दुहबीको जुटमिलमा आगलागी, आठ वटा दमकल परिचालन

सुनसरी/ सुनसरीको दुहबी नगरपालिका–८ सोनापुरस्थित हरिहन्त मल्टि फाइबर्स प्राली जुट मिलमा आज दिउँसो भीषण आगलागी भएको हो।

विराटनगरका उद्योगी राजकुमार गोल्छाले सञ्चालन गर्दै आएका उक्त जुट मिलमा करिब ४:३५ बजे लागेको आगो नियन्त्रणमा आउन सकेको छैन । आगलागीले व्यापक क्षति गरेको अनुमान गरिएको छ।

जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रवक्ता चन्द्र खड्काका अनुसार मिलभित्र ठूलो मात्रामा धागो जुट भएकोले आगो तीव्र रूपमा फैलिएको छ। उनले भने, “धागो भएकाले सजिलै सल्किने सामग्री अधिक मात्रामा रहेकाले आगो भित्री भागबाट तीव्र रूपमा फैलिएको छ, जसले नियन्त्रणमा कठिनाइ भएको हो।” क्षतिको विस्तृत विवरण अहिले अनुमान गर्न नसकिने पनि उनले जानकारी दिए।

आगो नियन्त्रणका लागि सुनसरी प्रहरीले २५ जना प्रहरी परिचालन गरेको छ । विराटनगर, दुहबी, देवाङ्गञ्ज, रामधुनी, सुन्दरहरैचा, बराहक्षेत्र र धरानबाट आठवटा दमकलले आगलागी नियन्त्रणको प्रयास गरिरहेका छन् । दमकल तथा सुरक्षाकर्मीको संयुक्त प्रयासमा आगो नियन्त्रण कार्य भइरहेको प्रहरीले जनाएको छ।

आगलागीको कारणबारे यकिन हुन बाँकी छ। विद्युत् सर्टका कारण आगो लागेको हुन सक्ने प्रारम्भिक अनुमान गरिएको प्रहरीको भनाइ छ।

माछा मार्ने क्रममा करेन्ट लागेर मृत्यु

साहित्य कला सङ्गमको सिर्जनशिल रचना वाचन

शर्माको अपहरणपछि हत्या अनुसन्धानमा झिलझिलेका प्रहरी निरीक्षक केसी उत्कृष्ट घोषित

दमक/ इलाका प्रहरी कार्यालय झिलझिले, झापामा कार्यरत प्रहरी निरीक्षक सुभाष केसी कोशी प्रदेशमा गत कार्तिक महिनाको ‘सर्वाेत्कृष्ट प्रहरी’ घोषित भएका छन् ।
केसी हालसालै सो कार्यालयको इञ्चार्जका रुपमा सम्हालेका प्रहरी निरीक्षक हुन् । उनी नेतृत्वको टोलीले शिवसताक्षी १० माइधारका ३३ बर्षिय सरोज शर्माको अपहरणपछि हत्या सम्बन्धिको घट्नामा प्रहरीका तर्फबाट अपराध अनुसन्धानमा गरिनु पर्ने कार्यसम्पादन सफलतापूर्वक गरेको थियो ।

कार्तिक ९ गते अर्जुनधारा–४ दहिझोडा सामुदायिक वनमा भएको अपहरण, शारीरिक बन्धक र ज्यानसम्बन्धी घटनामा संलग्नहरूलाई पहिचान गर्ने, हत्या गरिएको शर्माको शव फेला पारेर पहिचान गरी गहिरो अनुसन्धान, तथ्य–प्रमाण जुटाउने जस्ता महत्वपूर्ण कार्य गरी जघन्य अपराधमाथिको अनुसन्धानलाई निष्कर्षमा पुरयाउन प्रहरी निरीक्षक केसी नेतृत्वको टिम सफल भएको थियो ।
शर्माको शब हुलाकी मार्ग अन्तर्गत बिरिङ खोलाको पूल मुनी गाडेको अवस्थामा भेटिनका साथै उनको हत्यामा संलग्न दुई जनालाई पक्राउ गर्न, सो प्रकरणमा थप धनजनको क्षती हुनबाट जोगाउन महत्वपूर्ण नेतृत्वदायी भुमिका निर्वाह गरेको कारण उनलाई उत्कृष्ट प्रहरी घोषणा गरिएको कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।

ओलीसँग प्रतिस्पर्धाको तयारीमा पोखरेल

काठमाडौं/ नेकपा (एमाले)का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले आगामी एघारौँ महाधिवेशनमा अध्यक्षमा प्रतिस्पर्धा गर्ने घोषणा गरेका छन्।

बिहीबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा बसेको सचिवालय बैठकमा पोखरेलले आफू अध्यक्षमा उठ्ने मनस्थिती बनाइसकेको बताएका हुन्।

यसअघि सञ्चारमाध्यममार्फत अध्यक्ष पदमा उठ्ने बताउँदै आएका पोखरेलले पहिलो पटक पार्टी बैठकमा मुख खोलेका हुन्। बैठकमा अध्यक्ष केपी ओलीले समेत आफू पछि नहट्ने बताएको एक पदाधिकारीले जानकारी दिए।

बैठकमा वरिष्ठ उपाध्यक्ष पोखरेलले पार्टी आन्दोलन संकटापन्न अवस्थामा पुगेको, नेतृत्वको अभिव्यक्ति, कार्यशैलीका कारण संकट गहिरिँदै गएकाले यसको निकास दिने गरी आफूले प्रतिस्पर्धा गर्न चाहेको बताए।

‘यो जटिल परिस्थिती, यो गम्भीर परिस्थिती, यो संकटमा नयाँ ढंगले पार्टीलाई पुनर्गठन गरेर जानुपर्छ भनेर राख्दै आएका हौँ हामीले’ ती पदाधिकारीले नेपालखबरसँग भने, ‘खाली नेतृत्वको सवालमा त्यति छलफल भएको थिएन। आज अध्यक्ष (ओली)ले पनि म छोड्दिन, म उठ्छु भन्नुभयो। ईश्वर कमरेडले पनि म पनि उठ्ने तयारीमा छु भन्नुभयो।’

पोखरेलले अध्यक्षमा उठ्ने चाहना व्यक्त गरेपछि ओलीले भने सकभर मिलेर र एकमना एकताका साथ जान आग्रह गरेका थिए। तर, पोखरेल पछि नहट्ने अडान राखेपछि ओलीले भने स्वस्थ प्रतिस्पर्धा हुने बताएका थिए।

‘अध्यक्षले भरसक मिलेर जाउँ न। एकमना एकताका साथ जाउँ भन्नुभयो। मलाई साथ दिनुस् भन्ने ढंगले कुरा गर्नुभयो’ ती पदाधिकारी भन्छन्, ‘पोखरेलले होईन म उठ्ने मनस्थितिमा छु। मैले तयारी गरेको छु, म उठ्छु भन्नुभयो। त्यसो भए स्वस्थ प्रतिस्पर्धा गरेर जाउँ न त भन्ने कुरा भए।’

बैठकमा पोखरेलले मुख खोलेपछि अन्य केही पदाधिकारीले समेत समर्थन गरेका थिए।

पार्टीका पूर्वउपाध्यक्ष एवम् पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको समर्थनमा पोखरेल प्यानलै लिएर ओलीसँग प्रतिस्पर्धा गर्ने तयारीमा छन्।

 

पार्टीमा फर्किएकाहरुलाई एमालेले महाधिवेशन प्रतिनिधि बनाउने

काठमाडौं/ नेकपा एमालेले ‘घर फर्क अभियान’अन्तरगत पार्टीमा आएका नेताहरूलाई महाधिवेशन प्रतिनिधि बनाउने निर्णय गरेको छ ।

बिहीबार बसेको सचिवालय बैठकले विगतमा एमाले छाडेका तर पछिल्लो समय पार्टीमा फर्किएका नेताहरूलाई प्रतिनिधि बनाउने निर्णय गरेको हो ।
एमाले उपमहासचिव प्रदीप ज्ञवालीले एमालेमा फर्किनुभन्दा पहिले तत अवस्थामा केन्द्रीय समितिमा रहेकाहरूलाई प्रतिनिधि बनाउने जानकारी दिनु भयो । नेकपा एसबाट रामकुमारी झाँक्री, किसान श्रेष्ठ लगायतका नेताहरू एमालेमा फर्किएका थिए ।
नेकपा एमालेले महाधिवेशनका लागि विभिन्न उपसमिति गठन गरेको छ । पार्टीको सचिवालय बैठकले ११औँ महाधिवेशनका लागि प्रतिनिधि व्यवस्थापन समितिमा काशीनाथ अधिकारीलाई संयोजक तोकेको छ ।
जनपरिचालनका लागि प्रदीप ज्ञवाली, आवास व्यवस्थापनका लागि छविलाल विश्वकर्मा, खाद्य व्यवस्थापनमा लेखाराज भट्ट, यातायात व्यवस्थापनमा गोकर्ण विष्ट अतिथि सत्कार समितिमा रघुवीर महासेठ, स्वयंसेवक परिचालनमा भानुभक्त ढकाल, प्रचार समितिमा पद्मा अर्याल संयोजक मञ्च व्यवस्थापनमा विनोद श्रेष्ठ, स्वास्थ्य समितिमा कृष्ण गोपाल श्रेष्ठ र आर्थिक समितिमा विष्णु रिमालको संयोजकत्वमा उपसमिति गठन गरिएको छ ।

 

जेसीज सप्ताहमा आश्रमका बालबालिकाको स्वास्थ्य परिक्षण

दमक/ दमक जेसीजको आयोजनामा सञ्चालित जेसीज सप्ताह २०२५ अन्तर्गत चौथो दिन बालबालिका लक्षित स्वास्थ्य शिविर सञ्चालन गरिएको छ ।
दमक–९ स्थित दमक बाल आश्रममा आश्रमका बालबालिकाहरुको स्वास्थ्य परिक्षण तथा उपचार सेवालाई प्राथमिकतामा राखेर दमक जेसीजले आफ्नो जेसीज सप्ताह मनाएको हो ।
बिहीबार आश्रममा सञ्चालन गरिएको शिविरमा आश्रममा बस्दै आएका ३५ बालबालिकासहित आसपास क्षेत्रका समेत बालबालिकाहरु समेत करिब ५० जनाको स्वास्थ्य परिक्षण गरिएको जेसीज सप्ताह कार्यक्रमका मूल संयोजक रुवल अधिकारीले जानकारी दिनु भयो ।
आश्रमकी सञ्चालक समिति अध्यक्ष मन्धरा चिमरिया पौडेलको प्रमुख आतिथ्य साथै दमक जेसीज बर्ष २०२५ का अध्यक्ष सहदेब भट्टराईको अध्यक्षतामा सम्पन्न सो शिविरमा बालबालिकाको दाँत र आँखा जाँच तथा उपचार परामर्श सेवा प्रदान गरिएको थियो । सो अवसरमा दमक ९ का वडा सदस्य नरेश बन्जरा आश्रमकी सचिब दुर्गा खनाल काफ्ले र कोषाध्यक्ष मेनुका बुढाथोकी लगायतको आतिथ्य रहेको थियो । प्रमुख अतिथी समेत रहनु भएकी आश्रम सञ्चालक समिति अध्यक्ष एवं राष्ट्रिय महिला अधिकार मञ्चकी केन्द्रिय उपाध्यक्ष पौडेलले दमक जेसीजले सञ्चालन गर्दै आएका सामाजिक कामहरुको प्रशंसा गर्नु भयो । उहाँले आश्रमका तर्फबाट आयोजक तथा प्राविधिक टीमलाई धन्यवाद व्यक्त गर्नु भयो ।
कार्यक्रम जेसीज सप्ताह २०२५का मूल संयोजक दमक जेसीजका कार्यकारिणी उपाध्यक्ष रूबल अधिकारी र सो कार्यक्रमका संयोजक सरिता आचार्यको संयोजकत्वमा भएको थियो भने उपाध्यक्ष धर्म ढुगांनाले जेसीज आस्था पाठ बाचन गर्नुभएको थियो ।

 

दुर्गा प्रसाइँका निजी सुरक्षा गार्ड पक्राउ

काठमाडौं/ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका निजी सुरक्षागार्ड दीपक खड्का पक्राउ परेका छन् ।  उनलाई पक्राउ गरेर प्रहरीले अभद्र व्यवहारको मुद्दामा थुनामा राखेर अनुसन्धान अघि बढाएको छ ।

प्रसाईंलाई मंगलबार भेट्न पुगेका खड्कासहित ९ जनालाई प्रहरीले नियन्त्रणमा लिएर सोधपुछ गरेको थियो । सो समूहमध्ये ८ जनालाई भने रिहा गरिएको छ ।

जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एसपी पवनकुमार भट्टराईका अनुसार खड्काविरुद्ध अभद्र व्यवहारसम्बन्धी मुद्दामा म्याद लिएर थप अनुसन्धान जारी छ ।

प्रसाईंलाई प्रहरीले सोमबार राति सार्वजनिक शान्तिमा खलल पु¥याएको आरोपमा पक्राउ गरेको थियो ।

संसद पुनःस्थापनाले अराजकता निम्त्याउँछ– प्रधानमन्त्री कार्की

काठमाडौं/ अन्तरिम सरकारका प्रधानमन्त्री सुशीला कार्कीले नेकपा एमालेलाई संसद पुनः स्थापनाको कुरा गरेर संवैधानिक दायित्वबाट पलायन नहुन आग्रह गरेकी छन् । बुधवार राजनीतिक दलहरूसँगको छलफलका क्रममा सम्बोधन गर्दै उनले यस्तो आग्रह गरेकी हुन् ।

उनले फागुन २१ मा प्रतिनिधि सभा सदस्य निर्वाचन सम्पन्न गर्नु संवैधानिक दायित्व भएको बताइन् । निर्वाचनको घोषणापछि पनि कुनैकुनै दलमा राजनीतिको छेउकुनामा देखिएको अन्योल, संसद पुनः स्थापनाको माग र सरकारको वैधानिकतामाथि प्रश्न उठाउने कार्यले राष्ट्रलाई फेरि अस्थिरताको चक्रमा धकेल्न सक्ने बताइन् ।

संसद पुनः स्थापनको कुरा गर्नुले विगतको राजनीतिक दुर्घटना दोहोर्याउन खोजेको पुष्टि हुने बताइन् । लोकतन्त्रमा विश्वास गर्ने शक्तिहरूका लागि निर्वाचनबाट भाग्नु कुनै विकल्प नभएको बताइन् । दलको साथ, सहयोग र सहभागिताबिना निर्वाचनको परिकल्पना गर्न नसकिने भन्दै मङ्सिर १० गतेभित्र अनिवार्य रूपमा निर्वाचन आयोगमा निर्वाचन प्रयोजनका लागि दल दर्ता गराउन आग्रह गरिन् ।

उनले भनिन् ‘आगामी फागुन २१ मा प्रतिनिधिसभा सदस्य निर्वाचन सम्पन्न गर्नु हाम्रो संवैधानिक दायित्व र जनताप्रतिको अटल राजनीतिक प्रतिबद्धता हो । म स्पष्ट पार्न चाहन्छु, हाम्रो संवैधानिक अडानमा कुनै अलमल छैन । निर्वाचनको अनिवार्यताका बारेमा पनि हाम्रो प्रतिबद्धता दरिलो र स्पष्ट छ । तर निर्वाचनको घोषणापछि पनि कुन्दनै दलमा राजनीतिको छेउकुनामा देखिएको अन्योल, संसद पुनः स्थापनाको माग र सरकारको वैधानिकतामाथि प्रश्न उठाउने कार्यले राष्ट्रलाई फेरि अस्थिरताको चक्रमा धकेल्न सक्छ । अब संसद पुनः स्थापनाको अडान लिने हो भने त्यस कार्यले केवल विगतको राजनीतिक दुर्घटनालाई दोहोर्याउन खोजेको पुष्टि हुन्छ ।

तसर्थ हामीले अब राजनीतिक बहसलाई संवैधानिक निकासको बाटो अर्थात् निर्वाचनमा केन्द्रित गर्नुपर्छ । लोकतन्त्रमा विश्वास गर्ने शक्तिहरूका लागि निर्वाचनबाट भाग्नु कुनै विकल्प होइन । तसर्थ लोकतन्त्रमा विश्वास गर्ने कुनै पनि दलले जनमतको सम्मान नगरी पुनः स्थापनाको कुरा गरेर संवैधानिक दायित्वबाट पलायन नहोस् भनी म विशेष आग्रह गर्दछु । लोकतन्त्रका वाहक शक्ति राजनीतिक दल नै हुन् । दलको साथ, सहयोग र सहभागिताबिना चुनावको परिकल्पना पनि असम्भव हुन्छ । म सबै दलहरूलाई विनम्र आग्रहका साथै दृढतापूर्वक भन्न चाहन्छु— मङ्सिर १० गतेभित्र अनिवार्य रूपमा निर्वाचन आयोगमा निर्वाचन प्रयोजनका लागि दल दर्ता गराउनुहोस् । यो समयसीमा केवल एउटा प्रशासनिक प्रक्रिया होइन, यो राष्ट्रप्रतिको तपाईँहरूको न्यूनतम राजनीतिक प्रतिवद्धताको कसीमा जाँच हो। दल दर्ता नगर्ने वा निर्वाचन बहिष्कार गर्ने कुनैपनि दलले लोकतन्त्रको रक्षाभन्दा अराजकता रोजेको ठहरिनेछ ।’

प्रधानमन्त्री कार्कीले दल दर्ता नगर्ने वा निर्वाचन बहिष्कार गर्ने कुनैपनि दलले लोकतन्त्रको रक्षाभन्दा अराजकता रोजेको ठहर हुने बताइन् ।

प्रदर्शन उग्र बनेपछि सिमरा विमानस्थलमा कर्फ्यु

बारा/ नेकपा एमालेका महासचिव शंकर पोखरेल र पोलिटब्युरो सदस्य महेश बस्नेतलाई रोक्न भन्दै जेन-जीका नाममा गरिएको प्रदर्शन उग्र बनेपछि सिमरा विमानस्थल क्षेत्रमा कर्फ्यु जारी गरिएको छ।

जिल्ला प्रशासन कार्यालय बाराले बुधबार दिउँसो १२:३० बजेदेखि बेलुका ८:०० बजेसम्म सिमरा क्षेत्रमा कर्फ्यू आदेश जारी गरेको छ। जारी आदेशअनुसार जीतपुरसिमरा उपमहानगरपालिका क्षेत्रभित्र निम्न स्थानहरूमा पाँचजना वा सोभन्दा बढी व्यक्ति भेला हुन, जुलुस निकाल्न, प्रदर्शन गर्न, सभा-बैठक गर्न वा आवतजावत गर्न पूर्ण रूपमा निषेध गरिएको छ ।

प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र कुमार मिश्रद्वारा हस्ताक्षरित आदेशमा सिमरा विमानस्थल आसपासमा जेन–जे युवाहरूको प्रदर्शन र विभिन्न राजनीतिक दल आवद्ध समूहहरूबीच झडप भएको तथा सरकारी र निजी सम्पत्तिमा क्षति हुन सक्ने जोखिम बढेपछि स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (क) र (ख) बमोजिम कर्फ्यू लगाइएको जनाइएको छ।

कर्फ्यू अवधिभर अत्यावश्यक सेवाहरू भने सञ्चालन रहनेछन्। एम्बुलेन्स, दमकल, शव वाहन, स्वास्थ्यकर्मीका सवारी, सञ्चारकर्मी, पर्यटक सवारी, मानव अधिकारकर्मी तथा कूटनीतिक नियोगका सवारी साधन र हवाई टिकट देखाएर विमानस्थल जाने/आउने यात्रुहरूलाई सुरक्षाकर्मीले सहजीकरण गर्ने जनाइएको छ।