माइधारका सरोजको हत्यामा संलग्न मामा भान्जा जेल चलान

झापा / झापाको शिवसताक्षी नगरपालिका–१० माईधारका ३३ वर्षीय सरोज शर्माको योजनाबद्ध हत्या प्रकरणमा संलग्न मामा र भान्जा पुर्पक्षका लागि जेल चलान भएका छन्।

झापा जिल्ला अदालतले आज २७ वर्षीय सुनिल शाह (मामा) र २३ वर्षीय राहुल साह (भान्जा)लाई थुनामा राखेर मुद्दा अघि बढाउने आदेश दिएको हो।

घटनामा संलग्न रहेको ठानिएका एक भारतीय युवक भने अझै फरार रहेको प्रहरीले जनाएको छ। प्रारम्भिक अनुसन्धान अनुसार ती भारतीय युवक सरोजको हत्यामा प्रत्यक्ष रुपमा सहभागी थिए। उनको पहिचान खुलिसकेको भएपनि पक्राउ हुन बाँकी छ।

प्रहरीका अनुसार सरोज शर्माको हत्या आकस्मिक नभई सुन लुट्ने उद्देश्यसहितको योजनाबद्ध अपराध थियो। कात्तिक ९ गते मामा–भान्जाले सरोजलाई फसाइ हत्या गरेको अनुसन्धानमा खुलेको छ।

हत्या पश्चात् अपराध लुकाउन उनीहरूले शवलाई बिरिङ खोलाको पुलमुनी गाडेका थिए। प्रमाण नष्ट गर्ने उद्देश्यले सरोज सवार गाडी समेत जलाइएको अवस्थामा फेला परेको थियो । जलेको गाडी बरामद भएपछि प्रहरी अनुसन्धानको क्रममा सरोजको सबसम्म पुगेको थियो।

गाडी जलाइएको ठाउँ र शव फेला परेसँगै प्रहरीले मोबाइल लोकेसन, संकलित सामग्री र अन्य प्रत्यक्ष प्रमाणका आधारमा सुनिल र राहुललाई पक्राउ गरी अनुसन्धान अघि बढाएको हो।

ओलीको निर्वाचन क्षेत्रमा एमालेको महाधिवेशन चटारो, यस्तो छ तालिका

दमक/  यही मंसिर अन्तीम साता काठमाडौंमा हुने नेकपा एमालेको ११ औं राष्ट्रिय महाधिवेशनका लागि प्रतिनिधिहरु छनोट गर्ने आन्तरिक चटारोले पार्टी अध्यक्ष केपी शर्मा ओलीको निर्वाचन क्षेत्र झापा ५ लाई पनि तताएको छ ।
संघीय निर्वाचन क्षेत्रस्तरमा हुने महाधिवेशन प्रतिनिधि चयनको निर्वाचनले पार्टी कार्यकर्ताहरुलाई चलायमान र उत्साहित बनाएको प्रतिक्रिया नेता, कार्यकर्ताहरुले दिएका छन् ।
पार्टीको केन्द्रिय नेतृत्व चयन गर्ने तथा चुनिने अधिकार समेत रहेका महाधिवेशन प्रतिनिधिहरुको चयन पार्टीका संगठित सदस्यहरुले गर्ने भएका कारण महाधिवेशन प्रतिनिधिका आकांक्षी अर्थात दाबेदार नेताहरु कार्यकर्ताहरुमाझ पुग्ने र आफ्नो दाबी पेश गर्दै मत माग्ने काममा भित्र भित्रै व्यस्त रहेका बताइएको छ ।
पार्टीको क्षेत्रीय कमिटीले नै महाधिवेशन प्रतिनिधि छनोटको निर्वाचन सम्पन्न गर्ने सर्कुलर बमोजिम क्षेत्र नं ५ मा अधिवक्ता नारायण भट्टराईलाई निर्वाचन संयोजकको जिम्मेवारी सुम्पिइएको छ ।
भट्टराई नेतृत्वको निर्वाचन समितिले आज निर्वाचन कार्यतालिका सार्वजनिक गरेको छ । सार्वजनिक गरिएको तालिका अनुसार मंसिर १० गते अर्थात मंगलबार बिहान १० बजे मतदाता नामावली प्रकाशन हुनेछ । मतदाता नामावलीमाथी दाबी विरोध ११.३० देखि १ बजे सम्म गर्न सकिने जनाइएको छ ।
मतदानका लागि पालिकास्तरमा मतदान केन्द्र (बुथ) तोकिए पनि निर्वाचन सम्बन्धिका अन्य सबै कार्यक्रमहरु भने दमक ९ स्थित पार्टी कार्यालयमा हुने पनि निर्वाचन समितिद्धारा जारी सूचनामा जनाइएको छ । झापा क्षेत्र नं ५ अन्तर्गत दमक र गौरादह नगरपालिका , कमल र गौरीगञ्ज गाउँपालिका पर्छन ।

सार्वजनिक गरिएको निर्वाचन तालिका अनुसार महाधिवेशन प्रतिनिधिका उम्मेदवारहरुको मनोनयन दर्ता ११ गते बिहान ११ बजेदेखि २ बजे सम्म हुनेछ भने प्रतिनिधि मनोनयन दर्तामा दाबी बिरोध सोही दिन ४ बजे सम्म गर्न सकिने जनाइएको छ । १२ गते २ बजे सम्म मनोनयन फिर्ताको समय तोकिएको छ भने उम्मेदवारको अन्तीम नामावली प्रकाशन १२ गते मध्यान्ह १२ बजे गरिने र मतदात १३ गते बिहान ८ बजेदेखि दिउँसो २ बजे सम्म सञ्चालन गरि सोको एक घण्टा पछिनै मतगणना गर्ने कार्यक्रम राखिएको छ ।
महाधिवेशन प्रतिनिधि जान चुनावको सामना गर्नुपर्ने
पार्टी अध्यक्ष केपी शर्मा ओलीको निर्वाचन क्षेत्रमा हुने महाधिवेशन प्रतिनिधि छनोटको निर्वाचनलाई निक्कै महत्वसाथ कार्यकर्ताहरु र एमाले इतरका राजनीतिक अगुवाहरु, समिक्षक र विश्लेषकहरुले हेरिरहेका छन् । यसअघिको महाधिवेशन प्रतिनिधि छनोट सर्वसम्मत रुपमा भएको यस क्षेत्रको अहिलेको परिस्थिती अलि भिन्न छ । पार्टीको महाधिवेशन प्रतिनिधि चयनका लागि पार्टीमा हालको केन्द्रीय समिति र सो भन्दा माथिल्लो तहका कतिपय जनवर्गीय संगठनका केन्द्रिय नेतृत्वहरुले चुनावको सामना गर्नुपर्ने छैन । जसका कारण पोलिटब्यूरो सदस्य एवं पूर्व मन्त्री देवेन्द्र दाहाल, वर्तमान मुख्यमन्त्री एवं स्थायी कमिटी सदस्य हिक्मत कुमार कार्की, केन्द्रिय सदस्यहरु रोमनाथ ओली, गीता अधिकारी,इन्द्र भण्डारी,  दिपक कार्की र गोविन्द थापाले महाधिवेशन प्रतिनिधि चुनिन कार्यकर्ताहरुमाझ पुगिरहनु पर्दैन । यद्यपी महाधिवेशनमा उनीहरु मध्ये केही केन्द्रिय नेतृत्वको निर्वाचन समेत लड्ने भएका कारण प्रतिनिधिहरु छनोटको निर्वाचनमानै उनीहरुको सक्रियता रहने देखिन्छ ।
यस क्षेत्रबाट औपचारिक रुपमा महाधिवेशन प्रतिनिधिका दाबेदारहरु थुप्रै भएको बताइएको छ । पार्टीको प्रदेश , जिल्ला र क्षेत्र कमिटीमा रहेर जिम्मेवारी निर्वाह गरिरहेका नेताहरु र संसदीय फाँटमा समेत नेतृत्व गरिरहेका नेताहरु समेत महाधिवेशन प्रतिनिधि छनोटको निर्वाचनमा उम्मेदवारको रुपमा चुनावी मैदानमा उत्रिँदैछन् । पार्टी विधानले तोके अनुसार यस क्षेत्रबाट खुल्ला तर्फ ४ जना , महिला कोटामा तीन र ४० बर्ष भन्दा मुनिका युवाहरुको कोटामा एक जना गरी कूल ८ जना महाधिवेशन प्रतिनिधि चुनिनुपर्ने छ । पार्टी स्रोतका अनुसार महाधिवेशन प्रतिनिधिको उम्मेदवार बन्नका लागि खुल्ला तर्फ पार्टी सदस्य बनेको कम्तीमा १० बर्ष पूरा भएको हुनुपर्ने व्यवस्था छ भने महिला र युवा कोटाबाट महाधिवेशन प्रतिनिधिको उम्मेदवार बन्न कम्तीमा ७ बर्ष पुरानो पार्टी सदस्य हुनुपर्ने व्यवस्था रहेको छ ।

प्रहरीबाट लुटिएका हातहतियारसहित दमक र चुलाचुलीका तीन जना पक्राउ

दमक/ जेनजी आन्दोलनका क्रममा गत भाद्र २४ गते प्रहरीको साथबाट लुटिएका हतियारसहित तीन जना पक्राउ परेका छन् ।
दमक नगरपालिका–८ र इलामको चुलाचुली गाउँपालिका–४ बाट प्रहरीको लुटिएको दुई थान चाईनिज पेस्तोल र २० राउण्ड गोली सहित लुटपाटमा संलग्न ३ जनालाई पक्राउ गरिएको कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।
पक्राउ पर्नेमा दमक–८ का २५ बर्षीय सरोज पुरी, दमक–६ का २९ बर्षीय बिश्व लिङ्देन र इलामको चुलाचुली–४ का पवन हाङ्सुरुम्वा रहेका छन ।
प्रहरीका अनुसार काठमाडौ महानगरीय प्रहरी कार्यालय तोडफोड, आगजानी गरी हात हतियार, गोलीगठ्ठा लुटेर फरार भएका सरोज पुरी आफ्नै घरमा लुकेर बसेको भन्ने बिशेष सुचनाको आधारमा सोमबार इलाका प्रहरी कार्यालय दमक र लागूऔषध नियन्त्रण व्यूरो काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले पुरीलाई एक थान पेस्तोल र १५ राउण्ड गोली सहित पक्राउ गरेको हो ।
पक्राउ परेका पुरीले लुटेर ल्याएको एक थान पेस्तोल र ५ राउण्ड गोली बिश्व लिङ्देनलाई दिएको र लिङ्देनले पेस्तोल र गोली चुलाचुली–४ का पवन हाङ्सुरुम्वालाई राख्न दिएको बताएपछि इलाका प्रहरी कार्यालय दमक, प्रहरी चौकी पेल्टीमारी र लागू औषध नियन्त्रण व्यूरो काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले हाङसुरुम्बालाई पक्राउ गरेको हो । सो क्रममा उनले बारीमा खाल्डो खनेर लुकाई राखेको एक थान पेस्तोल र ५ राउण्ड गोली समेत बरामद भएको हो । पक्राउ परेका उनीहरुमाथि आवश्यक कानूनी कारवाही तथा थप अनुसन्धान भईरहेको पनि प्रहरीले जनाएको छ ।

 

 

सानो प्रयासद्धारा बिद्यार्थीलाई शैक्षिक सामग्री वितरण

दमक/ सानो प्रयास युवा समाज दमक नामक सामाजिक संस्थाले कमल गाउँपालिका ५ नम्बर वडामा रहेको एउटा सामुदायिक बिद्यालयका बालबालिकालाई शैक्षिक सामग्री वितरण गरेको छ । सिद्ध देवी आधारभूत विद्यालयका १०८ जना बालबालिकाहरूलाई शैक्षिक सामग्री कपी कलम ,इरेजर ,साप्नर पेन्सील, लगायतका शैक्षिक सामग्री वितरण गरिएको हो ।

संविधानसभा सदस्य दीपक कार्कीको प्रमुख आतिथ्यमा सो कार्यक्रम सम्पन्न भएको सानो प्रयास युवा समाजका अध्यक्ष छवि खतिवडाले जानकारी दिनु भयो ।
दमक ५ मा सञ्चालित ब्रोड–वे क्याफेका सञ्चालक विपिन सुवेदी र विशाल पौडेलको सहकार्यमा ब्याग समेत वितरण गरिएको थियो । कार्यक्रममा ८० हजार रुपैयाँ बराबरको शैक्षिक सामग्री वितरण गरिएको अध्यक्ष खतिवडाले जानकारी दिनुभयो । कार्यक्रममा संस्थाका पदाधिकारी सदस्यहरू र बिद्यालय व्यवस्थापन समिति, जनप्रतिनिधि लगायतको उपस्थिती रहेको थियो ।

 

जनसेवामा कांग्रेस– शिवगञ्जमा स्वास्थ्य शिविर, १४०० लाभान्वित

दमक/ धेरै जसो राजनीतिक पार्टीहरु यतिबेला एक अर्कामा हिलो छ्यापाछाप गर्दै आरोप प्रत्यारोप गर्ने र शक्ति प्रदर्शनको होडबाजीमा उत्रिरहँदा नागरिकहरुमा दलहरुप्रति वितृष्णा बढ्दो छ ।

दलका नेतृत्वकर्ताहरु केवल पद , शक्ति र सत्ताको स्वार्थमा मात्रै केन्द्रित भइरहँदा नागरिकहरुबाट आएको गुनासो र असन्तुष्टिलाई स्वभाविक रुपमा लिन सकिन्छ । यही परिवेशमा झापाको शिवसताक्षी नगरपालिका वडा नं ६ स्थित शिवगञ्जमा भने नेपाली कांग्रेसको नगर समितिले ग्रामिण भेगका सर्वसाधारण नागरिकहरुको स्वास्थ्य क्षेत्रमा रहेको आवश्यकतालाई सम्बोधन गर्ने किसिमको जनसेवा केन्द्रित कार्यक्रम आयोजना गरेको छ ।

सोमबार कांग्रेसको शिवसताक्षी नगर समितिले आयोजना गरेको सो निशुल्क स्वास्थ्य शिविरबाट १ हजार ४ सय जना सर्वसाधारण लाभान्वित भएका छन् ।
शिविरमा नोवेल अस्पताल विराटनगरको चिकित्सक तथा प्राविधिक टिमले सहयोग गरेको थियो । सोमबार शिवगञ्जस्थित जनआदर्श माविको प्राङगणमा आयोजना गरिएको शिविरमा सो वडाका अतिरिक्त आसपासका पालिकाहरु गौरीगञ्ज र झापाबाट समेत सर्वसाधारणहरु स्वास्थ्य जाँच तथा उपचार सेवा लिन आएका थिए ।


कांग्रेसका महासमिति सदस्य भक्तिप्रसाद सिटौलाको प्रमुख आतिथ्य र नगर सभापति अशोक बस्नेतको सभापतित्वमा आयोजित शिविरको उदघाटन गर्दै सिटौलाले ग्रामिण क्षेत्रका नागरिकहरुको स्वास्थ्य सेवालाई नोवेल अस्पताल र कांग्रेसको नगर नेतृत्वले प्राथमिकतामा राखेको प्रति आभार प्रकट गर्नु भयो । उहाँले सिंगो राज्यको दायित्व एक पार्टी र एक स्वास्थ्य संस्था मिलेर पुरा गरेको पनि उल्लेख गर्नु भयो ।
शिविरमा जेनरल फिजिसियन विभाग, मुट सम्बन्धि, इसिजि र इको सेवा, हाड जोर्नी तथा नसा सम्बन्धी सेवा, कान–नाक–घाँटी, छाला रोग, मानसिक रोग, बाल रोग, दन्त रोग, आँखा, जेनरल सर्जरी, प्रसूति, स्त्रीरोग, भिडियो एक्स–रे, र ल्याब सेवा समेत उपलब्ध गराइएको थियो ।

शिवसताक्षी नगरपालिका–६ का अध्यक्ष मनोज खुलाल कार्कीले वडाबासीको स्वास्थ्य सेवामा पार्टी र नोबेल अस्पतालले गरेको सहयोगप्रति स्थानीय सरकारको तर्फबाट धन्यवाद व्यक्त गर्नुभयो । ‘स्वास्थ्य सबैका लागि, कांग्रेस तपाईँको साथमा’ भन्ने मूल नारासहित सञ्चालित एकदिवसीय शिविरले विपन्न नागरिक, जो नोवेल मेडिकल कलेज विराटनगरसम्म पुगेर सेवा लिन नसक्ने अवस्थामा थिए, उनीहरूलाई सहज रूपमा सेवा दिएको बताइएको छ ।

आठ जना योग शिक्षकलाई सम्मान

सहकारी ठगी प्रकरण– जीवि राईका नातेदार बम्जन कारागार चलान

काठमाडौं / सहकारी ठगीको आरोप लागेका तर अहिले सम्म पक्राउ नपरेका जीवि राईका नातेदार (जेठान) ज्ञानबहादुर बम्जनलाई अदालतले कारगार चलान गरेको छ । काठमाडौँको कालिमाटीमा रहेको स्वर्णलक्ष्मी सहकारी ठगी आरोपमा पक्राउ परेका बम्जन पुर्पक्षका लागि आइतबार कारागार चलान भएका हुन् ।
जिल्ला अदालत, काठमाडौंले उनलाई थुनामा पठाउने आदेश दिएसँगै उनलाई केन्द्रीय कारागार, सुन्धारा चलान गरिएको छ ।
बम्जन सहकारी ठगीका मुख्य आरोपित जीबी राईको ससुराली तर्फका निकटम नातेदार(जेठान) हुन् । उनी जेनजी आन्दोलनको बलमा प्रहरी वृत्त, कालिमाटीको हिरासतबाट भागेका थिए । फेरि पक्राउ गरेर प्रहरीले उनलाई अदालत पेस गरेको थियो । यसअघि उनी पोखराको सूर्यदर्शन सहकारी ठगीमा समेत मुछिएका थिए । प्रहरीले उनलाई पक्राउ गरे पनि अदालतले १० लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको थियो । सहकारी ठगीका नामुद जीबी राई भने अझै पक्राउ परेका छैनन् । उनी देशबाहिर भएको भनिए पनि कहाँ छन ? भन्ने तथ्य सार्वजनिक भएको छैन ।

 

 

राष्ट्रिय सहकारी बैंक लिमिटेडको साधारण सभामा सम्मान र पुरस्कार

दमक/ राष्ट्रिय सहकारी बैंक लिमिटेडको २२ औँ वार्षिक साधारण सभाको अवसरमा विभिन्न व्यक्ति तथा संघरसंस्थाहरुलाई सम्मान तथा पुरस्कार वितरण गरेको छ ।
एकाइ स्तरमा भएको २२औँ वार्षिक साधारण सभामा सम्मान तथा पुरस्कार वितरण गरेको हो ।
एकाइ ३ अन्तर्गत बागमती प्रदेशको काठमाडौँमा शनिवार भएको एकाइ साधारण सभामा बैंकका अध्यक्ष महेन्द्र कुमार गिरीले सम्मानित व्यक्ति तथा संघरसंस्थाका प्रतिनिधिहरूलाई सम्मान तथा पुरस्कार वितरण गर्नुभयो ।
बैंकले राष्ट्रिय स्तरको बैंकका संस्थापक अध्यक्ष स्वर्गीय राजेशहरि जोशी स्मृति सम्मान पुरस्कारबाट लुम्बिनी बचत तथा ऋण सहकारी संस्था लिमिटेड रुपन्देहीका संस्थापक अध्यक्ष (निवर्तमान अध्यक्ष) महेश्वर प्रसाद श्रेष्ठलाई सम्मान गरेको छ ।
त्यसैगरी पूर्व सञ्चालक तर्फ बैंकका पूर्व सञ्चालक कुमार खत्री, राष्ट्रिय सहकारी बैंक लिमिटेड दीर्घ सेवा सम्मानबाट बैंकको व्यवसाय विकास विभागकी प्रमुख मधु रायमाझीलाई प्रदान गरेको छ ।
त्यसैगरी बैंकले देशभरका सदस्य सहकारी संघहरु मध्ये राष्ट्रिय स्तरको बागलुङ दुग्ध उत्पादक सहकारी संघ लिमिटेड, बागलुङ, उत्कृष्ट सहकारी संस्था सम्मान पुरस्कार (बचत तथा ऋण) राष्ट्र सेवक बचत तथा ऋण सहकारी संस्था लिमिटेड इलाम–७, इलाम, उत्कृष्ट सहकारी संस्था सम्मान पुरस्कार (बचत तथा ऋण बाहेक) मिर्मिरे बहुमुखी सहकारी संस्था लिमिटेड तिलोत्तमा–१५, उत्कृष्ट सहकारी संस्था सम्मान पुरस्कार राष्ट्रिय स्तर महिलाद्वारा सञ्चालित संस्था मध्ये जननी सामाजिक उद्यमी महिला सहकारी संस्था लिमिटेड राप्ती सोनारी–२, खोरिया बाँकेलाई सम्मान गरेको छ ।
त्यसैगरी बैंकको शाखा कार्यालयहरू मध्येबाट कोहलपुर शाखा कार्यालय, कर्मचारीहरू मध्ये अधिकृत तहबाट सरोज सापकोटा (केन्द्रीय कार्यालय), सहायक स्तरबाट आनन्द झा, (जनकपुर शाखा), सहयोगी स्तरबाट राम गोपाल श्रेष्ठ (केन्द्रीय कार्यालय) र बैंकको असुली कार्यमा उत्कृष्ट कार्य गरे बापत केन्द्रीय कार्यालयमा कार्यरत कर्मचारी शिव प्रसाद पण्डितलाई सम्मान गरिएको छ ।
पुरस्कृत तथा सम्मानित व्यक्ति तथा सदस्य सहकारी संघ संस्थालाई सम्बन्धित प्रदेशमा आयोजित एकाइ साधारण सभामा सम्मान पुरस्कार वितरण गरेको थियो ।
बैंकले कोशी प्रदेश स्तरीय बचत तथा ऋण तर्फ सयपत्री नारी विकास बचत तथा ऋण सहकारी संस्था लिमिटेड धरान–११, सुनसरी, बचत तथा ऋण बाहेक राँके बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड फाल्गुननन्द–३, पाँचथर र महिला तर्फ तमोर महिला कृषि सहकारी संस्था लिमिटेड फुङ्लिङ ताप्लेजुङलाई सम्मान गरेको छ ।
त्यसैगरी मधेस प्रदेश तर्फ बचत तथा ऋण तर्फ युवा सरोकार बचत तथा ऋण सहकारी संस्था लिमिटेड सोनमा गा.पा, महोत्तरी, बचत तथा ऋण बाहेक त्रिपुरेश्वर कृषि सहकारी संस्था लिमिटेड जितपुर सिमरा, बारा र महिला तर्फ सिमरा महिला बचत तथा ऋण सहकारी संस्था लिमिटेड जितपुर सिमरा, बारालाई सम्मान गरेको छ ।
बागमती प्रदेश तर्फको बचत तथा ऋण तर्फ हातेमालो बचत तथा ऋण सहकारी संस्था लिमिटेड हेटौँडा–२, मकवानपुर, बचत तथा ऋण बाहेक बाँसडोल सामुदायिक बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड बनेपा–१२, काभ्रे र महिला तर्फ सहायता सामाजिक उद्यमी महिला सहकारी संस्था लिमिटेड विदुर–७, नुवाकोटलाई सम्मान गरेको छ ।
गण्डकी प्रदेशको बचत तथा ऋण तर्फ गौरीशङ्कर बचत तथा ऋण सहकारी संस्था लिमिटेड हुप्सेकोट, बचत तथा ऋण बाहेक आदिवासी जनजाति उत्थान सूचना तथा सञ्चार सहकारी संस्था लिमिटेड कावासोती र महिला तर्फ भैरव कालिका महिला बचत तथा ऋण सहकारी संस्था लिमिटेड पुतली बजार–५, स्याङ्जालाई सम्मान गरेको छ ।
लुम्बिनी प्रदेशको बचत तथा ऋण तर्फ अङ्कुर बचत तथा ऋण सहकारी संस्था लिमिटेड सिद्धार्थनगर–१२, रुपन्देही, बचत तथा ऋण बाहेक मैत्री बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड तम्घास, गुल्मी र महिला तर्फ सुनौलो महिला विकास बहुउश्यीय सहकारी संस्था लिमिटेड गुलरिया न.पा–६, लाई सम्मान गरेको छ ।
कर्णाली प्रदेशको बचत तथा ऋण तर्फ जनहितकारी बचत तथा ऋण सहकारी संस्था लिमिटेड वीरेन्द्रनगर–४, सुर्खेत, बचत तथा ऋण बाहेक किसान बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड वीरेन्द्रनगर–९, सुर्खेत र महिला तर्फ लाटिकोइली सामाजिक उद्यमी महिला सहकारी संस्था लिमिटेड गुलरिया न.पा–६, लाई सम्मान गरेको छ ।
त्यसै गरी सुदूरपश्चिम प्रदेशको बचत तथा ऋण तर्फ मेगा बचत तथा ऋण सहकारी संस्था लिमिटेड भीमदत्त, कञ्चनपुर, बचत तथा ऋण बाहेक लक्ष्मीनारायण बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड टिकापुर, कैलाली र महिला तर्फ जगन्नाथ महिला सहकारी संस्था लिमिटेड भीमदत्त, कञ्चनपुरलाई सम्मान गरेको छ ।

 

कुञ्जीबारी बजारमा ढलेका राजवंशीको मृत्यु

दमक/ झापाको गौरीगञ्ज गाउँपालिका वडा न.१ कुञ्जीबारी बजारमा बिउ बिजनको व्यापारका लागि पुगेका शिवसताक्षी ५ का एक जना व्यावसायीको अचानक मृत्यु भएको छ ।
शिवसताक्षी ५ का ७२ बर्षिय सम्पतलाल राजबंशी बिउबिजनको ब्यापार गर्न शनिबार कुञ्जिबारी बजार गएका थिए । उनी आफ्नो ब्यापारमा रहेकै समयमा अचानक चक्कर लागेर बेहोस भएका थिए । तत्काल उनको उपचारको लागि दमक अस्पताल दमक ल्याइएकोमा उपचारको क्रममा चिकित्सकले मृत घोषणा गरेका जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

“असहज परिस्थिती” भन्दै अधिकांश शिक्षण संस्था बन्दको संकेत

दमक/ मेडिकल व्यवसायी दुर्गा प्रसाइँको नेतृत्वमा रहेको राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ अभियानले मसिंर ७ देखि आव्हान गरेको अनिश्चीतकालिन आम हड्ताललाई “असहज परिस्थिती” भन्दै झापाका अधिकांश निजी तथा संस्थागत बिद्यालयहरुले पठनपाठन बन्द रहने संकेत गरेका छन् ।

शिक्षण संस्थामा गरिने बन्दका कारण जिल्लामा मात्रै १० औं हजार हाराहारीमा बिद्यार्थीहरुको पठनपाठन प्रभावित हुने देखिएको हो ।
दमकको ग्लोबल एजुकेशन एकाडेमीले आफ्नो आधिकारिक फेसबुक पेज मार्फत सार्वजनिक सूचना गर्दै मसिंर ७ गते आइतबार असहज परिस्थितीका कारण पठनपाठन बन्द रहने जानकारी गराएको छ । त्यस्तै दमककै अर्को बोर्डिङ स्कूल सर्वोदय अंग्रेजी माविले विशेष कारणवश भोली बिद्यालय बन्द रहने सूचना गरेको छ ।
बिद्यालय क्षेत्रलाई शान्ती क्षेत्र घोषणा गरेर तत्कालिन माओवादी सशस्त्र द्धन्द्ध व्यवस्थापनका क्रममा भएको विस्तृत शान्ती सम्झौतामा समेत बालबालिका पढ्ने बिद्यालयहरुलाई बन्दमुक्त गरिने प्रतिबद्धता थियो ।

पछिल्लो समय गत भाद्र २३ र २४ मा तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार विरुद्ध छेडिएको जेनजी आन्दोलनका क्रममा क्याम्पस तथा बिद्यालयहरुबाट समेत बिद्यार्थीहरु सहभागी भएका थिए । आन्दोलनमा सरकारी कार्यालय , जनप्रतिनिधि र राजनीतिक नेतृत्वहरु निशानामा परेका थिए ।

यसपटकको प्रसाइँ नेतृत्वको समुहले भने प्याव्सनका नाममा पत्र पठाउँदै शिक्षण संस्था तथा अन्य सरकारी कार्यालयहरु समेत बन्द गर्न चेतावनी दिएसँगै सर्वसाधारण संशकित बनेका छन् । बालबालिकाहरुको सुरक्षाका दृष्टिकोणले समेत बन्द हड्तालको घोषणा गरिएको समयमा शिक्षण संस्था बन्द गर्नुपर्ने बाध्यात्मक अवस्था आएको शैक्षिक क्षेत्रका अगुवाहरुले प्रतिक्रिया दिएका छन् ।