क्यानडामा रामकृष्ण ढकाल साँझ सम्पन्न

 टोरण्टो / ईन्टरनेशनल म्युजिक डे को अबसर पारेर क्यानडाको ब्राम्प्टन शहरमा आयोजना गरिएको “रामकृष्ण ढकाल साँझ“  सम्पन्न भएको छ ।

नेपाली सुगम संगीतका सदाबहार गायक रामकृष्ण ढकालले कार्यक्रमको पहिलो कोसेली स्वरुप स्टेजमा हार्मोनियम बजाँउदै देश प्रेम भावको गीत – “बिहान उठने बित्तिकै हिमाल देख्न पाईयोस….“ जब गाउन शुरु गरे दर्शकहरुको गडगडाहक तालीले हल गुञजायमान भएको थियोे भने बिदेशी भुमीमा भएका नेपाली दर्शकहरु आफ्नो नेपाली माटो र राष्ट्रियता सम्झदै भावुक समेत बनेका थिए ।

ब्राम्पटनको भुखाराग्रील रेस्टुरेन्टको हलमा खचाखच भरिएका दर्शक माझ नेपाली सुगम संगीतका हस्ती गायक ढकालले चरीले त छाडेर गैगयो…, मन पराउने हजार भेटीन्छ्न…, माया गर्नेको…, ओराली लागेको…, जस्ता गीतहरु गितार, तबला र हार्मोनियमको तालमा प्रत्यक्ष सुन्न, देख्न र संगै गाउन पाँउदा कयौं दर्शकहरु उत्साही त कयौं भावुक बनेका थिए ।

दर्शकहरुले स्वर सम्राट स्व. नारायण गोपालका केहि गीत र युगल गित समेत सुनेर पनि भरपुर मनोरञ्जन लिएका थिए । गायक ढकाललाई युगल गीतमा गायिका रीता बुर्लाकोटीले साथ दिएकी थिईन भने तबलामा सन्तोष घिमिरे र गितारमा उदयराज पौडेलले साथ दिएका थिए । एकल साँझ कार्यक्रम जुन २१ तारेख शनिबार (असार ७ गते) भएको थियो ।

२०४५ सालमा १३ बर्षको उमेरमै पहिलोपटक ‘ढकाल सुमधुर साँझ’ एकल कार्यक्रममा हिन्दी र नेपालीका २२ वटा गीत प्रस्तुत गरेर चर्चित बनेका ढकाल नेपालमा सानो उमेरमै एकल साँझ गर्ने पहिलो गायक पनि हुन । २० वटा एकल एल्बम सार्वजनिक गरिसकेका ढकालका दर्जनौ गीतहरु चर्चित छन । उनले ५ हजार भन्दा बढी गीत गाएका छन ।

प्रवासमा रहेका नेपालीहरू, नेपाली गीत सङ्गीतप्रति माया गर्नेहरुलाई यो एक उत्कृष्ट कार्यक्रम रहेको आयोजक समितिका सदस्य घनश्याम भट्टराईले बताए ।
सो कार्यक्रममा आयोजक समितिका अध्यक्ष कमल ज्ञवालीले धन्यवाद मन्तव्य राखेका थिए ।

बचत रकम पशुपतिनाथ मन्दिरमा पुजा गरि सहयोग
“रामकृष्ण ढकाल साँझ“ कार्यक्रमबाट बचेको रकम ब्राम्पटनमा रहेको पशुपतिनाथ तथा बुद्ध मन्दिरमा पुजा अर्चना गरि हस्तान्तरण गरिएको छ । समुहको तर्फबाट सामाजिक उत्तरदायित्व अन्तर्गत आईतबार बिहान मन्दिरमा पुजा अर्चना गरि रकम हस्तान्तरण गरिएको कार्यक्रम सम्योजक ऋषि पोख्रेलले बताए ।

दाता संस्थाको सहयोगमा दमक अस्पतालमा आइसीयू कक्ष

दमक/ झापाको दमकस्थित सरकारी अस्पताल दमक अस्पतालमा सघन उपचार कक्ष (आइसीयू सेवा) सुचारु भएको छ । अस्पतालमा सोमबार एक कार्यक्रमबीच सघन उपचार कक्ष (आइसीयू ) उद्घाटन गरिएको हो ।
लायन्स क्लव इन्टरनेशनल फाउण्डेशन,स्थानीय लायन्स क्लव तथा दमक नगरपालिकाको साझेदारीमा अस्पतालमा लायन्स आइसीयू सेन्टर निर्माण गरिएको हो ।
लायन्स क्लव इन्टरनेशनल फाउण्डेशनको रु १ लाख ३७ हजार ७ सय १८ रुपिया यूएस डलर ( करिव रु २ करोड) , लायन्स क्लवहरुको तर्फबाट रु १४ लाख र दमक नगरपालिकाको रु ५१ लाख रुपियाको साझेदारीमा झण्डै रु २ करोड ५० लाख रुपैयाँको लगानीमा आइसीयू सेवा सञ्चालनमा ल्याइएको अस्पतालका मेडिकल सुपरिटेन्टडेन्ट डा. कृष्णप्रसाद साहले बताए ।
उनका अनुसार ३ वटा भेन्टिलेटरसहित ६ वटा शैयाको आइसीयू सुविधा रहेको छ ।


नवनिर्मित आइसीयू कक्षको लायन्स इन्टरनेशनलका डाइरेक्टर बालकृष्ण बुर्लाकोटी र दमक नगरपालिकाका प्रमुख रामकुमार थापाले संयुक्त रुपमा उद्घाटन गरे । आइसीयू उद्घाटन कार्यक्रममा नगर प्रमुख थापासहित उपप्रमुख रेगिना भट्टराई (प्रसाइँ) सहित लायन्स क्लबका विशिष्ट व्यक्तित्वहरुले सो सहयोगको प्रशंसा गर्दै समुदायमा यस किसिमका नमुना कामहरु अघि बढाउन समन्वय र सहकार्यमा जोड दिए ।
अस्पतालका प्रशासन प्रमुख तथा सूचना अधिकारी डा. अनुपम घिमिरेले आइसीयूको उद्घाटनपछि अव जटिल प्रकृतिका बिरामीको शल्यक्रिया सहित अन्य उपचार सेवा समेत प्रदान गर्न सहज हुने जानकारी दिए । उनले भने, ‘अस्पतालमा सबैरोगका विषेशज्ञ चिकित्सक भएपनि आइसियूको अभावमा रेफर गरिरहनु पर्ने बाध्यता अव त्यसको पनि अन्त्य भएको छ ।’
। लायन्स क्लव अफ इन्टरनेशनल डिस्ट्रिक ३२५ सि का डिस्ट्रिक गभर्नर तथा ग्राण्ड एडमिनिस्ट्रेटर विकास अधिकारीको अध्यक्षतामा सो कार्यक्रम सम्पन्न भएको थियो । २०७३ सालमा स्थापना भएको १५ शैयाको सो अस्पतालमा दैनिक ७ सय बढी विरामीले विभिन्न किसिमका वहिरङ स्वास्थ्य सेवा लिदै आएका छन् ।

छात्रामाथि यौन दुव्र्यवहारको आरोपमा पक्राउ

इलाम/ इलामको माई नगरपालिका–२ निवासी ५२ वर्षीय खेमराज ढकाललाई नाबालिका छात्रामाथि यौन दुव्र्यवहार गरेको आरोपमा प्रहरीले पक्राउ गरेको छ । आइतबार साँझ उनलाई आफ्नै घरबाट नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।
ढकाल माई नगरपालिकामा रहेको हरियाली रेसम शैक्षिक सार्वजनिक गुठी स्कुलका सञ्चालक, नेकपा एमालेका जिल्ला सल्लाहकार तथा बुद्धिजिवी परिषदका जिल्ला सदस्य समेत रहेका उनी माइ नगरपालिकाका शिक्षा समिति सदस्य पनि हुन् । ढकाललाई एक छात्रामाथि यौन दुव्र्यवहार गरेको आरोप लागेको हो ।
घटना सार्वजनिक भएपछि स्थानीयवासी आक्रोशित बनेका छन्।् । उनीहरूले दानाबारीस्थित लोदिया प्रहरी चौकी घेराउ गर्दै ढकालमाथि कडा कानुनी कारबाहीको माग गरेका छन्।् ।
ढकाललाई जिल्ला प्रहरी कार्यालय इलाममा ल्याउने तयारी भइरहेको र घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।

स्वास्थ्य बीमा सेवाको प्रथम विन्दु सरकारी अस्पताल मात्रै, रेफर नचाहिने हल्ला मात्रै

दमक/ सामुदायिक र निजी स्वास्थ्य संस्थाहरूले प्रथम सेवा विन्दुको रूपमा सेवा दिन नपाउने परिपत्र गरेपनि सामाजिक सञ्जालमा पाउने भनेर ब्याख्या गर्दै स्टाटसहरु आउने थालेपछि अन्योल सिर्जना भएको छ ।

स्वास्थ्य बीमा ऐन, २०७४ को दोस्रो संशोधनको दफा ९ को उपदफा ९६० तथा नियमावली, २०७५ को प्रथम संशोधनको नियम २ को खण्ड ९(छ) ले गरेको व्यवस्था अनुसार प्रथम सेवा विन्दु सरकारी स्वास्थ्य संस्था मात्र रहने र साउन १ गतेदेखि यो कार्यन्वयनमा ल्याउने परिपत्र बिमा बोर्डले गरेको थियो ।

स्वास्थ्य बीमा बोर्डले निजी तथा सामुदायिक स्वास्थ्य संस्थामा पठाएको सूचनामा भनिएको छ, ‘प्रथम सेवा विन्दुको रूपमा सेवा दिई हालसम्म बोर्डको सेवा प्रवाहमा पुर्‍याउनु भएको योगदानका लागि स्वास्थ्य बीमा बोर्ड धन्यवाद ज्ञापन गर्दछ ।’

यो निर्णयले देशभरका निजी तथा सामुदायिक स्वास्थ्य संस्थाहरूमा व्यापक प्रभाव पार्ने देखिएको छ। हालसम्म यी संस्थाहरूले प्रथम सेवा विन्दुको रूपमा स्वास्थ्य बीमा सेवा प्रदान गर्दै आएका थिए ।

स्वास्थ्य बीमा बोर्डले सामाजिक सञ्जालमा लेखेको छ-हाल केही सामुदायिक तथा निजि सेवा प्रदायक स्वास्थ्य संस्थाहरुबाट समेत प्रथम सेवा विन्दुको रुपमा सेवा प्रदान भइरहेको पाइएकोमा आगामी २०८२।०४।०१ बाट उक्त सेवा प्रदायकहरु प्रथम सेवा विन्दुको रुपमा नरहने जानकारी गरिन्छ ! हाललाई अन्य नयाँ व्यवस्था लागू नभएको समेत जानकारी गराइन्छ !

दमक ५ मा वडा बाल सञ्जालको नयाँ नेतृत्व

दमक/ झापाको दमक नगरपालिका वडा नम्बर ५ मा वडा बाल सञ्जालको नयाँ नेतृत्व चयन भएको छ ।
आइतबार वडा कार्यालयसँगको समन्वयमा वडा नम्बर ५ को प्रतिनिधिमूलक बाल भेलाले सञ्जालको पुनर्गठन गरेको ५ नम्बर वडा सचिव निधीनारायण ढुंगेलले जानकारी दिए ।

वडा बाल सञ्जालका अध्यक्ष प्रिपेश श्रेष्ठको अध्यक्षता र ५ नम्बर वडाध्यक्ष इन्द्रबहादुर गुरुङको प्रमुख आतिथ्यमा भएको सो भेलाले सुकृति पराजुलीको अध्यक्षतामा उपाध्यक्षमा दिवस वाग्ले, सचिवमा श्रीविना राई, सहसचिवमा विदुर पौडेल र कोषाध्यक्षमा दिनिसा माझीलाई चयन गरेको छ । अध्यक्ष र उपाध्यक्ष पदमा निर्वाचन भएको थियो भने अन्य सबै पदमा निर्विरोध निर्वाचित भएका हुन् ।


सदस्यहरुमा इसान केरुङ, अदिती कँडेल, मनिका मगर, तुमिना लिम्बु, रिया आचार्य, जिगम लिम्बु र हेमन बस्नेत रहेका छन् । अर्का एक सदस्य पछि मनोनित गरिने जनाइएको छ ।
दिपिनी आधारभूत बिद्यालयको सभाहलमा आयोजित बिद्यार्थी भेलामा वडास्थित विभिन्न बाल क्लबबाट पाँच÷पाँच जनाका दरले बालबालिकाका प्रतिनिधिहरु सहभागी भएका बताइएको छ ।
सो अवसरमा वडा सदस्यहरु खड्ग राई, ख्यामकुमारी परियार,गोपालकृष्ण संग्रौला, र शोभा खतिवडा बेलबाँसे, वडा सचिव ढुंगेल, सबै बिद्यालयका बाल क्लब संरक्षक शिक्षकहरु लगायतको आतिथ्य रहेको थियो ।

महिनावारी एक समस्या र कारण

महिनावारी नहुनुको एउटा कारण गर्भावस्था हुन सक्छ तर यसबाहेक अन्य धेरै कारणहरू हुन सक्छन्। । कहिलेकाहीँ महिनावारी नहुनुलाई गम्भीर समस्या मानिँदैन, तर विज्ञहरू भन्छन् कि यदि यो बारम्बार भइरहेको छ भने यो कुनै अन्य स्वास्थ्य समस्याको संकेत पनि हुन सक्छ ।
हरेक महिलाको शरीर पूर्णतया फरक तरिकाले काम गर्छ । कुनै पनि दुई महिला समान हुँदैनन् । त्यसैले महिनावारी नहुनु वा ढिला हुनु विभिन्न कारणहरु हुन सक्छन् । विभिन्न समयमा भएका अध्ययन अनुसन्धानका अनुसार यदि कुनै महिला गर्भवती छैनन् र लगातार तीन महिनादेखि उनको महिनावारी भएको छैन, वा ४५ वर्षको उमेरभन्दा अगाडि उनको महिनावारी रोकिएको छ भने, उनले अवश्य पनि चिकित्सा सल्लाह लिनुपर्छ ।
अध्ययनका अनुसार गर्भावस्था बाहेक एमेनोरियाका आठ कारण हुन सक्छन्
१. तनाव
तनावले तपाईंको महिनावारी चक्रलाई असर गर्न सक्छ ।
विज्ञहरूका अनुसार तनाव सबैभन्दा महत्त्वपूर्ण कारण हुन सक्छ । तनावले हाम्रो शरीरमा एड्रेनालिन जस्ता हर्माेनहरू द्रुत गतिमा बढाउँछ, जसले शरीरलाई कुनै पनि सम्भावित खतराबाट जोगाउन सतर्क अवस्थामा राख्छ ।
यी हर्माेनहरूको दीर्घकालीन प्रभावका कारण, महिनावारी चक्र प्रभावित हुन सक्छ। कहिलेकाहीँ महिनावारी हुँदैन वा महिनावारीको समयमा हुने पीडा गम्भीर हुन सक्छ ।
कतिपय अवस्थामा, तनावका कारण, महिलाहरूलाई एक महिनावारी चक्र (चार हप्ताको चक्र) मा दुई पटक महिनावारी हुन सक्छ । यदि तनाव तपाईंको महिनावारी छुट्नुको कारण हो भने, उपचारको रूपमा नियमित व्यायाम वा श्वासप्रश्वास अभ्यास गर्नु राम्रो हुने विज्ञहरूको सुझाव रहेको छ ।

२. अचानक तौल घट्नु

यदि शरीरमा क्यालोरीको मात्रा धेरै कम भयो भने, शरीरमा अण्डाशयबाट अण्डा निकाल्ने प्रक्रिया (ओभ्युलेसन) को लागि आवश्यक हर्माेनको उत्पादन बन्द हुन सक्छ। यद्यपि, यदि तौल घट्नुको कारण खानपानको विकारसँग सम्बन्धित छ भने, मनोचिकित्सकको मद्दत लिनुपर्छ ।

३. बढी तौल वा मोटोपन हुनु
अधिक तौलले शरीरलाई अतिरिक्त एस्ट्रोजेन निस्कासन गराउँछ। यो महिला प्रजनन प्रणालीलाई नियमन गर्ने हार्माेनहरू मध्ये एक हो। एस्ट्रोजनको स्तरमा भएको कुनै पनि वृद्धिले महिनावारीको नियमिततालाई असर गर्न सक्छ र केही अवस्थामा महिनावारी पूर्ण रूपमा बन्द पनि हुन सक्छ ।
एमेनोरियाको अनुभव गरिरहेका र बढी तौल भएका वा ३० भन्दा माथिको बडी मास इन्डेक्स भएका महिलाहरूलाई प्रायः डाक्टरहरूले स्वस्थ तौल प्राप्त गर्न पोषण विशेषज्ञसँग परामर्श गर्न सल्लाह दिन्छन् ।

४. अत्यधिक शारीरिक व्यायाम
अत्यधिक व्यायामबाट हुने शारीरिक तनावले महिनावारी नियन्त्रण गर्ने हर्माेनलाई पनि असर गर्न सक्छ। शरीरमा धेरै बोसो हुँदा पनि अण्डाशय बन्नबाट रोक्न सकिन्छ।

५. पोलिसिस्टिक अंडाशय सिन्ड्रोम
अण्डाशय भित्र (अण्डा बन्ने ठाउँ) अण्डाको विकासको लागि फोलिकल्स भनिने थैली जस्तो संरचनाहरूको ठूलो संख्या हुन्छ। सामान्यतया, अण्डाशयमा अण्डाहरू विकास हुन्छन् र ती मध्ये एउटा निषेचनका लागि तयार हुन्छ ।
तर पोलिसिस्टिक ओभरी सिन्ड्रोमको अवस्थामा डिम्बाशयमा धेरै फोलिकल्स एकैसाथ बन्छन्, जसले विकसित अण्डा उत्पादन गर्न सक्दैन । यो अवस्था भएका महिलाहरूमा, यी थैलीहरूले प्रायः अण्डा बाहिर निकाल्न असफल हुन्छन्, जसले गर्दा अण्डा निस्कनबाट बच्न सकिन्छ । बेलायतमा गरिएको एक अध्ययनले कि दश मध्ये एक महिला यसबाट प्रभावित हुने देखाएको छ । यो महिनावारी नहुने लगभग ३३ प्रतिशत घटनाहरूको कारण हो । पोलिसिस्टिक ओभरी सिन्ड्रोमले अण्डाशयको सामान्य कार्यलाई असर गर्छ र ओभ्युलेसनलाई रोक्न सक्छ ।

६. रजोनिवृत्ति र समय पूर्व रजोनिवृत्ति
गर्भावस्था र स्तनपान जस्तै, रजोनिवृत्ति (महिनाबारी सुक्नु) पनि महिनावारी नहुनुको एउटा कारण हो। जब महिलाहरू रजोनिवृत्तिको चरणबाट गुज्रिरहेका हुन्छन्, उनीहरूको शरीरमा एस्ट्रोजनको स्तर घट्न थाल्छ र अण्डाशय निस्कने प्रक्रिया अनियमित हुन्छ ।
रजोनिवृत्ति सामान्यतया ४५ देखि ५५ वर्ष उमेरका महिलाहरूमा हुन्छ । यद्यपि, धेरै चिकित्सा अध्ययनहरूले पत्ता लगाएका छन् कि प्रत्येक सय महिलामध्ये एक जनाले ४० वर्षको उमेर नपुग्दै रजोनिवृत्तिको अनुभव गर्छिन्।् । यो अवस्थालाई समय पूर्व रजोनिवृत्ति भनिन्छ ।

७. गर्भ निरोधक
केही गर्भ निरोधक चक्की, इंजेक्शन, इम्प्लान्ट, र पाठेघरमा घुसाइएका उपकरणहरूले पनि एमेनोरिया निम्त्याउन सक्छ । गर्भ निरोधकहरू लिन बन्द गरेपछि पनि, शरीरलाई नियमित रूपमा फेरि डिम्ब निस्कन सुरु गर्न केही समय लाग्न सक्छ ।

८. अन्य समस्या र औषधिहरू
महिनावारी नहुनु मधुमेह वा हाइपरथाइराइडिज्म वा हाइपोथाइराइडिज्म जस्ता हार्माेनल विकारहरूको कारणले पनि हुन सक्छ ।
अध्ययनका अनुसार एमेनोरिया केही औषधिहरू जस्तै एन्टिसाइकोटिक्स, केमोथेरापी, एन्टीडिप्रेसेन्टहरू, र उच्च रक्तचाप र एलर्जीको उपचार गर्न दिइने औषधिहरूको कारणले पनि हुन सक्छ ।

असार १५: उत्सवको हिलोमा किसानको आँसु

असार १५ अर्थात् राष्ट्रिय धान दिवस नेपाली कृषि संस्कृतिको गहिरो प्रतीक मात्र होइन राष्ट्रिय आत्मासँग जोडिएको चेतनाको दिवस हो । दुर्भाग्य आज यो दिन कृषि नीति, किसानको अवस्था र खाद्य सुरक्षाप्रतिको राज्यको गम्भीरता परीक्षण हुने सट्टा हिलो खेल र पर्यटनको चहलपहलमा सीमित बन्दै गएको छ । भाषणमा कृषि प्राथमिकता भएजस्तो देखिए पनि व्यवहारमा भने किसानहरू वर्षेनि उही अभाव पीडा र उपेक्षासँग जुध्न बाध्य छन् ।
आर्थिक वर्ष २०८२/०८३ को बजेटले कृषि क्षेत्रका लागि ५२ अर्ब ७९ करोड रुपैयाँ मात्र विनियोजन गरेको छ जुन कुल बजेटको २.७ प्रतिशत जति हो । देशको ६० प्रतिशतभन्दा बढी जनसंख्या कृषिमा निर्भर रहँदा कृषि क्षेत्रमा यस्तो न्यूनतम विनियोजन हुनु आफैँमा गम्भीर प्रश्न हो के नेपालका लागि कृषि प्राथमिक क्षेत्र होइन त ? यो तथ्यले राज्यको नीति र व्यवहारबीचको गहिरो विरोधाभास उजागर गर्छ ।
मल, बीउ, सिंचाइ, बजारीकरण र भण्डारण जस्ता आधारभूत समस्या अझै समाधान हुन सकेका छैनन् । वर्षेनि किसानहरू मलको चरम अभाव भोगिरहेका छन् । असार १५ झनै विडम्बनाको दिन बन्छ जब उही दिन किसान मलको लाइनमा उभिन्छन् र रोपाइँ सर्न बाध्य हुन्छन् ।
धान दिवसको सांस्कृतिक पक्ष अत्यन्त महत्वपूर्ण छ । धान केवल खाद्यान्न मात्र होइन यो नेपाली समाजका हरेक सामाजिक संस्कार र जीवनशैलीसँग गाँसिएको छ । यति महत्वपूर्ण अन्नबालीको संरक्षणमा राज्य उदासीन देखिन्छ । नार्कको तथ्यांकअनुसार नेपालमा करिब २,००० जातका धान थिए तर अहिले सयौं लोप भइसकेका छन् । स्थानीय जात संरक्षणभन्दा विदेशी प्रयोगशालाबाट आयातित बीउ प्रवर्द्धन गरिँदा स्वाद, पोषण, विविधता र कृषि प्रणालीमै गम्भीर असर परेको छ ।
धान उत्पादनमा नेपाल पछाडि पर्दै गएको छ । वर्षेनि झण्डै ३० अर्ब रुपैयाँबराबरको चामल आयात हुनु केवल आर्थिक घाटा होइन खाद्य सम्प्रभुताको पराजय हो । नेपालको लगभग ३५ प्रतिशत खेतीयोग्य जमिनमा धानखेती हुने भए पनि उत्पादन बढ्न नसक्नु नीतिगत असफलताको उपज हो । सरकारको उत्पादन वृद्धि, मूल्य स्थायित्व, बीउ प्रविधि बैंकजस्ता घोषणाहरू व्यवहारमा सार्न सकिएको छैन ।
जलवायु परिवर्तनले स्थिति झनै कठिन बनाइरहेको छ । परम्परागत वर्षा चक्र अस्तव्यस्त छ । असार १५ मा पानी पर्ने ग्यारेन्टी छैन । कहिले खडेरी, कहिले बाढी यस्ता परिस्थितिमा किसान जात र बीउ छनोट गर्न समेत अलमलमा छन् । जलवायु अनुकूलन कार्यक्रम घोषणामै सीमित छन् । किसानलाई मौसम पूर्वानुमान, प्राविधिक सहायता, सहजीकरण पुग्दैन सरकारको गम्भीरताको अभाव झल्किन्छ ।
कृषिमा लगानी अभावको असर किसानको जीवनस्तरमा प्रत्यक्ष देखिन्छ । युवा जनशक्ति विदेश पलायन हुँदा वृद्ध, महिला र बालबालिकामा खेतीको बोझ पर्न थालेको छ । खेत जोत्न ट्रयाक्टर छैन, मल छैन, बीउ छैन उत्पादन भए पनि भण्डारण र मूल्यको ग्यारेन्टी छैन । यस्तो अवस्थामा ‘कृषिको आधुनिकीकरण’ भन्ने नाराको अर्थ नै रित्तो हुन्छ ।
धान उत्पादनको अन्तर्राष्ट्रिय सन्दर्भमा हेर्दा नेपाल थप विचलित देखिन्छ । एशियामा विश्वको ९१ प्रतिशत धान उत्पादन हुन्छ । चीन र भारत अग्रणी छन् । नेपालमा उत्पादन स्थिर छ जमिन खण्डीकरण र सहरीकरणले खेतीयोग्य जमिन मासिँदै गएको छ । उपत्यकाहरूमा धान खेत प्लटिङको सिकार बनेका छन् । योजनाविहीन सहरी विस्तारले खाद्य सुरक्षामा दीर्घकालीन संकट निम्त्याइरहेको छ ।
२०८२/०८३ को बजेटमा कृषि बीमा विस्तारको घोषणा गरिएको छ । तर अघिल्ला वर्षमा बीमा रकम नपाएको, प्रक्रियागत झमेला र ढिलासुस्तीका कारण किसानको विश्वास घटेको छ । बीमा संरचना किसानभन्दा बीमा कम्पनी र बैंकको पक्षमा केन्द्रित देखिन्छ । सहकारी सुधारको घोषणापनि यथार्थमा राजनीतिक हस्तक्षेप र अनियमितताको चपेटामा छन् ।
उत्पादन लागतमा नेपाल प्रतिस्पर्धा गर्न सक्ने स्थितिमा छैन । किसानले उत्पादन लागत उठाउन सक्दैनन् । सरकारले न्यूनतम समर्थन मूल्यको घोषणा त गर्छ तर त्यसको पालना हुँदैन । भण्डारण प्रणाली असफल छ बजारमा भारतलगायतका मुलुकबाट सस्तो चामल आउँदा नेपाली किसानले आफ्नो उत्पादन बेच्न नसक्ने स्थिति आउँछ । नीति भने आत्मनिर्भरताको भाषणमै सीमित रहन्छ ।
असार १५ अब राज्य र समाजका लागि विचार गर्ने समय हो हाम्रो कृषि कहाँ छ ? किसानको अवस्था किन उस्तै छ ? किन हामी अझै आत्मनिर्भर बन्न सकेका छैनौं ? हिलोमा रमाउने, दही-चिउरा खाने, सेल्फी खिच्ने कार्यक्रमले कृषि समस्या हल हुँदैन । असार १५ हाम्रो संस्कृति हो, चेतना हो, इतिहास हो तर यो चेतना तब मात्र सार्थक बन्छ जब व्यवहारमा सुधार गरिन्छ ।
असार १५ किसानको संघर्षको दस्तावेज हो । सरकारलाई चेतना दिनुपर्ने क्षण हो । अब भाषण होइन व्यवहारमै कृषि सुधार गरिनुपर्छ । नयाँ अनुसन्धान, स्थानीय जातको संरक्षण, जलवायु अनुकूल खेती, किसानमैत्री बीमा, बजार ग्यारेन्टी, युवा आकर्षण, भूमि सुधार र पारदर्शी सहकारी संरचना आवश्यक छन् । अन्यथा हरेक असार १५ मा हिलो रमाइलो बाहिर देखिनेछ भित्र किसानको आँसु लुकेको हुनेछ । यो विडम्बना हटाउन अब राज्यको सोच, नीति र कार्यान्वयनमै आमूल परिवर्तन आवश्यक छ ।
(लेखक :– बोहोरा अर्थ सवाल साप्ताहिकका सम्पादक तथा नेपाल पत्रकार महासंघ काठमाडौं शाखाका सचिव हुनुहुन्छ )

दिवंगत विश्वकर्मा परिवारको खेतमा कांग्रेसले गर्यो रोपाइँ

  दमक/ झापाको दमक ३ मा नेपाली कांग्रेसले असार पन्ध्र तथा राष्ट्रिय धान दिवसको अवसर पारेर शोकमा रहेको एक परिवारको खेतमा धान रोपाईँ गरिदिएको छ ।

स्थानीय एक जग्गाधनी सग अधिया खेती गर्न जग्गा लिएका चन्द्र बहादुर विश्वकर्माको खेतमा कांग्रेसले धान रोपाईमा लागेको सम्पूर्ण लागत व्यहोर्दै रोपाइँमा सहभागिता जनाएको हो । बिश्वकर्माकी बुहारी कमलाको निधन भएको आज छैठो दिनमा समवेदना दिन पुगेको कांग्रेस नेता कार्यकर्ताहरुको टोलीले विश्वकर्माको ११ कठ्ठा खेत हिल्याएर रोपाईँ गरिदिएको कांग्रेस दमक ३ का सभापति गोपाल गिरीले जानकारी दिए ।

कांग्रेस झापा ५ का क्षेत्रीय सभापति ढुनदीराज भण्डारी, प्रदेश क्षेत्रीय सभापति रवि न्यौपाने, नगर उपसभापति युवराज खनाल सहित नेता कार्यकर्ताहरुको समूह विश्वकर्माको घरमा पुगी समवेदना प्रकट गर्दै रोपाइँमा सघाउ पुर्याएका हुन । त्यहाँ खेत हिल्याएर रोपाईँ सम्पन्न गर्न लाग्ने खेतालाको पारिश्रमिक बापतको रकम समेत तिरेर विश्वकर्मा परिवारलाई सघाउ पुर्याएका बताईएको छ ।

एसइइ पछि पढाई थाल्नु अघि यो पढौं

भनिन्छ हरेक विद्यार्थीदेखि उनका आमाबुबासम्मलाई एसइई (यसअघि एसएलसी) भनेको नै भविष्य निर्माण गर्ने मुख्य ढोका वा आइरन गेट हो ।
वास्तवमा भन्ने हो भने एसइई भनेको आइरन गेट नै हो र यसपछि ती विद्यार्थीले गर्ने पढाइका किसिमले नै उसको भविष्य निर्माण गर्दछ । तर अब एसइईपछि यी विद्यार्थीहरुले के गर्ने हुन, कस्तो खाले विषयमा प्लस टु गर्ने हुन ? विद्यार्थीलगायत अभिभावकका लागि पनि उत्तिकै चिन्ता को विषय रहेको हुन्छ, यसै सन्दर्भमा यहाँ केही सल्लाह तथा सुझाव दिने प्रयास गरिएको छ ।
प्रथमतः ती विद्यार्थीहरुले उच्च पढाइ गर्नका निम्ति र एसइईदेखि ं२ सम्म पुग्नका निम्ति छोटो समयका कोर्सहरु जसलाई ब्रीज कोर्ष पनि भनिन्छ, त्यस्ता कोर्स गर्नु अति आवश्यक देखिन्छ । यसले पछि ती विद्यार्थीहरुलाई प्लस टुमा गएर पठनपाठनमा ठूलो मद्दत पुग्ने छ । प्रायः ती विद्यार्थीहरुका लागि लगभग ३ महिनाको समय खालि रहेको हुन्छ र यस्ता ब्रिज कोर्स गर्नाले समयको पनि सदुपयोग हुने र दश जोड दुई का लागि अभ्यास पनि हुने देखिन्छ । धेरै विद्यार्थीले ब्रिज कोर्स गरिसकेका पनि छन् । अब एसइई परीक्षाको नतिजा केही दिनमा आउने चर्चा छ ।
आजभोलिका विद्यार्थीहरु करिअरको मामिलामा निकै सचेत रहेको देखिन्छ । अहिलेलाई उनीहरुका लागि विज्ञान संकाय, व्यस्थापन संकाय, मानवीय संकायजस्ता प्रचलित कोर्सहरुका लागि आफ्नो रुचिअनुसार ं२ रोज्न सक्छन् ।
तर त्यसपछिका उच्च तहका परीक्षाहरु जस्तै इन्जिनियरिङ, मेडिसिन आदिका लागि पनि त्यहीअनुरुप तयार पर्दै लैजानुपर्ने कुरा पनि उत्तिकै महत्वपूर्ण रहन जान्छ । त्यसैले एसइईपछि अगाडि बढ्नुभन्दा अगाडि ती विद्यार्थीहरुले निम्न कुराहरुमा ध्यान दिनु अति आवश्यक छ ।
१. लक्ष्य
हरेक विद्यार्थीको सानैदेखिको केही बन्ने सपना हुन्छ । प्रायः जसो आमाबुबाले तिनका सपना राम्ररी बुझेका पनि हुन्छन् । त्यसैले आमाबुबाको एउटा महङ्खवपूर्ण काम भनेको यदि उनका छोराछोरी डाक्टर पढ्न चाहन्छन् भने उनलाई ं प्लस टुको विज्ञान र त्यसमा पनि बायोलोजी समूहमा भर्ना गराउनुपर्छ भन्ने कुराको ज्ञान हुनु जरूरी छ ।
२. उक्त कोर्सको भविष्य के त ?
आजभोलि डाक्टर र इन्जिनियरिङ गर्नेहरु थुप्रै भइसकेका छन् । काठमाडौंमा मात्रै ४५ वटा भन्दा बढी इन्जिनियरिङ कलेज र त्यसैगरी गल्लीगल्लीमा अस्पताल, नर्सिङ होम आदि खुलेका छन् । तर के सबै विद्यार्र्थीको चाहना भनेको डाक्टर र इन्जिनियरिङ नै हुन् त ? यसो सरसर्ती हेर्दा र यो लेखकले करिब ३० देखि ४० प्रतिशत एसइई उत्तीर्ण गरेका विद्यार्थीहरुको मनोकांक्षा बुझ्न खोज्दा उनीहरु डाक्टर र इन्जिनियरिङभन्दा पनि कुनै नयाँ विषय गर्न चाहेको बताए र अझ विशेषगरी आजभोलि सबैको मुखमा रहेको आइटीसम्बन्धी नयाँ कोर्सहरु गर्न लालायित भएको अनुभव गरियो ।

३. क्षमता
कुनै पनि विद्यार्थीहरुले म यो विषय नै पढ्छु भन्दैमा उसले त्यो विषयमा दक्ष्यता हासिल गर्न सक्छ कि सक्दैन – यो कुरा जान्नु पनि उत्तिकै महङ्खवपूर्ण हुन जान्छ । किनभने कतिपय सन्दर्भमा कलेजले थुप्रै विद्यार्थी जोशका साथ भर्ना त गराउँछन् । तर, ती विद्यार्थी बीचमै पढाइ गर्न नसकेर अन्तै र अर्कै कोर्स पूरा गर्न जाने देखिएको छ । यस कुराको जिम्मेवारी लिने काम हो कलेज तथा त्यस्ता पठनपाठन गराउने संस्थाहरुको हो । यसका लागि उसले प्रवेश परीक्षाबाहेक विद्यार्थीको मनोबल आदि कुराहरु पनि जाँच गर्नुपर्छ ।

४. गलत अवधारणा
कतिपय विद्यार्र्थीहरुको सोच कस्तो हुन्छ भने सजिलो र सस्तो कोर्स गर्ने, जसमा मेहनत कम लागोस् र सजिलै पास पनि भइयोस् आदि । अझ कतिपयले त्यस्ता विषय रोज्नुको कारण के पनि भन्ने गर्छन् भने यो कोर्स पूरा गरेपछि व्यापारमा ठूलो सफलता पाइन्छ रे । त्यही भएर त्यो कोर्स रोजेको ? यो एकदमै गलत सोचाइ र अवाधरणा हो ।

नेपालमा एसइईपछि पढाइ हुने विषय के के हुन् त ?
१. प्लस टु
प्लस टु तहमा अध्यापन हुने विषय निम्नानुसार छन् ।
क. विज्ञान संकाय
प्रायः जसो विद्यार्थीहरुले रोज्ने विषय नै विज्ञान हो । यो विषय सकेपछि मात्रै उनीहरु डाक्टर र इन्जिनियरिङजस्ता स्नातक तहका कोर्स गर्न सक्षम हुन जान्छन् । यति मात्र नभई उनीहरु डाक्टर र इन्जिनियरिङबाहेक अरु पनि थुप्रै क्षेत्रमा जान सक्छन् । जस्तै नर्सिङ, पाइलट, फार्मेसिस्ट आदि । त्यसमाथि सरकारले पनि यससँग सम्बन्धित अन्य थुप्रै कोर्सहरुका लागि बाटो खुला गरिदिएकाले पनि यसको क्रेज बढेको हो ।
उदाहरणका लागि यदि कुनै विद्यार्र्थी डाक्टर पढ्न नपाएको खण्डमा मान्यताप्राप्त अन्य कोर्सहरु जस्तै द्य.क्अ. (माईक्रोबायोलोजी, फर्माकोलोजी, मेडिकल टेक्नोलोजी, जेनेटिक इन्जिनियरिङ, बायो केमिस्ट्री आदि कोर्स निसंकोच पढ्न पाउँछन् । यिनका बजारमा अभूतपूर्व रुपले जनशक्तिको माग पनि भइरहेको देखिन आएको छ । त्यस्तै गरी जो विद्यार्थी फिजिकल समूहमा भर्ना भएका हुन्छन् । उनका लागि त थुप्रै इन्जिनियरिङका कोर्स उपलब्ध छन् । जस्तै सिभिल, कम्प्युटर, मेकानिकल आदि ।
ख. व्यवस्थापन संकाय
यो संकायअन्तर्गत विद्यार्थीहरुले व्यापार, ट्रेड, लेखसम्बन्धी ज्ञान हासिल गर्छन् । यसको विशेषता भनेको यो विषयमा होटल व्यवस्थापन, कम्प्युटर विज्ञान, मार्केटिङ, बिजनेस म्याथ आदि जस्ता व्यापारमा उल्लेखनीय रुपमा प्रयोग हुने विषयहरु पनि पढ्न पाइन्छ । त्यसपछि उनीहरुले आआफ्नो भविष्यका लागि कुन विषयमा क्यारियर बन्न सक्छ भन्ने आभास पाइसकेको हुनुपर्छ ।

ग. मानविकी संकाय
यो विषय माथि भनेका भन्दा अलि फरक छ । यसमा संस्कृति, मानवीय संसाधन, सामाजिक शिक्षा, नृत्य, संगीत, राजनीति, सामाजिक कार्यहरु, ग्रामीण क्षेत्रको विकास आदि पर्न जान्छ ।
२. ए लेभल
यो कोर्स युकेको क्याम्ब्रिज विश्वविश्वविद्यालयबाट सम्बन्धन प्राप्त भएको कोर्स हो । आजभोलि प्रायःजसोको ध्यान यसमा बढ्दै गएको देखिन्छ । यो कोर्सअन्तर्गत विद्यार्थीहरुले थुप्रै विषयहरुमा पढ्न पाउने भएर पनि र आफ्नो रुचिअनुसारको विषयहरु पनि उनीहरुले पाउने हुनाले होला यसप्रति उनीहरुको आकर्षण बढ्दै गएको हो । यसको अर्काे विशेषता भनेको कुनै पनि विद्यार्थीले फिजिक्स सँगसँगै सोसोलोजी पनि लिन सक्छन् । अर्थात कुनै पनि संकायको कुनै पनि विषय उनीहरुले आफ्नो रुचिअनुसार लिन सक्छन् ।
३. आइबी
अर्थात यो एउटा विनानाफाको संस्था हो, जुन १९६८ मा स्वीट्जरल्यान्डको जेनेभामा स्थापना भएको हो । यसका विषयवस्तुहरु अलि फरक छन् । यसमा अन्तरसंस्कृतिसम्बन्धी पढाइ हुने गर्छन्, जुन अन्तर्राष्ट्रिय क्षेत्रमा ठूलो मूल्य छ ।
४. शिक्षा
यो अलि फरक कोर्स हो, जुन माध्यामिक स्तरका विद्यार्थीहरुलाई लक्षित गरी बनाईएको हो । जो विद्यार्थी भविष्यमा शिक्षक नै हुन चाहन्छन्, उनका लागि यो कोर्स अति उपयोगी हुन सक्छ । यो कोर्स उच्च माध्यमिक विद्यालयहरुले मिलेर खोलेका हुन् । यसका लागि आवश्यकताअनुसार शिक्षा मन्त्रालयले शिक्षक प्रशिक्षण कार्यक्रम पनि राख्ने गरेका हुन्छन् ।
५. फरेस्ट्री
नेपालमा फरेस्ट्रीको क्षेत्रमा हेर्ने हो भने लाग्छ, नेपालीहरुले भन्दा विदेशीले बढी बुझेका छन् । लाखांै डलर फरेस्ट्रीमा लगानी भइसकेको अवस्थामा पनि हामी नेपालीहरुको योग्यताका कमीले गर्दा विदेशबाट मानिसहरु आएर यहाँ शोध गरिरहेको देखिन्छ । अथवा फरेस्ट्रीसँग सम्बन्धित काम गरिराखेको देखिन्छ । नेपालमा हाल २ वटा शैक्षिक संस्था छन्, जसले फरेस्ट्रीसम्बन्धी आधिकारिक रुपले पढाउने तथा मान्यताप्राप्त सर्टिफिकेट दिने गर्दछन् – एउटा हेटांैडा र अर्काे पोखरामा । यो डिग्री हासिल गरेर तपाईंले विदेशीले ल्याउने विभिन्न प्रोजेक्टहरुको फरेस्ट्रीसम्बन्धी विभिन्न कामहरुमा आफ्नो रोजगारी प्राप्त गर्न सक्नुहुन्छ र विचार गर्नुहोस् यो क्षेत्रमा दक्ष जनशक्तिको एक दमै कमी छ ।
६. होटेल व्यवस्थापन
नेपालले पर्यटकीय दृष्टिकोणले फड्को मार्दै छ । उदाहरणस्वरुप यसका लागि हरेक २÷३ दिनमा नयाँ ठूलाठूला होटेल तथा रिसोर्ट खुलिरहेको कुराबाट हामी सबै अवगत नै छौं । तर, ती होटेलहरुका लागि आवश्यक पर्ने दक्ष जनशक्तिको भने अत्यन्त अभाव देखिन्छ । यो विषयसम्बन्धी कलेजहरु नेपालमै उपलब्ध छन् । पढाइ गर्न मिल्ने त्यस्ता कलेज नाथम (नेपाल एकेडेमी या टुरिजम एन्ड हस्पिटालिटी म्यानेजमेन्ट) एउटा हो, प्रवीणता प्रमाणपत्र तहको पढाइ हुने यो कलेजमा यो डिग्री हासिल गरिसकेपछि विद्यार्थी आफैले बुझ्नेछन् । यसको स्कोप कत्तिको रहेछ भनेर ।

७. संस्कृत
सुन्दा अचम्म लाग्ला किनभने आजको जेनेरेसन प्रविधितिर उन्मुख भइरहेको बेलामा यो संस्कृतको कुरा कहाँबाट आयो भनेर ? त्यसमा पनि लोप हुने अवस्थामा कसरी उल्लेख गरियो भनेर ? तपाईं भाइबहिनीहरुलाई विश्वास लाग्दैन होला, जर्मनीमा मात्रै संस्कृतसँग सम्बन्धित १७ वटा विश्वविद्यालय छन् । अर्थात नेपालमा यो विषयको महङ्खव जसरी न्यून भएर गएको छ, त्यही विषय नेपालबाहिरका देशहरुमा यसको महङ्खवले आकाश छोएको छ । कतिपय विदेशी देशहरुमा त यो विषय पढाइ नै हुन्छ र अझ कतिपय विदेशी भाषाहरु संस्कृतबाटै आएको भन्ने कुरा प्रमाणित भइसकेपछि त झन् यसमा ठूलो लगानी लाग्न थालेको छ । यस विषयमा ठूलो लगानीका साथ शोधहरु भइरहेका छन् ।
आउँदा दिनमा ती सबै शोधले नेपाललाई नै आफ्नो गन्तव्य बनाउने कुरामा दुईमत छैन । नेपाल नै मुख्य स्रोत हो भन्ने कुरा मानेर उनीहरुले भविष्यमा यही काम गर्ने प्रायः निश्चित छ । यो परिप्रेक्ष्यमा यो भाषामा ज्ञान हासिल गरेर दूरगामी अवसरलाई नियाल्न सकिन्छ । नेपालमै नेपाल संस्कृत विश्वविद्यालय छ जहा“ शास्त्र तथा संस्कृतसँग सम्बन्धित सम्पूर्ण पढाइ हुन्छ, एकपटक यसलाई पनि विचार गर्नुहोला ।

८. सिटिइभिटीअन्तर्गतका कोर्सहरु
मुख्यतः घरेलु तथा साना उद्योगहरुलाई टेवा दिने उद्देश्यले यो परिषद्को स्थापना गरिएको हो । नेपालमा हाल आएर घरेलु व्यवसाय धेरै नै फस्टाइसकेका छन् । त्यस्ता उद्योगमा विशेषगरी विपन्न तथा मध्यमवर्गीय परिवारका लागि टेवा होस् भनेर त्यस्ता कोर्सहरु सिटिइभिटीले अधिकारिक रुपले पढाउने गरेको छ ।
अझै पनि विपन्न तथा मध्यमवर्गीय परिवारकै बाहुल्य रहेको हाम्रो समाजका धेरै विद्यार्थीहरुका लागि यो विषय पढ्ने नपढ्ने अन्योलको अवस्था आउन सक्ने कुरा स्वाभाविक हो । तर विस्तारै देशमा विदेशी लगानी बढ्दै गएको अवस्था, राजनीतिक स्थिरता आएको बेलामा ठूलाठूला उद्योगहरु आउने सम्भावना प्रबल छ । कतिपय त सुरुवात पनि भइसकेका छन् ।
त्यतिबेला स्वरोजगारको सरकारी नीतिअनुरुप मौका पाउने भनेको देशभित्रकै योग्य तथा दक्ष जनशक्तिले नै हो, त्यतिबेला मात्रै थाहा हुन्छ, यसको महङ्खव के रहेछ भनेर । त्यसैले यो कोर्स गर्नु व्यर्थ जाँदैन ।
९. पोलिटेक्निक
माथि भनिएजस्तै सिटिइभिटीले नै सञ्चालनमा ल्याएको पोलिटेक्निक कोर्सको पनि भविष्यमा उत्तिकै स्कोप छ । हाल ५ वटा विकाश क्षेत्रहरुमा पाँचवटा पोलिटेक्निकसँग सम्बन्धित पढाइ हुने संस्था छन् । साधारण औषधिसम्बन्धी ज्ञानदेखि लिएर फार्मेसी आदि जस्ता कोर्सहरु यसमा गराइन्छ । दिनानुदिन मेडिकल कलेज, क्लिनिक, नर्सिङ होम आदिहरु खुलेको अवस्थामा यो कोर्सले सानो तर महङ्खवपूर्ण भूमिका खेल्ने पक्का छ । यस्ता जनशक्तिको आवश्यकता मात्रै होइन, अपरिहार्य हुन जाने प्रायः निश्चित छ ।
यसबाहेक कम्प्युटरसम्बन्धी डिग्री हासिल गर्न त थुप्रै संस्था छन्, जसले विभिन्न स्तरमा कोर्सहरु गरिरहेका छन् ।
यहाँ उल्लेखनीय विषय के हो भने हतारमा कुनै पनि विषय रोजि हाल्नुअघि विशेषज्ञसँग सही रायसल्लाह लिएर त्यो विषयको महङ्खव कत्तिको छ, ? भविष्यमा त्यसले कत्तिको रोजगारीमा टेवा पुर्याउँछ ? भन्ने कुरा बुझ्नु आवश्यक छ ।

 

बजेट कार्यान्वयनमा समस्या – सरकार असक्षम कि योजनाविहीन ?

चालु आर्थिक वर्ष २०८१/०८२ सकिन अब केही दिन मात्र बाँकी हुँदा मुलुकको बजेट कार्यान्वयनको अवस्था फेरि एकपटक आलोचना र चिन्ताको विषय बन्न पुगेको छ । नेपालको संघीय संसदीय व्यवस्थाको कार्यान्वयन र सरकारको संरचनात्मक बलियोपनका बाबजुद पनि विकास खर्चको गति आशानुकूल देखिएको छैन । यस आर्थिक वर्षमा सत्तामा रहेका नेपाली कांग्रेस र नेकपा एमालेजस्ता संसदका दुई ठूला दल मिलेर गठन गरिएको सरकारको अपेक्षित प्रभाव बजेट कार्यान्वयनमा नदेखिनु सरकारप्रतिको जनआस्थामा गम्भीर प्रश्न खडा गरिरहेको छ ।
यो अवस्था केवल संयोग वा समयको अभावले भएको होइन बरु संरचनागत समस्या कार्यान्वयन तहको लाचारी तथा नीतिगत अलमलको प्रतिबिम्ब हो ।
विगतका वर्षहरूमा जस्तै यो वर्ष पनि पुँजीगत खर्च अत्यन्त कमजोर देखिएको छ । आर्थिक वर्ष २०८०र०८१ का लागि विनियोजित ३ खर्ब ५२ अर्ब रुपैयाँ पुँजीगत बजेटमध्ये जेठ मसान्तसम्म जम्मा १ खर्ब ४३ अर्ब ३९ करोड रुपैयाँ मात्रै खर्च भएको देखिन्छ ।
यो खर्च कुल वार्षिक लक्ष्यको केवल ४०.७ प्रतिशत हो जुन अघिल्लो आर्थिक वर्षको सोही अवधिको खर्च ४४.६८ प्रतिशतभन्दा पनि कम हो । यसरी हेर्दा बजेट खर्चको अवस्था सुधारोन्मुख नभएर निरन्तर घट्दो छ ।
विशेषगरी भौतिक पूर्वाधार, सिँचाइ, सहरी विकास, ऊर्जा, खानेपानी, कृषि आदि विकास निर्माणसँग सम्बन्धित मन्त्रालयहरूले अपेक्षित खर्च गर्न नसकेको पाइन्छ । यी मन्त्रालयहरूको औसत पुँजीगत खर्च ३२ प्रतिशत हाराहारीमा सीमित छ । कुल मन्त्रालयहरूमध्ये १९ मन्त्रालयले आधा खर्च गर्न पनि नसकेको तथ्याङ्कले देखाउँछ भने ६ मन्त्रालयको पुँजीगत खर्च २० प्रतिशतभन्दा कम छ । यसबाट सरकारी संयन्त्रमा कार्यान्वयन क्षमताको गम्भीर प्रश्न उठ्न थालिसकेको छ ।
तर खर्च मात्र कमजोर भएको छैन स्रोत संकलन पनि अपेक्षाकृत निकै न्यून देखिएको छ । चालु वर्षको सुरुमा सरकारले राजस्व संकलनको लक्ष्य १४ खर्ब १९ अर्ब रुपैयाँ राखेको थियो । तर जेठसम्ममा जम्मा १० खर्ब १५ अर्ब संकलन भएको छ । यो आँकडाले लक्ष्यभन्दा राजस्व करिब ४ खर्बले कम उठेको देखाउँछ । यद्यपि गत वर्षको तुलनामा राजस्व ११ प्रतिशतले वृद्धि भएको देखिए पनि लक्षित संख्याबाट निकै पछाडि परेको हो । सुरुमा तत्कालीन अर्थमन्त्री वर्षमान पुनले ल्याएको राजस्व लक्ष्यलाई वर्तमान अर्थमन्त्री विष्णु पौडेलले संशोधन गर्दै १२ खर्ब ६७ अर्बमा झारेका थिए । तर त्यही संशोधित लक्ष्यभन्दा पनि असुली कम हुनु अर्काे चिन्ताजनक संकेत हो ।
बजेटमा आश्रित अन्य स्रोतहरू पनि अत्यन्त कमजोर अवस्थामा छन् । वैदेशिक अनुदानको सन्दर्भमा चालु वर्षमा साढे ५२ अर्ब रुपैयाँ आउनुपर्ने भनिएकोमा अहिलेसम्म जम्मा १७ अर्ब मात्रै आएको छ । यस्तै वैदेशिक ऋण पनि आधाभन्दा कम मात्रामा भित्रिएको छ । वैदेशिक सहयोगमा यति ठूलो खाडल भएपछि सरकारले खर्च चलाउन आन्तरिक ऋण लिने उपायमा निर्भर रहनुपरेको छ । जेठसम्म आन्तरिक ऋण उठाउने लक्ष्य लगभग पूरा भए पनि त्यसले दीर्घकालीन दायित्व थप्ने खतरा बोकेको छ ।
संविधान संशोधन, सुशासन र आर्थिक सुधारका गम्भीर घोषणाहरू गर्दै गठन गरिएको शक्तिशाली सरकारको यो अवस्था केवल कार्यान्वयनको कमजोरी मात्र नभएर नीति निर्माणको चरम असफलता पनि हो । सरकारले न त संविधान संशोधनको दिशामा सार्थक प्रयास र्गयो न त आर्थिक क्षेत्रमा कुनै ठोस सुधार ल्याउन सकेको देखियो । सुशासनका क्षेत्रमा पनि भ्रष्टाचारको निरन्तर बढ्दो आरोप खेपिरहँदा सरकार जनविश्वासमा नै असफल भएको संकेत दिन्छ ।
नेपालमा बजेट निर्माणको प्रक्रियामै संरचनागत कमजोरीहरू छन् । विशेषगरी बजेट निर्माणको पूर्वाधार कमजोर छ । स्पष्ट र कार्यान्वयनमैत्री कार्ययोजना निर्माण नगरेर बजेटमा रकम विनियोजन गरिन्छ । खासगरी सांसदहरूको सिफारिसमा आएका साना टुक्रे योजना जसको पूर्वतयारी नहुँदो हो ती बजेटमा समावेश गरिन्छन् । यस्तो प्रवृत्तिले खर्चलाई मात्र होइन सम्पूर्ण योजनालाई परिणामविहीन बनाउँछ । यो राजनीतिक हस्तक्षेपले बजेटलाई राजनीतिक उपहारमा रूपान्तरण गरिदिएको छ ।
आयोजना छनोटको प्रक्रिया वैज्ञानिक नभई ‘कागजमै योजना’ को प्रवृत्ति हावी छ । सरकारका बहुसंख्यक योजनाहरू म्भतबष्भिम एचयवभअत च्भउयचत (म्एच्) बिना नै बजेटमा राखिन्छन् । कार्यान्वयन योग्य नहुँदा यस्ता योजनाहरू बजेटमा रकम बाँधेर अलपत्र पर्छन् । प्राविधिक अनुमोदन, मुआब्जा, ठेक्का प्रक्रिया र बजेट निकासा सबै ढिलो हुने भएकाले परियोजना सञ्चालनमा महिनौं विलम्ब हुन्छ । परिणामस्वरूप विकास खर्चको अधिकांश भाग आर्थिक वर्षको अन्त्यतिर मात्रै हुने गर्छ जसले गुणस्तरीय खर्चको सम्भावना समाप्त पार्छ ।
कार्यान्वयन तहमा रहेका कर्मचारीहरूको क्षमताको अभाव, काम नगर्नेलाई संरक्षण र गर्नेलाई प्रोत्साहन नहुने परिपाटीले प्रशासनिक अनुशासनमा समेत गम्भीर असर पारिरहेको छ । परियोजना प्रमुखहरूलाई कुनै पनि बेला सरुवा गरिने मनोमानी परिपाटी अझै हटेको छैन । कुनै आयोजना सम्पन्न हुन लाग्दाखेरी प्रमुखको सरुवा हुँदा सम्पूर्ण कार्यप्रणाली ध्वस्त हुन्छ । यस्ता प्रशासनिक बेथिति सुधार्ने काममा सरकार असफल देखिएको छ ।

निर्माण कम्पनीहरूसँग हुने मिलेमतो पनि विकास खर्चको ठुलो बाधक हो । ठेक्का लगाउने प्रक्रियामा ढिलाइ गर्नु योग्यताविहीन निर्माण कम्पनीलाई राजनीतिक पहुँचका आधारमा काम दिलाउनु वर्षाैंसम्म आयोजनालाई अलपत्र राख्ने प्रवृत्तिले जनताको करदाताको पैसाको दुरुपयोग भएको छ । नियामक संस्थाहरू जस्तै महालेखा परीक्षकको कार्यालय, अख्तियार वा अन्य अनुगमन संयन्त्र प्रभावहीन भइरहेका छन् ।
राजस्व असुली कमजोर हुँदा र वैदेशिक सहयोग पनि घट्दो क्रममा हुँदा सरकारले आन्तरिक ऋणमा अत्यधिक निर्भर रहन थालेको छ । यसले निजी क्षेत्रको वित्तीय स्रोतलाई पनि प्रभावित बनाउँछ । बैंक तथा वित्तीय संस्थाहरूले सरकारलाई ऋण दिन प्राथमिकता दिने भएकाले निजी क्षेत्रमा ऋण प्रवाह घट्छ जसको परिणामस्वरूप उत्पादन र रोजगारीमा पनि गिरावट आउँछ ।
पुँजीगत खर्चको यो गिरावटले निजी क्षेत्रको मनोबललाई गम्भीर असर पुर्याएको छ । सरकारी लगानी नभएसम्म निजी क्षेत्रले पनि ठूलो लगानी गर्न हिचकिचाउने गर्छ । कतिपय परियोजनामा साझेदारी गर्ने (एएए) मोडलको चर्चा भए पनि कार्यान्वयन कमजोर देखिएको छ । न त कानुनी संरचना पर्याप्त छ न त आवश्यक नीतिगत स्पष्टता निजी क्षेत्रका लागि लगानीमैत्री वातावरण बन्न सक्न नसक्दा मुलुकको समग्र आर्थिक वृद्धि दर प्रभावित हुँदै गएको छ ।
विगतका वर्षहरू हेर्दा पुँजीगत खर्च घट्दो क्रममा छ । २०७६÷०७७ मा ५९.९ प्रतिशत पुँजीगत खर्च भएकोमा २०७९÷०८० सम्म आइपुग्दा त्यो ४४.६८ प्रतिशतमा झरेको थियो र यस वर्ष ४०.७ प्रतिशतमा झरेको छ । यो लहरागत गिरावटले देखाउँछ कि समस्या केवल अस्थायी नभएर गहिरो र दीर्घकालीन हो । सरकारले नीति, योजना, कार्यान्वयन र मूल्याङ्कनका सबै तहमा पुनरावलोकन र सुधारको आवश्यकता देखिएको छ ।
अबको आवश्यकता केवल बजेट निर्माण नभएर त्यसको प्रभावकारी कार्यान्वयन सुनिश्चित गर्नु हो । यसका लागि पूर्वतयारी बिना बजेटमा आयोजना नराख्ने कार्यसम्पादनका आधारमा मन्त्रालय तथा निकायहरूको मूल्याङ्कन गर्ने सांसद सिफारिसमा परियोजना समावेश नगर्ने ठेक्का प्रक्रिया पारदर्शी बनाउने र योजनाको अनुगमनलाई डिजिटल पार्ने जस्ता संरचनात्मक सुधारहरू अत्यावश्यक छन् ।
नेपालको सार्वजनिक बजेट प्रणाली केवल तथ्यांकको खेल नभई जनअपेक्षा राज्यको जवाफदेहिता र दीर्घकालीन आर्थिक रणनीतिको अभिन्न अंग हो । अहिलेको अवस्थामा सरकारको ध्यान पुनः योजना निर्माणभन्दा कार्यान्वयन सुधारमा जानु आवश्यक छ । यसो नगरे आर्थिक स्थायित्व, रोजगारी, पूर्वाधार र उत्पादन वृद्धि मात्र होइन समग्र लोकतान्त्रिक शासन प्रणालीमा नै जनविश्वास डगमगाउन सक्छ । वर्तमान समय सुधारको अन्तिम अवसर हो यसलाई चुकाउँदा मुलुकको भविष्य गम्भीर जोखिममा पर्नेछ ।
(लेखक – बोहोरा अर्थ सवाल साप्ताहिकका सम्पादक तथा नेपाल पत्रकार महासंघ काठमाडौं शाखाका सचिव हुनुहुन्छ )