झापाको दमक नगरपालिका वडा नम्बर ८ को वडा कार्यालयले कार्यालयीय सेवा प्रवाहलाई सहज र सुविधायुक्त बनाउन उदाहरणीय अभ्यासहरु अघि बढाएको छ ।
वडाध्यक्ष धर्मप्रसाद दाहाल (दिपेश) नेतृत्वको वडाका जनप्रतिनिधिहरुको टिम र वडा सचिव सन्दिप सुवेदी नेतृत्वको कर्मचारी टिमले यो वडाको कार्य सम्पादनलाई जनमुखी , छिटो छरितो र परिणाममुखी बनाएका छन् ।
वडाध्यक्ष दाहाल बिद्यार्थी राजनीति गरेर नेकपा एमालेको राजनीतिमा उदाएका युवा जनप्रतिनिधि हुन् । उनले आफ्नो राजनीतिक करिअरकै शुरुवातमै पाएको वडाध्यक्ष पदको टिकटलाई सदुपयोग गर्दै जनमैत्री कामहरु अघि बढाएका देखिन्छ । यो वडामा वडाध्यक्ष दाहालको नेतृत्वमा वडा सदस्यहरु ख्याम श्रेष्ठ, पदम गिरी, हरिमाया चुँडाल र ममता बराइलीले जिम्मेवारी सम्हालिरहेका छन ।
दमकको यो वडामा सबै जनप्रतिनिधिहरु कार्यालय समयमै उपस्थित हुने र दैनिक हाजिरी समेत गर्ने गरेका छन् । सबै जनप्रतिनिधिहरु वडा कार्यालय भवनको एउटै कोठामा बस्ने व्यवस्था मिलाइएको छ यसले जनप्रतिनिधिहरुबीच एकता र समानताको अनुभूति गराउन मद्धत पुगेको छ ।
वडा कार्यालयमा सेवा लिन आउने सेवाग्राहीहरुलाई आवश्यक कागजातको फोटोकपी र निवेदन लेखन निशुल्क गरिएको छ । वडाभित्र रहेका विपन्न नागरिकहरुको १०० परिवारलाई निशुल्क स्वास्थ्य बीमाको सेवा प्रदान गरिएको छ भने वडामा सेवा लिन आउने सेवाग्राहीले यहाँ आउँदा र घर फर्किँदा समेत निशुल्क यातायात सेवा उपयोग गर्न पाउने व्यवस्था छ । वडा सचिव सन्दिप सुवेदीका अनुसार वडाले यहाँ आउने सेवाग्राहीहरुलाई आवतजावत गर्न निशुल्क सिटी सफारीको व्यवस्था गरिदिएको छ ।
वडा भित्र निधन भएका विपन्न नागरिकहरुको परिवारको मृत्युमा जिन्सी, दाउरा तथा शव बाहनको सेवा उपलब्ध छ भने महिला, बालबालिका तथा अन्य जुनसुकै वडाबासीहरुलाई आवश्यक कानुनी परामर्श समेत निशुल्क प्रदान गर्ने गरिएको छ । यहाँको चर्चित बालुवाटार टोल बिकास संस्था भित्रका करिब ५० जना विपन्न बिद्यार्थीहरुलाई एक शैक्षिक सत्रमा दुई महिना निशुल्क ट्युशन कक्षाको व्यवस्था मिलाइएको छ । वडाको मेलमिलाप केन्द्रमा उजुरी, निवेदन आदि दर्ता गराउन नगरपालिकासम्म पुग्नु पर्ने झण्झटलाई हटाउँदै वडामै अनलाइन माध्यमबाट दर्ता गर्ने सुविधा दिइँदै आएको छ ।
वडा भित्रका लागुऔषध प्रयोगकर्ताहरुलाई समाजमा पुनस्र्थापना गराउने कार्यक्रम पनि यहाँ चलाइएको छ । वडाले हरेक बर्ष २० जना सम्मलाई सुधार केन्द्रमा राखेर आवश्यक परामर्श तथा उपचार सेवा दिने व्यवस्था मिलाएको वडाध्यक्ष दाहालको भनाई छ । हाम्रो लक्ष्य भनेको यसलाई शुन्यमा झार्ने हो, कसैलाई लागुऔषध प्रयोगको कुलतमा फस्न नदिने गरिका कार्यक्रमहरु त छदैछन त्यति गर्दा गर्दै पनि कुलतमा फसिसकेकाहरुलाई हामीले सुधार गरेर समाजमा पुनस्र्थापना गराउने लक्ष्य लिएका हौं– वडाध्यक्ष दाहालले निष्कर्ष न्यूजसँग भने ।
वडा कार्यालयले उच्च शिक्षा अध्ययन गर्न चाहने वडाका २० जना विपन्न बिद्यार्थीहरुलाई छात्रवृत्ति प्रदान गर्ने गरेको छ भने २० परिवारलाई प्रत्येक बर्ष बिद्युतीय चुल्हो प्रदान गर्ने गरेको छ । वडा भित्र सडक बत्तीहरुको व्यवस्थापनका लागि वडाले आफैं प्राविधिकहरुको व्यवस्थापन गरिदिएको छ । प्राविधिकहरुले बिजुली तार, बल्व आदि मर्मतको काम गर्ने गरेका छन् ।
वडाले प्रदान गर्ने हरेक सेवा सुविधाहरुबारे जनप्रतिनिधिहरु र कार्यालयले आफ्नो आधिकारिक फेसबुक पेज, र स्थानीय सञ्चार माध्यमहरु मार्फत वडाबासीलाई समयमै सुसुचित गराउने अभ्यास गरिएको छ भने प्रत्येक आर्थिक बर्षको असार मसान्त सम्म बर्षभरी सञ्चालित योजनाहरुको प्रगति विवरण वडाबासीहरुलाई सुसुचित गर्ने, योजनाहरुको माग र छनोट टोलस्तरमानै पुगेर सम्बन्धित योजनाका उपभोक्ताहरुबाट गर्ने गरिएको छ । टोल बिकास संस्थाहरुलाई चलायमान बनाउन उत्कृष्ट कार्य गर्ने टोल बिकास संस्थालाई सम्मान गर्ने अभ्यास पनि दमक ८ ले गरिरहेको छ । advt