दमकमा डेलियाले मनायो तेस्रो बार्षिकोत्सव

दमक/  दमक ६ मा सञ्चालित डेलिया मन्टेश्वरी स्कूलले स्थापनाको तेस्रो बार्षिकोत्सव शुक्रबार धुमधामसाथ मनाएको छ । बिद्यालय परिसरमा अभिभावकहरुको उल्लेखनीय उपस्थितीमा आयोजित बार्षिकोत्सव समारोहमा बिद्यार्थीहरुले उत्साहपूर्वक नृत्य, गीत र आफ्ना अनुभवहरु प्रस्तुत गरेका थिए । बिद्यालयका संस्थापक प्रिन्सीपल दिपक न्यौपानेको अध्यक्षता र एनप्याव्सन कोशी प्रदेश समितिका कोषाध्यक्ष सन्तोषकुमार राईको प्रमुख आतिथ्यमा भएको सो कार्यक्रममा स्थानीय सामाजिक तथा व्यवसायी व्यक्तित्व सोम चम्लागाइँ, भक्ती चुँडाल, बौद्धिक अपाङगता (अटिजम) भएका बालबालिकाहरुको अध्यापन र उनीहरुको हेरचाहमा संलग्न शिक्षासेवी साधना राई लगायतको विशेष आतिथ्य रहेको थियो ।
सो अवसरमा बिद्यालयका संस्थापक प्रिन्सीपल न्यौपानेले सो बिद्यालयले संस्कारसहितको शिक्षामा जोड दिँदै बालबालिकाहरुलाई फरक शिक्षण बिधीबाट अध्यापन गराउँदै आएको जानकारी दिए । उनले बिद्यालयको निरन्तरतामा अभिभावकहरुको उत्साहपूर्ण साथ सहयोगका लागि आभार व्यक्त गरे । सो अवसरमा बिद्यार्थीहरुलाई विभिन्न बिधामा उत्कृष्टताको प्रमाण पत्रसँगै मेडल प्रदान गरिएको न्यौपानेले जानकारी दिए । सोही अवसरमा प्रिन्सीपल न्यौपानेले शैक्षिक सत्र २०८३ को सञ्चालनका लागि बिद्यालय सञ्चालन विशेष टिमको पनि घोषणा गरे ।

कोशी सरकारको युवा उद्यमी लक्षित ‘उदय परियोजना’

विराटनगर / कोशी प्रदेशमा युवा उद्यमीलाई लक्षित गरी ‘उदय परियोजना’ सुरु गरिएको छ । बिहीबार मुख्यमन्त्री हिक्मतकुमार कार्कीको उपस्थितमा इटहरीमा परियोजनाको सम्झौता गर्दै सुरुवात गरिएको हो ।

नवप्रर्वतन कार्यक्रममार्फत प्रदेशका युवा उद्यमीलाई लक्षित गरी उदय परियोजना संचालन गरिएको प्रदेश सरकारले जनाएको छ । परियोजनाको यो कार्यक्रममा लागनी गर्नका लागि कोशी प्रदेश सरकारले राष्ट्रिय बाणिज्य बैंक र नेपाल ग्लोबल आइएमइ बैंकलाई छनौट गरेर सम्झौता गरिएको हो ।

यी बैंकबाट साना, मझौला युवा उद्योगीले सहजै ३० लाखदेखि तीन करोडसम्म सहुलियत ब्याजदरमा ऋण पाउने छन् । यसका लागि प्रदेश सरकारले परियोजना मार्फत दुई साझेदार बैंकबाट करिब ८ अर्ब रुपैयाा ऋण लगानी गर्ने तयारी गरेको छ ।

स्विस सरकारको सहयोगमा उक्त परियोजनामार्फत नयाा साना तथा मझौला उद्यम गर्न चाहनेलाई लगानी गर्न लागिएको हो । यो सम्झौतापछि स्विस सरकारले ३० करोड र प्रदेश सरकारले ३० करोड गरेर ६० करोडको ‘ग्यारेन्टी फण्ड’ राखिनेछ । त्यस्तै १४ करोड रुपैयाँ प्रदेश सरकार र १४ करोड स्विस सरकारको सहयोगमा ‘च्यालेन्जिङ फण्ड’ पनि राखिने छ ।

यो प्रक्रियाबाट जाने ऋणमा बैंकले आवश्यक ठानेमा धितो नलिएर पनि ऋण प्रवाह गर्नेछ । कतिपय अवस्थामा यो परियोजनामार्फत आएका व्यक्तिले आफ्नो धितो बैंकले चाहेको भन्दा थोरै मात्रै पुर्‍याए पनि परियोजना राम्रो लागेमा सरकारको ग्यारेन्टीमा लगानी गर्न सक्ने यसको मुख्य विशेषता रहेको निक्षेप तथा कर्जा सुरक्षण कोषका प्रमुख रमेश घिमिरेले जानकारी दिनुभयो ।

यो परियोजनामार्फत आउने उद्यमीलाई परियोजनाका लागि आवश्यक सहजीकरण र ऋण लिनका लागि परियोजनाले सहयोग गर्नेछ । यो परियोजना अन्तर्गत करिब ८ अर्ब रुपैयाा कोशी प्रदेशको साना तथा मझौला उद्योग स्थापनाका लागि ऋण प्रवाह हुने र यसले कोशी प्रदेशको आर्थिक समृद्धिमा सहयोग पुग्ने विश्वास सरकारले गरेको छ ।

सम्झौता पत्र हस्ताक्षर कार्यत्रममा कोशी प्रदेश सरकारका मुख्यमन्त्री कार्कीले राष्ट्रिय पुाजीको विकास गर्दै यसले यसले देशको कुल ग्राहस्थ उत्पादनमा समेत महत्वपूर्ण योगदान पुग्ने बताउनु भयो । कोशी प्रदेश सरकारको अथक मेहनत र प्रयासपछि सुरु हुन लागेको यो परियोजनाबाट लाभ लिन नव युवाहरूलाई मुख्यमन्त्री कार्कीले आग्रह समेत गर्नुभयो ।

राष्ट्रिय सहकारी दिवस मनाइँदै

दमक/ ६९ औं राष्ट्रिय सहकारी दिवस आज विभिन्न कार्यक्रमहरु गरेर मनाइँदैछ । सहकारी क्षेत्रमा क्रियाशील सहकारी अभियन्ता, सहकारीकर्मी सहकारी सङ्घ संस्थाहरूले सामुहिक रुपमा हरेक बर्ष चैत्र २० गते यो दिवस मनाउँदै आएका छन् । यस बर्षको राष्ट्रिय सहकारी दिवसको नारा उद्यमशीलता र पारदर्शीता, सहकारीको प्राथमिकता भन्ने रहेको छ । यस बर्षको नाराले समेत सहकारीका माध्यमबाट उद्यमशीलताको बिकासमा अघि बढ्न प्रेरित गर्छ भने बचतकर्ता र संस्थाहरुको वित्तीय सुरक्षाका लागि पारदर्शीतामा जोड दिन्छ ।
नेपालमा सहकारीको इतिहासले लामै समय बिताएको छ । यो अभियानमा जोडिने नागरिकहरुको सङ्ख्या बढदो भए पनि पछिल्ला बर्षहरुमा कतिपय सहकारी अभियान्ता , सञ्चालकहरु र कर्मचारीहरुको गलत नियतका कारण यो क्षेत्र बदनाम पनि भएको छ । सिद्धान्तत सहकारी एउटा समाज र समाजका विशेष सानो पुँजी भएका व्यवसायी तथा आम नागरिकहरुको आर्थिक रुपान्तरणका लागि निक्कै महत्वपूर्ण माध्यम हो ।
सहकारी दिवसले सहकारी के हो भन्ने कुरा आम जनमानसमा थप जानकारी गराउने र राज्यका सम्बन्धित निकाय हुलाइ घचघच्याउने काम गर्नु जरुरी छ । त्यस्तै गरिबी हटाउन र समाजमा बचत गर्ने बानीको विकास गराउने महत्त्वपूर्ण भूमिका निर्वाह गर्न यसले भुमिका खेल्नु पर्छ ।
तामझामका साथ सहकारी दिवस मनाउदा मात्र सहकारी अभियानले सार्थकता पाउँदैन । बरु सहकारीको मूल्य मान्यता र सिद्धान्तको परिपालनाले यसलाई उभो लगाउँछ ।
यो दिवसलाई एउटा पर्वको रूपमा मनाउनुका साथै सहकारी भित्र रहेका कमी कमजोरीलाई सच्याउँदै अघि बढ्नुपर्ने अहिलेको चुनौती हो । संस्था स्थापना गर्नु जति सजिलो छ त्यसलाई सहज र सरल ढङ्गले सञ्चालनमा राखिरहनु र सदस्यको बचतलाई सुरक्षा दिनुचाहिँ महत्त्वपूर्ण हुन्छ ।

 

कमल गाउँपालिकाका तीन ठाउँमा महिला स्वास्थ्य शिविर

दमक/ झापाको कमल गाउँपालिकाले गाउँपालिका भित्र बसोबास गर्ने महिलाहरुको स्वास्थ्य सेवालाई मध्यनजर गर्दै पालिका भित्रका तीन स्थानमा महिला लक्षित स्वास्थ्य शिविर सञ्चालन गर्ने भएको छ ।
विशेष गरी स्वास्थ्य सेवाको सहज पहुँचमा पुग्न नसकेको ठाउँ र समुदायका महिलालाई लक्षित गरेर विकेन्द्रीत ढंगबाट महिला स्वास्थ्य लक्षित घुम्ती शिविर सञ्चालन गरिने भएको हो । शिविरबाट प्रदान गरिने सेवा सहज ढंगबाट प्रवाह हुन सकोस भन्ने उद्धेश्यले पालिकाले वडा नं १ , ३ र ७ का आधारभूत स्वास्थ्य केन्द्रहरुमा महिला स्वास्थ्य परिक्षणसँगै उपचार र परामर्श सेवा सञ्चालन गर्न लागिएको शाखा प्रमुख दिपक दाहालले जानकारी दिए ।
उनका अनुसार यही चैत २४ गते आधारभूत स्वास्थ्य सेवा केन्द्र कमल ३ , २६ गते वडा नं १ र २९ गते कमल ७ को आधारभूत स्वास्थ्य केन्द्रमा शिविर सञ्चालन गरिनेछ । शिविरमा महिलाहरुमा देखिने स्वास्थ्य समस्याहरुको स्क्रीनिङ तथा व्यवस्थापन गरिनेछ । शिविरमा पाठेघरको मुखको क्यान्सर (भीआइए) परिक्षण, स्तन क्यान्सर स्क्रीनिङ, आङ खस्ने समस्याको जाँच तथा व्यवस्थापन आदिको सेवा दिइनुका साथै आवश्यकता अनुसार थप उपचारका लागि रिफरल सेवा समेत प्रदान गरिने शाखा प्रमुख दाहालले बताए ।
कमल गाउँपालिकाले ग्रामिण क्षेत्रमा गर्भवती महिलाहरुका लागि भिडियो एक्स–रे सेवा समेत निशुल्क प्रदान गर्दै आएको छ ।

बचत तथा ऋण सहकारी संघले दियो तालिम, दमकमा द्धिप प्रज्वलन

दमक/ ६९ औं राष्ट्रिय सहकारी दिवसको पूर्व सन्ध्यामा बचत तथा ऋण सहकारी संघ झापाले बिहीबार सहकारी संस्थामा कार्यरत बजार प्रतिनिधिहरुको क्षमता बिकासका लागि निशुल्क तालिम सञ्चालन गरेको छ ।
संघको आयोजनामा सिटि सेन्टर, बिर्तामोडमा सञ्चालन गरिएको एक दिने सो तालिममा संघमा आवद्ध ६७ संस्थाहरू बाट १३६ सहकारी कर्मचारीहरु सहभागी थिए ।
संघका अध्यक्ष युवराज गिरीको अध्यक्षतामा सञ्चालित तालिममा विर्तामोड नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सागर मिश्रको प्रमुख आतिथ्य रहेको थियो ।
तालिममा सहकारी बजार सम्बन्धिका जानकार प्रशिक्षक रामराज प्रताप भण्डारीले सहजीकरण गरेको कार्यक्रममा बचत तथा ऋण सहकारी संघ लि. झापाका लेखा सुपरिवेक्षण समिति संयोजक जगन्नाथ भट्टराईले स्वागत मन्तव्य राख्दै कार्यक्रमको उद्धेश्य र औचित्यबारे प्रष्ट्याएका थिए । संघका सचिव बिनोद ढकालले कार्यक्रमको सञ्चालन गरेका थिए । तालिमले सहभागीहरुलाई आफ्नो क्षमता बिकासमा मद्धत पुरयाएको र पछिल्लो समय सहकारी क्षेत्रमा आउन सक्ने जोखिम र चुनौतीलाई न्यूनिकरण गर्न मद्धत पुरयाउने विश्वास लिइएको संघका सचिव ढकालले बताए ।
यसैगरी जिल्ला सहकारी संघ झापाको आयोजनामा सोही दिवसको पूर्व सन्ध्यामा दमकका सहकारीकर्मी र अभियान्ताहरुले दमक चौकमा साँझ दिपप्रज्वलन गरेका छन् । सहकारी क्षेत्र र सहकारिताका माध्यमबाट देशमा उज्वल भबिष्यको कामना गर्दै द्धिप प्रज्वलन गरेका हुन् ।

दमक र नारायणगढमा हनुमान जयन्ती, शोभा यात्रामा उल्लेखनीय सहभागिता

दमक/  मारवाडी सेवा केन्द्र नारायणगढले हनुमान जयन्तीको अबसरमा निशान शोभा यात्रा निकालेको छ ।
मारवाडी समाज नारायणगढको आयोजनामा निकालिएको शोभा यात्रा सो निशान शोभा यात्रा हरिहर मन्दिरबाट शुरु भइ नारायणगढ बजार परिक्रमा गरेर मारवाडी सेवा केन्द्र को भवनमा रहेको मन्दिर पुगेर समापन भएको थियो ।
मारवाडी सेवा केन्द्र नारायणगढका अध्यक्ष पंकज अग्रवालले मनमा कुनै इच्छा र संकल्प लिएर निशान यात्रा सम्पन्न गर्दा मनोकामना पुरा हुन्छ भन्ने धार्मिक मान्यता रहेको बताए ।
मारवाडी सेवा केन्द्र नारायणगढका कोषाध्यक्ष राकेश हरलालका का अनुसार गत बर्षदेखि नारायणगढमा सुरु गरेको यो हनुमानजीको निशान यात्रालाई आउँदा वर्षहरूमा अझ भव्य रुपमा सञ्चालन गरिनेछ ।

त्यसैगरी दमकमा पञ्चमुखी हनुमान मन्दिर व्यवस्थापन समितिको आयोजनामा शोभा यात्रा निकालिएको छ । दमक ६ स्थित हनुमान मन्दिर परिसरबाट शुरु भएको शोभा यात्रामा मारवाडी तथा मैथली समुदायका अतिरिक्त अन्य समुदायका भक्तजनहरुको पनि उल्लेखीय सहभागिता थियो । मञ्चमुखी मन्दिर व्यवस्थापन समितिका अध्यक्ष अजय अग्रवालको नेतृत्वमा निकालिएको शोभा यात्रा बजारको मुख्य भाग परिक्रमा गर्दै पुनः पशुपति मन्दिर र अन्य धार्मिक मन्दिरहरुको दर्शनसहित पुनः हनुमान मन्दिर परिसरमा नै गएर समापन गरिएको थियो । सो क्रममा सहभागी भक्तजनहरुले आपसमा प्रसाद र मिष्ठान्न भोजन समेत गरेर आपसमा शुभकामना साटासाट गरेका आयोजक समितिका पारसमणी आचार्यले जानकारी दिए ।

मन्दिरमा ग्रील लगाउने मजदुरको करेन्ट लागेर मृत्यु

दमक/ झापाको अर्जुनधा नगरपालिका वडा नं ४ स्थित बिन्ध्यावासिनी मन्दिरमा ग्रीलको काम गर्ने सिलसिलामा करेन्ट लागेर एक जना मजदुरको ज्यान गएको छ ।

बिहिबार दिउँसो १२ बजे त्यहाँ मन्दिरको कम्पाण्डवालमा ग्रीलको काम गर्ने क्रममा भारतको धुपगढीका २३ बर्षिय गोविन्द मण्डललाई करेन्ट लागेको थियो ।

उनलाई तत्कालै बिर्तासिटी अस्पताल विर्तामोडमा उपचारका लागि ल्याइएपनि १२.२५ बजेको समयमा चिकित्सकहरुले मृत घोषणा गरेका जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

 

एसइइ परीक्षा शुरु, देशभर पाँच लाख परीक्षार्थी (फोटो फिचरसहित)

देशभर एकैसाथ नेपालको माध्यमिक शिक्षा परीक्षा (एसईई) सुरु भएको छ । आज परीक्षाको पहिलो दिन अनिवार्य अङ्ग्रेजी विषयको परीक्षा सञ्चालन भइरहेको छ ।

यस वर्ष एसईईमा देशभर र वैदेशिक केन्द्रसहित गरी ५ लाख १२ हजारभन्दा बढी विद्यार्थीहरू सहभागी भएका छन् भने परीक्षालाई विगतको तुलनामा थप व्यवस्थित, प्रविधिमैत्री र नतिजामुखी बनाउन विशेष रणनीतिक योजना अघि सारिएको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ ।

सरकारले विद्यार्थीको भविष्य र समयलाई मध्यनजर गर्दै परीक्षा सकिएको एक महिनाभित्रै नतिजा प्रकाशन गर्ने तयारीसमेत गरेको छ ।

दमक सहकारीको नेतृत्व चयन निर्विरोध, अध्यक्षमा डा. बुढाथोकी

दमक/ दमकमा सञ्चालित यहाँका पुराना मध्येको एक दमक सहकारी संस्थाको आगामी कार्यकालका लागि नयाँ नेतृत्व चयन गरिएको छ ।
संस्थाको नयाँ नेतृत्व चयनका लागि निर्धारित निर्वाचन कार्यक्रम अनुसार आज मंगलबार अन्तिम समयमा आवश्यक संख्यामा मात्रै उम्मेदवारहरुको मनोनयन कायम रहेकाले सञ्चालक तथा लेखा सुपरीवेक्षण समिति निर्विरोध निर्वाचित भएको घोषणा गरिएको हो ।

निर्वाचन समिति संयोजक यज्ञराज गिरीका अनुसार संस्थाको अध्यक्षमा डा. नेत्रबहादुर बुढाथोकी निर्विरोध निर्वाचित भएका छन् । डा. बुढाथोकी दमक बहुमुखी क्याम्पसका पूर्व क्याम्पस प्रमुख समेत हुन् ।
९ सदस्यीय सञ्चालक समितिको उपाध्यक्षमा भवकृष्ण खतिवडा, सचिवमा पदम प्रसाद घिमिरे र सदस्यहरुमा मनिकुमार बुढाथोकी ,सरिता लिम्बू थेबे, अम्बरबहादुर कुमाल, टंकप्रसाद ढुंगाना, रेनुका ओली र सुरेन्द्र भण्डारी चयन भएका निर्वाचन समितिद्धारा प्रकाशित सूचनामा उल्लेख छ ।
यसैगरि संस्थाको लेखा सुपरिवेक्षण समिति संयोजकमा जयराज भट्टराई, संगिता प्रसाई र भिमबाबु भट्टराई निर्वाचित भएका छन ।

जेनजी आन्दोलनमा भागेका कैदी दमकमा पक्राउ

दमक/ गत भाद्रमा भएको जेनजी आन्दोलनको मौका छोपेर काठमाण्डौंस्थित डिल्लीबजार कारागारबाट फरार भएका एक जना कैदी झापाको दमकमा पक्राउ परेका छन् ।
भदौ २४ गते जेन्जी आन्दोलनका क्रममा डिल्लीबजार कारागारबाट फरार भएका लागूऔषध मुद्दामा कैद भुक्तान गरिरहेका दमक–८ का ३४ वर्षीय संन्जोग भट्टराईलाई आज मंगलबार प्रहरीले पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको टोलीले उनलाई दमक–७ पशुहाट क्षेत्रबाट नियन्त्रणमा लिएको जनाएको छ ।
पक्राउ परेका भट्टराईलाई थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय दमकमा राखिएको छ । आवश्यक कानुनी प्रक्रिया पूरा गरी उनलाई सम्बन्धित कारागारमा पठाइने प्रहरीले जनाएको छ ।