दुर्घटनाका घाईतेको मृत्यु

दमक/ दमकमा भएको मोटरसाइकल दुर्घटनाका घाइते एक जनाको मृत्यु भएको छ । कात्तिक ५ गते बिहान २ः४५ बजे पूर्वपश्चिम लोकमार्ग अन्तर्गत दमक ४ मा उर्लाबारीबाट दमकतर्फ आउँदै मे ९ प ३०७९ नम्बरको पल्सर मोटरसाइकल आफै अनियन्त्रित भई दुर्घटना भएको थियो ।
दुर्घटनामा मोटरसाइकल चालक पाँचथर कुम्मायक –२ स्थायी ठेगाना भई हाल मोरङ उर्लाबारी –५ बस्ने ३१ वर्षीय भेषराज बि.क. र सोही मोटरसाइकलमा पछाडि सवार दमक –४ बस्ने ३६ वर्षीय जीवनकुमार बि.क. घाइते भएका थिए ।
दुवै घाइतेको अरनिको अस्पताल उर्लाबारीमा उपचार पश्चात थप उपचारका लागि चालक भेषराजलाई न्युरो अस्पताल विराटनगरमा लगिएकोमा उपचारको क्रममा आइतबार मृत्यु भएको प्रहरीले जनाएको छ ।

महापर्व छठ : श्रद्धा, संयम र कृतज्ञताको उज्यालो

नेपाल धार्मिक, सांस्कृतिक र भाषिक विविधताको देश हो। यहाँका हरेक पर्वले केवल भक्ति र आस्थाको प्रतीक मात्र होइन, सामाजिक एकता र सहअस्तित्वको सुन्दर सन्देश पनि दिन्छ। यही बहुरङ्गी संस्कृतिको मधुर संगीतभित्र एउटा अनुपम पर्व छ — सूर्य षष्ठी व्रत, जसलाई प्रायः छठ पर्व भनेर पनि चिनिन्छ। यो व्रत सूर्यदेव र उहाँकी शक्ति माता षष्ठी अर्थात् छठी मइया प्रति समर्पित हुन्छ।
‘सूर्य षष्ठी’ शब्दले नै यसको मर्म खोलिदिन्छ। ‘सूर्य’ जीवनका दाता, ऊर्जा र प्रकाशका स्रोत हुन् भने ‘षष्ठी’ संस्कृतमा छैटौँ तिथिको सूचक हो। त्यसैले शुक्ल पक्षको छैटौँ दिन सूर्यदेवको आराधना हुने भएकाले यसलाई सूर्य षष्ठी भनिएको हो। बिहार, झारखण्ड र उत्तर प्रदेशमा यो पर्व ‘छठ पर्व’ वा ‘दाला छठ’ नामले परिचित भए पनि नेपालमा यसले आफ्नै पहिचान र गहिरो सांस्कृतिक रंग पाएको छ।
पुराणहरूमा सूर्य उपासना र षष्ठी देवीको महिमा विस्तारले उल्लेख गरिएको छ। रामायणमा समेत श्रीराम र सीताले अयोध्या फर्किएपछि राज्यको कल्याणका लागि सूर्यदेवको आराधना गरेको प्रसङ्ग पाइन्छ। लोककथाअनुसार राजा प्रियव्रत र रानी मालिनीका सन्तान नहुँदा षष्ठी देवीको आराधनाले उनीहरूलाई सन्तान प्राप्त भयो, त्यसैबेला यो व्रतको परम्परा सुरु भएको मानिन्छ।
छठ व्रतको मुख्य उद्देश्य सूर्यदेव र छठी मइयाको आराधना गर्दै परिवारमा सुख, समृद्धि, दीर्घायु र स्वास्थ्यको कामना गर्नु हो। यस व्रतले श्रद्धालुलाई आत्म–संयम, शुद्धता र अनुशासनको बाटोमा लग्छ। व्रतालुहरू चार दिनसम्म अत्यन्त पवित्रता र कठोर नियमपालनसहित उपवास बस्छन्।
यो पर्व नेपालमा विशेषगरी मधेस प्रदेशमा गहिरो रूपमा प्रभाव जमाएको छ। जनकपुर, सर्लाही, धनुषा, महोत्तरी, पर्सा, बारा, रौतहट, सिराहा र सप्तरीका घाटहरूमा यो पर्वले जीवन्त रूप पाउँछ। नदी, पोखरी र तालका किनारमा हजारौँ श्रद्धालुहरूको भीड लाग्छ, लोकगीत गुन्जिन्छन्, दियोहरू बल्छन् र वातावरण भक्ति र सौन्दर्यले भरिन्छ।
छठ केवल धार्मिक कर्मकाण्ड होइन; यो सामाजिक एकताको पनि प्रतीक हो। यस पर्वमा महिलाहरू प्रमुख भूमिकामा रहन्छन्। परिवारका सुख–समृद्धिका लागि उनीहरूले कठोर उपवास र संयम अपनाउँछन्। यसरी महिलाको श्रद्धा र धैर्यले सम्पूर्ण परिवारमा आस्था र अनुशासनको वातावरण बनाउँछ। व्रतालुलाई ‘पवनैतिन’ भनिन्छ, र उनीहरूको तपस्या नै यो पर्वको आत्मा हो।
चार दिनसम्म मनाइने यो पर्व नहाय–खायबाट सुरु हुन्छ। पहिलो दिन बिहानै स्नान गरी घर र आँगन सफा गरिन्छ। परवैतिनले एकपटक मात्र शुद्ध भोजन ग्रहण गर्छिन्। दोस्रो दिन खरना हुन्छ, जसमा दिनभर उपवासपछि साँझ सूर्यास्तको बेला दूध, गुड र चामलले बनेको खीर र रोटी तयार गरी यस पर्वमा  पहिलो नैवेद सहित आराधना गरिन्छ । तेस्रो दिन साँझ अस्ताउँदो सूर्यलाई अर्घ्य दिने ‘संध्या अर्घ्य’ को विशेष पूजा हुन्छ। महिलाहरू पानीमा उभिएर सूर्यलाई दूध र जल अर्पण गर्छन्। घाटहरू दियो, फूल र फलफूलले सजाइएका हुन्छन्। चौथो दिन बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिई व्रत तोडिन्छ। यो क्षण परिवारका सबै सदस्यहरूका लागि अपूर्व उल्लास र आशीर्वादको क्षण हुन्छ।
छठ पर्वको तयारीमा घरको सफाइदेखि घाट निर्माणसम्म सबै कार्य सामूहिक रूपमा गरिन्छ। बाँसका डोका, सूप, टोकरी, फलफूल, उखु, नारिवल, ठेकुवा, भुसुवा आदिको तयारीमा गाउँभर रौनक छाउँछ। महिलाहरू प्रायः पहेंलो वा सुन्तला रङको साडीमा सिँगारिन्छन्, जसले पवित्रता र सूर्यको तेज दुवै जनाउँछ।
मधेसका गल्ली–गल्लीमा यस समयमा लोकगीत र भजन गुन्जिन्छन् — “केरवा जे फरेली घउदे से” ” अरे गंगा जल में”, “उठल भोर भइल भिनसरिया” जस्ता गीतहरूले भक्ति र भावना दुवैलाई एकसाथ जागृत गर्छन्। गीत, संगीत र भजनमा नाच्दै, गाउदै श्रद्धालुहरूले छठ मइयाको आराधना गर्छन्।
छठले पर्यावरणीय सन्देश पनि बोकेको छ। सूर्य, जल, माटो र फलफूलको पूजा गरेर यस पर्वले प्रकृतिप्रति सम्मान व्यक्त गर्छ। घाटहरू सफा गर्ने परम्पराले नदी र पोखरीको संरक्षणमा योगदान पुर्‍याउँछ। यस अर्थमा छठ केवल धार्मिक होइन, पर्यावरण–मित्र पर्व पनि हो।
अहिले छठ पूजा मधेसमा सीमित छैन। काठमाडौं, पोखरा, चितवन, बुटवल, धरान र नेपालगञ्जमा समेत भव्य रूपमा मनाइन्छ। कृत्रिम पोखरीहरू र घाटहरू निर्माण गरी श्रद्धालुहरूलाई पूजा गर्न सहज बनाइन्छ। यसले धार्मिक सहिष्णुता र राष्ट्रिय एकताको सन्देश फैलाएको छ। हिन्दु, मुस्लिम, बुद्ध, किराँत समुदायका मानिसहरू समेत सहभागी भएर यो पर्वलाई सामूहिक उत्सवको रूप दिन्छन्।
छठ पर्वको मर्म आत्म–संयम, श्रद्धा र कृतज्ञताको अभ्यासमा निहित छ। सूर्यदेव केवल आकाशका तेजका प्रतीक होइनन्, ज्ञान, सत्य र जीवनका पनि दाता हुन्। व्रतालुले आफ्नो शरीर र आत्मालाई शुद्ध पार्दै सूर्यप्रति धन्यवाद ज्ञापन गर्छन् — किनभने सूर्य बिना जीवन असम्भव छ।
नेपालका मधेसका घाटहरूमा जब अस्ताउँदो सूर्यको सुनौलो किरण जलमा झिलमिलाउँछ, हजारौँ दियोहरू एकैसाथ बल्छन् र लोकगीतको मधुर स्वर फैलिन्छ, त्यतिबेला छठको दृश्य केवल आस्थाको नभई सौन्दर्यको पनि प्रतीक बन्छ। त्यही क्षणमा आस्था र प्रकृति एकअर्कामा विलय हुन्छन्।
सूर्य षष्ठी व्रतले हामीलाई सिकाउँछ — जीवनमा अनुशासन, शुद्धता र प्रकृतिप्रतिको सम्मान बिना वास्तविक सुख सम्भव छैन। यो पर्वले परिवारमा प्रेम, समाजमा सहकार्य र राष्ट्रमा एकताको भाव जगाउँछ।
छठ अब केवल मधेसको पर्व होइन, सम्पूर्ण नेपालीहरूको साझा आस्था बनेको छ। यसले धर्म, संस्कृति र सहअस्तित्वको अद्भुत मिसाल प्रस्तुत गरेको छ। सूर्यका किरणजस्तै यो पर्वले देशभर उज्यालो फैलाइरहेको छ — श्रद्धा, संयम र कृतज्ञताको उज्यालो।
साँचो अर्थमा छठ पर्व त्यो क्षण हो जब सूर्य आकाशमा मात्र होइन, मानिसको मनमा पनि उदाउँछ।

पाँचथरमा गोली हानेर छोराको हत्या

पाँचथर/  पाँचथरको मिक्लाजुङ गाउँपालिका–८ दुर्दिम्बाको भदौरेमा बुबाले छोराको गोली हानी हत्या गरेका छन् ।
विजय सिङ्घकले आइतबार दिउँसो करिब ३ बजे आफ्ना १७ वर्षीय छोरा सफल सिङ्घकलाई भरुवा बन्दुकले गोली हानी हत्या गरेको प्रहरीले जनाएको छ ।
स्थानीय गणेश वाजीका अनुसार विजय सिङ्घकको अत्यधिक मदिरा सेवन गर्ने र प्रायः घरमा झगडा गर्ने बानी थियो । घटनाबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पाँचथरका निमित्त प्रमुख रुपेश तामाङले जानकारी दिए । उर्लाबारी न्यूजबाट साभार

कोशीका पाँच जिल्लामा प्रमुख जिल्ला अधिकारी हेरफेर

मोरङ/ कोशी प्रदेशका पाँच जिल्लामा प्रमुख जिल्ला अधिकारी फेरिएका छन् । गृह मन्त्रालयले आज गरेको ३६ सहसचिवहरूको सरुवामा कोशीका पाँच जिल्लाका सिडियो फेरिएका हुन् । झापा, मोरङ, सुनसरी, धनकुटा र उदयपुरमा नयाँ सिडियो आउने भएका छन् ।

मोरङमा युवराज कट्टेल प्रमुख जिल्ला अधिकारीका रुपमा आउने भएका छन् । राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागमा कार्यरत कट्टेललाई मोरङ आउने भएका छन् । मोरङका सिडियो इन्द्रदेव यादवको महोत्तरी सरुवा भएको छ ।
यस्तै, धनकुटाका प्रमुख जिल्ला अधिकारी शिवराम गेलालको झापा सरुवा भएको छ । भने धनकुटामा विनोदकुमार खड्का आउने भएका छन् । उनी यसअघि रौतहटको सिडियो थिए । झापाका प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीको काभ्रेपलाञ्चोक सरुवा भएको छ ।

गृहमन्त्रालयबाट बासुदेव घिमिरेको जिल्ला प्रशासन कार्यालय सुनसरीको प्रमुख जिल्ला अधिकारीको रुपमा पदस्थापन भएको छ । सुनसरीका सिडियो धर्मेन्द्रकुमार मिश्रको बारा सरुवा
भएको छ । उदयपुरको प्रमुख जिल्ला अधिकारीको रुपमा धर्मराज जोशी आउने भएका छन् । उनी यसअघि बाँकेमा थिए । उदयपुरका सिडियो प्रेमप्रसाद लुइटेलको धनुषा सरुवा भएको छ ।

छठ पर्व– आज खरना विधिको तयारी

श्रद्धा, निष्ठा र लोकआस्थाको पर्व छठ व्रतालुले आज पर्वको दोस्रो दिन खरना विधिको तयारी गरेका छन् । कार्तिक शुक्ल चौथीका दिन हिजो नहाय–खाय विधिबाट पर्व सुरु गरेका व्रतालुले आज पर्वको दोस्रो दिन खरना विधिको तयारी गरेका हुन् ।

चार दिनको यो पर्वको दोस्रो दिन अर्थात् खरनाका दिन दिनभरि उपवास बसेर बेलुका चन्द्र दर्शन गरिसकेपछि माटोको नयाँ चुल्हो र माटाकै भाँडामा सख्खर, दूध र चामलको खीर पकाइ केराको पातमा राखेर छठी मातालाई चढाएर व्रतालु र परिवारका अन्य सदस्यले प्रसादको रूपमा खाने गर्छन् ।

आज दिनभरि उपवास गर्ने व्रतालुले सूर्यास्तपछि चन्द्रदर्शन गरेर आज यो विधि सम्पन्न गर्नेछन् । शनिवार (हिजो) व्रतालुले पर्वको पहिलो दिन नहाय–खाय (पवित्र स्नान गरेर शुद्ध खानेकुरा खाइने) विधि सम्पन्न गरिसकेका छन् ।

पर्वको तेस्रो दिन सूर्य उपासनाको निराहार व्रत बसेर व्रतालुले जलाशयमा पुगेर अस्ताउँदो सूर्यलाई पहिलो अर्घ दिनेछन् । यसलाई तराई, मधेशमा तथा मिथिला क्षेत्रमा सझिया घाटे भन्ने गरिएको छ ।  त्यसैगरी सप्तमीका दिन बिहान व्रतालुले उदाउँदा सूर्यलाई दोस्रो अर्घ दिएर पर्व समापन गर्ने चलन छ ।

यसलाई तराई, मधेश तथा मिथिलामा भिनहीया घाटे भनिन्छ । छठ पर्वमा बनाइएका प्रसाद ठकुवा, कसारसहितका मिष्टान्न परिकार इष्टजनलाई घरमै बोलाएर ख्वाउने र आफन्त नातेदारकहाँ पुर्‍याउन जाने परम्परा छ । यो पर्वमा श्रद्धा र निष्ठाको निकै ख्याल गरिन्छ ।

सर्वोदयका बिद्यार्थीको देउसी भैलो

दमक/ दमक ५ स्थित सर्वोदय अंग्रेजी माविका बिद्यार्थीहरुले सामुहिक देउसी भैलो कार्यक्रम सञ्चालन गरेका छन् । बिद्यालयमा रहेको सर्वोदय बाल क्लब र सर्वोदय स्काउटले संयुक्त रुपमा यस बर्षको तिहारमा चार दिन सम्म देउसी भैलो सञ्चालन गरेका हुन् ।  काग तिहारदेखि लक्ष्मी पूजाको भोलिपल्ट चार दिनसम्म सञ्चालन भएको थियो।

विद्यार्थीको नेतृत्व र व्यक्तित्व विकास गर्ने उद्देश्यले सञ्चालन गरिएको यस कार्यक्रममा सम्पूर्ण कार्यहरू स्वयं विद्यार्थीहरूले नै गरेका थिए।  क्लबकी अध्यक्ष श्रीविना राईका अनुसार देउसी भैलोबाट संकलित रकम विद्यार्थीहरूको विपद् कोष र सामाजिक उत्तरदायित्व अन्तर्गतका कार्यक्रमहरूमा खर्च गरिनेछ। यस अन्तर्गत सामुदायिक विद्यालयमा “एक विद्यार्थी, एक कापी” उपहार कार्यक्रम, सचेतना कार्यक्रमलगायतका सामाजिक कार्यहरू सञ्चालन गरिने जनाइएको छ।
क्लबले विगतमा पनि मानव सेवा आश्रममा सहयोग, सडक कुकुरलाई खाना वितरण, मन्दिरमा सहयोग लगायतका सामाजिक कार्य गर्दै आएको   छ ।

घर –घरमा गरियो लक्ष्मीपूजा आजै भैली खेलिँदै

दमक/ हिन्दु धर्मावलम्बीहरुका लागि महत्वपूर्ण चाड मध्येको  तिहार पर्व अन्तर्गत आज  घर घरमा धनधान्यकी देवी महालक्ष्मीको पूजा अर्चना गरिएको छ । यमपञ्चकसँगै शुरु भएको तिहार अन्तर्गतको लक्ष्मीपूजालाई विशेष महत्व दिएर मनाउने गरिन्छ । यस दिन आआफ्ना घर पसल, व्यवसायिक प्रतिष्ठान र उद्योल कलकाराखानाहरु परिसरमा सरसफाई गर्दै सज्जावट गरिएका छन् ।
आकर्षक सजावट र रंगको प्रयोग गरेर लक्ष्मी देवताको पाइताला बनाएर दियो कलशले घरमा सजाउँदा लक्ष्मीदेवी प्रशन्न भई घरमा प्रवेश गर्छिन भन्ने धार्मिक मान्यता र विश्वास रही आएको छ । लक्ष्मीपूजा गरेसँगै आजै साँझदेखि घर घरमा महिलाहरुले समुह बनाएर रातभर भैली खेल्ने चलन छ । भैलीनि आइन् आँगन…….भन्ने भैली गाएर एकापसका घर घरमा पुग्ने र यथाशक्य दक्षिण दिने/लिने चलन चलिआएको छ । यसले समाजमा महिलाहरुबीच आपसी एकता र सदभाव बढ्न गई सौहार्दता कायम राख्न मद्धत पुरयाउँछ ।नेपाली पात्रो अनुसार आज साँझ लक्ष्मपूजा परेको थियो भने भोली बिहान गोवद्र्धन अर्थात गाईको पूजा गरिनेछ ।

कागको पूजा गरेर मनाइँदै काग तिहार

प्रत्येक वर्ष कार्तिक कृष्ण त्रयोदशीका दिनमा मनाइने काग तिहार पर्व आज बिहान यमराजको दूतका रूपमा कागलाई मीठोमीठो चिजबीज खान दिएर मनाइँदैछ।

बिहान सूर्योदयकालमा त्रयोदशी भएको दिन काग तिहार मनाउनुपर्ने भएकाले शास्त्रसम्मत् रूपमा आज आइतबारलाई यो पर्व मनाउनुपर्ने निर्णय गरिएको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अध्यक्ष प्रा शम्भुप्रसाद ढकालले  जानकारी दिए।

यमराजले लोकको खबर कागका माध्यमबाट थाहा पाउने भएकाले कागलाई यमदूतका रूपमा मान्ने शास्त्रीय विधान रहेको छ।

कागले यमराजसमक्ष राम्रो खबर लगिदिओस् भनेर आजका दिन कागलाई पूजा आराधनासहित मीठोमीठो खान दिई खुसी पार्ने गरिएको हो।

लोक व्यवहारमा काग घरमा आई कराएमा शुभ बोल, शुभ बोल भनी भन्ने प्रचलनसमेत रहेको छ। काग घर वरपर आई कराएमा उसले केही खबर लिएर आएको विश्वाससमेत गर्ने गरिन्छ।

‘काकेन दधि भक्षितम्’ अर्थात् कागलाई दही भात मीठो लाग्ने भएकाले आजको दिन कागलाई दही भात खुवाएमा यमराजसमक्ष राम्रो सन्देश लगिदिने भएकाले कागलाई दही भात खुवाउने प्रचलन रहिआएको छ। यस अवसरमा कागेश्वरी मनोहरा नगरपालिका–१ स्थित कागेश्वरी महादेव मन्दिरमा आज विशेष पूजाआराधना हुने गर्छ। त्यसैगरी हनुमानढोकास्थित कागेश्वरी मन्दिरमा पनि कागको विशेष पूजाआराधना गरिन्छ। यहाँ कागको ठूलो मूर्ति बनाइएको छ।

दुष्कर्म गर्नेलाई यमराज भएर दण्ड दिने र सत्कर्म गर्नेलाई धर्मराज भएर रक्षा गर्ने विश्वाससित पनि तिहार पर्व गाँसिएको छ। यमयातनाबाट मुक्तिका लागि परिवारका सबै सदस्यका नाममा यम दीपदान गर्ने क्रम भने शनिबार साँझदेखि नै सुरु भएको छ। यम दीपदान दक्षिण फर्काएर गर्नुपर्ने वैदिक सनातन शास्त्रीय विधि रहेको छ। यमदीप दान गरे यमयातनाबाट मुक्ति पाइने शास्त्रीय मान्यता छ।

यस वर्ष तिथिको घटबढका कारण सायंकालमा कार्तिक कृष्ण त्रयोदशी परेका दिन सुरु हुने यमपञ्चक शनिबार बेलुकीदेखि नै सुरु भएको हो।

यसैगरी लक्ष्मी स्थिर राख्नका लागि गरगहना एवं तामाका भाँडाकुँडा किन्ने धनतेरस पर्व पनि शनिबार नै मनाइएको छ। यस दिन गरगहना तथा भाँडाकुँडा किनेमा लक्ष्मी घरमै स्थिर भई बस्ने धार्मिक मान्यता छ।

कांग्रेसको अबको मार्गचित्र : पुनर्जागरणको संघर्ष र नयाँ युगको खोज

 नेपालको राजनीतिक इतिहासमा नेपाली कांग्रेस एउटा यस्तो शक्ति हो जसले देशलाई लोकतन्त्रको उज्यालोमा पुर्‍यायो तर अहिले आफ्नै छायाँभित्र हराएको जस्तो देखिन्छ । इतिहासमा अंकित त्याग, संघर्ष र बलिदानका गौरवपूर्ण पानाहरू अहिले केवल स्मृतिको तहमा सीमित भइरहेका छन् । मुलुक पुनः संक्रमणकालीन जटिलताबाट गुज्रिरहेको छ जहाँ पुराना शक्ति संरचनाहरू ढल्दै छन् र नयाँ पुस्ता सडकमा परिवर्तनको स्वर उठाइरहेछ । यही अवस्थामा नेपाली कांग्रेस आफैंसँग प्रश्न गरिरहेको छ । हामी कहाँ छौं र अब कहाँ जाने ?
सन् १९४७ मा प्रजातान्त्रिक मूल्य र मान्यताको बीज रोप्ने उद्देश्यले स्थापित भएको नेपाली कांग्रेसले राणा शासनविरुद्धको क्रान्तिमा निर्णायक भूमिका खेलेको थियो । बी.पी. कोइरालादेखि गणेशमान सिंह र किशुनजीहरूसम्मको नेतृत्वले देशलाई लोकतन्त्र, संविधान र नागरिक अधिकारका मार्गमा अघि बढायो । २००७ सालको परिवर्तन २०१७ सालको संघर्ष २०४६ सालको पुनर्जागरण र २०६२/०६३ को आन्दोलनसम्म कांग्रेस अग्रपंक्तिमा रह्यो तर समयको प्रवाहसँगै पार्टीको संगठन, सिद्धान्त र प्रभाव क्रमशः कमजोर बन्दै गएको छ ।
बी.पी. कोइरालाले पार्टीको मूल सिद्धान्त ‘लोकतन्त्र, समाजवाद र राष्ट्रियता’का रूपले परिभाषित गरेका थिए । तर त्यो सिद्धान्त अहिले पार्टीको संरचना र व्यवहारमा हराएको देखिन्छ । लोकतान्त्रिक मूल्यको नाममा अधिनायकवाद, गुटबन्दी र अवसरवादले पार्टीभित्र गहिरो जरा गाडिसकेको छ । विचार र नीतिभन्दा पद र पहुँचको राजनीति हावी भएको छ । यही कारण नेपाली कांग्रेस जनताबाट टाढिँदै गएको हो । २०७४ र २०७९ का आमनिर्वाचनका नतिजाले पनि समर्थनको आधार घट्दै गएको देखाउँछन् । यसको कारण केवल मत प्रतिशत होइन पार्टीभित्रको थकित संरचना र अकार्यशील नेतृत्व हो ।
शेरबहादुर देउवाको लामो नेतृत्वकालले कांग्रेसलाई स्थायित्वभन्दा बढी स्थगनमा राख्यो । नेतृत्व संघर्ष, गुटगत सौदाबाजी, टिकट बाँडफाँड र नीति निर्माणको असंगतिले पार्टीको विश्वसनीयता घटायो यसकै परिणामस्वरूप आजका युवाहरू विशेषगरी जेनजी पुस्ताले कांग्रेसलाई आफ्नो प्रतिनिधि शक्ति ठान्न छोडेका छन् । यही असन्तुष्ट मनोविज्ञानको उपज हो हालको जेनजी आन्दोलन जसले पुरानो राजनीतिक संस्कृतिप्रति अविश्वास प्रकट गरेको छ ।
यो आन्दोलन केवल सडकको नारामा सीमित छैन यो नेपालका युवाहरूको सामूहिक चेतनाको विस्फोट हो । उनीहरूले पुराना पार्टीहरूलाई विफलता, भ्रष्टाचार र अवसरवादको प्रतीकका रूपमा हेरेका छन् । कांग्रेसका लागि यो गम्भीर चेतावनी हो किनकि यी युवाहरू लोकतान्त्रिक मूल्यमा विश्वास गर्ने वर्ग हुन् जसको ऐतिहासिक प्रतिनिधित्व कांग्रेसले नै गर्थ्यो । जब यही वर्ग कांग्रेसविना सडकमा उत्रिएको छ त्यो पार्टीको अस्तित्वका लागि मनोवैज्ञानिक झड्का हो ।
अब प्रश्न उठ्छ के कांग्रेसले यो चेतनाको लहर बुझ्न सक्छ ? के पार्टी आफ्ना गल्ती र असफलता स्वीकार गरेर सुधारको बाटो समात्न सक्छ ? के उसले नयाँ पुस्तालाई स्थान दिन सक्ने आँट गर्न सक्छ ?
 सभापति देउवाले स्वास्थ्यका कारण कार्यकारी जिम्मेवारीबाट पछि हटेर उपसभापति पूर्णबहादुर खड्कालाई जिम्मेवारी सुम्पिएपछि नयाँ अध्यायको संकेत देखिएको छ । नेतृत्व हस्तान्तरणको घोषणा पछि सत्ताको मात्र होइन भविष्यको दिशाबारे पनि बहस तीव्र भएको छ । मंसिरमा हुन लागेको महाधिवेशनले यही बहसलाई निर्णायक रूप दिनेछ ।
तर महाधिवेशन केवल नेतृत्व चयनको प्रक्रिया होइन यो आत्मालोचना र मूल सिद्धान्तपुनर्जीवनको अवसर हो । इतिहासले देखाएको छ । कांग्रेसका महाधिवेशनहरू प्रायः औपचारिकतामा सीमित रहँदै आएका छन् । पदका लागि प्रतिस्पर्धा हुन्छ तर विचार र नीतिका लागि होइन यो गल्ती यसपटक पनि दोहोरियो भने कांग्रेसको पुनर्जन्म सम्भव छैन ।
पार्टीभित्र अहिले दुई धार स्पष्ट छन् एक पक्ष पुरानो ढाँचामा हिड्न चाहन्छ अर्को पक्ष नयाँ विचार पुस्तान्तरण र संगठनात्मक रूपान्तरणको माग गरिरहेको छ । महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माको सक्रियताले पार्टीभित्र परिवर्तनको आशा जगाएको छ । उनीहरूको ‘पार्टी रूपान्तरण अभियान’ले कांग्रेसभित्र मात्रै होइन बाहिर पनि नयाँ अपेक्षा सिर्जना गरेको छ । तर संस्थागत रूपमा जरा गाडेको पुरानो ढाँचाले नयाँ विचारलाई ठाउँ दिन अझै सहज छैन ।
कांग्रेसले पुनर्जागरणको बाटो रोज्ने हो भने चरित्र नै परिवर्तन गर्नुपर्छ । नेताप्रधान होइन नीतिप्रधान पार्टी बन्नुपर्छ । सदस्यता प्रणाली, भ्रातृ संस्था, टिकट वितरण र आन्तरिक लोकतन्त्रमा आमूल सुधार नगरी रूपान्तरण सम्भव छैन । अहिले निर्णय प्रक्रिया केन्द्रीय नेतृत्वको स्वेच्छामा सीमित छ । जसले संगठनात्मक अनुशासन र पारदर्शिता दुबै कमजोर बनाएको छ । लोकतान्त्रिक पार्टीमा विधि र प्रक्रियाको शासन हुनुपर्छ तर कांग्रेसमा अझै व्यक्तिकेन्द्रित मानसिकता हावी छ ।
आगामी महाधिवेशनले यी प्रश्नहरूलाई गम्भीरतापूर्वक सम्बोधन गर्नुपर्छ । केवल नयाँ सभापति चयन गरेर पुरानै संस्कार दोहोर्याउने हो भने कांग्रेस जनताको मनबाट हराउनेछ । जनताले अब विचार होइन परिणाम मागिरहेका छन् । उनीहरू शासक होइन, सेवक खोजिरहेका छन् । त्यसैले कांग्रेसले सेवा र उत्तरदायित्वका मूल्य पुनर्स्थापित गर्नुपर्छ ।
नेपालको मध्यमवर्ग, बुद्धिजीवी र लोकतन्त्रप्रेमी वर्ग अझै पनि कांग्रेससँग भावनात्मक रूपमा जोडिएको छ। तर विश्वासको पुनःस्थापना बिना त्यो सम्बन्ध टिक्दैन । अहिले कांग्रेसको समस्या लोकप्रियताको होइन विश्वसनीयताको हो । जनताले कांग्रेसलाई सत्तालोभी, ढिलासुस्ती र गुटगत पार्टीका रूपमा बुझ्न थालेका छन् । यही छवि तोड्न अब नारा होइन व्यवहार परिवर्तन आवश्यक छ ।
पार्टीले आत्मसमीक्षा मात्र होइन आत्मालोचना पनि गर्नुपर्छ । असफल सरकार सञ्चालन, नीतिगत अस्पष्टता, भ्रातृ संस्थाहरूमा देखिएको अनियमितता र भ्रष्टाचारप्रतिको मौनता यी सबैका लागि नेतृत्वले जनतासँग क्षमायाचनासहित नयाँ संकल्प गर्नुपर्छ ।
नयाँ पुस्ताको आवाजलाई पार्टीको केन्द्रमा ल्याउन नसके कांग्रेस पुनर्जीवित हुन सक्दैन । बी.पी. कोइरालाले प्रतिपादन गरेको ‘मानव–केन्द्रित समाजवाद’को अवधारणा अहिले पनि प्रासंगिक छ । तर पार्टी त्यस मानवीय मूल्यभन्दा सत्ता र पहुँचको खेलमा सीमित भएको छ । त्यसैले कांग्रेसले समाजवादी विचारलाई आधुनिक आवश्यकताअनुसार पुनःव्याख्या गर्नुपर्छ ।
आजको नेपाल बेरोजगारी, गरिबी, जलवायु संकट, प्रवासन र प्रविधिगत रूपान्तरणका चुनौतीमा बाँधिएको छ । यी चुनौतीको सामना पुरानो वादले होइन नवीन नीति र व्यवहारिक दृष्टिकोणले मात्र गर्न सकिन्छ । कांग्रेसले अब आर्थिक नीति, शिक्षा, स्वास्थ्य, रोजगारी र सुशासनका सवालमा ठोस दृष्टिकोण प्रस्तुत गर्नुपर्छ ।
लोकतन्त्रको रक्षा केवल संसदमा उपस्थिति जनाएर हुँदैन । यसको मूल सिद्धान्त उत्तरदायित्व, पारदर्शिता र सेवा हो । कांग्रेसले सत्ता सम्हालेका बेला पनि यही भावनालाई जनतासम्म पुर्‍याउन सकेन । यही कारण लोकतन्त्रप्रतिको जनआस्था कमजोर बन्दै गएको छ ।
अब कांग्रेसको भविष्य उसले आउने महाधिवेशन र आगामी निर्वाचनमा कस्तो व्यवहार प्रदर्शन गर्छ भन्नेमा निर्भर छ । यदि नयाँ नेतृत्व, नीति र सोच अंगीकार गर्न सक्यो भने, पुनर्जागरण सम्भव छ । अन्यथा कांग्रेस केवल अतीतको गौरवमा सीमित हुनेछ ।
महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माले अहिलेको सन्दर्भमा सबैभन्दा बढी जिम्मेवारी बोकेका छन् । उनीहरूले आफ्नो लोकप्रियतालाई संगठनात्मक दक्षता र राजनीतिक परिपक्वतामा रूपान्तरण गर्नुपर्छ । यो क्षण उनीहरूका लागि अवसर पनि हो परीक्षा पनि हो ।
कांग्रेसको रूपान्तरण केवल युवाको जिम्मा होइन पुरानो पुस्ताले पनि आफ्नो भूमिकालाई सम्मानपूर्वक सल्लाहकार तहमा रूपान्तरण गर्नुपर्छ । ६५ वर्षभन्दा माथिका नेताहरूलाई सल्लाहकार भूमिकामा राखी कार्यकारी जिम्मेवारी नयाँ पुस्तालाई सुम्पन सकियो भने पार्टीभित्र सन्तुलित पुस्तान्तरण सम्भव हुन्छ ।
भ्रातृ संस्थाहरूको पुनर्समीक्षा, पेशागत संघसंस्थाहरूको गैरराजनीतिकीकरण, सदस्यता प्रणालीमा पारदर्शिता र संगठनात्मक अनुशासन पुनर्स्थापना कांग्रेस पुनर्जागरणका आधारशिला हुन् । कांग्रेसले आफूलाई पुनर्स्थापित गर्न सकेन भने लोकतन्त्रकै स्वरूप कमजोर हुनेछ किनकि नेपालमा लोकतन्त्रको संस्थागत इतिहास कांग्रेसकै संघर्षसँग गाँसिएको छ ।
अन्ततः कांग्रेसको अबको यात्रा आत्मचिन्तन, आत्मपरिवर्तन र जनसेवाको प्रतिबद्धताबाट शुरू हुनुपर्छ । नेतृत्वले जनताको पीडा महसुस गर्नुपर्छ संगठनले जनताको आवाज सुन्न र समावेश गर्न सिक्नुपर्छ र पार्टीले सत्ता होइन सेवा गर्ने संस्कार पुनर्जीवित गर्नुपर्छ ।
नेपालको नयाँ राजनीतिक नक्सा आजका युवाहरू कोर्दै छन् । सडकमा उत्रिएका ती युवाहरू केवल असन्तुष्ट होइनन् उनीहरू नयाँ नेपालको परिकल्पना गरिरहेका छन् । कांग्रेसले यदि उनीहरूको सपना बुझेर आफ्नो भिजन त्यस दिशामा मोड्न सक्यो भने पुनर्जन्म सम्भव छ । तर यदि पुरानै ढाँचामा बाँधिएर समयसँग लड्ने प्रयास गर्‍यो भने इतिहासले कांग्रेसलाई अतीतको अध्यायमा मात्र सीमित गर्नेछ ।
अब समय देउवा युगको अन्त्य मात्र होइन नयाँ सोच, नयाँ नेतृत्व र नयाँ कांग्रेसको सुरुवातको हो त्यो कांग्रेस जसले फेरि जनतामाझ आफ्नो नैतिकता, सेवा र उत्तरदायित्वका आधारमा विश्वास पुनःस्थापित गर्न सकोस् । यदि त्यो रूपान्तरण सम्भव भयो भने नेपाली कांग्रेस फेरि एकपटक लोकतन्त्रको सार बन्नेछ । जसले न केवल सत्ता पाउने आकांक्षा राख्छ तर देश र जनताको भविष्य निर्माण गर्ने साहस पनि देखाउँछ ।

बल्ल खुल्यो मेची राजमार्ग

इलाम/ दशैंको बीच असोज १८ गतेको वर्षापछि गएको पहिरोका कारण अवरुद्ध बनेको मेची राजमार्ग आज (तिहारको पहिलो दिन) देखि सञ्चालनमा आएको छ ।
सो राजमार्गअन्तर्गत इलाम नगरपालिका–९ स्थित इलाम–राजदुवाली सडकखण्ड मर्मतसम्भारपश्चात आज राति ९ः०० बजेदेखि सवारी सञ्चालनका लागि खुला गरिएको प्रमुख जिल्ला अधिकारी सुनिता नेपालले जानकारी दिनु भयो ।
सडक डिभिजन कार्यालय इलाम, स्थानीय बासिन्दा र सुरक्षाकर्मीको लगातार दुई साताको प्रयासपछि सडक खुलाउन सफल भइएको सडक डिभिजन कार्यालयका डिभिजन प्रमुख पवन भट्टराईले बताउनु भयो । उहाँका अनुसार पहिरो पन्छाउन कार्यालयले छवटा एक्स्काभेटर, एक जेसिबी, छ वटा टिफर र दुई वटा लोडर परिचालन गरेको थियो ।
“निकै ठुलो पहिरो खस्नाका साथै दिनहुँ भाँसिने समस्याले हामीलाई पहिरो पन्छाउन समय लाग्नुका साथै सास्ती पनि भयो”, डिभिजन प्रमुख भट्टराईले भन्नु भयो, “निरन्तरको प्रयासले सडक खुलाउन सफल भएका छौँ, पहिरो क्षेत्रमा ठुला सवारीहरू एक पटकमा एउटा मात्र सञ्चालन गरेर सहयोग गरिदिन सरोकार भएका सबैलाई अनुरोध गर्दछौँ ।”
राजमार्ग सञ्चालन भएपछि इलामसहित, पाँचथर र ताप्लेजुङबाट झापा जान तथा झापाबाट इलाम, पाँचथर र ताप्लेजुङ आउने यात्रु तथा सवारीलाई सहज भएको प्रमुख भट्टराईले बताउनु भयो ।
मेची राजमार्ग अवरुद्ध हुँदा यसअघि साना सवारीसाधनका लागि वैकल्पिक मार्गका रूपमा बुधवार देखी तिल्केनी–सिमलगोलाई सडकखण्ड सञ्चालन गरिएको थियो । सो सडकखण्डअन्तर्गत माईजोगमाई गाउँपालिका–४ नामसालिङ र इलाम नगरपालिका–१० गोदक जोड्ने जोगमाई खोलामा अस्थायी ‘डाइभर्सन’ निर्माण गरेर सडक सञ्चालन गरिएको उहाँले जानकारी दिनु भयो ।
वैकल्पिक सडकका रूपमा प्रयोग हुँदै आएको मेची कोरिडोर (केचना–कञ्चनजङ्घा सडक) भने अझै सञ्चालनमा आउन सकेको छैन । सो सडकअन्तर्गत पुवाखोला खोलाको बेलिब्रिज बाढीले बगाउनाका साथै बेलासेस्थित माईखोलाको पक्की पुल भाँचिएपछि हालसम्म अवरुद्ध छ ।