पक्राउ परेका दुर्गा प्रसाइँलाई आज अदालत लगिँदै, कसुर कुन ?

 शान्ति सुरक्षामा खलल पुर्‍याउने गतिविधि र भड्काउपूर्ण अभिव्यक्तिका कारण चर्चामा रहेका ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति बचाउ महाअभियान’का संयोजक दुर्गा प्रसाईंलाई प्रहरीले सोमबार मध्यराति भक्तपुरस्थित निवासबाट नियन्त्रणमा लिएको छ । गृह मन्त्रालयले निर्वाचन सुरक्षालाई मध्यनजर गर्दै कडा निगरानी गरिरहेका प्रसाईंलाई पक्राउ गरिएको हो ।

  आइतबार गृहमन्त्री ओमप्रकाश अर्यालको अध्यक्षतामा बसेको सुरक्षा समिति बैठकमा प्रसाईंका गतिविधिलाई गम्भीरतापूर्वक लिँदै कारबाहीको दायरामा ल्याउनेबारे गहन छलफल भएको थियो । बैठकमा नेपाल प्रहरीका प्रमुख आईजीपी दानबहादुर कार्की, सशस्त्र प्रहरी प्रमुख राजु अर्याल र राष्ट्रिय अनुसन्धान विभागका प्रमुख टेकेन्द्र कार्कीले प्रसाईंका अभिव्यक्तिले समाजमा त्रासको वातावरण सिर्जना गरिरहेको भन्दै चिन्ता व्यक्त गरेका थिए । विशेषगरी ‘दूतावासमा बम पड्काएर आफूतिर आरोप लगाइदिनसक्छन्’ र ‘देशै ठप्प हुन्छ’ भन्दै दिएको अभिव्यक्तिलाई सुरक्षा संयन्त्रले अत्यन्तै गम्भीरताका साथ लिएको थियो । 

सुरक्षा समिति बैठकले प्रसाईंको नाम उल्लेख नगरी हिंसा भड्काउने, जनतालाई आतंकित पार्ने गतिविधि गर्ने जो कोहीलाई पनि कडाइका साथ कानुनी कारबाही अगाडि बढाउने निर्णय गरेको थियो । मन्त्रालयका एक अधिकारीका अनुसार उक्त निर्णय दुर्गा प्रसाईंका अभिव्यक्तिलाई नै लक्षित गरी गरिएको थियो । केही दिनअघि गृहमन्त्री अर्यालले समेत प्रसाईंसहितका व्यक्तिका अभिव्यक्तिलाई गम्भीरतापूर्वक लिएको सार्वजनिक रुपमा बताएका थिए ।

प्रसाईंले ७ मंसिरदेखि आन्दोलन चर्काउने सार्वजनिक घोषणा गरेपछि गृह प्रशासनले उनलाई छलफलका लागि बोलाएको थियो । प्रसाईंका प्रतिनिधि माधव खतिवडासहितको समूहले मन्त्रालयमा २६ बुँदे मागपत्र पेस गर्दै आन्दोलन शान्तिपूर्ण हुने प्रतिबद्धता जनाएको थियो । तर, उक्त प्रतिबद्धता विपरीत प्रसाईंले निरन्तर भड्काउपूर्ण अभिव्यक्ति दिँदै आएपछि प्रहरीले कडा कदम चालेको हो ।

मध्यराति उपत्यका प्रहरी कार्यालय र जिल्ला प्रहरी परिसर, काठमाडौंको संयुक्त टोलीले प्रसाईंलाई नियन्त्रणमा लिएको हो । सोमबार दिउँसोसम्म उनले आफैं गिरफ्तारी दिने दाबी गरे पनि अन्ततः प्रहरीले उनलाई उनको निवासबाटै पक्राउ गरेको हो । हाल उनलाई जिल्ला प्रहरी परिसर, भद्रकालीको हिरासतमा राखिएको छ । 

प्रहरीले उनलाई कुन कसुरमा कारबाही प्रक्रिया अगाडि बढाउने भन्नेबारे भने टुंगो लगाइसकेको छैन । मंगलबार सरकारी वकिलसँग सल्लाह गरी उनलाई म्याद थपका लागि अदालत उपस्थित गराइने छ ।

प्रसाइँले गरे अनिश्चितकालीन आन्दोलनको घोषणा

काठमाडौं/ राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईँले आगामी मंसिर ७ गतेदेखि अनिश्चितकालीन आन्दोलन घोषणा गरेका छन् । आज (सोमबार) पत्रकार सम्मेलन गर्दै उनले मेचीदेखि महाकाली ठप्प पार्ने दाबी गरे । व्यवस्था परिवर्तन नभएसम्म आन्दोलनमै बस्ने उनको घोषणा रहेको छ ।

व्यवस्था परिवर्तन नभएरसम्म महेन्द्र राजमार्गमा छ्याप्पै बस्ने बताउँदै उनले पूर्वमेचीदेखि पश्चिम महाकालीसम्म दोकान–व्यवसाय बन्द हुने बताए । प्रसाईले नेपाल प्रिमियर लिग (एनपीएल) का कारण आफ्नो आन्दोलन नरोकिने बताए । प्रसाईँले घरमै बसेर एनपीएल हेर्न पनि सुझाव दिए ।

जेनजी आन्दोलनमा झिलझिलेबाट भागेका दुई जना पक्राउ

दमक/ जेनजी आन्दोलनको बलमा प्रहरी हिरासतबाट भागेका कैदीबन्दीहरु धमाधम पक्राउ परिरहेका छन् । इलाका प्रहरी कार्यालय झिलझिलेबाट खटिएको प्रहरी टोलीले झिलझिलेको हिरासतबाट भागेका शिवसताक्षी ४ का २९ बर्षिय राजेन्द्र ताजपुरिया र सोही ठाउँका ४० बर्षिय नन्दिकिशोर साहलाई प्रहरीले आइतबार पक्राउ गरेको हो । उनीहरु दुवै जना लागुऔषध मुद्धामा म्याद थप भई अनुसंधानमा रहेका थिए । उनीहरु २४ भाद्रमा जेनजी आन्दोलनको बलमा फरार भएका थिए ।

झापामा मोटरसाइकल दुर्घटना परेर एक जनाको मृत्यु

दमक/ मोटरसाइकल दुर्घटनामा परेर झापामा एक जनाको मृत्यु भएको छ । बुद्धशान्ति गाउँपालिका– ४ निवासी २६ वर्षीय अभिषेक नेवारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
प्रहरीका अनुसार कार्तिक २९ गते राति साढे ९ बजेको समयमा बुद्धशान्ति–४ मंगलबारेस्थित भित्रि सडकखण्डमा भञ्जयाङबाट मङ्गलबारेतर्फ जाँदै गरेको मे १० प ११०४ नम्बरको मोटरसाइकल आफैँ अनियन्त्रित भई दुर्घटना भएको थियो ।
दुर्घटनामा परी घाइते मोटरसाइकल चालक नेवारलाई उपचारका लागि बीएण्डसी अस्पताल बिर्तामोडमा लगिएको थियो ।
कार्तिक ३० गते राति ९ बजेको समयमा घाइते भएका उनलाई आफन्तले घर लिई गएकोमा आज बिहान साढे ६ बजे उनको घरमै मृत्यु भएको हो ।

अवैध डिम्ब प्रकरण-प्रधानमन्त्री र महान्यायाधिवक्तामाथि छानबिनको माग

काठमाडौं/ अवैध डिम्ब प्रकरणमा नाबालिग पीडितका प्रमाण, बयान र CIB को सिफारिस हुँदाहुँदै मुद्दा नै रोकिएको घटनाले न्यायिक स्वतन्त्रतामाथि हस्तक्षेप भएको भन्दै जेन्जी मुभमेन्ट नेपालले कडा आपत्ति जनाएको छ। मुभमेन्टले प्रधानमन्त्री सुशीला कार्की र महान्यायाधिवक्तामाथि “मामिला दाबिएको” आरोप लगाउँदै तत्काल छानबिन र जिम्मेवारी तोक्न माग गरेको छ।

जेन्जी मुभमेन्ट नेपालका प्रवक्ता विजय शाहद्वारा जारी वक्तव्यमा CIB ले चिकित्सक र सञ्चालकलाई कानुन उल्लंघन गरेको भन्दै मुद्दा चलाउन सिफारिस गरिसकेको अवस्थामा “मामिला रोकिएको” निर्णय शक्तिको दुरुपयोग तथा स्पष्ट भ्रष्टाचार भएको उल्लेख गरिएको छ।

वक्तव्यमा भनिएको छ, “प्रधानमन्त्री सुशीला कार्की र महान्यायाधिवक्ताको मिलेमतोमा मामिला दाबिएको देखिनु न्याय प्रणालीमाथिको प्रत्यक्ष हस्तक्षेप हो।” मुभमेन्टले यसलाई नाबालिगमाथिको अपराधको संस्थागत ढाकछोप को रूपमा लिएको छ।  वक्तव्यमा जेन्जी विद्रोहपछि “राज्य विहीनताको फाइदा उठाउँदै सत्ता कु गरेर बनेको सरकार एकपछि अर्को भ्रष्टाचार र कमिसन प्रकरणमा फसिरहेको” आरोप पनि लगाइएको छ। शाहले नाबालिगमाथि भएको अपराध लुकाउने तथा शक्तिको दुरुपयोग गर्ने जो–कसै विरुद्ध आन्दोलन निरन्तर रहने बताएका छन्।

रास्वपामा पार्टी पुनर्निमाण पक्षधरहरु बाहिरिँदै, तोसिमाको यस्तो चेतावनी

कठमाडौं/ राष्ट्रिय स्वतन्त्र पार्टीभित्र निरन्तर पार्टी पुनर्निमाण हुनुपर्छ भन्दा संस्थापन समूहको सिकार बनिरहेकी नेतृ तोसिमा कार्कीले देश एक व्यक्तिले नबन्ने भन्दै रवि लामिछानेपक्षका नेताहरूप्रति कटाक्ष गरेकी छन्।   सामाजिक सञ्जाल फेसबुकमार्फत उनले घमण्ड र दबाबको प्रसंग निकाल्दै केपी ओलीको उदाहरण पनि दिएकी छन्। उनले सन्तोष परियार, सुमना श्रेष्ठहरु पार्टी छोडेर निस्केको विषयमा पनि पार्टी नेतृत्वलाई दोष दिएकी छन्।

‘सबै अट्ने सबै खट्ने पार्टी बनाउने मार्गचित्र पेस हुनै नदिन अनेक प्रयास गरियो, तर संगठनका साथीहरुको अत्याधिक दबाबको कारण संस्थापन पक्ष बाध्य बन्यो। संगठनमा पैसा पसिना समय खर्च गरेर दिन रात खटिनुभएका संगठनका साथीहरुलाई विशेष धन्यवाद त्यस दिन त्यो आवाज र साथ समर्थनको लागि,’ तर फेरी निर्णयमा न बहुमतको कदर भयो। न विधि पद्दतिमा नै चल्यो। घमण्ड र दबाबले पार्टी चलाउनुथ्यो त ओली नै थिए नि ! आफू र आफ्नो पार्टी सुधार्न उदार हुन नसक्ने, रिफर्मको एजेणडालाई प्रतिगमनकारी भन्नेले देश के बनाउलान् र खोई ? हेक्का रहोस् बेलैमा नसुध्रिए, सबै अट्ने सबै खट्ने गरी पार्टी रिफर्म हुन नसके अझ धेरै अब्बल व्यक्तिहरु पार्टीले गुमाउँदैछ।’

उनले फरक विचार राख्नेहरु मिडिया ट्रायलको सिकार बन्नु परेको भन्दै आत्मसम्मान प्रहार गर्दा नेताहरुले पार्टी छोड्ने पनि बताएकी छन्।

‘फरक विचार राख्दैमा फरक रोडम्याप ल्याउँदैमा तिमीहरुको मिडिया ट्रायलको बारम्बार सिकार हुनुपर्छ र आफ्नो अस्तित्व नै एक व्यक्तिले दया गरेर पाएको भन्ने गरी आत्मसम्मानमा प्रहार हुन्छ भने साथिहरु एक पछि अर्को निस्किन्छन् नै। कोहि बोलेर कोहि नबोलेरै,’ उनले भनेकी छन्, ‘फेरि भन्छु, एक व्यक्तिले देश बन्दैन। देश बनाउन सज्जनहरुको सहकार्य चाहिन्छ।’

विवाह गराइदिने बहानामा चीन पठाउने चार जना पक्राउ

नेपालमा व्यावसायिक भिसामा बसेका तर शंकास्पद गतिविधिमा संलग्न चार जना चिनियाँ नागरिकलाई अध्यागमन विभागले आज नियन्त्रणमा लिएको छ। नियन्त्रणमा लिइएकामध्ये एक जना महिला र तीन जना पुरुष रहेका छन्। काठमाडौंको सोह्रखुट्टेस्थित मिलिजुली चोक, म्हैपीबाट उनीहरूलाई पक्राउ गरिएको हो। यो स्थानलाई ठूलो संख्यामा चिनियाँ नागरिकहरू बसोबास गर्ने भएकाले ‘चाइनिज हाउजिङ’ को नामले पनि चिनिन्छ।

प्रारम्भिक अनुसन्धानका अनुसार, यी चिनियाँ नागरिकहरूले व्यावसायिक भिसा लिए पनि आफ्नो व्यवसाय, कम्पनीको नाम वा सोसम्बन्धी कुनै जानकारी दिन सकेनन्। उनीहरूले आर्थिक रूपमा कमजोर नेपाली युवतीहरूलाई जागिरको प्रलोभन देखाएर सामाजिक सञ्जाल टिकटकमा भिडियो बनाउन लगाउने र त्यसमार्फत अन्य चिनियाँहरूसँग साथी बनाई विवाह गराउने गरेको खुलेको छ। यसका साथै, केही नेपाली युवतीहरूलाई चीनमा लगेर विवाह गर्ने भन्दै चीन नै पठाएको जानकारी पनि प्राप्त भएको छ।

उनीहरूले म्हैपीमा घर भाडामा लिएर नेपाली युवतीहरूलाई राख्ने र नेपाललाई केन्द्र बनाएर विभिन्न मुलुकमा उनीहरूलाई समेत लिएर भ्रमण गर्ने गरेको अनुसन्धानबाट खुलेको छ। नियन्त्रणमा लिइएकामध्ये दुई जना विगत १० वर्षदेखि नेपालमा पर्यटक, अध्ययन र व्यावसायिक भिसा लिएर बस्दै आएका थिए। भिसा जाँच गर्ने क्रममा उनीहरू राहदानी र भिसा देखाउन असमर्थ भएका थिए भने अध्यागमनका कर्मचारी र सुरक्षाकर्मीहरूलाई दुर्व्यवहार समेत गरेका थिए।

अध्यागमन विभागका अनुसार, अध्यागमन ऐन, २०४९ को दफा ६ मा विदेशीको प्रवेश, उपस्थिति र प्रस्थानसँग सम्बन्धित लिखतहरू अध्यागमन अधिकृत वा महानिर्देशकले तोकेको कर्मचारीले जुनसुकै स्थान र समयमा जाँच गर्न तथा कब्जामा लिन सक्ने व्यवस्था छ। त्यस्तै, अध्यागमन नियमावली, २०५१ मा विदेशीले जुन उद्देश्यका लागि भिसा प्राप्त गरेको हो, सोबाहेक अन्य काम गर्न नपाइने व्यवस्था गरिएको छ। यसरी गैरकानूनी रूपमा बसेका वा शंकास्पद गतिविधिमा संलग्न विदेशीहरूलाई अनुसन्धानपछि महानिर्देशकले ५० हजार रुपैयाँसम्म जरिवाना गर्ने र अवधि तोकी वा नतोकी नेपाल पुनः प्रवेश गर्न नपाउने गरी डिपोर्ट गर्ने कानूनी प्रावधान छ।

विभागले नेपालमा भिसाको उद्देश्यविपरीत बसेका वा शंकास्पद क्रियाकलापमा संलग्न विदेशी नागरिकहरूलाई नियन्त्रणमा लिएर अध्यागमन कानूनबमोजिम कारबाही गर्ने नीति अवलम्बन गरेको छ। यो घटनाले नेपालमा विदेशीहरूको गतिविधिमाथि थप निगरानी बढाउने अपेक्षा गरिएको छ। थप अनुसन्धान जारी रहेको विभागले जनाएको छ।

जेनजी आन्दोलनका क्रममा फरार दुई जना थुनुवा पक्राउ

विर्तामोड/ जेनजी आन्दोलनका क्रममा हिरासतबाट फरार दुई जना थुनुवा आज आफ्नै घरबाट पक्राउ परेका छन् । पक्राउ पर्नेमा विर्तामोड नगरपालिका वडा नं. ८ का ३३ वर्षीय सरोज पौडेल र सोही ठेगानाका २५ वर्षीय पंकराज मैनाली रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

जेनजी आन्दोलनको क्रममा दुबै थुनुवा विर्तामोडको अनारमनी इलाका प्रहरी कार्यालयको हिरासतबाट भागेका थिए । दुबै थुनुवा लागू औषध कसुरमा अनुसन्धानका लागि हिरासतमा राखिएका थिए ।

यसअघि बाह्रदशी गाउँपालिका वडा नं. ४ रामचोकमा डेरा गरी बस्दै आएका २७ वर्षीय ईसरप खातुन र सोही वडा निवासी २२ वर्षीय विकास टुडु जेनजी आन्दोलनमा लुटिएको हतियारका गोलीसहित पक्राउ परेका छन् ।

जिल्ला प्रहरी कार्यालय र इप्रका अनारमनीको संयुक्त टोलीले विर्तामोड–२ रामचोकस्थित लालबहादुर गिरीको घरमा डेरा बस्दै आएका ईसरुप खातुनको कोठामा बुधवार तलासी लिदा एसएलआरको ३८ राउन्ड र इन्सास राइफलको १६ राउन्डसहित लुटपाटका सामान बरामद गरेको जिल्ला प्रहरी कार्यालय झापाको प्रवक्ता खगेन्द्रबहादुर खड्काले बताउनुभयो ।

जिल्लाका विभिन्न प्रहरी कार्यालयको भवन र सवारी साधन तोडफोड, आगजनी र लुटपाटमा संलग्न १२ जनालाई प्रहरीले यसअघि पक्राउ गरिसकेको छ ।

भदौ २४ गते झापाको अनारमनी, सुरुङ्गा र दमकस्थित इलाका प्रहरी कार्यालयमा आगजनी, तोडफोड, लुटपाट र प्रहरी कर्मचारीमाथि आक्रमणका घटना भएका थिए । उक्त घटनाको सीसीटीभी फुटेज, भिडियो र फोटोहरुको  अध्ययन र विश्लेषणका आधारमा अभियुक्तको पहिचान गरी नियन्त्रणमा लिइएको खड्काले बताउनुभयो ।

खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको साधारण सभा तयारी

दमक/ खानेपानी तथा सरसफाई उपभोक्ता संस्था दमकको २९ औं बार्षिक साधारण सभा कार्तिक २८ गते शुक्रबार हुँदैछ ।
संस्थाको दमक १ स्थित कार्यालयको सभाकक्षमा हुने साधारण सभाको पूर्व सन्ध्यामा आज बिहिबार पत्रकार सम्मेलन गर्दै साधारण सभामा प्रस्तुत हुने बार्षिक प्रतिवेदन सार्वजनिक गरिएको छ ।
संस्थाका अध्यक्ष रवि न्यौपाने सचिव चन्द्र थापा, लेखा संयोजक राधिका ओझा, व्यवस्थापक कृष्ण थापा, संस्थाका कार्यसमिति सदस्यहरु दुर्गा खनाल (काफ्ले), रीता श्रेष्ठ, गजेन्द्र देवान, पार्वता ढकाल, दिलु सुब्बा, सल्लाहकार बिष्णुमाया भट्टराई ,  लेखा सदस्य हरी राई लगायतले संयुक्त रुपमा सो प्रतिवेदन सार्वजनिक गर्नु भयो ।

५४ पृष्ठ लामो सो प्रतिवेदनमा संस्थाको हाल सम्मको उपलब्धी, बिगतदेखि भावी नीति, कार्यक्रमहरु, सेवा प्रवाह, आर्थिक पक्ष (आय व्यय), सञ्चालनमा रहेका संस्थागत कार्य योजना र भावी रणनीतिहरु आदी बिषय समेटिएको छ ।
सो अवसरमा बोल्दै संस्थाका अध्यक्ष न्यौपानेले आर्थिक बर्ष २०८१/०८२ को वास्तविक खर्च ८ करोड १९ लाख ४८ हजार रुपैयाँ रहेको र आर्थिक बर्ष २०८२/०८३ का लागि ८ करोड ६९ लाख २० हजार रुपैयाँ विनियोजन गरिएको जानकारी दिनु भयो । २०५१ सालदेखि शुरु भएको दमकको खानेपानीलाई नगरका सबै वडामा पुरयाउने लक्ष्य रहेको उल्लेख गर्नु भयो । उहाँले उपभोक्ताको माग र आवश्यकतालाई अध्ययन गरी संस्थाको आर्थिक अवस्थालाई समेत मध्यनजर गर्दै बिगतमा न्यूनतम ८ युनिट सम्म खानेपानी शुल्क १३० रुपैयाँ रहेकोमा वर्तमान नेतृत्वले सो शुल्क न्यूनतम ५० रुपैयाँ कायम गरेको , धारा जडान शुल्क १५ हजार ३०० रहेकोमा ३ हजार रुपैयाँ कटौती गरी हाल १२ हजार ३ सय रुपैयाँ मात्रै कायम गरेको पनि जानकारी दिनु भयो । न्यून आय भएका घर परिवारलाई क्षेत्रगत आधारमा ५ घरलाई पूर्ण निशुल्क र १५ घरलाई ५० प्रतिशत छुटमा धारा जडान गर्ने नीति लिइएको पनि सार्वजनिक गरिएको प्रतिवेदनमा उल्लेख छ ।

उपभोक्ताहरुबाट भइरहेको पानीको मागलाई ध्यानमा राखेर २४ सै घण्टा शुद्ध पिउने पानी उपलब्ध गराउन संस्था प्रयत्नशील रहेको , योजनालाई थप दिगो, भरपर्दो र प्रविधिमैत्री बनाउन प्रयत्नशील रहेको पनि अध्यक्ष न्यौपानेले उल्लेख गर्नु भयो । उपभोक्तालाई महसुल तिर्न सहज बनाउने उद्धेश्यले क्यूआर तयार गरी जडान गर्ने कार्य भइरहेको पनि जनाइएको छ ।
अघिल्लो आर्थिक बर्षमा सिस्टम नम्बर १ वडा नं २ बाट पानी वितरण गर्न संस्थाको दमक २ अडियामल स्थित जग्गामा १ सेट प्रेशर फिल्टर तथा बोरिङ निर्माण गरी पानी सञ्चालन गरिएको , खानेपानी आयोजनाको जिआइएस तथा क्यूआर जडान गरिएको , हाल सम्म १२ वटा सार्वजनिक धारा निशुल्क जडान गरिएको, विपन्न परिवारमा ५० प्रतिशत छुटमा ६३ वटा र १२ परिवारमा निशुल्क धारा जडान गरिएको पनि पत्रकार सम्मेलनमा जनाइएको छ । दमकको खानेपानीमा करीब १४ हजार भन्दा धेरै धारा उपभोक्ता छन् ।

जेन्जी मुभमेन्ट नेपालका प्रवक्ता शाह पक्राउ

काठमाडौं/ जेन्जी मुभमेन्ट नेपालका प्रवक्ता विजय शाहलाई प्रहरीले माइतीघर मण्डलाबाट पक्राउ गरेको छ। सुशीला कार्कीले सत्ता कु गरेको दिन (भाद्र २७) लाई जेन्जी विद्रोहको लागि कालो दिन का रूपमा स्मरण गर्दै कार्तिक २७ गते माइतीघरमा सांकेतिक विरोध गर्न गएका विजय शाहलगायत कार्यकर्ताहरूलाई प्रहरीले पक्राउ गरेको हो। भाद्र २७ गते सुशीला कार्की नेतृत्वको सरकारले सत्ता कु गरेर जेन्जी विद्रोहलाई अपहरण गरेको आरोप लगाउँदै शाहले सांकेतिक प्रदर्शन गरेका थिए।

शान्तिपूर्ण रूपमा विरोधमा उभिएका शाह र उनका सहकर्मीहरूलाई प्रहरीले नियन्त्रणमा लिएर सिंहदरबार प्रहरी वृत्तमा लगेको बताइएको छ।

जेन्जी मुभमेन्ट नेपालले यस घटनालाई अभिव्यक्तिको अधिकारमाथिको दमन भन्दै तत्काल रिहाइको माग गरेको छ।