मिसन ८४ नभुल्न ओलीको निर्देशन

काठमाडौं/ प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीको आगामी लक्ष्य ‘मिशन ०८४’ लाई केन्द्रमा राखेर अघि बढ्न निर्देशन दिएका छन् ।

सोमबार ललितपुरमा सम्पन्न राष्ट्रिय युवा संघ नेपालको केन्द्रिय कमिटीको पूर्ण बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले युवालाई योजनावद्ध ढंगले काममा जुट्न आग्रह गरे ।

‘युवाको हकहित, रोजगारी, उद्यमशिलता लगायतका थुप्रै मुद्दा छन्,’ ओलीले भने, ‘तर, यी सबैसँगै मुख्य कुरा हो—मिशन ०८४ । यदि हामीले यही कुरा भुल्यौँ भने बाँकी सबै कुरा भुलिन्छ ।’

प्रधानमन्त्री ओलीले मिशन ०८४ का लागि संगठनभित्र एकता आवश्यक रहेको स्पष्ट पार्दै पार्टी र आन्दोलन दुबैमा अनुशासन र समर्पण जरुरी रहेको बताए ।

‘कुनै प्रकारको विकृत कुराबाट विचलित नहुनुस्,’ उहाँले भने, ‘पार्टीको मूल सन्देश यही हो। सबै कुरा संयोजन गरेर अघि बढ्न सक्नु नै सफलता हो ।’

अध्यक्ष ओलीले युवाहरूलाई इनोभेटिभ बन्न पनि सुझाव दिए । ‘सही ढंगले नेतृत्व गर्न सक्ने प्रतिको असहिष्णुता गलत हो,’ उनले भने, ‘विश्वका धेरै इनोभेटिभ कार्यहरू युवाहरूबाटै आएका छन्। त्यसैले आफैँमा दक्षता र उपलब्धिको भावना विकास गर्नुपर्छ ।’

नेकपा एमालेले २०८४ सालको आम निर्वाचनलाई लक्ष्य बनाएर ‘मिशन ०८४’ अभियान चलाएको छ ।

पत्नीको हत्या आरोपमा पक्राउ

इटहरी/ सुनसरीको बराहक्षेत्र नगरपालिका–५ का ३० बर्षिय सोनिया मुसहरलाई आफ्नै श्रीमतीको कुटपिट गरी हत्या गरेको आरोपमा प्रहरीले पक्राउ गरेको छ ।
प्रहरीका अनुसार असार ७ गते राती ९ बजे २४ बर्षिया श्रीमती ढलीसदा मुसहरलाई सोनिया मुसहरले सामान्य वादबिवादको क्रममा कुटपिट गर्दा घाईते भएकी थिइन् । उनको असार ९ गते बिहान घरमा नै मृत्यु भएको खबर पाए लगत्तै प्रहरी चौकी भरौलबाट खटिएको प्रहरी टोलीले मुसहरलाई पक्राउ गरेको हो ।
मुसहरलाई इलाका प्रहरी कार्यालय महेन्द्रनगरमा राखेर थप अनुसन्धान गरिएको कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।

ट्रकको ठक्करबाट दुई जनाको मृत्यु

इलाम/  इलामको रोङ गाउँपालिका–३ मा ट्रकको ठक्करबाट दुई जनाको मृत्यु भएको छ । आइतबार अपरान्ह ४ बजे प्रदेश १–०१–००१ ख ४५४७ नम्बरको ट्रकले बा.
८९ प २२६६ नम्बरको मोटरसाईकललाई ठक्कर दिँदा मोटरसाईकल चालक बझाङ बित्छडचिर गाउँपालिका– १ का २६ बर्षीय मदन बहादुर बोहरा र पछाडी सवार
जाँजरकोट छेडागाडा नगरपालिका–८ की २३ बर्षीय सिर्जना गिरी घाईते भएका थिए ।

घाईते दुवै जनालाई उपचारको लागि अस्पताल लागिएकोमा अस्पताल र्पुयाउन साथ मृत्यु भएको थियो । ट्रक चालक पाँचथर कुम्मायक गाउँपालिका–९ का ३३ बर्षीय नितेश बुढाथोकीलाई जिल्ला प्रहरी कार्यालय इलामले नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।

एमालेको शिक्षक संगठनमा शाही निर्वाचित, कोशीबाट दमकका श्रेष्ठ

दमक/ नेकपा एमालेका शिक्षकहरुको जनवर्गीय संगठन नेपाल राष्ट्रिय शिक्षक संगठनको अध्यक्षमा हंसबहादुर शाही निर्वाचित भएका छन् । शाही निवर्तमान महासचिव हुन् ।
काठमाडौंमा सम्पन्न भएको १४औं राष्ट्रिय सम्मेलनले शाहीको अध्यक्षतामा नयाँ कमिटी चयन गरेको हो ।
नयाँ कमिटीको वरिष्ठ उपाध्यक्षमा जंगबहादुर गर्बुजा, उपाध्यक्षमा गोविन्द भण्डारी, महिला उपाध्यक्षमा अम्बिका चापागाईं निर्वाचित भएका छन् ।
यस्तै, संगठनको महासचिवमा प्रकाश खनाल, कोषाध्यक्षमा नरबहादुर रावल, उपमहासचिवमा श्रीराम दाहाल, खुला सचिवमा बामदेव सुवेदी, महिला सचिवमा बेणु काफ्ले निर्वाचित भएका छन् । अध्यक्ष पदका लागि शाहीसँगै कमला थापा र यमबहादुर कुँवर आकांक्षी थिए । संगठनको केन्द्रिय सदस्यमा भुगोल तर्फ कोशी प्रदेशबाट हिमालय मावि दमकका द्रोण बहादुर श्रेष्ठ निर्वाचित भएका छन् । त्यस्तै कोशीबाट (महिला) मा रिता पाठक दाहाल निर्वाचित भएका छन् ।

कन्काइ नहरमा हाम्फालेका बृद्धको शव भेटियो

दमक/ झापाको शिवसताक्षी ७ ब्याङडाँडास्थित कन्काई नहरमा हाम्फालेका एक जना बृद्धको ज्यान गएको छ । आइतबार बिहान करिब ८.५० बजे सोही ठाउँका ७९ बर्षिय राधाकृष्ण सोडारीको ज्यान गएको हो ।
घरबाट चौक तर्फ हिंडेका उनी १ किलोमिटर पश्चिम तर्फ रहेको कन्काई नहरमा एक्कासी हाम्फालेका उनको शव साढे ९ बजे करिब ५०० मिटर दक्षिणमा फेला परेको हो । घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

१५ बर्षिया बालिकासँग फेसबुकमा चिनजानपछि होटलमा जवरजस्तीकरणी

  झापा/  सामाजिक सञ्जालमार्फत चिनजान भएका एक व्यक्तिलाई भेट्न गएकी सुस्त मनस्थितिकी १५ वर्षीया एक नाबालिकामाथि पटकपटक बलात्कार भएको पाइएको छ । फेसबुक मेसेन्जर मार्फत भेट्न बोलाई नाबालिका बलात्कार गरेको आरोपमा झापा जिल्लाको अर्जुनधारा-१० बुद्धचौकका ३५ वर्षीय हस्तबहादुर भट्टराईविरुद्ध जबरजस्ती करणीको मुद्‍दा दायर भएको हो ।

सरकारी वकिल कार्यालय, झापाले झापा जिल्ला अदालतको बाल इजलासमा भट्टराई विरुद्ध अभियोग पत्र दायर गरेको छ । जसमा मुलुकी मुलुकी अपराध संहिता, फौजदारी कार्यविधि नियमावली र बालबालिका सम्बन्धी ऐन बमोजिम कारबाही तथा क्षतिपूर्तिको माग राखिएको छ ।

 

पीडित नाबालिका (परिवर्तित नाम अनारमनी) को मानसिक अवस्था सामान्य छैन । उनी एक पटकमा कुनै पनि कुरा बुझ्दिनन् र पटक-पटक दोहोर्‍याउँदा बुझे पनि एकछिनपछि बिर्सिहाल्छिन् । उनी बोल्दा पनि भकभकाएर बोल्ने गर्छिन् । करिब दुई महिना अगाडि हस्तबहादुर भट्टराईसँग फेसबुक मेसेन्जरमार्फत उनको चिनजान भएको थियो । उनले ‘नेपाली कुमार’ नामक फेसबुक आईडी प्रयोग गर्थे । सोही आईडीबाट उनले ‘फ्रेन्ड रिक्वेस्ट’ पठाए, अनारमनीले एसेप्ट गरिन् र दुवै जनाबिच चिनजान सुरु भयो । त्यसपछि भिडिओ कल मार्फत कुराकानी हुँदै आएको पीडित र उनका परिवारको बयानमा उल्लेख छ ।

 

१२ वैशाख २०८२ का दिन बिहान भट्टराईले अनारमनीलाई भिडिओ कल गरे र भाटभटेनी मल घुम्न जाने प्रलोभनमा देखाए । उनले मोबाइल किनिदिने वा बिग्रेको मोबाइल बनाइदिने भन्दै लोभ देखाएको प्रतिवादी भट्टराई स्वयंले बयानमा उल्लेख गरेका छन् । त्यसपछि भट्टराईले आफूलाई मोटरसाइकलमा चढाएर झापा, बिर्तामोड-३ सैनिक मोडमा रहेको एमएस होटल एण्ड लजको एक कोठामा लगेर जबरजस्ती करणी गरेको पीडितको भनाइ छ ।

अनारमनीका दाइले दिएको जाहेरी दरखास्त अनुसार पहिलो दिन ५०० रुपैयाँ दिएर घर पठाएपछि, भोलिपल्ट वैशाख १३ गते पनि सोही होटेलमा लगेर भट्टराईले करणी गरेका थिए । त्यस क्रममा मोबाइलबाट नग्न फोटो र भिडिओ समेत खिचेका थिए । कसैलाई पनि यसबारे नबताउन भन्दै त्यस दिन ६०० रुपैयाँ दिएर पठाएको पीडित अनारमनीले बताएकी छिन् ।

वैशाख १६ गते बिहान पनि भट्टराईले त्यसैगरी भेट्न बोलाए । अनारमनीले भेट्न अस्वीकार गर्दा उनले ‘तँ आइसन, मैले भनेको मानिस भने तेरो नाङ्गो भिडिओ सामाजिक सञ्जालमा पोस्ट गरी, तेरो घर परिवारको मानिसहरूलाई पठाई तेरो बदनाम गरी दिन्छु’ भनी धम्क्याएपछि डरले पुनः सोही होटेलमा जान बाध्य भएको जाहेरी दरखास्त र पीडितको कागजमा उल्लेख छ । यसरी प्रतिवादीले पटकपटक करणी गरेको पीडित पक्षको दाबी छ ।

तर प्रतिवादी हस्तबहादुरले भने आफ्नो बयानमा अनारमनीसँग फेसबुक मार्फत चिनजान भएको र होटेलमा दुवैको सहमतिमा शारीरिक सम्बन्ध भएको दाबी गरेका छन् । उनले जबरजस्ती करणी गरेको आरोप अस्वीकार गरेका छन् ।

प्रहरी अनुसन्धान, घटनास्थल मुचुल्का, जाहेरी दरखास्त, पीडितको शारीरिक परीक्षण प्रतिवेदन, प्रतिवादीको बयान र घटना विवरण कागज लगायतका आधारमा भट्टराईले १५ वर्षीया नाबालिकालाई ललाई फकाई पटकपटक करणी गरेको प्रमाणित भएको अभियोग पत्रमा उल्लेख छ ।

कांग्रेस नगर सभापति प्रसाइँले चलाएको कार दुर्घटना, सबै सकुशल

दमक/ नेपाली कांग्रेस दमकका नगर सभापति प्रकाश प्रसाइँले चलाएको कारलाई पूर्व पश्चीम राजमार्ग अन्तर्गत मोरङको पथरीशनिश्चरेमा एउटा ट्रकले ठक्कर दिएको छ ।
प्राप्त श्रोतका अनुसार  पश्चिम तर्फबाट आउँदै गरेको कारलाई पूर्वबाट पश्चीम तर्फ जाँदै गरेको मालबहाक ट्रकले ठक्कर दिएको थियो । दुर्घटनाको सीसि फुटेज बाहिर आएको छ । कारमा तीन जना सवार रहेका र कार चालक सभापति प्रसाइँ सकुशल रहेका बताइएको छ । प्रसाइँ दमक नगर उपप्रमुख रेगिना भट्टराई (प्रसाइँ)का पति हुन् । दुर्घटनाको खबर पाए लगत्तै उपप्रमुख भट्टराई घटनास्थल पुगेर फर्किएकी बताइएको छ ।

इरानमा रहेका नेपालीलाई उद्धार गरिने -परराष्ट्रमन्त्री राणा

इजरायल–इरान युद्धका कारण इरानमा रहेका नेपालीलाई उद्धार गरिने भएको छ । भारत सरकारको सहयोगमा उनीहरुको उद्धार गरिने परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले बताएकी छन् ।

इरानमा रहेका १६ जना नेपालीको उद्धारका निम्ति आफूले भारत सरकारसँग आग्रह गरेको जानकारी दिँदै उनले त्यसप्रति भारत सकारात्मक रहेको बताइन् ।

परराष्ट्रमन्त्री डा राणाले भनिन् ‘इरानमा केही नेपाली हुनुहुन्छ । आफ्ना नागरिकको उद्धार गर्दा नेपालीको पनि उद्धारका निम्ति मैले भारत सरकारसँग आग्रह गरेकी छु । हामी भारतबाट सकारात्मक जवाफ आउनेमा विश्वस्त छौँ ।’

भारतका लागि नेपाली राजदूत डा शङ्कर शर्मा पनि नेपालीको उद्धारका निम्ति भारत सरकारसँग निरन्तर सम्पर्क एवं समन्वयमा छन् ।

तेहरानस्थित भारतको दूतावासले आफ्ना नागरिकको उद्धार गर्दैैछ । यस क्रममा उक्त दूतावासले नेपालीलाई पनि सम्पर्कमा आउन सूचना जारी गरेको छ ।

परराष्ट्र मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीले इरानमा रहेका नेपालीको उद्धारका लागि त्यहाँस्थित भारतीय दूतवासका उपप्रमुखसँग सम्पर्क र समन्वय गरिरहेको बताए ।

दमकबाट लागूऔषधसहित चार जना पक्राउ

दमक/ झापाको दमकबाट प्रतिबन्धित लागूऔषधसहित चार जना पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय दमकको टोलीले शुक्रबार राती लागूऔषध गोप्य सूचनाको आधारमा उनीहरुलाई पक्राउ गरेको हो ।
दमक नगरपालिका–५ मा कोठा भाडामा लिएर बस्दै आएका गौरादह नगरपालिका–४ का २४ बर्षीय अनुभव दर्नाल लगायत कारोबारमा संलग्न दमक–१ का २६ बर्षीय सुरज कुमाल, दमक–६ का २९ बर्षीय सुमन दर्जी र दमक–७ का ३४ बर्षीय बिर बहादुर पौडेललाई पक्राउ गरेको हो । प्रतिबन्धित औषधि Tramadol ८०० क्याप्सुल, ८०० चक्क Aanargan–35 खैरो हिरोईन ५ सय ५० मिलिग्राम र नगद १० हजार ५ सय रुपैया समेत बरामद गरिएको कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ । उनीहरुमाथी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

दमकका डीएसपी तिमल्सिनालाई पितृशोक

दमक/ इलाका प्रहरी कार्यालय दमकका प्रमुख प्रहरी नायब उपरीक्षक रामप्रसाद तिमल्सिनालाई पितृशोक परेको छ ।
सिन्धुलीको दुधौली नगरपालिका वडा नम्बर २ का स्थायीबासिन्दा तिमल्सिनाका बुबा केदारनाथ तिमल्सिनाको बुधबार ७० बर्षको उमेरमा निधन भएको हो ।

२०१२ साल चैत्र ८ गते जन्मिएका स्वर्गीय तिमल्सिनाकी श्रीमती , तीन छोरा र तीन बुहारी छन् । डीएसपी तिमल्सिना स्वर्गीय केदारनाथका कान्छा छोरा हुन् । उनका दाजुहरु जेठा टंक प्रसाद र माइला खगेन्द्र प्रसाद हुन् । उहाँको बिहिबार परम्परा अनुसार दाहसंस्कार गरिएको पारिवारिक स्रोतले जनाएको छ ।