झापा महिला गोल्डकप-  झापा र संकटा प्रतिस्पर्धा गर्दै

बिर्तामोड/ झापाको शिवसताक्षीस्थित दुधे रंगशालामा जारी एलभिडी झापा महिला गोल्डकप अन्तर्गत आजको तेस्रो क्वार्टर फाइनल खेलमा घरेलु टोली झापा एफसी र काठमाडौँको संकटा फुटबल क्लबबीच प्रतिस्पर्धा हुँदैछ । खेल दिउँसो २ बजेबाट सुरु हुनेछ ।दुवै टोलीले सेमिफाइनल प्रवेशका लागि उच्च मनोबलका साथ मैदानमा उत्रिने तयारी गरेका छन् । झापा एफसी आज आफ्नै मैदानमा र आफ्नै समर्थकको उपस्थितिमा खेल्दैछ, जसले टोलीमा थप ऊर्जा र आत्मविश्वास भर्ने अपेक्षा गरिएको छ । स्थानीय दर्शकहरूको उत्साहले घरेलु टोलीलाई जितका लागि थप प्रेरणा दिने विश्वास गरिएको छ ।

यसअघि सम्पन्न महिला लिग छनोट प्रतियोगिताबाट दुवै टोली महिला लिगमा छनोट भएका हुन्, जसले आजको भिडन्तलाई थप प्रतिस्पर्धात्मक बनाएको छ ।

संकटा क्लबको टिममा नेपाल यु–२० राष्ट्रिय टोलीका खेलाडीहरूको बाहुल्यता छ । साथै, टोलीमा भुटानकी राष्ट्रिय खेलाडी छिरिङ याङ्देनको सहभागिताले आक्रमण पंक्तिमा नयाँ ऊर्जा थप्ने अपेक्षा गरिएको छ ।

त्यस्तै, झापा एफसीले घरेलु मैदानमा उत्कृष्ट प्रदर्शन गर्ने लक्ष्य लिएको छ । पछिल्लो पटक सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा सम्पन्न महिला लिग छनोट खेलमा संकटा क्लबले झापालाई ४–० ले पराजित गरेको थियो । त्यस खेलको ‘रिभेन्ज’ लिन झापा आज मैदानमा बदला लिने लक्ष्यसहित उत्रिँदैछ भने संकटा दोस्रो भेटमै पुनः जित निकाल्ने उद्देश्यमा छ ।

दर्शकका लागि टिकट दर सामान्यतर्फ १०० र २०० रुपैयाँ र भिआइपीतर्फ १ हजार रुपैयाँ निर्धारण गरिएको आयोजकले जनाएको छ ।

प्रतियोगिताको फाइनल खेल कात्तिक २४ गते हुनेछ । विजेता टोलीले नगद १० लाख १० हजार रुपैयाँ, उपविजेताले ५ लाख रुपैयाँ र सर्वोत्कृष्ट खेलाडीले १ लाख ५० हजार रुपैयाँ प्राप्त गर्नेछन् ।

त्यस्तै, उत्कृष्ट गोलकिपर, डिफेन्डर, मिडफिल्डर, फरवार्ड, उदीयमान खेलाडी, उत्कृष्ट प्रशिक्षक र उच्च गोलकर्ताले २५ हजार रुपैयाँका दरले पुरस्कार पाउनेछन् । हरेक खेलको प्लेयर अफ द म्याचलाई १५ हजार रुपैयाँ नगद र ट्रफी प्रदान गरिनेछ ।

विर्तामोडमा तास जुवा खेलमा संलग्न ९ जना पक्राउ

दमक/ झापाको बिर्तामोडस्थित पश्चिम बस स्ट्यान्ड नजिकै घर भाडामा लिएर तास जुवा खेलिरहेको अवस्थामा नौ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
गोप्य सूचनाका आधारमा इलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरी टोलीले शुक्रबार राति करिब १२ः४५ बजे सो डेरामा छापा मारी तास जुवा खेलिरहेका बिर्तामोड–२ का ३८ वर्षीय रतन राजवंशी, बिर्तामोड–३ का ४० वर्षीय डम्बर बस्नेत, बिर्तामोड–५ का ३६ वर्षीय राजेन्द्र चौधरी, बाह्रदशी गाउँपालिका–४ का २९ वर्षीय राजु कुमार साह, त्यही स्थानका किशोर पराजुली (२६), उत्तम शिवाकोटी (४३), राजन थापा (४३), दिवाकर प्रासाई (४०) र मेचीनगर–२ का २८ वर्षीय नारायण पराजुलीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
उनीहरूको साथबाट नगद रु ७५,६०० र नखोलेको ७ बुङ तास तथा खोलेको १ बुङ तास बरामद गरिएको प्रहरीले जनाएको छ ।
पक्राउ परेकाहरूमाथि मुलुकी अपराध संहिता २०७४ अनुसार जुवा कसुरमा अनुसन्धान अघि बढाइएको छ । जिल्ला प्रशासन कार्यालय झापाबाट पाँच दिनको म्याद लिई अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

ठाउँ ठाउँमा लागूऔषधसहित सात जना पक्राउ

दमक/ झापा र सुनसरीका बिभिन्न स्थानबाट प्रतिबन्धित लागू औषधसहित ७ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
इलाका प्रहरी कार्यालय दमकबाट गोप्य सूचनाको आधारमा खटिएको प्रहरी टोलीले कमल गाउँपालिका–५ का बिष्णु राजबंशीलाई आफ्नै घरमा लागूऔषधको बिक्री बितरण गरिरहेको अवस्थामा ट्रामाडोल–८ सय क्याप्सुल, स्पास्पेन ३ सय ट्याब्लेट र डाईक्लोमाईन ५ सय ट्याब्लेट सहित सो कार्यमा संलग्न सोही ठाउँका मौसम तामाङ, सावन जगेबु, रुस्तम बर्देवा र रुचल मगरलाई नियन्त्रणमा लिएको हो ।

पछिल्लो समय पाडाजुँगी–गौरीगञ्ज सडक अन्तर्गत कमल ५ र ६ मा पर्ने खण्डमा सडकबीचमा रोपिएका विरुवाहरु काट्ने, तोडफोड गरी क्षती पुरयाउने जस्ता क्रियाकलाप बढेपछि स्थानीयहरुले सो ठाउँमा लागूऔषध प्रयोगकर्ता र सेवनकर्ताहरुको बिगबिगी बढेको निष्कर्षसहित सुक्ष्म निगरानी र अनुसन्धान गरेका थिए । सोही आधारमा सो क्षेत्रमा लागूऔषधसहित मानिसहरु पक्राउ परेका बताइएको छ ।

यसैगरी जिल्ला प्रहरी कार्यालय सुनसरीले संखुवासभाको धर्मदेव नगरपालिका–४ का ओमनाथ घिमरेलाई ब्राउन सुगर २ ग्राम ३ सय ६० मिलिग्राम सहित र इलाका प्रहरी कार्यालय धरानले बिभिन्न किसिमका लागूऔषध ३ सय १७ ट्याव्लेट सहित धरान उप–महानगरपालिका–५ का रेहान लिम्बुलाई नियन्त्रणमा लिएको छ ।
पक्राउ परेकाहरु सबैमाथि थप कानुनी कारवाही अघि बढाइएको कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।

 

जेनजी आन्दोलनपछि नेपाली कांग्रेसको परीक्षा : आत्मसमीक्षा कि अस्तित्व संकट ?

जेनजी आन्दोलनपछि नेपालको राजनीतिक र सामाजिक संरचना एकैपटक हल्लिएको छ । यो आन्दोलन केवल युवाहरूको भावनात्मक विस्फोट होइन पुराना राजनीतिक ढाँचामा जरा गाडेर बसेका नेतामाथि नेपाली जनताको अन्तिम असन्तुष्टि हो । करिब दुई दशकदेखि सत्ता र शक्तिमा रजगज गरेर बसेका ठूला तीन दल नेपाली कांग्रेस, नेकपा एमाले र माओवादी केन्द्रको नेतृत्वमाथि अहिले तीव्र प्रश्न उठेको छ । यो प्रश्न आकस्मिक होइन दीर्घकालीन असफलताहरूको परिणाम हो । यी दलका नेताहरूले देशलाई राजनीतिक स्थायित्व, सुशासन र आर्थिक उन्नतितर्फ लैजान नसकेको मात्रै होइन पार्टीभित्र जकडिएको स्वार्थ र भ्रष्ट मनोवृत्तिले लोकतन्त्रको मुल मर्म नै कमजोर पारेको प्रष्ट देखिन्छ ।
यी नेताहरूले वर्षौंदेखि “हामी नै राज्य हौं” भन्ने अहंकारका साथ शासन गरेका थिए । जनताको भावनालाई तिरस्कार गरेर दलभित्र लोकतान्त्रिक अभ्यास मारेको र सत्ता प्राप्तिलाई नै राजनीति ठानेको प्रवृत्तिले देशलाई आजको संकटमा ल्याएको हो । जेनजी आन्दोलनको एक झट्काले यी नेताहरूको “राजनीतिक आवरण” फोरीदियो । उनीहरूको भ्रष्ट चरित्र, अक्षम नेतृत्व र नैतिक दिवालियापन देशभर उजागर भयो । जनताले देखे राजनीतिक सत्ता र शक्ति व्यक्तिगत स्वार्थको औजार बनेको रहेछ ।
जेनजी आन्दोलनपश्चात सत्तामा रहेका नेताहरूको प्रतिक्रिया अझै आत्मालोचनाबाट टाढा छ । उदाहरणका रूपमा तत्कालीन प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीको व्यवहारलाई लिन सकिन्छ । आन्दोलनमा हजारौं युवाहरू सडकमा उत्रिए, दर्जनौंको ज्यान गयो तर ओलीले न आत्मग्लानि देखाए न संवेदना उनले आफ्नो शासनकालका गल्तीको जिम्मेवारी लिनुको साटो आन्दोलनप्रति नै कटाक्ष गरे । यो प्रवृत्ति केवल ओलीमा सीमित छैन माओवादी केन्द्रका प्रचण्डदेखि अन्य दलका नेतासम्म नेतृत्वको अहंकार उस्तै छ । कसैले गल्ती स्वीकार्ने साहस गरेका छैनन् ।
यतिबेला जनमतको एक ठूलो धारणा छ । पुराना नेताहरूले नेतृत्व छोडून् नयाँ पुस्तालाई अवसर दिऊन् । माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले अध्यक्ष पदबाट “संयोजक” बनेको नाटक गरे पनि पार्टीभित्र सत्ता यथावत् छ । एमालेमा ओली, एकीकृत समाजवादीमा माधव नेपाल र अन्य दलमा पनि नेतृत्व परिवर्तनको आवाज बढ्दो छ तर कसैमा त्यस्तो नैतिक साहस देखिँदैन । केवल शेरबहादुर देउवाले भने स्वास्थ्यका कारण उपसभापति पूर्णबहादुर खड्कालाई कार्यवाहक सभापतित्व सुम्पिए । देउवाको यो निर्णयलाई धेरैले सहज संक्रमणको उदाहरणका रूपमा लिएका छन् यद्यपि कांग्रेसभित्र पनि यसको अर्थ राजनीतिक पुनर्संरचना होइन भन्ने आलोचना भइरहेको छ ।
विगतमा सात दल र माओवादीबीच २०६२ सालमा भारतको दिल्लीमा भएको १२ बुँदे समझदारी नेपाली राजनीतिको निर्णायक मोड थियो । तर त्यो सहमति अहिलेको यथार्थमा औचित्यहीन भइसकेको छ । त्यही समझदारीमा आधारित भएर बनाइएको नेपालको संविधान पनि जनताको विश्वास र सन्तुलन गुमाउँदै गएको छ । हालको राजनीतिक अवस्थाले संविधानलाई “कोमामा पुगेको” अवस्था बनाएको धेरै विश्लेषकहरू बताउँछन् । जेनजी आन्दोलनपछि बनेको अस्थायी सत्ता संरचना र राजनीतिक नेतृत्वले संविधानको मर्मअनुसार काम गर्न नसकेको यथार्थ झन् प्रष्ट हुँदै गएको छ ।
देश संकटमा हुँदा नेपाली कांग्रेस देशको सबैभन्दा पुरानो र ऐतिहासिक राजनीतिक शक्ति अन्तरकलह र आन्तरिक विवादमा व्यस्त रहनु गम्भीर चिन्ताको विषय बनेको छ । बीपी कोइरालादेखि किसुनजीसम्मको परम्परागत राष्ट्रिय सोच बोकेको दल आज दिशाविहीन बनेको छ । अहिलेको अवस्थामा नेपाली कांग्रेसले राष्ट्रिय एकता र लोकतान्त्रिक मूल्य पुनर्स्थापना गर्नुपर्ने अग्रसरता लिनुपर्ने थियो तर नेतृत्व आफ्नो अस्तित्व जोगाउनमा मात्र व्यस्त छ ।
नेपालको भूराजनीतिक स्थिति सदैव संवेदनशील रहँदै आएको छ । दुई ठूला छिमेकी राष्ट्र चीन र भारतका स्वार्थबीच नेपालले सन्तुलन कायम राख्नुपर्छ । यसमा अमेरिकी चासो र पश्चिमी प्रभाव थपिँदा परिस्थिति झन् जटिल भएको छ । यस्तो अवस्थामा देशलाई सुरक्षित निकास दिन सक्षम राजनीतिक संयोजन आवश्यक छ । धेरै विज्ञहरूको धारणा छ यो भूमिका लिन सक्षम दल नेपाली कांग्रेस हो तर वर्तमान नेतृत्वप्रति जनता विश्वास गर्न सकिरहेका छैनन् ।
हाल कांग्रेसभित्र विशेष महाधिवेशन वा नियमित महाधिवेशन गर्ने विषयमा ठूलो विवाद छ । तर देशको संकटको बेला महाधिवेशनको मितिभन्दा बढी महत्वपूर्ण कुरा पार्टीको नीति र राजनीतिक अडान हो भन्ने मत बढ्दो छ । कांग्रेसले आफ्नो आन्तरिक वैचारिक विचलन, सिद्धान्तगत गल्ती र विगतका सम्झौताहरूको आलोचनात्मक पुनरावलोकन गर्न नसकेसम्म नयाँ जनविश्वास निर्माण गर्न सक्दैन । अहिले पार्टीमा हुने बहसहरूमा देशको संकटभन्दा पनि व्यक्तिगत भविष्य र गुटीय सत्ता सन्तुलन बढी प्राथमिकतामा देखिन्छ ।
कांग्रेसको विधानले कठिन अवस्थामा कार्यकाल विस्तारको व्यवस्था दिएको छ । त्यसैले केवल महाधिवेशनको मिति तोक्ने हतारो आवश्यक छैन । तर यसबीच पार्टीले आफ्नो राजनीतिक दिशाको पुनर्निर्धारण गर्नैपर्छ । पुराना सिद्धान्त र बीपी कोइरालाको मेलमिलाप नीतिलाई आधुनिक सन्दर्भमा पुनःप्राणित गर्ने आवश्यकता छ । कांग्रेसले “राष्ट्र पहिलो” भन्ने सिद्धान्तमा उभिएर आफ्नो भूमिकालाई पुनःपरिभाषित गर्नुपर्छ ।
इतिहास हेर्दा पार्टीमा कार्यवाहक सभापतित्वको परम्परा अस्वाभाविक होइन । सुवर्ण शम्शेरदेखि किसुनजीसम्मले पार्टीलाई संक्रमणकालीन अवस्थामा सम्हालेका थिए । उनीहरूको कार्यकालमा पार्टीले राष्ट्रिय जिम्मेवारी निर्वाह गरेको थियो । आज पूर्णबहादुर खड्काले पाएको कार्यवाहक जिम्मेवारी पनि त्यही परम्पराको निरन्तरता हो । तर प्रश्न नेतृत्वको अस्तित्वभन्दा गहिरो छ के कांग्रेसले फेरि राष्ट्रिय राजनीतिमा गम्भीर, जिम्मेवार र मार्गदर्शक शक्ति बन्न सक्छ ?
यो प्रश्नको जवाफ त्यसबेला मात्र सम्भव छ जब पार्टीले विगतका गल्ती स्वीकारेर आत्मसुधारको बाटो रोज्छ । १२ बुँदे समझदारीले ल्याएको परिवर्तनले लोकतन्त्रको नयाँ अध्याय त खोल्यो त्यसले कांग्रेसलाई वैचारिक रूपमा कमजोर पनि बनायो संविधान निर्माण र शान्ति प्रक्रियामा पार्टीले माओवादीको मागहरूसँग अन्धसम्झौता गर्न पुग्यो जसले यसको राष्ट्रवादी र प्रजातान्त्रिक सन्तुलन बिगार्‍यो । यही कारण जनताले २०६४ र २०७४ का निर्वाचनहरूमा कांग्रेसलाई कठोर रूपमा अस्वीकार गरे । २४० सिटको संसदमा ३७ सिटमा झरेको कांग्रेसले त्यसपछि पनि आत्मविश्लेषण गर्न सकेन ।
संविधान निर्माणपछि पनि पार्टी नेतृत्वले संघीयता, धर्मनिरपेक्षता र गणतन्त्रका विषयमा विवेकपूर्ण पुनर्विचार गर्ने प्रयास गरेन । जनतामाझ यी विषयहरू विवादास्पद भइरहेका छन् तर कांग्रेसले तिनलाई नीतिगत रूपमा पुनरावलोकन गर्ने साहस देखाएको छैन । पार्टीभित्रका धेरै वरिष्ठ नेताहरू मान्छन् कांग्रेसले परिवर्तनका मुद्दामा जडसुत्रवादी अडान लिँदा जनताको वास्तविक आकांक्षाबाट टाढा रह्यो ।
जेनजी आन्दोलनपछि देशभर उठेको नाराहरूमा एउटा साझा भाव थियो “पुराना नेताहरू हट, नयाँ सोच ल्याउ ।” तर यो केवल व्यक्तिगत असन्तुष्टि होइन यो संस्थागत वैकल्पिक राजनीतिक माग हो । त्यसको जड पुराना दलहरूको असफल शासन हो । विशेष गरी कांग्रेसजस्तो पार्टी जसले देशको राजनीतिक इतिहासमा निर्णायक योगदान दिएको थियो आज किन निशानामा पर्‍यो भन्ने गहिरो समीक्षा हुनैपर्छ । जनताको आक्रोश केवल सरकारप्रति होइन प्रतीकात्मक रूपमा पुरा राजनीतिक व्यवस्थाप्रति हो ।
नेपाली कांग्रेसका सभापति देउवा र उनकी पत्नीमाथि भएको आक्रमण, पार्टीका कार्यालयहरूमा तोडफोड र आन्दोलनका क्रममा कांग्रेस मुख्य टार्गेट बन्नु यी घटनाहरू केवल आकस्मिक प्रतिक्रियाहरू होइनन् । जनताले देख्न थालेका छन् कांग्रेसले आफ्नो पुरानो आदर्शबाट विचलन गरेको छ । यो केवल वैचारिक होइन नैतिक विचलन पनि हो । यही कारणले जनता र कांग्रेसबीचको भावनात्मक सम्बन्ध कमजोर भएको छ ।
अब कांग्रेसले आत्मसमीक्षा नगरी अरू कसैलाई दोष दिएर समस्याबाट उम्किन सक्दैन । पार्टीले खुला दिलले स्वीकार गर्नुपर्छ गत तीन दशकको शासनमा उसले पनि भ्रष्टाचार, गुटबन्दी र अवसरवादमा गहिरो सहभागिता जनायो । नेताहरूले सत्ता नै अन्तिम लक्ष्य ठाने सिद्धान्त गौण बनाइयो । यो स्वीकारोक्ति मात्रले जनविश्वास फर्काउँछ भन्ने होइन तर त्यसले नयाँ सुरुवातको आधार तयार गर्छ ।
अहिले पनि कांग्रेसभित्रको कार्यसमिति बैठकले देशको गम्भीर राजनीतिक अवस्थाप्रति आवश्यक गहिरो दृष्टि देखाउन सकेको छैन । पदाधिकारीहरूको प्राथमिकता आन्तरिक सत्तासन्तुलनमा सीमित छ । तर यथार्थ यो हो देश राजनीतिक जटिलतामा फँसेको छ संविधान निष्क्रिय बन्न लागेको छ र राजनीतिक दलहरूको विश्वास स्तर जनतामाझ ऐतिहासिक न्यूनतामा पुगेको छ । यस्तो बेला कांग्रेसले नेतृत्वकारी भूमिका नलिए जनताले नयाँ वैकल्पिक शक्ति खोज्ने नै छन् ।
देशभक्त र राष्ट्रिय दृष्टिकोणबाट कांग्रेसले अब “राजनीतिक रोड करेक्सन” गर्नैपर्छ । त्यसको अर्थ पुरानो विचारलाई नाघेर नयाँ यथार्थ स्वीकार्नु होव । संघीयता, धर्मनिरपेक्षता, गणतन्त्रजस्ता मुद्दाहरूमा जनतासँग संवाद गरेर आवश्यक भए राजनीतिक पुनरव्याख्या गर्नुपर्ने अवस्था आएको छ । कुनै पनि नीति वा व्यवस्था जनभावनाविपरीत दीर्घकाल टिक्दैन ।
अर्कोतर्फ विगतका राजसंस्थासँगका सम्बन्ध र घटनाहरू पनि अब नयाँ सन्दर्भमा हेरिनुपर्ने अवस्था छ । पूर्वराजा ज्ञानेन्द्रले पछिल्ला सन्देशहरूमा आफ्ना गल्ती स्वीकार गर्दै प्रजातन्त्र र जनसत्ता प्रति प्रतिवद्धता देखाएका छन् । यस्तो सन्देशले धेरैलाई सोच्न बाध्य बनाएको छ के अब राष्ट्रिय मेलमिलापको नयाँ सम्भावना खुल्दैछ ? यसबेला नेपाली कांग्रेसले बीपी कोइरालाको “राष्ट्रिय एकता र मेलमिलाप” नीतिलाई व्यवहारमा उतार्ने साहस गर्न सके जनताले फेरि कांग्रेसमा विश्वास गर्न सक्छन् ।
राजनीतिका इतिहासविद्हरू भन्छन् २०६२/०६३ को आन्दोलन निरंकुश राजतन्त्रको अन्त्यका लागि थियो राजतन्त्र उन्मूलनका लागि होइन तर त्यस आन्दोलनको परिणामले नेपालमा पूर्ण गणतन्त्र ल्यायो जसको औचित्य आज पुनः प्रश्नमा परेको छ । यो प्रश्न उठाउनेहरू राजतन्त्र पुनर्स्थापनाको पक्षमा मात्र होइनन् बरु व्यवस्थाको कार्यक्षमता र राजनीतिक उत्तरदायित्वमाथि प्रश्न गरिरहेका छन् ।
कांग्रेसले यदि यस यथार्थलाई नबुझे जनताको असन्तुष्टि थप चर्किनेछ । यो दल लोकतन्त्रको संवाहक भएको दाबी गर्छ तर उसले आफ्नै पार्टीभित्र लोकतान्त्रिक अभ्यास गर्न सक्दैन भने त्यो दाबी खोक्रो हुन्छ । साँचो अर्थमा लोकतन्त्र तब बाँच्दछ जब पार्टीहरू आफ्ना गल्ती स्वीकार गरेर सुधार गर्छन् ।
अहिले आवश्यकता छ कांग्रेसले जनतामाझ खुलेर भन्नुहोस् “हामीबाट गल्ती भयो” बीपी कोइरालाले पनि जेलबाट फर्किएपछि आफ्नो सोचलाई पुनःसमायोजन गर्दै “राष्ट्रिय एकता”को नीति ल्याएका थिए । त्यसैगरी आजको कांग्रेसले पनि विगतका निर्णय र सम्झौताहरूको आलोचनात्मक समीक्षा गरेर नयाँ दृष्टि तय गर्नुपर्छ ।
राजनीतिक विश्लेषकहरूको धारणा छ यदि कांग्रेसले अब पनि आफ्नो विचार, सिद्धान्त र नेतृत्व सुधार्न ढिलाइ गर्‍यो भने नेपाली राजनीतिमा नयाँ पुस्ता र नयाँ शक्ति स्वाभाविक रूपमा स्थापित हुनेछ । जेनजी आन्दोलन त्यसैको संकेत हो । त्यो आन्दोलनले पुराना दलहरूको वैचारिक थकान र नैतिक पतनलाई उदाङ्गो बनाएको छ । जनताले अब वैकल्पिक विकल्प खोज्न थालेका छन् जुन राजनीतिको प्राकृतिक नियम हो ।
नेपाल अहिले निर्णायक मोडमा उभिएको छ संविधानिक अवसानको संकेत, जनविश्वासको पतन र राजनीतिक दिशाहीनता यस्तो बेला कांग्रेसले इतिहासको जिम्मेवारी बोक्नुपर्छ । विगतका सम्झौताहरू, गल्ती र विफलतालाई आत्मसात् गर्दै अब देशका सबै राष्ट्रिय शक्तिलाई एउटै दिशामा ल्याउने नेतृत्व कांग्रेसले लिन सके भने यो दल फेरि उठ्न सक्छ । तर यदि उसले फेरि पनि सत्ताको गणितमा अल्झेर जनभावनालाई नजरअन्दाज गर्‍यो भने नेपाली कांग्रेस केवल इतिहासको एउटा अध्याय बनेर सीमित हुनेछ ।
पत्रकार रमेश कुमार बोहोराको निष्कर्ष यो हो देशको संकटको मूल कारण नेतृत्वको जडता र जनआकांक्षा बुझ्न नसक्ने राजनीतिक अन्धता हो । जेनजी आन्दोलनले देशको राजनीतिक चरित्रलाई नाङ्गो बनाएको छ । अब कसले सुधार गर्छ भन्ने होइन को सच्चिन्छ भन्ने प्रश्न बनेको छ । यदि नेपाली कांग्रेसले नैतिक साहस देखायो भने त्यो सुधारको शुरुवात यहीँबाट हुन सक्छ ।

तेह्रथुमबाट आएको बोलेरो मेची राजमार्ग दुर्घटना, १० जना घाईते

झापा/ तेह्रथुमको आठराईबाट झापा तर्फ आउँदै गरेको यात्रुबहाक बोलेरो गाडी इलामको देउमाई न.पा. १ कुखुरे स्थित मेची राजमार्गमा मोटरसाइकलसँग ठोक्किएर पल्टिएको छ ।
बिहीबार आज करिब साढे १० बजे भएको सो दुर्घटनामा बोलेरोमा सवार ९ जना र एउटा मोटरसाइकलका चालकसहित १० जना घाईते भएका हुन् ।
तेह्रथुमबाट झापा तर्फ आउदै गरेको मे १ ज ३१३७ नम्बरको यात्रुवाहक बोलेरो र इलामबाट पाँचथर तर्फ जादै गरेको प्र.१–०१–०१६प १३६७ नम्बरको २२० सीसीको पल्सर मोटरसाइकल दुर्घटना भएको हो ।

प्रहरी चौकी रक्से इलामबाट खििटएको प्रहरी टोलीले उनीहरुको उद्धार गरी इलाम जिल्ला अस्पताल तर्फ पठाएको प्रहरीले जनाएको छ ।
बोलेरोमा सवार बिर्तामोड ६ गरामुनीकी ३० बर्षीया सुशीला तिमल्सिना, तेह्रथुम आठराई त्रियुगा गा.पा. १ का ६५ बर्षीय छबीलाल गुरुङ, ३० बर्षिय प्रकाश शेर्पा, ताप्लेजुङ आठराई त्रिवेणी गाउँपालिका वडा नं १ निगुरादिन बस्ने वर्ष ६४ कि डम्मर कुमारी गुरुङ घाईते भएका छन् ।

त्यसैगरी सोही दुर्घटनामा घाईते हुनेहरुमा ३० बर्षिय इन्द्र गुरुङ, अञ्जना गुरुङ, धनकुटा घर बताउने वर्ष ३२ कि सुष्मा लिम्बू, पाँचथर फालेलुङ गा.पा. ०६ सिदिन बस्ने वर्ष २३ कि असिना तामाङ झापा बुद्धशान्ति गा.पा. ०४ जयपुर बस्ने वर्ष २७ कि चन्द्रकला कालिकोटे र मोटरसाइकल चालक पाँचथर हिलिहाङ गा.पा. ६ का ३६ बर्षीय लक्ष्मी प्रसाद मैनाली रहेका छन् ।

आन्तरिक राजश्व कार्यालय नयाँ ठाउँमा, सेवा सूचारु

दमक/ जेनजी आन्दोलनका क्रममा सेवा रोकिएको दमकस्थित आन्तरिक राजश्व कार्यालय नयाँ घरमा स्थापना गरिएको छ । बुधबारदेखि दमक ५ स्थित दिपिनी मार्ग (भृकुटी चोक) नजिकैको घर भाडामा लिएर कर कार्यालय सञ्चालनमा ल्याइएको हो ।

भाद्र २४ गते साँझ दमकस्थित आन्तरिक राजश्व कार्यालयमा एक समुहले जेनजीे आन्दोलनको आडमा गरेको आगजनीको कारण सो कार्यालयबाट दिइँदै आएको सेवा प्रभावित हुन पुगेको थियो ।  दमक उद्योग वाणिज्य संघका अध्यक्ष गोपाल गुरागाइँले कर कार्यालयको सेवा सूचारु भएसँगै अब व्यवसायीहरुलाई समयमा कर तिर्ने र कर सम्बन्धि आवश्यक परामर्श लिन सहज भएको बताउनु भयो ।

सुशीला कार्की : विश्वासघातको नयाँ अध्याय

देश फेरि पनि उही चक्रमा अड्किएको छ, जहाँ क्रान्ति हुन्छ, रगत बग्छ, सपना पलाउँछ, तर परिणाम फेरि पुरानै शक्तिहरूको हातमा पुग्छ।
जेन्जी विद्रोहको ज्वालामुखी फुट्दा देशका हजारौँ युवाहरूले आफ्ना रगत र पसिनाको मूल्यमा नयाँ नेपालको कल्पना गरेका थिए। भाद्र २३ र २४ का ती ऐतिहासिक दिनहरूमा सडकहरू देशको मुटु बनेका थिए जहाँ नारा, अश्रु र रगत एकसाथ बगिरहेका थिए। त्यो विद्रोह केवल एउटा आन्दोलन थिएन; त्यो राजनीतिक पुनर्जागरणको उद्घोष थियो। हाम्रो पुस्ता सडकमा उत्रिएर देशको समकालीन राजनीतिक ढाँचालाई चुनौती दिएको थियो । त्यो केवल एक क्षणिक हंगामा थिएन। नयाँ पुस्ताको आह्वानमा भएको आन्दोलनले मुलुकमा भएका दीर्घकालीन असन्तुष्टि, भ्रष्टाचार र आवाज सुनाउने निकायहरूको क्षयलाई उजागर गर्यो। यो देशलाई तीन दशकसम्म लुट्नेहरू र हाम्रा सपनाहरू तुहाउनेहरूलाई आत्मसमर्पण गराएको थियो ।
तर, आज ती सबै बलिदानका बीचमा एउटा प्रश्न प्रतिध्वनित हुँदैछ के यो परिवर्तनको यात्रा फेरि धोका खाएको हो?
जेन्जी विद्रोहको अस्तव्यस्ततालाई अवसरका रूपमा प्रयोग गर्दै सुशीला कार्की नेतृत्वको सरकार गठन भयो। पुरानै राजनीतिक दलहरूले सहमति जनाएर नयाँ “अन्तरिम सरकार” बनाएका थिए, तर त्यो परिवर्तन होइन, सत्ताको निरन्तरता थियो।
सुशीला कार्कीले राष्ट्रलाई सम्बोधन गर्दै भनिन्, “विद्रोहका मागहरूलाई निर्वाचनमार्फत समाधान गर्नुपर्छ।” तर, त्यो वाक्यले क्रान्तिको आत्मालाई धोका दियो। किनभने जेन्जी विद्रोह कुनै निर्वाचनको सन्दर्भमा उठेको थिएन,त्यो प्रणाली परिवर्तनको आह्वान थियो।
जेन्जी विद्रोहका क्रममा ७६ जना युवाले सहादत प्राप्त गरे। असंख्य घाइते भए, प्रशासनिक केन्द्रदेखि ऐतिहासिक स्मारकहरू खरानीमा परिणत भए। तर त्यो बलिदानको आवाज अहिले सत्ता–कक्षका पर्खालभित्र हराएको छ।
सुशीला कार्कीको नेतृत्वमा बनेको सरकारले त्यो पीडालाई न त महसुस गर्‍यो, न सम्बोधन। बरु, विद्रोहका मागहरूलाई राजनीतिक नाटक मा रूपान्तरण गरेर फेरि देशलाई मध्यवधि निर्वाचनमा धकेलिएको छ। जुन कुरा अस्वीकार्य छ।
जीएनजी विद्रोहका सामाजिक सञ्जालमाथिको प्रतिबन्ध हटाउने,प्रत्यक्ष निर्वाचित कार्यकारी प्रणाली ल्याउने,सार्वजनिक संस्थाहरूको पुनर्संरचना र पारदर्शिता सुनिश्चित गर्ने तीन प्रमुख मुद्दा थिए ।
पहिलो मुद्दा त आंशिक रूपमा पूरा भयो। तर बाँकी दुई मुद्दा, प्रणालीगत परिवर्तन र संस्थागत पुनर्जागरण आज सत्ता स्वार्थको अँध्यारोमा बेपत्ता छन्। मध्यवधि निर्वाचनको नारा अहिले वास्तविक सुधारबाट ध्यान मोड्ने षड्यन्त्र बनेको छ।
पछिल्लो तीन दशक यता ३० भन्दा बढी सरकार निर्माण गर्ने अस्थिर राजनीतिक प्रणाली र कुशासनको दलदलमा फसाउने सार्वजनिक संस्थाहरू यथावत राखेर गरिने निर्वाचनको कुनै औचित्य छैन भन्ने कुरा थाहा हुँदाहुँदै पनि मध्यवधितर्फ देशलाई लैजाने बालहटले नेपालको आगामी भविष्यलाई थप संकटग्रस्त र अन्योलतातर्फ लिने षड्यन्त्र हुनेछ।
सुशीला कार्कीले जुन तरिकाले सत्तामा प्रवेश गरिन्, त्यो न त कोमामा पुगिसकेको संविधान अन्तर्गत थियो, न विद्रोहीहरूको सहमति थियो , त्यो सत्ता कु हो। नेपाली युवाहरूले बगाएको रगतमाथि खेलेर राज्यविहीनताको मौका छोपेर सत्ता कु गरेको कुरा पुष्टि भइसकेको छ । पुरानो राजनीतिक खेललाई नयाँ अनुहारले निरन्तरता दिँदै उनले मुलुकलाई फेरि पनि अस्थिरताको गर्तमा फ्यालेकी छिन्। यो परिवर्तन होइन, प्रतिक्रान्ति हो।
यदि तत्कालीन केपी शर्मा ओलीको सरकार हत्या गर्ने सरकार थियो भने, आजको सुशीला कार्कीको सरकार रगत चुस्ने भ्याम्पायर हो, जो परिवर्तनको नाममा नेपाली युवाको बलिदान चुसिरहेको छ। नेपाली युवाहरूलाई पटपटी गोली हानेर हत्या गर्नेहरूलाई नै आज बोलाएर बालुवाटारमा चियापान गर्दै निर्वाचनको अभिनयमा सुशीला कार्की लागि परेकी छन्।
नेपालको नवोदित पुस्ताले गरेको विद्रोहलाई संस्थागत हुन नदिन, त्यसका मुद्दाहरूलाई कमजोर पार्न र नयाँ राजनीतिक चेतनालाई रोक्न अहिलेको अन्तरिम सरकार सशक्त रूपमा लागिपरेको छ। यो केवल नीतिगत भूल होइन, राष्ट्रप्रतिको धोका हो।
सुशीला कार्कीले युवाको रगत माथि सत्ता कु गरेर बनेको सरकारलाई सुधारको रूपमा प्रस्तुत गर्न खोजेकी छिन्। तर जनताले बुझिसकेका छन् यो सरकार धोका हो, र सुशीला कार्की धोकेबाज हुन्।
अब समय आएको छ, देशले सत्य बोलोस् , धोकेबाजलाई राख्ने होइन, हटाउने हो।

हुर्रा नाच टोली बोकेको बस दुर्घटनामा एक जनाको मृत्यु

दमक /  झापाको दमक २ पाङगीन चोकमा यात्रुबहाक बस अनियन्त्रित भई दुर्घटना हुँदा एक जनाको मृत्यु हुनका साथै २१ जना घाईते भएका छन् ।
बा.२ ख १९८३ नम्बरको मगर समुदायको हुर्रा नाच का यात्रु बोकेको बस गएराति करिब ११:३० बजे दमक–२, पाडेनी चौकमा अनियन्त्रित भई दुर्घटना भएको हो।
दुर्घटनामा मिक्लाजुङ–३, टाँडी धोबेनी लक्की चौक निवासी ३६ वर्षीय भीम बा. मगर (ठाडा कान्छा) को उपचारको क्रममा मृत्यु भएको टाँडी प्रहरी चौकीका इञ्चार्ज ईन्द्र राईले जानकारी दिनुभयो।
बसमा जम्मा ३५ जना सवार रहेका थिए . उनीहरु सबै मिक्लाजुङ ३ का बासिन्दा हुन् ।
दुर्घटनामा २१ जना घाइते भएका मध्ये २० जना उपचारपछि डिस्चार्ज भएका छन् भने १ जनाको  दमकस्थित आम्दा अस्पतालमा जारी रहेको प्रहरीले जनाएको छ। https://www.nishkarshanews.com/wp-content/uploads/2025/10/571936878_25439465902311947_8584676698201198021_n.mp4

सुनको मूल्यमा आज पनि गिरावट

 नेपाली बजारमा बुधबार सुनको मूल्यमा सामान्य गिरावट आएको छ भने चाँदीको भाउ भने उकालो लागेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन प्रति तोला ७०० ले घटेर २ लाख ३६ हजार ३ सयमा कारोबार भइरहेको छ ।

मंगलबार छापावाला सुन प्रति तोला २ लाख ३७ हजारमा कारोबार भएको थियो । यसअघि लगातार बढिरहेको सुनको मूल्यमा यस दिन केही कमी आएको हो ।

यसैबीच, चाँदीको मूल्य भने बढेको छ । मंगलबार प्रति तोला २ हजार ९२० मा कारोबार भएको चाँदी बुधबार बढेर प्रति तोला २ हजार ९६५ पुगेको महासंघले जनाएको छ। चाँदीको मूल्यमा प्रति तोला ४५ को वृद्धि भएको छ ।

महासंघका अनुसार आज प्रति १० ग्राम सुनको मूल्य २ लाख २ हजार ५९० र प्रति १० ग्राम चाँदीको मूल्य २ हजार ५४२ मा कारोबार भइरहेको छ ।

पशुपति कीर्तन मण्डलीको साधारण सभामा ज्येष्ठहरुलाई सम्मान र बिद्यार्थीलाई पुरस्कार

दमक/ दमक ८ स्थित पशुपति कीर्तन मण्डलीको ९ औं बार्षिक साधारण सभा सम्पन्न भएको छ । साधारण सभामा ज्येष्ठ अभिभावक र ज्येष्ठ सदस्य सम्मान कार्यक्रम गरिनुको साथै बिद्यार्थीहरुलाई नगद पुरस्कार समेत प्रदान गरिएको छ ।
जयनारायण सुवेदी, भगिरथ पोखरेल, रामप्रसाद सिटौला र टेकबहादुर खड्कालाई ज्येष्ठ अभिभावक सम्मान गरिएको हो । त्यस्तै ज्येष्ठ सदस्यहरु तर्फ हरीप्रसाद खतिवडा, कृष्णप्रसाद भण्डारी, केशव कार्की र कृष्णबहादुर कँडरियालाई सम्मान गरिएको छ ।


सो कीर्तन मण्डलीको संयोजकत्वमा रहेको लोकनाथ केशकुमारी दाहाल सेवा कोषमा रहेको ब्याजबाट पृथ्वी माविमा कक्षा १० मा अध्ययनरत जेहेन्दार छात्रा लक्ष्मी राई र दिक्षा परियारलाई जनही ७ हजार ५ सय ५ रुपैयाँ पुरस्कार र प्रशंसा पत्र प्रदान गरिएको छ । त्यस्तै जनता आधारभूत बिद्यालयमा अध्ययनरत मोहित साह, प्रतिज्ञा न्यौपाने, पशुपति माविकी राधिका उपाध्याय र प्रज्वल तामाङलाई पनि पुरस्कृत गरिएको छ ।
कीर्तन मण्डलीकी अध्यक्ष डोयना दाहालको अध्यक्षता र दमक नगर प्रमुख रामकुमार थापाको प्रमुख आतिथ्यमा भएको सो कार्यक्रममा दमक ८ का वडाध्यक्ष धर्मप्रसाद दाहालको विशिष्ट आतिथ्यता रहेको थियो । कार्यक्रमका प्रमुख अतिथी विशेष अतिथीसहित कोषका अध्यक्ष विश्वनाथ दाहाल र आयोजक कीर्तन मण्डलीका पदाधिकारीहरुले सो सम्मान तथा छात्रवृत्ति पुरस्कार आदी हस्तान्तरण गरेका थिए । संस्थाका लेखा समिति संयोजक लिलानाथ आचार्यले लेखा प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो भने कार्यक्रमको सञ्चालन कीर्तन मण्डलीकी सचिव सीता पाठक (दुलाल)ले गर्नुभएको थियो । त्यस्तै कार्यक्रममा उपाध्यक्ष होमा खनालले स्वागत मन्तव्य राख्नु भएको थियो ।