बारा/ नेकपा एमालेका महासचिव शंकर पोखरेल र पोलिटब्युरो सदस्य महेश बस्नेतलाई रोक्न भन्दै जेन-जीका नाममा गरिएको प्रदर्शन उग्र बनेपछि सिमरा विमानस्थल क्षेत्रमा कर्फ्यु जारी गरिएको छ।

जिल्ला प्रशासन कार्यालय बाराले बुधबार दिउँसो १२:३० बजेदेखि बेलुका ८:०० बजेसम्म सिमरा क्षेत्रमा कर्फ्यू आदेश जारी गरेको छ। जारी आदेशअनुसार जीतपुरसिमरा उपमहानगरपालिका क्षेत्रभित्र निम्न स्थानहरूमा पाँचजना वा सोभन्दा बढी व्यक्ति भेला हुन, जुलुस निकाल्न, प्रदर्शन गर्न, सभा-बैठक गर्न वा आवतजावत गर्न पूर्ण रूपमा निषेध गरिएको छ ।

प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र कुमार मिश्रद्वारा हस्ताक्षरित आदेशमा सिमरा विमानस्थल आसपासमा जेन–जे युवाहरूको प्रदर्शन र विभिन्न राजनीतिक दल आवद्ध समूहहरूबीच झडप भएको तथा सरकारी र निजी सम्पत्तिमा क्षति हुन सक्ने जोखिम बढेपछि स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (क) र (ख) बमोजिम कर्फ्यू लगाइएको जनाइएको छ।

कर्फ्यू अवधिभर अत्यावश्यक सेवाहरू भने सञ्चालन रहनेछन्। एम्बुलेन्स, दमकल, शव वाहन, स्वास्थ्यकर्मीका सवारी, सञ्चारकर्मी, पर्यटक सवारी, मानव अधिकारकर्मी तथा कूटनीतिक नियोगका सवारी साधन र हवाई टिकट देखाएर विमानस्थल जाने/आउने यात्रुहरूलाई सुरक्षाकर्मीले सहजीकरण गर्ने जनाइएको छ।

Facebook Comments Box