दमक/ झापाको शिवसताक्षी नगरपालिकामा सोमबारदेखि मेयर कप खेलकुद प्रतियोगिता शुरु भएको छ ।
नगरप्रमुख मेगाहाङ थोप्रा र उपप्रमुख नरमाया कार्कीले दुधे रंगशालाको उदघाटन सहित प्रतियोगिताको शुभारम्भ गरेका हुन ।
उदघाटन खेलमा वार्ड नम्बर ८ ले उत्कृष्ट शुरुवात गरेको छ ।
उदघाटन खेलमा वार्ड नम्बर ८ ले वार्ड नम्बर ५ माथि ८–० को फराकिलो जित निकालेको हो । खेलमा वार्ड नम्बर ८ का सोहन थापा प्लेयर अफ दि म्याच घोषित भए ।
यो जितसँगै वार्ड नम्बर ८ क्वाटरफाइनलमा समेत प्रवेश गरेको छ । प्रतियोगिता अन्तर्गत चैत्र १७ गते मंगलबारको पहिलो खेल १ बजे वार्ड नम्बर ७ र वार्ड नम्बर ९ बीच हुनेछ भने दोस्रो खेल ३ बजे वार्ड नम्बर २ र वार्ड नम्बर १० बीच हुनेछ ।
शिवसताक्षी नगर खेलकुद विकास समितिको आयोजना तथा शिवसताक्षी नगरपालिका, झापाको संरक्षकत्वमा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद ७५ हजार हात पार्नेछ भने उपविजेताले ४५ हजार प्राप्त गर्नेछ ।
फाइनल खेल यही चैत्र २२ गतेका दिन हुने शिवसताक्षी नगर खेलकुद बिकास समिति संयोजक सुरज रिङगालुङ राईले जानकारी दिए ।
संयोजक राईको अध्यक्षतामा सो प्रतियोगिताको उदघाटन गरिएको हो ।

त्यस्तै, भलिबलतर्फको पहिलो खेलमा वडा नं. ९ ले वडा नं. ५ लाई पराजित गर्दै विजयी सुरुवात गरेको छ । सो खेलमा वडा नं. ९ का रोजिन नेपाली म्यान अफ द म्याच घोषित भए । दोस्रो खेलमा वडा नं. ११ ले वडा नं. १० लाई हराउँदै जित हासिल गर्दा वडा नं. ११ का विवेक राई उत्कृष्ट खेलाडी चुनिए ।
तेस्रो खेलमा वडा नं. २ उपस्थित नभएपछि वडा नं. ८ लाई विजयी घोषणा गरिएको आयोजकले जनाएको छ । भलिबलतर्फकै पहिलो क्वाटरफाइनल खेलमा वडा नं. ७ ले वडा नं. ११ लाई २–१ सेटले हराउँदै सेमिफाइनलमा स्थान बनाएको छ । उक्त खेलमा वडा नं. ७ का युजल श्रेष्ठ म्यान अफ द म्याच घोषित भए ।
नगरप्रमुख थोप्राले मेयर कप प्रतियोगिता खेलमार्फत शिक्षा प्रदान गर्दै स्थानीय प्रतिभा प्रस्फुटन गराउने र खेलाडीहरूलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरसम्म र्पुयाउने उद्देश्यले आयोजना गरिएको बताए ।
सो अवसरमा कोशी प्रदेश कराँते महासंघ र झापा जिल्ला सितोरियो कराँते संघले नगरप्रमुख थोप्रालाई मानार्थ ब्ल्याकबेल्ट प्रदान गरेका थिए । कार्यक्रममा सहभागीहरुको आकर्षण बढाउन साकेला नाच प्रस्तुत गरिएको थियो भने गायक बादल लिम्बुले सांगीतिक प्रस्तुति दिएका थिए ।