नेपाली कांग्रेसलाई गौरवशाली इतिहास जोगाउने अवसर

नेपालको सबभन्दा पुरानो, ठूलो लोकतान्त्रिक पार्टी नेपाली कांग्रेस इतिहासको सबैभन्दा कठिन मोडमा उभिएको छ । मुलुकमा भएका तीन ठूला आन्दोलनको नेतृत्व गरेको यो पार्टी जेनजी आन्दोलनपछि अनिर्णयको बन्दी बनेको छ ।
पार्टीभित्र रुपान्तरण र उथास्थितिवादको द्वन्द्वले यसको राजनीतिक भविष्यमाथि पनि प्रश्न उठिरहेको छ । मुलुकमा लोकतन्त्र स्थापनाका लागि संघर्ष गरेको पार्टी आज आफैं लोकतान्त्रिक अभ्याससंग कताकता तर्सिएको आभाष हुन्छ ।
कांग्रेस यतिबेला संवेदनशील, निर्णायक र दिशानिर्धारण गर्नैपर्ने मोडमा उभिएको छ । यो मोड केवल नेतृत्व परिवर्तनको सतही बहसमा सीमित छैन यो पार्टीको संगठनात्मक अस्तित्व, वैचारिक निरन्तरता, राजनीतिक विश्वसनीयता र आगामी पुस्ताले खोजेको नयाँ शासन–संस्कृति अपनाउने वा नअपनाउने प्रश्नसँग पनि जोडिएको छ ।
बितेका सात दशकको राजनीतिक यात्रामा अनेक आन्दोलन, उपलब्धि, उतार–चढाव र सत्ता व्यवस्थापनका जटिल मोड पार गर्दै आएको कांग्रेस आज आफ्नै संरचनात्मक कमजोरी, नेतृत्व हस्तान्तरणको असमर्थता, गुटगत दबाब र जनविश्वासमा आएको गिरावटका कारण आत्म–पुनरावलोकन गर्न बाध्य भए पनि मूल नेतृत्व यसप्रति अनुदार देखिन्छ ।
ठूलै दवावकाबीचच पुसको अन्तिम साता महाधिवेशन गर्ने निर्णय भए पनि यो हुन्छ नै भन्ने ग्यारेन्टी अझै छैन । भावी नेतृत्वका आकांक्षा राख्नेहरुमध्ये पार्टी सभापति शेरबहादुर देउवाको आशीर्वाद र समर्थन पाउने भाग्यमानी को हो भन्ने अझै यक्किन छैन ।
संस्थापत पक्ष र इतरपक्षबीचको वैचारिक विमतिकाबीच देउवाको उत्तराधिकारी देउवाकै सगोलका, उनकै खल्तीका नेता हुने हुन् वा नयाँ पुस्ता नै आउने हो गम्भरि चासो त छँदैछ यसका अतिरिक्त पार्टीभित्र वैचारिक दिशा, नेतृत्व चयन र संगठन पुनर्संयोजनको गहिरो प्रश्न पनि उठिरहेको छ ।
कांग्रेसले इतिहासमा असंख्य राजनीतिक उपलब्धिहरू हासिल गरेको छ । तर विगतका गौरवमय अध्यायहरूले आजको राजनीतिक वास्तविकता ढाकछोप गर्न सक्दैनन् ।
जनता विशेषतः युवा पुस्ताले कांग्रेसलाई आजको परिस्थितिमा केवल इतिहास बनाउने पार्टी होइन भविष्य निर्माण गर्ने पार्टीको रूपमा हेर्न चाहे पनि त्यसका आधारभूत पूर्वाधारहरू पार्टीभित्र पर्याप्तरूपमा देखिन सकेका छैनन् । यही अन्तरले कांग्रेसलाई पुनर्विचार, पुनर्गठन र पुनर्स्थापना गर्ने आवश्यकतामा ल्याइपुगेको हो ।
नेतृत्व संरचनामा धेरै समयदेखि देखा परेको व्यक्तिवाद, निर्णय प्रक्रियाको केन्द्रिकरण, संगठनमा समान सहभागिताको अभाव र गुटगत प्रतिस्पर्धाबाट बढेको अविश्वास यी सबै समस्याहरूले कांग्रेसलाई थकित, अव्यवस्थित र वैचारिक रूपमा अस्पष्ट पार्टीका रूपमा प्रस्तुत गरिदिएको छ ।
विशेषतः युवा पुस्ताले बारम्बार उठाउँदै आएको प्रश्न “कांग्रेसले किन नयाँ नेतृत्वलाई संस्थागत रूपमा उकास्न सकेन ?” नेपालको राजनीतिक मनोविज्ञानकै एउटा जटिल समस्या हो । पार्टीभित्र नयाँ पुस्तालाई अवसर नदिने मात्र होइन उपलब्ध अवसरहरूलाई पनि गुटगत समीकरणले सीमित गरिदिएको आरोप लामो समयदेखि दोहोरिँदै आएको छ ।
यही कारण कांग्रेसमा ‘नेतृत्वको पुनरावर्तन’ एक सामान्य परिघटना बन्न पुग्यो जसको प्रभाव निर्वाचन तयारी सरकारी व्यवस्थापन र जनसरोकारका विषयमा पार्टीको विश्वसनीयतामा प्रत्यक्ष पर्यो ।
समकालीन राजनीति युवापुस्ताको चेतनाले निर्णायक रूपमा प्रभावित भइरहेको छ । सामाजिक संजाल शुरू भएको असन्तुष्टि आज सडक, क्याम्पस, कार्यस्थल र नीतिगत बहससम्म विस्तार भइसकेको छ । नयाँ पुस्ता विशेषतः जेनजी सजग, तथ्यकेन्द्रित, पारदर्शितामा आस्थावान र वैचारिक अस्पष्टता सहन नसक्ने प्रवृत्तिको रूपमा देखिन्छ । उनीहरू दलको ऐतिहासिक विरासत होइन आजको कार्यशैलीका आधारमा समर्थन वा विरोध तय गर्छन् ।
यही कारण कांग्रेसभित्र पनि जेनजीको आह्वानले पार्टीको आन्तरिक संरचनालाई चुनौती दिइरहेको छ । यो पुस्ता पुराना अनुहारहरूको स्वतः पुनरावृत्ति होइन निष्पक्ष प्रतिस्पर्धाबाट उद्ने विषय आधारित राजनीति गर्ने आधुनिक प्रशासनिक र आर्थिक दृष्टिकोण राख्ने नेतृत्व चाहन्छ ।
देउवा नेतृत्वको समग्र मूल्याङ्कन गर्दा उपलब्धि र कमजोरी एकैसाथ देखिन्छन् । उनको राजनीतिक यात्राले शान्ति प्रक्रिया, संविधान निर्माण, राजनीतिक संक्रमणको व्यवस्थापन र कठिन समयमा पार्टी तथा देशलाई सम्हाल्ने क्षमतामा गहिरो छाप बनाएको छ । तर, नेतृत्व संक्रमणको स्पष्टता नल्याएको, संगठनलाई समयअनुसार आधुनिकीकरण गर्न ढिलो गरेको र युवा पुस्तालाई निर्णायक तहमा ल्याउन नसकेको आरोप बराबर देखिन्छ । आज महाधिवेशनको संघारमा देउवा नेतृत्व परिवर्तनको चर्चा तीव्र हुनु केवल राजनीतिक बहस मात्र होइन यो पार्टीभित्र दह्रो संरचनात्मक रूपान्तरण चाहिएको संकेत पनि हो ।
कांग्रेसका अन्य पदाधिकारीहरूको भूमिकाले पनि वर्तमान स्थिति निर्माणमा महत्वपूर्ण योगदान गरेको छ । उपसभापति, महामन्त्री, सचिव, कोषाध्यक्ष र केन्द्रीय समितिका सदस्यहरूको गतिविधि मूल्याङ्कन गर्दा स्पष्ट हुन्छ कि पार्टीभित्रको निर्णय प्रक्रिया अत्यधिक केन्द्रीकृत भएको छ । धेरै संरचना औपचारिक रूपमा अस्तित्वमा भए पनि व्यवहारिक भूमिका कमजोर छ ।
भातृ–संगठनहरू— नेविसंघ र तरुण दल आन्तरिक विवाद, नेतृत्वको पुनरावृत्ति र स्पष्ट कार्यदिशा अभावका कारण कमजोर बने यसले पार्टीलाई नयाँ ऊर्जा, नया विचार र निरन्तर राजनीतिक प्रशिक्षित जनशक्ति उत्पादन गर्ने क्षमताबाट वञ्चित गरिदियो । यही कारण कांग्रेसभित्र आएका धेरै नयाँ राजनीतिज्ञ समयमै उदाउन सकेनन् र उदाएका पनि प्रायः गुटगत समीकरणबाट आफ्नो अस्तित्व बचाइराख्न बाध्य भए ।
यद्यपि कांग्रेसभित्र केही नेतृत्व समूहले हालका चुनौतीहरूलाई अवसरमा बदल्न सक्ने संकेत देखिएका छन् । तीमध्ये गगन थापा सबैभन्दा चर्चित नाम हो । उनको स्पष्ट, तथ्य आधारित राजनीतिक शैली, संसदमा प्रस्तुत हुने विश्लेषणात्मक क्षमता, सुशासन र सार्वजनिक जवाफदेहितामा आधारित धारणा र संस्थागत सुधारप्रतिको अडानले उनलाई केवल कांग्रेसभित्रका युवा नेताको रूपमा होइन राष्ट्रिय स्तरमा ‘भावी नेतृत्व’का रूपमा चिनाएको छ ।
थापाभित्रको ऊर्जा, सामर्थ्य र नीतिगत समझले जेनजी पुस्तालाई नजिक बनाइदिएको छ र यही कारण धेरैले कांग्रेसको भविष्यको केन्द्र उनी हुनसक्ने ठान्छन् । तर गगन थापाको सम्भावित नेतृत्व मार्ग सजिलो छैन परम्परागत संरचना, गुटगत प्रभाव, नेतृत्व हस्तान्तरणमा हुने जटिलता र पार्टीभित्र अझै कायम रहेको शक्ति सन्तुलनका कारण उनी अगाडि बढ्ने प्रक्रिया चुनौतीपूर्ण बन्नसक्छ । उनले पार्टीभित्र संस्थागत सुधारको अभियानलाई दीर्घकालीन रणनीति बनाउन नसकेसम्म उनको लोकप्रियता मात्र नेतृत्व परिवर्तनका लागि पर्याप्त हुँदैन ।
डा. शेखर कोइरालाको भूमिका पनि कांग्रेसको राजनीतिक संरचनामा अत्यन्त निर्णायक हुने देखिन्छ । उनी सुधारवादी धारका प्रतिनिधि, परिपक्व राजनीतिक उपस्थितिका साथ ‘ब्रिज फिगर’को रूपमा उदाएका छन् जो पुराना नेतृत्व र नयाँ पुस्ताबीचको संक्रमण सहज बनाउन सक्षम देखिन्छन् ।
पार्टीभित्र वैचारिक सन्तुलन, संवाद, गुटगत विवाद समाधान र नेतृत्व परिवर्तनमा परिपक्व भूमिका खेल्न सक्ने व्यक्तित्वका रूपमा शेखर कोईराला कांग्रेसका संक्रमणकालीन समयका ‘स्थिर केन्द्र’ हुनसक्छन् । उनले पार्टीका दुवै धार अनुभवी नेतृत्व र आधुनिक सोच बोकेका युवा पुस्तालाई एकताबद्ध राख्न सके पार्टीले आगामी राजनीतिक चुनौती व्यवस्थित रूपमा सामना गर्नसक्छ ।
कांग्रेसले अबका दिनहरूमा कुन बाटो लिन्छ भन्ने प्रश्न केवल संगठनात्मक निर्णय होइन देशको व्यापक राजनीतिक दिशासँग पनि जोडिएको छ । वर्तमान अवस्थामा कांग्रेसले पाँचवटा आधारभूत मोडेल अपनाउन सके मात्र पार्टी पुनर्जीवनको सुनिश्चित मार्गमा अघि बढ्नसक्छ ।
पहिलो नेतृत्व हस्तान्तरणको स्पष्ट रोडम्याप अनुभवी नेतृत्वको प्रत्यक्ष अनुभव र नयाँ पुस्ताको क्षमताबीच सन्तुलन स्थापित गर्दै निष्पक्ष आन्तरिक लोकतन्त्रलाई बलियो बनाउने संरचनागत परिवर्तन । दोस्रो, संगठनको डिजिटल आधुनिकीकरण सदस्यता, रिपोर्टिङ, निर्णय प्रक्रियादेखि नीति विश्लेषणसम्म आधुनिक व्यवस्थापन प्रणाली अवलम्बन, तेस्रो गुटबन्दी नियन्त्रण नियमित आचारसंहिता, स्वचालित निगरानी र वैचारिक समूहलाई संस्थागत सीमाभित्र राख्ने प्रणाली विकास, चौथो, नीतिगत स्पष्टता कांग्रेस आज कसका लागि राजनीति गर्छ भन्ने प्रश्नमा स्पष्ट वैचारिक र कार्यनीतिक दृष्टि आवश्यक छ किनकि पार्टीले इतिहासमा लोकतन्त्रका लागि लडे पनि समकालीन शासन शैलीमा उसको वैचारिक पहिचान स्पष्ट हुन बाँकी छ । पाँचौँ, जेनजी पुस्तालाई केवल ‘टोकन’ होइन वास्तविक नेतृत्वको ढोका खोल्ने संरचनागत सुधार भातृ संगठन पुनर्गठन ३० वर्षमुनिका युवालाई निर्णय तहमा प्रवेश र पार्टीका मुख्य अभियानहरूको प्रत्यक्ष नेतृत्वका लागि सहज मार्ग निर्धारण भए मात्र कांग्रेसको गौरवशाली विगत पुनः स्थापित हुनसक्छ ।
नेपाली कांग्रेस अहिले “तीन पुस्ताको अदला बदली”को अत्यन्त संवेदनशील मोडमा छ । देउवा पुस्ताले संघर्ष र स्थिरताको विरासत बोकेको छ । शेखर कोईरालाको पुस्ताले संवाद, सुधार र सन्तुलन प्रस्तुत गर्छ । गगन थापासहितको नयाँ पुस्ताले आधुनिक राजनीतिक चेतना र भविष्यको नेतृत्वको आकांक्षा बोकेको छ । यी तीन तहबीच सहकार्य, सम्मान र रणनीतिक साझेदारी कायम गर्न सके कांग्रेस पुनः राष्ट्रिय राजनीतिक केन्द्र बन्नसक्छ । तर गल्ती दोहोरिने हो भने गुटबन्दी, अनुहार परिवर्तनको खेल र कार्य दिशाको अस्पष्टता दोहोरिने हो भने कांग्रेसबाट युवा पुस्ताको दूरी झनै बढ्दै जानेछ ।
यसैले कांग्रेसका लागि आजको मुख्य आवश्यकता एकै वाक्यमा सीमित गर्नुपरे भने गल्ती स्वीकार गर्ने साहस, सुधारको दृढता र भविष्यको नेतृत्व नयाँ पुस्तालाई हस्तान्तरण गर्ने राजनीतिक चरित्र हो । नेतृत्व परिवर्तनको अहिलेको बहस केवल राजनीतिक समाचार होइन यो पार्टीको भविष्यको अस्तित्व र पुनर्जीवनको आधार स्तम्भ बन्नसक्ने ऐतिहासिक क्षण हो ।
(लेखक बोहोरा अर्थ सवाल साप्ताहिकका सम्पादक तथा नेपाल पत्रकार महासंघ काठमाडौं शाखाका सचिव हुनुहुन्छ)

अंशु गौतमका “हत्यारा” पदम अधिकारी पक्राउ

शैक्षिक परामर्श व्यवसायीद्धारा निर्मित समिक्षालय भवन हस्तान्तरण

दमक/ जेनजी आन्दोलनका क्रममा क्षतिग्रस्त बनेको दमकस्थित इलाका प्रहरी कार्यालय दमकको समिक्षालय भवन पुननिर्माण गरी सञ्चालनमा ल्याइएको छ ।
दमकका शैक्षिक परामर्श व्यवसायीहरुको करीब ६ लाख रुपैयाँको लागत सहयोगमा सो भवनको पुननिर्माण सम्भव भएको हो ।

दमकमा दमक उद्योग वाणिज्य संघको सक्रियतामा यस क्षेत्रका व्यवसायी तथा सहयोगी दाताहरुले इलाका प्रहरी कार्यालय दमकको पुननिर्माणका लागि अभियाननै सञ्चालन गरिएको छ । सो अभियान अन्तर्गत शैक्षिक परामर्श व्यवसायीहरुले स्वैच्छिक रुपमा यस क्षेत्रको शान्ति सुरक्षा पहिलो प्राथमिकतामा रहेको बिषय भन्दै प्रहरी कार्यालय हाता भित्रको समिक्षालय भवन निर्माणमा सहयोग जुटाएका थिए ।

शैक्षिक परामर्श व्यवसायीका नेता चिरन न्यौपानेका अनुसार शनिबार सो भवन इलाका प्रहरी कार्यालय दमकका डिएसपी किशोर लम्साललाई हस्तान्तरण गरिएको छ । सो अवसरमा नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य गोकूल श्रेष्ठ, संघका अध्यक्ष तथा पुननिर्माण समितिका कोषाध्यक्ष समेत रहेका दमक उद्योग वाणिज्य संघका अध्यक्ष गोपाल गुरागाइँ, पूर्व अध्यक्ष प्रकाश प्रसाइँ, शैक्षिक परामर्श व्यवसायीहरु लगायत सहभागी थिए ।

दमकको ग्लोबलका बिद्यार्थी अन्तराष्ट्रिय स्कूल चेसमा उत्कृष्ट

दमक/ झापाको दमकस्थित ग्लोबल एजुकेशन एकाडेमीका दुई जना बिद्यार्थी काठमाडौंमा सम्पन्न अन्तराष्ट्रियस्तरको चेस प्रतियोगितामा उत्कृष्ट खेल प्रदर्शन गर्दै पुरस्कृत भएका छन् । मसिंर १७ देखि १९ गते सम्म काठमाडौंको हात्तीगौडास्थित TRUNGRAM INTERNATIONAL ACADEMY मा सञ्चालन भएको TIA International Inter– School Chess Championship मा सहभागी विभिन्न उमेर समुहका बिद्यार्थीहरुबीच भएको सो प्रतियोगितामा सहभागी ग्लोबलका विद्यार्थीहरु प्रविशा दवाडी (यु १३ छात्र) र श्रीयन्स चौलागाँईं क्रमशः दोस्रो ,र चौंथो तथा महेश दवाडी (यु १३ छात्र तर्फ १३ औं) स्थान प्राप्त गर्न सफल भएका हुन् ।
प्रतियोगितामा नेपाल, भारत, बंगलादेश र श्रीलंकाका पाँच सय बढी खेलाडी बिद्यार्थीहरु सहभागी थिए ।
प्रतियोगिताका उत्कृष्ट बिद्यार्थीहरुलाई युवा तथा खेलकुद मन्त्री बब्लु गुप्ता, रिपोर्टस क्लबका अध्यक्ष पत्रकार ऋषी धमला लगायत शैक्षिक क्षेत्रका विशिष्ट व्यक्तित्वहरुले पुरस्कृत गरे । सो प्रतियोगितामा कूल ३ लाख राशीका विभिन्न उमेर समुहका विजेता बिद्यार्थीहरुलाई पुरस्कार स्वरुप वितरण गरिएको थियो ।

महिला भलिबल प्रतियोगितामा एपिएफ फाइनलमा प्रवेश

झापा/  झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा सशस्त्र प्रहरीको एपिएफ क्लब फाइनलमा प्रवेश गरेको छ ।
आज भएको अन्तिम सेमिफाइनल खेलमा न्यु डायमन्ड क्लबलाई ३–१ को सेटमा पराजित गर्दै एपिएफ उपाधिनजिक पुगेको हो ।  प्रतिस्पर्धात्मक खेलमा एपिएफले पहिलो, दोस्रो र चौथो सेटमा न्यु डायमन्डलाई हराएको हो ।
एपिएफले २५–२२, २५–१६ र २५–१२ को सेटमा न्यु डायमन्डलाई स्तब्ध पारेको थियो । न्यु डायमन्डले तेस्रो सेटमा एपिएफलाई २५–२२ ले हराएको थियो । एपिएफले कम्तिमा एक लाख रुपैयाँ सुरक्षित गरेको छ ।
खेलको प्लेयर अफ द म्याच एपिएफकी जमुना सेन्च्युरी भइन् । उनलाई नगद सौजन्यकर्ता व्यवसायी फणीन्द्र आचार्यलगायतले नगद पाँच हजार र ट्रफी प्रदान गरे ।

आजको जितसँगै एपिएफले भोलि हुने फाइनल खेलमा नेपाल पुलिस क्लबसँगको भेट पक्का गरेको छ । फाइनल खेल दिउँसो १ बजेदेखि हुने सहआयोजक लक्ष्मी माविका अध्यक्ष वीरबहादुर राईले बताए । झापामा राष्ट्रियस्तरको महिला भलिबल पहिलोपटक भएको हो ।
प्रतियोगिताको विजेताले २ लाख, दोस्रोले १ लाख र तेस्रो हुने टोलीले समान ३० हजार रुपैयाँ पुरस्कार पाउने आयोजक नगर खेलकुद विकास समितिका अध्यक्ष सुरेन्द्र धिमालले बताए ।

त्यस्तै, सर्वोत्कृष्ट खेलाडीले १५ हजार पाउँदा, प्रत्येक दिनको प्लेयर अफ द म्याचले ५ हजार रुपैयाँ र ट्रफी प्राप्त गर्नेछन् । त्यस्तै, बेस्ट स्पाइकर, बेस्ट ब्लकर, बेस्ट सर्भर, बेस्ट सेटर र बेस्ट लिबेरोले १० हजार रुपैयाँ र ट्रफी प्राप्त गर्ने प्रतियोगिता संयोजक प्रभा काम्बाङले बताइन् ।

मेची बाल क्लबको सरसफाइ कार्यक्रम

छुरा हानेर दाजुले गरे भाइको हत्या

मोरङ/ मोरङको जहदा गाउँपालिका वडा नम्बर ७ तरिगामास्थित मझारेमा दाजुले छुरा प्रहार गर्दा भाइको मृत्यु भएको छ । बुधबार राति आपसी विवादमा ३० वर्षीय राजुकुमार साहले छुरा प्रहार गर्दा २८ वर्षीय श्रवण साहको मृत्यु भएको मोरङ प्रहरीले जनाएको छ।  घटनामा गम्भीर घाइते भएका श्रवणलाई तत्कालै विराट मेडिकल कलेज लगिएको थियो। उपचारकै क्रममा राति नै उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।

घटनास्थलमा रहेका प्रहरी निरीक्षक लेखनाथ दाहालका अनुसार आपसी विवाद चर्किएपछि राजुले श्रवणको छातीमा छुरा प्रहार गरेका थिए।

मृतक र अभियुक्तको घर नजिकै रहेको र घटनापछि राजुकुमार भागेको प्रहरीले जनाएको छ । घटनास्थल भारतीय सीमाबाट करिब ५० मिटरमै भएकाले राजु छुरा प्रहारपछि भारततर्फ भागेको प्रहरीको भनाइ छ।
घटनाको थप अनुसन्धान भइहरेको र भारतीय सुरक्षा निकायसँग समन्वय गरी आरोपीलाई पक्राउ गर्ने प्रयास भइरहेको प्रहरीले जनाएको छ ।

स्वार्थ त्याग र मानव कल्याण : अबको नेपाली कांग्रेस यात्राको ऐतिहासिक घडी

अबको नेपाली कांग्रेसको यात्रा कुनै व्यक्तिको महत्वाकांक्षाको यात्रा होइन। यो स्वार्थ त्याग र मानव कल्याणको नितान्त आवश्यक ऐतिहासिक घडी हो।देश आज असन्तुष्ट छ, जनतामा रुष्ट छ, युवाहरुमा आक्रोश छ। तर नयाँ पुरानो सबै राजनीतिक दलहरू अझै कुर्सीको खेलमा लागिरहेकाछन्। यस्तै परिस्थितिमा कांग्रेसले पुस मसान्तभित्र अधिवेशन सम्पन्न गर्ने निर्णय केवल एक औपचारिक कार्यसूची होइन।यो लाखौँ कार्यकर्ताले उठाएको आवाज सुन्ने साहसिक कदम हो। परिवर्तनका लागि ढोका खुल्ने सुरुआत यहीँबाट हुन्छ।

मैले धेरै वर्षदेखि स्वार्थ त्याग र मानव कल्याणको नयाँ राजनीतिक संस्कृति स्थापनाका लागि लेख्दै आएको छु। आवाज उठाउँदै आएको छु, र उठाइरहने छु। राजनीतिक दलहरूले जनताको आवाज सुनेनन् भने लोकतन्त्र खोक्रो हुन्छ।अहिले देशमा उठेको आवाज—विशेष गरी जेन–जेड पुस्ताको आवाज—अब कुनै दलले बेवास्ता गर्न सक्दैन। तर कम्युनिस्टहरू अझै पुरानै सत्ताकेन्द्रित मानसिकता लिएर सडकबाट उठेको आवाज दबाउने प्रयासमै छन्।

कम्युनिस्टहरूको चरित्रले किन जनताको आवाज सुन्न सक्दैनन् भन्ने प्रमाण हालैको एमाले ११औँ अधिवेशनले फेरि देखाइदियो। नेतृत्वविरुद्ध बोल्नेलाई कारबाही, फरक मत राख्नेलाई सत्रु ठान्ने, सबैलाई एकै विचारधारा र अनुशासनको दायरामा कैद गर्ने नीति यही हो।कम्युनिस्ट संस्कार। ताप्लेजुङका दुई पुराना कार्यकर्तालाई केपी ओलीविरुद्ध बोलेको कारण ६ महिनाको निलम्बन यही त यसको ताजा उदाहरण हो।

कम्युनिस्टहरूले भाषणमा लोकतन्त्र बोल्छन्, तर व्यवहारमा लोकतन्त्र जोगिन नदिने सबैभन्दा ठूलो खतरा उनीहरू नै हुन्। उनीहरूको कठोर संरचना, बन्द पार्टी शृङ्खला, नेतृत्व भक्तिको संस्कृति।यी सबैले जनताको आवाजलाई प्रवेशै गर्न दिदैन। नेपालको आजको अवस्थामा उठेको असन्तुष्टि, जेन-जी ।पुस्ताको प्रश्न, पारदर्शिताको माग कम्युनिस्टहरूबाट सम्बोधन हुनै सक्दैन।

यही कारण आजको राजनीतिक रिक्तता भर्ने वास्तविक जिम्मेवारी नेपाली कांग्रेसकै काँधमा आउँछ।

तर कांग्रेसले विगतका गल्तीहरूको कठोर आत्ममूल्यांकन नगरी भविष्यतर्फ जान सक्दैन। जनताले पार्टीप्रति भरोसा गुमाउनुका मूल कारणहरू स्पष्ट छन।पार्टीभित्र गहिरो जरा गाडेको गुटबन्दी, अवसरवादले ग्रसित नेतृत्व, गुटीय स्वार्थलाई जनताको अपेक्षाभन्दा माथि राख्ने संस्कृति, र अधिवेशनलाई पटक पटक सुस्त बनाइदिने गैरजिम्मेवार प्रवृत्ति। विगतका वर्षहरूमा कांग्रेस न भ्रष्टाचारविरुद्ध दृढतापूर्वक उभिन सक्यो, न पारदर्शिता कायम गर्न, न परिवर्तनको जनआवाजलाई संस्थागत संरचनामा रूपान्तरण गर्न।

तर आज पुस मसान्तभित्र अधिवेशन सम्पन्न गर्ने यो निर्णय केवल कार्यविधि होइन।यो आत्मसुधारको संकेत हो।
यही निर्णयले कांग्रेसलाई नयाँ बाटोमा अघि बढ्न सक्ने बनाएको छ।र, यो बाटो स्वार्थ त्याग र मानव कल्याणको मात्र हो, अरू कुनै विकल्प छैन।

नयाँ नेपालको माग यही हो।सफा राजनीति, मानव केन्द्रित योजना, भ्रष्टाचारमुक्त शासन, युवाको ऊर्जा पहिचान गर्ने पार्टी, जनताको आवाजलाई प्राथमिकता दिने नेतृत्व।

अहिले देशभर खोलिएका नयाँ पार्टीहरू पनि अधिकांश कम्युनिस्ट सोच भएका नेताहरूकै प्रयोगशाला बनेका छन्। “नयाँ” भन्ने नाम मात्रै छ, तर भित्री संस्कार त्यही पुरानै हुकुमी, अराजक, असहिष्णु।त्यसैले परिवर्तनका लागि विकल्प धेरै छैन यो जिम्मेवारी कांग्रेसकै हो।

कांग्रेसले अबका दिनमा स्वार्थ त्याग किन अपनाउनुपर्छ भन्ने स्पष्ट कारण छ।किनकि यही एकमात्र बाटो हो जसले जनतालाई फेरि कांग्रेसतर्फ फर्काउँछ।किनकि भ्रष्टाचारसँग लड्ने नैतिक बल स्वार्थ त्यागले मात्र दिन्छ।
किनकि मानव कल्याणलाई प्राथमिकता दिएर मात्र नेपालको भविष्य बचाउन सकिन्छ।किनकि जेन–जेड पुस्ताको आवाज कुनै पार्टीले अवरुद्ध गर्न खोज्यो भने त्यो पुस्ताले पार्टीलाई इतिहास बनाइदिन्छ।

अब काँग्रेसको यात्रा तीन शब्दमा सीमित हुन्छ।स्वार्थ त्याग, मानव कल्याण, लोकतान्त्रिक पुनर्जागरण।
भोलिको कांग्रेसले पुरानै गल्ती दोहोर्यायो भने पार्टी निरीह हुन्छ, तर यदि कांग्रेसले आफूलाई परिवर्तनको प्रतीक बनायो भने देश फेरि ऊत्थानको मार्गतर्फ लाग्छ।

यही बेला कांग्रेसले जनतालाई एक सन्देश दिनुपर्छ।
हामी तयार छौँ, हामी स्वार्थ त्याग्छौँ, हामी मानव कल्याणलाई नै राजनीति मान्छौँ।

अबको नेपालले हुकुमी कम्युनिस्ट होइन, सहिष्णु, खुला र जनमानस केन्द्रित पार्टी खोजिरहेको छ।
धेरै वर्षदेखि स्वार्थ त्याग र मानव कल्याणको अभियान उठाउँदै आएको यो आवाज अब राष्ट्रिय बहस बनेको छ।
यो आवाज दबिँदैन, यो आवाज अब पार्टीको दिशा बनिनु पर्छ।

नेपाली कांग्रेसले अब मात्र होइन, इतिहासकै नयाँ अध्याय सुरु गर्ने अवसर पाएको छ।स्वार्थका सबै ढोका बन्द गरेर, मानव कल्याणका सबै ढोका खोल्दै।

यही बाटोबाट मात्र भ्रष्टाचार नियन्त्रण हुन्छ।
यही बाटोबाट मात्र लोकतन्त्र बलियो हुन्छ।
र यही बाटोबाट मात्र कांग्रेस फेरि जनताको मनमा स्थान बनाउँछ।
यही बाटोले मात्र देशल समृद्धि तर्फबाट अगाडि बढ्छ ।

(लेखक सिटौला झापाबाट निर्वाचित नेपाली काङ्ग्रेस महासमिति सदस्य हुनुहुन्छ)

उँधौली पर्व धूमधाम मनाइदै

काठमाडौँ/ मार्गशीर्ष शुक्ल पूर्णिमाका दिन आज पितृको मान र प्रकृतिको सम्मानका रूपमा किराँत समुदायले उँधौली पर्व मनाउँदैछन् ।

किरात समुदायका याक्खाले चासुवा, सुनुवारले फोलस्यादर, राईले उँधौली सकेला र लिम्बूहरूले चासोक तङ्नाम पर्वका नाममा उँधौली धुमधामसँग मनाउँदैछन् । लिम्बूहरूले चासोक तङ्नाम पर्व तीन दिनअघि नै मनाउन सुरु गरेका थिए ।

यो पर्वको पहिलो दिन थियो । आज संयुक्त रूपमा यस समुदायका सबैले उँधौली सकेला अर्थात् उँधौली पर्व मनाउँछन् । किरात संस्कृतिबारे अनुसन्धानरत कीर्तिकुमार दुमी राई किराँतभित्रका जातजातिले मनाउने यो पर्वलाई फरक फरक नाम दिए पनि समग्रमा उँधौलीका नामले चिनिने बताउछन् ।

किराँत समुदायले आफूले लगाएको अन्नबाली पाकेपछि इष्टदेवतालाई चढाउने, खानका लागि अनुमति माग्ने तथा पितृलाई स्मरण गर्ने दिनलाई पर्वका रूपमा मनाउँछन् । बाली लगाउने बेलामा भने किराँत जातिमा यावा अर्थात् उँभौली पर्व मनाइने प्रचलन छ ।

भूमिपूजाका लागि बिहानैदेखि किराँत महिला तथा पुरुषहरू जातीय वेशभूषामा सजिएर च्याबु्रङ बाजाको तालमा धाननाच नाच्दै पर्व मनाउने स्थानमा पुग्छन् । पर्व र रीतिरिवाज एउटै भए पनि आ–आफ्नो भाषाअनुसार पर्वलाई पुकार्ने चलन छ ।

ललितपुरको सानो हात्तीवन किराँतकालदेखिको ऐतिहासिक धार्मिक तीर्थस्थल मानिन्छ । आज त्यहाँ चाड विशेष रूपमा मनाइन्छ । लिम्बूहरूले युमासामाङ र थेवासामाङलाई आफ्नो इष्टदेवता मान्छन् भने किराँतहरू तागेरा निङ्वाफुमाङलाई आफ्नो देवताका रूपमा पुज्ने गर्छन् । तागेरा निङ्वाफुमाङलाई आकृति विनाको अदृश्य शक्ति मानिने भएकाले मूूर्ति वा प्रतिमा नहुने भनाइ छ ।

पूजापछि आ–आफ्नो परम्पराअनुसार चण्डीनाच, च्याब्रुङनाच, ढोलनाचलगायतका नाच नाचेर मनोरञ्जन गर्छन् । पर्व मनाउन त्यहाँ भेला भएका किराँतहरूले आफ्नो परम्परगत सांस्कृतिक कार्यक्रम र विभिन्न खेलकुद प्रतियोगिता पनि आयोजना गर्ने परम्परा छ ।

वैशाख शुक्ल पूर्णिमामा उँभौली पूजा गरेका किराँतले आज उँधौली पूजा गरेपछि माथिबाट तल झर्ने गर्छन् । जसलाई पर्यावरण अनुकूलताअनुरुपका कामका रुपमा समेत लिइने अनुसन्धाता राईले बताए । जाडोमा तल झर्ने गर्मीमा माथि लेकमा जाने रूपमा पनि उधौली र उँभौली पर्वलाई लिने गरिन्छ ।

उँभौलीमा खेतीपाती राम्रो होस् भनी पूजा गर्ने र उधौलीमा खेतीपाती राम्रो गरेकामा साकेला (भूमे) लाई धन्यवाद दिने पर्वका रूपमा मनाउने गरिएको विश्वाससमेत किराँत जातिमा छ । दुवै पर्वलाई किराँत समुदायले भव्य रूपमा मनाउँछन् ।

खस आर्यले मनाउने धान्य पूर्णिमा, नेवार समुदायले मनाउने यः मरि पुन्हि अर्थात् योमरी पूर्णिमा र किराँत समुदायले मनाउने उधौली पर्वको भाव भने एकै छ । नयाँ अन्न बाली भित्र्याएपछि आ आफूले मानेका देवी देवतालाई चढाएर खाने परम्परा । यस पर्वका अवसरमा विगतमा काटिएको बिदालाई सरकारले पुनः दिन थालेको छ । यस अवसरमा आज देशभर सार्वजनिक बिदा दिइएको छ ।

महाधिवेशन तोकिए पनि कांग्रेस भित्र आक्रोश र शंका

नेपाली कांग्रेसको १५औं महाधिवेशनको मिति तोकिएसँगै त्यसको विभिन्न कोणबाट व्याख्या र विश्लेषण भइरहेको छ। डेढ महिना भन्दा बढी चलेको केन्द्रीय समिति बैठकले आगामी पुस २६ देखि २८ गतेसम्म नियमित महाधिवेशन गर्ने निर्णय गरेको हाे।

विशेष महाधिवेशन पक्षधरहरुले भने यो निर्णय प्रथम दृष्टिमा नै अव्यवहारिक र अवैज्ञानिक रहेको दावी गर्दै आएका छन्। त्यसका लागि उनीहरुले सामूहिक प्रस्ताव समेत बुझाएका थिए । अब त्यो प्रस्ताव के हुन्छ भन्नेमा धेरैको चासो बढेको छ।

कांग्रेसको विधान अनुसार वर्तमान केन्द्रीय कार्यसमितिको म्याद यहि मंसिर २३ गतेसम्म मात्र छ। कार्यकाल सकिन लागेपछि केन्द्रीय समिति बैठकले केन्द्रीय समितिसहित सबै तहको म्याद माघ मसान्तसम्म थप्ने निर्णय गरेको छ । १५औं महाधिवेशनको मिति पुसमै तोकिएको हाे। यो महाधिवेशनपछि पार्टीमा नयाँ नेतृत्वले गतिविधि अघि बढाउँने छ। महाधिवेशन पुसमै गर्ने तर, केन्द्रीय समितिसहित सबै पार्टी कमिटीहरुको म्याद माघ मसान्तसम्म किन थपियो ? भन्नेमा अन्योलको स्थिति छ। यसले विशेष महाधिवेशन पक्षधरहरुलाई थप सशंकित र आक्रोशित बनाएको छ।

विशेष महाधिवेशनका लागि ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिहरुले सामूहिक प्रस्ताव बुझाएका थिए । सोही प्रस्तावपछि पार्टीको केन्द्रीय समिति बैठक निकै लम्बिएको थियो। नियमित महाधिवेशनको मिति तोकिसकेपछि यो प्रस्ताव के हुन्छ भन्नेमा धेरैको चासो रहेको कांग्रेस केन्द्रीय सदस्य लक्ष्मी परियारले बताउनुभयाे।

नियमित महाधिवेशनको मिति तय भएपछि विशेष महाधिवेशनको प्रस्ताव स्वतः निष्क्रिय हुने एकथरीको दावी छ। अर्कोतर्फ केही नेताहरुले विशेष महाधिवेशनको प्रस्ताव अझैं सक्रिय रहेको दावी गरिरहेका छन् । १५ औं महाधिवेशनको मिति तय भएता पनि समयमै महाधिवेशन हुनेमा थुप्रै आशंका छन्। त्यसैले पनि यो प्रस्ताव जीवित नै रहेको कांग्रेस केन्द्रीय सदस्य प्रकाश रसाइलीले बताउनुभयाे।

यसरी हेर्दा, कांग्रेस फेरि अर्को समस्यामा फसेको देखिंदै छ। महाधिवेशन समयमै नहुने आशंका र विशेष महाधिवेशन पक्षधरलाई पेलेरै अघि बढ्ने संस्थापनको दाउले अर्को खतरा पैदा गरेको हाे। यो बीचमा कांग्रेसले कस्तो रोडम्याप तय गर्छ धेरैले चासोका साथ हेरेका छन्।