लाईब्रेरी फाउण्डेशनको रचना वाचन र पुस्तक चर्चा

दमक/ नेपाल लाईब्ररी फाउण्डेशन गृह पुस्तकालय अभियान झापा शाखाले रचना वाचन तथा पुस्तक चर्चा कार्यक्रम सम्पन्न गरेको छ ।
झापामा रहेका कवि तथा साहित्यकारहरुको बृहत सहभातिामा भएको सो कार्यक्रममा दुई दर्जन भन्दा बडी स्रष्टाहरुले रचना वाचन गरेका थिए ।
साहित्यकारहरु विन्दु दहाल मुकदर्शक, बिबेक दुलाल क्षेत्री,अम्विका सापकोटा ,धनश्याम पथिक,कृष्ण उदाशी,भुपेन्द्र तिम्सिना,रामकुमार उपाध्याय,डिल्ली निरौला, टंक पाठक र माहिनी खनालले रचना वाचन रहेका थिए ।
कवि यादवप्रसाद अधिकारी झाक्रिखोलेले कवि विष्णु न्यौपानेको किनाराको एक्लो मान्छे पुस्तकको चर्चा गरेका थिए ।
साहित्यकार गोपाल दहालले डा. लेखनाथ न्यौपानेको मेरो देश पुस्तकको र प्राध्यापक बाशु काफ्लेले शिव खेडाको जीत तपाईको पुस्तकको चर्चा गरेका थिए ।
साहित्यकार तथा प्राध्यापक डा. गोपाल प्रसाद भण्डारीको प्रमुख आतिथ्यतामा भएको उक्त कार्यक्रममा साहित्य कला सङ्गमका अध्यक्ष विष्णु न्यौपाने, पूर्व अध्यक्ष नरपति पाण्डे, साहित्यकार धनञ्जय बास्कोटा, गणेश गौतम र गणेश न्यौपानेले शुभकामना मन्तव्य राखेका थिए ।
कार्यक्रम नेपाल लाईब्ररी फाउण्डेशन गृह पुस्तकालय अभियान झापा शाखाका अध्यक्ष डा. लेखनाथ न्यौपानेको अध्यक्षतामा भएको थियो भने कार्यक्रमको सञ्चालन लाईब्रेरी फाउडेशन झापा शाखाका सचिव ओमप्रसाद खनालले गरेका थिए ।

‘सडक सुरक्षा सबैको सरोकार’ -मन्त्री दाहाल

काठमाडौ/ भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले सडक सुरक्षा तथा दुर्घटना न्युनिकरण कुनै एक निकायको मात्र सरोकार नरहेको बताउनु भएको छ । सडक विभागसँगको सहकार्यमा सडक साथीले शनिवार गरेको कार्यक्रममा उहाँले यो वहुपक्षिय र बहुसरोकारवाला विषय भएकाले सवै क्षेत्रहरुको समन्वय आवश्यक रहेको बताउनुभयो ।

सडक सुरक्षाका लागि आवश्यक पर्ने सुरक्षित संरचना निर्माण, प्रभावकारी कानून निर्माण तथा कार्यान्वयन, दर्विलो नियमन लगायतका विषयहरु कुनै एक मन्त्रालय वा निकायको क्षेत्राधिकार भित्र मात्र नरहेको उहाँले उल्लेख गर्नुभयो । ‘हामीले धेरै भन्दा पनि सुरक्षित सडक बनाउन आवश्यक छ, त्यस तर्फ हामी लागि सकेका छौं’ मन्त्री दाहालले भन्नुभयो, ‘तर दुर्घटनाको कारक सडक मात्र नभएर मानवीय त्रुटी, यान्त्रिक गडबडी, प्रतिकुल मौषम, लापर्वाही, सडक तथा सवारी नियमबारे जानकारीको अभाव जस्ता विषयहरु पनि रहेकाले सवै पक्षको सहकार्यमा यस तर्फ लाग्न जरुरी भई सकेको छ ।’

सडक तथा सवारी दुर्घटना न्युनिकरणका लागि उच्च भारका सवारी साधन सञ्चालनमा कडाई गरिएको, सडक मर्मतलाई नियमित र प्रभावकारी बनाईएको, योजना तर्जुमा गर्दानै सडक सुरक्षालाई प्राथमिकतामा राख्ने गरिएको भन्दै उहाँले पैदलयात्रीहरुमा समेत सडक सुरक्षा र नियमबारे जानकारी गराउन आवश्यक रहेको बताउनुभयो ।

कार्यक्रममा विभिन्न सडक विभागका महानिर्देशक रामहरी पोखरेल सहित विभिन्न विज्ञहरुको प्यानलमा सडक सुरक्षा तथा सरोकारका विषयमा छलफल समेत गरिएको संस्थाका संस्थापक निपुर्ण न्यौपानेले जानकारी दिनुभयो ।

बिद्यार्थीे मृत्यु प्रकरण छानविनको माग गर्दै प्रदर्शन

दमक नगरपालिकाका कानुन अधिकृत बस्नेतको मृत्यु, वडाध्यक्षसहित ६ जना घाईते

दमक/ दमक नगरपालिकाका कर्मचारी र वडाध्यक्षसहित जनप्रतिनिधिहरु चढेको गाडी दुर्घटनामा परेको छ । बिहिबार अपरान्ह करिब ४.१० बजे उदयुपुरको कटारी नगरपालिका वडा नं. ६ सोमबारे स्थित मदन भण्डारी लोकमार्गमा भएको दुर्घटनामा परी नगरपालिकाका कानुन अधिकृत माधव बस्नेतको मृत्यु भएको छ ।
चितवनबाट झापा तर्फ फर्किँदै गरेको मे १ च ३०४० को स्कारपियो गाडी आफै अनियन्त्रित भएर सडक साईडमा लगाएको फलामको ट्रष्ट बेरियरमा ठोक्किएको प्रहरीले जनाएको छ । स्कारपियोमा सवार दमक नगरपालिका वडा नं. ३ का ५५ बर्षिय माधब बस्नेतलाई उपचारको लागि प्रादेशिक अस्पताल कटारी पुर्याउन साथ अस्पतालले मृत घोषणा गरेको जनाइएको छ । बस्नेत नगरपालिकाका कानुन अधिकृत हुन् ।
दुर्घटनामा परी गाडीमा सवार दमक १० का वडाध्यक्ष राजेन्द्र प्रसाद भण्डारी, दमक ६ का वडा सदस्य कमल श्रेठ, नगरपालिकाका कर्मचारीहरु नविन खतिवडा, ज्ञानेन्द्र गौतम, सवारी चालक दमक ९ का ३८ बर्षिय देबेन्द्र तामाङ, गौरादह नगरपालिका वडा नम्बर १ का ५४ बर्षिय भुवन दाहालको प्रादेशिक अस्पताल कटारी उदयपुरमा उपचार भईरहेको प्रहरीले जनाएको छ । बिरामीहरुको अवस्थालाई हेरेर ठुला अस्पतालहरुमा पठाइएको बताइएको छ ।

प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची

काठमाडौं/ सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक आज बस्दै छ । बिहान ११ बजेका लागि बैठक बोलाइएको छ ।

बैठकमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री रघुजी पन्तले राष्ट्रियसभामा उत्पत्ति भएको ‘तिलगंगा नेत्र विश्वविद्यालय विधेयक, २०८१ माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन् ।

उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले ‘अर्थ समितिको प्रतिवेदनसहितको भन्सार विधेयक, २०८०’ छलफल र पारितका लागि प्रस्तुत गर्नेछन् ।

कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियाले ‘कानुन, न्याय तथा मानव अधिकार समितिको प्रतिवेदन सहितको केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक, २०८० छलफलका लागि प्रस्तुत गर्नेछन् । मन्त्री चौरसियाले ‘केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक, २०८१’ पारित गर्न प्रस्ताव गर्ने सम्भावित कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ ।

प्रमुख प्रशासकीय अधिकृृतसहित नौ जनाविरुद्ध मुद्धा दायर

सर्लाही/ अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सर्लाहीको धनकौल गाउँपालिकाको कृषि बाटो निर्माणका क्रममा भ्रष्टाचार भएको आरोप लगाउँदै प्रमुख प्रशासकीय अधिकृतसहित नौ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

कृषि बाटो निर्माण कार्यमा प्राविधिक लागत अनुमान विपरीत गएर अनियमितता गरेको अभियोगमा प्रमुख प्रशासकीय अधिकृत कृष्णमोहनप्रसाद साह, इञ्जिनियर उपेन्द्रप्रसाद साह, सहायक पाँचौँ मोहम्मद रफिक, सबइञ्जिनियर शशिञ्जनकुमार सिंहविरुद्ध सात लाख ७९ हजार २०५ बराबरको बिगो माग दाबी गर्दै विशेष अदालतमा मुद्दा दायर गरिएको हो ।

आयोगद्वारा धनकौल गाउँपालिकाका लेखापाल अभयकुमार साह, उपभोक्ता समितिका अध्यक्ष वोपेन्द्र राय, सचिव इनरजित साह, कोषाध्यक्ष सुरतिया कुमारी, वडा नम्बर ६ का वडाअध्यक्ष श्यामबाबु साहविरुद्ध पनि समान बिगो माग दाबी गर्दै विशेष अदालतमा मुद्दा दायर गरिएको आयोगका प्रवक्ता राजेन्द्रकुमार पौडेलले जानकारी दिए ।

शिक्षकसँगको वार्ता निष्कर्षविहीन

काठमाडौं/ सरकार र आन्दोलनरत शिक्षकबीच सोमबार राति शिक्षा मन्त्रालयमा भएको वार्ता पनि निष्कर्षविहीन रूपमा टुंगिएको छ । शिक्षामन्त्री रघुजी पन्तको उपस्थितिमा सिंहदरबारमा बसेको छलफलले ठोस सहमति निकाल्न नसके पनि संवादलाई निरन्तरता दिने सहमति भएको हो ।

वार्तापछि शिक्षामन्त्री पन्तले वार्ता सकारात्मक दिशामा अगाडि बढेको प्रतिक्रिया दिए । ‘केही विषय टुङ्गो लगाउन बाँकी छ । वार्ता सकारात्मक रूपमा अगाडि बढेको छ,’ उनले भने ।

महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले केही विषयमा छलफल भए पनि धेरै विषयमा छलफल बाँकी रहेको बताए । ‘मन्त्रालयमा विभिन्न विषयमा लामो छलफल चल्यो तर निष्कर्षमा पुग्न सकिएन,’ उनले भने, ‘हामी भर्खरै मन्त्रालयबाट बाहिरआयौँ । हाम्रो आन्दोलन जारी छ ।’

सरकारकोतर्फबाट वार्ताको नेतृत्व शिक्षामन्त्री रघुजी पन्तले गरेका थिए भने महासंघको तर्फबाट अध्यक्ष लक्ष्मीकिशोर सुवेदीसहितको टोलीले गरेको थियो । मन्त्रिपरिषद्को सोमबारको बैठकले शिक्षक महासंघसँग वार्तालगायत विषयमा सहमति गर्न शिक्षामन्त्री पन्तलाई जिम्मेवारी दिएको थियो ।

मन्त्रिपरिषद्को बैठकपछि सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले बुधबारसम्म शिक्षक आन्दोलनको माग सम्बोधन हुने बताएका थिए । विद्यालय शिक्षा ऐनलगायत माग राखी शिक्षकहरूले गत चैत २० गतेदेखि राजधानी काठमाडौं केन्द्रित आन्दोलन गर्दै आएका छन् ।

पूर्वाञ्चल मन्टेश्वरीमा आमा अभिभावकहरुसँग माता औसी

दमक/ वर्षेनी मनाइँँदै आएको माता तीर्थ औंशी अर्थात आमाको मुख हेर्ने दिनलाई झापाको दमक ८ मा सञ्चालित पूर्वाञ्चल मन्टेश्वरीका बालबालिकाहरुले विशेष रुपमा मनाएका छन् । बिद्यालयले बिद्यार्थीका आमा अभिभावकहरुसँग माता औंशी मनाउने कार्यक्रमको तारतम्य मिलाएको हो ।

बिद्यार्थीहरुलाई आफ्ना मौलिक चाडपर्व र संस्कृतिहरुका बारेमा समेत प्रयोगात्मक विधिबाट सिकाउने उद्धेश्यले आइतबार परेको माता तिर्थ औंशी महत्वसाथ मनाइएको बिद्यालयका संस्थापक निर्देशक माधव भट्टराईले जानकारी दिए ।
विद्यालयमा बालबालिका तथा अभिभावकहरूसँग विविध सांगीतिक कार्यक्रम , माया चिनो आदनप्रदान गर्दै माता तिर्थ औंशी मनाइएको उनले बताए ।

धर्म संस्कृति रितिरिवाज र चालचलनलाई विद्यालयले अभिभावक र बालबालिकासँगै राखेर विविध कार्यक्रमहरूसहित मनाउने गरेको बिद्यालयकी प्रिन्सिपल सविता पोखरेलले जानकारी दिइन् ।


माता तीर्थ औँसी विशेष कार्यक्रममा बालबालिकाहरूले आफ्ना अभिभावक ज्यूहरुलाई मिठा परिकारहरु खुवाएर पूजा गरी टीका लगाई विशेष उपहार समेत दिएर सम्मान गरेका थिए ।
सो अवसरमा संस्थापक निर्देशक भट्टराईले शुभकामना दिँदै माता औंशीको महिमाबारे जानकारी गराएका थिए ।
अभिभावकहरुको तर्फबाट त्रिलोचन पोखरेलले यस्ता कार्यक्रमहरूले बालबालिका र अभिभावक बीच झन् प्रगाड सम्बन्ध कायम राख्ने साथै आफ्ना परम्परा र संस्कार, संस्कृति बारे पनि भावी पुस्तालाई ज्ञान बढ्ने भन्दै प्रशंसा गरे । सो बिद्यालयका अभिभावक गोविन्द निरौलाले बालबालिकाहरुमा यस खाले कार्यक्रमका माध्यमबाट चौतर्फी ज्ञानको बिकासमा मद्धत पुग्ने प्रतिक्रिया दिएका छन् ।

 

 

काँकरभिट्टा आउँदै गरेको बस दुर्घटनामा दुई जनाको मृत्यु

सप्तरी/ सप्तरीमा यात्रुबाहक बस अनियन्त्रिण भई दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । २४ बढी यात्री घाइते भएका छन् । मृत्यु हुनेमा सप्तरीको सप्तीकोशी नगरपालिका–१ बस्ने ७५ वर्षीय रत्नबहादुर मगराती छन् । अर्का एक महिलाको पहिचान खुलेको छैन ।

पूर्व–पश्चिम राजमार्ग अन्तर्गत आइतबार मध्याह्न १२ बजेतिर सप्तरीको कञ्चनरुप नगरपालिका १० बदगामा उदयपुरबाट विराटनगर तर्फ जाँदै गरेको प्र १–०१–००१ ख ३४२० नम्बरको यात्रुबाहक बस आफैं अनियन्त्रित भएर पल्टेको इलाका प्रहरी कार्यालय कञ्चनपुरका डिएसपी माधवप्रसाद काफ्लेले जानकारी दिए। डिएसपी काफलेका अनुसार मृत्यु भएका दुवैजना च्यापिएर गम्भीर घएका थिए । दुवै जनाको विराटनगरको मोडेल अस्पतालमा उपचारको क्रममा भएको हो ।

गम्भीर, मध्यम र समान्य गरी दुई दर्जन यात्रु घाइते भएका छन्। उनीहरूको विभिन्न अस्पतालहरूमा उपचार भइरहेको डिएसपी काफ्लेले बताए । बसमा ३५ जना सवार रहेका थिए । बस चालक झापाको मेचिनगर नगरपालिका ७ का ४७ वर्षीय अमृत दर्जी र बसलाई इलाका प्रहरी कार्यालय कचनपुरको नियन्त्रणमा राखेर घटनाबारे थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

पत्नीसँग माना चामल मुद्धा, जेठी सासुको हत्या

इलाम/ इलामको माई नगरपालिकामा ज्वाइँले धारिलो हतियार प्रहार गरी जेठी सासुको हत्या गरेका छन् । माई नगरपालिका–४ का ४२ वर्षीय शान्तिराम दुलालले सोही स्थानकी ५२ वर्षीया भूमिका चापागाईँको हत्या गरेका हुन् ।

हिजो बेलुका दुलालले चापागाईँको टाउकोमा हतियार प्रहार गरी घाइते बनाएका थिए । घाइते चापागाईँलाई उपचारका लागि झापाको बिर्तामोडस्थित विएन्डसी अस्पताल लगिएको थियो । उपचारकै क्रममा चापागाईँको गए राती मृत्यु भएको इलामका डिएसपी मानबहादुर राईले बताए ।

दुलाल र उनकी पत्नी (भूमिकाकी बहिनी) को भने माना चामल सम्बन्धी मुद्दा चलिरहेको जनाइएको छ । केही समय अघि मुद्दाकै क्रममा अदालत पुगेका दुलाल र चापागाईँ बिच पनि अदालत परिसरमा विवाद भएको थियो ।

हत्यामा संलग्न दुलाललाई प्रहरीले पक्राउ गरेको छ । घटनाको अनुसन्धान भइरहेको बताइएको छ ।