कमल/  झापाको कमल गाउँपालिकाले किसानहरुलाई प्रत्यक्ष लाभ पुग्ने किसिमका कार्यक्रमहरुलाई अघि बढाएको छ ।
गाउँपालिकाको कृषि विकास शाखाबाट सञ्चालित त्यस्ता कार्यक्रमहरुमा लाभग्राहीको छनोट गरिँदा निष्पक्ष र पारदर्शीताको अभाव देखिएको कतिपय वडाबासीहरुले सार्वजनिक रुपमा गुनासो गरेका छन् ।
गाउँपालिकाले सिँचाईमा ५० प्रतिशत अनुदान दिने कार्यक्रम अघि बढाएको छ । यसअघि कृषि क्षेत्रमा सिँचाईका लागि किसानहरु र समुहलाई सिँचाई मिटर उपलब्ध गराउँदै आइएकोमा पछिल्ला तीन बर्षयता भने सिँचाईको बिद्युत मोटरमा उठेको बिद्युत महसुल वापतको कूल रकमको आधा अर्थात पचास प्रतिशत नगदै अनुदान दिने व्यवस्था छ ।
गाउँपालिकाका कृषि शाखा प्रमुख महेन्द्र बोहोराका अनुसार सिँचाईका लागि बिद्युत मोटर वितरण गरिँदा थोरै किसानले मात्रै फाइदा लिने र धेरै किसान यो सुविधाबाट बञ्चित हुने भएकाले सबै किसानहरुलाई समान रुपमा अनुदान पुगोस भन्ने उद्धेश्यले सिँचाई महसुलमा पचास प्रतिशत अनुदान दिने नीति अख्तियार गरिएको हो ।
यो कार्यक्रमका लागि गाउँपालिकाले यस बर्ष कूल ११ लाख रुपैयाँ विनियोजन गरेको थियो ।

गत फागुनमा गाउँपालिकाले सार्वजनिक सूचना निकालेर किसानहरुलाई बैशाख सम्मको सिँचाई महसुल वापतको बिल जेठ १५ गते सम्ममा पेश गर्न भनेको थियो । गाउँपालिकाका कृषि शाखा प्रमुख बोहोराका अनुसार गाउँपालिका भरीका करिब २ हजार भन्दा बढी किसानले सिँचाईको बिद्युत महसुलमा अनुदानका लागि वडा वडामै निवेदन दिएका छन् । उनीहरुले दिएको निवेदन र पेश गरेको बिलका आधारमा यस बर्ष करिब ८ लाख रुपैयाँ किसानहरुलाई सिँचाई महसुलमा नगद अनुदान दिइनेछ ।

बोहोराले भन्नु भयो– कतिपय किसानहरुले सिचाइँ महसुल थोरै भएकाले पनि अनुदान लिन खोज्नु भएन । १ र ७ नम्बर वडामा चाहिं एउटै किसानले ५/७ हजार रुपैयाँ सम्म पनि सिँचाई महसुलमा अनुदान पाउनु भएको देखिन्छ । किसानले वास्तविक रुपमै तिरेको महसुलमा मात्रै अनुदान पाउनु हुन्छ , यो एकदमै पारदर्शी रुपमा वितरण हुने अनुदानका रुपमा देखिएको छ र अरु पालिकाहरुले पनि यस्तो कार्यक्रम रोजेका देखिन्छ ।
वडा नम्बर ४ का किसानले राखे गुनासै गुनासा
यसैबीच कमल गाउँपालिकाको ४ नम्बर वडाका किसानले अनुदानका कार्यक्रमहरुबारे सुसुचित नगराएको गुनासो गरेका छन् । कार्यालयको आधिकारिक फेसबुक पेजमार्फत अनुदानका स्प्रे टेंकी र ठेला प्राप्त गर्ने किसानको सुची सार्वजनिक भएपछि वडाबासीले सो पोष्टमार्फत आफ्नो प्रतिक्रिया दिँदै तिब्र असन्तुष्टि पोखेका छन् । उनीहरुले अनुदानका सामग्री पाउने किसानको छनोटमा पारदर्शीता नभएको आशय राखेका छन् ।

अनुदानका स्प्रे टेंकी पाउने किसानले नगद १ हजार ५० रुपैयाँ र ठेला पाउने किसानले २ हजार ४ सय रुपैयाँ वडा कार्यालयको कृषि शाखामा जम्मा गर्नुपर्ने सूचनामा उल्लेख छ । जेठ २५ गते जारी भएको सो सूचना फेसबुकमा पोष्ट गरिएपछि स्थानीय रेवतीकुमार श्रेष्ठले प्रतिक्रिया दिँदै एकै घरका दुई जना समेत अनुदान पाउने सूचीमा देखिएको तर आफूलाई यस बिषयमा पूर्व जानकारी वा सूचना नभएको आसय  राख्नु भएको छ । अर्का स्थानीय सविन निरौलाले अनुदान माग गर्ने निवेदन कहिले खुल्यो भन्ने थाह हुन नसकेको गुनासो  गर्नु भयो ।  सर्वसाधारणले पटक पटकका अनुदान एकै व्यक्तिलाई पर्ने गरेको भन्दै छनोट प्रकृयामा प्रश्न पनि उठाएका छन् ।
गाउँपालिकाले कृषिमा प्रोत्साहनका लागि यसपटक सबै वडामा गरी कूल २ सय २६ वटा स्प्रे टेंकी र २ सय ५० वटा ठेला अनुदानमा वितरण गरिरहेको कृषि शाखा प्रमुख बोहोराले जानकारी दिनु भयो ।

Facebook Comments Box