दमकमा हिंडदा हिँडदै लडेका अर्जुनधाराका पौडेलको मृत्यु

दमक/ झापाको दमकमा एक जना व्यक्तिको रहस्यमयी मृत्यु भएको छ । दमक ५ क्याम्पसमोडमा अर्जुनधारा ४ का ६२ बर्षिय युवराज पौडेलको रहस्यमयी ढंगबाट मृत्यु भएको हो ।
प्रहरीका अनुसार अपरान्ह करीब सवा ४ बजे पौडेल सडकमा हिंडने क्रममा लडेर बेहोस भएका थिए । उनलाई तत्काल अचेत अवस्थामा निम्स नेशनल हस्पिटल दमकमा उपचारका लागि ल्याइएको र तत्कालै अस्पतालले मृत घोषणा गरेका जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । सो घटनाबारे इलाका प्रहरी कार्यालय दमकको टोलीले थप अनुसन्धान शुरु गरेको जनाइएको छ ।

दमकमा आगोलागी हुँदा आठ लाख नोक्सान, गर्भिणी गाईको जलेर मृत्यु

दमक/  झापाको दमकमा आज मंगलबार दिउँसो खेतमा धानको लाहार ( धान काटेर छोडिएको भाग) जलाउन सल्काइएको आगो गाईको गोठमा सल्किदा भएको आगलागीमा एउटा गर्भिणी गाई जलेर मरेको छ ।

प्रहरीका अनुसार दमक १० सगरमाथा टोलमा स्थानीय केशव भण्डारीले आफ्नो खेतमा रहेको धानको लाहार ( धान काटेर छोडिएको भाग) मा लगाएको आगो सल्किएर दुई वटा गाई गोठमा समेत सल्किँदा भएको आगलागीमा एउटा गाई मर्नुका साथै अर्को एक चौपाया जलेर घाईते भएको छ ।

आगलागीका कारण त्यहाँ अन्य सरसामान समेत जल्दा करीब ८ लाख बराबरको धनमाल नोक्सान भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । दिउँसो करीब १ बजे सो आगलागी स्थानीयबासी, उर्लाबारी र कमल गाउँपालिकाको वारुण यन्त्र समेतको सहयोगमा निभाइएको थियो ।

 

पितृहरुको सम्झनामा न्यौपाने परिवारबाट तीन आश्रममा सहयोग

आफ्ना बुवाको नवौँ मासिक तिथीमा विभिन्न तीन आश्रममा आश्रित असहाय नागरिकहरुका लागि दैनिक उपभोग्य सामग्री, खाद्यन्न र स्वास्थ्य सामग्री प्रदान गर्ने तयारीमा झापा दमक ९ का स्वास्थ्य व्यवसायी एवं परोपकारी , सामाजिक व्यक्तित्व लोमश न्यौपाने ।


उहाँले मानव उद्धार सेवा दमक–२ , अनाथ बाल आश्रम दमक ९ र पुकार अपाङ्ग अशक्त समाज कन्काई नगरपालिका –४ झापालाई उहाँले पिताको सम्झनामा सो सहयोग प्रदान गर्नुभएको हो । पितृहरूको मुक्तिको कामनासहित मानव हितको लागि सहयोग गर्न सदैव पितृहरूको आशिर्वाद प्राप्त भइराखोस् भन्ने पनि न्यौपाने परिवारले कामना गरेको छ । बाल आश्रम दमककी सञ्चालक समिति अध्यक्ष मन्धरा चिमरिया पौडेलले न्यौपाने परिवारले आफ्ना पितृहरुको सम्झनामा आश्रमका बालबालिकालाई सहयोग गरेर असल उदाहरण प्रस्तुत गरेको भन्दै धन्यवाद व्यक्त गर्नुभएको छ ।

दमकमा बिषादी परीक्षणलाई निरन्तरता, भाउन्नेको रायो सागमा उच्च मात्रामा बिषादी

दमक/  दमक बजारमा विक्रीका लागि ल्याइने हरियो तरकारीमा बिषादीको परीक्षणलाई स्थानीय सरकारले निरन्तरता दिएको छ । स्थानीय सरकार अन्तर्गतको बजार अनुगमन समितिले दमकको नयाँ तरकारी बजारमा संकलन गरेको तरकारीको नमुना परीक्षण पर्याप्त नभए पनि उपभोक्ताहरुलाई सजग गराउन भने यसले महत्वपूर्ण योगदान पुगेको नगरपालिकाको भनाई छ ।

नगरपालिकाको बजार अनुगमन समितिले विषादी अवशेष द्रुत विश्लेषण प्रयोगशाला एकाई विर्तामोडको प्राविधिक सहयोगमा दमक बजारमा विक्री वितरण गरिने ताजा तरकारी तथा फलफूलको नमुना संकलन गरेकोमा यहाँ उपलब्ध रायो सागमा बिषादीको मात्रा उच्च रहेको पाइएको छ । सो बारे दमक नगरपालिकाको बजार अनुगमन शाखाले आज पत्रकार सम्मेलन गरी जानकारी गराउँदै बजार अनुगमनको पक्षलाई निरन्तरता दिइएको जनाएको छ । मोरङको भाउन्ने क्षेत्रमा उत्पादन भएको भनिएको रायो सागमा अत्याधिक मात्रामा कार्वामेट र अर्गानो फस्फेट पाईएकाले दमक नगरपालिकाले जफत गरेको पनि पत्रकार सम्मेलनमा जनाइएको छ ।

अनुगमन टोलीलाई सो रायो सागको स्रोत सम्बन्धित व्यापारीलेनै उपलब्ध गराएका हुन् । रायो सागमा देखिएको सो बिषादीका बारेमा उत्पादन भएको क्षेत्र भनिएको मोरङको बेलबारी नगरपालिकालाई पनि औपचारिक जानकारी गराइएको बजार अनुगमन संयोजक समेत रहेकी दमक नगर उपप्रमुख रेगिना भट्टराईले जानकारी दिइन् । उनले बजार आम उपभोक्ताको हितमा हुनुपर्ने स्थानीय सरकारको नीति रहेको स्पष्ट पार्दै उपभोक्ता हित विपरित हुने क्रियाकलाप रोक्न आवश्यक कानुनी कारवाही अघि बढाइने पनि चेतावनी दिइन् ।

दमक नगर प्रमुख रामकुमार थापाले बजारमा कानुन विपरीत र आम उपभोक्ताको स्वास्थ्यमा खेलबाँड गर्ने गरी हुने उपभोक्ता हित विपरितका जुनसुकै काम पनि रोक्न स्थानीय सरकार प्रयत्नशील रहेको जानकारी गराए ।
सो अवसरमा नगरपालिकाका प्रशासकीय अधिकृत यज्ञ निरौला, खाद्य अनुगमन अधिकृत लक्ष्मी न्यौपाने, कृषि शाखा प्रमुख चन्द्रकला भट्टराई लगायतको पनि उपस्थिती थियो ।

ब्राउनसुगरसहित दमक र मोरङबाट चार पक्राउ

दमक/  झापा र मोरङका छुट्टा छुट्टै ठाउँमा लागूऔषध ब्राउन सुगरसहित चार जनालाई प्रहरीले पक्राउ गरेको छ ।
इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले दमक नगरपालिका ५ का ३० बर्षीय देवराज खड्का र ३२ बर्षीया सुस्मिता राईलाई ब्राउन सुगर ३ ग्राम ३१० मिलिग्राम सहित पक्राउ गरेको हो ।

यसैगरी शनिबार राती अस्थाई प्रहरी पोष्ट मटेरुवा मोरङबाट खटिएको प्रहरी टोलीले विराटनगर महानगरपालिका १७ बाट सोही स्थानका २३ बर्षीय साबिर मियालाई ब्राउन सुगर १०० मिलिग्राम र बेलबारी नगरपालिका ११ बस्ने ३२ बर्षीय निशान मगरलाई ब्राउन सुगर ३२० मिलिग्राम सहित पक्राउ गरेको हो । पक्राउ परेकाहरुलाई सम्बन्धित प्रहरी कार्यालयहरुमा राखेर थप अनुसन्धान अघि बढाइएको कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।

ओलीको गृह जिल्लामा को –को बने महाधिवेशन प्रतिनिधि ? (हेर्नुहोस विस्तृत)

दमक/ पार्टी अध्यक्ष केपी शर्मा ओलीको गृह जिल्ला झापाका ५ मध्ये ४ निर्वाचन क्षेत्रमा नेकपा एमालेको ११ औँ राष्ट्रिय महाधिवेशनका लागि भएको प्रतिनिधि छनोट निर्वाचनको मत परिणाम सार्वजनिक भएको छ ।
शनिबार भएको ४ क्षेत्रको निर्वाचनको मत परिणाम आइतबार बिहान सार्वजनिक भए पनि क्षेत्र नं २ को मत गणना सकिएको छैन ।
सार्वजनिक भएको मत परिणाम अनुसार ओलीको गृह जिल्लामै ओली इतर अर्थात इश्वर पोखरेल पक्षधर महाधिवेशन प्रतिनिधिहरु समेत निर्वाचित भएका छन् ।
क्षेत्र नं ५ मा निर्वाचित भएका ८ महाधिवेशन प्रतिनिधिहरु मध्ये केही महाधिवेशन प्रतिनिधिहरु पोखरेल पक्षधर समेत भएको दाबी भित्रभित्रै सो पक्षले गरिरहेको छ ।
यद्यपी नामै किटेर महाधिवेशन प्रतिनिधिहरुलाई विभाजित गर्न भने नसकिने सो पक्षको तर्क छ ।
क्षेत्र नं ५ बाट निर्वाचित हुने महाधिवेशन प्रतिनिधिहरुमा खुल्ला पुरुष समुह तर्फ सर्वाधिक मत पाउनेमा यस क्षेत्रका अम्बिका प्रसाद खनाल रहेका छन् । उनले १ हजार ५ सय १५ मत पाएका छन् । सो समुहबाट शिवप्रसाद ढुुंगेल , होमबहादुर थापा र तुलसी कार्की महाधिवेशन प्रतिनिधि निर्वाचित भएका छन् ।
क्षेत्र नं ५ मा महिला तर्फ नर्वदा उप्रेती (गौतम) अम्बिका देवी अधिकारी र लीला ढुंगेल (दाहाल) निर्वाचित भएका छन भने युवा तर्फ युवराज पौड्याल निर्वाचित भएका छन् ।
क्षेत्र नं ४ बाट महाधिवेशनमा केन्द्रिय कमिटीमा जाने घोषणा गरेका पूर्व सांसद तथा नेता लालप्रसाद साँवा (एलपी ) सर्वाधिक १ हजार ८ सय ६ मतसहित महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएका छन् ।
साँवापछि सो क्षेत्रमा शिवसताक्षी नगरपालिकाका मेयर समेत रहेका मेगाहाङ थोप्रा (रोशन)ले १७७३ मत ल्याएर महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएका छन् । त्यस्तै प्रतिनिधि छनौटको निर्वाचनबाट रविन्द्र लम्साल र हिमबहादुर कार्की, महिला तर्फ कृष्णमाया भुजेल र गोमा रिजाल विजयी भएका निर्वाचन समितिले जनाएको छ । त्यस्तै महाधिवेशन प्रतिनिधिका लागि युवा तर्फ रोशन सुवेदी विजयी भएका छन् ।
झापा क्षेत्र ४ मा ३ हजार ३५५ मतमा २ हजार २ हजार ५८७ मत खसेको थियो । क्षेत्र नं १ मा खुल्लातर्फ राजु पोखरेल, असारु राजबंशी र लक्ष्मी राई निर्वाचित भएका छन् भने महिला तर्फ रमा भण्डारी तथा जानुका ओली र युवा तर्फ दीपक बराल निर्वाचित भएका छन् ।
झापा क्षेत्र नं ३ मा दुई महिलासहित ६ प्रतिनिधि निर्वाचित भएका छन् ।
खुल्ला तर्फ छविलाल चुँडाल, त्रिलोचन सापकोटा र बसन्त बानियाँ निर्वाचित हुँदै गर्दा महिलातर्फ कल्पना रेग्मी र शान्तादेवी खरेल र युवा तर्फ अग्नि प्रसाद सापकोटा निर्वाचित भएका छन् । क्षेत्र नं २ मा भने मतगणना सकिएको छैन ।

 

 

एमाले महाधिवेशन प्रतिनिधि चुनाव – महिला र युवा तर्फको गणना जारी

झापा/ नेकपा एमाले झापा क्षेत्र नं ५ मा महाधिवेशन प्रतिनिधि चयनका लागि भएको निर्वाचनको मतगणना जारी छ । अहिले सम्म खुल्ला महिला र युवा कोटाका उम्मेदवारहरु तर्फको मतगणना भइरहेको छ भने खुल्ला पुरुष तर्फको गणना हुन बाँकी छ । महिला तर्फ तीन जनाको लागि भएको निर्वाचनमा ५०० मत गणना हुँदा नर्वदा गौतमले ३२९ मत ल्याएकी छिन भने अम्बिका अधिकारीले २९७ र लीला ढुंगेल दाहालले २५८ मत ल्याएकी छिन् । त्यस्तै पार्वता ढकालले २५६ मत ल्याएकी छिन् ।
त्यसैगरी युवा तर्फ १ जनाका लागि भएको निर्वाचनमा १४०२ मत गणना हुँदा युवराज पौड्याल (विवश)ले ५६२ मत ल्याएर अग्रता लिएका छन भने सुसिल कुमार राईले ३६५ मत ल्याएका छन् ।

ताप्लेजुङमा एमालेका महाधिवेशन प्रतिनिधि निर्विरोध , ओलीको क्षेत्रमा चुनाव हुँदै

दमक/  नेकपा एमालेको आसन्न ११ औं महाधिवेशनका लागि कोशी प्रदेश अन्तर्गतको ताप्लेजुङ जिल्लामा महाधिवेशन प्रतिनिधि निर्विरोध निर्वाचित भएका छन् ।

एमाले सचिव योगेश भट्टराईको गृह जिल्ला ताप्लेजुङमा १२ जना महाधिवेशन प्रतिनिधि निर्विरोध निर्वाचित भएका हुन् ।
ताप्लेजुङमा खुल्ला तर्फ अनन्त बहादुर साँवा, दिपेन्द्र पोमु, छत्रपति प्याकुरेल , घनेन्द्र मादेन, प्रकाश राई र ज्ञानेन्द्र लावती निर्विरोध निर्वाचित हुनुभएको हो । त्यस्तै महिला तर्फ टीका सुवेदी, रनमाया गुरुङ, मिनाकुमारी केदेम र प्रमिला घिमिरे निर्वाचित हुनुभएको छ भने युवा तर्फ गोपाल न्यौपाने र दलितबाट बुद्धिमान नेपाली निर्विरोध निर्वाचित हुनुभएको जनाइएको छ ।

पार्टी अध्यक्ष केपी शर्मा ओलीको निर्वाचन क्षेत्र झापा ५ मा भने महाधिवेशन प्रतिनिधि छनोट सर्वसम्मत हुन सकेको छैन । यस अघि पार्टीको झापा जिल्ला अधिवेशन सर्वसम्मत चयन गरेको एमालेले अध्यक्ष ओलीको निर्वाचन क्षेत्रमानै यस पटक भने महाधिवेशन चुन्नका लागि निर्वाचन गर्न लागेको हो । निर्वाचन समितिले आज साँझ उम्मेदवारहरुको सूची सार्वजनिक गरेपछि भोली १३ मसिंरमा हुने निर्वाचनमा पार्टीका संगठित सदस्यहरुलाई सहभागी गराउन पार्टी नेतृत्व सक्रिय भएको बताइएको छ ।

यस क्षेत्रमा पार्टी संगठनमा क्रियाशील अधिकांश नेताहरुनै महाधिवेशन प्रतिनिधिका लागि चुनावी प्रतिस्पर्धामा उत्रिएका छन् ।
यो क्षेत्रबाट महाधिवेशन प्रतिनिधि (खुल्ला तर्फ ) ४ जनाका लागि १० जना उम्मेदवार प्रतिस्पर्धामा उत्रिएका छन् ।
खुल्ला तर्फ अम्बिका प्रसाद खनाल, उत्तम भट्टराई, तुलसी कार्की, दुर्गाप्रसाद गौतम, नगेन्द्र भण्डारी, बोधप्रसाद घिमिरे, राजकुमार थापा , राजेन्द्र कुमार सुवेदी , शिव ढुंगेल र होमबहादुर थापा महाधिवेशन प्रतिनिधिका लागि चुनावी प्रतिस्पर्धामा छन् । त्यस्तै महिला तर्फ तीन जनाका लागि ७ जना उम्मेदवार प्रतिस्पर्धामा उत्रिएका छन् ।

प्रतिस्पर्धामा उत्रिएका महिला नेतृहरुमा अम्बिकादेवी अधिकारी, कल्पना अधिकारी, देवीमाया श्रेष्ठ, नर्वदा उप्रेती गौतम, पार्वता ढकाल, भगिरथा उप्रेती (तिवारी) र लिला ढुंगेल (दाहाल) रहनुभएको छ । युवा कोटा ( ४० बर्ष उमेर भन्दा कम) तर्फ एक जनाका लागि पाँच जना उम्मेदवार प्रतिस्पर्धामा उत्रिएका छन् ।
युवा पुस्ताको सहभागिता सुनिश्चीत गराउन हरेक निर्वाचन क्षेत्रमा एमालेले ४० बर्ष मुनिको एक जनालाई महाधिवेशन प्रतिनिधि अनिवार्य बनाएपछि युवा उम्मेदवारहरुको संख्या बढेको हो । युवा तर्फ कमल पौड्याल, डेन्जोङ शेर्पा, युवराज पौड्याल (विवश) , सुजन खरेल र सुसिलकुमार राईबीच चुनावी प्रतिस्पर्धा हुनेछ ।

 

हङकङको आगलागीमा ९४ जनाको मृत्यु

हङकङको एक विशाल अपार्टमेन्ट कम्प्लेक्समा लागेको आगलागीमा परेर ९४ जनाको मृत्यु र दर्जनौँ बेपत्ता भएका छन् । अग्नि नियन्त्रण अधिकारीहरूका अनुसार उक्त आगलागी सहरको लगभग ८० वर्ष यताकै सबैभन्दा भयानक आगलागी हो ।

उत्तरी जिल्ला ताई पोमा रहेको वाङ फुक कोर्ट हाउजिङ कम्प्लेक्समा लागेको आगोलाई अग्नि नियन्त्रकहरूले प्रायः नियन्त्रणमा लिएका थिए । ४,६०० भन्दा बढी मानिसहरू बसोबास गर्ने आठ–टावर इस्टेटको मर्मतसम्भार भइरहेको थियो र बुधवार दिउँसो आगो सुरु हुँदा र द्रुत रूपमा फैलिँदा बाँसको मचान र हरियो जालीले बेरिएको थियो।

अग्निनियन्त्रकहरूले शुक्रवार बिहानसम्ममा अझै पनि धुवाँले ग्रस्त उक्त परिसरमा खोज तथा उद्धार कार्य सम्पन्न हुने आशा व्यक्त गरेका छन्।

दमकमा होटलको कोठाबाट लागूऔषधसहित युवायुवती पक्राउ

दमक/ होटलको कोठा बुक गरेर बसेका दुई जना युवायुवती प्रतिबन्धित लागूऔषध खैरो हेरोइनसहित पक्राउ परेका छन् ।
झापाको दमक १ रवी स्टेण्ड छेउमा रहेको आर क्यू होटलमा कोठा बुक गरेर बसेका मानिसहरुले लागु औषध खैरो हेरोईनको कारोबार गर्ने गरेको भन्ने बिशेष सुचना पाएपछि त्यहाँ पुगेको इलाका प्रहरी कार्यालय दमकको टोलीले होटलको तेश्रो तलाको ४ नम्बर कोठा बुक गरेर बसेका दमक ७ का एक युवक र उर्लाबारी ८ की युवतीलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरुमा दमक ७ स्थायी ठेगाना भई दमक १ श्रीपाली चौक बस्ने २५ बर्षका राम कुमार गौतम र मोरङ उर्लावारी ८ दुर्गापुरी बस्ने ३० बर्षकी ललिता धिमाल रहेका छन् । उनीहरुको शरिर तथा कोठा समेतबाट लागू औषध खैरोहेरोईन जस्तो देखिने लिसाईलो पदार्थ प्लाष्टिकसहित १३ ग्राम ६४० ग्राम फेला परेको प्रहरीले जनाएको छ ।

प्रहरीले गौतमको साथमा रहेको २८ हजार रुपैयाँ समेत नियन्त्रणमा लिई थप अनुसन्धान शुरु गरेको कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।