रास्वपाले तय गर्यो महाधिवेशन तालिका

काठमाडौं/  राष्ट्रिय स्वतन्त्र पार्टीले महाधिवेशनको नयाँ मिति तोकेको छ । हाल पार्टीको केन्द्रीय कार्यालय वनस्थलीमा जारी केन्द्रीय समिति बैठकले महाधिवेशनको नयाँ मिति तय गरेको हो ।

बैठकले २०८२ असोजसम्ममा वडा अधिवेशन, कात्तिकसम्ममा पालिका अधिवेशन, मङ्सिरसम्ममा जिल्ला अधिवेशन, माघ १५ सम्ममा प्रदेश अधिवेशन सम्पन्न गरिसक्ने निर्णय गरेको छ ।

त्यस्तै २०८२ फागुन ७, ८ र ९ गते चितवनमा राष्ट्रिय महाधिवेशन गर्ने सर्वसम्मतले निर्णय गरेको पार्टी कार्यवाहक प्रवक्ता मनीष झाले बताए ।

हालसम्म राष्ट्रिय स्वतन्त्र पार्टीको १९७५ वडा समिति गठन भइसकेको छ । त्यसमध्ये ७०० वडामा अधिवेशन सम्पन्न भइसकेको झाले जानकारी दिए ।

७५३ पालिकामध्ये ४५८ वटा पालिकामा समिति गठन भइसकेको छ । ७० वटा जिल्लामा भेला आयोजना भएर समिति गठन भइसकेको छ । सातवटै प्रदेशमा समिति गठन भएको छ ।

कोशीका पूर्वमन्त्री खत्रीको बिहे खर्च वृद्धाश्रमलाई

विराटनगर/ कोशी प्रदेशका पूर्वमन्त्री तथा कोशी प्रदेश सभा सदस्य एवं कांग्रेस नेता रामकुमार खत्रीले आफ्नो विहेमा गरिने फजुल खर्च वापतको रकम बृद्धाश्रममा सहयोग गर्ने घोषणा गरेका छन् । उनले बुधबार अन्तरजातीय विवाह गरेका छन् ।
उदयपुरको निर्वाचन क्षेत्र २ (२) बाट निर्वाचित सांसद खत्रीले उदयपुर कटारी–५ की सपना गुरुङसँग विवाह गरेका हुन् । गुरुङ राष्ट्रिय वाणिज्य बैंकमा कार्यरत छिन् ।
काठमाडौंमा सामान्य ढंगले विवाह गरेका उनले आफूले विवाह भोजमा गर्ने खर्च वृद्धाश्रमलाई दिने बताए । कटारी नगरपालिका ३ मा रहेको कृष्ण प्रणामी मन्दिर तथा वृद्धाश्रमलाई भोज नगरेर बचाएको १ लाख रुपैयाँ हस्तान्तरण गर्ने उनले बताए । उनको बुधबार विवाह भएको हो । खत्री कोशी प्रदेशको पूर्व उद्योग, कृषि तथा सहकारी मन्त्री हुन् ।
‘विवाह दुई परिवारको आफन्तमात्रै बोलाएर गरिएको हो,’ खत्रीले भने, ‘धेरै तामझाम गर्दा राम्रो सन्देश नजाने ठानेर नै बिहे भोज नगरी वृद्धाश्रमलाई १ लाख रुपैयाँ हस्तान्तरण गर्ने निर्णय गरेको छु ।’ खत्री काँग्रेसका नेता पनि हुन् ।

दुर्गा प्रसाइँ को जिवनमा उथलपुथल – पीडितहरुको आन्दोलनदेखि जेलको ढोकासम्म

झापामा मेडिकल व्यवसाय सञ्चालन गर्दै राजनीतिक , सामाजिक क्षेत्रमा पनि सक्रिय नेतृत्व गरिआएका र पछिल्लो समय मुलुकको राजनीतिक व्यवस्थानै परिवर्तन गरिछाड्ने उदघोष गरेका दुर्गा प्रसाइँको जिवनमा बर्ष २०८१ ले निक्कै ठुलो उथलपुथल ल्याएको छ ।
शुरुमा वामपन्थी बनेर कम्युनिष्ट पार्टीहरुमा जोडिएका प्रसाइँ पछिल्लो समय बैंक तथा वित्तीय संस्थाहरुले ऋणीका घर जग्गा धितो लिलाम गर्ने हर्कतका विरुद्ध निक्कै आक्रामक ढंगबाट देशव्यापी अभियान उत्रिए ।
गरीब, विपन्नहरुको मात्रै होइन धनाढ्य व्यापारीहरुले लिएको ऋण समेत मिनाहा हुनुपर्ने, बैंकहरुले जथाभावी रुपमा बढाएको ऋणको ब्याजदरमा अंकुश लगाउनुपर्ने उनका अभिव्यक्तिहरुको निरन्तरताले उनलाई बर्ष २०८१ सम्म आई पुग्दा मुलुकको राज्य व्यवस्थानै परिवर्तन गराउने आन्दोलनमानै होमिन हौस्यायो ।
वर्ष २०८१ मा दुर्गा प्रसाईंले राजनीतिक र सामाजिक क्षेत्रमा उल्लेखनीय गतिविधिहरू गरे ।
उनले जनसरकार घोषणा, हिन्दू राष्ट्र स्थापनाको योजना, ठुला ठुला जनप्रदर्शन लगायतका कार्यक्रम मार्फत देशको राजनीतिक परिदृश्यमा प्रभाव पार्ने प्रयास गरे । यद्यपि, उनका गतिविधिहरूका कारण उनले प्रशंसा र आलोचना दुवै खेप्नु परेको छ ।
प्रसाईंको नेतृत्वमा नेपाली राजनीतिक र सामाजिक क्षेत्रमा उल्लेखनीय उथलपुथल भएको महसुस पनि गर्न सकिन्छ ।
व्यवस्था परिवर्तनको हिम्मत गरेर उनले यस बर्षमा चालेका कदमकहरु निक्कै साहसीपूर्ण मानिए । यद्यपी राजनीतिमा अरु पार्टी र नेताहरुको जस्तै उनको पनि छवि राम्रो रुपमा भने बन्न सकेन ।
उनले विभिन्न आन्दोलन, घोषणाहरू र विवादास्पद अभिव्यक्तिहरूमार्फत देशको राजनीतिक परिदृश्यमा प्रभाव पार्ने प्रयास त गरेनै अन्तमा आएर जेलको ढोका सम्म पुरयायो ।
मंसिर ७ गतेको बृहत नागरिक मुक्ति आन्दोलन
प्रसाईंले मंसिर ७ गते काठमाडौंम गणतन्त्र र भ्रष्टाचारको विरुद्धमा आन्दोलन गर्ने घोषणा गरे । उनले राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ अभियानमार्फत देशभरिबाट १० देखि १५ लाख मानिस काठमाडौंमा भेला हुने दाबी गरेका थिए । यद्यपी ४÷५ हजारको संख्यामा मानिसहरु उतार्न उनी सफल भए ।
जनसरकार र हिन्दू राष्ट्र घोषणाको योजना
प्रसाईंले मंसिर ३० गते जनसरकारु घोषणा गर्ने र फागुन १ गते वैदिक सनातन हिन्दू राष्ट्रु घोषणा गर्ने योजना सार्वजनिक गरे । उनले झापामा पूर्वराजा ज्ञानेन्द्र शाहसँग मिलेर हिन्दू राष्ट्र स्थापनाको संकेत दिएका थिए ।
चैत्र १५ गतेको प्रदर्शन
चैत्र १५ गते काठमाडौंमा देश बचाउने संकल्पसहितको विशाल जनप्रदर्शनको घोषणा गरेका उनले बैंक, सहकारी, लघुवित्त पीडित, बेरोजगार युवा, दलित, सीमान्तकृत समुदाय लगायतलाई आन्दोलनमा ठुलो संख्यामा उतारे ।
उनलाई राजावादीहरुको समुहले समेत औपचारिक रुपमानै साथ समर्थन दिँदै ऐक्यबद्धता जनाए । जसको कारण त्यहाँको प्रदर्शन निक्कै चर्चामा रह्यो । प्रदर्शनमा दुई जनाले ज्यान गुमाउनु पर्यो ।
यो घट्नापछि फरार रहेका प्रसाइँ बारबार सामाजिक सञ्जालमा भिडिओ सन्देश सहित आइरहे । उनले आफ्नो सन्देशमा देश छोडेर कतै नभाग्ने, आफ्नो ज्यान खतरामा रहेको जस्तै अभिव्यक्तिहरु दिइरहे । प्रहरीले उनको खोजी तिब्र बनायो । उनका सहयोगीहरुदेखि दाजु सम्म पक्राउ परे ।
२८ चैतमा नेपाल प्रहरीले भारतको आसाम प्रहरीसँगको समन्वयमा उनलाई पक्राउ गर्यो । आसामबाट भारतीय प्रहरीले नै उनलाई नेपाल सम्म ल्यायो । र भद्रपुर विमानस्थल हुँदै काठमाडौ. लगेर जिल्ला सरकारी वकिलको कार्यालयबाट १२ दिन थुनामा राखेर अनुसन्धान गर्ने अनुमति लियो ।
एमालेसँगको सम्बन्ध र असन्तुष्टि
प्रसाईंलाई नेकपा एमालेले केन्द्रीय सदस्यमा मनोनयन गरेपछि पार्टीभित्र असन्तुष्टि देखिएको थियो ।
योगेश भट्टराई, गोकर्ण विष्ट, अष्टलक्ष्मी शाक्य लगायतका नेताहरूले सल्लाहबिना मनोनयन गरिएको भन्दै विरोध जनाएका थिए । अन्तत उनलाई सो पार्टीबाट निकालिए पछि अलग अभियानमा लागे ।
एमाले र ओलीप्रति आलोचना
प्रसाईंले प्रधानमन्त्री केपी शर्मा ओलीको कम्बोडियामा ३२ अर्ब लगानी रहेको फेक डकुमेन्ट सार्वजनिक गरेको आरोप लाग्यो । एमाले नेता महेश बस्नेतले उनलाई सामाजिक अराजकतावादीको संज्ञा दिएका थिए ।

 

कांग्रेसका भातृ संघहरुको महाधिवेशन हुन सकेन

दमक/ नेपाली कांग्रेसका ७ भ्रातृ संघालाई २०८१ को चैत मसान्त भित्र अधिवेशन सम्पन्न गरिसक्न पार्टीले दिएको निर्देशन कार्यान्वयन हुन सकेन । कांग्रेसले चैत मसान्तभित्र महाधिवेशन सम्पन्न गर्न भन्दै १० भ्रातृ संस्थालाई निर्देशन दिएको थियो ।
पार्टीसँग समन्वय गर्न भन्दै पार्टी नेताहरूको नेतृत्वमा महाधिवेशन निर्देशन समितिसमेत बनाएकोमा पार्टीले निर्धारण गरेको समयमा तीन भ्रातृ संस्थाले मात्रै महाधिवेशन सम्पन्न गर्न सकेका हुन् ।
कांग्रेस सभापति शेरबहादुर देउवाले १६ असोजमा भ्रातृ संस्थाहरू तरुण दल, महिला संघ र नेपाल विद्यार्थी संघको महाधिवेशन सम्पन्न गर्न पार्टीका तर्फबाट निर्देशन समिति बनाएका थिए ।
२६ मंसिरमा थप ७ महाधिवेशन सम्पन्न गर्न नसकेका भ्रातृ संस्थाहरू नेपाल दलित संघ, नेपाल किसान महासंघ, नेपाल भूतपूर्व सैनिक संघ, नेपाल लोकतान्त्रिक खेलकुद संघ, राष्ट्रिय लोकतान्त्रिक अपाङ्ग संघ, नेपाल थारू संघ र नेपाल प्रजातन्त्र सेनानी संघको महाधिवेशन निर्देशन समिति बनाएका थिए ।
देउवाले २०८१ चैत्र मसान्तसम्ममा अनिवार्य रूपमा महाधिवेशन सम्पन्न गर्न गराउनका लागि विद्यमान तदर्थ समितिलाई समन्वय र सहयोग र्पुयाई आवश्यक निर्देशन समेत गर्नेगरी निर्देशन समिति बनाएको पार्टी केन्द्रीय कार्यालयले विज्ञप्ति जारी गरेर जानकारी गराएको थियो ।
देउवाले तरुण दलको संयोजक सहमहामन्त्री महालक्ष्मी उपाध्याय, नेविसंघको संयोजक सहमहामन्त्री किशोरसिंह राठोर, महिला संघको संयोजक प्रवक्ता डा. प्रकाशशरण महत, नेपाल दलित संघको संयोजक सहमहामन्त्री जीवन परियार, नेपाल किसान महासंघको संयोजक केन्द्रीय सदस्य रमेश रिजाल, नेपाल भूतपूर्व सैनिक संघ संयोजक केन्द्रीय सदस्य एन.पी. साउद, नेपाल लोकतान्त्रिक खेलकुद संघको संयोजक केन्द्रीय सदस्य मोहनबहादुर बस्नेत, राष्ट्रिय लोकतान्त्रिक अपाङ्ग संघको संयोजक केन्द्रीय सदस्य मधु आचार्य, नेपाल थारू संघ संयोजक केन्द्रीय सदस्य उदयशम्शेर राणा र नेपाल प्रजातन्त्र सेनानी संघ महाधिवेशन संयोजक केन्द्रीय सदस्य प्रा.डा. गोविन्दराज पोखरेललाई तोकिएको थियो ।
तर, माघसम्म महाधिवेशन हुने छाँटकाँट नदेखिएपछि फागुन एक गते पदाधिकारी बैठकमा निर्देशन समितिका संयोजक र सदस्यहरूलाई बोलाएर महाधिवेशनका सन्दर्भमा के–के भइरहेको छ भन्ने जानकारी सभापति देउवाले लिएका थिए ।
त्यो समयमा महाधिवेशन गर्ने निर्देशन समितिका संयोजकहरूले पार्टीले दिएको समयमा महाधिवेशन सम्पन्न गर्न गाह्रो रहेकाले केही समय बढाउन आवश्यक रहेको राय राखेका थिए । तर, पटक–पटक म्याद थप्दा पनि महाधिवेशन हुन नसकेको भन्दै चैत मसान्तभित्रै जसरी पनि गर्न निर्देशन दिइएको बैठकपछि पार्टी प्रवक्ता डा. महतले सञ्चारकर्मीहरूलाई जानकारी दिएका थिए ।
पार्टीको निर्देशन बमोजिम नेपाल प्रजातान्त्रिक सेनानी संघ, राष्ट्रिय लोकतान्त्रिक अपाङ्ग संघ र नेपाल भुतपूर्व सैनिक संघले मात्रै महाधिवेशन सम्पन्न गरेर नयाँ नेतृत्व चयन गरेका छन् ।
फागुन तेस्रो साता भएको भूतपूर्व सैनिक संघको महाधिवेशनबाट अध्यक्षमा गर्जबहादुर गुरुङ निर्वाचित भएका छन् । त्यस्तै प्रजातन्त्र सेनानी संघको फागुन ७–१० मा भएको दोस्रो महाधिवेशनबाट अध्यक्षमा बालकृष्ण दाहाल निर्वाचित भए । महाधिवेशनले उपाध्यक्षमा ध्रुवबहादुर मल्ल, महामन्त्रीमा तेज प्रसाद सुवेदी तथा ९४ जना केन्द्रीय सदस्य निर्वाचित गर्यो ।
लोकतान्त्रिक अपाङ्ग संघको महाधिवेशनबाट अध्यक्षमा माधव प्रसाद चम्लागाईं निर्वाचित भए । संघको महाधिवेशन भने विवादित भयो । महाधिवेशनमा असन्तुष्टि जनाउँदै विकास थापाको नेतृत्वमा समानान्तर समिति बनेको छ ।

बाँकी ७ भ्रातृ संस्थाले भने अहिलेसम्म महाधिवेशन गर्न लागेको जानकारी केन्द्रीय कार्यालयमा आइनपुगेको कांग्रेस केन्द्रीय कार्यालयका सचिव प्रकाश शर्माले जानकारी दिए । महाधिवेशन गर्न नसक्ने भ्रातृ संस्थामा तरुण दल, नेपाल विद्यार्थी संघ, नेपाल महिला संघ, थारु संघ, नेपाल दलित संघ, नेपाल किसान महासंघ र नेपाल लोकतान्त्रिक खेलकूद संघ छन् ।

बिक्रम संवत २०८२ प्रारम्भ

काठमाडौं/ आज विक्रम संवत् २०८२ साल वैशाख १ गते नयाँ वर्षको पहिलो दिन । देशभर एकआपसमा शुभकामना आदानप्रदान गरी हर्षोल्लास साथ मनाइँदैछ ।

आज सूर्यले मीन राशिको भोग समाप्त गरी मेष राशिबाट भोग सुरु गर्ने दिन, वैशाख सङ्क्रान्ति अर्थात् मेष सङ्क्रान्ति तथा वर्षको पहिलो दिन पनि हो । सूर्यको गतिसँग चल्ने भएकाले विक्रम संवत् शाश्वत भएको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका पूर्वअध्यक्ष माधव भट्टराई बताउँछन् ।

‘विक्रम ६० संवत्सरमध्ये एक र आदित्य सूर्यसँग सम्बन्धित भएकाले यसलाई विक्रमादित्य संवत् भनिएको हो, सूर्यको गति र स्थिति अनुसार विक्रम संवत् चल्दछ, शक संवत्का विशेषतादेखि इश्वी संवत्का व्यावहारिक गुण यसभित्र समावेश गरिएको छ’, उनले भने ।

सूर्य मेष राशिमा प्रवेश गर्दा सुरु भएर मीन राशि छोड्दा यो संवत्को पुरानो वर्ष सकिएर नयाँ वर्ष लाग्ने भएकाले वैज्ञानिक रहेको विद्वानहरुको भनाइ छ । सौरमान र चान्द्रमानको समन्वय पनि यो संवत्मा भएको छ । कलि युग सुरु भएको तीन हजार ४४ वर्षपछि विक्रम संवत् सुरु भएको हो ।

हरेक व्यक्तिले आज गत वर्ष गरेका कामको सफलता, असफलता मूल्याङ्कन गरी असफलता दोहोरिन नदिने र सफलता प्राप्त गर्न योजना निर्माण एवं सङ्कल्प गर्दछन् । यसदिन बिहानै नुहाउने, घरकोठा–आँगन सफा गर्ने, मठ मन्दिरमा गई पूजा आराधना एवं दर्शन गर्ने, मीठोमीठो खाने, साथीसङ्गी तथा इष्टमित्रसँग भेटघाट गरी एक आपसमा शुभकामना आदानप्रदान गर्ने गरिन्छ । विश्वका जुनसुकै कुनामा बस्ने नेपालीले वैशाख १ गतेलाई नयाँ वर्षका रुपमा मनाउँछन् ।

चान्द्रमान अनुसार चैत्र शुक्ल प्रतिपदाका दिन नै सुरु हुने नयाँ संवत्सर भने चैत १७ गतेदेखि नै सुरु भइसकेको छ । चैत १७ गतेदेखि सिद्धार्थी नामको संवत्सर सुरु भएको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अध्यक्ष प्रा श्रीकृष्ण अधिकारीले बताए ।

वैदिक सनातन हिन्दू धर्म अनुसार ६० संवत्सर छन् । यी संवत्सर आदि अनादिकालदेखि घुम्दै आएका छन् । षष्टि संवत्सरमध्येको पहिलोको नाम प्रभव हो । अहिले चलिरहेको सिद्धार्थी ५३ औँ संवत्सर हो ।

 

प्रधानमन्त्री ओलीका लागि विवादास्पद बर्ष २०८१

वि.सं. २०८१ साल नेपालका प्रधानमन्त्री के.पी. शर्मा ओलीका लागि राजनीतिक, कूटनीतिक, र आर्थिक दृष्टिकोणले मिश्रित अनुभवहरूको वर्षका रुपमा बित्यो ।

यो वर्ष उनले मुलुकमा चौथो पटक प्रधानमन्त्रीको पद सम्हाल्ने अवसर जुर्यो । असारको ३० गते ओली मुलुकमा चौथो पटक प्रधानमन्त्रीमा नियुक्त भए । उनलाई राष्ट्रपति रामचन्द्र पौडेलले नियुक्त गरे । श्रावण ६ गते संसदबाट विश्वासको मत लिए ।

मुख्य प्रतिस्पर्धी दल नेपाली कांग्रेसबाट समेत विश्वासको मत पाएपछि उनले सोही दिन नेपाली राजनीतिमा आश्चर्यजनक मानिएको कांग्रेस–एमालेबीचको सहमति पत्रनै वाचन गरेर संसदमा सुनाए ।

१७ असारमा कांग्रेससँग भएको सहमति अनुसारनै ओलीले कांग्रेसबाट विश्वासको मत पाएका थिए ।

प्रचण्डलाई आफैं प्रधानमन्त्री प्रस्ताव गरेर यसअघि प्रधानमन्त्री बनाएका ओलीले कांग्रेससँग सहकार्य गर्दा आफैं प्रधानमन्त्री हुने मौका पाए ।

यद्यपी प्रधानमन्त्रीको हैसियतमा ओलीले चालेका प्रयासहरू विभिन्न विवाद, चुनौती, र अवसरहरूका रुपमा परिणत भएका छन् ।

प्रधानमन्त्री नियुक्तिको पाँच महिनापछि १६ मसिंरमा ओलीले आफ्नो पहिलो विदेश भ्रमणको रूपमा चीनको यात्रा गरे ।

परम्परागत रूपमा भारतलाई नेपालका प्रधानमन्त्रीहरुले पहिलो गन्तव्य बनाउने गरेका थिए यसलाई तोड्दै ओलीले चीनसँगको सम्बन्धमा पाइला अघि बढाए । नेपाल र चीनबीच बेल्ट एण्ड रोड इनिसिएटिभ (बीआरआरआइ) अन्तर्गत सहकार्यको लागि एउटा ढाँचागत सम्झौतामा हस्ताक्षर भयो ।

तर, वित्तीय पक्षमा नेपालभित्रै विवादहरू उठे । स्वयं सत्तारुढ पार्टीका सांसदहरुले पनि यसको बिरोधमा संसदमै आवाज उठाए ।

प्रधानमन्त्री पदमा पुनरागमनदेखि चीनसँगको सम्बन्ध विस्तार, भारतसँगको सीमा विवाद, आन्तरिक पार्टी कलह जस्ता घटनाक्रमहरूले उनको नेतृत्व क्षमताको परीक्षा लियो ।

पार्टी भित्र र बाहिरको आक्रमण

उनले बर्ष २०८१ मा नै आफ्नै पार्टीका नेता, पार्टी महाधिवेशनमा अध्यक्ष पदमा आफूसँग प्रतिस्पर्धामा आएका डा. भिम रावललाई पार्टीबाट निकाले ।

१० पुषमा रावललाई ओलीकै इच्छा बमोजिम पार्टीबाट निष्काशन गरियो ।

यस क्रममा उनले नेता रावलबाट दर्जनौं बुँदामा आरोप खेप्नु पर्यो ।

त्यति मात्रै होइन एमाले अध्यक्ष एवं प्रधानमन्त्री ओलीले देशका प्रमुख स्थानीय तहहरुमा निर्वाचित मेयरहरुसँग पनि टकरावको सामना गर्नु पर्यो ।

काठमाडौंका मेयर बालेन्द्र साह र धरानका मेयर हर्क साम्पाङले ओली विरुद्ध बारम्बार सामाजिक सञ्जालमा प्रहार गरे ।

रास्वपा सभापति एवं आफ्नै सत्ता सहकार्यमा एकपटक उपप्रधानमन्त्री तथा गृह मन्त्री बनाइएका रवि लामिछाने पक्षधरहरुको पनि सामाजिक सञ्जालमा कडा प्रहार सहनु पर्यो ।

अन्तत ओली नेतृत्वको सरकारको सक्रिय भुमिका पछि सहकारीमा करोडौं अपचलन गरेको आरोप लागेका रवि लामिछाने प्रहरी फन्दामा परे ।

नातीसँग बिग्रीएको सम्बन्ध

प्रधानमन्त्री ओलीले कुनै बेला आफ्नै नाती सो सरह माया गरेर संरक्षकत्व प्रदान गर्दै आएका दुर्गा प्रसाइँको प्रहार उनले झनै नराम्ररी झेल्नु पर्यो ।

१५ चैतमा काठमाडौंको तीनकुनेमा प्रसाइँको नेतृत्वमा भएको प्रदर्शनपछि उत्पन्न परिस्थितीका कारण बर्षको अन्तिम दिन तिर आइपुग्दा २९ चैतमा ओली नेतृत्वको सरकारले उनलाई प्रहरीको खोरमा पुरयाई छाड्यो ।

संयोग यस्तो पनि पर्यो कि प्रसाइँलाई आसामबाट भारतीय प्रहरीले झापा ल्याएर नेपाल प्रहरीको जिम्मा लगाउँदै गर्दा प्रधानमन्त्री ओली काठमाडौंबाट झापा आउँदै थिए ।

दमकमा पनि विवाद

आफ्नै निर्वाचन क्षेत्रमा पर्ने दमक ३ मा अरब बढीको भ्यु टावर बनाएर विवादस्पद बनेका प्रधानमन्त्री ओलीले बर्ष ८१ मानै यसको नाम विजनेश कम्प्लेक्स बनाएर उदघाटन गरे ।

३० चैतमा गृह जिल्ला झापाको दमकमा पार्टीले आयोजना गरेको जनसभालाई सम्बोधन गर्न आएका ओली यहाँ पनि विवादबाट टाढा बस्न सकेनन् ।

उनले दमकमा सभालाई सम्बोधन गर्दै गर्दा सहभागीहरु सभा छोडेर बाहिरिएको दृश्य सामाजिक सञ्जालमा भाइरल बन्यो ।

बर्ष २०८१ को अन्तिम दिन ३१ चैतमा ओलीले गौरादहमा यसअघिनै निर्माण शुरु भएर झण्डै २० प्रतिशत काम भइसकेको गौरादह नगर अस्पतालको शिलान्यास गरे । यसले उनलाई लाग्दै आएको शिलान्यास मोह, बिकासमा राजनीतिक हस्तक्षेपको आरोपलाई पथ पुष्ट्याइँ गर्न टेवा दियो ।

२०८२ मा राजतन्त्र फर्किने पूर्वराजाको संकेत

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले नयाँ वर्ष २०८२ को शुभकामना दिएका छन् । आइतबार सामाजिक सञ्जालमा एक भिडियोमार्फत उनले शुभकामना व्यक्त गरेका हुन् ।

उनले शुभकामना दिएसँगै चैत १५ गते राजावादी आन्दोलनका क्रममा भएको घटनाबारे दु:ख व्यक्त गरेका छन् । उनले नेपाली जनतामा देश र भविष्यलाई लिएर पैदा भएको जागरूकतालाई सकारात्मक रुपमा लिएको बताएका छन् ।

उनले राम्रो, नराम्रो, जन गुनासो गुणगान शून्य परम्परा र संस्कार भएको स्थानमा मात्रै वास्तविक प्रजातन्त्र हुने बताए । उनले नयाँ वर्ष २०८२ मा नेपाली जनताले चाहे अनुसारको परिणाम हासिल हुने बताए ।

मुलुकमा व्याप्त अशान्ति, अराजकता, निराशा र असन्तुष्टिबाट आम नेपालीलाई मुक्त गर्न नेपालको राज संस्थाले जहिले पनि योगदान पुर्याउदै आएको बताएका छन् ।

पीडितले न जग्गा पाए न मुआब्जा नै

मोरङ/ मोरङको पथरी शनिश्चरे नगरपालिका स्थित जिरिखिम्तीका स्थानीय वासिन्दाले सडक बनेको आफ्नो नम्बरी जग्गाको मुआब्जा मागेको वर्षौ भइसक्दा पनि हाल सम्म मुआब्जा पाएका छैनन् । पूर्व–पश्चिम महेन्द्र राजमार्गअन्तर्गतको यो खण्डको वयरवन–९ (थ) को ६४ नमबर कित्तामा बाटो बनेको हो ।

१९७० सालमा नापी भएर कित्ताकाट भएको यो जग्गामा त्यसको ५३ वर्षपछिमात्रै सडक नापी भएको हो । आफ्नो नम्बरी जग्गामा मुख्य राजमार्ग बनेपछि उनीहरु मुआब्जा माग्दै संघर्ष गर्दै आएका थिए । अहिले आएर काकडभिट्टा–लौकही सडक आयोजना पश्चिम खण्ड इटहरी सुनसरीले सडक विस्तार गर्ने योजना बनाएपछि ४१ घरपरिवारको बिचल्ली हुने भएको छ । सडक बनाउने बेलामा नापी गर्दा १ सय फुट चौडाको सडक बनाउने भनिए पनि सडकले १ सय ६५ फुट क्षेत्रफल ओगटेको छ ।

समस्या समाधानका लागि समन्वय समितिका संयोजक मदन पोखरेलले सडकले आफूहरुलाई त्यो बेलादेखिको नै मुआब्जा दिनुपर्ने बताए । ‘अहिले सडक विस्तार गर्ने भनिएको छ त्यसो हुँदा हाम्रा सबै घर पर्छन् र हाम्रो बिल्लीबाठ हुन्छ’ पोखरेलले भने ‘हामीले पटकपटक आन्दोलन गरेपछि अहिले तत्काल सडक विस्तार कार्य रोकिएको छ तर कुन दिन घर भत्किने हो टुंगो छेन ।’ पोखरेलले कि सडकले आफ्नो ठाउँमा सडक सार्नुपर्ने कि अहिले बसेको ठाउँको जग्गा आफ्नो नाममा सारिदिनुपर्ने बताएका छन् । अहिले उनीहरु बसोबास गर्दै आएको जग्गा सडकको नाममा र उनीहरुको नम्बरी जग्गाको धनीपुर्जा भए पनि त्यो जग्गामा सडक कुदेको छ । पोखरेलले आफ्नो नाममा जग्गा नभएकोले बैंकमा राख्न पनि समस्या भएको बताए ।

‘बैंकमा जग्गा राखेर केही काम गरौं भन्दा पनि पाइएको छैन किनभने हामी बसेको जग्गा सडकको नाममा छ, हाम्रो जग्गामा सडक छ’ पोखरेलले भने ‘यो समस्या पुरानो हो त्यतिबेलादेखि नै हामी संघर्ष गर्दै आएका छौं तर पनि हाम्रो कुरा सुनुवाई हुन सकेन ।’ उनले मालपोतमा आफ्नो नामको जग्गाको कर तिरिरहेको पनि जनाएका छन् । समस्या बढ्दै गएपछि धेरै पटक छलफल भएको पोखरेलले बताए । केहीअघि भएको सार्वजनिक सुनुवाइमा पनि यो समस्या समाधान गर्ने सहमति भए पनि कार्यान्वयन नभएको उनको गुनासो छ । पीडितहरुले सडक रहेको आफ्नो जग्गाको सट्टा साेही ठाँउकाे जग्गा सट्टापट्टा गरिदिनु पर्ने वा मुआब्जा दिनुपर्ने भन्ने माग राखेका छन् ।

काकडभिट्टा–लौकही सडक आयोजना पश्चिम खण्ड इटहरी सुनसरीका आयोजना प्रमुख जगत प्रजापतिले समस्या समाधानका लागि धेरै छलफल भइरहेको बताएका छन् । ‘धेरैअघिबाट यसबारे ‘वर्कआउट’ भएको छ, दक्षिणतिर सडक बिस्तार गर्दा अलिक सजिलो हुन्छ कि भन्ने लाग्छ’ आयोजना प्रमुख प्रजापतिले भने ‘दक्षिणतिर सडकको जग्गा भएकाले पनि त्यो विकल्प सहज हुन्छ भन्ने लाग्छ ।’ प्रजापतिले स्थानीयको माग सम्बोधनका लागि विभिन्न ढंगले छलफल भइरहेको जनाए । उनले सडकको जग्गा एकातिर र सडक अर्कैतिर रहेको हुँदा समस्या भएको बताए । उनले १० मिटर चौडा बाटोलाई बढाएर २४ मिटर चौडाको बनाउने योजना अघि बढेको जनाएका छन् । ‘सडक विस्तार हुँदा पुरानो समस्या समाधान गरेर जाउँ भन्ने उहाँहरुको माग पनि जायज नै हो’ प्रजापतिले भने ।

नगरपालिकाका प्रवक्ता नविन कार्कीले समस्याको समाधान कसरी गर्न सकिन्छ भनेर पटक–पटक छलफल भएको बताए । ‘सडक, ठेकेदार र पब्लिकसँग यसबारेमा विभिन्न चरणमा छलफल भएको छ, क्षति नहुने गरी अघि बढ्नुपर्छ’ प्रवक्ता कार्कीले भने । वडाध्यक्ष जीवन खतिवडाले पनि प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा रहेको समितिले समस्या समाधानका लागि छलफल गरेको बताएका छन् । ‘सिडियो साहेबको अध्यक्षतामा भएको समितिले एक–दुइवटा छलफल गरिसकेको छ, समस्याको विषयमा सबै गम्भीर छौं ।’ मोरङका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले पनि यस विषयमा छलफल भइरहेको बताए । ‘छलफल भइरहेको छ, समस्याको समाधान हुन्छ, समाधान निस्किँदैन भन्ने मलाई लाग्दैन ।

शिवसताक्षीका उप्रेती बहुबिबाह मुद्धामा पाँच बर्षपछि पक्राउ

दमक/ पाँच बर्ष अघि बहुबिबाह मुद्धा लागेका झापा शिवसताक्षी ४ बोलोचोकका एक जना पक्राउ परेका छन् ।
फरार प्रतिवादीको सूचीमा रहेका सो ठाउँका ४४ बर्षिय रेवतदास उप्रेती शनिबार पक्राउ परेका हुन् ।

उनलाई शनिबार दिउँसो करिब साढे ३ बजे इलाका प्रहरी कार्यालय झिलझिलेको टोलीले बोलोचोकबाटै पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालय झापाका अनुसार उप्रेती विरुद्ध जिल्ला अदालत झापाबाट बहुबिवाह मुद्धामा २०७६ साल असोज २ गते एक बर्ष दुई महिना कैद र दश हजार रुपैयाँ जरिवाना तोकिएको थियो । उनलाई आइतबार अदालतमा पेश गरिने प्रहरीले जनाएको छ ।

साहित्यकार धनकुटे कान्छा काठमाडौंमा सम्मानित

 दमक/ हरेक वर्ष मोफसलमा रहेर भाषा, साहित्य,कला, सँस्कृतिको क्षेत्रमा समर्पित मध्ये एक जनालाई प्रदान गरिने नइ देरुनीख गौरव पुरस्कार २०८० बाट झापा दमकका साहित्यकार शंकर चापागाइँ ( धनकुटे कान्छा) सम्मानित भएका छन् ।
काठमाडौंस्थित आम्रपाली ब्याक्वीटको सभाहलमा आयोजित एक कार्यक्रममा उनलाई प्रकाशनका कुलपति इन्दिरा प्रसाई तथा सदस्य सचिव नरेन्द्रराज प्रसाईं साथै कार्यक्रमका प्रमुख अतिथि प्रा. चेतोनाथ शर्मा आचार्यले नगद ५०,००० ( पचास हजार ) , ताम्रपत्र, मेडल र मायाको चिनोसहित सम्मान गरेका हुन् ।
सो पुरस्कार रामबाबु प्रसाई तथा उनका परिवारको नाममा स्थापना गरिएको हो । साहित्यकार धनकुटे कान्छालाई भाषा,साहित्य,कला, सस्कृति साथै शिक्षाको क्षेत्रमा विधागत तथा संस्थागत विकासमा ३ दशक भन्दा लामो समयदेखि मोफसलमा रहेर पुर्याउँदै आएको योगदानका लागि यो पुरस्कार प्रदान गरिएको बताइएको छ ।
धनकुटे कान्छा कवि,गजलकार, समीक्षक, सम्पादक,स्तम्भकार एवम् साहित्यिक अभियन्ताका रुपमा परिचित स्रष्टा हुन्। ।
उनका पाँच मौलिक कृतिहरु प्रकाशित छन् भने विभिन्न खोजमूलक ग्रन्थ तथा साहित्यिक प्रकाशनहरु सम्पादित कृतिहरु छन्। । उनी नेपालकै पहिलो चरा कराउने कलाकार समेत हुन् । उनको भाषिक,साहित्यिक तथा व्यक्तित्व विषयमा स्नात्तकोत्तर तहका लागि ३ जनाले सोधपत्रसमेत लेखेका छन्।् ।

सोही अवसरमा देश विदेशका लब्धप्रतिष्ठित नेपालीभाषी के. बी. नेपाली, प्रा. गोपीकृष्ण शर्मा,ध्रुव थापा,डा. वसन्त पन्त ,डा. शान्ति क्षेत्री, डा. जीवन नाम्दुङ, रञ्जीत गजमेर , राधिका गुरागाँईलगायतका विभिन्न विधाका स्रष्टाहरुलाई विभिन्न पुरस्कारबाट सम्मान गरिएको आयोजक संस्थाले जनाएको छ ।