कमलमा हत्या र जवरजस्तीकरणीका दुई आरोपी पक्राउ

दमक/ झापाको कमल गाउँपालिकाका दुई अलग अलग आपराधिक घटनामा संलग्न दुई जना पक्राउ परेका छन् । वडा नम्बर ७ का एक जना पुरुष एक जना नाबालिक आफ्नी झट्केली छोरीलाई जवरजस्तीकरणी गरेको आरोपमा पक्राउ परेका हुन् ।
३ असारमा पक्राउ गरिएका उनीमाथी प्रहरीले जवरजस्तीकरणी मुद्धामा झापा जिल्ला अदालतबाट म्याद थपको आदेश लिएर थप अनुसन्धान अघि बढाएको छ ।
हाल पाँच दिनको म्याद लिएर अनुसन्धान अघि बढाइएका  ति पुरुषले दोश्रो विवाह गरि ल्याइएकी श्रीमतीका पहिलाका पति तर्फकी नाबालिका फरक क्षमता राख्ने छोरीमाथि केही बर्ष अघिदेखि पटक पटक जवरजस्तीकरणी गर्ने गरेको उजुरी परेको बताइएको छ । ति बालिकाले आफूलाई पढाउने महिला शिक्षकलाई आफूमाथि भइरहेको घट्नाबारे जानकारी गराएपछि घट्ना बाहिर आएको बताइएको छ ।
त्यसैगरी कमल गाउँपालिका वडा नम्बर ४ सितापुरी चोक बस्ने ३५ वर्षीय सूर्य बिक्रम लिम्बुमाथी ढुङ्गाले हानेर हत्या गरेको आरोपमा सोही ठाउँका ३७ वर्षीय देवेन्द्र लावतीलाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
देवेन्द्रले विवादको क्रममा बिहीबार साँझ ढुङ्गा प्रहार गर्दा गम्भीर घाइते भएका सूर्य बिक्रमको न्युरो अस्पताल विराटनगरमा शुक्रबार बिहान मृत्यु भएको प्रहरीले जनाएको छ ।

साहित्यकला संगमको पुरस्कार वितरण र उत्कृष्ट शिक्षक सम्मान

दमक/ साहित्य कला सङ्गमको आयोजनामा तुलसादेवी न्यौपाने स्मृति पुरस्कार वितरण कार्यक्रम सम्पन्न भएको छ । हिमालय मा. बि. र पृथ्वी मा बि का १०/१० जना बिद्यार्थीलाई जनही तीन हजारका दरले पुरस्कृत गरिएको थियो ।
उत्कृष्ट शिक्षकको रुपमा हिमालय मा बि कि शिक्षिका नैनकला थेवेलाई नगद पाँच हजार सहित सम्मान गरिएको थियाो ।
पुरस्कृत शिक्षिका तथा बिद्यार्थीहरुलाई टिका माला र प्रमाण पत्रले सम्मान गरिएको थियो । साथै साहित्य कला सङ्गम दमकले सिर्जनशिल रचना वाचन कार्यक्रमको ५२ औं श्रृङ्खला पनि सम्पन्न गरेको छ ।
सुर्यदर्शन साकोसको कार्यलयमा भएको पुरस्कार बितरण कार्यक्रममा दुई दर्जन भन्दा बडी साहित्यकारहरुले रचना वाचन गरेका थिए ।
रचना वाचन गर्नेहरुमा साहित्य कला सङ्ग,दमकका उपाध्यक्षहरु यादवप्रसाद अधिकारी र दुर्गा काफ्ले,कोषाध्यक्ष ओमप्रसाद खनाल, साहित्यकारहरु कृष्ण उदासी,भुपेन्द्र तिम्सिना,अम्बिका प्रसाद सापकोटा , बिरेन्द्र खडका , डा. लेखनाथ न्यौपाने, बिवेक दुलाल क्षेत्री, गोपाल दहाल, जीवनहरि शर्मा, जयनारायण भट्टराई, किशोर खनाल,पदमप्रसाद ओली ,डिल्लीराम निरौला रहेका छन ।
कार्यक्रममा हिमालय मा बि पुर्व बिद्याथी समुह २०४४ को तर्फबाट दुईजना बिद्यार्थीलाई समेत पुरस्कृत गरिएको थियो ।
साहित्यकला सङ्गमका सल्लाहाकार समेत रहेका शैक्षिक व्यक्तित्व प्राध्यापक कमल प्रसाद बस्तिको प्रमुख आतिथ्यमा भएको सो कार्यक्रममा साहित्य कला सङ्गमका पुर्व अध्यक्ष नरपति पाण्डे ,प्रतिभा निकेतनका पुर्व अध्यक्ष खेमलाल पोख्रेल, बर्तमान अध्यक्ष कमल प्रसाद भट्टराई, साहित्यकारहरु जीवन हरि शर्मा, जयनारायण भट्टराई, हिमालय मा बिका सहायक प्र.अ. कृष्णप्रसाद बराल, पृथ्वी मा विका प्र अ बिष्णु राईको बिशिष्ठ आतिथ्यता रहेको थियो । कार्यक्रम साहित्य कला सङ्गमका अध्यक्ष विष्णु न्यौपानेको अध्यक्षतामा भएको थियो भने कार्यक्रमको सञ्चालन सङ्गमका कोषाध्यक्ष ओमप्रसाद खनालले गरेका थिए ।

 

एयर पेस्तोल र पाँच राउण्ड गोलीसहित भारतीय पक्राउ

दमक/ झापाको मेचीनगर ६ स्थित काँकरभिट्टा बसपार्कबाट प्रहरीले एक जना भारतीयलाई एयर पेस्तोल र त्यसमा लाग्ने पाँच राउण्ड गोलीसहित पक्राउ गरेको छ ।
शुक्रबार ७.२० बजे इलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट गोप्य सूचनाका आधारमा खटिएको प्रहरी टोलीले भारत दुर्गानगर सिलिगुडी बस्ने ३५ बर्षिय जय प्रकाश कुमार पाठकलाई पक्राउ गरेको हो । WB 70 G 3232  नम्बरको कार भित्र सिटमुनी लुकाएर राखिएको अवस्थामा दुई थान खुकुरीसहित ति हातहतियार बरामद भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । उनीमाथी थप अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।

तीन दलका शीर्ष नेताको बैठक बस्दै

प्रमुख तीन राजनीतिक दलका शीर्ष नेताको बैठक आज (शुक्रबार) बस्ने भएको छ । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा दिउँसो २ बजे बैठक बस्ने तय भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

 प्रमुख ३ दलको बैठक बुधबार र बिहीबार बस्ने भनिए पनि नेताहरूको व्यस्तताका कारण बस्न सकेको थिएन ।

भिजिट भिसा प्रकरणमा छानविनको माग राख्दै संसदमा भइरहेको अवरोध खुलाउने, बजेटमाथिको छलफल र विधेयकहरू अघि बढाउने विषयमा छलफल गर्न प्रमुख तीन दलका शीर्ष नेताको बैठक बस्न लागेको हो ।

नेकपा माओवादीले संसद् अवरोध खुलाउन सहमति गरेपनि चौथो दल रास्वपा र अर्को दल राप्रपा विरोधमा छन् । जसले गर्दा महत्त्वपूर्ण विधेयक अघि बढाउन र विरोध विनै बजेटमाथिको छलफल गर्न सम्भव भएको छैन ।

सिँचाई महसुलमा ५० प्रतिशत अनुदान, स्प्रे टेंकी र ठेला वितरण , ४ नम्बरमा गुनासै गुनासा

कमल/  झापाको कमल गाउँपालिकाले किसानहरुलाई प्रत्यक्ष लाभ पुग्ने किसिमका कार्यक्रमहरुलाई अघि बढाएको छ ।
गाउँपालिकाको कृषि विकास शाखाबाट सञ्चालित त्यस्ता कार्यक्रमहरुमा लाभग्राहीको छनोट गरिँदा निष्पक्ष र पारदर्शीताको अभाव देखिएको कतिपय वडाबासीहरुले सार्वजनिक रुपमा गुनासो गरेका छन् ।
गाउँपालिकाले सिँचाईमा ५० प्रतिशत अनुदान दिने कार्यक्रम अघि बढाएको छ । यसअघि कृषि क्षेत्रमा सिँचाईका लागि किसानहरु र समुहलाई सिँचाई मिटर उपलब्ध गराउँदै आइएकोमा पछिल्ला तीन बर्षयता भने सिँचाईको बिद्युत मोटरमा उठेको बिद्युत महसुल वापतको कूल रकमको आधा अर्थात पचास प्रतिशत नगदै अनुदान दिने व्यवस्था छ ।
गाउँपालिकाका कृषि शाखा प्रमुख महेन्द्र बोहोराका अनुसार सिँचाईका लागि बिद्युत मोटर वितरण गरिँदा थोरै किसानले मात्रै फाइदा लिने र धेरै किसान यो सुविधाबाट बञ्चित हुने भएकाले सबै किसानहरुलाई समान रुपमा अनुदान पुगोस भन्ने उद्धेश्यले सिँचाई महसुलमा पचास प्रतिशत अनुदान दिने नीति अख्तियार गरिएको हो ।
यो कार्यक्रमका लागि गाउँपालिकाले यस बर्ष कूल ११ लाख रुपैयाँ विनियोजन गरेको थियो ।

गत फागुनमा गाउँपालिकाले सार्वजनिक सूचना निकालेर किसानहरुलाई बैशाख सम्मको सिँचाई महसुल वापतको बिल जेठ १५ गते सम्ममा पेश गर्न भनेको थियो । गाउँपालिकाका कृषि शाखा प्रमुख बोहोराका अनुसार गाउँपालिका भरीका करिब २ हजार भन्दा बढी किसानले सिँचाईको बिद्युत महसुलमा अनुदानका लागि वडा वडामै निवेदन दिएका छन् । उनीहरुले दिएको निवेदन र पेश गरेको बिलका आधारमा यस बर्ष करिब ८ लाख रुपैयाँ किसानहरुलाई सिँचाई महसुलमा नगद अनुदान दिइनेछ ।

बोहोराले भन्नु भयो– कतिपय किसानहरुले सिचाइँ महसुल थोरै भएकाले पनि अनुदान लिन खोज्नु भएन । १ र ७ नम्बर वडामा चाहिं एउटै किसानले ५/७ हजार रुपैयाँ सम्म पनि सिँचाई महसुलमा अनुदान पाउनु भएको देखिन्छ । किसानले वास्तविक रुपमै तिरेको महसुलमा मात्रै अनुदान पाउनु हुन्छ , यो एकदमै पारदर्शी रुपमा वितरण हुने अनुदानका रुपमा देखिएको छ र अरु पालिकाहरुले पनि यस्तो कार्यक्रम रोजेका देखिन्छ ।
वडा नम्बर ४ का किसानले राखे गुनासै गुनासा
यसैबीच कमल गाउँपालिकाको ४ नम्बर वडाका किसानले अनुदानका कार्यक्रमहरुबारे सुसुचित नगराएको गुनासो गरेका छन् । कार्यालयको आधिकारिक फेसबुक पेजमार्फत अनुदानका स्प्रे टेंकी र ठेला प्राप्त गर्ने किसानको सुची सार्वजनिक भएपछि वडाबासीले सो पोष्टमार्फत आफ्नो प्रतिक्रिया दिँदै तिब्र असन्तुष्टि पोखेका छन् । उनीहरुले अनुदानका सामग्री पाउने किसानको छनोटमा पारदर्शीता नभएको आशय राखेका छन् ।

अनुदानका स्प्रे टेंकी पाउने किसानले नगद १ हजार ५० रुपैयाँ र ठेला पाउने किसानले २ हजार ४ सय रुपैयाँ वडा कार्यालयको कृषि शाखामा जम्मा गर्नुपर्ने सूचनामा उल्लेख छ । जेठ २५ गते जारी भएको सो सूचना फेसबुकमा पोष्ट गरिएपछि स्थानीय रेवतीकुमार श्रेष्ठले प्रतिक्रिया दिँदै एकै घरका दुई जना समेत अनुदान पाउने सूचीमा देखिएको तर आफूलाई यस बिषयमा पूर्व जानकारी वा सूचना नभएको आसय  राख्नु भएको छ । अर्का स्थानीय सविन निरौलाले अनुदान माग गर्ने निवेदन कहिले खुल्यो भन्ने थाह हुन नसकेको गुनासो  गर्नु भयो ।  सर्वसाधारणले पटक पटकका अनुदान एकै व्यक्तिलाई पर्ने गरेको भन्दै छनोट प्रकृयामा प्रश्न पनि उठाएका छन् ।
गाउँपालिकाले कृषिमा प्रोत्साहनका लागि यसपटक सबै वडामा गरी कूल २ सय २६ वटा स्प्रे टेंकी र २ सय ५० वटा ठेला अनुदानमा वितरण गरिरहेको कृषि शाखा प्रमुख बोहोराले जानकारी दिनु भयो ।

दिपक मनाङेको पद गुम्यो, उपनिर्वाचनको बाटो खुल्यो

मनाङको प्रदेश ‘ख’ प्रदेश सभा सदस्यको पद रिक्त भएको छ ।

२०७९ सालको निर्वाचनमा सदस्यमा निर्वाचित भएका दीपक मनाङेको पद गएसँगै त्यहाँ पद रिक्त भएको हो ।

आज सर्वोच्च अदालतको संवैधानिक इजलासले दीपक मनाङे पदमुक्त भएको निर्णय गरेसँगै त्यहाँ उपचुनाव गर्न बाटो खुलेको छ ।

प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत तथा न्यायाधीशहरू सपना मल्ल प्रधान, हरि फुयाँल, मनोजकुमार शर्मा र कुमार चुडालको संवैधानिक इजलासले फौजदारी कसुरमा दोषी ठहर भएका मनाङेलाई उम्मेदवार हुन समेत अयोग्य भएको ठहर गरेको हो ।

दीपक मनाङ चुनावका लड्नका लागि नै अयोग्य रहेको भनेर पहिल्यै रिट दर्ता भएको थियो । आज सर्वोच्चको संवैधानिक इजलासले आजको मितिबाट उनी पदमुक्त भएको निर्णय गरेको हो ।

हाल थुनामा रहेका उनी निलम्बनको अवस्थामा थिए । उनले अब फेरि चुनाव लड्न नपाउने भएका छन् । २०८१ कात्तिक २० गते सर्वोच्च अदालतले २०६१ को चक्रे मिलनमाथिको आक्रमणको मुद्दामा उनलाई ५ वर्ष कैद सजाय सुनाएको थियो ।

सो पश्चात् मंसिर २ गते काठमाडौंको सानो भर्‍याङबाट पक्राउ परेका मनाङेलाई डिल्लीबजार कारागार चलान गरिएको थियो ।

खाद्य गुणस्तर निगरानी र खाद्य सुरक्षाबारे अभिमुखीकरण

दमक/झापाको दमकमा बुधबार खाद्य गुणस्तर निगरानी तथा खाद्य सुरक्षा सम्बन्धिको एक दिने अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ ।

दमक नगरपालिका स्वास्थ्य शाखाको आयोजनामा भएको अभिमुखीकरण कार्यक्रममा दमकमा रहेका होटल तथा खाजा घरका सञ्चालक, ठेला व्यवसायी, चटपटे , पानी पुरी लगायतका व्यापारमा संलग्न करिब ५० जना भन्दा बढी व्यवसायीहरु सहभागी भएका छन् । अभिमुखीकरण कार्यक्रममा दमक नगरपालिकाका प्रमुख रामकुमार थापाले व्यवसाय सञ्चालनको क्रममा उपभोक्ताको स्वास्थ्य हितलाई समेत ध्यान दिन, नगरलाई फोहोरमुक्त, स्वच्छ र हराभरा बनाउन साना व्यवसायीहरुले समेत साथ दिनुपर्ने बताउनु भयो । उहाँले स्थानीय सरकार आम नगरबासीहरुसँगै हातेमालो गरेर अघि बढिरहेको पनि उल्लेख गर्नु भयो । कार्यक्रममा दमक नगर उपप्रमुख रेगिना भट्टराई प्रसाइँले व्यवसायीहरु स्वयं उपभोक्ता समेत रहेको तथ्यलाई आत्मसाथ गरेर स्वस्थ र सफा खानेकुराको मात्रै विक्री वितरण गर्न व्यवसायीहरुसँग आग्रह गर्नु भयो । उहाँले पैसा कमाउने ध्याउन्नमा नागरिकहरुको स्वास्थ्य अवस्था दिनदिनै खतरामा परिरहेको प्रति सचेत हुन आग्रह गर्नु भयो । उहाँले स्वास्थ्यमा हानी नोक्सानी पुगेको खण्डमा जतिनै धेरै पैसा कमाए पनि त्यसको अर्थ नरहने भन्दै उहाँले स्वास्थ खानेकुरा खाने र खुवाउने लक्ष्य राखेर व्यवसाय सञ्चालन गर्न आग्रह गर्नु भयो ।

नगरपालिकाकी सामाजिक बिकास संयोजक शारदा सापकोटाले सरसफाईमा ध्यान दिए मात्रै व्यवसायमा उपभोक्ताहरुको आकर्षण बढ्ने कुरालाई मनन गरेर व्यवसाय सञ्चालन गर्न र अखाद्य बस्तुको कारोबार नगर्न आग्रह गर्नु भयो ।

दमक नगर स्वास्थ्य शाखा प्रमुख ब्रजेश मेहताको सभापतित्वमा भएको कार्यक्रममा होटल व्यवसायी संघ दमकका महासचिव भुपेन्द्र न्यौपानेले यस किसिमको कार्यक्रमको आवश्यकता खडकिरहेको अवस्थामा कार्यक्रम ल्याएको भन्दै दमक नगरपालिकाप्रति धन्यवाद व्यक्त गर्नु भयो ।

दमक ८ का जनप्रतिनिधि र कर्मचारीको उदाहरणीय अभ्यास

 झापाको दमक नगरपालिका वडा नम्बर ८ को वडा कार्यालयले कार्यालयीय सेवा प्रवाहलाई सहज र सुविधायुक्त बनाउन उदाहरणीय अभ्यासहरु अघि बढाएको छ ।

वडाध्यक्ष धर्मप्रसाद दाहाल (दिपेश) नेतृत्वको वडाका जनप्रतिनिधिहरुको टिम र वडा सचिव सन्दिप सुवेदी नेतृत्वको कर्मचारी टिमले यो वडाको कार्य सम्पादनलाई जनमुखी , छिटो छरितो र परिणाममुखी बनाएका छन् ।
वडाध्यक्ष दाहाल बिद्यार्थी राजनीति गरेर नेकपा एमालेको राजनीतिमा उदाएका युवा जनप्रतिनिधि हुन् । उनले आफ्नो राजनीतिक करिअरकै शुरुवातमै पाएको वडाध्यक्ष पदको टिकटलाई सदुपयोग गर्दै जनमैत्री कामहरु अघि बढाएका देखिन्छ । यो वडामा वडाध्यक्ष दाहालको नेतृत्वमा वडा सदस्यहरु ख्याम श्रेष्ठ, पदम गिरी, हरिमाया चुँडाल र ममता बराइलीले जिम्मेवारी सम्हालिरहेका छन ।

दमकको यो वडामा सबै जनप्रतिनिधिहरु कार्यालय समयमै उपस्थित हुने र दैनिक हाजिरी समेत गर्ने गरेका छन् । सबै जनप्रतिनिधिहरु वडा कार्यालय भवनको एउटै कोठामा बस्ने व्यवस्था मिलाइएको छ यसले जनप्रतिनिधिहरुबीच एकता र समानताको अनुभूति गराउन मद्धत पुगेको छ ।
वडा कार्यालयमा सेवा लिन आउने सेवाग्राहीहरुलाई आवश्यक कागजातको फोटोकपी र निवेदन लेखन निशुल्क गरिएको छ । वडाभित्र रहेका विपन्न नागरिकहरुको १०० परिवारलाई निशुल्क स्वास्थ्य बीमाको सेवा प्रदान गरिएको छ भने वडामा सेवा लिन आउने सेवाग्राहीले यहाँ आउँदा र घर फर्किँदा समेत निशुल्क यातायात सेवा उपयोग गर्न पाउने व्यवस्था छ । वडा सचिव सन्दिप सुवेदीका अनुसार वडाले यहाँ आउने सेवाग्राहीहरुलाई आवतजावत गर्न निशुल्क सिटी सफारीको व्यवस्था गरिदिएको छ ।

वडा भित्र निधन भएका विपन्न नागरिकहरुको परिवारको मृत्युमा जिन्सी, दाउरा तथा शव बाहनको सेवा उपलब्ध छ भने महिला, बालबालिका तथा अन्य जुनसुकै वडाबासीहरुलाई आवश्यक कानुनी परामर्श समेत निशुल्क प्रदान गर्ने गरिएको छ । यहाँको चर्चित बालुवाटार टोल बिकास संस्था भित्रका करिब ५० जना विपन्न बिद्यार्थीहरुलाई एक शैक्षिक सत्रमा दुई महिना निशुल्क ट्युशन कक्षाको व्यवस्था मिलाइएको छ । वडाको मेलमिलाप केन्द्रमा उजुरी, निवेदन आदि दर्ता गराउन नगरपालिकासम्म पुग्नु पर्ने झण्झटलाई हटाउँदै वडामै अनलाइन माध्यमबाट दर्ता गर्ने सुविधा दिइँदै आएको छ ।

वडा भित्रका लागुऔषध प्रयोगकर्ताहरुलाई समाजमा पुनस्र्थापना गराउने कार्यक्रम पनि यहाँ चलाइएको छ । वडाले हरेक बर्ष २० जना सम्मलाई सुधार केन्द्रमा राखेर आवश्यक परामर्श तथा उपचार सेवा दिने व्यवस्था मिलाएको वडाध्यक्ष दाहालको भनाई छ । हाम्रो लक्ष्य भनेको यसलाई शुन्यमा झार्ने हो, कसैलाई लागुऔषध प्रयोगको कुलतमा फस्न नदिने गरिका कार्यक्रमहरु त छदैछन त्यति गर्दा गर्दै पनि कुलतमा फसिसकेकाहरुलाई हामीले सुधार गरेर समाजमा पुनस्र्थापना गराउने लक्ष्य लिएका हौं– वडाध्यक्ष दाहालले निष्कर्ष न्यूजसँग भने ।

वडा कार्यालयले उच्च शिक्षा अध्ययन गर्न चाहने वडाका २० जना विपन्न बिद्यार्थीहरुलाई छात्रवृत्ति प्रदान गर्ने गरेको छ भने २० परिवारलाई प्रत्येक बर्ष बिद्युतीय चुल्हो प्रदान गर्ने गरेको छ । वडा भित्र सडक बत्तीहरुको व्यवस्थापनका लागि वडाले आफैं प्राविधिकहरुको व्यवस्थापन गरिदिएको छ । प्राविधिकहरुले बिजुली तार, बल्व आदि मर्मतको काम गर्ने गरेका छन् ।

वडाले प्रदान गर्ने हरेक सेवा सुविधाहरुबारे जनप्रतिनिधिहरु र कार्यालयले आफ्नो आधिकारिक फेसबुक पेज, र स्थानीय सञ्चार माध्यमहरु मार्फत वडाबासीलाई समयमै सुसुचित गराउने अभ्यास गरिएको छ भने प्रत्येक आर्थिक बर्षको असार मसान्त सम्म बर्षभरी सञ्चालित योजनाहरुको प्रगति विवरण वडाबासीहरुलाई सुसुचित गर्ने, योजनाहरुको माग र छनोट टोलस्तरमानै पुगेर सम्बन्धित योजनाका उपभोक्ताहरुबाट गर्ने गरिएको छ । टोल बिकास संस्थाहरुलाई चलायमान बनाउन उत्कृष्ट कार्य गर्ने टोल बिकास संस्थालाई सम्मान गर्ने अभ्यास पनि दमक ८ ले गरिरहेको छ । advt

दुर्घटनामा दुई जनाको मृत्यु

झापा/ इलाम र मोरङका दुई स्थानमा भएका सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ ।
असार १ गते साँझ इलामको इलाम नगरपालिका–११ मा बिर्तामोडबाट मंगलबारे तर्फ किराना सामान बोकेर जादै गरेको प्र १–०१–००१ प ९७७८ नम्बरको पिकअप गाडी आफै अनियन्त्रित भई सडकबाट करीब १ सय ५० मिटर तल खस्दा गाडीमा सवार झापाको खुदुनाबारी घर भई हाल इलामको देउमाई नगरपालिका–९ नवमी बजारमा व्यवसाय गरी बस्ने ३८ बर्र्षीय बिष्णु पराजुलीको उपचारको क्रममा प्रादेशिक अस्पताल भद्रपुर झापामा मृत्यु भएको हो । दुर्घटनामा उनकी ८ बर्षीया छोरी प्रेयन्सा पराजुली र गाडी चालक इलामको देउमाई–९ जितपुर का २२ बर्षीय आइत बहादुर लिम्बुको बिएण्डसी अस्पताल बिर्तामोड झापामा उपचार भईरहेको प्रहरीले जनाएको छ ।
यसैगरी असार १ गते राती मोरङको ग्रामथान गाउँपालिका–५ तेतरीया स्थित घिनाघाट सडक खण्डमा को ३३ प ६८१६ नम्बरको मोटरसाईकल आफै अनिन्त्रीत भई दुर्घटना हुँदा मोटरसाईकल पछाडी सवार ग्रामथान–४ का २२ बर्षीय सुरज सरदारको उपचारको क्रममा बिराट नर्सिङ होम अस्पताल विराटनगरमा मृत्यु भएको प्रहरीले जनाएको छ । मोटरसाईकल चालक सोही ठाउँका २० बर्र्षीय दिवेश सरदार र पछाडी सवार १९ बर्षीय राजु उरावँको सोही अस्पतालमा उपचार भईरहेको छ ।

धिमाल समुदायको साँस्कृतिक पर्व ‘सिरिजात’ पर्व २०८२ समापन

उर्लाबारी / धिमाल समुदायको प्रमुख सांस्कृतिक पर्व ‘सिरिजात’ (जातिरी) को समापन कार्यक्रम सोमबार मोरङको उर्लाबारीमा  सम्पन्न भएको छ।  धिमाल जातीय विकास केन्द्रको केन्द्रीय कार्यालय द्वारा आयोजित समापन समारोहको उद्घाटन संघीय सांसद डिगबहादुर लिम्बूले गरेका थिए।
उद्घाटन मन्तव्यमा उनले भने, “धिमाल को हुन् भन्ने परिचय स्थापित गर्नु आजको आवश्यकता हो।” उनले मोरङको लेटाङस्थित राजारानी क्षेत्रको सहयोगको चर्चा गर्दै त्यही क्षेत्रमा धिमाल संस्कृति झल्किने संग्रहालय निर्माणका लागि आगामी वर्ष २०८३/८४ मा आवश्यक कागजी प्रक्रिया पूरा गरेर काम सुरु गरिने प्रतिबद्धता जनाए।
राजनीतिक स्थायित्वका लागि गरिएको एकता अपेक्षाकृत मार्गमा नबढेको उल्लेख गर्दै संसद लिम्बूले मिश्रित निर्वाचन प्रणालीको आवश्यकता औंल्याए। “विदेशबाट फर्किएका युवासँग सहकार्य गर्न चाहन्छु,” उनले भने, “गाली मात्र होइन, सामाजिक सञ्जालमार्फत सुझाव दिन युवाहरू सक्रिय हुनुपर्छ।”
कार्यक्रमका सभापति अमरबहादुर धिमाल थिए भने सञ्चालन केन्द्रका महासचिव मात्रिका धिमालले गरेका थिए।
विशिष्ट अतिथि संविधानसभा सदस्य नगेन्द्र धिमालले पहिचानसहितको संघीयता बनाउनुपर्ने जनाउदै लेटाङको ऐतिहासिक धिमाल दरबारमा धिमाल प्रतिमा राख्न आह्वान गरे।
कार्यक्रममा प्रदेशसभा सदस्य नम्बर लाल धिमालले शुभकामना मन्तव्यसहित संग्रहालयको उद्घाटन गरे।
 संस्थाका राष्ट्रिय सभा सभापति लोकबहादुर धिमाल, संविधानसभा सदस्य उषा गुरुङ, उर्लाबारी नगर प्रमुख गंगाप्रसाद खरेल लगायत विशिष्ट व्यक्तिहरू कार्यक्रममा सहभागी थिए।
कार्यक्रममा धिमाल समुदायकी पहिलो चिकित्सक डा. सुजना धिमाललाई युवा प्रतिभा पुरस्कारद्वारा सम्मान गरिएको थियो।
समापन समारोहमा १०७ टोलको सहभागितामा ढोल प्रतियोगिता, एकल गीत, सांगीतिक प्रस्तुतिहरू लगायत सांस्कृतिक नृत्य प्रदर्शन गरिएको थियो।