ग्राहकको खाताबाटै पैसा चोर्ने इन्भेष्टमेन्ट बैंकका कर्मचारी पक्राउ

उदयपुर/ नेपाल इन्भेष्टमेन्ट मेगा बैंकमा कार्यरत एक कर्मचारीलाई प्रहरीले पक्राउ गरेको छ । ग्राहकको खाताबाट पैसा चोरेको आरोपमा बैंकको गाईघाट शाखामा कार्यरत सुनिता बानियाँलाई प्रहरीले नियन्त्रणमा लिएको हो।

जिल्ला प्रहरी कार्यालय उदयपुरका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक केदारमान दोङले उनी पक्राउ परेको पुष्टि गरे ।

उनले नेपाल प्रेससँग भने, ‘उनलाई पक्राउ गर्नका लागि बैंकले नै उजुरी दिएको थियो । जसका आधारमा बानियाँलाई पक्राउ गरेर अनुसन्धान गरिरहेका छौँ ।’

पक्राउ परेकी बानिया उदयपुरको त्रियुगा नगरपालिका वडा नं. ५ की स्थानीय हुन् । बैंकको गाईघाट शाखामा कार्यरत बानियाँले ग्राहकको पैसा हिनामिना गरेको आरोप छ । प्रहरीले उनीसँग प्रारम्भिक बयान समेत लिइसकेको छ । प्रारम्भिक अनुसन्धानकाक्रममा ती कर्मचारीले ग्राहकहरूको खातामा रहेको रकम दुरुपयोग गरेको देखिएको छ ।

उनको यो बदमासीको सुइँको बैंक व्यवस्थापनले थाहा पाएपछि आन्तरिक छानबिन सुरु गरिएको थियो । छानबिनका क्रममा रकम हिनामिना भएको पुष्टि भएपछि बैंकले प्रहरीलाई खबर गरेको थियो ।

हाल ती आरोपित कर्मचारी प्रहरीको हिरासतमा छिन् र उनीमाथि बैंकिङ कसुर तथा ठगी मुद्दामा अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक दोङले जानकारी दिए ।

‘उनीसँग थप विवरण लिने काम भइरहेको छ । यस कार्यमा उनी एक्लै हुन् की अन्य व्यक्तिको पनि संलग्नता छ भन्नेबारे पनि सूक्ष्म अध्ययन गरिरहेका छौँ’, उनले भने ।

तेजपुरका साहित्यकार ज्ञान बहादुर क्षेत्रीलाई दमकमा स्वागत

दमक/ दमकमा कृयाशील साहित्यिक संस्थाहरु साहित्य कला सङ्गम दमक र प्रतिभा निकेतन दमकले संयुक्त रुपमा तेजपुर आसामका साहित्यकार ज्ञान बहादुर क्षेत्री सग स्रष्टा भेटघाट कार्यक्रम गरेका छन् ।
साहित्य कला सङ्गमको कार्यलय दमकमा भएको साहित्यिक भेटघाट कार्यक्रममा साहित्य कला सङ्गम र प्रतिभा निकेतनका पदाधिकारी तथा सदस्यहरुको उपस्थिति रहेको थियो । बरिष्ठ साहित्यकार प्रा. डा. गोविन्दराज भट्टराईको समन्वयमा भएको भेटघाट कार्यक्रममा साहित्यकला सङ्गमका पदाधिकारीहरु अध्यक्ष बिन्दु दहाल मुकदर्शक ,पुर्व अध्यक्षहरु नरपति पाण्डे र विष्णु न्यौपाने,सल्लाहकार हेमनाथ अधिकारी, उपाध्यक्षहरु यादवप्रसाद अधिकारी झाक्रिखोले र दुर्गा खनाल काफ्ले, महासचिव ओमप्रसाद खनाल ,सह सचिव मेघनाथ बन्धु ,कोषाध्यक्ष नेत्रप्रसाद अधिकारी,लगायत प्रतिभा निकेतनका सस्थापक अध्यक्ष खेमलाल पोखरेल,बर्तमान अध्यक्ष कमलप्रसाद भट्टराई,बरिष्ठ साहित्यकार डा. अन्जना भट्टराई,डा.व्यञ्जना भट्टराई , जीवनहरि शर्मा र साहित्यकारहरु पदमप्रसाद ओली,खगेन्द्र भट्टराई,निर्मला भट्टराई लगायतको उपस्थिति रहेको थियो ।
कार्यक्रममा बरिष्ठ साहित्यकार ज्ञान बहादुर क्षेत्रीलाई माला र नेपाली ढाका टोपीले स्वागत सम्मान गर्नुका साथै उपस्थित स्रष्टा हरुले रचना वाचन गरेका थिए ।
कार्यक्रममा साहित्यकार क्षेत्रीले आफुले लेखेका कृतिहरुको बारेमा जानकारी गराउदै नेपाल र भारतमा रहेका साहित्यकारहरु बिच समय समयमा यस्ता साहित्यिक भेटघाटले साहित्यको उचाईलाई अझै माथि बढाउने बताए ।

 

दमक ७ मा जग्गा नाप जाँचका सरोकारवालाहरुसँग छलफल

दमक/ दमक नगरपालिकाको वडा नं ७ मा भुमिहिन दलित,भुमिहिन सुकुम्बासी,अब्यबस्थित बसोबासीहरूको जग्गा नापजाचं बिषयमा छलफल तथा अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ ।
१६ चैतमा दमक नगरपालिका वडा नं ७ का वडाध्यक्ष भिमप्रसाद पौडेलको अध्यक्षतामा भएको अभिमुखीकरणमा नगरपालिकास्थित भुमी आयोगका फोकल पर्सन समेत रहेका राजश्व शाखा प्रमुख डम्बरराज बराल, नगरपालिकाका अमिन ज्ञनेन्द्र गौतम र झापा जिल्लास्थित भुमी आयोगको कार्यालयबाट खटिएकी अमिन बिना कार्कीले आवश्यक सहजीकरण गरेका थिए । सो अवसरमा वडा सदस्यहरू ईन्दु खड्का,तारा रणपहेली,मान बहादुर खबास र अतित बान्तवा राईको पनि उपस्थिती रहेको थियो ।
फोकल पर्सन बरालले जग्गा नापजाँच बारे कानुनी तथा प्राबिधिक बिषयमा बताउदै सहभागीहरूका प्रश्नको जबाफ दिए । उनले सो वडामा आउँदो हप्ताबाट जग्गाको नाप जाँच शुरु गरिने बताए ।
स्वागत मन्तब्य वडा सदस्य अतित बान्तवा राईले सरकारलाई शुभकामना दिदै वडाको बिकासका निम्ती सबैसगै लाग्नु पर्नेमा जोड दिए । । कार्यक्रम वडा सचिब योगेश भट्टराईले सञ्चालन गरेका थिए ।

शिवसताक्षीमा मेयर कप– फुटबलमा वार्ड नं ८ र भलिबलमा ९ को विजयी शुरुवात

दमक/ झापाको शिवसताक्षी नगरपालिकामा सोमबारदेखि मेयर कप खेलकुद प्रतियोगिता शुरु भएको छ ।
नगरप्रमुख मेगाहाङ थोप्रा र उपप्रमुख नरमाया कार्कीले दुधे रंगशालाको उदघाटन सहित प्रतियोगिताको शुभारम्भ गरेका हुन ।

उदघाटन खेलमा वार्ड नम्बर ८ ले उत्कृष्ट शुरुवात गरेको छ ।
उदघाटन खेलमा वार्ड नम्बर ८ ले वार्ड नम्बर ५ माथि ८–० को फराकिलो जित निकालेको हो । खेलमा वार्ड नम्बर ८ का सोहन थापा प्लेयर अफ दि म्याच घोषित भए ।
यो जितसँगै वार्ड नम्बर ८ क्वाटरफाइनलमा समेत प्रवेश गरेको छ । प्रतियोगिता अन्तर्गत चैत्र १७ गते मंगलबारको पहिलो खेल १ बजे वार्ड नम्बर ७ र वार्ड नम्बर ९ बीच हुनेछ भने दोस्रो खेल ३ बजे वार्ड नम्बर २ र वार्ड नम्बर १० बीच हुनेछ ।

शिवसताक्षी नगर खेलकुद विकास समितिको आयोजना तथा शिवसताक्षी नगरपालिका, झापाको संरक्षकत्वमा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद ७५ हजार हात पार्नेछ भने उपविजेताले ४५ हजार प्राप्त गर्नेछ ।
फाइनल खेल यही चैत्र २२ गतेका दिन हुने शिवसताक्षी नगर खेलकुद बिकास समिति संयोजक सुरज रिङगालुङ राईले जानकारी दिए ।
संयोजक राईको अध्यक्षतामा सो प्रतियोगिताको उदघाटन गरिएको हो ।


त्यस्तै, भलिबलतर्फको पहिलो खेलमा वडा नं. ९ ले वडा नं. ५ लाई पराजित गर्दै विजयी सुरुवात गरेको छ । सो खेलमा वडा नं. ९ का रोजिन नेपाली म्यान अफ द म्याच घोषित भए । दोस्रो खेलमा वडा नं. ११ ले वडा नं. १० लाई हराउँदै जित हासिल गर्दा वडा नं. ११ का विवेक राई उत्कृष्ट खेलाडी चुनिए ।

तेस्रो खेलमा वडा नं. २ उपस्थित नभएपछि वडा नं. ८ लाई विजयी घोषणा गरिएको आयोजकले जनाएको छ । भलिबलतर्फकै पहिलो क्वाटरफाइनल खेलमा वडा नं. ७ ले वडा नं. ११ लाई २–१ सेटले हराउँदै सेमिफाइनलमा स्थान बनाएको छ । उक्त खेलमा वडा नं. ७ का युजल श्रेष्ठ म्यान अफ द म्याच घोषित भए ।
नगरप्रमुख थोप्राले मेयर कप प्रतियोगिता खेलमार्फत शिक्षा प्रदान गर्दै स्थानीय प्रतिभा प्रस्फुटन गराउने र खेलाडीहरूलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरसम्म र्पुयाउने उद्देश्यले आयोजना गरिएको बताए ।
सो अवसरमा कोशी प्रदेश कराँते महासंघ र झापा जिल्ला सितोरियो कराँते संघले नगरप्रमुख थोप्रालाई मानार्थ ब्ल्याकबेल्ट प्रदान गरेका थिए । कार्यक्रममा सहभागीहरुको आकर्षण बढाउन साकेला नाच प्रस्तुत गरिएको थियो भने गायक बादल लिम्बुले सांगीतिक प्रस्तुति दिएका थिए ।

‘जय सर’को परिचय साहित्यसँग पनि जोडियो

दमक/ झापाका पुराना शिक्षक जय बहादुर श्रेष्ठ (जय सर) को परिचय अब साहित्यसँग पनि जोडिन पुगेको छ ।
झापा मोडल अंग्रेजी माविका संस्थापक निर्देशक समेत रहेका श्रेष्ठले शनिबारदेखि ” के दिऊँ तिमीलाई ” नामक कृति ल्याएका छन् ।
श्रेष्ठका गुरु प्राध्यापक डा. दयाराम श्रेष्ठ, अग्रज पत्रकार चन्द्र भण्डारी, लेखक तथा पुराना शैक्षिक व्यक्तित्व खेमलाल पोखरेल, कृतिकार श्रेष्ठकी धर्मपत्नी सलुजा श्रेष्ठ , छोरा सागर श्रेष्ठ लगायतले संयुक्त रुपमा लोकार्पण गरेका छन् ।
उनको कृतिमा कविता तथा गीतहरू समावेश छन् । कृतिका बिषयमा साहित्यकार शिव प्रणतले समीक्षा गरेका छन् ।
लेखक श्रेष्ठ ६२ बर्षिय श्रेष्ठले गौरादह बहुमुखी क्याम्पस, वाणी मावि लखनपुर र हिमालय मावि दमकमा समेत अध्यापन गराएर जय सरको परिचय बनाएका व्यक्तित्व हुन् । उनले एकताका झापाबाट कन्काई एक्सप्रेस नामक साप्ताहिक पत्रिकाको पनि प्रकाशन आरम्भ गरेर पत्रकारितामा पनि पहिचान बनाएका थिए । आफ्नै निजी लगानीमा उनले दमकमा झापा मोडल अंग्रेजी माविको शुरुवात गरेका हुन् । एनप्याव्सनको केन्द्रिय उपाध्यक्ष समेत रहेका लेखक श्रेष्ठ राजनीतिक रुपमा राष्टिय प्रजातन्त्र पार्टीको झापा जिल्ला अध्यक्ष पनि थिए । अहिले उनी आफैंले स्थापना गरेको झापा मोडलमा अभिभावकत्व लिएर शैक्षिक यात्रामा निरन्तर क्रियाशील छन् ।

 

बैशाखमा ११ लाख राशीको चन्द्रगढी महिला गोल्डकप हुने

भद्रपुर/  झापाको भद्रपुरमा बैशाखको पहिलो साता चन्द्रगढी महिला गोल्डकप आयोजना हुने भएको छ । नेपालमै सर्वाधिक पुरस्कार राशिको महिला फुटबलको मुख्य प्रायोजक भद्रपुरकै ओम साई पाथिभरा हस्पिटल रहेको छ ।
आयोजक चन्द्रगढी युवा क्लबका अध्यक्ष रोहित सुब्बाका अनुसार प्रतियोगिता बैशाख ५ गतेदेखि १४ गतेसम्म मेची रंगशाला भद्रपुरमा हुनेछ । विजेताले महिला फुटबलको इतिहासमै सर्वाधिक ११ लाख रुपैयाँ पुरस्कार रकम पाउनेछ ।
प्रतियोगितामा १० टिमको सहभागिता रहनेछ । नेपालका तीन विभागीय एपिएफ फुटबल क्लब, नेपाल पुलिस फुटबल क्लब, त्रिभुवन आर्मी फुटबल क्लब, ए डिभिजन क्लबहरु चर्च ब्वाइज युनाइटेड, संकटा फुटबल र आयोजकको एक टिम रहनेछ ।
त्यस्तै, भारत, भुटानका एकएक क्लबले प्रतियोगितामा सहभागिता जनाउने टुंगो लागेको क्लबका अध्यक्ष सुब्बाले जानकारी दिए । बंगलादेश र जापानका एकएक क्लबको गोल्डकपमा सहभागिताबारे सम्वाद भइरहेको छ ।
नेपाली टिमको हकमा एक टिममा चारजनासम्म विदेशी खेलाडी दर्ता गराउन पाउने र एक समय तीनजना खेलाउन पाइने नियम रहेको अध्यक्ष सुब्बाले बताए ।
प्रतियोगिताका प्लेयर अफ द म्याचले नगद ११ हजार रुपैयाँ र ट्रफी प्राप्त गर्नेछन् । त्यस्तै,  प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले ५० हजार प्राप्त गर्नेछन् । विधागत उत्कृष्ट खेलाडीलाई जनही २५ हजार प्रदान गरिनेछ ।
झापालाई महिला फुटबलको पनि हब बनाउने र फुटबलमा भविष्य देखेका खेलाडीलाई नेपालको प्रतिनिधित्व गर्न तयार पार्ने लक्ष्यसहित यो प्रतियोगिता गर्न लागेको आयोजकले जनाएको छ ।

बाखोरमा पहिरो, मेची राजमार्ग अवरुद्ध

  झापा/  इलामको रोङ गाउँपालिका–४ बाखोरस्थित सडकखण्डमा पहिरो खस्दा मेची राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ ।  आज साँझ अचानक पहिरो खसेपछि राजमार्ग अवरुद्ध भएको इलाका प्रहरी कार्यालय बुधबारेका प्रमुख चन्द्र राउतले जानकारी दिए ।

अवरोधका कारण ताप्लेजुङबाट गोलिया बोकेर झापा आउँदै गरेको प्रदेश १–०१–००१ ख ४३३४ नम्बरको ट्रक बाटोमै फसेको उनले बताए ।

घटनामा मानवीय क्षति भने नभएको र पहिरो पन्छाएर सडक खुलाउने प्रयास जारी रहेको प्रहरीले जनाएको छ ।

ओलीको उपचार प्रभावकारी बनाउन अदालतको आदेश

काठमाडौं/ जिल्ला अदालत काठमाडौंले पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको प्रभावकारी उपचारको व्यवस्था गर्न आदेश दिएको छ । आइतबार न्यायाधीश आनन्दप्रसाद श्रेष्ठको इजलासले ५ दिन म्याद थपको अनुमति दिँदै उपचारसम्बन्धी आवश्यक व्यवस्था गर्न निर्देशन दिएको हो ।

आदेशमा भनिएको छ, ‘प्रतिवादी केपी शर्मा ओली अस्वस्थ भई उपचारार्थ अस्पतालमा रहेको भन्ने हुँदा निजको प्रभावकारी आवश्यक उपचारको व्यवस्था गर्न यो आदेश गरिदिएको छ ।’

पक्राउ लगत्तै अस्पताल भर्ना भएका ओली बिरामीकै कारण इजलासमा भर्चुअल माध्यमबाट उपस्थित भएका थिए ।

उनीलाई शनिबार बिहान भक्तपुरको गुण्डुस्थित निवासबाट पक्राउ गरिएको थियो ।

गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा भएको दमन घटनासम्बन्धी अनुसन्धानका लागि उनलाई नियन्त्रणमा लिइएको हो ।

त्यस समयमा केपी शर्मा ओली प्रधानमन्त्री तथा रमेश लेखक गृहमन्त्री रहेका थिए । आन्दोलनमा भएको दमनबारे छानबिन गर्न गठित आयोगले ओली र लेखकलाई फौजदारी मुद्दामा कारबाही अघि बढाउन सिफारिस गरेको थियो ।

दमक क्याम्पसमा खेलकुद सप्ताह शुरु

दमक/ झापाको दमकस्थित दमक बहुमुखी क्याम्पसमा आजबाट खेलकुद सप्ताह सुरु भएको छ । स्वतन्त्र बिद्यार्थी युनियनको आयोजनामा सञ्चालन भएको सप्ताहको क्याम्पस सञ्चालक समितिका अध्यक्ष ढुण्डीराज भण्डारीले आइतबार संक्षिप्त कार्यक्रमबीच सप्ताहको उदघाटन गरेका छन् ।
सो अवसरमा क्याम्पस प्रशासन, शिक्षक, विद्यार्थी तथा स्थानीय सरोकारवालाहरूको उपस्थिति रहेको थियो ।
सप्ताहव्यापी रूपमा सञ्चालन हुने कार्यक्रममा सहभागी विद्यार्थीहरूले खेलकुदमार्फत अनुशासन, सहकार्य र प्रतिस्पर्धात्मक भावना विकास गर्ने विश्वास लिइएको छ ।
क्याम्पसले यस्ता कार्यक्रमले विद्यार्थीहरूको सर्वाङिगण विकासमा टेवा पुग्ने जनाएको छ ।

प्रधानमन्त्री साहका प्रमुख सल्लाहकार कुमार र राजनीतिक सल्लाहकार असीम

काठमाडौँ / प्रधानमन्त्री वालेन्द्र शाहको प्रमुख सल्लाहकारमा कुमार बेन (व्यञ्जनकार) र राजनीतिक सल्लाहकारमा असीम शाह नियुक्त भएका छन् । प्रधानमन्त्रीको सचिवालयका अनुसार मन्त्रिपरिषद्को बैठकले बेन र शाहलाई सल्लाहकारमा नियुक्त गरेको हो ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा चैत १३ मा बसेको बैठकले बेन र शाहलाई प्रमुख सल्लाहकार र राजनीतिक सल्लाहकार नियुक्त गरेको हो ।

प्रमुख सल्लाहकारमा नियुक्त बेन प्रधानमन्त्री शाहका यअघिदेखिकै सहयोगी हुन् । काठमाडौं महानगरपालिकाको मेयर हुँदादेखि नै बेनले शाहलाई सहयोग गर्दै आएका थिए । यसपटकको चुनावी अभियानमा पनि शाहको साथमै थिए ।

प्रधानमन्त्रीको प्रमुख राजनीतिक सल्लाहकारमा नियुक्त असीम शाह रास्वपाका पूर्वसांसद हुन् । उनी २०७९ को चुनावमा रास्वपाका सांसद बनेका थिए । रास्वपा सभापति रवि लामिछाने र प्रधानमन्त्री शाहबीच सँगै राजनीतिक यात्रा गर्ने छलफल असीम शाहको घरमा भएको थियो ।

प्रधानमन्त्रीको प्रमुख स्वकीय सचिवमा सुवास शर्मा नियुक्त भएका छन् भने आईटी सल्लाहकारमा विवेक मिश्र नियुक्त भएका छन् ।