दमक/ दमक जेसीजको आयोजनामा सञ्चालित जेसीज सप्ताह २०२५ अन्तर्गत चौथो दिन बालबालिका लक्षित स्वास्थ्य शिविर सञ्चालन गरिएको छ ।
दमक–९ स्थित दमक बाल आश्रममा आश्रमका बालबालिकाहरुको स्वास्थ्य परिक्षण तथा उपचार सेवालाई प्राथमिकतामा राखेर दमक जेसीजले आफ्नो जेसीज सप्ताह मनाएको हो ।
बिहीबार आश्रममा सञ्चालन गरिएको शिविरमा आश्रममा बस्दै आएका ३५ बालबालिकासहित आसपास क्षेत्रका समेत बालबालिकाहरु समेत करिब ५० जनाको स्वास्थ्य परिक्षण गरिएको जेसीज सप्ताह कार्यक्रमका मूल संयोजक रुवल अधिकारीले जानकारी दिनु भयो ।
आश्रमकी सञ्चालक समिति अध्यक्ष मन्धरा चिमरिया पौडेलको प्रमुख आतिथ्य साथै दमक जेसीज बर्ष २०२५ का अध्यक्ष सहदेब भट्टराईको अध्यक्षतामा सम्पन्न सो शिविरमा बालबालिकाको दाँत र आँखा जाँच तथा उपचार परामर्श सेवा प्रदान गरिएको थियो । सो अवसरमा दमक ९ का वडा सदस्य नरेश बन्जरा आश्रमकी सचिब दुर्गा खनाल काफ्ले र कोषाध्यक्ष मेनुका बुढाथोकी लगायतको आतिथ्य रहेको थियो । प्रमुख अतिथी समेत रहनु भएकी आश्रम सञ्चालक समिति अध्यक्ष एवं राष्ट्रिय महिला अधिकार मञ्चकी केन्द्रिय उपाध्यक्ष पौडेलले दमक जेसीजले सञ्चालन गर्दै आएका सामाजिक कामहरुको प्रशंसा गर्नु भयो । उहाँले आश्रमका तर्फबाट आयोजक तथा प्राविधिक टीमलाई धन्यवाद व्यक्त गर्नु भयो ।
कार्यक्रम जेसीज सप्ताह २०२५का मूल संयोजक दमक जेसीजका कार्यकारिणी उपाध्यक्ष रूबल अधिकारी र सो कार्यक्रमका संयोजक सरिता आचार्यको संयोजकत्वमा भएको थियो भने उपाध्यक्ष धर्म ढुगांनाले जेसीज आस्था पाठ बाचन गर्नुभएको थियो ।