सांस्कृतिक रुपमा मनाइँदै आएको साउन १५ गते आज नेपाली समाजमा खीर खाएर मनाइएको छ । साउन १५ गते खीर खाने प्राचीनकालदेखिको नेपाली परम्परा छ । दूधमा मरमसलालगायत चिजबिज हालेर बनाइने खीरले स्वास्थ्यलाई राम्रो गर्ने भएकाले यसको परम्परा बसेको विश्वास गरिन्छ ।

घर, कार्यालय एवं साथीभाइ जम्मा भएर खीर खाने चलन बढ्न थालेको छ । खीरको संस्कृति प्रवद्र्धन गर्न कार्यक्रम समेत आयोजना गर्ने गरिएको छ । संस्कृत भाषामा पायस भनिने खीर सात्विक आहारमध्येमा उत्तम मानिने भएकाले पितृ एवं देव कार्यमा पनि महत्वपूर्ण वस्तु मानिएको धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक समितिका पूर्वअध्यक्ष प्राडा रामचन्द्र गौतम बताउँछन् ।

साउन महिनामा गाउँघरमा खेतीपातीको काम सकिन्छ । हरियाली बढी हुने भएकाले घाँस बढी पाइन्छ । घाँस पाइने बेलामा गाई, भैँसीले दूध पनि धेरै दिन्छन् । दूध धेरै भएपछि इष्टमित्र, चेलबेटीलाई खीर खुवाउने चलन चलेको हो । साउन भगवान् शिवको महिना हो ।

शिवलाई दूध र दूधमा बनेका परिकार मनपर्ने भएकाले खीरलगायत मिठाइ विधिपूर्वक चढाइन्छ । यसैले गर्दा साउनको मध्य पारेर खीर खाने चलन चलेको हुनसक्ने धर्मशास्त्रविद् गौतम बताउनुहुन्छ । तर यसको कुनै शास्त्रीय वचन भने छैन ।

ऋषिमुनिको पालादेखि नै श्राद्धलगायत पितृ कार्यमा निमन्त्रणा गरिएका ब्राह्मणलाई पायस अर्थात् खीर खुवाउने गरिएको थियो । अहिले पनि वैदिक सनातन धर्मावलम्बीले श्राद्धका दिन अनिवार्य रुपमा गाईको दूधमा पायस अर्थात् खीर बनाउँछन् ।

Facebook Comments Box