बञ्चरोले हानेर दाजुको हत्या

 सप्तरी/  सप्तरीको राजविराज नगरपालिका–२ स्थित पडरियामा आज घरायसी विवादका क्रममा भाइले दाईलाई बञ्चरो प्रहार गरी हत्या गरेका छन् ।  स्थानीय नरेन्द्र झाले घरायसी विवाद हुँदा दाई लोकेन्द्र झाको टाउकोमा बञ्चरो प्रहार गर्दा उहाँको मृत्यु भएको प्रहरी नायब उपरीक्षक जीतेन्द्रकुमार बस्नेतले बताए । चालीस वर्षीय लोकेन्द्रको विराटनगरस्थित नोबेल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरी नायब उपरीक्षक बस्नेतको भनाइ छ । घटनाबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

दमकको चियादोकानबाट लागूऔषधसहित चार जना पक्राउ

दमक/ झापाको दमक नगरपालिका वडा नम्बर ४ चियादोकानका पासाङ तामाङको घरबाट उनकी श्रीमती २६ बर्षीया शितल भनिने ज्योती राई तामाङसहित चार जनालाई प्रहरीले लागूऔषध खैरो हेरोईनसहित पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा तामाङसहित कमल गाउँपालिका वडा नं. ५ पाथीभरा टोलका २७ बर्षिय संजिब लिम्बु , वसन्त राई र सन्दिप धिमाल रहेका जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
बिहिबार राती करीब १० बजे सो घरमा लागूऔषध कारोबार भइरहेको भन्ने गोप्य सुचनाको आधारमा इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले ११ ग्राम ३९० मिलिग्राम) प्लाष्टिक बाहेक ३ ग्राम ३२० मिलिग्राम लागूऔषधसहित पक्राउ गरेको हो ।

१ लाख १४ हजारसहित तास खेल्ने समुहका ८ जना पक्राउ

दमक/  बिर्तामोड नगरपालिका वडा नं. ५ ट्राफिक बिट छेउमा रहेको सरोज श्रेष्ठको घरमा गोपाल श्रेष्ठले संचालन गरेको खाजा घरमा तास खेल्ने ८ जनालाई प्रहरीले पक्राउ गरेको छ । नगद १ लाख १४ हजार ५ सय ५५ रुपैयाँ र १२ बुङ ताससहित उनीहरु पक्राउ परेका जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
पक्राउ पर्नेहरुमा बिर्तामोड ५ धिमाल चोकका तिर्थराज तामाङ, इलाम देउमाई न.पा. वडा नं. १ बरबोटे घर भई हाल अर्जुनधारा ११ बसपार्क बस्ने कुशल गुरुङ, ताप्लेजुङ पाथिभरा याङबरक गा.पा. वडा नं. २ थेचम्बु घर भई बिर्तामोड ६ स्यालडाँगी बस्ने भुपाल कुमार कटुवाल, पाँचथर हिलिहाङ ८ भारपा घर भई हाल बिर्तामोड ५ किराँत चोक बस्ने मन कुमार कटुवाल, पाँचथर फिदिम ४ थापाटार घर भई हाल बिर्तामोड ५ सगरमाथा टोलका हम बहादुर थापा, धरमपुर गा.वि.स. वडा नं. २ धरमपुर घर भई हाल बिर्तामोड न.पा. वडा नं. ५ बसपार्क बस्ने गोपाल श्रेष्ठ, पाँचथर घर भई हाल झापा बिर्तामोड न.पा. ६ बुट्टाबारी बस्ने सुजन श्रेष्ठ र पाँचथर हिलिहाङ गा.पा. वडा नं. ७ धारपा घर भई हाल बिर्तामोड न.पा. वडा नं. ५ बसपार्क बस्ने ध्रुव श्रेष्ठ रहेका छन् । उनीहरुलाई अदालतबाट चार दिनको म्याद थप आदेश लिई थप अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।

 

जनताका साझा मुद्धामा राजनीतिक दलहरु एक ठाउँमा उभिनुपर्छ- सिटौला

झापा / नेपाली कांग्रेसका नेता कृष्ण प्रसाद सिटौलाले जनताका साझा मुद्धा समाधानका लागि सबै राजनीतिक दलहरु एक ठाउँमा उभिनु पर्ने आवश्यकता औंल्याउनु भएको छ ।
नेपाली जनताको त्याग र समर्पणबाट प्राप्त उपलब्धीहरुको रक्षा गर्नु राजनीतिक दलहरुको साझा कर्तव्य भएको उहाँको भनाई छ ।
कांग्रेसका पुर्व महामन्त्री तथा राष्ट्रियसभामा संसदीय दलका नेता समेत रहनु भएका सिटौलाले नेपाल किसान महासंघ कोशी प्रदेशको पहिलो अधिवेशन आज दमकमा उदघाटन गर्दै त्यस्तो बताउनु भएको हो ।
सिटौलाले अहिले कोही सत्ता पक्ष र प्रतिपक्ष नभई एकै ठाउँमा उभिनुपर्ने अवस्था रहेको बताउनु भयो ।
खेतीपाती गर्ने किसानहरु नोक्सानीमा जान नहुने भन्दै उहाँले किसानहरुले नोक्सान ब्यहोर्नुपर्ने अवस्था आए उनीहरुलाई नाफामा पुर्याउने दायीत्व सरकारको भएको बताउनु भयो ।
कार्यक्रममा बिशिष्ट अतिथी कांग्रेस केन्द्रिय सदस्य राजिब ढुंगानाले अहिले निर्वाहमुखी खेती भईरहेको भन्दै यसलाई ब्यवसायमुखी बनाउने दायीत्व सरकारको भएको बताउनु भयो ।
नेपाल कृषि प्रधान देश भनिए पनि त्यस अनुसारको नीति निर्माण हुन नसक्दा कृषि पेशा हेलाको पेशा बनिरहेको उहाँले बताउनु भयो ।
त्यसैगरी कांग्रेस केन्द्रिय सदस्य गोमा भट्टराईले कृषकका मुद्धा उठाउने पार्टी नेपाली कांग्रेस मात्रै भएको बताउनु भयो ।
कांग्रेस संस्थापक नेता वीपी कोईरालाले कृषकलाई हेरेरनै पार्टी स्थापना गरेको भन्दै उहाँले अहिले पनि बिपिको त्यो परिकल्पना साकार नभएको बताउनु भयो ।
त्यसैगरी पार्टीका पुर्व केन्द्रिय सदस्य तथा संबिधानसभा सदस्य सुधिर कुमार शिवाकोटीले कृषि प्रधान मुलुक भनिए पनि बिदेशबाट खाद्यान्न ल्याउनु पर्ने बाध्यता रहेको भन्दै त्यसलाई अन्त्य गर्नु पर्ने अहिलेको आवश्यकता रहेको बताउनु भयो ।
अधिवेशन उद्घाटन कार्यक्रममा कांग्रेस कोशी प्रदेश महामन्त्री उमेश थापा, सह महामन्त्री खड्ग फागो, पार्टीका झापा जिल्ला सभापति देउकुमार थेवे, सुनसरी जिल्ला सभापति केदार भण्डारी, कांग्रेस झापा क्षेत्र नम्बर ५ का क्षेत्रीय सभापति ढुण्डीराज भण्डारी, नेपाल किसान महासंघ केन्द्रिय सदस्य सिताराम भट्टराई, भोजपुर अध्यक्ष ईन्दिरा प्रधान, ताप्लेजुङ्ग अध्यक्ष भिम बहादुर गुरुङ लगायतले अधिवेसन सफलताको सुभकामना मन्तव्य राख्नु भएको थियो ।

 

बहुविवाहलाई बैधता दिने चेष्टा नगर्न अगुवा महिलाहरुको चेतावनी

दमक/ झापाको दमकमा महिलाका लागि राष्ट्रिय अभियान अन्तर्गत राष्ट्रिय महिला अधिकार मञ्चले आयोजना गरेको अन्तरसंवादमा संसदबाट बहुविवाहलाई संरक्षण र प्रोत्साहन गर्ने किसिमको कानुन ल्याइन लागेको भन्दै कडा प्रतिवादमा उत्रिने चेतावनी दिएका छन् ।
उनीहरुले महिलाहरुले मुलुकको व्यवस्था परिवर्तनमा गरेको त्याग, बलिदान र संघर्षबाट प्राप्त उपलब्धीहरु गुम्ने खतरा बढेको भन्दै संसदबाट त्यस किसिमको कानुन ल्याइए चुल्हो चौको छोडेर सडकदेखि सदन सम्म आन्दोलनको बिगुल फुक्ने चेतावनी दिए ।
महिलाहरु अझै पनि घर–घरमा पुरुष प्रधान थीतिका कारण पिल्सीनु परेको पीडा पनि पोखे । महिलाकै कारण महिलालाई पीडा हुने बहुविवाह जस्तो नेपालबाट उन्मुलन भइसकेको सामाजिक समस्यालाई ब्युँताउने काम कसैले गरे बन्दुक बोक्न पनि पछि नपर्ने उनीहरुले उदघोष गरे ।
विभिन्न करकाप र आपराधिक मानसिकता बोकेर राखिएको शारिरीक सम्पर्कबाट जन्मिएका असहाय बालबालिकाको जन्मदर्तासहित नागरिकता जारी गराउने दायित्व राज्यको भएको उल्लेख गर्दै उनीहरुले त्यस्तो अवस्थाका नागरिकहरुको संरक्षण र नागरिकता दिलाउने काम गर्नुपर्ने तर खुलेआम दोश्रो विवाहलाई प्रोत्साहन र संरक्षण गर्ने कामको प्रतिवाद गर्नुपर्ने उनीहरुको साझा निष्कर्ष थियो ।
राजनीतिक आस्था र विचार भन्दा माथि उठेर महिला हक, अधिकार र समानताका पक्षमा अधिकार प्राप्तीको लडाइँ लड्ने राष्ट्रिय महिला अधिकार मञ्चकी केन्द्रिय उपाध्यक्ष मन्धरा चिमरिया पौडेलले बताउनु भयो ।
त्यसैगरी कांग्रेस नेतृ एवं अगुवा महिला रामकुमारी पौडेलले बहुविवाहलाई मान्यता दिएर सिमित मानिसहरुको रजाइँका लागि यो कानुन ल्याइन लागेको भन्ने चर्चा बाहिर आइरहेकोले आम महिलाहरुलाई झस्काएको उल्लेख गर्नु भयो ।
अर्की अगुवा महिला झुमा सेढाइँले अधिकार प्राप्तीको लडाइँमा युद्धको अनुभव समेत आफूसँग रहेको भन्दै परिस्थिती आए फेरी एक पटक बन्दुक बोकेर पनि संघर्षका लागि हिंड्न तयार रहेको बताउनु भयो ।
अर्की महिला नेतृ एवम् अधिकारीवादी पुनम बजगाइँ संग्रौलाले घर घरमा साइलेन्ट डिभोर्सको समस्या रहेको बेला बहुविवाहलाई कानुनी मान्यता दिने कुचेष्टा भइरहेको भन्दै कडा आपत्ती जनाउनु भयो ।
कार्यक्रममा महिला नेतृ मेनुका बुढाथोकी, विष्णुमाया भट्टराई, रमा लिम्बु लगायत दर्जन बढी महिला नेतृहरु तथा अभियान्ताहरुले महिलामाथि हिंसाको अर्को श्रृखंला बहुविवाह भएको चर्चा गर्दै यसको प्रतिवादमा उत्रिने चेतावनी दिए ।

झापामा ग्याँस सिलिण्डरले आगलागीका चार घटनामा एक जनाको मृत्यु, चार जना घाईते

दमक/ भान्सामा खाना पकाउन प्रयोग गरिने  ग्याँस सिलिण्डरबाट ग्याँस लिक ( चुहिएको) कारण आगलागीका घट्ना बढेका छन् ।
गत श्रावण १ गतेदेखि २० गते भित्र झापाको दमक, हल्दीबारी, कचनकवल र कन्काई नगरपालिकामा समेत चार ठाउँमा सिलिण्डर ग्याँसबाट ग्याँस लिक भएकै कारण आगलागीका घटना भएका छन् । ति घटनामा एक जनाको ज्यान जानुका साथै चार जना घाईते भएका छन् भने लाखौं मूल्य बराबरको धनमाल नोक्सान भएको छ ।
पछिल्लो समय झापाको कनकाई नगरपालिका ३ सुरङ्गामा आज (विहिबार) विहान पानी तताउने क्रममा ग्यास सिलिन्डर लिक भए आगलागी हुदा एकजना जलेर घाईते भएकी छन ।
सुरुङ्गा तल्लो बजार क्याम्पस रोड स्थित धुर्व श्रेष्ठको घरमा डेरा गरी बस्ने बर्ष ८१ की बाटुलिमाया दाहालको कोठामा आज (विहिबार) विहान ६ः३० बजे ग्यास सिलिण्डरबाट ग्यास लिक भएर आगलागी भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
आगलागिमा परेर दाहाल जलेर सख्त घाइते भएकी छिन । उनको शरिरको ३० प्रतिशत भाग जलेको छ । उनलाई कनकाई नगर अस्पतालमा प्रथमिक उपचार पछि थप उपचारको लागी प्रादेशिक अस्पताल भद्रपुर पठाईएको छ ।
गत श्रावण ६ गते झापाको हल्दीबारीमा यस्तै प्रकृतिको घटनामा एक जनाको ज्यान जानका साथै तीन जना घाईते भएका थिए भने श्रावण ५ गते कचनकवल ६ बनियानीका रतन राजवंशीको घरमा पनि सिलिण्डर ग्याँसबाट पनि आगलागीको घटना भएको थियो ।
त्यसअघि दमक ६ स्थित भृकुटी चोकमा पनि दिलमाया लावोतीले सञ्चालन गर्दै आएको एक होटलमा पनि सिलिण्डर ग्याँसबाट ग्याँस लिक भएर आगलागी हुँदा लाखौं मुल्य बराबरको नोक्सान भएको थियो ।

 

 

ठुलो परिमाणमा लागूऔषधजन्य प्रतिबन्धित औषधिसहित कमलबाट दुई जना पक्राउ

कमल/ झापाको कमल गाउँपालिकाको मंगलबारे एरियाबाट ठुलो परिमाणमा लागूऔषधजन्य प्रतिबन्धित औषधिसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा स्थानीय बिष्णुप्रसाद बगाले र गंगाबहादुर खड्का रहेका छन् ।
उनीहरुलाई इलाका प्रहरी कार्यालय दमकको टोलीले ७ हजार १ सय ६० थान प्रतिबन्धित औषधिसहित बुधबार साँझ पक्राउ गरेको हो । बगालेको घरमा लुकाई छिपाई राखेको ट्रामाडोल ३ हजार थानसहित अन्य विभिन्न प्रतिबन्धित औषधि ७ हजार १ सय ६० थानसहित खड्का र बगालेलाई नियन्त्रणमा लिएर थप अनुसन्धान अघि बढाइएको इलाका प्रहरी कार्यालय दमकका इञ्चार्ज डीएसपी राम प्रसाद तिमल्सीनाले जानकारी दिनु भयो ।

खगेन्द्रको स्मृतिमा इलाका प्रहरी कार्यालय दमकलाई पौडेल परिवारको सहयोग

दमक/ झापाको दमक ९ की स्थायीबासिन्दा, राजनीतिक तथा सामाजिक व्यक्तित्व महिला नेतृ मन्धरा चिमरिया पौडेलले आफ्ना छोरा स्वर्गीय खगेन्द्र पौडेलको स्मृतिमा इलाका प्रहरी कार्यालय दमकमा एक लाख बढीको सहयोग प्रदान गर्नुभएको छ ।
नेपाली कांग्रेसकी महासमिति सदस्य, राष्ट्रिय महिला अधिकार मञ्चकी केन्द्रिय उपाध्यक्ष , दमक बाल बृद्धा आश्रमकी अध्यक्ष समेत रहनु भएकी दाता पौडेलले इलाका प्रहरी कार्यालय दमकका प्रमुख डिएसपी रामप्रसाद तिमल्सीना मार्फत प्रहरी कार्यालयमा थुनुवा र डिउटीमा रहने प्रहरी कर्मचारीहरु समेतका लागि उपयोगी ४०÷४० थान कम्बल, म्याट, सिरानीसहित पर्दा, बाल्टीन, जग लगायतका सामान हस्तान्तरण गर्नुभएको हो ।
नेपाल प्रहरीका पूर्व राष्ट्रसेवक समेत रहनु भएका राजेन्द्र पौडेल र मन्धराका सुपुत्र खगेन्द्रको दुई बर्ष अघि अमेरिकामा कार दुर्घटनामा परेर निधन भएको थियो । उहाँको परिवारले दमक बहुमुखी क्याम्पस, दमक बाल बृद्धा आश्रम, पौड्याल वंशोद्धार लगायत विभिन्न सामाजिक सेवामुलक संस्थाहरुमा स्वर्गीय खगेन्द्रको स्मृतिमा अक्षयकोष स्थापना, राहत तथा सहयोग सामग्री हस्तान्तरण गर्ने जस्ता कामहरु गर्दै आएको छ ।
बुधबार प्रहरी कार्यालयमा आवश्यक ति सामग्रीहरु हस्तान्तरण कार्यक्रममा डिएसपी तिमल्सीनाले दिवंगत खगेन्द्रको स्मृतिमा दाता पौडेल परिवारले सामाजिक सेवामा गरेको सहयोगको प्रशंसा गर्नु भयो । दिवंगत खगेन्द्रको स्मृतिमा श्रद्धाञ्जली अर्पण गर्दै आयोजित सो सहयोग हस्तान्तरणको अवसरमा दमकस्थित विभिन्न राजनीतिक दल, सामाजिक, शैक्षिक संस्थाका प्रतिनिधिहरु र सुरक्षा निकायका अधिकारीहरुको समेत सहभागिता थियो ।

विद्यालोक धरान ग्रन्थको लोकार्पण

विद्यालोक धरान ग्रन्थको लोकार्पण भएको छ । प्रधान सम्पादक खेमनाथ दाहाल एवं सम्पादक रमेश दाहालद्वारा सम्पादित उक्त ग्रन्थलाई नेपाली वाङ्मयमा शीर्ष स्थान कायम गरेका वरिष्ठ गीतकार कालीप्रसाद रिजालको प्रमुख आतिथ्यतामा लोकार्पण गरिएको थियो । प्रवेशिका परीक्षा समूह— २०२५, धरानद्वारा यो ग्रन्थ प्रकाशन गरिएको हो ।

प्रकाशन व्यवस्था समितिका संयोजक भुपेन्द्र कार्कीद्वारा उपस्थित सम्पूर्ण अतिथिहरुलाई स्वागत मन्तव्यमार्फत स्वागत गरिएको उक्त समारोहका विशिष्ट अतिथि लब्धप्रतिष्ठित व्यक्तित्व सुरेशकुमार शर्मा, विशेष अतिथिहरुमा प्रा.डा. माधवप्रसाद पोखरेल वरिष्ठ, अधिवक्ता श्री हरिहर दाहाल, पब्लिक हाईस्कूलका प्रधानाध्यापक ईन्द्रमोहन झा, राजनीतिक विश्लेषक डा. सुरेन्द्र के.सी., धरान उपमहानगरपालिकाका पूर्व उपमेयर मञ्जु भण्डारी, पूर्व कामु सचिव सुरेशकुमार वर्मा, सर्वोच्च अदालतका पूर्व न्यायाधीश राजेन्द्रकुमार भण्डारी, साहित्यिक पत्रकार संघका अध्यक्ष राधेश्याम लेकाली, अनेसास नेपाल च्याप्टरका अध्यक्ष राजेन्द्र के.सी., अभिनेत्री प्रियङ्का कार्की आदि थिए ।

पब्लिक हाईस्कूल धरानका व्यवस्थापन समितिका अध्यक्ष हरिबहादुर कार्कीको सभापतित्वमा भएको लोकार्पण समारोहमा प्रमुख अतिथि रिजालले एनिमेशन गरिएको विद्यालोक धरान ग्रन्थको भिडियो ब्यानर प्रोजेक्टरमार्फत समारोहको उद्घाटन गरेका थिए भने सोभन्दा अघि पं. स्व. छविलाल र पब्लिक हाईस्कूलका पूर्व प्रधानाध्यापक स्व. हरिहरप्रसाद वर्माको तस्वीरबिचमा सरस्वती माताको तस्वीरसहितमा माल्यार्पण तथा दियो बाली समारोहको शुभसाइत गरेका थिए ।

५३२ पृष्ठको ऐतिहासिक ग्रन्थ विद्यालोक धरान ग्रन्थलाई प्रमुख अतिथिसहित मञ्चासीन सबैले संयुक्त रुपमा लोकार्पण गरेका थिए । धरानको शैक्षिक इतिहासका बारेमा विशिष्ट अतिथि सुरेशकुमार शर्माले विस्तृत रुपमा आफ्नो वक्तव्यमार्फत प्रस्तुत गरेका थिए भने खेमनाथ दाहालले पुस्तक प्रकाशनको क्रममा भएका कुराहरुलाई व्यक्त गरेका थिए ।

यसैगरी लोकार्पित विद्यालोक ग्रन्थको बिक्रिवितरणबाट जम्मा हुन गएको रकमलाई अक्षयकोष खडा गरी त्यसबाट हुने आम्दानी धरानस्थित सामुदायिक हाईस्कूलहरुमा अध्ययनरत उत्कृष्ट विद्यार्थीहरुलाई वार्षिक रुपमा छात्रवृत्ति प्रदान गरिने कुरा दाहालले बताएका थिए ।

प्रा.डा. कृष्णप्रसाद दाहाल र प्राडा. सजिता वर्माले ग्रन्थको विस्तृत समीक्षा गरेका थिए । त्यसगरी ग्रन्थको विवेचना गर्दै प्रा.डा. माधवप्रसाद पोखरेलले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

त्यस्तै अभिनेत्री प्रियङ्का कार्की, इन्द्रमोहन झा, मञ्जु भण्डारी, राजेन्द्रकुमार भण्डारीलगायत मञ्चासीन विशेष अतिथिले ग्रन्थको महत्वका विवषयमा चर्चा गर्दै शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

त्यसैगरी प्रकाशक समूहका तर्फबाट अधिवक्ता देवीबहादुर घिमिरे, बलराम न्यौपाने आदिले ग्रन्थ प्रकाशनको बारेमा आफ्नो विचार व्यक्त गरेका थिए । समारोहमा ग्रन्थका सम्पादक रमेश दाहाललाई नेपाली भाषा साहित्यको क्षेत्रमा पु¥याएको योगदानसहित विद्यालोक धरान ग्रन्थमा उनको कुशल सम्पादकत्वले ग्रन्थलाई उत्कृष्ट तुल्याएको कुराको प्रशंसा गर्दै स–सम्मान कदरपत्र अर्पण गरिएको थियो । कदरपत्र मिलाप मासिकका प्रधान सम्पादक कृष्ण भुसालले वाचन गरेका थिए ।

पशुपति आबिका बिद्यार्थीलाई उपमेयर विशेष कोषबाट साइकल

दमक/ झापाको दमक नगरपालिका वडा नं १० स्थित पशुपति आधारभूत बिद्यालयका बिद्यार्थीको शैक्षिक निरन्तरताका लागि सहयोग पुरयाउने उद्धेश्यले साइकल प्रदान गरिएको छ ।
दमक नगरपालिकाको उपप्रमुख विशेष कोषबाट सो बिद्यालयका १६ जना बिद्यार्थीलाई एक/एक थान साइकल प्रदान गरिएको हो ।
नगर उपप्रमुख रेगिना भट्टराई प्रसाइँले बिद्यालयमानै पुगेर बिद्यार्थीहरुको बिद्यालय आवतजावतमा सहजताका लागि साइकल हस्तान्तरण गर्नुभएको उपप्रमुखको सचिवालयले जनाएको छ ।