गर्मी स्वास्थ्यमा आउन सक्ने जोखिम र बच्ने उपायहरु

यतिबेला गर्मी बढेको छ ।
गर्मीको मौसम त्यसैपनि मानिसहरुको स्वास्थ्यमा धेरै समस्याहरु देखिने मौसम हो । जलवायु परिवर्तनको असरले मानव स्वास्थ्य र समग्र प्रकृतिलाईनै प्रभाव पारिरहेको छ ।
यहाँ गर्मीको कारण मानव स्वास्थ्यमा तत्काल देखिने असर अथवा प्रभावहरुका बारेमा संक्षिप्तमा जानकारी दिने प्रयास गरिएको छ । हामीलाई विश्वास छ कि यो जनचेतनामुलक जानकारी वा सूचनाका माध्यमबाट विश्व मानव जगतमा सकारात्मक प्रभाव छोड्ने छ ।
१ गर्मीको कारण मानव स्वास्थ्यमा देखिने समस्याहरु
तातोका कारण मांसपेशी दुख्ने र थकान बढ्ने समस्या हुन्छ ।
२ यस्ता लक्षणहरु देखिएमा गर्मीको असर बढ्दै गएको बुझ्न सकिन्छ –
(क) कमजोर महसुस हुनु । (खा) टाउको दुख्नु । (ग) चक्कर लाग्नु । (घ) रक्तचाप घट्नु ( लो प्रेसर)
३ गर्मीको कारणले हुने हिट स्ट्रोक (आघात)
यो अवस्था अत्यन्तै गम्भीर अवस्था हो यस्तो अवस्थामा शरीरको तापक्रम ४० डिग्री वा सो भन्दा बढी मापन भएको हुन्छ । यस्तो अवस्थामा छाला सुख्खा र तातो हुने ( पसिना नआउने) हुन्छ । मानिसको ज्यानै तलमाथि हुने खतरा समेत रहन्छ ।
यस्तो बेलामा अत्याधिक टाउको दुख्ने, वान्ता हुने, मुर्छा पर्ने, बेहोस् हुने अर्थात अलमलमा पर्ने । यस अवस्थामा कलेजो, मिर्गौला र दिमागमा क्षति गर्छ ।
मुटुको धड्कन बढ्ने जस्ता संकेत पनि देखिन्छ । यस्तो अवस्थामा तत्काल अस्पतालको इमर्जेन्सी विभागमा पुग्नु पर्ने हुन्छ ।
 यसरी सकिन्छ बच्न
(क) शरिरमा आवश्यक मात्रा अर्थात पर्याप्त पानी पिउने । बेला बेलामा जिवनजल बनाएर पिउनाले थप राम्रो हुन्छ ।
(ख) गर्मी महसुस भइरहेको भए शारिरीक बल पर्ने किसिमका कुनै गतिबिधि नगर्ने ।
(ग) उच्च तापक्रममा एकैचोटी नजाने ।
(घ)
उपचार विधि
आराम गर्ने , पानी र इलेक्टीलाइट प्रशस्तै पिउने ।
चिसो स्थानमा लैजाने ।
अवस्था अनुसार चिकित्सकीय उपचारमा नजिकको स्वास्थ्य संस्थामा पुर्याउने ।
दीर्घरोगी, ज्येष्ठ नागरिक, गर्भवतीहरुलाई यस किसिमको गर्मीको प्रभाव पर्नबाट जोगाउनु पर्छ ।
( डा. अनुपम घिमिरेसँगको कुराकानीमा आधारित । डा. घिमिरे दमक नगर अस्पातल, दमक झापाको प्रशासन प्रमुख तथा सूचना अधिकारीका रुपमा समेत कार्यरत हुनुहुन्छ । उहाँ इन्टरनल मेडिसिन विभागका चिकित्सक हुनुहुन्छ )

 

विरुवा रोप्ने माओवादी अभियानमा प्रचण्ड सहभागी

दमक/ नेकपा माओवादी केन्द्र दमकले सुरु गरेको वृक्षरोपण अभियानमा पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले साथ दिएका छन् ।
उनले शनिबार दमकमा वृक्षरोपण गरेर दमक माओवादीलाई साथ दिएका हुन् ।
दमक–४ स्थित दाहाल प्रतिष्ठानमा पुगेर फलफूलका विरुवा रोपेका थिए । माओवादी दमकका अध्यक्ष रवि बस्नेतले दिएको विरुवा रोपेर उनले अभियानमा साथ दिएका हुन् । उनले वृक्षरोपण कार्यक्रम राम्रो भएको र यसलाई निरन्तरता दिन निर्देशन दिए । माओवादी दमकले गत वर्षदेखि दमक क्षेत्रमा एक लाख फलफूलका विरुवा रोप्ने अभियान सुरु गरेको छ ।
गत वर्ष र यो वर्ष गरेर माओवादीले ७१ हजार फलफूलका विरुवा रोप्नुका साथै स्थानीयलाई विरुवासमेत वितरण गरिसकेको अध्यक्ष बस्नेतले जानकारी दिए ।
माओवादी केन्द्रले गत वर्ष विशेष अभियान नै बनाएर दमक क्षेत्रमा फलफूलका विरुवा रोप्ने तथा दमकबासीलाई विरुवा उपलब्ध गराउँदै आएको बस्नेतले बताए । उनका अनुसार यस वर्ष पनि १७ जेठदेखि फलफूलका विरुवा रोप्ने र वितरण गर्ने अभियानलाई निरन्तरता दिइएको हो । दमक क्षेत्रमा जामुन, अम्बा, कागती, आँप लिची, अनारलगायतका विरुवा रोपिएको छ । गत वर्ष रोपिएका विरुवा यस वर्षबाट फल दिन थालेको नगर इञ्चार्ज बेदु गौतमले जानकारी दिए ।
अध्यक्ष प्रचण्डले अभियानमा साथ दिएपछि वृक्षरोपण अभियानलाई अघि बढाउन थप हौसला मिलेको अभियान संयोजक समुन्द्र लामाले बताइन् ।
यसलाई माओवादी केन्द्र दमकले निरन्तरता दिने उनको भनाइ छ । ‘पछिल्लो समय जलवायु परिवर्तनले पर्यावरणमा गम्भीर असर पारेको तसर्थ हामीले वृक्षरोपण अभियान सुरु गरेका हौँ । अध्यक्ष प्रचण्डले विरुवा रोपेर साथ दिएपछि झनै हौसला मिलेको छ,’उनले भनिन् ।
नेकपा माओवादी केन्द्र दमकका अध्यक्ष बस्नेतका अनुसार यस वर्ष २५ हजार विरुवा वितरण गरिने भनिए पनि यसपटक अध्यक्ष प्रचण्ड नै आएपछि ऊर्जा बढेकाले थप संख्या बढाइने उनले बताए ।
अभियान पुनः सुरु भएयता २१ हजार विरुवा रोपिएको उनले बताए । अभियानलाई निरन्तर सञ्चालन गरिने उनको भनाइ छ । यसमा सबै दल, संघसंस्थाले साथ दिए ‘ग्रिन दमक, क्लिन दमक’ बनाउन सहज हुने उनले बताए ।
माओवादी केन्द्र गत वर्ष दमक क्षेत्रमा माओवादी केन्द्रले ५० हजार बढी फलफूलका विरुवा वितरण गरेको थियो । ती विरुवाले अहिले उत्पादन दिन थालेको माओवादी दमक अध्यक्ष बस्नेतले बताए ।
‘उत्पादन दिने विरुवा रोप्दा परिणाम पनि आउँछ । तसर्थ, हामीले फलफूलका विरुवा वितरण गरेका हौँ,’ उनले भने, ‘गत वर्षको विरुवाले उत्पादन दिन थालेपछि हामीलाई उत्साहित बनाएको छ । आउने वर्षमा पनि हामी विरुवा वितरणको अभियानलाई निरन्तरता दिँदै जान्छौँ । अध्यक्ष प्रचण्डले पनि अभियानमार्फत जनतासँग जोडिन निर्देशन दिनुभएको छ ।’

दमकमा एमालेका सय जनालाई प्रशिक्षक प्रशिक्षण

एभरेष्ट योग साधना केन्द्रको बार्षिक उत्सव

दमक/ पतञ्जली योग साधना केन्द्र अन्तर्गत एभरेष्ट योग साधना केन्द्र दमक–८ ले आफ्नो दोस्रो बार्षिक उत्सव सम्पन्न गरेको छ ।
योग ध्यान र प्रणायामको माध्यमबाट शरीरलाई स्वस्थ्य राख्नकै लागि नियमित योग साधना गर्दै आएको यो साधना केन्द्रले यसै वर्ष सह योग शिक्षक तालिम लिने २४ जना साधक साधिकालाई खादा माला टिका सहित प्रमाण पत्र बितरण गरेको छ ।


कार्यक्रममा पतञ्जली प्रदेश सदस्य मिना कोईराला,जिल्ला उपाध्यक्ष शुशिल निरौला,दमक नगर अध्यक्ष दुर्गा प्रसाद भण्डारी लगायत प्रदेश जिल्ला र नगर समितिका सदस्य लगायत साधना केन्द्रका संयोजक र सदस्यहरुको उपस्थिती रहेको थियो ।
दमक नगर पालिका वडा नं ८ का कार्यबाहक वडा अध्यक्ष खेम बहादुर श्रेष्ठको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा पतञ्जली नगर समितिका अध्यक्ष दुर्गाप्रसाद भण्डारी र महिला समिति अध्यक्ष उमा पाठकले शुभकामना मन्तव्य राखेका थिए ।
साथै उक्त साधना केन्द्रले भिमप्रसाद सुवेदी संयोजक रहने गरि ११ सदस्यीय नयाँ कार्य समिति समेत गठन गरेको छ ।

रतुवा र मावा खोला उत्खननमा रोक

दमक/ झापाको दमक नगरपालिकाले रतुवा र मावा खोलामा हुँदै आएको गिटी , बालुवा तथा नदीजन्य बस्तुको उत्खनन्मा रोक लगाएको छ ।
नगरपालिकाको तर्फबाट प्रमुख प्रशासकीय अधिकृत गणेशराज कार्कीले हस्ताक्षर गरेर जारी गर्नुभएको सार्वजनिक सूचनामा जेठ ३१ गते (आइतबार) साँझ ६ बजेदेखि लागू हुने गरी अर्को व्यवस्था नहुञ्जेल सम्मका लागि ति खोलामा नदीजन्य बस्तुको उत्खनन्, संकलन र ओसारपसारमा रोक लगाइएको उल्लेख छ । सूचनाको उल्लंघन गरी कसैले पनि खोलामा उत्खनन् गरेको पाइएमा कानुन बमोजिम कारवाही हुने पनि सूचित गरिएको छ । बर्षायामसँगै ति खोलामा हरेक बर्ष असारदेखि गिटी , बालुवाको उत्खननमा प्रतिबन्ध लगाइँदै आएको छ । हेर्नुहोस सुचना जस्ताको तस्तै

विनम्र बने स्तोत्र पाठ प्रतियोगितामा प्रथम

दमक/ बालबालिकाको सृजनात्मक प्रतिभा उजागर गर्ने उद्देश्यले श्री सत्य साई सेवा संगठन नेपाल अन्तर्गत श्री सत्य साई सेवा समिति १ (क) को आयोजनामा स्तोत्र पाठ प्रतियोगिता सम्पन्न भएको छ ।
शनिबार झापाको चारालीमा सम्पन्न कार्यक्रममा श्री सत्य साई बालविकास केन्द्रको सक्रिय समन्वय रहेको थियो । कार्यक्रममा बालबालिकाको नैतिक शिक्षा, संस्कार र आत्मिक विकासमा टेवा र्पुयाउने उद्देश्य राखिएको थियो ।
प्रतियोगितामा श्री सत्य साई केन्द्र दमकका ११ वर्षिय बिनम्र पोखरेलले स्तोत्र पाठ्मा उत्कृष्ट प्रस्तुति दिँदै प्रथम स्थान हासिल गर्न सफल भए । स्तोत्रको साथै विभिन्न बिधामा प्रतियोगीताहरु भएका थिए ।
प्रतिभाशाली सहभागी बालबालिकाहरूलाई प्रमाणपत्र वितरण गरिएको थियो । अभिभावकहरुले प्रसन्नता व्यक्त गर्दै यस्ता कार्यक्रमले बालबालिकाको आत्मविश्वास, सिर्जनशीलता र संस्कार अभिवृद्धिमा महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे ।
श्री सत्य साई सेवा संगठन नेपालले मुलुकभर नैतिक शिक्षा, सेवा र आध्यात्मिक चेतनाको प्रवद्र्धन गर्दै यस्ता सृजनात्मक र संस्कारमूलक गतिविधिहरूलाई निरन्तरता दिँदै आएको छ ।

 

दमकमा असार २ गते सार्वजनिक बिदा

दमक/ झापाको दमक नगरपालिकाले यही असार २ गते सोमबार स्थानीय बिदा दिएको छ । नगरपालिकाद्धारा प्रथम नागरिक घोषित धिमाल जातीले विशेष उल्लास साथ मनाउने सिरिजात जात्री पर्व परेकाले बिगत बर्षहरुझैं यस बर्ष पनि दमकमा स्थानीय सरकारले सार्वजनिक विदा दिइएको हो ।
जेठ ३० गतेको नगरपालिका बैठकको निर्णय अनुसार दमक नगरपालिका, नगर कार्यपालिका कार्यालय, वडा कार्यालयहरु, आधारभूत स्वास्थ्य केन्द्र, तथा मातहतका शैक्षिक संस्थाहरुमा स्थानीय सार्वजनिक बिदा दिइएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गणेशराज कार्कीद्धारा हस्ताक्षरित सूचनामा उल्लेख छ ।

हेवा खोलाको बेलीब्रीज भाँचिएर तीन जनको मृत्यु, मन्त्रालयले बनायो छानबिन समिति

दमक/ मेची राजमार्ग अन्तरगत पाँचथरको फिदिम नगरपालिका–४ र हिलिहाङ गाउँपालिका–७ स्थित हेवा खोलामा रहेको निर्माणाधिन बेलीब्रीज भाँच्चिदा तीन जना कामदारको मृत्यु भएको छ ।
घट्नामा ३ जना गम्भिर घाईते भएका छन ।
मृत्यु हुनेमा बारा सिमरा उप–महानगरपालिका–१२ का २२ बर्षीय रुपलाल चौधरी, २७ बर्षीय राजन चौधरी र २२ बर्षीय राकेश चौधरी रहेका छन ।
जेठ ३१ गते बेलुका बेलीबृज जडान गर्ने क्रममा अचानक भाँचिदा घाईते भएका कामदारहरुलाई जिल्ला प्रहरी कार्यालय पाँचथरबाट प्रहरी नायव उपरीक्षक कौशल कुमार बुढाथोकी सहितको प्रहरी टोलीले तत्काल उद्धार गरी उपचारको लागि विराटनगरस्थित नोवेल अस्पताल पठाएको थियो । उपचारका क्रममा उनीहरुको मृत्यु भएको कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ । गम्भिर घाईते भएका बारा सिमरा उप–महानगरपालिका–१२ का २५ बर्षीय भुनेश्वर चौधरी, ३५ बर्षीय प्रकाश चौधरी र ३० बर्षीय अभिषेक चौधरीको सोही अस्पतालमा उपचार भईरहेको छ ।
यसैबीच सरकारले सो बेलीब्रीज भाँचिएको घटनाको छानबिन गर्न समिति बनाएको छ । मेची राजमार्गको फिदिम–ताप्लेजुङ् सडक खण्डमा पर्ने फिदिम ४ र हिलिहाङ् ७ जोड्ने हेवा खोलामा निर्माणाधिन पुल भाँचिएको घटनाबारे छानविनका लागि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले समिति गठन गरेको हो ।
मन्त्री देवेन्द्र दाहालले मन्त्री स्तरीय निर्णय गरि ५ सदस्यिय अध्ययन तथा छानविन समिति गठन गर्नु भएको हो ।
सडक विभागका उपमहानिर्देशक ललिजन खनालको संयोजकत्वमा गठित समितिमा संघीय सडक सुपरीवेक्षण तथा अनुगमन कार्यालय दमकका प्रमुख विनोदकुमार मौवार, सडक डिभिजन कार्यालय बुटवलका प्रमुख जीवेन्द्र मिश्र, दमक डिभिजन प्रमुख श्यामकुमार यादव र सडक विभागका सिडीई अमितकुमार वर्मा सदस्य रहनु भएको छ ।
समितिलाई सो पुल भत्कनुको कारण, भविष्यमा यस्ता घटना हुन नदिन अपनाउनु पर्ने सुझाव तथा सो स्थानमा तत्काल अस्थाई रुपमा यातायात सञ्चालन गर्ने विषयमा समेत स्थलगत अध्ययन तथा छानविन गरि ७ दिन भित्रमा प्रतिवेदन पेश गर्ने कार्यभार दिईएको छ । समितिले आईतबार देखिनै काम शुरु गरि सकेको जनाइएको छ ।
मन्त्री दाहालले सो अप्रत्याशित घट्नाप्रति दुःख व्यक्त गर्नु भएको छ । यस्तै घाईते मजदुरहरुको ज्यान गएको प्रति गहिरो समवेदना व्यक्त गर्नु भएको छ । उहाँले उपचारात घाईतेहरुको उपचारमा कुनै कमि हुन नदिने गरि व्यवस्था मिलाउन मन्त्रालयका सचिव केशवकुमार शर्मा तथा सडक विभागका महानिर्देशक डा. बिजय जैसीलाई निर्देशन समेत दिनु भएको छ ।

करेन्ट लागेर एकको मृत्यु

खोटाङ/ करेन्ट लागेर गम्भीर घाइते भएका ऐसेलुखर्क गाउँपालिका–५ महेश्वरीस्थित सेगेलेमका ५३ वर्षीय रामेश्वर राईको उपचारका क्रममा मृत्यु भएको छ ।

सेगेलेमस्थित घरमा जडान गरिएको विद्युत्को तार हटाउने क्रममा आज दिउँसो करेन्ट लागेर गम्भीर घाइते भएका प्राथमिक स्वास्थ्य केन्द्र ऐसेलुखर्कमा उपचारका क्रममा मृत्यु भएको हो ।

करेन्ट लागेर बेहोस भएका राईलाई स्थानीयले गाउँपालिकाको एम्बुलेन्समार्फत उपचारका लागि प्राथमिक स्वास्थ्य केन्द्र पु¥याएका थिए । केन्द्र पु¥याएको केही समयपछि उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

मृतक राई नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) ऐसेलुखर्क गाउँपालिका कार्यसमितिका सचिवालय सदस्य थिए । उनको शव परीक्षण गृहमा राखिएको छ ।

विर्तामोडमा ग्रामिण बाख्रा साटासाट कार्यक्रम

बिर्तामोड/ बिर्तामोड नगरपालिकाले वडा नम्बर ७ मा रहेको सिताराम मन्दिर टोल कृषक समूहलाई बाख्रा वितरण गरेको छ ।  मेयर पकेट प्याकेज ग्रामिण बाख्रा साटासाट कार्यक्रम अन्तर्गत  १५ जना कृषकलाई ४५ वटा बाख्रा वितरण गरेको हो । प्रतिकृषक ३ वटाका दरले विमा गरिएका बाख्रा वितरण गरिएको हो । उक्त समूहलाई एउटा उन्नत जातको विउ बोकासमेत वितरण गरिएको छ ।

बाख्रा साटासाट कार्यक्रम बिर्तामोडमा २०७४ सालदेखि सञ्चालनमा छ । बिर्तामोडमा १८ वटा बाख्रा कृषक समूह छन् । कार्यक्रम सुरुभएदेखि अहिलेसम्ममा ८ सय १० वटा बाख्रा वितरण गरिसकिएको नगरका पशुपंछि तथा मत्स्य विकाश शाखा प्रमुख डा. नगेन्द्र खड्काले जानकारी दिनु भयो ।

कार्यक्रमकी प्रमुख अतिथि नगर प्रमुख पवित्रा महतारा प्रसाईले थोरै भएपनि आय स्रोतको लागि बाख्रा साटासाट कार्यक्रम प्रभावकारी रहेको बताउनु भयो । यो कार्यक्रमले जीवनस्तर उकास्न सघाउ पुर्याउने बताउनु भयो । नगर प्रमुख प्रसाईले बाख्रा पालनलाई उपलव्धीमुलक बनाउन जोड दिनुभयो ।

वडा नम्बर ७का वडाअध्यक्ष अविरल कृष्ण खरेलले कार्यक्रममा औषधी उपचार, विमाको सुविधा रहेकोले बाख्रामा कुनै क्षति नहुने बताउनु भयो । उहाँले स्वरोजगारसंगै व्यवसायिक बन्न सबैलाई आग्रह गर्नु भयो ।

आर्थिक विकास समिती संयोजक तथा कार्यपालिका सदस्य संगिता सिवाको अध्यक्षतामा सिताराम मन्दिर टोलमा आयोजित कार्यक्रममा कार्यपालिका सदस्य सिता ढुंगाना विक, शाखा अधिकृत सावित्रा दाहाललगायतको उपस्थिति रहेको थियो ।