श्रीमतीको हत्या अभियोगमा पक्राउ

काठमाडौं/ आफ्नै श्रीमती ३७ वर्षीया बिमला रानाको हत्या गरेको अभियोगमा काठमाडौं महानगरपालिका-३२ छाप्रो चोक डेरा गरी बस्ने सल्यान छत्रेश्वरी गाउँपालिका-७ घर भएका ४२ वर्षीय तेज बहादुर रानालाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ ।

तेज बहादुरले कुटपिट गर्दा गम्भीर घाइते भएकी बिमलाको ट्रमा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी प्रभाग काँडाघारीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

 

अन्जन श्रेष्ठको टिमका उम्मेदवारहरुले गरे दमकमा साक्षात्कार

दमक/ नेपाल उद्योग वाणिज्य महासंघको ३० चैतमा हुने राष्ट्रिय महाधिवेशनमा नेतृत्वका दाबेदार मध्ये अन्जन श्रेष्ठ नेतृत्वको टिमका उम्मेदवारहरुले चुनावी दौडाहाका क्रममा झापाको दमकका उद्योगी व्यवसायी प्रतिनिधिहरुसँग साक्षात्कार गरेका छन् ।
महासंघका उपाध्यक्षका उम्मेदवार तथा लुम्बिनी प्रदेश अध्यक्ष कृष्णप्रसाद शर्मासहित उम्मेदवारहरुको समुहले दमक उद्योग वाणिज्य संघका पदाधिकारी र सदस्यहरुसँग प्रतिनिधिमुलक सहभागितामा साक्षात्कार गरेका हुन् ।
शुक्रबार दमक उद्योग वाणिज्य संघको कार्यालयमा भएको स्वागत सम्मान कार्यक्रममा अञ्जान श्रेष्ठ नेतृत्वको टिमका उम्मेदवारहरुलाई दमक उद्योग वाणिज्य संघका तर्फबाट अध्यक्ष देवीप्रसाद गुरागाइँ, वरिष्ठ उपाध्यक्ष भगवान बस्नेत, कार्यसमिति सदस्य कमल कटुवालसहित व्यवसायी प्रतिनिधिहरुले समसामयिक अवस्था, निजी क्षेत्रका समस्या नेतृत्व पक्तिंले निर्वाह गर्नुपर्ने भुमिका लगायतका बिषयमा सुझावहरु राखेका छन् ।
सो अवसरमा महासंघका केन्द्रिय कार्यकारिणी सदस्य उम्मेदवार समेत रहेका दमक उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष गोकूल श्रेष्ठसहितलाई महासंघको निर्वाचनमा विजयी गराउन आआफ्नो तर्फबाट सबैले सकारात्मक पहल कदमी लिने प्रतिबद्धता राखेका थिए ।

उपाध्यक्षका उम्मेदवार शर्माले निजी क्षेत्रको नेतृत्वमा आफूले लामो समयदेखि विभिन्न पदमा रहेर लिएको अनुभवका आधारमा यस क्षेत्रका समस्याबारे आफू परिचित रहेको र समाधानका लागि खेल्नुपर्ने भुमिकाका लागि पनि सक्षम रहेको बताउँदै सबैको साथ सहयोगबाटनै उपाध्यक्ष बन्ने विश्वास व्यक्त गरे । उनले निजी क्षेत्रले विशेष गरि अहिले भोग्दै आएको झण्झटिलो कर प्रणालीलाई सुधार गरेर एकीकृत कर प्रणाली लागू गराउन, साना तथा मझौला उद्योगहरुको प्रवद्र्धन र संरक्षण गर्दै अघि बढाउन र महासंघको साख तथा गरिमालाई अझै उचो बनाउन भुमिका खेल्ने प्रतिबद्धता पनि जनाए । कार्यक्रमको सञ्चालन दमक उद्योग वाणिज्य संघका प्रथम उपाध्यक्ष रुवल अधिकारीले गरेका थिए ।

 

हावाहुरीले झापामा ठुलो क्षति , बिद्युत पोल र रुखहरु ढले

झापा/ शुक्रबार रातीको हावाहुरीका कारण झापामा सार्वजनिक तथा व्यक्तिगत घर तथा अन्य भौतिक संरचनाहरुमा ठुलो क्षति पुगेको छ ।
हावाहुरीका कारण कैयौं ठाउँमा बिद्युत पोल ढलेका छन भने बिद्युत सेवा अवरुद्ध हुनका साथै आवागमनमा कठिनाई भएका खबरहरु प्राप्त भएका छन् ।

बिद्यालय भवन र सर्वसाधरणका घर गुहाली , बाली नाली र अन्नपातहरुमा समेत हावाहुरी र बर्षाको कारण नोक्सान पुगेको प्रहरी र जनप्रतिनिधिहरुले जानकारी दिएका छन् । शिवसताक्षी नगरपालिका वडा नं ६ का वडाध्यक्ष मनोज खुलालका अनुसार शिवगञ्ज बजार र वरपरका बस्तीहरुमा हावाहुरीले ठुलो नोक्सान गरेको छ ।
वडाध्यक्ष खुलालले भने– धेरै घर, स्कूलका छानाहरु हावाले भत्काएको छ । उडाएको छ । बिजुलीका तारहरु चुटिएका छन् । पोलहरु ढलेका छन् । आवतजावतनै अवरुद्ध हुने गरि बाटोमा रुखहरु ढलेका छन् ।
उनका अनुसार हावाहुरीका कारण भएको क्षतिको पूर्ण विवरण संकलन भइसकेको छैन ।
भद्रपुर ३ मा बुधय मुर्मुको टिनको छानो भएको घरमा क्षति पुगेको छ भने घरमा पालिएका २० वटा कुखुराका चल्ला मरेका छन् ।
त्यस्तै सोही ठाउँका कमल गणेश, दुखिया महतो र मिस्त्री राजवंशीकोे घरमा क्षति भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

 

 

एमाले अध्यक्ष ओली पक्राउ लगत्तै अस्पताल भर्ना

काठमाडौं/ प्रहरीले पक्राउ गरे लगत्तै नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओली अस्पताल भर्ना भएका छन् ।
आफ्ना पिताको १३ औं दिनको काम सकेको केही दिनमै आज बिहान करिब ६ बजे भक्तपुरको गुण्डुस्थित निवासबाट पक्राउ परेका उनलाई त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज भर्ना गरिएको छ । उनलाई सो अस्पतालको एनेक्स वान भवन ५०१ नम्बर बेडमा भर्ना गरिएको हो । यो बेड मिर्गाैला प्रत्यारोपण गरिएका बिरामीलाई राख्ने बेड हो ।

मिर्गाैला प्रत्यारोपणका बिरामी ओलीलाई चिकित्सकको सुझाव अनुसार अस्पताल भर्ना गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी पवन भट्टराईले जानकारी दिए ।  बेडमा भर्ना गरिएको हो ।  .

ओली प्रधानमन्त्री भएको समयमा गत भाद्र २३/२४ को घटना जाँचबुझ गर्न तत्कालिन प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको सरकारले गठन गरेको गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगको प्रतिवेदनका आधारमा ज्यान सम्बन्धि कसुरमा अनुसन्धान गर्न भन्दै सरकारले पक्राउ गरेको हो ।

प्रधानमन्त्री पदमा रास्वपाका बालेन्द्र साहले सपथ लिँदै तत्कालै शुक्रबारनै मन्त्रीपरिषद गठन गरेको थियो । नवगठित मन्त्रीमण्डमा गृहमन्त्रालय सम्हाल्ने जिम्मेवारी सुदन गुरुङले पाएका छन् । उनी गृहमन्त्री नियुक्त भए लगत्तै सुरक्षा अंगका प्रमुखहरुसँग डेढ घण्टा छलफल गर्दै मन्त्री गुरुङले आयोगबाट कारवाही सिफारिस गरिएका ओली र ओलीको नेतृत्वको सरकारका गृहमन्त्री नेपाली कांग्रेसका रमेश लेखकलाई पक्राउ गर्ने तयारी थालेका थिए ।

दमकमा करेन्ट लागेर युवकको मृत्यु

दमक/    शुक्रबार रातीको हावाहुरीका कारण लत्रिएको बिजुलीको तारमा छुँदा करेन्ट लागेर झापाको दमक ८ मा एक युवकको मृत्यु भएको छ ।  दमक ८ सेतुमारी रोडका व्यवसायी परिवारका सदस्य २४ बर्षिय निरोज साहको आज बिहान मृत्यु भएको हो ।
राती हावाहुरीका कारण लत्रिएको बिजुलीको तारमा छोइँदा बिहान उनलाई करेन्ट लागेको थियो । उनलाई करिब साढे ९ बजे लाइफलाइन अस्पताल दमकमा उपचारका लागि लगिएपनि तत्कालै मृत्यु भएको अस्पताल स्रोतले जनाएको छ ।

नवनियुक्त गृहमन्त्री गुरुङ भन्छन– एक्सनमा जान्छु

काठमाडौँ /  नवनियुक्त गृहमन्त्री सुधन गुरुङले पदभार ग्रहण गरेका छन् । राष्ट्रपति कार्यालयमा शपथ ग्रहण समारोह सकिएलगत्तै उनले सिंहदरबार पुगेर आफ्नो नयाँ जिम्मेवारी सम्हालेका हुन् ।

पदभार ग्रहण कार्यक्रममा गुरुङले आफ्नो कार्यकालको पहिलो निर्णयबारे जानकारी दिँदै सबै कामहरू एकद्वार प्रणालीबाट अघि बढाउने योजना सार्वजनिक गरे ।

उनले विशेष वर्गका सुविधा (भीआईपी लावालस्कर) प्रयोग गरेर जनतालाई असुविधा नपुग्ने सुनिश्चित गर्नुपर्नेमा जोड दिए । ‘कम बोल्ने मान्छे हुँ । एक्सनमा जान्छु । जेनजीको माग अनुसार हामी आएको हो । सुशासनविरुद्धका कुनै काम हुन सक्दैन’ उनले भने ।

सर्भिस डेलिभरीमा गुनासा नआउने गरी कर्मचारीहरूलाई जिम्मेवारीपूर्वक काम गर्न आग्रह पनि उनले गरे ।

राष्ट्रपतिबाट सपथ लिँदै नयाँ प्रधानमन्त्री बालेन्द्र साह

काठमाडौं /  मुलुकले आज नयाँ प्रधानमन्त्री पाउने भएको छ । राष्ट्रपति कार्यालय शीतल निवासमा आज दिउँसो राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाहलाई प्रधानमन्त्रीको शपथ गराउने कार्यक्रम तय गरिएको बताइएको छ ।

त्यसअघि नेता शाहलाई प्रधानमन्त्रीमा नियुक्त गरिएको जानकारी गराइनेछ । नेपालको संविधानको धारा ७६ को उपधारा १ अनुसार एकल सरकार गठन हुन लागेको हो ।

राष्ट्रपति कार्यालयका अनुसार अपराह्न प्रधानमन्त्रीको पद तथा गोपनियताको शपथ ग्रहणको कार्यक्रम तय गरिएको बताइएको छ । शपथ ग्रहण समारोहमा सहभागी हुन विभिन्न राजनीतिक दल, यहाँस्थित कूटनीतिक नियोगका प्रतिनिधि, नागरिक समाज, उच्च सरकारी अधिकारीलाई आमन्त्रण गरिसकिएको छ ।

प्रधानमन्त्रीको शपथसँगै मन्त्रीहरूको पनि शपथ गराइने बुझिएको छ । गत फागुन २१ मा सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीले १८२ सिटमा जित निकालेको छ । सो दलले बिहिबार मात्रै नेता शाहलाई संसदीय दलको नेता चयन गरिसकेको छ ।

प्रतिनिधिसभा सदस्य निर्वाचनमा नेता शाहले झापा क्षेत्र नं ५ बाट ६८ हजार ३४८ मत प्राप्त गरी विजयी भएका थिए । बिहिबार नै प्रतिनिधिसभाका ज्येष्ठ सदस्य अजुर्ननरसिंह केसीले सांसदहरूलाई पद तथा गोपनियताको शपथ गराइसकेका छन् ।

आजको आवश्यकता , नागरिक मैत्री सरकार

नेपालको राजनीतिक इतिहासले बारम्बार देखाएको यथार्थ के हो भने राजनीतिक अस्थिरता विकासको सबैभन्दा ठूलो बाधक हो । एउटा सरकार बन्ने, केही काम शुरु हुने, लगत्तै सरकार ढाल्ने खेल शुरु भई हाल्ने । यस्तो फोहोरी खेलका कारण बहुदलीय व्यवस्थाप्रतिनै आम नागरिकहरुमा वितृष्णा छ ।

संसदीय व्यवस्थालाई लोकतन्त्रको आधार हो भनिएता पनि संसदमा सरकार बनाउने र ढाल्ने गणीतिय खेलका कारण व्यवस्थानै पो खराब हो कि भन्ने संशय पैदा गरिदिएको छ ।
विगतका वर्षहरूमा सत्ताकै लागि दलहरु विभाजनको श्रृखंला पनि लामो समय चल्यो । भाग पुरयाउनैका लागि बारबार मन्त्रीमण्डल पुनगठन, सहमति र सहकार्यको नारा लगाउँदै सत्ता स्वादमा रमाउने प्रवृत्तिले दलहरुप्रति आम नागरिकहरुमा चरम वितृष्णा, आक्रोश र खटपटी छ ।

सत्ता समीकरण मिलाउनकै लागि भएका अप्रिय घटनाक्रम, बारम्बार सरकार परिवर्तन, दलगत स्वार्थका टकराव र अल्पकालीन सोचका कारण मुलुकले दीर्घकालीन नीति र योजनाको अभाव भोग्दै आएको छ ।
यसले नागरिकमा निराशा बढाएको मात्र होइन, शासन प्रणालीप्रति विश्वास समेत कमजोर बनाएको छ ।
यस्तो परिवेशमा चैत १३ गते बर्ष २०८२ को अन्त्यतिर रास्वपाका वरिष्ठ नेता बालेन्द्र साहको नेतृत्वमा मुलुकमा नयाँ सरकार बन्दैछ । दलगत रुपमा भन्ने हो भने रास्वपासँग सरकार बनाउन चाहिने पुग्दो मात्रै होइन उभ्रिने गरिको सांसद संख्या छ ।

नयाँ सरकारप्रति नागरिकको अपेक्षा स्वाभाविक रूपमा उच्च छ । यो सरकार केवल सत्ता सम्हाल्ने संरचना मात्र नभई “नागरिक सरकार” बन्नुपर्छ—जहाँ निर्णयको केन्द्रमा दल होइन, नागरिकहरु हुन्छन्। ।
विगतका कमजोरीहरूबाट पाठ सिक्दै अबको सरकार स्थायित्व, पारदर्शिता र उत्तरदायित्वमा आधारित हुन जरुरी छ ।
नयाँ वर्ष २०८३ को संघारमा उभिँदै गर्दा यो समय केवल पात्र परिवर्तनको होइन, प्रवृत्ति परिवर्तनको पनि हो ।
अबको सरकारले सत्ता समीकरणभन्दा माथि उठेर राष्ट्रिय हितलाई प्राथमिकतामा राख्नुपर्छ । सरकार बनाउने जिम्मा मतादेश पाएको रास्वपाले सुझबुझ र विना स्वार्थ मन्त्रीमण्डल गठन गर्नुपर्छ ।
सुशासनसहितको विकास निर्माणका कामहरूलाई निरन्तरता दिने, भ्रष्टाचार नियन्त्रण गर्ने र युवाहरूलाई अवसर दिने दिशामा अबको सरकार अघि बढ्न चुक्नु हुन्न ।
नागरिक सरकारको अर्थ जनतासँग प्रत्यक्ष संवाद गर्ने, उनीहरूको समस्या बुझ्ने र समाधानमा इमानदार प्रयास गर्ने हो ।

डिजिटल प्रविधिको प्रयोगमार्फत सेवा प्रवाहलाई सहज बनाउने, स्थानीय तहसँग सहकार्य बढाउने र शिक्षा, स्वास्थ्य, रोजगारी जस्ता आधारभूत क्षेत्रमा ठोस सुधार ल्याउने काममा अबको सरकार केन्द्रित हुनुपर्छ ।
आजको आवश्यकता केवल प्रधानमन्त्री र मन्त्रीहरुको सूचीमा नाम अटाउने हुँदै होइन ।
यदि बालेन्द्र साह नेतृत्वले जनअपेक्षा अनुसार काम गर्न सक्यो भने यसले नेपाली राजनीतिमा नयाँ अध्याय सुरु गर्न सक्छ । अन्यथा, फेरि पनि पुरानै चक्र दोहोरिने खतरा रहन्छ । त्यसो भएमा मुलुक अझै पछि धकेलिने खतरा रहन्छ ।

स्थिरता, सुशासन र समृद्धिको यात्रामा अबको सरकार सफल होस् यही नै नागरिकहरुको मतादेश हो, आवाज हो र समयको माग हो । यसबाट अब बन्ने सरकार र बनाउने दल (रास्वपा)लाई उम्किने छुट छैन ।

 

प्रधानमन्त्रीको सपथ तयारी, मन्त्री छान्न गोप्य छलफलमा बालेन–रवि

काठमाडौं/ राष्ट्रिय स्वतन्त्र पार्टीले संसदीय दलको नेतामा बालेन्द्र शाह (बालेन)लाई चयन गरेको छ । दलको निर्णयसँगै उनी भोलि (शुक्रबार) प्रधानमन्त्रीको शपथ लिने तयारीमा रहेका छन् । पार्टीले प्रधानमन्त्रीसँगै मन्त्रीहरूको पनि शपथ गराउने तयारी गरेको स्रोतले जनाएको छ । त्यसअघि भने मन्त्रीहरूको नाम टुंग्याउन पार्टीभित्र उच्चस्तरीय छलफल सुरु भएको छ ।

सोहीअनुसार, पार्टी सभापति रवि लामिछाने र वरिष्ठ नेता शाहबीच मन्त्री छनोटबारे छलफल चलिरहेको छ । बनस्थलीस्थित पार्टी कार्यालयमा केन्द्रीय समिति र संसदीय दलको बैठक सकिएपछि दुवै नेता एउटै गाडीमा बाहिरिएका थिए ।

स्रोतका अनुसार मन्त्रीको नाम टुंग्याउन दुई नेताबीच मात्रै गोप्य छलफल भइरहेको छ । तर उक्त छलफल कहाँ भइरहेको छ भन्ने सार्वजनिक गरिएको छैन ।

पार्टीका केही नेताहरूका अनुसार हालसम्म मन्त्रीहरूको नाम अन्तिम रूपले तय भइसकेको छैन ।

कांग्रेसको १५ औं महाधिवेशन असोज १६ देखि १९ सम्म

काठमाडौं/  नेपाली कांग्रेसले पार्टीको १५औँ महाधिवेशन आगामी ०८३ को असोज १६ देखि १९ गतेसम्म काठमाडौंमा गर्ने निर्णय गरेको छ । पार्टी मुख्यालय सानेपामा बसेको बैठकले १५औं महाधिवेशनको मिति तय गरेको हो । अब नयाँ कार्यतालिकानुसार वडा अधिवेशन ०८३ को भदौ २, गाउँ/नगर अधिवेशन भदौ ७ गते, प्रदेश/क्षेत्रीय अधिवेशन भदौ १७ गते, क्षेत्रीय अधिवेशन भदौ २४ गते गर्ने भएको छ।

यस्तै, जिल्ला अधिवेशन असोज २ र ३ गते र प्रदेश अधिवेशन असोज ७ र ८ गते गर्ने भएको छ। निर्वाचन समिति संयोजकमा नेपाल बार एशोसिएशनका पूर्व अध्यक्ष तथा वरिष्ठ अधिवक्ता प्रेमबहादुर खड्कालाई नियुक्त गरेको छ।