एकै परिवारका १६ जना बेपत्ता

सिन्धुली/  सिन्धुली जिल्लाको गोलञ्जोर गाउँपालिका–६ स्थित भण्डास बिप्पर कटेरीमा एकै परिवारका १६ जना सदस्य रहस्यमय ढंगले बेपत्ता भएका छन् ।

५६ वर्षीया उर्मिला हायुको परिवारका छोरा, बुहारी, छोरी र ज्वाइँसहित १६ जना तीन दिनदेखि सम्पर्कविहीन रहेको गाउँपालिका वडा नम्बर ६ का वडाध्यक्ष रवीन श्रेष्ठले जानकारी दिए ।

श्रेष्ठका अनुसार हायु परिवारका १८ जना सदस्यमध्ये दुई जना (एउटी छोरी काठमाडौंमा, एक बुहारी विदेशमा) बाहेक बाँकी सबै जनासँग हालसम्म कुनै सम्पर्क हुन सकेको छैन । परिवारका सदस्यहरूले बुधबार वा बिहीबार सामाजिक सुरक्षा भत्ता स्वरूप झन्डै ८ लाख रुपैयाँ बुझेर आएको र त्यसको भोलिपल्टदेखि उनीहरू बेपत्ता भएका हुन् ।

छिमेकीहरूले घर नजिकै गोठमा बाँधिएको पाडो तीन दिनदेखि ओइलिएको अवस्थामा देखेपछि शंका गरी घरमा खोजी गर्दा सोमबार बिहान मात्रै उनीहरू बेपत्ता भएको खुलासा भएको हो ।

घरको भान्सामा सामान्य आगलागी भएको देखिएको छ भने भाँडामा काटेर राखिएको सुँगुरको मासु फेला परेको छ । घरका जनावरहरू भैंसी, बाख्रा, कुखुरा आदि भने अलपत्र अवस्थामा फेला परेका छन् ।

वडाध्यक्ष श्रेष्ठले दिएको जानकारीअनुसार उर्मिला हायुका श्रीमानको गत वर्ष निधन भएको थियो र परिवारले केही समयअघि मात्र बैंकबाट ऋण लिएको थियो । भत्ता पाएपछि बैंकले लिन आउँछ भनेर हिँडेको हुन सक्ने वा अन्य कुनै घटनाको सिकार भएको पनि हुनसक्ने आशंका गरिएको छ ।

महिलाको सुनियोजित हत्या भएको माइती पक्षको दाबी

  जनकपुर/ धनुषाको जनकपुरधाममा युवतीको रहस्यमय मृत्यु भएको छ । जनकपुरधाम उपमहानगरपालिका-४ स्थित आफ्नै घरमा २३ वर्षीया शोभा मण्डल शनिबार राति मृत अवस्थामा फेला परेकी हुन् ।

श्रीमानको परिवारले झुण्डिएर आत्महत्या गरेको बताए पनि उनको शव ओछ्यानमा भेटिनु र माइती पक्षले हत्या भएको आरोप लगाएको छ । जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी निरीक्षक अनिल बैठाका अनुसार, राति करिब साढे १२ बजे घरमा एक महिलाले झुण्डिएर आत्महत्या गरेको खबर प्राप्त भएको थियो । तर, प्रहरी टोली घटनास्थलमा पुग्दा मृतक शोभाको शव ओछ्यानमा राखिएको अवस्थामा फेला परेको थियो ।

घरपरिवारले झुण्डेको देखेपछि पासो काटेर बचाउनका लागि ओछ्यानमा राखेको प्रारम्भिक बयान दिएका छन् । मृतकका माइती पक्षले भने यो आत्महत्या नभई सुनियोजित हत्या भएको दाबी गरेको छ । महोत्तरीको बर्दिबास नगरपालिका-१४, माइस्थान निवासी माइती पक्षका अनुसार, लामो समयदेखि दाइजोको विषयलाई लिएर शोभालाई शारीरिक तथा मानसिक यातना दिइने गरेको थियो । सोही निहुँमा उनको हत्या भएको उनीहरुको जिकिर छ ।

पाँच वर्षअघि शोभाको विवाह चन्दन मण्डलसँग भएको थियो । उनीहरूबाट एक छोरी पनि छन् । प्रहरीले घटनास्थललाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको छ । शवलाई पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुरधाम पठाइएको छ । मकालुखबरबाट 

स्कारपियोको ठक्करबाट एक जनाको मृत्यु

दमक/झापाको मेचीनगर १२ सहरेडाँगीमा स्कारपियोको ठक्करबाट एक जना पैदलयात्रीको मृत्यु भएको छ । मेची राजमार्गमा ईलामबाट चारआली तर्फ आउदै गरेको मे १ च ३१६१ नम्बरको स्कारपियोको ठक्करबाट तत्काल पहिचान नखुलेका अन्दाजी ४५ बर्षका पुरुषको मृत्यु भएको हो ।
ठक्करबाट घाईते ति पुरुषलाई विएण्डसी अस्पताल पुराउनसाथ चिकित्सकहरुले मृत घोषणा गरेका जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । आइतबार राती करिब साढे ७ बजे सो दुर्घटना गराएर फरार भएको स्कारपियोका चालक झापा हल्दिबारी १ का ४८ बर्षिय गजेन्द्र बहादुर बिष्ट सवारीसहित इलाका प्रहरी कार्यालय अनारमनीको सम्पर्कमा आएका थिए ।

 

ताराबारी डिपु सडकमा कमल गाउँपालिकाको स्कारपियो दुर्घटना

दमक/ झापाको कमल गाउँपालिकाका कर्मचारी चढेको गाउँपालिकाको स्कारपियो गाडी दुर्घटनामा परेको छ । दमक–ताराबारी डिपु सडकमा गाउँपालिकाका जिन्सी शाखा प्रमुख पर्वत भण्डारीसहित कर्मचारीहरु चढेको गाडी दुर्घटनामा परेको हो ।
गाडीमा अर्का कर्मचारी सन्तोष गौतम रहेको बुझिएको छ  रहेको बुझिएको छ । दुर्घटना लगत्तै उहाँहरुको स्वास्थ्य परिक्षणका लागि आम्दा अस्पताल दमकमा लगिएको छ । नियमित रुपमा गाउँपालिका उपाध्यक्ष प्रमिला न्यौपाने तिवारी चढने गरेको प्रदेश १ –०१–००१ झ २७६ नम्बरको सो स्कारपियो सडक किनारबाट फुटपाथ (पैदलयात्री हिंडने) ठाउँ सम्म पुगेको र अगाडीको भाग कुच्चिएको देखिन्छ । इलाका प्रहरी कार्यालय दमकका डिएसपी राम प्रसाद तिमल्सीनाले दुर्घटनास्थलमा मुचुल्का बनाउने काम भइरहेको बताउनु भयो ।

 

साउन १२ गते सोमबार, यस्तो छ आजको राशिफल

आजको पञ्चाङ्ग
वि.सं. 
साउन १२, २०८२ । इ.सन् 28 Jul, 2025 । शक संवत् १९४७ । नेपाल संवत् ११४५ (गुँलाथ्व) । सिद्धार्थी संवत्सर दक्षिणायन वर्षा ऋतु । सोमबार श्रावण शुक्लपक्ष । तिथि चतुर्थी, २३:५२ बजेपछि पञ्चमी । नक्षत्र पूर्वफाल्गुनी, १९:०७ बजेपछि उत्तरफाल्गुनी । योग वरियान्, ०५:४१ बजेपछि परिघ, ०५:१३ बजेउप्रान्त शिव । करण वणिज, ११:३३ बजेपछि भद्रा, २३:५२ बजेउप्रान्त वव । चन्द्रराशि सिंह । योग (आनन्दादि) ध्वज । दिनमान १३:२९ । सूर्योदय ५:२५ । सूर्यास्त १८:५४ । दिन विशेष :  भद्रा ११:३३ देखि २३:५२ बजेसम्म ।

राशिफल
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) साझेदारी व्यापारमा आपसी विश्वास बढ्नेछ। सामाजिक कार्यक्रमहरूमा सहभागी भइएला। नयाँ सम्पर्कहरूबाट निजी कार्य बनाउन सक्नुहुनेछ|। भगवान शिवलाई चन्दन मिश्रित जलले अभिषेक गर्नुहोस्। आजको शुभ रंग हरियो हो भने शुभ अंक २ रहेको छ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) सामाजिक वा पारिवारिक कार्यहरूमा धन खर्च हुनेछ। प्रेम सम्बन्धलाई लिएर सावधानी वा धैर्यतापूर्वक निर्णयहरू लिनुहोला। प्रभावशाली व्यक्तित्वहरूसँग सम्पर्क बढ्नेछ। भगवान शंकरलाई दूधले अभिषेक गर्नुहोस्। आजको शुभ रंग सेतो हो भने शुभ अंक १ रहेको छ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) कार्यक्षेत्रमा अधिकारी वर्गहरूबाट प्रशंसा पाइएला। सानो प्रयासले जीवनशैलीमा ठूलो बदलाव आउनेछ। आफ्नो जरुरत पूर्तिको लागि सकेसम्म कसैसंग उधारो नलिनुहोस्। भगवान शिवलाई दुवोको रसले अभिषेक गर्नुहोला। आजको शुभ रंग बैजनी हो भने शुभ अंक ४ रहेको छ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) प्रतियोगी परीक्षामा राम्रो सफलता मिल्नेछ। परिस्थितिवस चिताएका कार्य पूरा नहोलान्। सुधार आउनाले मनोबल बढ्नेछ। सञ्चित धनमा वृद्धि हुनेछ। भगवान शिवलाई गंगा जलले अभिषेक गर्नुहोस्। आजको शुभ रंग रातो हो भने शुभ अंक २ रहेको छ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) सही योजनाको अभावमा महत्त्वपूर्ण कार्यहरू अड्किने छन्। दाम्पत्य जीवन सुमधुर रहनेछ। यात्रा लाभदायी रहनेछ। कानुनी पक्ष मजबुत रहनेछ। भगवान शिवलाई इत्र मिश्रित जलले अभिषेक गर्नुहोस्। आजको शुभ रंग सेतो हो भने शुभ अंक ५ रहेको छ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) कार्यक्षेत्रमा व्यस्तताले स्वास्थ्यप्रति वेवास्था नगर्नुहोस्। इष्टमित्रहरूबाट सहयोग मिल्नेछ। कार्यक्षेत्रमा अधिकारीहरूसँग कुरा गरेर विवादलाई सुल्झाउन सक्नुहुनेछ। भगवान शिवलाई उखु क‍ो रसले अभिषेक गर्नुहोस्। आजको शुभ रंग कलेजी हो भने शुभ अंक ६ रहेको छ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) कार्यक्षेत्रमा रोजगारका नयाँ अवसरहरू मिल्नेछन्। सहकर्मीहरूबाट सहयोग मिल्नेछ। विद्यार्थीहरूलाई पठनपाठनमा मन लाग्नेछ। आर्थिक पक्ष सबल रहनेछ। भगवान शिवलाई महले अभिषेक गर्नुहोस्। आजको शुभ रंग खैरो हो भने शुभ अंक ३ रहेको छ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) आकस्मिक धनलाभका योग छन्। महत्वकांक्षी योजनाहरू पूरा हुनेछन्। राजनीतिक क्षेत्रमा मन्त्रीमण्डलबाट सहयोग मिल्नेछ। आफ्नो कार्यलाई प्राथमिकता दिनुहोस्। भगवान शंकरलाई पञ्चामृतले अभिषेक गर्नुहोस्। आजको शुभ रंग निलो हो भने शुभ अंक ४ रहेको छ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) प्रतिभा देखाउने अवसर मिल्नेछ। आकस्मिक सहयोग मिल्नाले अड्केको काम बन्नेछ। सम्बन्धमा चलिरहेको मतभेद आपसी समझदारीले सुल्झाउन सक्नुहुनेछ। भगवान शिवलाई कुशको जलले अभिषेक गर्नुहोस्। आजको शुभ रंग सुन्तला हो भने शुभ अंक ७ रहेको छ।

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) सामाजिक प्रतिष्ठा बढ्नेछ। राम्रो व्यवहारले सबैको मन जित्न सक्नुहुनेछ। आर्थिक कारोबार विस्तारलाई लिएर योजनाहरू बन्नेछन्। समय अनुरूप आफूलाई ढाल्ने प्रयास गर्नुहोस्। आजको शुभ रंग भगवान शिवलाई अनारको रसले अभिषेक गर्नुहोस्। आजको शुभ रंग खैरो हो भने शुभ अंक १ रहेको छ। ‎

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) व्यापार व्यवसायलाई लिएर गरेको यात्रा लाभदायी रहनेछ। शत्रुपक्ष आज हावी हुनेछन्। गुप्त कुराहरू बाहिरिनाले सावधान रहनुहोस्। नयाँ कार्य प्रारम्भको लागि उपयुक्त समयको प्रतिक्षा गर्नुहोस्। भगवान शिवलाई शक्कर मिश्रित जलले अभिषेक गर्नुहोस्। आजको शुभ रंग निलो हो भने शुभ अंक ८ रहेको छ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) शिक्षाको क्षेत्र फराकिलो हुनाले विद्यार्थीहरूको तर्कशक्तिमा वृद्धि हुनेछ। राजकीय र प्रशासनिक मामलाहरू सुल्झिनेछन्। भावनात्मक सम्बन्धमा मजबुती आउनेछ। भगवान शंकरलाई दूधले अभिषेक गर्नुहोस्। आजको शुभ रंग सेतो हो भने शुभ अंक ३ रहेको छ । राशिफल जे जस्तो भएपनि तपाईंको दिन मङ्गलमय रहोस् । –हाम्रो/नेपाली पात्रोबाट

इन्जिनियरिङमा स्नातकाेत्तरकाे डिग्री कसरी हासिल गर्ने ?

काठमाडाैं / पछिल्लाे समय स्नातक तहसम्मकाे अध्ययन सामान्य भइसकेकाे छ । कुनैपनि विषयमा विशेषज्ञता हासिल नगरि ठूला अवसर र सफलता प्राप्त गर्न सकिन्न । प्राविधिक विषय खासगरी इन्जिनियरिङ क्षेत्रमा पनि विशेषज्ञता हासिल गरेपछि नै ठूला अवसर र सफलता प्राप्त हुने गर्दछ ।

इन्जिनियरिङ शिक्षामा स्नातक अर्थात् मास्टर्स अध्ययन गर्नेहरूका लागि नेपाल इन्जिनियरिङ कलेज उत्कृष्ट गन्तव्य रहेकाे छ । ललितपुरकाे प्रयागपाेखरीमा रहेकाे नेक सेन्टर फर पोस्टग्राजुएट स्टडिज (नेक-सिपिएस) मा एम.एस्सी कन्ट्रक्सन मेनेजमेन्ट, इन्टरपिस्प्लीनरी वाटर रिसोर्स मेनेजमेन्ट, नेचुरल रिसोर्स मेनेजमेन्ट तथा ट्रान्सपोर्टेसन इन्जिनियरिङ म्यानेजमेन्टका विषयमा अध्यापन हुने गर्दछ ।
पाेखरा विश्वविद्यालयबाट सम्बन्धन प्राप्त यस कलेजले नेपालकाे माटाे, भूगाेल तथा अन्तराष्ट्रिय बजारकाे माग अनुसार विषयहरूमा अध्यापन गराउँदै आएकाे नेक-सिपिएस कार्यक्रमका कार्यवाहक निर्देशक सह-प्राध्यापक राेवर्ट डंगाेलकाे दावी छ ।

‘हामीले मास्टर्स तहमा सञ्चालन गरेका कार्यक्रमहरूले मुलुककाे आवश्यक्तासँगै अन्तराष्ट्रिय बजारकाे मागलाइ समेत संवाेधन गर्न सकेकाे छ । कन्ट्रक्सन मेनेजमेन्ट, इन्टरपिस्प्लीनरी वाटर रिसोर्स मेनेजमेन्ट, नेचुरल रिसोर्स मेनेजमेन्ट तथा ट्रान्सपोर्टेसन इन्जिनियरिङ म्यानेजमेन्ट जस्ता विषय समय अनुसारका विशेषज्ञता हासिल गर्ने विषय हुन् ।’ नेक-सिपिएस कार्यवाहक निर्देशक डंगाेल भन्नुहुन्छ ।
स्नातक तहकाे अध्ययनले एउटा फाउन्डेशन बनाएपनि कुनै एउटा विषयमा विशेषज्ञता हासिल गर्नका लागि स्नातकाेत्तर तह अध्ययन गर्नै पर्ने उहाँकाे भनाइ छ । ‘ब्याचलर्स प्राेगामले एउटा फाउन्डेशन त बनाइदिन्छ तर, कुनै एउटा विशेषज्ञता हासिल गर्न मास्टर्स गर्नैपर्छ । बेसिक नलेजलाई डिप (गहिरो) नलेजमा रूपान्तरण गर्न मास्टर्स डिग्री गर्नैपर्छ ।’ डंगाेल भन्नुहुन्छ ।
स्नातकोत्तर तह पुरा गरेपछि उच्च तहको पद र उच्च तलब भएका रोजगारीहरूमा सहज पहुँच पुग्दछ । पछिल्लाे समय धेरै कम्पनी वा संस्थाहरूले स्नातकोत्तर योग्यतालाई प्राथमिकता दिन्छन्, विशेष गरी शैक्षिक, अनुसन्धान र प्रशासनिक क्षेत्रहरूमा । इन्जिनियरिङ क्षेत्रमा पनि स्नातकाेत्तर गर्दा प्राप्त हुने अवसर धेरै रहेकाे कार्यवाहक निर्देशक डंगाेल बताउनु हुन्छ ।
पोखरा विश्वविद्यालयबाट सम्बन्धन प्राप्त नेकमा सन् १९९९ देखि पोस्ट ग्राजुएट तहमा ४ वटा विषयमा अध्ययन अध्यापन हुने गरेको छ । एम.एस्सी कन्ट्रक्सन मेनेजमेन्ट, इन्टरपिस्प्लीनरी वाटर रिसोर्स मेनेजमेन्ट, नेचुरल रिसोर्स मेनेजमेन्ट तथा ट्रान्सपोर्टेसन इन्जिनियरिङ म्यानेजमेन्टका विषयहरू अध्ययन गर्न सकिन्छ ।  साँझको समयमा पढाई हुने भएकाले सिपिएस कार्यक्रममा सरकारी, गैरसरकारी तथा निजी क्षेत्रका कार्यरत कर्मचारी, फिल्यान्सरहरुको ठूलाे आकर्षण छ । काम गर्दै स्नातकाेत्तर गर्न चाहनेहरुका लागि नेकले सञ्चालन गरेको सिपिएस कार्यक्रम प्रभावकारी छ ।
सामाजिक शैक्षिक संस्थाका रुपमा कलेज स्थापना भएपनि हाल यो कलेज नेपाल सरकार शिक्षा, विज्ञान प्रविधि मन्त्रालयले गठन गरेको नेपाल इन्जिनियरिङ कलेज सञ्चालक समिति अन्तरगत सञ्चालनमा रहेको छ ।
प्रयाेगात्मक शिक्षण विधि, पूर्णकालिन अनुभवी प्राध्यापक, साेध, अनुसन्धानका लागि समयानुकुल व्यवस्थापन, सर्वसुलभ शुल्क कलेजकाे विशेषता हुन् । ‘हामीसँग स्नातक र स्नातकाेत्तर दुवैमा पूर्णकालिन प्राध्यापकहरू हुनुहुन्छ, साेध र अनुसन्धानलाई प्राथमिकता दिएका छाैं । खानेपानी, हाइड्राेपावर, यातायात व्यवस्थापन लगायत पाठ्यक्रम अनुसार प्रयाेगात्मक अध्ययन विधिहरू अपनाउँछाैं । भने, हामी विद्यार्थीहरूलाई फेलाेसिप समेत दिन्छाैं ।’ कार्यक्रम निर्देशक डंगाेल भन्नुहुन्छ ।
उद्याेग र शिक्षालाई जाेड्दै बजारकाे अवस्था, माग र अवसर हेरेर विद्यार्थीहरूलाई व्यवहारिक ज्ञान दिने गरिएकाे छ । ‘हामी विद्यार्थीहरूलाई कुनै पनि विषयमा व्यवहारिक ज्ञान दिनेमा केन्द्रीत छाैं । हामीले धेरै संघ संस्थाहरूसँग एमओयू गरेका छाैं,  भिजिटिङ फ्याकल्टी, एक्सपर्टहरू बाेलाउने,  बाेलाउने, डाइरेक्ट इन्डष्ट्रीमा लैजाने गर्दछाैं । विद्यार्थीहरूलाई वास्तविक समस्याहरू देखाउन फिल्डमै लैजान्छाैं ।’ रिसर्च वेसकाे अध्ययनले विद्यार्थीहरूकाे सिकाई बलियाे हुने सह-प्राध्यापक डंगाेलकाे भनाइ छ ।
त्यसाे त नेक सिपिएसबाट हालसम्म एक हजार बढी दक्ष विशेषज्ञ जनशक्ति उत्पादन गरिसकेकाे कलेजकाे दावी छ । प्रतिष्पर्धी बजारमा स्नातकाेत्तर (मास्टर्स) नहुँदा भनेजस्ताे अवसरहरू प्राप्त गर्न नसकिने भएकाेले स्नातकाेत्तर तहकाे शिक्षा अपरिहार्य रहेकाे सह-प्राध्यापक डंगाेलकाे भनाई छ ।

दमकमा जंगली हात्तीको आक्रमणबाट दिदीबहिनी घाईते

दमक/ जंगली हात्तीको आक्रमणबाट झापाको दमकमा आज एकै परिवारका दुई दिदीबहिनी घाईते भएका छन् ।
बिहान करिब सवा ४ बजे दमक १ रिङरोड एरियामा बरगाछी नजिकै उत्तर तर्फबाट आएको जंगली हात्तीले आक्रमण गर्दा मर्निङ वाकमा रहेका अन्दाजी ४३/४४ बर्षका सुनिता राई र कविता राई घाईते भएका वडाध्यक्ष हरिप्रसाद न्यौपानेले जानकारी दिनु भयो । उनीहरु दमक १ का मोवाइल व्यवसायी परिवार भएको बताइएको छ ।
घाईते सुनिताको अवस्था गम्भिर छ । दुवै जनाको दमक अस्पताल दमकमा प्रारम्भिक स्वास्थ्य उपचारपछि थप उपचारका लागि विराटनगर तर्फ पठाइएको छ । हात्तीले आक्रमण गरेर जंगल तर्फ भागेको बताइएको छ । दमकको उत्तरी क्षेत्र जंगली हात्तीबाट प्रभावित क्षेत्र हो । दमकको वडा नं १, २ र ३ मा चुरे जंगलबाट हात्ती निस्किएर समय समयमा धनजनको क्षति गर्ने गरेको छ ।

 

भुक्तानी माग्दै निर्माण व्यवसायीहरु पुगे कोशी प्रदेश सरकारसँग

  दमक/ कोशी प्रदेश, भौतिक पूर्वाधार विकास मन्त्रालय अन्तर्गत पूर्वाधार विकास कार्यालय झापाद्वारा कार्यान्वयन भएका कतिपय योजनाहरुको भुक्तानी नपाएको भन्दै झापा र इलामका निर्माण व्यवसायीहरुले सरकारलाई ज्ञापन पत्र बुझाएका छन् ।
निर्माण व्यवसायीहरुले यथाशीघ्र भुक्तानीको माग गर्दै आज कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्की र भौतिक पूर्वाधार विकास मन्त्री भुपेन्द्र राईलाई ज्ञापनपत्र बुझाएका हुन् ।
निर्माण व्यवसायी संघ झापाको अगुवाइमा संघका अध्यक्ष रमेश अधिकारीको नेतृत्वमा मुख्यमन्त्रीको कार्यालय विराटनगर पुगेको निर्माण व्यवसायीहरुको टोलीले मुख्यमन्त्री कार्की र मन्त्री राईलाई ज्ञापनपत्र बुझाएको हो ।
टोलीमा संघका प्रथम उपाध्यक्ष केदार गिरी, महासचिव पुष्पराज निरौला, कोषाध्यक्ष यज्ञनिधि भुर्तेललगायत पदाधिकारी–सदस्य तथा व्यवसायीहरु रहेका थिए ।

निर्माण व्यवसायीहरुले कतिपय योजनाहरु सम्पन्न भई गत आर्थिक वर्षको असार २४ भित्र पूर्वाधार विकास कार्यालय झापामा पेश भएका बीलहरुको भुक्तानी रोकिएको, कतिपय योजना सम्पन्न भए पनि कार्यालयले नापजाँच गरी अन्तिम बील तयार नगरिदिएका कारण भुक्तानी रोकिएको बताएका छन् ।
भुक्तानी रोकिएको सम्बन्धमा पटक–पटक मुख्यमन्त्री, सम्बन्धित मन्त्रालय र कार्यालयलाई ध्यानाकर्षण गराइए पनि आश्वासन मात्र पाएको संघले जनाएको छ ।
कोशी प्रदेश सरकारले भुक्तानीको विषयलाई ०८२/०८३ को बजेटमा सम्बोधन गर्ने बताए पनि बजेटमा समावेश नगरिएको व्यवसायीहरुको भनाई छ ।

ज्ञापनपत्रमा भुक्तानी नपाएर पीडामा रहेका निर्माण व्यवसायीको रोकिएको भुक्तानी यथाशीघ्र उपलब्ध गराउन माग गर्दै अन्यथा चरणबद्ध आन्दोलनमा जान वाध्य हुने उल्लेख छ ।

 

एन आइ सी सहित ४ बैंकलाइ कारवाही, यस्ता छन् कारण

राष्ट्र बैंकले गत आर्थिक वर्ष २०८१/८२ को चौंथो त्रैमासमा चार वटा वित्तीय संस्थालाई कारवाही गरेको छ।

राष्ट्र बैंकले सिटिजन्स बैंक इन्टरनेशनल, एनआइसी एसिया बैंक, गुहेश्वरी मर्चेन्ट बैंकिङ एण्ड फाइनान्स र पोखरा फाइनान्सलाई कारवाही गरेको हो।

सिटिजन्स बैंक तथा वित्तीय संस्था नियमन विभागले दिएको निर्देशन विपरीत बैंकका प्रमुख कार्यकारी अधिकृतको करार सम्झौतामा संशोधन गरी प्रमुख कार्यकारी अधिकृतको सुविधा वृद्धि गरेको थियो।

सिटिजन्स फास्ट ट्रयाक कर्जा अन्तर्गत कर्जाको उपयोगको सम्बन्धमा आन्तरिक लेखापरीक्षकबाट विस्तृत अध्ययन गर्न यस बैंकबाट दिइएको निर्देशनको पालना नगरेको भन्दै बैंकलाई सचेत गराएको हो।

त्यस्तै, सिटिजन्स बैंकले ब्याजदर अन्तरको गणना गलत तरिकाबाट गरेको, नयाँ कर्जा प्रवाह गरी पुरानो कर्जा तथा ब्याज चुक्ता गरेको, दावी परेका बैंक जमानतको भुक्तानी तोकिएको समयवाधिभित्र नगरेको, लामो समयसम्म निरन्तर अस्थायी रूपमा म्याद, बढाइएका कर्जाहरूमा नियम अनुसार कर्जा नोक्सानी व्यवस्था कायम नगरेको पाइएको हो।

बैंकले चालुपुँजी सम्बन्धी मार्गदर्शन, पूर्णरूपमा पालना नभएको, तोकिएका क्षेत्रमा प्रवाह भएका कर्जाको गलत रिर्पोटिङ गरेको थियो।

एनआइसी एसिया बैंकले ऋणीबाट बढी ब्याज असुल गरेको पाइएको, ऋणीसँग कर्जा सम्झौता गर्दा सम्झौतापत्रमा कर्जाको प्रकार, लागू हुने व्याजदर (स्थिर/परिवर्तनीय), किस्ता सम्बन्धी व्यवस्था सरल एवं स्पष्ट भाषामा उल्लेख नगरेको पाइएको हो।

त्यस्तै, बैंकले ब्याजदर परिवर्तन गरेको जानकारी ऋणीलाई नदिएको देखिएपछि राष्ट्र बैंकले यस बैंकलाई सचेत गराएको छ।

राष्ट्र बैंकले पोखरा फाइनान्सलाई ३२ लाख ७७ हजार रूपैयाँ जरिवाना पनि गराएको छ। फाइनान्सले २०८१ माघ २७ देखि चैत २३ सम्मको अवधिको लागि न्यूनतम अनिवार्य मौज्दात रकम कायम नगरेकाले जरिवाना गरिएको हो।

त्यस्तै, गुहेश्वरी मर्चेन्ट कर्मचारीको उपदानको विषयमा संस्थाको कर्मचारी विनियमावलीमा गरेको संशोधन राष्ट्र बैंकबाट स्वीकृति नगराई कार्यान्वयनमा ल्याएको भन्दै प्रमूख कार्यकारी अधिकृत र सञ्चालकहरूलाई कारवाही स्वरूप सचेत गरेको छ।

कम्पनीले वार्षिक साधारण सभाभन्दा अगाडि रिक्त भएको संचालक पदमा नियुक्ति नगरेको, वार्षिक साधारण सभामा समेत रिक्त सञ्चालक नियुक्तिको लागि निर्वाचनको प्रक्रियामा नगएको र वार्षिक साधारण सभा समापन भएपछि मात्र सञ्चालक समितिबाट सञ्चालक नियुक्त गरेको भन्दै सचेत समेत गराएको छ।

बाबुको हत्या आरोपमा छोरा पक्राउ

दमक/  छुरा प्रहार गरेर आफ्नै बुबाको हत्या गर्ने सुनसरीको देवानगंज गाउँपालिका वडा नं ३ का ४० बर्षीय मोहम्मद रियाज अंसारीलाई प्रहरीले पक्राउ गरेको छ ।
जग्गाको विषयलाई लिएर आपसी वादविवादको क्रममा आफ्नै बुबा ६० बर्षीय सबिब अंसारीलाई छोरा मोहम्मद रियाज अंसारीले शरिरको बिभिन्न भागमा छुरा प्रहार गर्दा घाईते भएका थिए ।

उनलाई तत्काल उपचारको लागि गोल्डेन अस्पताल विराटनगर लगिएकोमा उपचारको क्रममा मृत्यु भएको हो । घटनामा संलग्न अन्सारीलाई जिल्ला प्रहरी कार्यालय सुनसरीले पक्राउ गरी थप अनुसन्धान अघि बढाएको कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।