गौरादह नगरको सार्वजनिक सुनुवाइ

झापा / गौरादह नगरपालिकाले चालू आर्थिक वर्षका नीति, कार्यक्रम र बजेट कार्यान्वयनको अवस्थाबारे सार्वजनिक सुनुवाइ सम्पन्न गरेको छ। नगरकार्यपालिकाको सभाहलमा आयोजित उक्त कार्यक्रम पूर्व न्यूज़ मिडिया को सहजीकरणमा सम्पन्न भएको हो।
कार्यक्रममा स्थानीय बासिन्दाले कृषि, पशुपालन, शिक्षा, स्वास्थ्य र पूर्वाधार विकाससम्बन्धी जिज्ञासा तथा गुनासा राखेका थिए। उनीहरूले कृषि कार्यक्रमको प्रभावकारी प्रसार–प्रचार नहुँदा धेरै किसान अनुदान–सुविधाबाट वञ्चित भएको, मल–बिउ तथा कृषि औजार सीमित व्यक्तिलाई मात्र वितरण भएको तथा कृषि तालिम र प्राविधिक सेवामा असमान पहुँच रहेको गुनासो व्यक्त गरे।
त्यस्तै, स्थानीयले गौरादह पोखरी निर्माणमा देखिएको ढिलाइ, सडक र नालाजस्ता पूर्वाधारका काम समयमा नहुँदा जनजीवन प्रभावित भएको तथा निर्माण सामग्रीको गुणस्तरप्रति नगरपालिकाले कडाइ नगरेको प्रश्नहरु उठाए।
जवाफमा नगर प्रमुख छत्रपति सुवेदी ले कृषिसम्बन्धी सबै अनुदान कार्यक्रमहरू वडा स्तरमै सार्वजनिक सूचनामार्फत प्रचार–प्रसार हुने गरेको उल्लेख गर्दै वितरण प्रक्रियामा पारदर्शिता कायम गरिएको दाबी गरे। उनले गौरादह पोखरी निर्माण कार्य प्रदेश सरकार अन्तर्गत पर्ने भएकाले नगरपालिकाले समन्वयमात्र गर्ने बताए।
उनले भने, “नगरपालिकाका सबै काम पारदर्शी छन्। कुनै पनि कार्यक्रममा मनोमानी हुने वातावरण छैन।”
सुनुवाइमा नगर उपप्रमुख जलवर्षा राजवंशी ले नगर क्षेत्रमा लागूऔषध दुरुपयोग गम्भीर सामाजिक समस्या बनेको बताउँदै यसको न्यूनीकरणका लागि विद्यालय, परिवार र समुदायको साझा प्रयास आवश्यक रहेको धारणा राखिन्।
कार्यक्रममा विभिन्न शाखा प्रमुखहरूले शिक्षा, स्वास्थ्य, पूर्वाधार, सामाजिक विकास, कृषि तथा प्रशासकीय क्षेत्रका सम्पन्न गतिविधि, चुनौती र उपलब्धिबारे विस्तृत प्रगति प्रतिवेदन प्रस्तुत गरे।
साथै वडा तथा टोल तहबाट संकलित नागरिक प्रतिवेदन पत्र र बहिर्गमित अभिमतको नतिजा समेत सार्वजनिक गरिएको थियो। कार्यक्रम स्थानीय नागरिकको सक्रिय सहभागिता र प्रश्नोत्तरका साथ सम्पन्न भयो।

कमल गाउँपालिकाका शिक्षकलाई बाह्य अध्यापनमा जान रोक लगाउँदै स्थानीय सरकार

झापा/ झापाको कमल गाउँपालिकामा कार्यरत सामुदायिक बिद्यालयका शिक्षकहरुलेस्थानीय सरकार र सम्बन्धित बिद्यालय व्यवस्थापन समितिसँग अनुमति÷स्वीकृत नलिई बाहिरका शिक्षण संस्थामा काम गर्न जान नपाउने व्यवस्था कडाइँसाथ लागू गर्ने भएको छ ।

सामुदायिक बिद्यालयको गुणस्तर सुधारका लागि कठोर कदम चाल्ने गाउँपालिका अध्यक्ष हुकुमसिंह राईले गरेको प्रतिबद्धता कार्यान्वयन गर्ने सिलसिलामा पालिकाले आज एक बिद्यालयलाई परिपत्र गर्दै त्यस्तो जनाएको हो ।
गाउँपालिकाले शिक्षा नियमावली २०५९ तथा शिक्षक आचारसंहितामा सामुदायिक विद्यालयका शिक्षकले व्यवस्थापन समिति र जिल्ला शिक्षा अधिकारीको स्वीकृति बिना आफू कार्यरत विद्यालय बाहिर काम गर्न नपाइने व्यवस्था रहेको स्मरण गराएको छ ।

वडा नं ६ स्थित बाणी माध्यमिक विद्यालयका केही शिक्षकले अन्य शैक्षिक संस्थामा समेत अध्यापन गरिरहेको भन्ने गुनासो आएपछि यथार्थ विवरण पेश गर्न विद्यालयलाई निर्देशन समेत दिइएको छ ।
गाउँपालिकाको शिक्षा शाखाबाट जारी पत्रअनुसार विद्यालय व्यवस्थापन समितिका पदाधिकारी, अभिभावक तथा सरोकारवालाले संयुक्त हस्ताक्षरसहित दिएको निवेदनका आधारमा सो विषयमा चासो लिइएको हो । निवेदनमा विद्यालयका प्रधानाध्यापकसहित केही शिक्षकले अन्य शिक्षण संस्थामा समेत अध्यापन गरिरहेको उल्लेख गरिएको छ ।
सम्बन्धित शिक्षकहरूले आवश्यक स्वीकृति लिएर मात्र बाह्य अध्यापन गरेको हो वा होइन भन्ने विषयमा स्पष्ट विवरण उपलब्ध गराउन गाउँपालिकाले निर्देशन गरेको शिक्षा शाखा प्रमुख सूर्यप्रसाद न्यौपानेद्धारा हस्ताक्षरित पत्रमा उल्लेख छ ।

इलामको एसईइ नतिजा- चुलाचुली गाउँपालिका पहिलो, माङसेबुङ कमजोर

दमक/  माध्यमिक शिक्षा परीक्षा एसईई २०८२ मा इलामका १० पालिका (स्थानीय तह) हरु मध्ये चुलाचुली गाउँपालिकामा सबैभन्दा धेरै उत्तीर्ण प्रतिशत भएका छन् भने माङसेबुङ गाउँपालिका सबैभन्दा कमजोर देखिएको छ ।
चुलाचुली गाउपालिका भित्र रहेका ९ वटा बिद्यालयबाट सहभागी बिध्यार्थीहरु मध्ये ८१.६ प्रतिशत बिद्यार्थीहरु उत्तीर्ण भएका हुन ।
चुलाचुली गाउँपालिका अध्यक्ष राजेन्द्र केरुङ बिद्यार्थी , शिक्षक र अभिभावकहरुको समेत सक्रियताका कारण स्थानीय सरकारले शिक्षामा गरेको लगानीको प्रतिफल सन्तोषजनक आएको प्रतिक्रिया दिए । उनले आगामी दिनमा थप प्रभावकारी ढंगबाट स्थानीय सरकारले शिक्षा क्षेत्रका योजनाहरु अघि सारिने उल्लेख गरे ।
चुलाचुली गाउँपालिकापछि इलाम नगरपालिका उत्तीर्ण प्रतिशतका आधारमा दोश्रो भएको छ । इलाम नगरपालिकाले ८० प्रतिशत बिद्यार्थी उत्तीर्ण गराएको छ ।
त्यस्तै देउमाइ नगरपालिकाले ७३.३३ प्रतिशत, माइ नगरपालिकाले ६८.५० प्रतिशत, सुर्याेदय नगरपालिकाले ६२.८१ प्रतिशत , रोङ गाउँपालिकाले ५९.७१ प्रतिशत, फाकफोकथुम गाउँपालिकाले ४६ प्रतिशत, माइजोगमाइले ४१.७१ प्रतिशत , सन्दकपुरले ३६.८९ प्रतिशत र माङसेबुङ गाउँपालिकाले सबैभन्दा कम ३३.९० प्रतिशत उत्तीर्ण गराएका हुन् ।

कमलको एसईई नतिजामा सामान्य सुधार, अध्यक्ष राई भन्छन– सन्तुष्ट छैनौं

झापा/  झापाको कमल गाउँपालिकाका सामुदायिक विद्यालयहरूको माध्यमिक शिक्षा परीक्षा एसईई २०८२ को नतिजामा सामान्य सुधार देखिएको छ ।
अघिल्लो वर्ष ७१ प्रतिशत रहेको समग्र उत्तीर्ण प्रतिशत यस वर्ष बढेर ७२ प्रतिशत पुगेको हो ।
गाउँपालिकाले सार्वजनिक गरेको विवरण अनुसार यस वर्ष १० वटा सामुदायिक विद्यालयबाट ४७८ जना विद्यार्थी परीक्षामा सहभागी भएका थिए । तीमध्ये ३४५ जना विद्यार्थी उत्तीर्ण भएका छन् ।
यस वर्षको नतिजामा केही विद्यालयले उत्कृष्ट प्रदर्शन गरेका छन् भने केही विद्यालयको नतिजा कमजोर देखिएको छ ।
श्री महेन्द्र रत्न माध्यमिक विद्यालय, कमल–२ ले शतप्रतिशत नतिजा ल्याउँदै उत्कृष्ट प्रदर्शन गरेको छ । सो विद्यालयबाट सहभागी ११ जना विद्यार्थी सबै उत्तीर्ण भएका हुन् ।
त्यस्तै, सबैभन्दा धेरै विद्यार्थी सहभागी भएको मंगलमय माध्यमिक विद्यालय, कमल–५ ले पनि उल्लेखनीय नतिजा ल्याएको छ ।
विद्यालयबाट सहभागी १६४ जनामध्ये १५४ जना उत्तीर्ण भएका छन् । विद्यालयको उत्तीर्ण प्रतिशत ९४ रहेको छ ।
बाँसबारी मावि, कमल–१ ले पनि ९४ प्रतिशत नतिजा ल्याएको छ भने श्री कमला मदन आमा मावि, कमल–२ ले ८२ प्रतिशत र शहिद धर्मभक्त मावि, कमल–३ ले ८१ प्रतिशत नतिजा हासिल गरेका छन् ।
केही विद्यालयको नतिजा भने कमजोर देखिएको छ । सरस्वती मावि, कमल–४ बाट सहभागी १४ जनामध्ये १ जना मात्र उत्तीर्ण भएका छन् । विद्यालयको उत्तीर्ण प्रतिशत ७ रहेको छ । त्यसैगरी वाणी मावि, कमल–६ को उत्तीर्ण प्रतिशत २२ र ज्योति मावि, कमल–२ को ३२ प्रतिशत रहेको छ ।

समग्रमा अघिल्लो वर्षको तुलनामा १ प्रतिशतले सुधार देखिए पनि विद्यालयबीचको नतिजामा ठूलो अन्तर देखिएको छ । शिक्षा क्षेत्रका सरोकारवालाले कमजोर नतिजा भएका विद्यालयको शैक्षिक अवस्था सुधारमा विशेष ध्यान दिनुपर्ने आवश्यकता औंल्याएका छन् ।
सन्तुष्ट छैनौं– अध्यक्ष राई
यसैबीच स्थानीय सरकारले पालिका भित्रका सामुदायिक बिद्यालयको समग्र नतिजामा सुधार देखिएता पनि यत्तिमै सन्तुष्ट हुन नसकिने जनाएको छ ।
शिक्षा समिति संयोजकको समेत जिम्मेवारी सम्हालिरेका गाउँपालिका अध्यक्ष हुकुमसिंह राईले भने– हामी यो नतिजाबाट पूर्ण सन्तुष्ट छैनौं । अघिल्लो बर्ष ७१ प्रतिशत रहेको उत्तीर्ण प्रतिशत २०८२ मा कम्तीमा ८१ प्रतिशत पुरयाउने लक्ष्य राखेका थियौं । उनले एसईई नतिजा सुधारका लागि गाउँपालिकाले सबै बिद्यालयमा अनुकुलता हेरी बिहानी, दिवा र रात्री कालिन समयमा निशुल्क ट्युशन कोचिङ कक्षाको व्यवस्था गरिएको पनि स्मरण गरे ।

विकल्पबिना सुकुम्बासी बस्ती नहटाउन चुलाचुली गाउँपालिकाको आग्रह

इलाम/ चुलाचुली गाउँपालिकाले काठमाडौंलगायतका क्षेत्रमा भइरहेको सुकुम्बासी बस्ती हटाउने विषयप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । गाउँपालिकाले शुक्रबार एक विज्ञप्ति जारी गर्दै उचित विकल्पको व्यवस्था नगरी नागरिकलाई विस्थापित नगर्न आग्रह गरेको हो ।

गाउँपालिका अध्यक्ष राजेन्द्र केरुङद्वारा हस्ताक्षरित विज्ञप्तिमा सर्वोच्च अदालतबाट समेत उचित विकल्पबिना नागरिकलाई विस्थापित नगर्न आदेश जारी भएको उल्लेख गरिएको छ । विज्ञप्तिमा चुलाचुली गाउँपालिकाबाट विभिन्न क्षेत्रमा बसोबास गरिरहेका भूमिहीन दलित, सुकुम्बासी तथा अव्यवस्थित बसोबासी नागरिकहरू प्रभावित भएकोप्रति पालिकाको चासो र चिन्ता रहेको जनाइएको छ ।

विज्ञप्तिमा नेपालको संविधानले प्रत्येक नागरिकलाई सुरक्षित र उपयुक्त आवासको हक सुनिश्चित गरेको उल्लेख गर्दै नागरिकलाई विकल्पविना सडकमा अलपत्र पार्नु राज्यको दायित्व विपरीत हुने बताइएको छ । साथै वर्षायाम नजिकिँदै गएको र प्राकृतिक विपद्को जोखिमसमेत बढिरहेका बेला विकल्पबिना बस्ती हटाउँदा मानवीय संकट उत्पन्न हुन सक्ने चेतावनी दिइएको छ ।

गाउँपालिकाले सुकुम्बासी समस्याको दीगो समाधान कानुनबमोजिम उचित व्यवस्थापन र वैकल्पिक बसोबासको सुनिश्चितताबाट मात्रै सम्भव हुने धारणा व्यक्त गरेको छ । यसका लागि वास्तविक भूमिहीन दलित, सुकुम्बासी तथा अव्यवस्थित बसोबासीहरूको लगत संकलन, प्रमाणीकरण तथा व्यवस्थापनको काम अघि बढाउनुपर्नेमा जोड दिइएको छ ।

विज्ञप्तिमा चुलाचुली गाउँपालिकाभित्र बसोबास गर्ने नागरिकलाई बाहिरी हल्ला र भ्रममा नपर्न आग्रह गर्दै आफ्ना बालबालिकाको शिक्षा, स्वास्थ्य, रोजगारी तथा दैनिक कार्यमा निर्भीक भएर लाग्न अनुरोध गरिएको छ । स्थानीय सरकार नागरिकको सुरक्षित बास र हकअधिकार संरक्षणमा सदैव प्रतिबद्ध रहेको पनि गाउँपालिकाले जनाएको छ ।

एसईईको नतिजा सार्वजनिक, ६५.९८ प्रतिशत उत्तीर्ण

झापा/  माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा सार्वजनिक भएको छ। आज (सोमबार) साँझ प्रकाशन भएको नतिजाअनुसार एसईईमा ६५.९८ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन्।

यसपालि ४.१७ प्रतिशतले नतिजामा सुधार आएको हो। गत वर्ष एसईईमा ६१.८१ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका थिए।

यस्तै, १ लाख ४६ हजार ५०७ जना विद्यार्थी ननग्रेडेड भएको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ।

नतिजा प्रकाशन गर्न परीक्षा केन्द्रमा नै उत्तरपुस्तिका परीक्षण व्यवस्था मिलाइएको थियो। बोर्डले परीक्षा सकिएको २९ दिनमा एसईईको नतिजा सार्वजनिक गरेको हो।
चैत २९ गते सकिएको एसईईमा ५ लाख १२ हजार ४ सय २१ जना विद्यार्थी सहभागी भएका थिए। जसमा २ लाख ५७ हजार ६ सय १३ जना छात्रा, २ लाख ५४ हजार ८ सय १ छात्र र ७ जना अन्य विद्यार्थी परीक्षामा सहभागी भएका थिए।

जापानको एभरेस्ट स्कुलबाट २३ जना विद्यार्थी परीक्षामा सहभागी भएका थिए। देशभर १ हजार ९ सय ६६ परीक्षा केन्द्रमा परीक्षा सञ्चालन भएको थियो।

परीक्षा बोर्डले एसईई नजिता हेर्न सकिने विभिन्न माध्यमबारे पनि जानकारी दिएको छ।

परीक्षा नियन्त्रण कार्यालयले एसएमएस गरेर वा सिधै वेबसाइटमा गएर एसईईको नजिता हेर्न सकिने जनाएको छ।

बोर्डका अनुसार, नियमित र ग्रेडवृद्धि परीक्षाको नतिजा एसएमएस र आईभीरबाट तीन ठाउँबाट जान्न सकिनेछ। त्यस्तै, १४ वटा वेबसाइटमा पनि प्रकाशन हुने कार्यालयले जनाएको छ।

दमकमा आगामी बजेट लक्षित नगर बाल भेला

दमक/आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि बालबालिका सम्बन्धी योजना, कार्यक्रम तथा नीति निर्माण प्रक्रियामा बालबालिकाको सहभागिता सुनिश्चित गर्ने उद्देश्यले झापाको दमकमा नगर बाल भेला सम्पन्न भएको छ ।

नगर बाल सञ्जाल दमकको आयोजना तथा दमक नगरपालिकाको आर्थिक सहयोगमा सम्पन्न भेलामा नगरभित्रका विभिन्न वडाका बाल सञ्जाल अध्यक्ष तथा प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

नगर बाल सञ्जाल दमकका अध्यक्ष दिवस वाग्लेको सभाध्यक्षतामा भएको बाल भेलामा दमक नगरपालिकाका नगर प्रमुख रामकुमार थापा प्रमुख अतिथिका रुपमा सहभागी थिए भने उपप्रमुख रेगिना भट्टराई विशेष अतिथीका रुपमा सहभागी थिइन् ।

प्रसाईले शुभकामना मन्तव्य दिँदै बालबालिकाको क्षमता विकास, नेतृत्व विकास तथा बाल अधिकार सुनिश्चिततामा यस्ता कार्यक्रम प्रभावकारी हुने बताइन् । कार्यक्रममा संस्थाका पूर्व पदाधिकारी तथा दमकका १० वटै वडाका बाल सञ्जाल अध्यक्षसहित पदाधिकारीहरुको समेत उपस्थिति रहेको थियो ।

भेलामा बालबालिकाका शिक्षा, स्वास्थ्य, संरक्षण, प्रतिभा विकास, खेलकुद तथा बालमैत्री वातावरण निर्माणलगायत विषयमा छलफल गरिएको दमक ५ का वडा बाल सञ्जाल सहसचिव बिदुर पौडेलले जानकारी दिए । सहभागी बालबालिकाले आगामी वर्षका लागि आवश्यक योजना तथा कार्यक्रम सम्बन्धी सुझाव प्रस्तुत गरेका नगर बाल सञ्जालकी सचिव लेलिन गौतमले बताए । कार्यक्रमको सहजीकरण आकृति बस्नेत र विशाल प्याकुरेलले गरेका थिए ।

सहभागीहरुलाई नगरले बालबालिका लक्षित कार्यक्रमहरु कस्ता हुनुपर्छ ? समुदाय र बिद्यालयमा के कुरा मन पर्छ ? के कुरा मन पर्दैन ? जस्ता प्रश्नावली सोधिएको थियो । सहभागीहरुले राखेको जवाफ तथा सुझावका आधारमा बालबालिका सम्बन्धिका आगामी कार्यक्रमहरु तय गरिने नगरपालिकाको भनाई छ ।

झापा मोडलमा विज्ञान र व्यवस्थापन संकाय पढने अवसर

दमक/  दमकमा सञ्चालित झापा मोडल अङ्ग्रेजी माविले कक्षा ११ मा विज्ञान तथा व्यवस्थापन सङ्कायका लागि सीमित सिटमा भर्ना लिन सकिने जनाएको छ । अनुभवी तथा दक्ष शिक्षकहरूबाट अध्यापन गराइँदै आएको पूर्वाञ्चलकै उत्कृष्ट प्लस टु विद्यालयको रूपमा परिचित यो विद्यालयले उत्कृष्ट नतिजा हासिल गर्दै आएको छ ।
विद्यालयका प्रिन्सिपल सागर श्रेष्ठका अनुसार अनुशासित वातावरणमा विद्यार्थीहरूको नेतृत्व क्षमता तथा व्यक्तित्व विकासमा विशेष जोड दिइँदै आएको छ । साथै, प्रयोगात्मक कक्षाका लागि पर्याप्त भौतिक पूर्वाधार, अत्याधुनिक विज्ञान प्रयोगशाला तथा प्रभावकारी शिक्षण विधिका कारण विद्यालय अभिभावक र विद्यार्थीहरूको पहिलो रोजाइमा पर्दै आएको छ ।
विद्यालयले तोकिएको मापदण्डअनुसार यस वर्ष पनि अन्य विद्यालयबाट आउने सीमित विद्यार्थीलाई मात्रै विज्ञान र व्यवस्थापन सङ्कायमा अध्ययनको अवसर प्रदान गरिने जनाएको छ । advt .

नयाँ विद्यार्थीलाई स्वागत गर्दै ओएसिस् एकाडेमी, कक्षा–१ का ३४ विद्यार्थी दीक्षित

शिवसताक्षी/  झापाको शिवसताक्षी–८ सृजना चोकस्थित ओएसिस् एकाडेमी ले नयाँ आगन्तुक विद्यार्थीहरुलाई स्वागत तथा सम्मान गरेको छ ।

शुक्रबार विद्यालय प्राङ्गणमा आयोजित कार्यक्रममा एकाडेमीका संस्थापक तथा प्रिन्सिपल उदयप्रकाश राई ले नयाँ विद्यार्थीहरुलाई स्वागत गर्दै सम्मान गरेका हुन् । सोही अवसरमा अनौपचारिक तह उत्तीर्ण गरी औपचारिक तह कक्षा–१ मा प्रवेश गरेका ३४ जना छात्र–छात्रालाई दीक्षान्तसमेत गरिएको विद्यालयले जनाएको छ ।

विद्यालयमा हाल पिजी तहदेखि कक्षा–८ सम्म पठनपाठन सञ्चालन भइरहेको जानकारी दिँदै प्रिन्सिपल राईले नयाँ विद्यार्थी भर्ना हुने क्रम अझै जारी रहेको बताए । उनले अनुभवी तथा दक्ष शिक्षक–शिक्षिकाबाट सुन्दर र शान्त वातावरणमा गुणस्तरीय शिक्षा प्रदान गरिँदै आएको उल्लेख गर्दै अभिभावकहरुले विद्यालय छनोट गर्दा शैक्षिक गुणस्तरलाई प्राथमिकता दिनुपर्नेमा जोड दिए ।

प्रिन्सिपल राईका अनुसार विद्यालयमा पाठ्यपुस्तकको अध्ययनसँगै विद्यार्थीहरुको सिर्जनात्मक कला, प्रतिभा तथा नेतृत्व विकासका लागि विभिन्न अतिरिक्त क्रियाकलापहरु पनि सञ्चालन गरिँदै आएको छ ।

त्यसैगरी कार्यक्रममा किरात राई समुदायको मौलिक सांस्कृतिक चाड उभौली पनि मनाइएको थियो । विद्यालय परिसरमा आयोजित कार्यक्रममा साकेला शिलि नृत्य प्रदर्शन गरिएको थियो । कार्यक्रमको सञ्चालन नम्रता राईले गरेकी थिइन् ।

चुलाचुलीमै अब नापी र मालपोत सेवा

चुलाचुली/  इलामको चुलाचुली गाउँपालिकाका नागरिकले भुमि सम्बन्धी कामका लागि झापा हुँदै आफ्नै जिल्लाको सदरमुकामसँग धाउनु पर्ने बाध्यताको अन्त्य भएको छ । अब नापी तथा मालपोतसम्बन्धी सेवा चुलाचुलीबाटै प्रवाह हुने भएपछि सामान्य सेवा लिनसमेत इलाम सदरमुकाम धाउनुपर्ने बाध्यता अन्त्य हुने भएको गाउँपालिका अध्यक्ष राजेन्द्र केरुङले जानकारी दिए ।
स्थानीय नागरिकको लामो समयदेखिको माग, गाउँपालिकाको निरन्तर पहल, जनप्रतिनिधिहरुको सक्रियता, कर्मचारीहरुको समन्वय तथा केन्द्र सरकारको सकारात्मक निर्णयपछि चुलाचुलीले ऐतिहासिक सफलता हासिल गरेको अध्यक्ष केरुङको भनाई छ ।
देशभरका ७५३ स्थानीय तह मध्ये पहिलो चरणमा २१४ पालिकाले मात्र अनुमति प्राप्त गरेको अवस्थामा चुलाचुली गाउँपालिका पनि उक्त सूचीमा पर्न सफल भएको हो ।
यसलाई चुलाचुलीका जनप्रतिनिधिहरुको ऐतिहासिक पहल र नागरिकको सामूहिक भावनाको उच्च कदर गरिएको क्षणका रुपमा लिइएको छ ।
स्थानीयवासीका अनुसार नापी र मालपोत सेवा गाउँपालिकाबाटै सञ्चालन भएपछि समय, खर्च र झन्झटको ठूलो बचत हुनेछ ।
चुलाचुली गाउँपालिकाले यो उपलब्धिलाई स्थानीय सरकारको प्रभावकारी कामको उदाहरणका रुपमा लिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजकुमार शाक्य बताउँछन् ।
गाउँपालिकाले नागरिकलाई सहज, सरल र नजिकबाट सेवा दिने उद्देश्यअनुसार आगामी दिनमा थप सेवा विस्तार गर्ने तयारीसमेत गरेको जनाएको छ ।