काठमाडौं/ जिल्ला अदालत काठमाडौंले पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको प्रभावकारी उपचारको व्यवस्था गर्न आदेश दिएको छ । आइतबार न्यायाधीश आनन्दप्रसाद श्रेष्ठको इजलासले ५ दिन म्याद थपको अनुमति दिँदै उपचारसम्बन्धी आवश्यक व्यवस्था गर्न निर्देशन दिएको हो ।
आदेशमा भनिएको छ, ‘प्रतिवादी केपी शर्मा ओली अस्वस्थ भई उपचारार्थ अस्पतालमा रहेको भन्ने हुँदा निजको प्रभावकारी आवश्यक उपचारको व्यवस्था गर्न यो आदेश गरिदिएको छ ।’
पक्राउ लगत्तै अस्पताल भर्ना भएका ओली बिरामीकै कारण इजलासमा भर्चुअल माध्यमबाट उपस्थित भएका थिए ।
उनीलाई शनिबार बिहान भक्तपुरको गुण्डुस्थित निवासबाट पक्राउ गरिएको थियो ।
गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा भएको दमन घटनासम्बन्धी अनुसन्धानका लागि उनलाई नियन्त्रणमा लिइएको हो ।
त्यस समयमा केपी शर्मा ओली प्रधानमन्त्री तथा रमेश लेखक गृहमन्त्री रहेका थिए । आन्दोलनमा भएको दमनबारे छानबिन गर्न गठित आयोगले ओली र लेखकलाई फौजदारी मुद्दामा कारबाही अघि बढाउन सिफारिस गरेको थियो ।