रचनात्मक पत्रकारिता काउन्सिलको प्राथमिकतामा : अध्यक्ष बस्नेत

काठमाडौँ /  प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले रचनात्मक पत्रकारिता काउन्सिलको प्राथमिकतामा रहेको बताउनुभएको छ । शनिबार काठमाडौँमा भएको एसिया प्यासिफिक अप्टिमिस्टिक कन्फ्रेन्समा बोल्दै अध्यक्ष बस्नेतले नेपाली पत्रकारिताले अब रचनात्मक पत्रकारितामा जोड दिनुपर्ने बताउनुभयो ।
त्यसका लागि काउन्सिलका तर्फबाट सहयोगी भूमिका रहने र काउन्सिलले प्रदान गर्ने तालिम प्रशिक्षणमा पनि रचनात्मक पत्रकारिताका विषयवस्तु समेटिने बताउनुभयो । ‘काउन्सिलले मिडिया हाउससँग सहकार्य गरेर यो विषय अघि बढाउनेछ, यसको निर्णय भइसकेको छ । त्यस्तै विश्वविद्यालयमा पाठ्यक्रममा समावेश गर्न अनुरोध गरेका छौँ । यससम्बन्धी पाठ्यसामग्री तयार गर्ने तयारीमा पनि छौँ । ‘उहाँले भन्नुभयो, अहिले अनलाइन अभिमुखीकरण कार्यक्रममा समेत एउटा सेसनको रूपमा रचनात्मक पत्रकारिता समावेश गर्ने निर्णय भइ कार्यान्वयनको चरणमा रहेको छ ।‘ काउन्सिलले रचनात्मक पत्रकारिता पाठ्यक्रममा समावेश गर्न ८ महिनाअघि नै सबै विश्वविद्यालयलाई पत्राचार पनि गरिसकेको छ ।
कार्यक्रममा बागमती प्रदेश सञ्चार रजिस्ट्रार रेवती सापकोटाले सही, सत्य तथ्य सूचना सम्प्रेषण भएमामात्र कतिपय विषय समाधान हुने भन्दै पत्रकारिताको विकासको लागि विभित्र पाठ्यसामग्री तयारी गरिएको बताउनुभयो ।
नेपाल पत्रकार महासंघका उपाध्यक्ष उमिद वागचनले सन्तुलित सामग्री सम्प्रेषणमा थप ध्यान दिनुपर्ने भन्दै मिडियामा आएका सामग्रीले जनताको जीवनस्तर परिवर्तन भएको दृष्टान्त पेस गर्नुभयो । यस्तै सञ्चारिका समुहका अध्यक्ष विमला तुम्खेवाले  रचनात्मक पत्रकारिताबारे पत्रकारबिच घनिभूत छलफल चलाउनुपर्ने भन्दै सञ्चारिका समूह सहकार्य गर्न तयार रहेको धारणा राख्नुभयो ।
कार्यक्रममा रचनात्मक पत्रकारितामा अध्ययन अनुसन्धान गरिरहेका पत्रकार कला अनुरागीले आशा जगाउने अभियानको महत्त्वपूर्ण साधन मिडिया भएको उल्लेख गर्नुभयो । खोजी गरेर कारण र समाधानका उपायसहितको समाचार लेख्नु नै रचनात्मक पत्रकारिता भएको भन्दै उहाँले विस्तृत, समीक्षात्मक, खोजमूलक पत्रकारिताले जनविश्वास समेत अभिवृद्धि गर्न सघाउने बताउनुभयो । फुटेको ऐनाका टुक्रा बिजेको जस्तो नकारात्मकता बढी दिनेगरी पत्रकारिता भइरहेकोले समाधान केन्द्रित रचनात्मक पत्रकारिता गर्न अभियान छेड्नुपर्ने उहाँको भनाई थियो ।

“राजतन्त्र ब्युँतने भ्रम पाल्नु हुँदैन” – प्रधानमन्त्री ओली

झापा/ प्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले ठुला दलको सहभागितामा सरकार बनेसँगै देश स्थिरता, स्थायित्व, विकास र सुशासनको बाटोमा अघि बढेको बताएका छन् ।

नेकपा (एमाले) को कोशी प्रदेश कमिटीले आज दमकमा आयोजना गरेको जागरणसभालाई आज सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले विकासका नाममा तमासा (स्टन्ट) गर्नेहरुले ड्राइभिङ सिक्दै नसिकी गाडी चलाउँन खोजे झैँ ढुंगा हानेका भरमा राजनीति चलाउन खोज्छु भनेर उधुम मच्याए पनि उनीहरुलाई जनताले नपत्याएको बताए ।

“देश अब कानुन र विधि अनुसार अगाडि बढ्छ । आन्दोलनका नाममा बैँक डुबाउनेहरु, आगजनी गर्नेहरु रक्सीका बोतल लुटेर भाग्नेहरुले जनताले फ्ँयाकिसकेको राजतन्त्र ब्युँताउन क्रान्ति गर्छु भन्दा कसैले उल्किनु वा भ्रम पाल्नु पर्दैन । ठुला कुरा गर्ने र हल्ला गर्नेहरुले देश बनाउँछु भनेर धाक लगाएर केही हुँदैन । त्यस्ताहरुको अशली अनुहार चैत १५ गतेको तीनकुनेको अराजक घटनबाट देखिइसकेको छ ।”, प्रधानमन्त्री ओलीले भने , “विगतमा म प्रधानमन्त्री हुँदा पार्टीभित्रका स्वार्थी र फुटवादीले पार्टीलाई सिध्याउने असफल प्रयास गरेका थिए । अदालतको समेत प्रयोग गरेर हामीलाई सरकारबाट बाहिर पठाए । तर जनताको अभिमतबाट हामी पुनः सरकारको नेतृत्वमा आएका छौँ । अब हामीले स्थिरता र स्थायित्वको अठोट गरेर अगाडि बढेका छौँ । तपाईँहरु अस्थिरतावादीहरुको कुनै भ्रममा पर्नु पर्दैन । ”

प्रधानमन्त्री ओलीले निर्माण कार्य रोकिएका र बन्न बाँकी रहेका बाटा र आयोजनाहरु अब अगाडि बढ्ने जनाउँदै आगामी बजेट र नीति तथा कार्यक्रममा नयाँ ढंगले अगाडि बढाउने उचित नीति र कार्यक्रम लिएर आउने जनाए । “हामीले अध्यादेश हुँदै विभिन्न पाँच महत्वपूर्ण कानुन ल्याएका छौँ । भूमिसम्बन्धी कानुन पनि चाँडै आउँछ । यसप्रति निजी क्षेत्र र सबैको सकारात्मक धारणा रहेको छ । घाटामा रहेको अर्थतन्त्र उकालो लाग्न थालेको छ ।”, उनले भने , “भूमिहीन सुकुम्बासीहरुका समस्या समाधान गर्न अब आउने संसदको अधिवेशनको सुरुमै कानुन ल्याइनेछ । मुलुकलाई गरिबीबाट मुक्त गराउन हामी क्रियाशील रहनेछौँ । समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकाङ्क्षा पूरा गर्न हामी दत्तचित्त भएर लाग्नेछौँ । एमालेविनाको नेपालको सपना देख्नेहरुको देशद्रोही सपना पूरा हुँदैन । एमाले झन् ठुलो भएर विजयी भएका आउनेछ । जनतामा आधारित यो पार्टी देशको भविष्य हो । एमाले असफल भए देश असफल हुन्छ ।”

कोशी प्रदेश विविधतायुक्त र जागरुक प्रदेश भएको उल्लेख गर्दै अध्यक्ष ओलीले त्यस जागरणलाई व्यवहारमा उतार्न एमालेको प्रदेश र मातहतका कमिटी नयाँ उत्साहका साथ सक्रिय र चुस्त दुरुस्तरुपमा घरघर र व्यक्ति व्यक्तिमा पुग्ने गरी परिचालित हुनुपर्ने बताए ।
प्रधानमन्त्री ओलीले युवाहरुलाई आफ्नो देश आफैले बनाउँछुपर्छ भन्ने भावनाका साथ स्वदेशमै रोजगारी र उद्यमशीलताको विकासमा लगाउन सरकारले आवश्यक कदम चालिरहेको बताए ।

एमालेले वैशाख ११ गते (लोकतन्त्र दिवस) का दिन काठमाडौँमा युवा महोत्सव आयोजना गर्ने उद्घोष गर्दै ४० वर्षमुनिका युवाहरु त्यसदिन काठमाडौँ आएर राजतन्त्र हटाएर जनताले जितेको दिनको उत्सव मनाउन आव्हान गरे ।

कार्यक्रममा एमालेका उपाध्यक्ष गुरु बराल, सचिव योगेश भट्टराईलगायत सहभागी कार्यक्रममा कोशी प्रदेश इञ्चार्ज शेरधन राई, प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीलगायतले सम्बोधन गरेका थिए ।

एमालेको जागरण सभालाइ सम्बोधन गर्न प्रधानमन्त्री ओली दमक आउदै

दमक/ आज दमकमा हुने नेकपा एमालेको जागरण सभालाई पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्दै छन् ।

लोकतान्त्रिक गणतन्त्र, संविधानको रक्षा र प्रतिगामी चलखेलका विरुद्ध भन्दै एमालेले आयोजना गरेको कोशी प्रदेश स्तरीय जागरणसभा दमकको पशुहाटमा आयोजना गरिएको छ । सभामा सहभागी हुनका लागि कोशी प्रदेशका गाउँगाउँबाट एमालेका कार्यकर्ताहरु दमक केन्द्रित छन् । एमालेले हिजो साँझ पत्रकार सम्मेलन गरेर जानकारी दिए अनुसार कार्यक्रम स्थलको पूर्वतर्फबाट आउने सवारी साधनहरु रतुवा पुल पारी रोकेर नारा जुलुस सहित सहभागीहरु पशुहाट स्थित कार्यक्रम स्थलमा प्रवेश गर्नेछन् ।

यसैगरी पश्चिमतिरबाट आउने सहभागीहरु पश्चिम बसस्टेन्डमा सवारी रोकेर नारा जुलुस सहित कार्यक्रम स्थल प्रवेश गर्नेछन् । जागरणसभालाई व्यवस्थित गर्नका लागि करिब २ हजार स्वयं सेवक परिचालन गरिएको पार्टीको कोशी प्रदेश इन्चार्ज एवं स्थायी कमिटी सदस्य शेरधन राईले जानकारी दिए ।आजको आमसभामा एमालेले १ लाख जनता उतार्ने बताएको छ ।
सभालाई सम्बोधन गर्न प्रधानमन्त्री ओली आज विहान १० बजे काठमाडौँबाट भद्रपुर विमानस्थलतर्फ आउदै छन् ।

आमाको किरिया बसेका छोराको निधन, आज अन्त्येष्टी

दमक/ झापाको दमक ८ स्थित लक्ष्मी टोलमा आमाको किरियामा बसेका छोराको मृत्यु भएको छ ।
आमा तिलामाया संग्र्रौलाको निधन भएको पाँचौं दिनमा गत बिहिबार जेठा छोरा ६१ बर्षिय राम प्रसाद संग्रौलाको मृत्यु भएको हो ।
किरियामा बसेका संग्रौलाको ह्दयघातका कारण एक्कासी समस्या आएपछि उपचारका लागि रातीनै दमक अस्पताल लगिएका थियो । सोही राती करिब पौने ९ बजे उनलाई चिकित्सकहरुले मृत घोषणा गरेका भए पनि पारिवारिक कारणले तत्काल सार्वजनिक गरिएको थिएन । मृतक राम संंग्रौलाका भाई लक्ष्मी प्रसाद संग्रौला राप्रपा केन्द्रिय सदस्य हुन् । संग्रौलाले दाजुको अन्त्येष्टी आज शनिबार दिउँसो २ बजे कन्काई मुक्ति घाटमा गरिने जानकारी दिएका छन् ।

 

ओलीले भोलि दमकमा सम्बोधन गर्ने

दमक/ पछिल्लो समय देशमा बढ्दै गएको राज्य व्यवस्था विरुद्धको गतिविधिलाई लक्षित गरी प्रधानमन्त्री केपी शर्मा ओलीले भोली आफ्नो गृह नगर दमकमा बृहत जनजागरणसभामा सम्बोधन गर्ने कार्यक्रमको तयारी सम्पन्न भएको छ ।
कोशी प्रदेश स्तरीय नेकपा एमालले जनजागरणसभामा प्रधानमन्त्री ओली सम्बोधन गर्ने सभा स्थल दमकको पशुहाट बजारमा आज आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको छ । एमाले पार्टीका कोशी प्रदेश इन्चार्ज तथा पूर्व मुख्य मन्त्री शेरधन राईले वर्तमान अवस्थामा बढ्दै गएको वेथितिलाई चिर्न बृहत जनजागरणसभा आयोजना गरेको बताउनु भयो । उहाँले देश उल्टो हिड्न नसक्ने भएकाले राजतन्त्रात्मक राज्य व्यवस्था आउन नसक्ने बताउनु भयो । राईका अनुसार भोलि लाखौंको संख्यामा जनसहभागिता हुनेछ । वर्तमान अवस्थामा बढ्दै गएकाे वेथितिलाइ परास्त गर्न सवै जनताहरू एकजुट हुनु पर्ने भन्दै याे एमालेकाे मात्र नभइ साझा कार्यक्रम भएकाे उहाँले बताउनु भयाे ।

कोशी प्रदेशका १४ वटै जिल्लाबाट पार्टीका नेता तथा कार्यकर्ताको उपस्थिति आजै बाट हुन थालेको उहाँले बताउनु भयो । सभालाई भव्य बनाउन दमक देखि गौरीगंजसम्म आज बृहत मोटर साइकल र्याली समेत गरेको सम्मेलनमा जानकारी दिइएको छ । पार्टीका केन्द्रिय नेताहरुको उपस्थितिमा भएको सम्मेलनमा कार्याक्रमका लागि सम्पूर्ण तयारी सकिएको जानकारी दिइएको छ ।

कमल ७ मा ४१२ जनाले लिए निशुल्क विशेषज्ञ स्वास्थ्य सेवा

दमक/  झापाको कमल २ मा सञ्चालित कमल नगर अस्पतालले वडा नम्बर ७ मा बृहत निशुल्क विशेषज्ञ स्वास्थ्य सेवा प्रदान गर्ने उद्धेश्यले स्वास्थ्य शिविर सम्पन्न गरेको छ ।
कमल गाउँपालिकाको सबै क्षेत्रमा सन्तुलित रुपमा स्वास्थ्य सेवा प्रवाह गर्ने गाउँपालिकाको नीति अनुरुप अस्पतालको दोश्रो बार्षिकोत्सवको सन्दर्भ पारेर निःशुल्क विशेषज्ञ स्वास्थ्य सेवासहितको शिविर बिहिबार सम्पन्न गरिएको हो ।
सिंहदेवी आधारभूत विद्यालय विष्णुकट्टामा सम्पन्न निःशुल्क शिविरमा ४१२ जनाले विभिन्न विशेषज्ञ स्वास्थ्य सेवाहरूको निःशुल्क लाभ लिएका छन्।


अस्पताल सञ्चालन तथा व्यवस्थापन समितिका अध्यक्ष समेत रहेका गाउँपालिका अध्यक्ष हुकुम सिंह राईको अध्यक्षतामा सञ्चालित शिविरमा सो क्षेत्रका सर्वसाधारणहरु उत्साहजनक रुपमा सहभागी भएका अध्यक्ष राईले यस किसिमका विशेषज्ञ सेवासहितको शिविरले स्वास्थ्यप्रति सचेतना अभिवृद्धि गर्न महत्वपूर्ण भूमिका खेलेको उल्लेख गरे ।

शिविरमा आम्दा अस्पतालका स्त्रीरोग विशेषज्ञ डा. राजु साह, हाडजोर्नी विशेषज्ञ डा. अरुण साह, मेडिकल अफिसरहरु डा. नारायण नेपाल, डा. राजेश सिंह, आमा डेन्टलका डा. संगीता बराल, मेची आखाँका बरिष्ठ नेत्र अधिकृत होमप्रसाद धितालसहितको स्वास्थ्यकर्मीहरुले प्राविधिक सहयोग पुरयाँएका कमल नगर अस्पतालका कार्यालय प्रमुख दिपक दाहालले जानकारी दिए ।

सोहि शिविरमा आँखा जाँच गरेका मध्ये १८ जनामा मोतिया विन्दु देखिएका र विहिबारनै ५ जनालाई शल्यक्रियाका लागि पठाईएको अस्पतालका कार्यालय प्रमुख दाहालले बताए ।

शिविरमा पालिका उपाध्यक्ष प्रमिला न्यौपाने, कमल ७ का वडाअध्यक्ष पृथीपति राई, सिंहदेवी स्कूल व्यवस्थापन समितिका अध्यक्ष सन्तोष राई,रेडक्रस सभापति चन्द्र साह ,सचिव पारसमणि राई, स्वास्थ्य शाखा प्रमुख बिमल थापा लगायतको उपस्थिति रहेको थियो ।
नेपाल पोषण तथा आहार विज्ञान विद्यार्थी समाज र नेपाल रेडक्रस सोसाइटी कमल उपशाखाको प्राविधिक समन्वयमा विभिन्न सेवाहरू सञ्चालन गरिएको कमल नगर अस्पतालका कार्यालय प्रमुख दाहालले जानकारी दिए ।

उनका अनुसार शिविरमा फिजिसियन तथा हाडजोर्नी विशेषज्ञ सेवा १०४ जनाले लिएका छन् । त्यस्तै आँखा परीक्षण सेवा २१२ जनाले लिएका छन भने दन्त परीक्षण सेवा ८८ जनाले लिएका छन् । त्यस्तै स्त्रीरोग तथा प्रसूति सेवा तथा पाठेघरको मुखको क्यान्सर स्क्रिनिङ सेवा २७ जनाले लिएका छन् । सोही अवसरमा पोषण लेखाजोखा तथा परामर्श सेवा प्रदान गरिएको छ ।
शिविरमा अध्यक्ष राईले कमल ६ र ७ का अपाङ्गता भएका व्यक्तिहरूलाई सहायक सामग्री वितरण समेत गरेका छन् ।

शिविरमा आवश्यक औषधिहरूको व्यवस्थापन नेपाल मेडिकल एण्ड सेल्स रिप्रेजेन्टेटिभ एसोसिएसन र स्थानीय जीवन सापकोटाले गरेका थिए ।
कमल नगर अस्पतालले यसअघि गत फागुन १ मा अस्पताल परिसरमा सो क्षेत्रका सर्वसाधारणलाई लक्षित गर्दै निशुल्क शिविर सञ्चालन गरेको थियो ।

 

 

चट्याङले दुई जनाको ज्यान लियो

दमक/ झापा र मोरङका दुई ठाउँमा चट्याङले लागेर  दुई जनाको मृत्यु भएको छ ।  गौरादह ५ मा परेको चट्याङले लागेर सो ठाउँमा बसोबास गर्दै आएकी पाचँथरको मिक्लाजुङ गाउँपालिका–३ की ५४ बर्षीया दुधकुमार लावतीको मृत्यु भएको हो ।
भान्सा कोठा छेउमा झरेको चट्याङले लाग्दा उनको घटनास्थलमै मृत्यु भएको हो । त्यसै गरी चट्याङले लाग्दा साईकल कुदाईरहेका इटहरी घर भई हाल मोरङको कानेपोखरी गाउँपालिका–१ होक्लाबारी मावली घरमा आएका १२ बर्षीय बालक आबिस्कार बरालको मृत्यु भएको कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ । चटयाङले लागेर घाईते भएका उनको बिराट टिचिङ अस्पताल विराटनगरमा उपचारको क्रममा मृत्यु भएको हो ।

थप पानी पर्ने संकेत किसानलाई राहत

 पूर्वमा मेघगर्जनसहित बर्षा भएको छ ।  सुख्खायाममा भएको बर्षाका कारण किसानहरुले राहतको महसुस गरेका छन् ।  लामो समयको सुक्खा र खडेरीले आहत भएकाहरुलाई यो वर्षाले केही राहत दिएको किसानहरु बताउँछन् ।  मोरङको केराबारीमा गत २४ घण्टामा २५७ मिलिमिटर वर्षा भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

कतैकतै असिना पानी, चट्याङ र पहिरोको कारण भने नागरिकहरु समस्यामा परेका छन् ।
मौसमविद गोविन्द झाले पर्सिदेखि मौसममा क्रमिक सुधार हुने बताए । आजको तुलनामा भोलि र भोलिको तुलनामा पर्सि कम पानी पर्ने उनको भनाइ छ ।
हाल देशमा न्यूनचापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहनुको साथै बङ्गालको खाडीबाट भित्रिरहेको जलवाष्पयुक्त हावाको समेत प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

मौसमविद झाले लगातार भने पानी नपर्ने बताए । केहीबेर रोकिने अनि फेरि पर्ने क्रम दिनभरि नै रहने उनको भनाइ छ । पूर्वदेखि सुदूरपश्चिमसम्मै वर्षा भइरहेको झाले बताए ।
अधिकांश ठाउँमा हल्कादेखि मध्यम खालको वर्षा भएको छ ।

एमाले उर्लाबारीको नेतृत्व चयन, अध्यक्षमा तिम्सिना

उर्लाबारी / नेकपा एमाले उर्लाबारी नगर कमिटीको अध्यक्षमा निरोज तिम्सिना निर्वाचित भएका छन् ।
आज सम्पन्न दास्रो नगर अधिवेशनको निर्वाचन कार्यक्रमबाट उर्लाबारी– ७ निवासी तिम्सिना अध्यक्षमा निर्वाचित भएका हुन् ।

उनले आफना दुई जना प्रतिष्पर्धीलाई पराजित गर्दै अध्यक्षमा निर्वाचित भए ।
तिम्सिनाले ९० मत प्राप्त गर्दा अध्यक्ष पदका प्रत्यासी गोपाल रिमालले ५८ मत र सुरेन्द्र शेर्माले ५१ मत प्राप्त गरे । यसैगरि, उपाध्यक्षमा सुरेश शाक्यले १४४ मत प्राप्त गर्दै विजयी हुँदा प्रतिस्पर्धी योगराज लाबुङले ५३ मत ल्याए ।
सचिवमा चेतन सिग्देलले १४२ मतले विजय हाँसिल गर्दा प्रतिस्पर्धी सुनिल धिमालले ३६ र इन्द्रबहादुर भट्टराईले २० मत प्राप्त गरेका थिए ।
त्यस्तै, उपसचिवमा नितम चौहान १२१ मतसहित विजयी हुँदा उनका प्रतिस्पर्धी भीम श्रेष्ठले ७५ मत प्राप्त गरे ।कुल २०४ जना प्रतिनिधिमध्ये २०२ जनाले मतदानमा भाग लिएको निर्वाचन समितिले जनाएको छ ।

शुल्क बढाउन सहज बनाउँदै दमकका बोर्डिङ स्कूलको वर्गीकरण

दमकको सामुदायिक बिद्यालय व्यवस्थापन समिति महासंघका अध्यक्ष समेत रहेका सरस्वती आधारभूत बिद्यालय दमक २ का बिद्यालय व्यवस्थापन समिति अध्यक्ष रमेश गुरागाइँ बिद्यालयमा बिद्यार्थीहरुको आकर्षण र अभिभावकहरुको विश्वास बटुल्न यतिबेला सडक नाटकसहित समुदायमा पुगिरहेका छन् । उनले बिद्यालय आसपासका अभिभावकहरुमाझ गएर सामुदायिक बिद्यालयको गुणस्तरमा कुनै कमि आउन नदिने प्रतिबद्धतासहित आफ्ना नानीबाबुहरु सामुदायिक बिद्यालयमै पढन पठाउनका लागि अनुनय विनय गरिरहेका छन् ।
बोर्डिङ स्कूलका मालिक भन्दा धेरै मेहेनत गरेर उनी सामुदायिक बिद्यालयको स्तर उकास्न बिगत ३/४ बर्षयता क्रियाशील छन् । समुदायलाई बिद्यालयमा जोडेर उनले बिद्यालयको शैक्षिक अवस्थामा उल्लेखिय सुधार ल्याउन भुमिका पनि खेलिरहेका छन् । यता दमकको स्थानीय सरकार भने बोर्डिङ स्कूलले लिने शुल्क बढाउन प्रेरित गर्दै बोर्डिङ स्कूलहरुको वर्गीकरण र शुल्क निर्धारण गरिरहेको छ ।

बोर्डिङ स्कूललाई शुल्क बढाउन सहज
हाल कायम शुल्क बढाउन सहज बनाउँदै झापाको दमक नगरपालिकाले नगरमा सञ्चालित कूल ६० वटा संस्थागत तथा निजी बिद्यालयहरुको वर्गीकरण गरेको छ ।
स्थानीय सरकारले नगरका १३ वटा बिद्यालयलाई क वर्गमा समावेश गरेको छ । त्यस्तै १३ वटालाई ख वर्गमा, ९ वटालाई ग वर्गमा २३ वटालाई घ वर्गमा समावेश गरेको छ । ४ वटा बिद्यालयलाई ननग्रेड अर्थात अवर्गीकृत सूचीमा राखेको छ । सार्वजनिक गरिएको दर भन्दा न्यून दरमा अहिले बिद्यालयहरुले शुल्क लिँदै आएका थिए । चलिरहेको फरक फरक शुल्क दर भन्दा डेढ गुणा सम्म दर बढाएर बिद्यार्थीका अभिभावकबाट रकम लिन पाउने सहज वातावरण बिद्यालयहरुका लागि नगरपालिकालेनै बनाई दिएको छ । क वर्गमा परेका बिद्यालयका लागि पीजिदेखि युकेजी सम्मको मासिक शुल्क दर ३ हजार ८ सय तोकिएको छ । सोही वर्गका बिद्यालयले सोही तह सम्मका कक्षामा बार्षिक शुल्क ७ हजार ६ सय लिन पाउनेछन भने सोही अनुसार कक्षा पिच्छे बढाउँदै कक्षा १० मा मासिक ५ हजार ८ सय रुपैयाँ सम्म मासिक शुल्क लिन पाउने भनि उल्लेख गरिदिएको छ । क वर्गका बिद्यार्थीसँग प्रमाण पत्र शुल्क नर्सरी सम्म  ९ सय ५०  लिन सकिने उल्लेख गरिएको छ भने परीक्षा शुल्क २ हजार २ सय रुपैयाँ तोकिएको छ ।
माध्यमिक तहको शिक्षा स्थानीय सरकार मातहतमा सञ्चालन हुने संविधानमानै उल्लेख भएपछि र निजी बिद्यालयहरुको शुल्क निर्धारण स्थानीय सरकारले गर्न सक्ने कानुनी व्यवस्थालाई आधार मानेर झापा जिल्लामानै पहिलो पटक दमक नगरपालिकाले यहाँका निजी बिद्यालयहरुको वर्गीकरणसँगै अधिकतम शुल्क दर पनि तोकिदिएको हो ।
नगरपालिका अन्तर्गतको नगर शिक्षा समितिको सिफारिसमा निजी बिद्यालयहरुले बिद्यार्थीका अभिभावकहरुबाट लिन पाउने शुल्क दर नगरपालिकाको शिक्षा शाखाले तोकिदिएपछि यसका बारेमा चौतर्फी भइरहेको आलोचनाका बिषयमा स्थानीय सरकारका जिम्मेवार पदाधिकारीहरु सार्वजनिक रुपमा बोलेका छैनन् ।

चौतर्फी विरोध र आलोचना खेप्दै
शैक्षिक तथा सामाजिक अगुवाहरु, नगर सभा सदस्य र बिद्यार्थीका अभिभावक, कतिपय राजनीतिक दलका नेतृत्वहरु समेत सामाजिक सञ्जालमा नगरपालिकाको शिक्षा शाखाद्धारा जारी गरिएको वर्गीकरण र शुल्क सूचीको विरोधमा उत्रिएका छन् ।
नगर सभा सदस्य समेत रहेका नेविसंघका केन्द्रिय सदस्य अतित वान्तवा राईले यो कदमको खुलेर विरोध गरेका छन् । उनले सामाजिक सञ्जालमार्फत यस किसिमको गम्भिर गल्ती तुरुन्त सच्याउन पनि खबरदारी गरेका छन् । अर्का पूर्व बिद्यार्थी नेता सन्तोष दुलालले पनि नगरपालिकाले गरेको बिद्यालयहरुको वर्गीकरण र शुल्क तोक्ने कामलाई नीतिगत भ्रष्टाचार भनेका छन् ।
उनले यसको कडा शब्दमा प्रतिवाद गरेका छन् । अर्का पूर्व बिद्यार्थी नेता समेत रहेका नेपाली कांग्रेस महासमिति सदस्य अइन्द्र केरुङले स्थानीय शिक्षा समितिले निजी बिद्यालयहरुलाई तहगत बर्गीकरण क्रममा आम दमकबासीको गम्भीर आरोप छ , दमक शिक्षा समितीले यो बिषयलाइ कसरी लिएको छ ? भनि सार्वजनिक रुपमा प्रश्न गरेका छन् ।
नेविसंघ, अनेरास्ववियु र अदिल क्रान्तिकारीले त यो बिषयलाई लिएर नगर प्रमुख राम थापाको कक्षमा पुगेर वर्गीकरण र शुल्क दर सम्बन्धिको निर्णय सच्याउन माग गरेका छन् ।
निजी तथा संस्थागत बिद्यालयहरुका सञ्चालकहरु र शैक्षिक लगानीकर्ताहरु भने आआफ्नो बिद्यालय उत्कृष्ट वर्गमा परेको ब्यहोरा सार्वजनिक गरिरहेका छन् ।
नगरपालिकाका शिक्षा अधिकृत सोम गुरागाइँको हस्ताक्षरसहित नगरपालिकाको आधिकारिक फेसबुक पेजबाट बोर्डिङ स्कूलको वर्गीकरण र शुल्क दरका बारेमा सूचना सार्वजनिक भए पनि सो सम्बन्धिको निर्णयको कुनै दस्तावेज नगरपालिकाको आधिकारिक वेवसाइटमा यो समाचार तयार पार्दा सम्म सार्वजनिक गरिएको छैन ।
बिद्यालयहरुले लिँदै आएको मासिक, शुल्क, भर्ना शुल्क , बार्षिक शुल्क, परीक्षा शुल्क र प्रमाण पत्र शुल्क अधिकतम उल्लेख गरेर यो विवरण सार्वजनिक गरिएको हो ।