दमक/ झापाको दमकमा आज मंगलबार दिउँसो खेतमा धानको लाहार ( धान काटेर छोडिएको भाग) जलाउन सल्काइएको आगो गाईको गोठमा सल्किदा भएको आगलागीमा एउटा गर्भिणी गाई जलेर मरेको छ ।
प्रहरीका अनुसार दमक १० सगरमाथा टोलमा स्थानीय केशव भण्डारीले आफ्नो खेतमा रहेको धानको लाहार ( धान काटेर छोडिएको भाग) मा लगाएको आगो सल्किएर दुई वटा गाई गोठमा समेत सल्किँदा भएको आगलागीमा एउटा गाई मर्नुका साथै अर्को एक चौपाया जलेर घाईते भएको छ ।
आगलागीका कारण त्यहाँ अन्य सरसामान समेत जल्दा करीब ८ लाख बराबरको धनमाल नोक्सान भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । दिउँसो करीब १ बजे सो आगलागी स्थानीयबासी, उर्लाबारी र कमल गाउँपालिकाको वारुण यन्त्र समेतको सहयोगमा निभाइएको थियो ।