कमलको सामुदायिक शिक्षा – दरबन्दी मिलान कार्यदल, इ हाजिरी गाउँपालिकाकै पहुँचमा

कमल / सामुदायिक शिक्षा सुधारका लागि सकारात्मक काम अघि बढाएको झापाको कमल गाउँपालिकाले पालिका भित्रका बिद्यालयहरुमा शिक्षक दरबन्दी मिलान सम्बन्धि कार्यदल गठन गरेको छ ।
गाउँपालिकाको शिक्षा समितिका अध्यक्ष अध्यक्ष समेत रहनु भएका गाउँपालिका अध्यक्ष हुकुमसिंह राईको अध्यक्षतामा आज बसेको समितिको बैठकले स्थानीय सामुदायिक विद्यालयको अनुगमन र पारदर्शिताका लागि गाउँपालिका कार्यालयको पहुँचमा रहने गरी पहिलो चरणमा १० वटा माध्यमिक तहका विद्यालयमा इ–हाजिरी प्रणाली लागू गर्ने र स्थानीय पाठ्यक्रम निर्माणका लागि पाठ्यक्रम मस्यौदा समिति समेत गठन गर्ने निर्णय गरेको छ ।
इ हाजिरी प्रणालीको पहुँच अब सिधै गाउँपालिकाको कार्यालयमा रहने छ– बैठकपछि अध्यक्ष हुकुमसिंह राईले भन्नु भयो ।
प्रणाली जडान पश्चात शिक्षक तथा विद्यालयको उपस्थिति स्थिति र अनुशासनको नियमित र प्रभावकारी निगरानी सम्भव हुने अपेक्षा गरिएको छ ।
बैठकमा शिक्षा शाखा प्रतिनिधिहरू, विद्यालय व्यवस्थापन समितिका पदाधिकारी, शिक्षक तथा अन्य सरोकारवालाहरूको समेत उपस्थिति रहेको थियो । गाउँपालिकाले यस अघि सार्वजनिक सरोकारको बिषय भन्दै गाउँपालिकाका जनप्रतिनिधि र कर्मचारीहरुका छोराछोरीहरुको बिद्यालय तहको अध्ययन गर्ने बिद्यालयको सूची सार्वजनिक गरेको थियो ।
पालिकाले यस अघि सामुदायिक बिद्यालय हाता भित्र शैक्षिक क्रियाकलाप बाहेकका अन्य कुनै पनि राजनीतिक दल, संघ संस्था आदीका गतिबिधिहरु सञ्चालनमा रोक लगाउने निर्णय गरिसकेको छ । त्यस्तै पालिका भित्रका सामुदायिक बिद्यालयमा बिद्यार्थीहरुको आकर्षण बढाउन नृत्य प्रशिक्षण, भलिबल खेल प्रशिक्षण जस्ता आकर्षक र प्रभावकारी कामहरु गर्दै आएको छ भने सामुदायिक बिद्यालयहरुमा स्मार्ट बोर्डको प्रयोग गरी डिजिटल कक्षा सञ्चालनको अभ्यास गर्नुका साथै बिद्यालयको भौतिक पूर्वाधार बिकाससँगै सबै बिद्यालयका भवन एकै रंग (पहेंलो) बनाउने काम गरिरहेको छ ।
सामुदायिक बिद्यालयको गत बर्षको एसइइ परीक्षामा कमल गाउँपालिकाका ७१ प्रतिशत बिद्यार्थीहरु ग्रेडेड भएका छन् । कमल गाउँपालिका एसइइ परीक्षामा झापा जिल्लामै सबैभन्दा बढी बिद्यार्थी प्रतिशत ग्रेडेडको सूचीमा पार्न सफल पालिकाका रुपमा रहेको गाउँपालिकाको दाबी छ ।

 

शिवसताक्षीबाट ब्राउनसुगरसहित दुई जना पक्राउ

दमक/ झापाको शिवसताक्षीबाट दुई जनालाई प्रहरीले लागूऔषधसहित पक्राउ गरेको छ ।

कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरका अनुसार  इलाका प्रहरी कार्यालय शिवगञ्जबाट खटिएको प्रहरी टोलीले विशेष सूचनाका आधारमा शिवसताक्षी ५ का २९ बर्षिय राजेन्द्रकुमार ताजपुरीया र शिवसताक्षी ४ का २१ बर्षिय अशोक ताजपुरीयालाई ८ ग्राम ब्राउनसुगरसहित पक्राउ गरिएको हो । शिवसताक्षी ६ का वडाध्यक्ष मनोज खुलालले लागूऔषध समाजमा डरलाग्दो समस्याका रुपमा देखिएकाले स्थानीय सरकारले समेत यसका विरुद्ध सामाजिक सचेतनाका कार्यक्रमहरु अघि बढाइरहेको बताउनु भयो ।

त्यसैगरी लागू औषध नियन्त्रण ब्युरो विराटनगरको टोलीले विराटनगर–१५ बाट सुनसरी बराहक्षेत्र नगरपालिका–७ का ३२ बर्षीय मनोज बस्नेतलाई ३ ग्राम १०० मिलिग्राम ब्राउन सुगर सहित र इलाका प्रहरी कार्यालय राजारानी धनकुटाले चौबिसे गाँउपालिका–६ का मुकेश बिश्वकर्मा र दिवश राईलाई २ किलोग्राम गाँजा सहित पक्राउ गरेको छ ।

 

 मावा पुल तत्काल पुनर्निर्माण नगरिए विपत्तिको खतरा

झापा/ झापाको दमक-१० सेतुमारि र मोरङको उर्लाबारी-९ हुदै रतुवामाइ जोडने मावा पुल जीर्ण अवस्थामा पुगेको छ ।   पुलको पुर्बी भागमा ठूलो भ्वाङ परेको छ । सो पुलमा यो समस्या केही बर्ष अघिबाटनै देखिएको भएपनी सामान्य टालटुल मात्र हुँदै आएको थियो ।

यसै बर्ष पनि गएको चैत्र महिनाको अन्तिम साता स्थानीय केही युवाहरुले आफ्नै लगानी सो खाल्डो पुरेर सडक संचालन ल्याएका थिए । तर यो समस्या सामान्य टलटुलले मात्रा सिरचना दिगो बन्ने सम्भावना देखिदैन । पुलको अवस्था दयनिय बन्दै जादा यो सडक भए अहिले साईकल र मोटर साइकल मात्र सचालनमा रहेका भएपनी यो पनि कति समय चल्छ भन्न नसकिने अवस्था रहेको छ ।

यो पुल कस्ले हेर्ने र यसको सरक्षण र सम्बर्धनको जिम्मालेने निकाय कुन हो भन्ने अन्योल जस्तै बनेको छ । यो समस्या प्रती स्थानीय सरकार मौन बसिदिदा सर्वसाधारण जोखिम मोलेर यत्रागर्न बाध्य बनिरहेका छ्न । २०७१ साल चैतमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले शिलान्यास गरेपछि ४ करोड ४० लाख रुपैयाँको लागतमा दातृ निकायको सहयोगमा निर्माण भएको थियो ।

भाईको हत्या गर्ने दाजु पक्राउ

ताप्लेजुङ/ ताप्लेजुङको आठराई त्रिबेणी गाउँपालिका–४ आहालेका २२ बर्षीय मन कुमार बि.क.लाई आफ्नै भाईको हत्या गरेको आरोपमा प्रहरीले पक्राउ गरेको छ ।
गत शुक्रबार साँझ ६ बजे दाजु भाई बिच सामान्य बाद–बिबादको क्रममा विकले आफ्नै भाई २० बर्षीय रोशन बि.क.लाई खुकुरी प्रहार गर्दा रोशनको घटनास्थलमा नै मृत्यु भएको थियो ।
इलाका प्रहरी कार्यालय दोभानबाट खटिएको प्रहरी टोलीले उनलाई खुकुरीसहित नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले उनीमाथी थप अनुसन्धान तथा कानूनी कारवाही भईरहेको जनाएको छ ।

शोकमा जनप्रतिनिधिको साथ –घरमै पुरयाइँदै मृत्यु दर्ता प्रमाण पत्र र राहत

दमक/ जनमुखी कामको अभ्यासलाई अघि बढाइरहेका शिवसताक्षी नगरपालिका वडा नं ६ का जनप्रतिनिधिहरुले वडाबासीलाई परेको शोकमा सहयोगको अभ्यास शुरु गरेका छन् ।

वडा नं ६ को वडा कार्यालयले वडाबासी नागरिकको मृत्यु भएमा राहत रकमसहित मृत्यु दर्ता प्रमाण पत्र घरमै पुरयाएर सम्बन्धित परिवारलाई हस्तान्तरण गर्न शुरु गरेको हो ।
कतिपय मृतक परिवारले आफ्नो परिवारका सदस्यको मृत्यु भए पनि कार्यालय सम्म पुगेर सो घटना अर्थात मृत्यु दर्ता नगरेको पाइएकोले पनि शोकको घडीमा वडाका अभिभावक जनप्रतिनिधिहरु स्वयं मृतक परिवारमा पुगेर कार्यालयबाट जारी गरिनु पर्ने मृत्यु दर्ता प्रमाण पत्र दिन थालिएको वडाध्यक्ष मनोज खुलाल कार्कीले बताउनु भयो ।

८ श्रावणमा निधन भएकी सो वडाकी माया दमाईको परिवारलाई वडाध्यक्ष कार्कीसहितको वडाको टोलीले घरमै पुगेर मायाको मृत्यु प्रमाण पत्रसँगै उनका पति दधिराम दमाईलाई वडाका तर्फबाट समवेदना पत्र र राहत सहयोग रकम प्रदान गरियो । वडाले वडाबासीको मृत्यु भएमा ४ हजार ५सय रुपैयाँ राहत रकम दिने गरेको छ । वडा सदस्य गीता दर्जी, नरेन्द्र बस्नेत, गंगा ताजुरिया र वडा सचिव सन्तोष रिमाललगायत उपस्थिति रहेको थियो ।
नवौ पुन्य तिथीका दिन वडा कार्यालयको तर्फबाट स्वर्गीय मायाको परिवारसँग भेटघाट गर्न पुगेका वडाध्यक्ष कार्कीले भने, हामीले जे जति कार्यक्रमहरु ल्यायौं ती जनमुखी कार्यक्रम छन् ।

भण्डारीको पक्षमा लागेको आरोपमा एमालेको युवा संघ र खेलकुद महासंघका नेताहरुलाई कारवाही

काठमाडौं/  नेकपा एमालेभित्र पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई अध्यक्षमा ल्याउनुपर्ने आवाज उठिरहेका बेला समर्थकहरूलाई दबाउने प्रयास सुरु भएको छ । साउन ५–६ गतेको केन्द्रीय कमिटी बैठकले पूर्वराष्ट्रपति भण्डारीलाई एमालेमा फर्किन नदिने निर्णय गरेसँगै उनका समर्थकलाई ठेगान लगाउन थालिएको हो ।

एमाले र उसका भ्रातृसङ्गठनमा अध्यक्ष केपी शर्मा ओलीविरुद्ध विचार राख्ने नेता कार्यकर्तामाथि एकपछि अर्को कारबाही हुन थालेको छ ।

भण्डारीको पक्षमा लागेको भन्दै  राष्ट्रिय युवा सङ्घ नेपालले लुम्बिनी प्रदेश अध्यक्ष सुरज खरेललाई निलम्बन गरेको घटना । खरेलले सामाजिक सञ्जालमा एमालेको आगामी नेतृत्वमा विद्यादेवी भण्डारीलाई ल्याउनु पर्ने धारणा सार्वजनिक रूपमा राख्दै आएका थिए । यही विषयलाई लिएर महासचिव महेश चौलागाईंले खरेललाई असार २५ गते स्पष्टीकरण मागेका थिए ।

स्पष्टीकरणमा पोखरामा सम्पन्न महाधिवेशनको समयमा खरेलले अध्यक्ष मण्डलका केही सदस्यप्रति ‘अभद्र व्यवहार’ गरेको आरोप लगाइएको थियो । खरेलले लिखित स्पष्टीकरण दिँदै आफूले कसैलाई अभद्र व्यवहार नगरेको स्पष्ट पारेका थिए ।

तर महासचिव चौलागाईंले खरेलको स्पष्टीकरण अस्वीकार गर्दै एक वर्षका लागि सबै जिम्मेवारीबाट पदमुक्त गरिएको र निलम्बन गरिएको निर्णय पत्र साउन ९ गते पठाइएको छ । तर, सङ्गठनकै स्रोतले उक्त निर्णयको प्रक्रिया विवादास्पद रहेको बताएको छ ।

युवा सङ्घको पदाधिकारी बैठक साउन ९ मा बसेको दाबी गरिएको भए पनि त्यही सङ्गठनका अर्का एक पदाधिकारी भन्छन्– ‘म क्षितिज थेवेकै प्यानलबाट जितेको मान्छे हुँ । बैठक भएको हो भने मलाई खबर हुने थियो, म काठमाडौंमै थिएँ । बैठक बसेको छैन।’  खरेलले आफूमाथि राजनीतिक पूर्वाग्रह राखेर कारबाही गरिएको आरोप लगाएका छन् । ‘सङ्गठनमा फरक मत राखेकै कारण हुँदै नभएका आरोप लगाएर निलम्बन गरिनु खेदजनक हो । यसले मलाई कुनै फरक पार्दैन । म सङ्गठनका गतिविधिलाई निरन्तरता दिन्छु,’ उनले प्रतिक्रिया दिएका छन् । उनले निलम्बन अस्वीकार गर्दै पार्टीलाई चुनौती दिइसकेका छन् ।

एमालेको अर्को भ्रातृ सङ्गठन नेपाल खेलकुद महासङ्घ (नेकोस) ले पनि पार्टी निर्णयको पालनामा कठोर हुँदै कारबाही थालेको छ ।

महासङ्घले पार्टी केन्द्रको ५४औँ सचिवालय बैठक र केन्द्रीय कमिटीको नवौँ बैठकको निर्णयको अवज्ञा गर्दै अराजक ढंगले सामाजिक सञ्जालमा केही चित्रसहित अभिव्यक्ति राख्ने काम भएको भन्दै तीन नेतालाई कारबाही गरेको हो ।

ती कुरा महासंघको मूल्यमान्यताविपरीत पाइएको भन्दै ती स्थायी कमिटी तथा केन्द्रीय कमिटी सदस्यहरूलाई स्पष्टीकरण सोधिएको हो । परशुराम बस्नेत नेतृत्वको महासङ्घले ती नेतामाथि छानबिन गरी आवश्यक कारबाही अघि बढाउन अनुशासन आयोगलाई जिम्मेवारी दिएको छ । यसरी कारबाही थालिएका नेताहरूमा हरिवंश कडरिया, कमलमणि गौतम र हरि बर्तौला रहेका छन् ।

एमालेभित्र देखिएको पछिल्लो घटनाक्रमले अध्यक्ष ओलीविरुद्ध बोल्ने र विद्या भण्डारीलाई साथ दिने नेता–कार्यकर्तालाई ‘अनुशासन’को नाममा नियन्त्रण गर्न थालिएको देखाएको छ । खबरहबबाट

जोर्नी दुखाई समस्यामा औषधिको अनुचित प्रयोग – निम्तिन सक्छ यस्तो जोखिम

यतिबेला अक्सर घर परिवारका कोही न कोही सदस्य शरीरका विभिन्न भाग जस्तै हात खुट्टाको जोर्नी दुखाईको समस्याबाट पीडित छन् । दमकस्थित दमक अस्पतालमा आउने सबैभन्दा धेरै बिरामीको संख्यानै हाड जोर्नी सम्बन्धीको समस्याका बिरामी छन् ।
दमक अस्पतालका प्रशासन प्रमुख एवं सूचना अधिकारी समेत रहनु भएका जनरल फिजिसियन डा. अनुपम घिमिरेका अनुसार अस्पतालमा आएका मध्ये झण्डै ५० प्रतिशत जोर्नी सम्बन्धीको समस्याबाटनै पीडित भएको देखिन्छ । हरेक दिन ३/४ सयको हाराहारीमा हाडजोर्नी दुखाई सम्बन्धिका बिरामी यो अस्पताल आउने गर्छन ।

हाड जोर्नीको समस्या झेलिरहेका यि बिरामी अस्पतालको पहुँच भएकाहरु मात्रै हुन् । अस्पताल सम्म आउनै नसकेका, यो समस्याबाट घरमै थलिएर बसेका र घरायसी औषधि भन्दै विभिन्न जडिबुटीको भर परेर बसेका, अन्धविश्वास र रुढीवादी प्रथाका कारण धामी झांक्री, देउ देउताको भर परेर बसेका बिरामीहरु पनि छदैंछन् ।

पूर्व क्षेत्रका विभिन्न जिल्लामा जोर्नी सम्बन्धी समस्या जसरी बढीरहेको छ त्यसरीनै यसको उपचार अर्थात समाधानका लागि औषधिको अनुचित प्रयोग पनि उसैगरी बढिरहेको छ । दुखाई बढ्नासाथ यसको पीडालाई कम गर्न चिकित्सकहरुको सल्लाहमा बिनानै जथभावी रुपमा पेनकिलरका रुपमा विभिन्न एलोपेथिक , तथा अन्य जटिबुटी औषधिहरुको प्रयोग गर्नाले मानव स्वास्थ्यमा नकारात्मक असर परिरहेको छ । जथाभावी रुपमा प्रयोग गरिने औषधिहरूले लाभभन्दा बढी हानि पुरयाउने खतरा बढीरहेको डा. घिमिरेको बुझाई छ ।

सजिलै पाइने स्टेरोइडयुक्त औषधि तथा पेनकिलरहरू जोर्नी दुखाइका लागि सहज उपायका रूपमा प्रयोग हुने गरेपनि अन्तत यि औषधिहरुको सन्तुलन नमिलाई आफू खुशी प्रयोग गर्नाले दीर्घकालीन रोगहरुको जोखिम बढेको छ । यस ढंगबाट औषधिको अनुचित प्रयोगले मानिसहरुको मिर्गौला, कलेजो र मुटुमा गम्भीर असर पुर्याउने विशेषज्ञहरू बताउँछन्।

डा. घिमिरे भन्छन्, “जोर्नीको समस्या समाधानका लागि औषधिको अनुचित प्रयोग खतरनाक बन्दै गएको छ । यसलाई नजिकबाट निगरानी गर्नु अत्यन्त आवश्यक छ ।”
डा. घिमिरेका अनुसार रोगको प्रकृति अनुसार उपयुक्त उपचार नगरी बिरामी आफैंले वा क्लिनिक तथा फार्मेसीहरुबाट औषधि सेवन गर्दा समस्या थप जटिल बन्ने खतरा रहन्छ ।
सरकार तथा यससंग सम्बन्धित निकायहरूले यस विषयमा जनस्तरमा सचेतना फैलाउन आवश्यक रहेको उहाँको सुझाव छ ।

गाउँ तथा शहरका स्थानीय स्वास्थ्य चौकीहरूमा बिरामीको चाप बढ्दै गइरहेकाले आम नागरिकमा औषधिको सही प्रयोगबारे जनचेतना फैलाउन आवश्यक देखिएको हो ।
स्वास्थ्यकर्मीहरूले पनि अनुगमन र सल्लाहमार्फत यस्तो लापरवाही रोक्नुपर्ने आवश्यकता औंल्याएका छन्।

कमल नगर अस्पतालकाका कार्यालय प्रमुख समेत रहेका स्वास्थ्यकर्मी दिपक दाहाल ग्रामिण क्षेत्रमा अझै पनि बिरामीहरु चिकित्सकसँगको सल्लाह बिनानै औषधि माग्न आउने गरेको बताउनु हुन्छ । दवाई दिँदा भइहाल्छ नि , हामी उहिल्यैदेखि दोकानबाट दवाई लगेर खाने गरेका छौं भन्ने बिरामीहरु अझै पनि भेटिनु हुन्छ । हामी उहाँहरुलाई डाक्टरहरुको सल्लाह, ल्याब परिक्षण जस्ता कुराहरुको महत्व र यसो नगरि गरिने उपचारबाट हुने नोक्सानीका बारेमा जानकारी गराएर पठाउने गरेका छौं ।

खीर खाने विशेष दिनका रुपमा मनाइयो श्रावण १५

सांस्कृतिक रुपमा मनाइँदै आएको साउन १५ गते आज नेपाली समाजमा खीर खाएर मनाइएको छ । साउन १५ गते खीर खाने प्राचीनकालदेखिको नेपाली परम्परा छ । दूधमा मरमसलालगायत चिजबिज हालेर बनाइने खीरले स्वास्थ्यलाई राम्रो गर्ने भएकाले यसको परम्परा बसेको विश्वास गरिन्छ ।

घर, कार्यालय एवं साथीभाइ जम्मा भएर खीर खाने चलन बढ्न थालेको छ । खीरको संस्कृति प्रवद्र्धन गर्न कार्यक्रम समेत आयोजना गर्ने गरिएको छ । संस्कृत भाषामा पायस भनिने खीर सात्विक आहारमध्येमा उत्तम मानिने भएकाले पितृ एवं देव कार्यमा पनि महत्वपूर्ण वस्तु मानिएको धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक समितिका पूर्वअध्यक्ष प्राडा रामचन्द्र गौतम बताउँछन् ।

साउन महिनामा गाउँघरमा खेतीपातीको काम सकिन्छ । हरियाली बढी हुने भएकाले घाँस बढी पाइन्छ । घाँस पाइने बेलामा गाई, भैँसीले दूध पनि धेरै दिन्छन् । दूध धेरै भएपछि इष्टमित्र, चेलबेटीलाई खीर खुवाउने चलन चलेको हो । साउन भगवान् शिवको महिना हो ।

शिवलाई दूध र दूधमा बनेका परिकार मनपर्ने भएकाले खीरलगायत मिठाइ विधिपूर्वक चढाइन्छ । यसैले गर्दा साउनको मध्य पारेर खीर खाने चलन चलेको हुनसक्ने धर्मशास्त्रविद् गौतम बताउनुहुन्छ । तर यसको कुनै शास्त्रीय वचन भने छैन ।

ऋषिमुनिको पालादेखि नै श्राद्धलगायत पितृ कार्यमा निमन्त्रणा गरिएका ब्राह्मणलाई पायस अर्थात् खीर खुवाउने गरिएको थियो । अहिले पनि वैदिक सनातन धर्मावलम्बीले श्राद्धका दिन अनिवार्य रुपमा गाईको दूधमा पायस अर्थात् खीर बनाउँछन् ।

मुख्यमन्त्री शाहले लिए विश्वासको मत

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल शाहले विश्वासको मत प्राप्त गरेका छन्।

नागरिक उन्मुक्ति पार्टी (नाउपा) ले समर्थन फिर्ता लिएपछि बिहीबार मुख्यमन्त्री शाहले प्रदेश सभामा विश्वासको मत माग गरेका थिए। सो मागसँगै उनले विश्वासको मत प्राप्त गरेका हुन्।

सं‌घीय सरकारमा सत्ता साझेदार दुई प्रमुख दल नेपाली कांग्रेस र नेकपा एमालेले ह्विप जारी गरेको थियो। त्यस अनुसार मुख्यमन्त्री शाहले कांग्रेसको १८ र एमालेको ११ मत प्राप्त गरेका छन्।

दुई दलबाट प्राप्त भएको २९ मत सरकार टिकाउन पर्याप्त छ।

समर्थन फिर्ता गरेको नाउपाकै एक सांसद कैलाश चौधरीले पनि मुख्यमन्त्री शाहको पक्षमा मत दिएका छन्। नाउपाका अन्य ६ जना सांसद भने अनुपस्थित थिए।

नेकपा माओवादी केन्‍द्रका १० जना, नेकपा एकीकृत समाजवादीका ३, राप्रपाका एक जना र स्वतन्त्रका एक जनाले विपक्षमा मतदान गरे। राप्रपाकी खेमादेवी विष्ट र स्वतन्त्र सांसद डा. ताराप्रसाद जोशीले विपक्षमा मत हालेका हुन्।  कुल ४५ जना सांसदहरू मतदानमा सहभागी भएका थिए।

मेडिकलमा लागूऔषध भण्डारण गर्ने व्यवसायी पक्राउ

झापा/ मोरङको केरावारी गाउँपालिका–७ मा रहेको मुगु मेडिकलबाट प्रतिबन्धित लागूऔषधी सहित मेडिकल सञ्चालक पक्राउ परेका छन् ।
सञ्चालक बेलबारी नगरपालिका–८ का २८ बर्षीय मनिष कुँवरलाई प्रहरीले पक्राउ गरेको हो ।

मंगलबार बिहान मेडिकलबाट प्रतिबन्धित लागू औषधीको कारोबार भईरहेको भन्ने विषेश सूचनाको आधारमा इलाका प्रहरी कार्यालय केराबारी र लागू औषध नियन्त्रण ब्युरो विराटनगरबाट खटिएको प्रहरी टोलीले मेडिकलबाट डिकोलिक ४ हजार ५ सय ट्याव्लेट र ट्रामाडोल ४ हजार ५ सय ट्याव्लेट बरामद गरेको हो । प्रतिबन्धित लागूऔषधी सहित पक्राउ परेका कुँवरमाथि थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।