मुख्यमन्त्री शाहले लिए विश्वासको मत

Author Nishkarsha News
२०८२ श्रावण १६, बिहीबार २१:४१

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल शाहले विश्वासको मत प्राप्त गरेका छन्।

नागरिक उन्मुक्ति पार्टी (नाउपा) ले समर्थन फिर्ता लिएपछि बिहीबार मुख्यमन्त्री शाहले प्रदेश सभामा विश्वासको मत माग गरेका थिए। सो मागसँगै उनले विश्वासको मत प्राप्त गरेका हुन्।

सं‌घीय सरकारमा सत्ता साझेदार दुई प्रमुख दल नेपाली कांग्रेस र नेकपा एमालेले ह्विप जारी गरेको थियो। त्यस अनुसार मुख्यमन्त्री शाहले कांग्रेसको १८ र एमालेको ११ मत प्राप्त गरेका छन्।

दुई दलबाट प्राप्त भएको २९ मत सरकार टिकाउन पर्याप्त छ।

समर्थन फिर्ता गरेको नाउपाकै एक सांसद कैलाश चौधरीले पनि मुख्यमन्त्री शाहको पक्षमा मत दिएका छन्। नाउपाका अन्य ६ जना सांसद भने अनुपस्थित थिए।

नेकपा माओवादी केन्‍द्रका १० जना, नेकपा एकीकृत समाजवादीका ३, राप्रपाका एक जना र स्वतन्त्रका एक जनाले विपक्षमा मतदान गरे। राप्रपाकी खेमादेवी विष्ट र स्वतन्त्र सांसद डा. ताराप्रसाद जोशीले विपक्षमा मत हालेका हुन्।  कुल ४५ जना सांसदहरू मतदानमा सहभागी भएका थिए।

समाचार शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्