झापाबाटै कांग्रेस–एमालेबीचको संयन्त्र भत्किँदै, सहकारीको चुनाव बन्यो कारक

दमक/ सत्तापक्षीय नेपाली कांग्रेस र नेकपा एमालेका झापा जिल्ला शीर्ष नेताहरुबीच असमझदारी बढेको छ ।
कांग्रेस–एमालेबीचको दलीय समिकरण बनाएर झापाका सबै संघ संस्थाहरुमा कांग्रेस–एमालेको नेतृत्व स्थापित गर्ने दुई दलीय संयन्त्रको औचित्यमाथिनै प्रश्न चिन्ह खडा भएको सार्वजनिक भएको हो ।
पटक पटक निर्वाचन मिति सार्दै १३ बैशाखका लागि तोकिएको जिल्ला सहकारी संघ झापाको नेतृत्व चयन गर्ने अघिल्लो दिन कांग्रेस एमालेका जिल्लास्तरीय नेताहरुबीच नेतृत्व चयनमा असमझदारी र आरोप प्रत्यारोपका दस्तावेजहरु सार्वजनिक भएका हुन् ।
नेपाली कांग्रेसको झापा जिल्ला नेतृत्वले यसअघि कांग्रेस एमालेकाबीचमा संघको पदाधिकारी तथा सदस्यहरु र लेखा समितिमा समेत एकआपसमा नजुध्ने गरी उम्मेदवारी दिने बिषयमा भएको सहमति पत्रने सार्वजनिक गरेका छन् ।
सार्वजनिक गरिएको सहमति पत्रमा नेकपा एमालेले संघको जिल्ला अध्यक्षसहित खुल्ला उपाध्यक्ष , सचिव , कोषाध्यक्ष र लेखा संयोजक पदमा एमालेका तर्फबाट उम्मेद्वारी दिइने उल्लेख छ ।
त्यस्तै लेखा समिति सदस्य महिला कोटा, खुल्ला सदस्य ३, महिला सदस्य ३ र क्षेत्रगत सदस्य तर्फ ३ जना उम्मेदवारी दिने साथै संघको कांग्रेसका तर्फबाट संघको वरिष्ठ जिल्ला उपाध्यक्ष १, महिला उपाध्यक्ष १ र सहसचिव १ मा उम्मेदवारी दिइने उल्लेख छ ।
त्यस्तै कांग्रेसले सदस्यहरु तर्फ क्षेत्रगतरुपमा क्षेत्र नं २ र ५ मा , खुल्ला महिला सदस्यमा १ जना र लेखा समिति सदस्य १ जना उम्मेदवार बनाउने सहमति भएको थियो । सो सम्बन्धिको सहमति पत्र कांग्रेस झापाका सभापति देउकुमार थेवे , सचिव कृष्ण हुमागाइँ र कांग्रेस सम्बद्ध सहकारी विभागका झापा प्रमुख दुर्गाप्रसाद सापकोटाले हस्ताक्षर गरेका थिए भने एमालेका तर्फबाट पार्टीका जिल्ला अध्यक्ष प्रेम गिरी, एमाले कोशी प्रदेश सदस्य घनश्याम अधिकारी र एमालेका सहकारी विभाग प्रमुख हरिदास ढुंगानाले हस्ताक्षर गरेका थिए ।
२३ चैतमा भएको सो सहमति विपरीत हाल संघको निर्वाचनमा एमालेले उम्मेदवारी कायम राखेर जिल्ला सहकारी संघमा एकल दबदबा देखाउन खोजेकाले जिल्लास्तरमा रहेको कांग्रेस– एमाले संयन्त्रनै धरापमा परेको ति दलका निकटस्थ नेताहरु र सहकारीकर्मीहरुले जनाएका छन् ।
यसैबीच दुई दलका बीच भएको सो सहमति भंग भएको अवस्थामा तत्काल निर्वाचन कार्यक्रम स्थगित गरि पुनः निर्वाचन तालिका प्रकाशन गर्नुपर्ने मुख्य मागसहित संघको निर्वाचन समितिको कार्यालयमा कांग्रेस सम्बद्ध सहकारीकर्मीहरुको टोलीले शुक्रबार तालाबन्दी गरेको छ । सहसचिव पदका उम्मेदवार समेत रहेका कांग्रेस नेता विनोद ढकाल नेतृत्वको टोलीले विर्तामोडस्थित संघको निर्वाचन समिति कार्यालयमा तालाबन्दी गरेको हो । यसले संघको निर्वाचनबारे अन्योल छाएको बताइएको छ ।

 

दुई महिनाका शिशुमा स्वास्थ्य समस्या, उपचारमा सहयोगको अपिल

दमक/ झापाको बुद्धशान्ति गाउँपालिका–३ की सम्झना जवेगुकी दुई महिनाकी छोरी सुयना जवेगुको स्वास्थ्यमा गम्भिर प्रकृतिको समस्या देखिएको छ । उनलाई मस्तिष्क र फोक्सोमा समस्या देखिएपछि वैशाख ४ गते विर्तामोडस्थित बीएण्डसी अस्पतालमा भर्ना गरिएको छ । परिवारले आर्थिक अभावका कारण उनको उपचारमा कठिनाई रहेको भन्दै सहयोगका लागि सार्वजनिक अपिल गरेका छन् ।
सुयनाकी आमा सम्झना जवेगुका अनुसार अस्पताल प्रशासनले उपचार अघि तुरुन्तै एक लाख रुपैयाँ बुझाउनुपर्ने माग गर्दै, रकम नबुझाएमा डिस्चार्ज गर्न चेतावनी दिएको छ। “छोरी टुलुटुलु हेरेर छटपटाइरहेकी छ, तर उपचार गराउन हामीसँग पैसा छैन,” उनले भनिन्।् ।
जवेगु परिवार अहिले आर्थिक अभावका कारण तनावमा छन् र छोरीको जीवन रक्षाका लागि सहयोगको अपील गरेका छन्। । सहयोग गर्न इच्छुक व्यक्तिहरूले सिधै परिवारसँग सम्पर्क गरेर वा अस्पतालमा पुगेर सहयोग गर्न सक्नेछन्।् । सुयनाको उपचारमा सहयोगका लागि यहाँ रहेको परिवारको खातामा सहयोग गर्न सकिने छ ।

कमलमा सडक बत्ती जडानपछि स्थानीयहरु खुशी, संरक्षणको दायित्व स्थानीयलाई

दमक/ झापाको कमल गाउँपालिकाले पालिका भित्रका मुख्य चोकहरुमा पोलसहितको सडक बत्ती जडान गर्ने कामलाई निरन्तरता दिएको छ ।
यसअघि पाडाजुँगी –गोरीगञ्ज सडक खण्डमा चार लेन सडक विस्तारसँगै सडक सौन्दर्यकरण र सडक बत्ती जडान गरेको पालिकाले बिहिबार सो गाउँपालिका अन्तर्गतका विभिन्न चार स्थानमा दुई मुखे र तीन मुखे सडक बत्ती जडान गरेको हो ।

गाउँपालिका अध्यक्ष हुकुमसिंह राईले मंगलबारे–पाराबारी–शिवगञ्ज सडक खण्ड अन्तर्गतको कमल ४ स्थित पुल्चोकमा सडक बत्ती जडान गरेर सोको शुरुवात गरे । त्यस अवसरमा अध्यक्ष राईले पालिका भित्रका चोक बजार तथा शहरीकरण तर्फ उन्मुख क्षेत्रमा सडक बत्ती जडान गर्ने कार्यलाई आवश्यकताका आधारमा विस्तार गर्दै लैजाने योजना रहेको बताए ।


पुलचोकमा सडक बत्ती जडानपछि स्थानीयहरुले सडक बत्ती जडानले सो क्षेत्रमा हुन सक्ने आपराधिक क्रियाकलापको जोखिमलाई कम गर्दै गाउँ टोलको सौन्दर्यकरणमा समेत मद्धत पुग्ने प्रतिक्रिया दिएका छन् । उनीहरुले त्यस क्षेत्रमा यसअघि टड्कारो आवश्यकताका रुपमा रहेको पूलको आवश्यकता पुरा गरिदिएकोमा खुशी व्यक्त गरे ।


त्यहाँको मुख्य सडक स्तरोन्नतीको काम शुरुवात भएकोले सडक निर्माणको गुणस्तरमा चासो र सक्रियता देखाउन स्थानीयबासीहरुसँग आग्रह गरे । स्थानीयहरुले त्यहाँस्थित भित्री सडकको स्तरोन्नतीका लागि पनि अध्यक्ष राईलाई ध्यानाकर्षण गराएका छन् । अध्यक्ष राईले त्यहाँको करिब डेढ सय मिटर लामो भित्री सडक स्तरोन्नती गर्नुपर्ने आवश्यकताबारे आफू जानकार भएकाले गाउँपालिका सबै क्षेत्रको सन्तुलित बिकास गर्ने लक्ष्यसहित अघि बढेको प्रष्ट्याए ।
बिहिबारनै कमल ५ धनप्रसाद मार्गस्थित गेउरिया पुलमा , कमल ६ को काँटा चोक, कमल ७ को गेउररिया बजारमा आज सडक बत्ती जडान गरिएको छ ।

जडान गरिएका सडक बत्ती बले वापत उठेको बिद्युत महसुल सम्बन्धित क्षेत्रका स्थानीयबासीहरुले समयमानै तिरेर नागरिकको दायित्व पुरा गर्न गाउँपालिकाले अनुरोध गरेको छ । बत्ती जडानपछि त्यहाँ कुनै पनि समस्या देखिए तत्काल स्थानीय सरकारमा जानकारी गराए आवश्यक मर्मत सम्भारको काम भने पालिकालेनै गर्ने जनाइएको छ ।

 

 

 

लोकतन्त्र दिवसमा १७६ जनाको आँखा जाँच

दमक/    १९ औं लोकतन्त्र दिवसको अवसर पारेर नेपाली कांग्रेसले आज झापाको दमकमा निशुल्क आँखा जाँच शिविर सञ्चालन गरेको छ । कांग्रेसको दमक वडा नम्बर ५ वडा समितिले निशुल्क आँखा जाँच शिबिर सञ्चालन गरेको हो ।
दमक ५ स्थित धनेश्वर मन्दिर परिसरमा भएको कार्यक्रममा १ सय ७६ जनाको आँखा जाँच गरिएको पार्टीका वडा सभापति चैतन्य बरालले जानकारी दिए ।
कार्यक्रममा एक सय जनालाई चस्मा लागाउनु पर्ने देखिएकोले निशुल्क चस्मा समेत वितरण गरिएको छ । बिर्ताज्योती आँखा अस्पतालको प्राबिधिक सहयोगमा सञ्चालित आँखा शिबिरमा ३० जनाको थप उपचार गर्नु पर्ने देखिएकोले अस्पताल रेफर गरिएको छ ।

वडा सभापति बरालको अध्यक्षतामा भएको शिबिर उद्घाटन कार्यक्रममा कांग्रेस कोशी प्रदेश समिति सदस्य तथा दमक नगर उपप्रमुख रेगिना भट्टराई, कोशी प्रदेश समिति सदस्य चन्द्रा खड्का भट्टराई, झापा जिल्ला उपसभापति शेरबहादुर भट्टराई, क्षेत्रीय सभापति ढुण्डीराज भण्डारी, प्रदेश क्षेत्र सभापति रवी केसी न्यौपाने लगायत नेता, कार्यकर्ताहरुको आतिथ्य रहेको थियो ।
१९ औं लोकतन्त्र दिवस भएकोले १९ वटा मैन वत्ती बालेर कार्यक्रमको शुभारम्भ गरिएको वडा उप सभापति सन्तोष गौतमले जानकारी दिए । सो अवसरमा सहभागीहरुलाई भिटामीन बिको क्याप्सुल समेत निशुल्क वितरण गरिएको थियो ।
कार्यक्रमको सञ्चालन वडा सचिव धर्म ढुंगानाले गरेका थिए ।

 

 

माता औंसीमा १३० जना माताहरुलाई सामुहिक सम्मान

दमक/ माता औंसीको सन्दर्भ पारेर आज झापाको दमकमा १३० जना आमाहरुलाई सम्मान गरिएको छ ।
जेष्ठ नागरिक सम्मान प्रतिष्ठानसँगको समन्वयमा प्रतिष्ठानको दमक ५ स्थित केन्द्रिय कार्यालयमा औपचारिक कार्यक्रमसहित सम्मान गरिएको हो ।
दमक नगरपालिकाकी उपप्रमुख रेगिना भट्टराई प्रसाइँको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रममा दमक नगरपालिका, कमल गाउँपालिका र शिवसताक्षी नगरपालिकाका १ सय ३० जना जेष्ठ आमाहरुलाई सम्मान गरिएको हो ।
आमाहरुलाई पस्मिनाको दोसल्ला ओढाएर सम्मान गर्दै नगर उप प्रमुख भट्टराईले अहिले धेरै आमाबुबाहरु परदेशमा रहेका आफ्ना सन्तानको सम्झनामा तडपिनु परिरहेको अवस्थाले आफूलाइ सधैं चिन्तित बनाउने गरेको बताइन् ।
सन्तानहरु बिदेशीएको भन्दै घरमा आमा बुबा मात्रै रहने अवस्था आउनु दुखद भएको भन्दै उनले समाजमा रहेका सामाजिक संघ संस्थाहरुनै सन्तानकै रुपमा रहेको उल्लेख गरिन् ।


घरमा एक्लै बस्नु पर्ने अवस्थामा जेष्ठ नागरिक जस्ता संस्थाले आमा बुबाहरुलाई आपसस् सुखदुख र भावना साटासाट गर्ने अवसर प्रदान गरेको बताइन् । दमकमा ज्येष्ठ नागरिक लक्षित सेवाहरु थपिने क्रममा रहेको उपप्रमुख भटट्राईले जानकारी दिइन् ।
जेष्ठ नागरिक सम्मान प्रतिष्ठानका अध्यक्ष दुर्गा पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा सहभागी आमा बुबाहरुलाई मिष्ठान्न भोजन समेत गराइएको थियो ।

शिक्षकहरुलाई पार्टी सदस्यता त्याग्न गाउँपालिका अध्यक्ष राईको सुझाव

दमक/ झापाको कमल गाउँपालिका अध्यक्ष हुकुमसिंह राईले शिक्षकहरुलाई राजनीतिक दलको सदस्यता त्याग्न सुझाव दोहोरयाएका छन् ।
शिक्षकहरुको जारी आन्दोलनका कारण सामुदायिक बिद्यालयको पठनपाठनमा अवरोध पुगेको र यसबाट शिक्षकहरुमाथिनै राजनीतिक कोणबाट नकारात्मक टिकाटिप्पणी हुन थालेकोप्रति लक्षित गरेर अध्यक्ष राईले त्यस्तो सुझाव दोहोरयाएका हुन् ।
अध्यक्ष राईले सामाजिक सञ्जाल फेसबुकमार्फत शिक्षकहरुमाझ त्यस्तो सुझाव राखेका हुन् ।
दुई बर्ष अघिनै कमल गाउँपालिका भित्रका सामुदायिक बिद्यालय हाता भित्र राजनीतिक गतिबिधि गर्न रोक लगाउने नीतिगत निर्णय लिएका कमल गाउँपालिकाका शिक्षा समिति संयोजक समेत रहेका अध्यक्ष राईले जारी शिक्षकहरुको राष्ट्रिय आन्दोलनमा उठेका जायज मागहरुलाई समेत पार्टी कार्यकर्ताहरुको मागका रुपमा बुझिन थाल्नु दुर्भाग्य भएको टिप्पणी समेत गरेका छन् । कमल गाउँपालिकाले गत बर्षनै सामुदायिक बिद्यालयका शिक्षक, पालिकाका कर्मचारी र जनप्रतिनिधिहरुका छोराछोरीलाई अनिवार्य सामुदायिक बिद्यालयमै पढाउने व्यवस्था मिलाउन निर्देशन गरेको थियो ।
नेपाली कांग्रेसका नेता समेत रहेका अध्यक्ष राईले यसअघि कांग्रेसको पार्टी क्रियाशील सदस्यता नविकरणको क्रम शुरु हुँदानै शिक्षकहरुलाई पार्टी सदस्यता नविकरण नगरी शैक्षिक क्षेत्रलाई राजनीतिक प्रभावमुक्त बनाउने अभियानमा सहयोग गर्न आग्रह गरेका थिए ।
पछिल्लो समय राज्य र समुदायको समेत लगानी रहेको सामुदायिक बिद्यालयको शैक्षिक सुधारको बाधक राजनीतिनै भएको शिक्षा सम्बद्ध सरोकारवालाहरुले निष्कर्ष निकाल्दै आएका छन् ।

११ बैशाखदेखि अनिवार्य कक्षा सञ्चालन गर्न वडाध्यक्ष सुब्बाले गरे पत्राचार

झापा/ झापाको कमल गाउँपालिकाको २ नम्बर वडा कार्यालयले नयाँ शैक्षिक सत्र शुरु भएर पनि बिद्यालयको पठनपाठन सञ्चालन नभएको प्रति गुनासो आउन थालेको भन्दै ११ बैशाखदेखि अनिवार्य कक्षा सञ्चालन गर्न बिद्यालयहरुलाई पत्राचार गरेको छ ।

औपचारिक रुपमा वडास्थित सामुदायिक बिद्यालयहरुलाई पत्र लेखेर ११ वैशाखदेखि नियमित पठनपाठन सञ्चालन गर्न वडाध्यक्ष अशोक सुब्बाले निर्देशन गरेका हुन् ।  वडाध्यक्ष सुब्बाले हस्ताक्षर गरेर आज लेखिएको पत्रमा सो वडाका बिद्यालय क्षेत्रलाई शान्ति क्षेत्र घोषणा कार्यान्वयन गर्ने प्रतिबद्धतामा सर्वपक्षीय निर्णय भएको स्मरण समेत गराइएको छ ।

सो वडामा रहेका कमला मदन आश्रित स्मृति मावि, महेन्द्ररत्न मावि र ज्योती माविलाई पत्र लेखेर ११ वैशाखदेखि अनिवार्य कक्षा सञ्चालन गर्न निर्देशन दिइएको छ । गाउँपालिकास्थित शिक्षा समिति सदस्य समेत रहेका वडाध्यक्ष सुब्बाले भने– हामी पत्र लेख्ने मात्रै होइन कार्यान्वयन गराउनेमा पनि उत्तिकै जिम्मेवार छौं । भर्ना अभियानसँगै नियमित कक्षा सञ्चालन हुनुपर्छ ।

वडाध्यक्ष सुब्बाले अगाडी भने– निर्देशन नमान्ने बिद्यालय लाई एक्सन लिन्छौं । आन्दोलन गर्नु आफ्नो ठाउँमा छ तर जनताका छोराछोरी पढाउने स्कूल बन्दै गरेर बस्न मिल्दैन । आन्दोलनमा नजानु होइन जानु तर पठनपाठन रोकेर बिद्यार्थीको भविष्यमाथि खेलबाँड गर्न पाइँदैन ।

 

 

दुर्घटनामा दिदीको मृत्यु, भाई घाईते

मोरङ/ मोरङ कानेपोखरीमा आज विहान सवारी दुर्घटनामा एक महिलाको मृत्यु भएको छ भने उनका भाइ गम्भीर घाइते भएका छन्।

पूर्वपश्चिम राजमार्गमा पर्ने कानेपोखरी गाउँपालिका–७ मा आज झापाबाट विराटनगर तर्फ आउँदै गरेको को १ ख ७४८२ नम्बरको बसले स ४ प५८४१ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ।

दुर्घटनामा मोटरसाइकलको पछाडि सवार उदयपुर बेलका नगरपालिका-४ की करिब ५५ वर्षीया कुमारी आचार्यको घटनास्थलमै मृत्यु भएको मोरङका डीएसपी वेदप्रकाश जोशीले जानकारी दिए
मोटरसाइकल चालक इटहरी उपमहानगरपालिका–४ का करिब ३५ वर्षीय हरि शर्मा गम्भीर घाइते भएका छन्।  उनलाई उपचारका लागि विराटनगर पठाइएको छ।

प्रहरीका अनुसार मृतक र घाइते दिदी–भाइ हुन्। दुर्घटनापछि बस र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

जम्मूकश्मीर आक्रमणमा ज्यान गुमाउने नेपाली २७ बर्षका युवक

भारतको जम्मूकश्मीरस्थित पहलगाम क्षेत्रमा मंगलबार भएको आतंकवादी आक्रमणमा परि एक नेपाली युवाको मृत्यु भएको छ । आक्रमणमा रुपन्देहीको बुटवल उपमहानगरपालिका-१४ निवासी २७ वर्षीय सुदीप न्यौपानेको घटनास्थलमै मृत्यु भएको पुष्टि भएको हो ।

सुदीप धरानस्थित एक कलेजमा पब्लिक हेल्थ विषयमा अध्ययनरत थिए । उनी हाल आमा रिमा पाण्डेसँग बुटवल-११, कालिकानगरमा बस्दै आएका थिए । उनी केही दिनका लागि आफ्नी आमा, दिदी सुष्मा र भिनाजु उज्ज्वल काफ्ले सहित घुमघामका लागि कश्मीर गएका थिए । तर, सोही यात्राका क्रममा उनी आक्रमणको शिकार बनेका हुन् ।

सुदीपसँगै कश्मीर पुगेका अन्य आफन्त भने सकुशल रहेको वडाध्यक्ष तथा सुदीपका काका दधिराम न्यौपानेले जानकारी दिए । उनकाअनुसार शवलाई कश्मीरबाट दिल्ली हुँदै काठमाडौं ल्याउने तयारी भइरहेको छ ।

छात्रामाथि दुव्र्यवहार गर्ने शिक्षक पक्राउ

सङ्खुवासभा/ सङ्खुवासभामा बालिकामाथि दुर्व्यवहार गरेको आरोपमा एक शिक्षक पक्राउ परेका छन् । जिल्लाको सदरमुकाम खाँदबारीस्थित सूर्य सेकेण्डरी बोर्डिङ स्कुलमा कार्यरत बिवेक खत्री बालिकामाथि यौन दुर्व्यवहार गरेको आरोपमा पक्राउ परेका हुन् ।

प्रहरीका अनुसार चैनपुर नगरपालिका-३, सिद्धकाली घर भएका खत्रीले आइतबार बिहान करिब १ बजे विद्यालयको छात्रावासमा एक छात्रालाई आफू सुत्ने कोठामा बोलाई अनुचित व्यवहार गरेका थिए ।

प्रभावित बालिकाको उजुरीपछि प्रहरीले खत्रीलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालयका निरीक्षक रामकुमार लामिछानेले जानकारी दिए । खत्री हाल सोही विद्यालयको छात्रावासमा बस्दै आएका थिए ।

यस विषयमा अनुसन्धान अगाडि बढाइएको छ । जिल्ला अदालत, चैनपुरबाट पाँच दिनको म्याद थप अनुमति लिइसकिएको र उनलाई बाल यौन दुर्व्यवहार सम्बन्धी कसुरअन्तर्गत अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।