दमक/ गत शुक्रबार काठमाडौंको तीनकुने लगायत ठाउँहरुमा राजावादीले गरेको प्रदर्शनका क्रममा आपराधिक गतिविधि गर्ने थप १८ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
मंगलबार प्रहरीले पक्राउ पर्नेहरुको नामावली सार्वजनिक गरेको छ ।
काठमाडौंको तीनकुने क्षेत्रमा आगजनी, तोडफोड गरी राज्य विरुद्दको कसूर, आपराधिक उपद्रव लगायतका अपराधमा संलग्न १८ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रहरी उपरीक्षक (एसपी) अपिलराज बोहराले बताए ।
प्रहरीद्धारा सार्वजनिक गरिएको विवरण अनुसार ८ जनामाथि राज्य विरुद्धको कसुर र संगठित अपराध सम्बन्धिको कसुरमा प्रतिवादी बनाइएको छ । सो कसुरमा प्रतिवादी बनाइएका आठ मध्ये पाँच जना झापाका छन् ।
झापा घर भई काठमाडौं बस्ने ४३ बर्षिय देवीप्रसाद संग्रौला, दमक ७ का ३८ बर्षिय उमेश तामाङ, ४३ बर्षिय दानबहादुर न्यौपाने र भानुभक्त पौडेल , कमल गाउँपालिका ३ का ४६ बर्षिय तारानाथ बोहोरा, इटहरी ६ का ५५ बर्षिय अनिलकुमार थापा, काठमाडौंका कुमार बस्नेत र ललितपुरका बिष्णुजंग बस्नेतमाथि राज्य विरुद्धको कसुर तथा संगठीत अपराध सम्बन्धि कसुरको अभियोग लागेको छ । त्यस्तै आपराधिक उपद्रो कसुर अन्तर्गत एक जना भारतीयसहित १० जनालाई प्रतिवादी बनाइएको छ । झापा बुुद्धशान्ति ४ की शान्तिदेवी राई, काठमाडौंका लोकबहादुर बस्नेत, भारतको बैसालीहुसेनाकर्द घर भई काठमाडौं बस्दै आएका २० बर्षिय रविरञ्जनकुमार सिंह लगायत १० जनामाथि सो सो मुद्धा लगाइएको नेपाल प्रहरीले सार्वजनिक गरेको विवरणमा उल्लेख छ । अन्य ७ जना विभिन्न जिल्लाका छन् ।