लामिछानेलाई आज अदालतमा उपस्थित गराइँदै

काठमाडौं/ राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई आज अदालतमा उपस्थित गराइँदैछ ।

शुक्रबार काठमाडौंबाट पक्राउ गरी भैरहवा लगिएका लामिछानेलाई आज सोमबार रुपन्देही जिल्ला अदालतमा उपस्थित गराउन लागिएको हो । लामिछानेलाई अदालती प्रक्रिया पूरा गरेपछि आजै थुनामा पठाइने जिल्ला प्रहरी कार्यालय रूपन्देहीले जनाएको छ ।

बुटवलको सुप्रिम सहकारी ठगी तथा संगठित अपराध मुद्दामा जिल्ला अदालत रुपन्देहीको आदेश उल्ट्याउँदै शुक्रबार उच्च अदालत तुलसीपुरको बुटवल इजलासले लामिछानेलाई थुनामा पठाउन आदेश दिएको थियो ।

त्यसअघि जिल्ला अदालतले लामिछानेलाई १ करोड धरौटीमा छाड्न आदेश गरेको थियो । उक्त आदेशलाई बदर गरी साधारण तारेखमा छुट्ने आदेश माग्दै लामिछानेले उच्च अदालतमा निवेदन दिनुभएको थियो ।

उच्चले जिल्लाको आदेश उल्ट्याएर थुनामा पठाउन भनेपछि शुक्रबार लामिछानेलाई काठमाडौंको हात्तीगौंडास्थित निवासबाट पक्राउ गरिएको थियो । शनिबार र आइतबार बिदा परेकाले बाँकी प्रक्रिया आजदेखि मात्रै शुरू हुने भएको हो ।

ग्वालीबाट सल्केको आगोले दमकको बिद्योदय आबिमा नोक्सान

दमक/ झापाको दमक ४ स्थित बिद्योदय आधारभूत बिद्यालयसँगै जोडिएको ग्वाली घरबाट शुरु भएको आगलागीका कारण बिद्यालयमा करिब २० लाख बराबरको नोक्सान भएको छ ।
बिद्यालयका शिक्षक दुर्गाप्रसाद चौंलागाइँका अनुसार बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष समेत रहेका भरत खड्काको ग्वालीमा दिउँसो करिब अढाई बजे भएको आगलागी बिद्यालय भवन सम्म सल्किएको हो । आगलागीबाट बिद्यालयका दुई वटा कक्षा कोठामा रहेका स्मार्ट बोर्डसहित झ्याल ढोका, लगायतका सामान विभिन्न सामानहरु जल्नुका साथै भवन समेत जल्दा अन्दाजी २० लाख बराबरको नोक्सान भएको प्रारम्भिक अनुमान गरिएको शिक्षक चौंलागाइँले जानकारी दिए ।
आज सार्वजनिक बिदा भएकाले बिद्यालय पूर्णरुपमा बन्द थियो । बिद्यालयमा कोही नभएका कारण बिद्यालयतिर आगो पसेको कुरा तत्काल थाह हुन सकेन । घट्नाबारे शिक्षक चौंलागाइँले निष्कर्ष न्यूजसँग भने– आगलागीमा परेको बिद्यालयका कक्षा कोठामा ताल्चा लगाइएका कारण तत्काल भित्र पसेर कुनै सामान निकाल्न सक्ने अवस्था भएन आगो कति बेला देखि फैंलिएर स्कूलतिर पस्यो भन्ने यकिन हुन सकेन । सो आगलागीमा परेर खड्काको ग्वालीमा बाँधिएको एउटा चौपाया समेत जलेर मरेको बताइएको छ ।

 

अनेमसंघ झापाको प्रशिक्षण केन्द्रित तेस्रो पूर्ण बैठक

दमक/ नेकपा एमालेको जनवर्गीय संगठन अखिल नेपाल महिला संघ झापा जिल्ला कमिटीले प्रशिक्षण कार्यक्रम सञ्चालन गरेको छ ।

संघको जिल्ला कमिटीको तेस्रो पूर्ण बैठक तथा एक दिने प्रशिक्षण कार्यक्रम शनिबार पर्यटकीयस्थल सालबारी सहिद स्मृति पार्कमा सम्पन्न भएको हो ।
अनेमसंघ झापाकी अध्यक्ष लीला ढुंगेल दाहालको अध्यक्षतामा सञ्चालन भएको बैठक तथा प्रशिक्षण कार्यक्रममा अनेमसंघको बिधान ,नीति तथा कार्यक्रम साथै बर्तमान राजनीतिक अवस्थाबारेमा अनेमसंघ केन्द्रिय उपाध्यक्ष मेनुका काफ्लेले सहजीकरण गरेकी थिइन् ।

त्यस्तै पार्टी र संगठनमा अनुशासन, सक्रियताको सन्दर्भमा केन्द्रिय अनुशासन आयोगकी सदस्य लीला कट्टेल कार्कीले प्रशिक्षण दिएकी बताइएको छ ।
अनेमसंघले सञ्चालन गरेको महिला आन्दोलनको इतिहास र उपलब्धिको बारेमा कार्यक्रममा चर्चा गरिएको थियो ।
सो अवसरमा पार्टीको जरा केन्द्रिय अभियान ,यही चैत ३० गते दमकमा हुने जागरण सभा, महिला शसक्तिकरणका कार्यक्रमहरु लगायतका बिषयमा पनि चर्चा परिचर्चासहित यसबारे महत्वपूर्ण छलफलहरु भएको बताइएको छ ।

 

स्वंयसेविकालाई गरे वडाध्यक्ष सुब्बाले अनौठो सम्मान

दमक/ कमल–२ का वडाध्यक्ष अशोक सुब्बाले वडामा कार्यरत महिला स्वास्थ्य स्वयंसेविकालाई अनौठो शैलीमा सम्मान गरेका छन् ।
वडाध्यक्ष सुब्बाले शुक्रबार तोकिएको जिम्मेवारीमा रहेका वडा भित्र क्रियाशील तीन जना स्वास्थ्य स्वयंसेविकालाई कार्यलय समयमा आफ्नै कार्यकक्षमा बोलाएर आश्चर्यजनक रुपमा सम्मान गरेका हुन् ।

वडाभित्र स्वास्थ्य सचेतना फैलाउने, बालबालिका र महिलाको प्राथमिक स्वास्थ्य सेवामा योगदान दिने, तथा हरेक स्वास्थ्य समस्यामा अग्रपंक्तिमा खटिने गरेका उषा दाहाल, इन्दिरा खड्का र चन्द्रकला भट्टराई ढकाललाई सम्मान स्वरूप वडा कार्यालयले प्रत्येकलाई दुई–दुई थान घडी ( महिला स्वास्थ्य स्वयंसेविका र पतिका लागि ) र दुई÷दुई थान हाते घडी र नगद एक हजार रुपैयाँसहित सम्मान गरिएको हो ।

“स्वास्थ्य स्वयंसेविकाहरूको काम र समय अनि परिवार व्यवस्थापन यि सबै कुरालाई मध्यनजर गरेर हामीले प्रोत्साहन स्वरुप दम्पत्तीलाईनै घडी दिएर सम्मान गरेका हौं । सांकेतिक रुपमा समय व्यवस्थापनमा स्वयंसेविकाहरुको मात्रै नभएर उनीहरुको परिवारको पनि भुमिका हुन्छ भन्ने बुझाउन खोजेका हौं उहाँहरूको निष्ठा, समर्पण र निरन्तर सेवाको कदर गर्न पनि यो सम्मान गरिएको हो,” वडाध्यक्ष सुब्बाले भने ।
स्वास्थ्य स्वयंसेविकाहरुको काममा उहाँहरुका पतिको पनि भूमिका महत्वपूर्ण हुन्छ । घरको जिम्मेवारी सम्हाल्दै श्रीमतीलाई सेवा गर्न प्रेरणा दिने परिवारको योगदानको समेत कदर गर्दै एक थान घडी स्वयंसेविकालाई र अर्काे घडी उहाँका श्रीमानलाई दिएका हौं। साथै, नियमित सम्पर्कमा रहन सहज होस् भनेर . १,००० नगद प्रदान गरेका छौं”– वडाध्यक्ष सुब्बाले भने ।

कार्यक्रममा वडा सदस्य कल्पना राई, वडासचिव सागर दाहाल र वडा कर्मचारी अशेष भट्टराईको समेत उपस्थिति थियो । वडाले अघिल्लो वर्ष पनि महिला स्वास्थ्य स्वयंसेविकाहरूलाई प्रोत्साहन स्वरूप एक–एक थान साइकल वितरण गरेको थियो ।

कमल नगर अस्पतालद्वारा निशुल्क स्वास्थ्य शिविर गरिदै

दमक/ झापाको कमल पालिकाले सञ्चालनमा ल्याएको कमल नगर अस्पतालले पालिकाको वडा न. ७ स्थित सिंहदेवी आधारभूत विद्यालय विष्णुकठ्ठामा यहि चैत २८ गते निशुल्क स्वास्थ्य शिविर आयोजना गर्ने भएको छ ।

अस्पताल सञ्चालनको दोश्रो बार्षिक स्थापनाको अवसरमा यहि चैत २८ गते वृहत निशुल्क स्वास्थ्य शिविरको तयारी तीव्र पारिएको हो अस्पतालले यसअघि गत फागुन १ गते आफनै अस्पताल परिषरमा निशुल्क स्वास्थ्य शिविर गरेको थियो ।
अस्पतालले दमकको आम्दा अस्पताल, मेची आखाँ अस्पताल , आमा डेन्टलको सहकार्यमा निशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्न लागिएको कार्यालय प्रमुख दिपक कुमार दाहालले बताए । सोहि शिविरमा आम्दा अस्पतालको सहयोगमा महिलाहरुको पाठेघरको मुखमा हुने क्यान्सर जाँच (भिआईए ) , आङखस्ने समस्याको स्किनिङ सेवा समेत उपलव्ध हुने उनले बताए ।

शिविरमा जेनेरल फिजीसियन, बाल रोग, स्त्री तथा प्रसुति रोग विशेषज्ञ सेवा, हाडजोर्नी ,नशा रोग सम्बन्धी विशेषज्ञ स्वास्थ्य सेवा ,परामर्शसहित निशुल्क औषधी समेत वितरण गरिने उनले बताए । उनका अनुसार शिविरमा दन्त सम्बन्धी दमकको आमा डेन्टल र आखाँ सम्बन्धी मेची आखाँ अस्पतालको विशेषज्ञ स्वास्थ्य सेवा उपलव्ध हुने छन् ।
एक दिने सो शिविरबाट कमल ५, ६ र ७ का बासिन्दाहरु लाभान्दित हुने छन् । अस्पताल सञ्चालन तथा व्यवस्थापन समितिको चैत ८ गतेको बैठकको निर्णय अनुसार दोश्रो चरणमा यो शिविर सञ्चालन गर्न लागिएको गाउँपालिका अध्यक्ष हुकुमसिंह राईले बताए ।

स्वास्थ्य बिमासहितको यस अस्पतालले २०७९ साल फागुन १ गतेदेखि साविक तोपगाछी स्वास्थ्य चौंकीलाई स्तरन्नति गरि ५ शैयाको अस्पताल सञ्चालन गरेको थियो ।
पालिकाले यस अस्पतालको थप सेवा विस्तारमा जोड दिन हालको ५ शैया वृद्धि गरि १५ शैयाको अस्पताल बनाउनका लागि संघीय सरकारका स्वास्थ्य मन्त्री प्रदिप पौडेलसंग भेट गरि वजेटका विषयमा छलफल गरिएको अध्यक्ष राईले बताएका छन् ।

ब्राउन सुगर सहित १२ जना पक्राउ

झापा र सुनसरीको विभिन्न स्थानहरुबाट लागू औषध ब्राउन सुगर सहित प्रहरीले १२ जनालाई पक्राउ गरेको छ । चैत्र २० गते दिउँसो सुनसरीको कोशी गाउँपालिका-१ स्थितबाट  लागू औषध नियन्त्रण ब्यूरो बिराटनगर र इलाका प्रहरी कार्यालय लौकही सुनसरीबाट खटिएको प्रहरी टोलिले चेकजाँचको क्रममा ईटहरी उप-महानगरपालिका-१६ का ३४ बर्षीय  मनोज कुमार चौधरीलाई २७ ग्राम २७ मिलिग्राम र ईटहरी-६ का २३ बर्षीय  सनम तामाङलाई २६ ग्राम, ईटहरी-२ का २७ बर्षीय निरज लिम्बु, २२ बर्षीय  सन्दिप मगरलाई ३ ग्राम ५६ मिलिग्राम, सुनसरी रामधुनी-९ का १६ बर्षीय आदित्या चौधरीलाई २ ग्राम १ मिलिग्राम, रामधुनी- का २६ बर्षीय मनिष चौधरीलाई २ ग्राम ५६ मिलिग्राम, धरान-१७ का २८ बर्षीय बेगराज लिम्बु र ३४ बर्षीय सागर राईलाई ३ ग्राम १३ मिलिग्राम, रानधुनी-५ का २६ बर्षीय बिज्ञान साहलाई ३५ ग्राम ८८ मिलिग्राम ब्राउन सुगर सहित  पक्राउ गरेको छ भने सुनसरी हरिनगर-१ स्थितमा  प्रहरी चैकी भुटाहाबाट खटिएको प्रहरी टोलिले  सोही स्थनाका २०बर्षीय प्रकाश कुमार दाश र २२ बर्षीय रितेश कुमार मण्डललाई प्रतिबन्धित लागु औषधी नाईट्राजेपाम-१२० ट्याब्लेट सहित पक्राउ गरेको छ । त्यसैगरी झापाको अस्थायी  प्रहरी पोष्ट नयाँ बसपार्क झापाबाट गस्तिमा खटिएको प्रहरी टोलिले बिर्तामोड नगरपालीका-४ का ३२ बर्षीय बिकी साहलाई ३४० मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको छ । लागू औषध ब्राउन सुगर सहित पक्राउ परेका उनिहरुको थप अनुसन्धान भईरहेको छ ।

दमक १० मा ब्यबस्थित शव दाह निर्माण गरिदै

अनेरास्ववियुको आन्तरिक विवादले क्याम्पसमा तालाबन्दी, केन्द्रले पठायो आधिकारिताको पत्र

दमक/ दमक बहुमुखी क्याम्पस दमकमा गत ५ चैतमा सम्पन्न स्ववियू निर्वाचनमा संगठनले समानुपातिक तर्फ प्राप्त गरेको मतको आधारमा निर्वाचित हुने समानपातिक तर्फका उम्मेदवारको बिषयलाई लिएर बिबाद हुदा अनेरास्ववियुले क्याम्पसमा तालाबन्दी गरेको छ ।
संगठनको क्याम्पस इकाई समितीले सिफारिस गरेको नाम भन्दा फरक नाम निर्वाचन समितीले प्रकाशन गरेपछी निर्वाचन समितीको कार्यलय र क्याम्पस प्रमुखको कार्यकक्षमा ताला लगाएको अनेरास्ववियु क्याम्पस कमिटीका अध्यक्ष भिजन चेम्जोङले बताए ।

निर्वाचन समितिले सो संगठनको तर्फबाट संजय राई, गंगा प्रसाद खतिवडा र युनिक घिमिरेको नाम सार्वजनिक गरेको र अनेरास्ववियु दमक क्याम्पस कमिटीले सिफारिस गरेको पत्रमा अबिश खनाल, भिजन चेम्जोङ र संजय राईको नाम पठाईएको थियो । स्ववियू निर्वाचन समितीले संगठनको क्याम्पस इकाई कमिटीको सिफारिस लत्याएर पार्टीको पत्रको आधारमा नाम प्रकाशन गरिदिएका कारण सो विवाद उत्पन्न भएको बताइएको छ ।
अनेरास्ववियु क्याम्पस कमिटी अध्यक्ष चेम्जोङले यसअघि बुझाएको समानुपातिक उम्मेदवारको बन्द सुची विपरित एमालेको दमक नगर नेतृत्वले हस्तक्षेप गरेर फरक नाम पठाएको र निर्वाचन समितीले बिद्यार्थी संगठनको सिफारिस लत्याएर नाम प्रकाशित गरेको अनेरास्ववियुका क्याम्पस कमिटीका अध्यक्ष चेम्जोङले बताए ।
एमाले पार्टीको नगर नेतृत्व र बिद्यार्थी संगठनको तर्फबाट अलग अलग नाम बुझाइएको कारण निर्वाचन समितिमा अनेरास्ववियु केन्द्रिय कमिटीले पनि आधिकारिकताको ब्यहोरा उल्लेख गर्दै स्ववियु निर्वाचन समितिलाई पत्र पनि पठाएको सार्वजनिक भएको छ । केन्द्रिय कमिटी अध्यक्ष समिक बडालले १६ चैतमा निर्वाचन समितिलाई लेखेको पत्रमा भिजन चेम्जोङले बन्दसुचीबाट सिफारिस गरे बमोजिम आधिकारिकता प्रदान गरिदिन भनिएको छ ।

 


यसअघि चुनावको अघिल्लो दिन नेविसंघका तर्फबाट स्ववियु अध्यक्षका उम्मेदवार को आधिकारिक ? भन्ने बिषयमा आन्तरिक विवाद चुलिएको थियो । नेविसंघ भित्रको आन्तरिक विवादका कारण पनि क्याम्पसमा तालाबन्दी भएको थियो । सो तालाबन्दी खोलेर स्ववियु निर्वाचन सम्पन्न गरिएको थियो । अनेरास्ववियुले स्ववियु निर्वाचनमा अध्यक्ष पद जित्न सकेन भने संगठनले प्राप्त गर्ने समानुपातिक तर्फको मत भने सबैभन्दा धेरै प्राप्त गरेको थियो ।
अनेरास्ववियुका तर्फबाट निसम अधिकारी स्ववियु अध्यक्षमा उम्मेदवार थिए । उनी नेविसंघको केन्द्रिय नेतृत्वबाट सिफारिस गरिएको भुपेन्द्र बस्नेतसँग पराजित भएका थिए ।

प्रदर्शनमा आपराधिक गतिबिधि गर्नेमाथि कानुनी कारवाही (नाम ठेगानासहित)

दमक/  गत शुक्रबार काठमाडौंको तीनकुने लगायत ठाउँहरुमा राजावादीले गरेको प्रदर्शनका क्रममा आपराधिक गतिविधि गर्ने थप १८ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
मंगलबार प्रहरीले पक्राउ पर्नेहरुको नामावली सार्वजनिक गरेको छ ।
काठमाडौंको तीनकुने क्षेत्रमा आगजनी, तोडफोड गरी राज्य विरुद्दको कसूर, आपराधिक उपद्रव लगायतका अपराधमा संलग्न १८ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रहरी उपरीक्षक (एसपी) अपिलराज बोहराले बताए ।
प्रहरीद्धारा सार्वजनिक गरिएको विवरण अनुसार ८ जनामाथि राज्य विरुद्धको कसुर र संगठित अपराध सम्बन्धिको कसुरमा प्रतिवादी बनाइएको छ । सो कसुरमा प्रतिवादी बनाइएका आठ मध्ये पाँच जना झापाका छन् ।
झापा घर भई काठमाडौं बस्ने ४३ बर्षिय देवीप्रसाद संग्रौला, दमक ७ का ३८ बर्षिय उमेश तामाङ, ४३ बर्षिय दानबहादुर न्यौपाने र भानुभक्त पौडेल , कमल गाउँपालिका ३ का ४६ बर्षिय तारानाथ बोहोरा, इटहरी ६ का ५५ बर्षिय अनिलकुमार थापा, काठमाडौंका कुमार बस्नेत र ललितपुरका बिष्णुजंग बस्नेतमाथि राज्य विरुद्धको कसुर तथा संगठीत अपराध सम्बन्धि कसुरको अभियोग लागेको छ । त्यस्तै आपराधिक उपद्रो कसुर अन्तर्गत एक जना भारतीयसहित १० जनालाई प्रतिवादी बनाइएको छ । झापा बुुद्धशान्ति ४ की शान्तिदेवी राई, काठमाडौंका लोकबहादुर बस्नेत, भारतको बैसालीहुसेनाकर्द घर भई काठमाडौं बस्दै आएका २० बर्षिय रविरञ्जनकुमार सिंह लगायत १० जनामाथि सो सो मुद्धा लगाइएको नेपाल प्रहरीले सार्वजनिक गरेको विवरणमा उल्लेख छ । अन्य ७ जना विभिन्न जिल्लाका छन् ।

 

 

राप्रपा नेता दीपक बोहोराका निधन

काठमाडौँ/ प्रतिनिधिसभा सदस्य तथा राप्रपाका वरिष्ठ नेता दीपक बोहोराका निधन भएको छ । लामो समयदेखि अस्वस्थ उनको राजधानीको ओम अस्पतालमा मंगलबार उपचारका क्रममा निधन भएको राप्रपाका केन्द्रीय सदस्य जनकराज पाठकले पुष्टि गरे ।

रुपन्देही क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा निर्वाचनमा विजयी उनी पूर्वमन्त्री समेत हुन् । घाँटीको समस्याबाट पीडित उनले निर्वाचनमा एक पटक पनि चुनावी सभालाई सम्बोधन गरेका थिएनन् । जबकि उनको प्रतिस्पर्धी तत्कालीन बहालवाला गृहमन्त्री बालकृष्ण खाण रहेका थिए ।