झापा / गौरादह नगरपालिकाले चालू आर्थिक वर्षका नीति, कार्यक्रम र बजेट कार्यान्वयनको अवस्थाबारे सार्वजनिक सुनुवाइ सम्पन्न गरेको छ। नगरकार्यपालिकाको सभाहलमा आयोजित उक्त कार्यक्रम पूर्व न्यूज़ मिडिया को सहजीकरणमा सम्पन्न भएको हो।
कार्यक्रममा स्थानीय बासिन्दाले कृषि, पशुपालन, शिक्षा, स्वास्थ्य र पूर्वाधार विकाससम्बन्धी जिज्ञासा तथा गुनासा राखेका थिए। उनीहरूले कृषि कार्यक्रमको प्रभावकारी प्रसार–प्रचार नहुँदा धेरै किसान अनुदान–सुविधाबाट वञ्चित भएको, मल–बिउ तथा कृषि औजार सीमित व्यक्तिलाई मात्र वितरण भएको तथा कृषि तालिम र प्राविधिक सेवामा असमान पहुँच रहेको गुनासो व्यक्त गरे।
त्यस्तै, स्थानीयले गौरादह पोखरी निर्माणमा देखिएको ढिलाइ, सडक र नालाजस्ता पूर्वाधारका काम समयमा नहुँदा जनजीवन प्रभावित भएको तथा निर्माण सामग्रीको गुणस्तरप्रति नगरपालिकाले कडाइ नगरेको प्रश्नहरु उठाए।
जवाफमा नगर प्रमुख छत्रपति सुवेदी ले कृषिसम्बन्धी सबै अनुदान कार्यक्रमहरू वडा स्तरमै सार्वजनिक सूचनामार्फत प्रचार–प्रसार हुने गरेको उल्लेख गर्दै वितरण प्रक्रियामा पारदर्शिता कायम गरिएको दाबी गरे। उनले गौरादह पोखरी निर्माण कार्य प्रदेश सरकार अन्तर्गत पर्ने भएकाले नगरपालिकाले समन्वयमात्र गर्ने बताए।
उनले भने, “नगरपालिकाका सबै काम पारदर्शी छन्। कुनै पनि कार्यक्रममा मनोमानी हुने वातावरण छैन।”
सुनुवाइमा नगर उपप्रमुख जलवर्षा राजवंशी ले नगर क्षेत्रमा लागूऔषध दुरुपयोग गम्भीर सामाजिक समस्या बनेको बताउँदै यसको न्यूनीकरणका लागि विद्यालय, परिवार र समुदायको साझा प्रयास आवश्यक रहेको धारणा राखिन्।
कार्यक्रममा विभिन्न शाखा प्रमुखहरूले शिक्षा, स्वास्थ्य, पूर्वाधार, सामाजिक विकास, कृषि तथा प्रशासकीय क्षेत्रका सम्पन्न गतिविधि, चुनौती र उपलब्धिबारे विस्तृत प्रगति प्रतिवेदन प्रस्तुत गरे।
साथै वडा तथा टोल तहबाट संकलित नागरिक प्रतिवेदन पत्र र बहिर्गमित अभिमतको नतिजा समेत सार्वजनिक गरिएको थियो। कार्यक्रम स्थानीय नागरिकको सक्रिय सहभागिता र प्रश्नोत्तरका साथ सम्पन्न भयो।

Facebook Comments Box