दमक/ झापाको शिवसताक्षी नगरमा नेपाल तरुण दलको आसन्न राष्ट्रिय महाधिवेशन केन्द्रित वडा अधिवेशनहरु सम्पन्न भएका छन् । तरुण दलको महाधिवेशन आगामी मंसिर २६ देखि २८ गते सम्म हुने तय भएको जनाइएको छ ।
यसअघि पार्टीले तरुण दल लगायतका भ्रातृ एवं भगिनी संस्थालाई गत चैत मसान्तसम्मको समय दिइएकामा सो अवधि भित्र महाधिवेशनको तयारी नभएपछि १८ असारमा अर्को मिति तय भएको हो ।
लामो समयदेखि निष्क्रिय रहेको नेपाल तरुण दलको राष्ट्रिय महाधिवेशनको मिति निर्धारण भएसँगै वडा तहमा अधिवेशन सम्पन्न गरिएको तरुण दलका नेता तुला बोखिमले जानकारी दिनु भयो ।
उहाँका अनुसार शिवसताक्षीको १ नम्बर वडामा जंग बहादुर माझीको अध्यक्षतामा तरुण दलको वडा समिति गठन भएको छ ।
त्यसैगरी वडा नम्बर २ मा नवीन गुरुङ, वडा नम्बर ३ मा सुमन कटुवाल, वडा नम्बर ४ मा बद्री गिरी, वडा ५ मा आकाश आङदेम्बे, ६ मा यादव बुढाथोकी, वडा ७ मा आइत लिम्बु वडा समिति अध्यक्ष चुनिएका छन् ।
त्यस्तै वडा नम्बर ८ मा युवराज भट्टराई, वडा नम्बर ९ मा महेन्द्र नाल्बो , १० मा सोमिल राई र वडा नम्बर ११ मा सन्त कुमार राईको अध्यक्षतामा वडा अधिवेशन सम्पन्न भई तरुण दलको नयाँ नेतृत्व चयन भइसकेको नेता बोखिमले जानकारी दिनु भयो ।
वडा अधिवेशनले सबै वडाबाट ३/३ जनाका दरले क्षेत्रीय प्रतिनिधिहरु पनि चुनिएको तरुण दलले जनाएको छ ।
तरुण दल झापा क्षेत्र नम्बर ५ का अध्यक्ष गोकूल श्रेष्ठले महाधिवेशनको मिति तय भएसँगै तरुणहरु उत्साहित भएको बताउँदै संगठन पुननिर्माणमा जुटेको बताउनु भयो । उहाँले भन्नु भयो– महाधिवेशन नहुँदा तरुणहरुमा रहेको अन्योलकाबीच नयाँ मिति तोकिएको कारण नयाँ नेतृत्वका लागि तरुणहरु जुर्मुराएका छन् । यसले तरुण दललाई मात्रै नभएर सिंगो पार्टी संगठन निर्माणमा पनि सकारात्मक भुमिका खेल्ने विश्वास लिएका छौं ।








