व भव्यताका साथ मनाइँदै छ । यो दिन शिष्यहरूले आफ्ना गुरुहरूलाई सम्झने र उनीहरूबाट प्राप्त ज्ञान तथा मार्गदर्शनका लागि कृतज्ञता प्रकट गर्ने विशेष अवसर हो ।

वैदिक सनातन परम्परामा आजको दिनलाई महाभारत, अठार पुराण, उपनिषद्लगायत विशाल ज्ञानराशिका रचयिता महर्षि वेद व्यासको जन्मजयन्तीका रूपमा पनि मनाइन्छ । व्यासले वैदिक ज्ञानलाई व्यवस्थित गरी मानव सभ्यतालाई अमूल्य गुन लगाएकाले उनलाई ‘आदि गुरु’ मानिन्छ र यसै दिनलाई ‘व्यास जयन्ती’ का रूपमा पनि श्रद्धापूर्वक स्मरण गरिन्छ ।

संस्कृत भाषामा ‘गु’ को अर्थ अन्धकार र ‘रु’ को अर्थ प्रकाश हुन्छ । अर्थात्, अज्ञानरूपी अन्धकारबाट ज्ञानरूपी प्रकाशतर्फ लैजाने व्यक्ति नै गुरु हो । शास्त्रमा भनिएको छ, “गिरति अज्ञानं इति गुरुः” अर्थात् जसले अज्ञानलाई हटाउँछ, उही गुरु हो । यसर्थ, गुरु केवल अक्षर चिनाउने शिक्षक मात्र नभई जीवनलाई सही दिशा दिने हरेक पथप्रदर्शक हुन् ।

यस दिन शिष्यहरूले आफ्ना गुरुलाई भेटेर वा सम्झेर फूलमाला, मिष्ठान्न र उपहार प्रदान गरी आशीर्वाद लिने गर्दछन् । गुरुलाई मातापितासरह सम्मान गर्ने हाम्रो वैदिक परम्परा छ । आजभोलि विद्यालय, महाविद्यालयदेखि विभिन्न संघसंस्था र आध्यात्मिक केन्द्रहरूमा समेत विशेष कार्यक्रम आयोजना गरी गुरुहरूको सम्मान गर्ने चलन छ ।

दुर्घटनामा एकै परिवारका ससुराको मृत्यु, बुहारी र नाती गम्भीर घाईते

दमक/ झापाको बाह्रदशीमा भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु हुनका साथै एकै परिवारका अन्य दुई जना गम्भिर घाईते भएका छन् । जिल्ला प्रहरी कार्यालय झापाका अनुसार बाह्रदशी १ खैरबारीमा बुधबार दिउँसो करिब सवा ३ बजे भएको दुर्घटनामा कचनकवल गाउँपालिका वडा नम्बर ३ का ६० बर्षिय श्रीप्रसाद राजवंशीको मृत्यु भएको हो ।
त्यसैगरी दुर्घटनामा २७ बर्षीया बुहारी उर्मिला राजवंशी र ३ बर्षका नाती आयुष राजवंशी गम्भीर घाईते भएका छन् । प्रहरीका अनुसार द्यच्घठब्श् टद्धद्धण् नम्बरको मोटरसाइकल र बिपरीत दिशावाट आउदै गरेको प्र.१–०१–०१६ प ९२७० नम्बरको स्कुटर ठोक्किँदा सो दुर्घटना भएको हो ।

कमलका २२ जना ज्येष्ठलाई कृत्रिम दाँत उपहार

दमक/ झापाको कमल गाउँपालिकाले ज्येष्ठ नागरिकहरुलाई कृत्रिम दाँत उपहार दिएको छ ।
गाउँपालिकाको सामाजिक विकास शाखाको सो कार्यक्रम अन्तर्गत शाखाको आर्थिक अनुदान तथा आमा डेन्टल केयर प्रा.लि.दमकको प्राविधिक सहयोगमा गाउँपालिका भित्रका २२ जना ज्येष्ठहरुलाई विशेषज्ञ चिकित्सकहरुको सिफारिसमा दाँत लगाइएको हो ।

कमल गाउँपालिका उपाध्यक्ष प्रमिला न्यौपाने (तिवारी)ले गाउँपालिकामा यस बर्ष सञ्चालनमा ल्याइएको सो कार्यक्रम नौलो र ज्येष्ठ नागरिक सेवामैत्री रहेको जानकारी दिनुु भयो ।
उहाँका अनुसार कमल गाउँपालिकाका सात ओटै वडाहरुबाट छनौट हुनु भएका २२ जना ज्येष्ठ नागरिकहरूलाई कृत्रिम पुरासेट दाँत उपहार कार्यक्रम अन्तर्गत दाँत लगाइएको छ । दाँत लगाइएपछि ज्येष्ठ नागरिकहरु खुशी भएका छन् । आमा डेन्टलले सो गाउँपालिकामा रहेको कमल नगर अस्पतालमा हरेक हप्ताको दुई दिन आइतबार र बिहिबार ओपीडि सेवासहित दाँत सम्बन्धिको उपचार तथा परामर्श सेवा प्रदान गर्दै आएको छ ।

 

नेप्से परिसूचकमा दोहोरो अङ्कको वृद्धि

काठमाडौं/ नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कको वृद्धि देखिएको छ । आज नेप्से परिसूचक २२ दशमलव शून्य चार अङ्कले बढेर दुई हजार ७०५ दशमलव ९० को विन्दुमा कायम भएको हो ।

आज ३१६ कम्पनीको एक करोड ५८ लाख २२ हजार ९७० कित्ता शेयर ६२ हजार ८८४ पटक खरिदबिक्री हुँदा सात अर्ब ४५ करोड १८ लाख ७७ हजार १०२ बराबरको कारोबार भएको छ ।

आजको कारोबारमा वित्त समूह शून्य दशमलव ३८ र म्युचुअल फण्ड शून्य दशमलव शून्य एक प्रतिशतले घटेको छ भने अरु सबै समूहको उपसूचक बढेको छ ।

सबैभन्दा बढी बैंकिङ एक दशमलव ६८ र लगानी समूह एक दशमलव ३७ प्रतिशतले बढेको छ । विकास बैंक शून्य दशमलव ३४, होटल तथा पर्यटन शून्य दशमलव २८, जलविद्युत् शून्य दशमलव ५४, जीवन बिमा शून्य दशमलव २४, उत्पादन तथा प्रशोधन शून्य दशमलव ९५, लघुवित्त शून्य दशमलव ८५, निर्जीवन बिमा शून्य दशमलव २४, व्यापार शून्य दशमलव ३४ र अन्य समूह शून्य दशमलव ३० प्रतिशतले बढेको छ ।

वरुण हाइड्रोपावर कम्पनी लिमिटेडको शेयर मूल्य आज सबैभन्दा बढी छ दशमलव २१ प्रतिशतले बढेको छ । सबैभन्दा बढी ग्रीन डेभलपमेन्ट बैंक लिमिटेडको शेयर मूल्य चार दशमलव ४१ प्रतिशतले घटेको छ ।

सरकार–चिकित्सक संघबीच सहमति, अस्पतालको सेवा सूचारु हुने

काठमाडौं/ उपभोक्ता अदालतको फैसलालाई लिएर आन्दोलनमा रहेका चिकित्सक र सरकारबीच तीन बुँदे सहमति भएको छ ।
आन्दोलनरत चिकित्सक र सरकारबीच तीन बुँदे सहमति गर्दै संघले आन्दोलनका कार्यक्रम फिर्ता लिने निर्णय गरेको हो ।
सरकारसँग सहमति गर्दै नेपाल चिकित्सक संघ लगायतका सरोकारवाला संघ संस्थाहरुले सबै किसिमका आन्दोलन आजैका मितिदेखि स्थगन गरी नियमित सेवा सुचारु गर्ने निर्णय गरेको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा संघका पदाधिकारीसहित स्वास्थ्यमन्त्री प्रदीप पौडेल, कानून मन्त्री अजय चौरसिया र उद्योगमन्त्री दामोदर भण्डारीबीच भएको छलफलमा सहमति भएको हो ।
विभिन्न माग राखी आन्दोलनरत नेपाल चिकित्सक संघ तथा विभिन्न संघ संस्था एवं सरोकारवालाहरुका मागहरुको यथोचित सम्बोधन गर्न विद्यमान कानूनी एवं नीतिगत व्यवस्थामा आवश्यक संशोधनलगायतका विषयमा ७ दिनभित्र सुझाव सहितको प्रतिवेदन पेश गर्ने गरी कार्यदल गठन गर्ने निर्णय भएको छ।
कार्यदलबाट प्राप्त प्रतिवेदन तीनैजना मन्त्री र नेपाल चिकित्सक संघ लगायतका सरोकारवाला पक्षहरु सम्मिलित यसै वार्ता टोलीमा पेश गरी सोही अनुसार कार्यान्वयन गर्ने, “उपभोक्ता संरक्षण ऐन, २०७५” लगायतका विद्यमान कानूनी तथा नीतिगत व्यवस्थाको आवश्यक संशोधनका लागि ७ दिनभित्रमा नेपाल सरकार मन्त्रिपरिषदबाट सम्बन्धित मन्त्रालयले सैद्बान्तिक सहमति लिने र फाष्टट्रयाकबाट कानून संशोधनका लागि यथाशीघ्र प्रकृया अगाडि बढाउने निर्णय भएको छ।

रोटरी क्लब अफ दमकको १४ औं पदस्थापन

दमक/ झापाको दमकमा सामाजिक गतिबिधिमा क्रियाशील अन्तराष्ट्रिय सञ्जाल भएको सामाजिक संस्था रोटरी क्लब अफ दमकको १४ औं पदस्थापन कार्यक्रम सम्पन्न भएको छ ।
रोटा बर्ष २०२५/०२६ का लागि क्लबकोे नेतृत्व लिएका दमकका युवा व्यवसायी केशवकुमार अग्रवालले सोमबार साँझ दमकमा आयोजित पदस्थापन समारोहका बीच सपथ लिँदै क्लबको नेतृत्व लिनु भएको छ ।
क्लबका अध्यक्ष अग्रवालले सपथपछि रोटरीको मुल्य मान्यता भित्र रहेर यसको साखलाई उचो बनाउने प्रतिबद्धता जनाउनु भयो । उहाँलाई रोटरी क्लबका डिजी ( डिस्ट्रीक गभर्नर) विनोद कोइरालाले पद तथा गोपनियताको सपथ गराउनु भयो । उहाँले आफ्नो कार्यकालदेखिनै बर्षेनी रोटरी क्लब मार्फत आफ्ना हजुरबुबाको स्मृतिमा सामाजिक कामका लागि २५ हजार रुपैयाँका दरले योगदान दिने बताउनु भयो ।

स्थानीय सरकारका रुपमा रहेको दमक नगरपालिकाका प्रमुख रामकुमार थापा, उपप्रमुख रेगिना भट्टराईसहित विभिन्न वडाका वडाध्यक्षहरु, रोटरी क्लबका डिस्ट्रिक गभर्नर विनोद कोइरालासहित विभिन्न रोटरी क्लबका विशिष्ट व्यक्तित्वहरुको विशेष उपस्थितीका बीच नवनियुक्त अध्यक्ष अग्रवालले रोटरी क्लब अफ दमकको बोर्डको टिमलाई सपथ ग्रहण गराउनु भयो ।


सो अवसरमा रोटरी क्लब अफ दमकले बर्षेनी प्रदान गर्दै आएको रोटरी पत्रकारिता पुरस्कार पत्रकार अनिलदेव राईलाई प्रदान गरियो । दुई दशक अघिदेखि पत्रकारितामा क्रियाशील पत्रकार राईलाई पत्रकारिता मार्फत रोटरी क्लब र सिंगो समाजलाई दिएको योगदानको मुल्याङकन गर्दै पुरस्कार एवं सम्मान प्रदान गरिएको क्लबले जनाएको छ ।


सो कार्यक्रममा रोटरी क्लब अफ दमकका निवर्तमान अध्यक्ष विक्रमकुमार साहले आफ्नो कार्यकालमा रोटरी क्लब मार्फत समाजमा गरिएका कामहरुको फेहरिस्त प्रस्तुत गर्दै आफूलाई सहयोग पुरयाउने व्यक्तित्वहरुलाई धन्यवादसहित मायाको चिनो प्रदान गर्नु भयो । क्लबका नोमिनेट प्रेसिडेन्ट सागर श्रेष्ठले सहभागीहरुलाई स्वागत मन्तव्य राख्नु भएको थियो भने क्लबका पूर्व अध्यक्षहरु नविन श्रेष्ठ, भरत चम्लागाइँ, गंगाप्रसाद काफ्ले, पदमराज बराल लगायतको विशेष भुमिका रहेको थियो । पूर्व क्षेत्रका विभिन्न शहरबाट आएका रोटरी क्लबका अध्यक्ष तथा प्रतिनिधिहरुको उपस्थिती रहेको थियो ।

अस्पतालहरुमा चिकित्सकहरुले नै यसकारण गरे सेवा बन्द

काठमाडौं/ नेपाल चिकित्सक संघले आज देशैभरका अस्पतालमा आकस्मिक बाहेकका सेवा बन्द गरेको छ । विरोधस्वरुप देशभरका चिकित्सक तथा स्वास्थ्यकर्मीहरूलाई असार १७ गतेदेखि कालोपट्टी बाँधेर सेवा दिन आह्वान गरेको संघले आज आकस्मिक बाहेकका सेवा बन्द गरेको हो ।

उपभोक्ता अदालतले चिकित्सकीय अभ्याससम्बन्धी पछिल्ला मुद्दामा सुनाएको फैसलाले नेपाल मेडिकल काउन्सिलको क्षेत्राधिकारमाथि हस्तक्षेप भएको भन्दै संघले कानुन संशोधनमार्फत चिकित्सकीय मुद्दा हेर्ने अधिकार मेडिकल काउन्सिलमा मात्रै सीमित गरिनुपर्ने माग गर्दै आएको छ ।  दमक अस्पतालका प्रशासन प्रमुख एवं सुचना अधिकारी डा. अनुपम घिमिरेले चिकित्सक संघले केन्द्रदेखिनै घोषणा गरेको आन्दोलनका कार्यक्रमहरुमा दमक अस्पतालमा कार्यरत चिकित्सकहरुले पनि ऐक्यबद्धता र समर्थन जनाएको जानकारी दिनु भयो । उहाँले अस्पतालमा आकस्मिक सेवा प्रवाह भने भइनै रहेको उल्लेख गर्नु भयो ।

संघले आवश्यक परे थप कडा आन्दोलनका कार्यक्रम ल्याउने चेतावनी समेत दिएको छ । केही साता यता उपभोक्ता अदालतले उपचारमा लापरवाही गरेको मुद्दामा बिरामीका आफन्तको पक्षमा फैसला गरेको थियो ।

जसमा उपभोक्ता अदालतले ओम अस्पतालले ५० लाख ७० हजार, हिमाल अस्पताल र उपचारमा सम्लग्न चिकित्सकले १ करोड ४५ लाख रुपैयाँ र ग्राण्डी सिटी अस्पताल र त्यहाँ उपचारमा कार्यरत चिकित्सकले ५७ लाख रुपैयाँ क्षतिपूर्ति बिरामी पक्षका परिवारलाई तिर्नुपर्ने फैसला गरेपछि चिकित्सकहरु आन्दोलनमा उत्रिएका छन् ।

बाल अदालतकोे वेवसाइट नबन्दा सेवाग्राही हैरान

भक्तपुर/ बालबालिका सम्बन्धी मुद्दाको सुनुवाइका लागि स्थापना गरिएको बाल अदालत भक्तपुरमा अहिलेसम्म आधिकारिक वेवसाइट निर्माण नहुँदा सेवाग्राही तथा कानुन व्यवसायीहरू हैरान भएका छन्।

बाल अदालत भक्तपुरमा काठमाडौं, ललितपुर, भक्तपुर र काभ्रे जिल्लाका बालबालिकासँग सम्बन्धित मुद्दाहरू दर्ता हुने गरेका छन्। तर वेवसाइटको अभावका कारण पेशी सम्बन्धी जानकारीका लागि सेवाग्राही तथा कानुन व्यवसायीहरू प्रत्यक्ष अदालत जान बाध्य छन्।

भक्तपुर बाहेकका तीन जिल्लाबाट आउने कानुन व्यवसायीहरू वेव पेज नहुँदा समस्या व्यहोर्नुपरेको बताउँछन्। उनीहरूका अनुसार सानो सूचना थाहा पाउनसमेत अदालत धाउनु पर्ने बाध्यता रहेको छ। भक्तपुरका कानुन व्यवसायीहरू समेत अदालतमै पुगेर पेशी हेर्नुपर्ने अवस्था रहेको बताएका छन्।

भक्तपुर बाल अदालतका श्रेष्तेदार दिलसोभा सुवालले वेवपेज निर्माणको काम भइरहेको जानकारी दिँदै छिट्टै सेवा लिन सहज हुने बताइन । “छिट्टै वेवसाइट तयार हुन्छ, त्यसपछि सूचना प्रवाह सहज हुनेछ,” उनले भनिन।

हाल बाल अदालत भक्तपुरमा करिब २५० वटा बालबालिकासम्बन्धी मुद्दाहरू विचाराधीन अवस्थामा छन्। अदालतमा न्यायाधीश उपेन्द्र प्रसाद गौतम एकल ईजलनसबाट मुद्दाको सुनुवाइ भइरहेको छ।

वेवसाइट नहुँदा अदालती कार्यसम्पादनसमेत प्रभावित भएको सेवाग्राहीहरू बताउँछन्। “एउटा मितिमा के-के मुद्दा छन्, कुन पेशी कहिले पर्छ भन्ने जानकारी नहुँदा काममै ढिलाइ भइरहेको छ,” एक सेवाग्राहीले गुनासो गरे।

सरकारले डिजिटल न्याय प्रणालीको अभ्यासलाई तीव्रता दिने घोषणा गरेको भए पनि व्यावहारिक कार्यान्वयनमा ढिलाइ हुनु चिन्ताको विषय बनेको छ।

दमकमा अग्र्यानिक बाटेको मच्छड धुपको उत्पादन, यसकारण बन्नेछ उपयोगी

दमक/  दमक नगरपालिकाको आर्थिक सहयोग र दिब्यदृष्टि भेनेरेशन एण्ड एग्रो कन्सर्न, कमल–६, झापाको प्राविधिक साझेदारीमा दमकका महिलाहरूले अग्र्यानिक मच्छडधुप उत्पादन गर्न थालेका छन् ।
नीम, कपुर, तुलसी, धुपी लगायतका प्राकृतिक कच्चा पदार्थको प्रयोगबाट उत्पादन गरिएको धुप पूजा प्रयोजनका साथै मच्छड भगाउन समेत उपयोगी गर्न सकिन्छ । १० दिनको तालिमपछि २० जना महिलाहरूलाई धुप उत्पादन, ब्रान्डिङ र प्याकेजिङमा दक्ष बनाइएको हो ।
तालिमको समापन र बाटेको मच्छड धुपको ब्यवसायीक उत्पादनको उदघाटन गर्दै दमक नगर प्रमुख रामकुमार थापाले वातावरणमैत्री तथा स्थानीय कोशेलीका रुपमा यसलाई उपयोग गर्न सकिने बताउनु भयो ।
नगरको पहिचानका रूपमा देश–विदेश सम्म यसलाई प्रवद्र्धन गर्न सकिने उहाँको भनाई थियो । “अब हरेक घरमा बालिने धुप अग्र्यानिक र स्वदेशी बन्नेछ,“ उहाँले भन्नु भयो । “अब हामी बजारमा विदेशी धुपको भर पर्नु पर्दैन । नगरमै उत्पादित अग्र्यानिक धुप स्वास्थ्यमैत्री, वातावरणमैत्री र रोजगारी सिर्जना गर्ने खालको उत्पादन हो । यसलाई हाम्रो पहिचान पनि बनाउनेछ ।” थापाले भन्नु भयो ।
नगरपालिकाको औपचारिक कार्यक्रम, अतिथि सत्कार र जनस्वास्थ्यको प्रवद्र्धन अभियानमा पनि यो धुपको प्रयोग गर्न सकिने उहाँले बताउनु भयो ।
सो अवसरमा नगर उपप्रमुख रेगिना भट्टराई प्रसाईंले यस कार्यलाई सार्वजनिक स्वास्थ्य प्रवद्र्धनमा महत्वपूर्ण योगदान दिन सक्ने भन्दै, नगरपालिकाको यस अभियानलाई निरन्तर सहयोग रहने उल्लेख गर्नु भयो ।
प्रादेशिक आर्युवेद अस्पताल लखनपुरका निर्देशक डा. सिद्धार्थ ठाकुरले यस्तो अग्र्यानिक धुप स्वास्थ्यको दृष्टिकोणले समेत महत्वपूर्ण रहेको उल्लेख गर्दै यसलाई नविनतम प्रयोगको रुपमा प्रशंसा गर्नुभयो । “निम भएको घर वरिपरि रोग फैलाउने कीटाणु नष्ट हुने जनविश्वास रहेको छ,“ उहाँले भन्नु भयो ।
दिब्यदृष्टि भेनेरेशन एण्ड एग्रो कन्सर्नका अध्यक्ष विष्णुप्रसाद पोखरेलले पहिलोपटक पहाडे कागजमा बनाइएको यस्तो मच्छडधुप पहिलो पटक औपचारिक रूपमा उत्पादनमा ल्याइएको दाबी गर्नुभयो ।
“दमक नगरपालिकाको सहकार्यले यो उदाहरणीय कार्य बनेको छ,“ उहाँले भन्नु भयो । तालिम तालिममा सिमित बनेन यसले दमकमा एउटा नयाँ उत्पादन र ब्राण्ड जन्माएको उहाँको भनाई छ ।
दिब्यदृष्टिकी सञ्चालिका तथा कार्यकारी प्रमुख बविता तिम्सिनाले आफुहरुले महिलाहरुको आत्मनिर्भरताका लागि यस प्रकारको कार्य गर्दै आएको बताउनु भयो । दमक नगरपालिका महिला तथा बालबालिका शाखा प्रमुख सरिता भण्डारीले एउटा नयाँ उदाहरणका रुपमा यो तालिम र यसको उत्पादनलाई लिन सकिने बताउनु भयो ।

१३ ओटा क्याम्पसका प्राध्यापकहरूको क्षमता विकास तालिम सम्पन्न

दमक/  पूर्व क्षेत्रका सामुदायिक क्याम्पसका प्राध्यापकहरुको क्षमता बिकासका लागि दमकमा सञ्चालन गरिएको ६ दिवसीय तालिम समापन भएको छ । विश्व बिद्यालय अनुदान आयोगको प्राविधिक सहयोगमा दमक बहुमुखी क्याम्पसले सञ्चालन गरेको तालिमको आइतबार औपचारिक कार्यक्रमबीच समापन गरिएको हो ।

विश्व बिद्यालय अनुदान आयोगको परियोजना सञ्चालनमा रहेका झापा, मोरङ, पाँचथर , ताप्लेजुङ लगायतका पूर्व क्षेत्रका विभिन्न १३ वटा सामुदायिक क्याम्पसका प्रतिनिधिमुलक ३० जना प्राध्यापकहरु सम्मिलित सो तालिममा १६ जना विज्ञहरुले प्राध्यापकहरुको क्षमता बिकासका लागि विभिन्न बिषयमा प्रशिक्षण दिनु भएको दमक बहुमुखी क्याम्पसका प्रमुख यज्ञराज गिरीले जानकारी दिनु भयो ।

विश्व बिद्यालय अनुदान आयोगका अध्यक्ष प्राध्यापक डा. देवराज अधिकारीले उदघाटन गर्नुभएको तालिमको समापन कार्यक्रममा परिक्षा नियन्त्रण कार्यालय विराटनगरका सहनियन्त्रक प्राध्यापक डा. गोविन्द गुरागाइँको प्रमुख आतिथ्य रहेको थियो । उहाँले त्यस अवसरमा प्राध्यापकहरुको दक्षता विकास र समय अनुसार सम्बन्धित बिषयहरुमा अपग्रेडको आवश्यकता औंल्याउनु भयो । उहाँले त्रिभुवन क्याम्पसहरुमा अझै पनि परीक्षाको मर्यादा उल्लंघनका घट्नाहरु देखिनु चिन्ताको बिषय भएको चर्चा पनि गर्नुभयो । उहाँले नेपालका क्याम्पसहरुमा शैक्षिक गुणस्तरको बिकास हुन नसके क्याम्पसहरु रित्तो हुँदै जाने खतरा तर्फ सचेत गराउनु भयो ।


दमक बहुमुखी क्याम्पस सञ्चालक समितिका अध्यक्ष ढुण्डीराज भण्डारीको अध्यक्षतामा भएको समापन कार्यक्रममा तालिममा सहभागी प्राध्यापकहरुलाई प्रमाण पत्रसँगै दमक बहुमुखी क्याम्पसद्धारा प्रकाशित जर्नल समेत उपहार स्वरुप प्रदान गरिएको थियो । कार्यक्रममा दमक बहुमुखी क्याम्पसका पूर्व अध्यक्ष सुरेश सुब्बा, मेची बहुमुखी क्याम्पसका प्रमुख देवी आचार्य, सुकुना बहुमुखी क्याम्पसका प्रमुख अर्जुन अधिकारी लगायतले शुभकामना मन्तव्य राख्नु भएको थियो । तालिममा सहभागीहरु रवि क्याम्पस पाँचथरकी प्रमुख टिकादेवी भट्टराई र विरेन्द्र क्याम्पस चन्द्रगढीका प्रमुख प्रेमप्रसाद घिमिरे लगायतले अनुभव सहित भनाइहरु राख्नु भएको थियो भने दमक क्याम्पसका प्रमुख यज्ञराज गिरीले स्वागत मन्तव्य राख्नु भएको थियो । सो अवसरमा तालिम संयोजक पूर्व क्याम्पस प्रमुख डा. नेत्र बुढाथोकीले धन्यवाद मन्तव्य राख्नु भयो भने प्राध्यापक डिल्ली भट्टराईले कार्यक्रमको सञ्चालन गर्नुभएको थियो ।