शिविरमा युरोपेली संघकी राजदुतसहितको टोलीले गर्यो छलफल

दमक/ नेपालका लागि युरोपेली संघकी राजदुत भेरोनिक लोरेन्जो सहितको टोलीले भूटानी शरणार्थीको अवस्था र समस्याबारे जानकारी लिएको छ ।
झापाको वेलडाँगी र मोरङको पथरी शनिश्चरे शिविरमा पुगेर शरणार्थी शिविरमा बस्दै आएका शरणार्थीको समस्या र समाधानको विषयमा छलफल भएको वेलडाँगी शरणार्थी बस्ती व्यवस्थापन समितिका सचिव सञ्चहाङ सुब्बाले बताउनु भयो ।
सचिव सुब्बाका अनुसार शरणार्थी शिविरमा जेनजी आन्दोलन पछि शरणार्थी शिविरमा रहेको सशस्त्र प्रहरीको सुरक्षा बेश खाली भएकाले शरणार्थी बस्ती भित्र सुरक्षा चुनौति समेत बढेको छ ।

तेस्रो मुलुक पुगेका विभिन्न विकसित ८ वटा मुलुकबाट आफन्त भेट्न आएकाहरुको सामान समेत चोरी हुने गरेको बताइएको छ । यस्तै बस्ती भित्र लागूऔषध प्रयोगकर्ता बढ्दै गएको र यसका कारण आपराधिक क्रियाकलाप बढेको उहाँले बताउनु भयो ।
शरणार्थी शिविरमा क्रियाशील संघ संस्थाका अगुवासँगको छलफलमा शरणार्थीले सुरक्षा चुनौती, घटना दर्ता तथा परिचय पत्र नविकरण जस्ता कार्य नहुँदा उच्च शिक्षा लिने शरणार्थीहरुले विद्यालय छाड्नु पर्ने अवस्था आएको बताएका छन् ।
शरणार्थीको समस्या र मागबारे राजदुत लोरेन्जोले भुटानसँग पटक पटक शरणार्र्थीलाई फिर्ती गराउने विषयमा आफूहरुले कुरा राखेको बताउनु भयो । तर भुटानले सकरात्मक उत्तर नदिएकाले शरणार्र्थीलाई निराश नभई आफ्ना मागहरु पुरा गर्न माग गर्ने कुरामा जोड दिने कार्यलाई जारी राख्न समेत आग्रह गर्नु भयो ।

यस्तै दिर्घकालिन रुपमा समस्या समाधान गर्न भूटान स्वतन्त्र जनमंच, भूटान राष्ट्रिय पर्नमिलन समिति, अपाङ संघ, बाल मंच लगायतले स्वदेश फिर्ती, स्थानीयकरण या पूर्नवासको ढोका खुल्ला गरी समस्या समाधान गर्न मौखिक तथा ज्ञापन पत्र मार्फत माग गरेका छन् । जनमंचका प्रतिनिधि कविराज मगरले मानव अधिकारको रक्षामा खटिएको सँयुक्त राष्ट्र संघीय निकायले आफूहरुको घर फिर्ती अधिकारलाई खासै चासो नदिएकाले यसलाई कडाईका साथ पहल गर्न माग गर्नु भयो ।
टोलीमा राजदुत सहित सँयुक्त राष्ट्र संघीय उच्च आयोगकी नेपाल प्रतिनिधि मोनिक सोखान, विश्व लुथरन फेडेरेशन लगायतका दातृ निकायका प्रतिधिनिहरुको उपस्थिति रहेको थियो ।

 

तल्लो हेवाखोला ‘ए’ को वित्तीय व्यवस्थापन सम्झौतामा हस्ताक्षर

  संखुवासभा/ तल्लो हेवाखोला ‘ए’ जलविद्युत आयोजनाको लागि वित्तीय व्यवस्थापन सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर भएको छ । सिद्धार्थ बैंक लिमिटेडको अगुवाइमा आयोजनाको प्रवद्र्धक कम्पनी पाँच खपन हाइड्रोपावर प्रा.लि. र बैंकहरु बिच वित्तीय व्यवस्थापनका लागि सम्झौता भएको पाँचखपन हाइड्रोपावर प्रालिका सञ्चालक सदस्य थरेन्द्रराज पौडेलले जानकारी दिनु भयो । १ अर्ब ४० करोड २५ लाख रुपैयाँ लागत अनुमान रहेको आयोजनामा ७० प्रतिशत ऋण र ३० प्रतिशत स्वपूँजी रहने छ ।


सम्झौता अनुसार सिद्धार्थ बैंक लिमिटेडले ५० करोड र राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले ४८.१७ करोड ऋण प्रदान गर्ने सम्झौता भएको छ । सम्झौता पत्रमा सिद्धार्थ बैंक लिमिटेडको तर्फबाट अमित श्रेष्ठ, सहायक वित्तिय संस्था राष्ट्रिय वाणिज्य बैंकको तर्फबाट दामोदर ज्ञवाली र पाँच खपन हाइड्रोपावर प्रा.लि.को तर्फबाट अध्यक्ष बसन्तकुमार तामाङले हस्ताक्षर गर्नुभएको छ ।
कम्पनीका अध्यक्ष तामाङले सबैको विश्वास लाई आत्मासाथ गर्दै आयोजना निर्धारित समय सिमा भित्र सम्पन्न गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।


कम्पनीले संखुवासभाको पाँच खपन नगरपालिका अन्तर्गत बहने हेवाखोलाको पानी प्रयोग गरि ६.८४८ मेगावाट क्षमताको तल्लो हेवाखोला ए जलविद्युत आयोजना निर्माण गर्नेछ ।
२०८३ चैत्रमा निर्माण सम्पन्न गर्ने लक्ष्य लिएको यस आयोजनाको उत्पादित विद्युत आयोजना देखि ३.८ किलोमिटर टाढा, ३३ के.भी क्षमताको वानेश्वर सवस्टेशनमा जोडिने छ । अध्यक्ष वसन्त कुमार तामाङ्गसहित पाँचखपन हाइड्रो प्रालिका सदस्यहरु ई. अमन श्रेष्ठ, थरेन्द्रराज पौडेल राजन निरौला र उदय कान्त झा रहनु भएको छ ।

 

 पुलिस बन्यो झापा महिला गोल्डकपको च्याम्पियन 

शिवसताक्षी/ झापाको शिवसताक्षीस्थित दुधे रंगशालामा सम्पन्न एलभिडी झापा महिला गोल्डकपको उपाधि नेपाल पुलिस क्लबले जितेको छ । सोमबार भएको फाइनलमा पुलिसले विभागीय प्रतिद्वन्द्वी एपिएफ फुटबल  क्लबलाई १–० ले पराजित गर्दै उपाधि उचालेको हो ।
खेलको सुरुवातमै दुवै टोली आक्रमक लयमा मैदान उत्रिएका थिए । खेलको तेस्रो मिनेटमा पुलिसकी पूजा रानाले पेनाल्टी बक्सबाहिरबाट दिएको सटिक क्रसमा मिना देउवाले पेनाल्टी एरियाबाट गरेको प्रहार एपिएफकी गोलकिपर अञ्जना राना मगरले बचाइन् । पाँचौँ मिनेटमा एपिएफले पनि गोलको अवसर बनाएको थियो तर कप्तान अनिता बस्नेतको क्रसमा निशा थोकरले गरेको प्रहार पोस्टमाथि जान पुग्यो ।
२० औँ मिनेटमा पुलिसकी रेखा पौडेलले एपिएफका दुई डिफेन्डरलाई बिट गर्दै गरेको सट अञ्जनाले बचाइन् । तर, २२ औँ मिनेटमा पुलिसले खेलमा अग्रता बनायो । रेखाले पेनाल्टी बक्सभित्र गरेको सट डिफेन्डरमा लाग्दै फर्किएको बल पेनाल्टी एरियामा अनमार्क रहेकी मिना देउवाको सामु पुग्यो । मिनाले गोलकिपरलाई कुनै मौका नदिई बल जालीभित्र पठाउँदै पुलिसलाई १–० को अग्रता दिलाइन् ।
३३ औँ मिनेटमा एपिएफकी कप्तान अनिताले बराबरीको सुनौलो मौका गुमाइन् । अनिता केसीले दिएको भलि क्रसमा उनले नजिकैबाट गरेको सट पोस्टको दिशा समात्न सकिनन् । त्यसपछि ३८ औँ मिनेटमा सविता रानालाई लडाइएपछि एपिएफले फ्रिकिक पायो तर कप्तान अनिता बस्नेतको सट पुलिसकी गोलकिपर उषा नाथले बचाइन् ।
पहिलो हाफको अन्तिम मिनेटमा रेखा पौडेलको सट पोस्टको छेउबाट बाहिरियो । मिना देउवाले सेन्टर एरियाबाट तीन खेलाडीलाई बिट गर्दै रेखालाई पास दिएकी थिइन् ।
दोस्रो हाफमा पनि खेल बराबरीको गतिमा अघि बढ्यो । ६२ औँ मिनेटमा रेखा पौडेलको आक्रमक रन रोक्ने क्रममा एपिएफकी डिफेन्डर मनमाया दमाईले फाउल गरेपछि पहेँलो कार्ड पाउँदा पुलिसले फ्रिकिकको अवसर पायो । कप्तान अमृता जैशीले फ्रिकिकबाट गोलको प्रयास गरेकी थिइन् तर बल पोस्टबाट बाहिरियो ।

८४ औँ मिनेटमा एपिएफले बराबरीको अर्को मौका गुमायो । रश्मि घिसिङले पेनाल्टी बक्स बाहिरबाट रेनुका नगरकोटीलाई पास दिएकी थिइन् तर रेनुकाको प्रहार गोलपोस्ट नजिकबाट बहिरियो । ८९ औँ मिनेटमा पनि रश्मिको आक्रमक सटलाई पुलिसकी गोलकिपर उषा नाथले बचाइन् ।
अन्ततः खेलको २२ औँ मिनेटमा मिना देउवाले गरेकी गोल नै पुलिसको जितको आधार बन्यो । नेपाल पुलिस क्लबले १–० को जितसहित उपाधि हात पार्दै ऐतिहासिक सफलता हाँसिल ग¥यो ।
उपाधिसँगै पुलिसले नगद १० लाख १० हजार रुपैयाँ, मेडल र ट्रफी पायो । उपविजेतामा सीमित एपिएफले नगद ५ लाख रुपैयाँ प्राप्त गर्यो ।
फाइनलपछि आयोजित पुरस्कार वितरण कार्यक्रममा सर्वोत्कृष्ट खेलाडी र सर्वाधिक गोलकर्ताको दुवै उपाधि पुलिसकी मिना देउवाले हात पारिन् । उनले प्रतियोगिता अवधिभर ७ गोल गर्दै गोल्डकपकी टप स्कोरर बनेर २५ हजार र सर्वोत्कृष्ट खेलाडी बन्दै १ लाख ५० हजार रुपैयाँ प्राप्त गरिन् ।
प्लेयर अफ द म्याचको उपाधि पुलिसकी पूजा रानाले जितिन् । अन्य उत्कृष्ट पुरस्कार विजेताहरूमा उत्कृष्ट गोलकिपर उषा नाथ (पुलिस), उत्कृष्ट डिफेन्डर मनमाया दमाई (एपिएफ), उत्कृष्ट मिडफिल्डर रेनुका नगरकोटी (एपिएफ), उत्कृष्ट फरवार्ड अनिता बस्नेत (एपिएफ), उत्कृष्ट प्रशिक्षक भोला सिलवाल (पुलिस) र उदयमान खेलाडी जेनिफर राना मगर (आर्मी) बने । सबै उत्कृष्ट विजेताले समान २५ हजार रुपैयाँ प्राप्त गरे।
पुलिसकी कप्तान अमृता जैशीको नेतृत्वमा विभागीय टोलीले बलियो रक्षा र तीव्र आक्रमणको प्रदर्शन गर्दै एपिएफलाई दबाबमा राख्यो । खेलभर मिना देउवाको सक्रियता, रेखाको आक्रमक मुड र उषा नाथको बचाउले पुलिसको जित सुनिश्चित ग¥यो ।
विजेता तथा उपविजेतालाई गोल्डकपका अध्यक्ष सन्तोष थोप्रा, प्रमुख अतिथि शिवसताक्षी नगरप्रमुख मेगाहाङ थोप्रा, झापा गोल्डकपका अध्यक्ष केदार गिरी, अन्तर्राष्ट्रिय झापाली समाजकी उपाध्यक्ष सीता पाण्डे लगायतले पुरस्कार वितरण गरे ।

कमल गाउँपालिकाले सवारी इन्धन र मर्मत खर्चको भार घटायो, १४ कर्मचारी कटौती

कमल/ भाद्र २३ र २४ मा भएको जेनजी आन्दोलनमा व्यक्त जनभावनाको कदर गर्दै संघीय सरकारले स्थानीय तहलाई लक्षित गरी गरेको निर्णय कार्यान्वयनमा झापाको कमल गाउँपालिका अग्रसर भएको छ ।
गाउँपालिकाले असोजको पहिलो साता भएको मन्त्रीपरिषदको निर्णय अनुसार तत्काल पालिका भित्र कार्यरत दरबन्दी बाहेकका अस्थाई / करार कर्मचारीहरुको सेवा सम्झौता नविकरण गर्न नसकिने ब्यहोराको सूचना प्रकाशन गरी अर्थ मन्त्रालयको सर्कुलर कार्यान्वयन गरेको हो ।
सोही सर्कुलरमा आधारित निर्णयका आधारमा हाल सम्म पालिका र वडा कार्यालयहरुमा कार्यरत कूल १४ जना कर्मचारीको सेवा सम्झौता रद्ध गर्ने निर्णय गाउँपालिकाले लिइसकेको छ ।
सो बिषयमा थप निर्णय लिन बाँकी छ ।
यस अघि पालिकाले आन्तरिक रुपमा नियुक्त गरेका दरबन्दी बाहेकका कूल १४ जना कर्मचारीहरुको मन्त्रालयको सर्कुलरसँगै जागिर सकिएको हो ।
त्यस्तै गाउँपालिकाले पालिकामा प्रयोग हुँदै आएका चार पाङग्रे तीन ओटा सवारी साधन मध्ये एउटा मात्रै प्रयोग गरिने जनाएको छ ।
मन्त्रालयका अतिरिक्त सरोकारवाला तथा आम नागरिकस्तरबाट समेत सवारी साधन लगायतमा भइरहेको इन्धन खर्च कटौती गर्नुपर्ने सुझाव देशैभर आइरहेका सन्दर्भमा कमल गाउँपालिकाले प्रशासनिक खर्च कटौती गर्दै समृद्ध कमल गाउँपालिका निर्माणको लक्ष्यलाई पछ्याउन यस किसिमको निर्णय गरेको हो ।
आन्तरिक स्रोतबाट यसअघिनै खरिद गरिएको पालिकाको स्वामित्वमा रहेको मे १ च १४७ नम्बरको सवारी मात्रै गाउँपालिकाले प्रयोगमा ल्याउने र सो बाहेक हाल गाउँपालिकामा प्रयोगमा रहेका तर नेपाल सरकारको स्वामित्वमा रहेका यस अघि जलेश्वर भन्सारमा रहेको र अर्थ मन्त्रालयकै सहमतिमा केही महिना अघि मात्रै कमलमा ल्याइएको प्रदेश १–०१÷०२–००१ झ २७६ नम्बरको सवारी साधन र अघिल्ला जनप्रतिनिधिहरुकै कार्यकालमा संघीय संसद सचिवालयमा रहेको बा १ झ ८४७६ नम्बरको सवारी साधने छिमेकी पालिकाहरुलाई दिने निर्णय गाउँपालिकाले गरेको प्रमुख प्रशासकीय अधिकृत केशवकुमार ढकालले जानकारी दिनु भयो ।
सो निर्णयसँगै ति सवारीको शीर्षकमा हुँदै आएको खर्च गत कार्तिक १८ गतेदेखी कटौती भएको छ । यसले ति सवारीको इन्धन तथा मर्मत शीर्षकमा हुँदै आएको खर्चको भारबाट कमल गाउँपालिका अब मुक्त भएको छ ।
कार्यपालिकाको कार्तिक ९ को निर्णय अनुसार सो पालिकाले गौरादह गरपालिकालाई बा.१ झ. ८४७६, दमक नगरपालिकालाई  प्रदेश १–०१÷०२–००१ झ २७६ र इलाका प्रहरी कार्यालय दमकलाई प्रदेश १–०१÷०१–झ ७३०  नम्वरका स्कोरपीयो गाडी दिने निर्णय गरेको ढकालले जानकारी दिनु भयो ।
अर्थ मन्त्रालयले जेनजी आन्दोलनमा प्रकट भएको जनभावना अनुरुप हरेक सरकारी कार्यालयका प्रशासनिक तथा कार्यालयीय खर्चलाई मितव्ययी बनाउँदै अनुत्पादक क्षेत्रमा भइरहेको खर्च कटौती गर्ने उद्धेश्यले गरेको निर्णय र सोको परिपत्र कार्यान्वयनका लागि गाउँपालिकाले आन्तरिक स्रोतबाट आफैं खरिद गरेका सवारी बाहेक अन्य सवारी साधनहरु दिने निर्णय लिइएको हो– प्रमुख प्रशासकीय अधिकृत ढकालले भन्नु भयो ।
   

महिला गोल्डकपको फाइनल खेल हुँदै, नगरले दियो स्थानीय विदा

शिवसताक्षी/ झापाको शिवसताक्षीस्थित दुधे रंगशालामा आज झापा महिला गोल्डकपको फाइनल खेल हुँदैछ ।  प्रतियोगिताको फाइनल खेल आज (सोमबार) दिउँसो २ः३० बजेबाट सुरू हुनेछ ।
फाइनलमा दुई विभागीय टोली एपिएफ फुटबल क्लब र नेपाल पुलिस क्लब उपाधिका लागि आमनेसामने हुँदैछन् । आयोजक झापा महिला गोल्डकपका अध्यक्ष सन्तोष थोप्राका अनुुसार आजको खेलमा झापाको फुटबलप्रेमीहरूको ठुलो उपस्थिति रहने अपेक्षा गरिएको छ ।
यसैबीच, दुधे रंगशालामा आयोजित प्रिम्याच कन्फ्रेन्समा दुवै टोलीका प्रशिक्षक र कप्तानहरूले आफ्नो टोली उपाधिका लागि पूर्ण रूपमा तयार रहेको बताएका छन् ।
नेपाल पुलिस क्लबले क्वाटरफाइनलमा चर्च बोइज युनाइटेडलाई ८–० को फराकिलो अन्तरले हरायो । त्यस्तै, सेमिफाइनलमा संकटा क्लबलाई २–० ले पराजित गर्दै फाइनलमा स्थान बनाएको हो ।
एपिएफ फुटबल क्लबले क्वार्टर फाइनलमा सिक्किम क्लबलाई ७–० को भारी अन्तरले हरायो । सेमिफाइनलमा त्रिभुवन आर्मी एफसीसँगको रोमाञ्चक भिडन्तमा एपिएफले पेनाल्टी सुटआउटमा जित हाँसिल गर्दै फाइनलमा स्थान बनाएको हो ।
आयोजक समितिका अनुसार दर्शकका लागि टिकट दर सामान्यतर्फ ३०० र ५०० रुपैयाँ तथा भिआइपीतर्फ एक हजार रुपैयाँ तोकिएको छ ।
विजेता टोलीले नगद १० लाख १० हजार रुपैयाँ, उपविजेताले ५ लाख रुपैयाँ र सर्वोत्कृष्ट खेलाडीले १ लाख ५० हजार रुपैयाँ प्राप्त गर्नेछन् ।
त्यस्तै, प्रतियोगिताका उत्कृष्ट गोलकिपर, डिफेन्डर, मिडफिल्डर, फरवार्ड, उदीयमान खेलाडी, उत्कृष्ट प्रशिक्षक र उच्च गोलकर्ताले जनही २५ हजार रुपैयाँका दरले पुरस्कार पाउने छन् । फाइनल खेललाई थप उत्साहित बनाउन र खेलकुद क्षेत्रको बिकासमा सकारात्मक सन्देश दिने उद्धेश्यले आज शिवसताक्षी नगरपालिकाले स्थानीय बिदा समेत दिएको नगर प्रमुख मेगाहाङ थोप्रा (रोशन)ले जानकारी दिनु भयो ।

प्रदेश प्रमुख भण्डारीले होटलमा नियुक्त गरिन नयाँ मुख्यमन्त्री

जनकपुर/ मधेश प्रदेशकी प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारी सोमबार बिहानै ४ बजे बिरामी छु भन्दै जनकपुरबाट काठमाडौंका लागि हिँडिन् । उनलाई कामचलाउ मुख्यमन्त्री जितेन्द्र सोनलले भेटेर शिघ्र स्वास्थ्य लाभको कामना गर्दै बिदाई गरे ।

बिरामीको बहाना गर्दै जनकपुर छोडेकी प्रदेश प्रमुख भण्डारीले अहिले बिहान बर्दिवासको पानस कटेज पुगेर संविधानको धारा १६८ को उपधारा ३ बमोजिम मधेश प्रदेशको मुख्यमन्त्रीमा ठूलो दलको हैसियतले एमालेका संसदीय दलका नेता सरोज कुमार यादव(महोत्तरी)लाई नियुक्त गरेकी छन् ।

प्रदेश प्रमुख भण्डारीलाई कांग्रेससहित ७ दलले संविधानको धारा १६८ को उपधारा २ बमोजिम दुई वा दुई भन्दा बढी दलले सरकार बनाउन भन्दै आह्वान गर्न दबाब दिइरहेका थिए । एमालेले पनि संविधानको धारा १६८ को उपधारा ३ बमोजिम सरकार गठन हुनुपर्ने भन्दै जनकपुरस्थित प्रदेश प्रमुखको कार्यालयमा नाराबाजी गरेको थियो ।

बर्दिवासको कालापानीस्थित होटल पानसमा सोमबार बिहान ५ बजेर २० मिनेटमा यादवलाई मुख्यमन्त्री पदको शपथसमेत गराइएको छ । होटलमै एमाले सांसद लखन दास तत्मा, नेपाल संघीय समाजवादी पार्टीकी सांसद बिमला अंसारी र राप्रपाकी सांसद कंचन बिच्छालाई विना विभागीय मन्त्रीको शपथ पनि गराइएको छ । इकान्तीपुरबाट

प्रचण्डको नेतृत्वमा ‘नेपाली कम्युनिस्ट पार्टी’को घोषणा

काठमाडौं/ जेनजी आन्दोलनसँगै पार्टी पुनर्गठन र रुपान्तरणको लहर चलेका बेला पुराना १० वटा कम्युनिस्ट पार्टी/घटकहरु एकीकृत हुँदै ‘नेपाली कम्युनिस्ट पार्टी’को घोषणा गरेका छन् ।

बुधबार नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, नेपाल समाजवादी पार्टी, जनता समाजवादी पार्टी, नेकपा समाजवादी, नेकपाको चिरन पुन समूह, नेकपा (समाजवादी माओवादी), नेकपा साम्यवादी, देशभक्त मोर्चा लगायत राजनीतिक पार्टी र समूह एकीकृत हुँदै ‘नेपाली कम्युनिस्ट पार्टी’का रुपमा रुपान्तरण भएका हुन् ।

एकीकृत पार्टीका संयोजक पूर्व माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र सहसंयोजक पूर्व एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल तोकिएका छन् ।
एकीकृत पार्टीको एकता सभालाई नै राष्ट्रिय सम्मेलनका रुपमा घोषणा गरिएको कार्यक्रममा नवगठित पार्टीको घाषणापत्र र विधान समेत सार्वजनिक गरिएको छ । सम्मेलनमा सम्बोधन गर्दै नेपाली कम्युनिस्ट पार्टीका नेताहरुले नेपालको कम्युनिस्ट आन्दोलन, पार्टीहरुको अवस्था, जेनजी आन्दोलन, नेपाली जनताको आकांक्षालाई सम्बोधन गर्न नयाँ पार्टीले महत्वपूर्ण भूमिका खेल्ने दाबी गरे । साथै, उनीहरुले नयाँ पार्टीलाई क्रान्तिकारी पार्टीका रुपमा विकास गर्दै मुलुकमा समाजवाद हुँदै साम्यवादको दिशातर्फ लैजाने दाबी समेत गरे । पार्टी एकता घोषणा कार्यक्रममा पार्टीका तर्फबाट २३ बुँदे प्रतिवद्धता व्यक्त गरिएको छ । जसमा जेनजी आन्दोलनका माग र आकांक्षा पूरा गर्न पार्टीले प्रतिवद्धता जनाएको छ ।

‘जेनजी पुस्ताका मुद्धा र आकांक्षाको सम्बोधन गर्न प्रतिबद्ध रहने’, २३ बुँदे प्रतिवद्धतामा भनिएको छ, ‘नेपालको राष्ट्रिय स्वाधीनता, भौगोलिक अखण्डता, स्वाभिमान र स्वतन्त्रता अक्षुण्ण राख्न दृढतापूर्वक लागिरहने ।’

राष्ट्र र जनताप्रति इमानदार, निष्ठावान् र समर्पित भई काम गर्ने प्रतिवद्धता जनाएको उक्त पार्टीले मार्क्सवाद–लेनिनवादका सार्वभौम सच्चाइहरूप्रति दृढ रहँदै तिनलाई नेपालको विशिष्ट परिस्थिति अनुरूप सिर्जनात्मक ढङ्गले लागु गर्ने जनाएको छ ।

‘समाजवादी क्रान्ति र कार्यक्रमप्रति प्रतिबद्ध रही नेकपाले आफ्नो स्थापनाकालदेखि राख्दै आएको वैज्ञानिक समाजवाद स्थापनाको महान् लक्ष्य प्राप्त गर्ने दिशामा दृढतापूर्वक अघि बढ्ने’, नेपाली कम्युनिस्ट पार्टीले भनेको छ, ‘लोकतान्त्रिक गणतन्त्रप्रति प्रतिबद्ध रहने र जनवादी क्रान्तिका उपलब्धिहरूको रक्षा गर्दै गणतन्त्रको सुदृढीकरण र राज्यका सबै अङ्गमा आवश्यक सुधार एवम् पुनर्संरचना गर्न अग्रसर हुने ।’

त्यस्तै, नेपालको वर्तमान संविधानको रक्षा गर्दै शासकीय स्वरूप र निर्वाचन प्रणाली, सङ्घीयताको सबलीकरण तथा स्थानीय तह र जप्रतिनिधिको सङ्ख्या घटाउनेलगायत विषयमा अग्रगामी परिमार्जन गर्न तत्पर रही पहल गर्ने उक्त पार्टीले प्रतिवद्धता जनाएको छ ।

नवगठित पार्टीले भ्रष्टाचार, अनियमितता र ढिलासुस्तीको अन्त्य गर्न तथा सुशासन, पारदर्शिता, सामाजिक न्याय र मुलुकको समृद्धिका लागि निरन्तर पहल गर्ने जनाउँदै उच्चस्तरीय अधिकारसम्पन्न सम्पत्ति जाँचबुझ आयोग गठन गरेर हालसम्म सार्वजनिक पद धारण गरेका सबै व्यक्तिहरूको सम्पत्ति छानबिन गरी भ्रष्टाचारीहरूलाई कडा कारवाही गराउन प्रभावकारी पहल गर्ने जनाएको छ ।

‘राज्यको सेवा प्रवाहलाई छिटो, छरितो र चुस्त दुरुस्त बनाउन र शिक्षा, स्वास्थ्यलगायत आधारभूत सेवा प्रवाहमा आम जनताको पहुँच स्थापित गर्न विशेष पहल गर्ने’, सार्वजनिक प्रतिवद्धतामा भनिएको छ, ‘वर्तमान नेपाली समाजमा रहेका सबैखाले शोषण, दमन, उत्पीडन, अन्याय, अत्याचार, विभेद, असमानता र विकृति विसंगतिको अन्त्य गर्न सङ्घर्षरत् रहने ।’

स्वतन्त्र र आत्मनिर्भर अर्थतन्त्रको विकास गर्न, रोजगारी सिर्जना गर्न र गरिबीको अन्त्य गर्न विशेष पहल गर्ने जनाएको उक्त पार्टीले वर्तमान नेपाली समाजको आर्थिक–सामाजिक र सांस्कृतिक रूपान्तरण गर्न कृषि, स्वदेशी कच्चा पदार्थमा आधारित उद्योग, पर्यटन र जलविद्युतको विकासलाई प्राथमिकतामा राखेर विशेष योजनाका साथ देशको विकास गर्न अग्रसर हुने जनाएको छ ।

विगतका कामको समग्र समीक्षा गरेर भएका कमी कमजोरीहरू सच्याउँदै कार्यशैलीमा व्यापक सुधार, पुनर्गठन र रुपान्तरण गर्दै अघि बढ्न तत्पर रहने उक्त पार्टीको प्रतिवद्धतामा उल्लेख छ ।

‘पार्टीमा आन्तरिक लोकतन्त्रको सुदृढीकरण गर्न र नेतृत्व विकास एवम् हस्तान्तरणको वैज्ञानिक विधि निर्माण गरी लागु गर्न तत्पर रहने, पार्टीका सबै नेता तथा कार्यकर्ताहरु उत्पादन र श्रम कार्यमा संलग्न हुने’ जनाएको उक्त पार्टीले कम्युनिस्ट आचरण, अनुशासन र नैतिकताको कडाइका साथ पालना गर्ने दाबी गरेको छ । यो पार्टीका नेता कार्यकर्ताहरुले सादा एवम् सरल जीवनशैली र पारदर्शी कार्यशैली अवलम्बन गर्ने दाबी गरिएको छ ।

मुलुकमा पुरानै नेता र पुरानै पार्टीले जनताको आकांक्षा पूरा गर्न नसक्ने आवाज चर्को बन्दै गएका बेला पुराना राजनीतिक दलहरु नयाँ नाम र नयाँ कार्यशैली, आचरणसहित जनतामा जान लागेका हुन् ।

कार्यक्रममा संयोजक प्रचण्डले एकीकृत पार्टी एक ढिक्का भएर देशका समस्या समाधान गर्न सक्छौँ भन्ने आत्मविश्वास बढेको बताए । ‘अब नयाँ शक्ति निर्माण भयो’, उनले भने, ‘आजको दिन नेपाली कम्युनिस्ट इतिहासमा अविस्मरणीय दिन बनेको छ । एक दुई घटकबिच एकता भएको थियो, तर १० वटा घटकबिच एकता भएको थिएन ।’

प्रचण्डले यो एकताका लागि मात्र होइन, देशका सङ्कट समाधानका लागि बनेको एकता भएको दाबी समेत गरे । ‘यो इतिहास अब कसैले मेटाएर मेटिँदैन’, उनले दाबी गरे ।
सहसंयोजक माधवकुमार नेपालले पार्टीहरुको अग्निपरीक्षा सुरु भएको भन्दै अहिलेको एकतामा छुटेका वामपन्थी घटकलाई सँगसँगै लैजान प्रयास कायमै राख्ने बताए ।

लामो गृहकार्य र समाजवादी मोर्चा हुदै पार्टी एकतासम्म आइपुग्न सफल भएको बताएका नेपालले नेपाली कम्युनिस्ट पार्टी पुरानै पार्टीको नयाँ रूप नभएको दाबी समेत गरे ।
‘नेकपाकालका ९ शीर्ष नेताहरूमध्ये ५ जना यहीं छौँ । त्यसैले मूल पार्टी यहीं भएको छ’, नेता नेपालले भने,  ‘हामीले विगतको अनुभवलाई पनि समीक्षा गर्नुपर्छ । प्रत्येक घटकका साथीहरूलाई अपमान नहोस् भनेर हामी उदार भएर अघि बढ्छौँ ।’

जेनजीहरुले उठाएका सुशासन, भष्टाचारको विरुद्ध र जनताको जीवनमा रूपान्तरणको कुरामा हातेमालो गर्न तयार रहेको भन्दै उनले रुपान्तरित पार्टीका नेता कार्यकर्ताहरुले आफ्नो जीवनशैली, कार्यशैली, आचरण र व्यवहारमा परिवर्तन आउने समेत बताए । कार्यक्रममा नेताहरु झलनाथ खनाल, देव गुरुङ, वामदेव गौतम, बेदुराम भुसाल, पम्फा भुसाल, महेन्द्र राय यादव, सुवासराज काफ्ले, राजु कार्की, चिरन पुन, कर्णजीत बुढाथोकी, प्रेमबहादुर सिंहलगायतले पार्टी एकता र औचित्यबारे धारणा राखेका थिए ।

सिमल तरुलको झाडीमा भेटियो इन्सास हतियार, २२ थान अझै बेपत्ता

झापा/ बिर्तामोड नगरपालिका–६ स्थित सुगम शान्ति टोलमा इन्सास हतियार फेला परेको छ ।  गत भदौ २४ गते जेनजी आन्दोलनका क्रममा इलाका प्रहरी कार्यालय अनारमनिबाट लुटिएको इन्सास क्रम संख्या ०३११००८७२०, म्याग्जिन थान–१, १९ राउन्ड सावुत र २ राउन्ड बेसावुत गोली फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक खगेन्द्र खड्काले जानकारी दिनु भयो । उहाँका अनुसार साँझ ४ः ४५ बजे बिर्तामोड–६ स्थित सुगम शान्ति टोलको तोरीबारी नजिक सिमल तरुलको झाडीमा इन्सास हतियार फेला हो । इलाका प्रहरी कार्यालय दमक र इलाका प्रहरी कार्यालय अनारमनिबाट लुटिएको २२ थान हतियार अझै बेपत्ता रहेको प्रवक्ता खड्काले बताउनु भयो ।
जेनजी आन्दोलनका क्रममा झापामा विभिन्न प्रकारका १०३ थान हतियार लुटिएका थिए । तीमध्ये ८१ थान हतियार फेला परिसकेको छ । जिल्लाका विभिन्न स्थानमा बेवारिसे अवस्थामा हतियार फेला परिरहेका छन् ।

दुर्गा प्रसाइँलाई सरकारले फेरी बोलायो

काठमाडौं/ सरकारले मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई छलफलमा आउन फेरि पत्र पठाएको छ।  गृह मन्त्रालयले प्रसाईंको नागरिक बचाउ महाअभियानको कार्यालयमा पत्र पठाइएको जनाएको छ।

प्रसाईंले ज्ञापनपत्र बुझाउन र आवश्यक परामर्श गर्न भन्दै गृहमन्त्री ओमप्रकाश अर्याललाई पत्र लेखेका थिए।

प्रसाईंलाई उक्त समय उपलब्ध गराउने भनेर जवाफ पठाइएको मन्त्रालय स्रोतले जनाएको छ। कात्तिक अन्तिम साताका लागि समय तोकिएको मन्त्रालयले जनाएको छ। यसअघि पनि सरकारले पत्र काटेपछि प्रसाईंले आफ्नो आन्दोलन रोकेका थिए।

 

घरेलु मैदानमा झापा एफसीको लज्जास्पद हार, ६–० ले संकटा विजयी

बिर्तामोड/  झापाको शिवसताक्षीस्थित दुधे रंगशालामा जारी एलभिडी झापा महिला गोल्डकप अन्तर्गत तेस्रो क्वार्टर फाइनलमा संकटा फुटबल क्लब काठमाडौँले घरेलु टोली झापा एफसीलाई एकतर्फी खेलमा ६–० को फराकिलो जित दर्ता गर्दै सेमिफाइनलमा प्रवेश गरेको छ ।

खेलको सुरुवातदेखि नै संकटाले आक्रमक खेल प्रस्तुत गरेको थियो । १३ औँ मिनेटमा राष्ट्रिय यु–२० खेलाडी सुक्रिया मियाको प्रहारलाई झापाकी गोलकिपर सुजता तामाङले सजिलै कलेक्सन गरिन् । १५ औँ मिनेटमा अनिसा राईको २५ यार्ड दूरीको फ्रिकिक र २३ औँ मिनेटमा समिक्षा मगरको लङ–रेन्ज सट पनि सुजताले रोकिन् ।

तर, निरन्तर दबाब बनाइरहेको संकटाले २३ औँ मिनेटमा अग्रता बनायो । राष्ट्रिय खेलाडी पूर्णिमा राईको सटिक क्रसमा सेनु परियारले उत्कृष्ट फिनिसिङ गर्दै पहिलो गोल गरिन् । ३० औँ मिनेटमा कप्तान यशोदा शाहीले पाएको फ्रिकिक सदुपयोग गर्न नसके पनि पहिलो हाफको इन्ज्युरी समयमा सुनिता भुलानको असिस्टमा समिक्षा मगरले गोल गर्दै संकटाको अग्रता २–० बनाइन् ।

दोस्रो हाफको सुरुवातमै संकटा अझ आक्रमक बन्यो । ५५ औँ मिनेटमा भुटानबाट अनुबन्धित विदेशी खेलाडी छिरिङ वांग्देनले पूर्णिमा राईको ब्याकहिल पासमा गोल गर्दै टोलीलाई ३–० को स्थितिमा पुर्याइन् । ६१ औँ मिनेटमा पूर्णिमा राईले यु–२० सहकर्मी सेनु परियारको पासमा गोल गर्दै अन्तर ४–० बनाइन् ।
८३ औँ मिनेटमा रेनिसा शर्माको लङ रन क्रसमा उनले अर्को गोल थपिन् । नियमित समयको अन्तिम मिनेटमा अरुणा स्याङतेनले मैदान प्रवेश गरेको केही मिनेटमै गोल गर्दै संकटाको जित ६–० मा पक्का गरिन् ।

खेलमा उत्कृष्ट प्रदर्शन गरेकी पूर्णिमा राई प्लेयर अफ द म्याच भइन्, जसअन्तर्गत उनले नगद १५ हजार र ट्रफी प्राप्त गरिन् ।

खेलपछि झापाका प्रशिक्षक सन्देश श्रेष्ठले तयारी अभावका कारण टोलीले अपेक्षित प्रदर्शन गर्न नसकेको प्रतिक्रिया दिए । संकटा क्लबका प्रशिक्षक रविन्द्र शिलाकारले भने टोलीले रणनीतिअनुसार खेल्दै सहज जित निकाल्न सफल भएको बताए ।

प्रतियोगिताको फाइनल खेल कात्तिक २४ गते हुनेछ । विजेता टोलीले नगद १० लाख १० हजार रुपैयाँ, उपविजेताले ५ लाख रुपैयाँ र सर्वोत्कृष्ट खेलाडीले १ लाख ५० हजार रुपैयाँ प्राप्त गर्नेछन् ।

त्यस्तै, उत्कृष्ट गोलकिपर, डिफेन्डर, मिडफिल्डर, फरवार्ड, उदीयमान खेलाडी, उत्कृष्ट प्रशिक्षक र उच्च गोलकर्ताले २५ हजार रुपैयाँका दरले पुरस्कार पाउनेछन् । हरेक खेलको प्लेयर अफ द म्याचलाई १५ हजार रुपैयाँ नगद र ट्रफी प्रदान गरिनेछ ।
दर्शकका लागि क्वार्टर फाइनलसम्म टिकट दर सामान्यतर्फ १०० र २०० रुपैयाँ र भिआइपीतर्फ १ हजार रुपैयाँ निर्धारण गरिएको आयोजकले जनाएको छ ।