सहकारी संघको क्षेत्रीय संयोजकमा झापा ५ बाट लिङदेन चुनावी मैदानमा, अधिकांश निर्विरोध

दमक/ पदम लिङदेन (संकल्प) झापाको दमक र आसपास सहकारीको क्षेत्रमा परिचित नाम हो । दमकमा अलग पहिचान बनाएर वित्तीय संस्थाहरुमाझ परिचित सहकारी संस्थाका रुपमा रहेको राष्ट्रिय विभूती समाजसुधारक महागुरु फाल्गुनन्दको स्मरण गर्दै खोलिएको फाल्गुनन्द बचत तथा ऋण सहकारी संस्थाको नेतृत्वमा रहेर लिङदेनले यो संस्थालाई अघि बढाइरहनु भएको छ ।

स्थापना कालदेखिनै निरन्तर महत्वपूर्ण जिम्मेवारीहरु सम्हाल्दै आउनु भएका लिङदेनले यो संस्थामा एक कुशल , सक्षम र सफल नेतृत्वको पहिचान बनाई सक्नु भएको छ ।
अनुशासित र सक्रिउ सहकारी अभियान्ताको रुपमा चिनिनु भएका लिङदेन विभिन्न कारणले पछिल्लो समय देशमा आर्थिक मन्दिको प्रभाव बढ्दै जाँदा प्रभावित भएका क्षेत्रहरु मध्ये सहकारी क्षेत्र प्रमुख भएको बताउनु हुन्छ ।
सहकारी अभियान एउटा विशुद्ध सामाजिक अभियान भएकाले यसमा राजनीतिक भागवण्डा र राजनीतिक दाउपेचले नकारात्मक असर पार्ने उहाँको ठम्याई छ ।

झापा जिल्लामा सहकारी संस्थाहरुको अवस्था , सहकारी अभियानमा परेको असर र यसको समाधानका लागि परिणाममुखी कार्ययोजना आवश्यक रहेको उहाँको भनाई छ ।
सहकारी संघमार्फत यसका नेतृत्वकर्ताहरुलेनै आफ्नै संस्थामा गरेको कर्जा लगानी उठ्न नसक्दा संघका सदस्य संस्थाहरु मारमा परेको उहाँको भनाई छ । हाल जिल्ला सहकारी संघको निर्वाचनमा राजनीतिक भागवण्डाका आधारमा केही गलत तत्वहरु हावि हुन खोजिरहेको तर्कसहित उनले सहकारी क्षेत्रको सुधार र अनुशासनको पालनाका लागि आफू पनि उम्मेदवारका रुपमा अघि सरेको बताउनु भयो ।

लगभग १४ बर्षदेखि सहकारीमा निरन्तर क्रियाशील रहँदै फाल्गुनन्द साकोसमा तेस्रो कार्यकालका लागि अध्यक्षको जिम्मेवारी सम्हालिरहनु भएका लिङदेन आगामी बैशाख १३ गते हुने निर्वाचनमा झापा क्षेत्र नं ५ को भुगोलबाट क्षेत्रीय संयोजकमा उम्मेदवारी दिएर आफ्ना शुभचिन्तकहरुमाझ भेटघाट र छलफलमा हुनुहुन्छ ।
सरल स्वभाव र सामुहिकताको भावना राख्ने लिङदेनले आफ्नो उम्मेदवारी सहकारी अभियान भित्रै सुधार गरेर समुदायमा सहकारीको पहुँच विस्तारका लागि भएको बताउनु भएको छ ।
संघको आगामी निर्वाचन १३ बैशाखमा विर्तामोडमा हुँदैछ । संघमा आवघ सबै प्रकारका सहकारी संस्थाहरु यो संघको सदस्यका रुपमा रहेका छन् । जिल्ला सहकारी संघको अध्यक्षसहित अधिकांश पदमा निर्विरोध निर्वाचित भइसकेका छन् । जस अनुसार अध्यक्षमा प्रेम कोईराला (दमक) बरिष्ठ उपाध्यक्षमा दुर्गा सापकोटा (मेचीनगर) महिला उपाध्यक्षमा देबिका बस्नेत (बिर्तामोड) र कोषाध्यक्षमा केशब बस्नेत (बिर्तामोड) रहेका छन् । त्यस्तै महिला सदस्यमा बिन्दा थापा (कन्काइ) निला कुमारी दाहाल (अर्जुनधारा) संगिता गजुरेल ( धुलाबारी) पुष्पा अधिकारी चम्लागाई (चारआली) क्षेत्र तर्फ १ बाट देबीमाया अधिकारी, ३ बाट हरिकृष्ण अधिकारी र ४ बाट तिलक प्रसाद राजबंशी निर्विरोध निर्वाचित भइसकेका छन् ।

द एभरेष्ट साकोसको बार्षिकोत्सवमा सदस्य शिक्षा र उत्प्रेरणा

दमक/ दमकमा मुख्य कार्यालय रहेको द एभरेष्ट बचत तथा ऋण सहकारी संस्थाले शेयर सदस्यका लागि सदस्य शिक्षा कार्यक्रम सञ्चालन गरेको छ ।
दमक उद्योग वाणिज्य संघको सभाहलमा मंगलवार आयोजित सदस्य शिक्षा कार्यक्रममा सहकारी मेनेजर्स क्लव झापाका अध्यक्ष खोमप्रसाद वगालेले सहकारी संस्थामा शेयर सदस्यहरुको भूमिकाका विबिध विषयमा सहजीकरण गरेका थिए ।
सहकारीको १४ औ बार्षिकोत्सवका अवसरमा भएको सहकारी शिक्षासहित कर्मचारीहरुका लागि उत्प्रेरणा तालीम सञ्चालन गरिएको कार्यवहाक व्यवस्थापक धर्मानन्द भट्टराईले बताए ।  कर्मचारी उत्प्रेरणा तालिमका सहजीकरण विर्तामोड नगरपालिकाका पूर्व सहकारी अधिकृत डिल्ली दाहालले गरेका थिए ।
संस्थाका अध्यक्ष दिपक खरेलको अध्यक्षता तथा नेपाल उद्योग वाणिज्य संघका केन्द्रीय सदस्य गोकुल श्रेष्ठको प्रमुख आतिथ्यतामा भएको सो कार्यक्रममा संस्थाका सञ्चालक समिति, लेखा समिति,शेयर सदस्यहरु,कर्मचारीहरु लगायतको उपस्थिति रहेको थियो । संस्थाका सचिव ज्ञाननाथ पौडेलले स्वागत मन्तव्य राखेका थिए ।

दमकमा मुख्य कार्यालयसहित झापा र मोरङका चार स्थानमा सेवा केन्द्र सञ्चालित छन् । झापाको कन्काई,विर्तामोड,बुद्धशान्तिको बुधबारेमा र पूर्वी मोरङको उर्लावारीमा सेवा केन्द्र सञ्चालनमा रहेको र संस्थाको हालको आर्थिक सूचांकका बारेमा कार्यवहाक व्यवस्थापक भट्टराईले स्पष्ट पारेका थिए । संस्थामा ४ करोड ७७ लाख ५३ हजार ८ सय शेयर पूंजी रहेको छ भने निक्षेप ३० करोड २८ लाख २३ हजार ३ सय २ , कर्जा लगानी ३५ करोड १९ लाख ८७ हजार ९ सय १९ ,कोषहरु ५ करोड ७ लाख ६ हजार २ सय ५७ रहेको उल्लेख छ । यस्तै, संस्थाको वासलात ४७ करोड ५७लाख १२ हजार ५ सय ६४ रहेको उनले बताएका छन् ।

कमलका चौपायामा रेबीज संक्रमण, जोखिममा स्थानीयहरु , स्थानीय सरकारको प्रभावकारी सेवा

दमक/  झापाको कमल गाउँपालिका वडा नम्बर ३ र ५ मा कुकुरको टोकाइबाट गाई, बाछा तथा मानिसमा रेबीज संक्रमण फैलिएपछि गाउँलेहरु त्रासमा परेका छन् ।
रेविजको संक्रमणको सम्भावित जोखिमलाई हल गर्न प्रभावित क्षेत्रमा स्थानीय सरकारले प्रभावकारी भुमिका निर्वाह गरेको छ ।
गत चैतको अन्तिम सातादेखि कुकुरको अस्वाभाविक गतिविधि बढेको, कुकुरको टोकाइका घटनाहरू धेरै भएको र कुकुरहरूको मृत्यु भएपछि सो क्षेत्रमा रेविज संक्रमणको त्रास सिर्जना भएको हो ।
कुकुरको टोकाईबाट बढी प्रभावित भएको वडा नम्बर ३ स्थित केर्खा बजारदेखि केराधाप सम्म तथा वडा नम्बर ५ को गुह्येश्वरी टोलमा कुकुरको टोकाइबाट गाई–बाछा संक्रमित भएका हुन । संक्रमित गाईहरू नजिक सम्पर्कमा आएका ५० भन्दा बढी स्थानीयवासीहरूमा अलि रेविजको आशंका गरिएको कमल गाउँपालिका अध्यक्ष हुकुमसिंह राईले जानकारी दिए ।
संक्रमित क्षेत्रको सूक्ष्म अनुगमन गर्न टोलस्तरमा कमल गाउँपालिकाको पशु शाखा प्रमुख दिपेन्द्र लामिछनेसहितको टिम परिचालन गरिएको अध्यक्ष राईले बताए । हालसम्म ४० जनाले कमल नगर अस्पतालमा पुगेर रेबीजविरुद्धको खोप लगाएका अस्पतालका कार्यलय प्रमुख दिपक दाहालले जानकारी दिए ।
कुकुरले टोकेको गाई बाछा रेविज सन्क्रमित लक्षण देखिएकै पुष्टि भएको बताइएको छ ।
“मानिस र पशु दुवैलाई जोगाउन हामीले तत्काल खोप व्यवस्थापन र जानकारी प्रवाहको कामलाई प्राथमिकता दिएका छौं ”– गाउँपालिका अध्यक्ष राईले भने । उनका अनुसार वडा नम्बर ३ मा वडाध्यक्ष अग्नी कोइराला र वडा नम्बर ५ मा वडाध्यक्ष लालबहादुर विष्टसहित सम्बन्धित बिषयका प्राविधिकहरु संक्रमणको जोखिम क्षेत्रमा खटिएका छन् ।
जानकारहरुका अनुसार, “एक गाईको बाछालाई टोकाइपछि त्यसको सम्पर्कमा उच्च जोखिम देखिएपछि तुरुन्त अस्पतालमा खोप लगाउने व्यवस्था मिलाइएको छ ” पशु शाखा प्रमुख दिपेन्द्र लामिछनेले बाछालाइ रेविज रोग कै लक्षण देखिएको पुष्टि भएको जानकारी दिए ।
रेविज संक्रमण हुन सक्ने घटना सार्वजनिक हुनासाथ गाउँपालिका अध्यक्ष राईले कमल नगर अस्पताल , पशु सेवा शाखा र सुरक्षा संयन्त्रलाई यसबारेमा आवश्यक कार्य सम्पादन गर्न निर्देशन दिएका बताइएको छ ।
रेबीज खोपको तत्काल आपूर्ति सुनिश्चित गर्न कोशी प्रदेश आपूर्ति व्यबस्थापन केन्द्र बिराटनगरसँग समन्वय गरि कमल नगर अस्पतालमा रेविज बिरुद्द्को ए आर भि भ्याक्सिन ल्याउन अध्यक्ष राईले पहलकदमी लिएका थिए ।
अन्य पालिकाबाट आएका ए आर भि खोप लगाउने सेवाग्राहीलाई समेत कमलबाट निःशुल्क सो खोप सेवा व्यवस्था गरिएको छ ।
स्थानीय जनप्रतिनिधि, स्वास्थ्यकर्मी, प्राविधिक र समुदायको सहकार्यले संक्रमण फैलिन नदिन अहिलेसम्म उल्लेखनीय सफलता मिलेको र कमल नगर अस्पतालमा दैनिकजसो खोप लगाउनेको संख्या बढेको बताइएको छ ।
कमल २ का वडाध्यक्ष तथा अस्पताल संचालन व्यवस्थापन समिती सदस्य अशोक सुब्बाका अनुसार हालसम्म आपूर्ति भएको खोप पर्याप्त देखिए पनि रेविज विरुद्धको थप खोपको माग बढ्दो छ ।

आम्दा अस्पताल दमकमा स्तरीय डायलोसिस सेवाबारे सम्झौता

दमक/ झापाको दमकस्थित आम्दा अस्पतालमा मिर्गौलाका बिरामीहरुका लागि पहिलो पटक स्तरीय डायलोसिस सेवा सञ्चालन हुने भएको छ ।
नेपाल सरकारद्धारा बिरामीका लागि निशुल्क सेवा प्रदान गरिने सूचीमा रहेको यो सेवा प्रदान गर्न आम्दा अस्पताल र ओमसाई पाथीभरा अस्पतालबीच सो सम्बन्धिमा सम्झौता भएको छ ।
भद्रपुरस्थित ओमसाई पाथीभरा आम्दा अस्पतालसँगको सहकार्यमा २० शैयाको डाइलोसिस सेवा विस्तार गर्न लागिएको आम्दा नेपालका सहसचिव समेत रहेका आम्दा अस्पताल दमकका पूर्व मेडिकल सुपरिटेन्डेन्ट डा. नविन ढकालले जानकारी दिए ।
सम्झौतापत्रमा आम्दा अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर शिखर कट्टेल र ओमसाई अस्पतालका निर्देशक बालकुमार पोख्रेलले हस्ताक्षर गरेका छन् ।
औपचारिक सम्झौता हुनु अघिनै आम्दा नेपाल र ओम साईबीचको समन्वयनमा आवश्यक पूर्व तयारीको काम धमाधम भइरहेकाले अबको २ महिना भित्रै यो सेवा सूचारु गर्ने लक्ष्य राखिएको छ ।
दमकको आम्दा अस्पतालमा डाईलोसिस सेवा सञ्चालनमा आए पूर्वी मोरङ्ग, पश्चिम झापा, इलाम र पाँचथरका दक्षिणी क्षेत्रका लक्षित समुदायहरु लाभान्वित हुने आम्दा अस्पतालका प्रशासक सुमन नेपालको भनाई छ ।

लागुऔषधसहित तीन जना पक्राउ

संखुवासभा/ संखुवासभाको धर्मदेवी नगरपालिकाका तीन जनालाई प्रहरीले लागुऔषधसहित पक्राउ गरेको छ । धर्मदेवी–४ का रामबहादुर अधिकारी लगायत तीन जना लागूऔषध सहित पक्राउ परेका जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक रामकुमार लामिछानेले जानकारी दिए ।
उनका अनुसार रामबहादुरले घरमा लागूऔषध कारोबार गरेको विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय चैनपुरले उनीहरुलाई आइतबार पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा धर्मदेवी नगरपालिका–४ केशव घिमिरे र मादी नगरपालिका–६ का देबेन्द्र थापालाई जाँच गर्ने क्रममा लागुऔषध अफिम सहित पक्राउ गरेको जनाएको छ ।
उनीहरुको साथबाट १२ दशमलब ३९० ग्राम लागुऔषध अफिम फेला परेकाले प्रहरीले नियन्त्रणमा लिई अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ ।

शिक्षक आन्दोलन- सातबुँदे प्रस्ताव मन्त्रिपरिषद्‍मा लैजाँदै

काठमाडौं/ विद्यालय शिक्षा विधेयक २०८१ को छिटो पारित हुनुुपर्नेलगायतका माग राख्दै काठमाडौं केन्द्रित आन्दोलनमा उत्रिएका शिक्षकहरूको आन्दोलन नरोकिने भएको छ । प्रधानमन्त्री केपी शर्मा ओली र सभामुख देवराज घिमिरेसँग भएको छलफलले अपेक्षित नतिजा नदिएपछि महासंघले आन्दोलनलाई नयाँ चरणमा लैजाने रणनीति बनाएको हो ।

शिक्षक महासंघले सरकारले आन्दोलनप्रति गम्भीरता नदेखाएको भन्दै ७७ वटै जिल्लाबाट थप शिक्षकलाई काठमाडौं बोलाउने निर्णय गरेको छ ।महासंघकी सहअध्यक्ष तथा आन्दोलन परिचालन समितिकी संयोजक नानुमाया पराजुलीका अनुसार, अब कुनै पनि विद्यालयमा शिक्षक नरहने गरी आन्दोलनलाई राष्ट्रिय रूप दिइनेछ । ‘शिक्षकहरू अब झन् व्यापक रूपमा काठमाडौं आउनुहुनेछ,’ उनले भनिन् ।

शनिबार साँझ भोजपुरको साल्पासिलिछोबाट राजधानी आइपुगेका शिक्षक रविन राईले देशभरबाट गाडी रिजर्भ गरेर शिक्षकहरू आन्दोलनमा सहभागी हुन काठमाडौं आइरहेको जानकारी दिए । ‘अहिले पनि थुप्रै गाडी काठमाडौं छिर्दै छन्,’ उनले भने ।

विद्यालय शिक्षा विधेयक २०८१ को छिटो पारित हुनुुपर्नेलगायतका माग राख्दै काठमाडौं केन्द्रित आन्दोलनमा उत्रिएका शिक्षकहरूको आन्दोलन नरोकिने भएको छ । प्रधानमन्त्री केपी शर्मा ओली र सभामुख देवराज घिमिरेसँग भएको छलफलले अपेक्षित नतिजा नदिएपछि महासंघले आन्दोलनलाई नयाँ चरणमा लैजाने रणनीति बनाएको हो ।

शिक्षक महासंघले सरकारले आन्दोलनप्रति गम्भीरता नदेखाएको भन्दै ७७ वटै जिल्लाबाट थप शिक्षकलाई काठमाडौं बोलाउने निर्णय गरेको छ ।महासंघकी सहअध्यक्ष तथा आन्दोलन परिचालन समितिकी संयोजक नानुमाया पराजुलीका अनुसार, अब कुनै पनि विद्यालयमा शिक्षक नरहने गरी आन्दोलनलाई राष्ट्रिय रूप दिइनेछ । ‘शिक्षकहरू अब झन् व्यापक रूपमा काठमाडौं आउनुहुनेछ,’ उनले भनिन् ।

शनिबार साँझ भोजपुरको साल्पासिलिछोबाट राजधानी आइपुगेका शिक्षक रविन राईले देशभरबाट गाडी रिजर्भ गरेर शिक्षकहरू आन्दोलनमा सहभागी हुन काठमाडौं आइरहेको जानकारी दिए । ‘अहिले पनि थुप्रै गाडी काठमाडौं छिर्दै छन्,’ उनले भने ।

शिक्षकहरूले माग गरिरहेको विद्यालय शिक्षा विधेयक अझै संसद्मा टेबुल भएको छैन । प्रधानमन्त्री ओलीले १२ वैशाखमा विधेयक संसद्मा प्रस्तुत गर्ने र १३ वैशाखमा पारित गरिने आश्वासन दिए पनि विगतका सम्झौताहरू कार्यान्वयन नभएको अनुभवका कारण आन्दोलनरत शिक्षकहरू आश्वस्त देखिएका छैनन् ।

मन्त्रालयको सातबुँदे प्रस्ताव मन्त्रिपरिषद् बैठकमा पेस
यसैबीच शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले आन्दोलनरत शिक्षकहरूका केही मुख्य माग समेटिएको सात बुँदे प्रस्ताव तयार पारेको छ । यो प्रस्ताव अब बस्ने मन्त्रिपरिषद् बैठकमा पेस गरिने भएको छ ।

शिक्षामन्त्री विद्या भट्टराईको सचिवालयका अनुसार उक्त प्रस्तावमा आन्दोलनरत शिक्षकहरूकै सहमति रहेको छ। प्रस्तावमा समेटिएका बुँदाहरूले शिक्षकहरूको चासोलाई सम्बोधन गर्न सहयोग पुग्ने विश्वास मन्त्रालयले लिएको छ । गत चैत २० गतेदेखि शिक्षकहरू विद्यालय शिक्षा ऐन जारी गर्नुपर्ने मागसहित आन्दोलनमा छन् । सरकारसँगको ११ बुँदे सहमति कार्यान्वयन नहुँदा उनीहरूले राजधानीमा निरन्तर शैक्षिक आन्दोलन गरिरहेका छन् ।

मन्त्रालयले तयार पारेको प्रस्तावमा बाल विकास शिक्षकको तलब १७ हजार ३ सय रूपैयाँ बनाउने, शिक्षकको मर्यादाक्रम कायम गर्ने, ग्रेड समायोजन, दुर्गम भत्ता दिने र निजामती अस्पतालमार्फत उपचारमा छुटको व्यवस्था जस्ता बुँदाहरू छन् । साथै, अस्थायी शिक्षकका लागि बिरामी बिदा सञ्चित गर्ने र राहत शिक्षकलाई दुर्गम भत्ता दिने व्यवस्था पनि प्रस्तावमा समावेश गरिएको सचिवालयले जानकारी दिएको छ ।

ताप्लेजुङ अपडेट– हेलिकप्टरमा घाईते आमा छोरालाई काठमाडौं लगियो

ताप्लेजुङ/  ताप्लेजुङको फुङलिङ नगरपालिका १० स्थित काफ्लेपाटी सडक खण्डमा पाथीभरा दर्शनका लागि जाँदै गर्दा विद्युतको तारमा परेर बोलेरो गाडीमा आगलागी हुँदा घाईते भएका आमा छोरा दुई जनाको उपचारका लागि काठमाडौं लगिएको छ ।
सोमबार (आज) बिहान पाथीरभरा दर्शनका लागि जाँदै गरेको मे १ जे ३०११ नम्बरको बोलेरो गाडीमा करेन्ट लागेर आगलागी हुँद घाईते भएका ललितपुरका वर्ष ४५ की सविना आचार्य र उनका छोरा वर्ष १० का अभियम आचार्यलाई थप उपचारका लागि अन्नपुर्ण एअर लाईनसको नाईन एन एएनयु हेलिकप्टर मार्फत काठमाडौं लगिएको प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक रवि रावलले जानकारी दिए ।
घाईते सविना र छोरा अभियमलाई लिन काठमाडौंबाट हम्स अस्पतालका दुई विशेषज्ञ चिकित्सकसहितको टोलीसहित हेम्स अस्पताल नै लगिएको हो ।
मृतक छोरी १६ वर्षीय आध्या आचार्यलाई पनि काठमाडौं लाने भनिएपनि हेलिकम्परमा क्षमता नभएका कारण नलगिएको बताईएको छ ।
सविनाका बुबा आमा झापा जिल्लाको भद्रपुर नगरपालिका १५ का वर्ष ७० का विनोद पौडेल र वर्ष ६९ की सरिता पौडेलको शव बुझ्न उनीहरुका आफन्त ताप्लेजुङ जाने क्रममा रहेका छन् । शब जिल्ला अस्पताल ताप्लेजुङमा पोष्टमार्टम गरेर परिवारलाई जिम्मा लगाईने प्रहरीको भनाई छ ।
आज विहान बिद्युतको तारबाट गाडीमा आगलागी भई दुर्घटना हुँदा ताप्लेजुङको फुङलिङ नगरपालिका १० का सवारी चालक वर्ष ४२ का दुर्गा भट्टराईको पनि ज्यान गएको छ ।
प्रहरीका अनुसार ताप्लेजुङ सदरमुकाम फुङलिङबाट पाथीभरा मन्दिर जाने क्रममा फुङलिङ नगरपालिका १० गुन्द्रे र तेर्सेको छेउमा सडकमा हाई टेन्सनको बिजुलीको तार झरी मे १ ज ३०११ गाडीमा आगो लाग्दा दुर्घटना भएको बताईएको छ ।

 

 

कार दुर्घटनामा एक जनाको मृत्यु, तीन घाईते

धरान/ इटहरीबीच चारकोसे जङ्गलमा कार दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने तीनजना घाइते भएका छन् । गएराति धरानबाट इटहरीतर्फ आउँदै गरेको बागमती प्रदेश०१–०३०च ४६१८ नम्बरको कार अनियन्त्रित भई दुर्घटना भएको जिल्ला प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक योगराज खतिवडाले जानकारी दिनुभयो ।

उहाँका अनुसार कारमा चालकसहित चार जना सवार थिए । दुर्घटनामा गम्भीर घाइते इटहरी–१ का ४० वर्षीय विष्णु राउतको धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा मृत्यु भएको हो ।

प्रहरीका अनुसार चालक सुनसरीको रामधुनी नगरपालिका–७ का ३० वर्षीय विवेक लामा, इटहरी–४ का ४३ वर्षीय गङ्गा बस्नेत र इटहरी–१ का ३१ वर्षीय कल्याण कटुवाल घाइते भएका छन् । चालक र बस्नेतको अवस्थामा सामान्य रहेको छभने कल्याण कटुवाललाई थप उपचारका लागि विराटनगरस्थित बिराट मेडिकल कलेजमा रेफर गरिएको छ ।

त्यसैगरी, सुर्खेतमा फोर्स गाडीको ठक्करबाट आज विहान एक पैदलयात्रीको मृत्यु भएको छ ।

कर्णाली प्रदेश ०१–००१ ख ०९१५ नम्बरको फोर्स गाडीको ठक्करबाट जुम्लाको हिमा गाउँपालिका–४ का अन्दाजी ५५ वर्षीय कालीबहादुर बुढाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रमुख प्रहरी नायब उपरीक्षक वीरेन्द्रवीर विश्वकर्माले जानकारी दिनुभयो । उहाँका अनुसार गाडीको ठक्करबाट टाउकोमा चोट लागी गम्भीर घाइते भएका बुढाको उपचारका क्रममा मृत्यु भएको हो । नयाँ पेपरबाट 

छात्रामाथि दुर्व्यवहार गर्ने कमलका शिक्षक भट्टराईलाई कैद फैसला

दमक/  विद्यार्थीलाई यौन दुर्व्यवहार गर्ने झापाको कमल गाउँपालिका– ३ स्थित सहिद धर्मभक्त माध्यमिक विद्यालयका शिक्षक शिवकुमार भट्टराईलाई एक वर्ष कैद सजाय भएको छ । जिल्ला अदालत झापाका न्यायाधीश उमेशप्रसाद लुइँटेलको इजालसले बिहीबार शिक्षक भट्टराईलाई बालबालिकाविरुद्धको कसुर (बाल यौन दुर्व्यवहार)मा एक वर्ष कैद, दश हजार रुपैयाँ जरिवाना र ४० हजार क्षतिपूर्तिको फैसला गरेको हो । 

भट्टराईविरुद्ध सोही विद्यालयमा कक्षा ७ र ८ मा पढ्ने तीन बालिका ‘छ’, ‘ज’, र ‘झ’ (सांकेतिक नाम)ले इलाका प्रहरी कार्यालय दमकमा गत भदौमा जाहेरी दिएका थिए । उक्त जाहेरीका आधारमा जिल्ला अदालत झापामा मुद्दा दर्ता भएको थियो ।

अदालतले उनलाई प्रत्येक मुद्दामा एक–एक वर्ष कैद, जनही दश हजार जरिवाना (कुल ३० हजार) र जनही ४० हजार क्षतिपूर्ति (कुल एक लाख २० हजार) तोकेको जिल्ला अदालत झापाका सूचना अधिकारी रामचन्द्र बस्नेतले जानकारी दिए । प्रत्येक मुद्दामा एक–एक वर्ष गरी तीन वर्ष कैद हुन आउँछ । तर, उनले एक वर्ष मात्र कैद सजाय कटाए हुने सूचना अधिकारी बस्नेतले बताए ।

‘एकै कसुरको मुद्दा हो । एकै समयमा भएको घटना पनि भएकाले मुद्दामा कैद हद हुन्छ । भट्टराईले एक वर्ष सजाय काटे हुन्छ,’ उनले भने । शिक्षक भट्टराईले ती बालिकालाई विद्यालयमै यौन दुर्व्यवहार गरेका थिए । उनले कक्षाकोठामा गृहकार्य जाँच गर्ने क्रममा बालिकाहरूको संवेदनशील अंग चलाउने, ढाड मुसार्नेलगायत यौन दुर्व्यवहार गर्ने गरेका थिए । मुद्दा दर्ता भएपछि जिल्ला अदालत झापाले तीनवटै मुद्दामा ४ असोज ०८१ मा ६ लाख ५० हजार धरौटीमा छाड्न आदेश दिएको थियो । तर, बिहीबार अदालतले फैसला गर्दै उनलाई कैद सजाय तोकेको हो ।

फैसलापछि पनि हाजिर गर्न पुगे शिक्षक भट्टराई
शिक्षक भट्टराई सहिद धर्मभक्त माध्यमिक विद्यालयका मावि तहका शिक्षक हुन् । उनी धरौटीमा रिहा भएपछि पनि निरन्तर विद्यालय गएर पढाइरहेका थिए । त्यति मात्र होइन, उनलाई कैद सजाय भएपछि उनी विद्यालय गइरहेका छन् । उनले शुक्रबार पनि विद्यालयमा पुगेर हाजिर गरेका थिए ।

‘अहिले शिक्षकहरूको आन्दोलनका कारण विद्यालय खोलेर रजिस्टरमा हाजिर गरिएको छैन । सबै शिक्षकले विद्यालय पुगेर त्यहाँ बाहिर राखेको एउटा पानामा हाजिर गरिरहेका छन् । उहाँ (भट्टराई)ले पनि त्यसरी नै हाजिर गर्नुभएको हो,’ कमल गाउँपालिकाका शिक्षा शाखा सूर्यप्रसाद न्यौपानेले भने, ‘अदालतको फैसलाबारे विद्यालय अञ्जान छ । अहिले जानकारी नभएकाले उहाँ विद्यालय आउनुभएको हो । फैसलाबारे सम्बन्धित निकायबाट आधिकारिक आएपछि कानुनबमोजिम हुनेछ ।’

अदालतको फैसलापछि पीडित बालिका ‘छ’ले न्याय पाएको महसुस भएको बताएकी छिन् । ‘सुरुमा त न्याय पाइँदैन कि भन्ने डर थियो । तर, अदालतको फैसलाले न्याय पाएको महसुस भएको छ,’ उनले भनिन्, ‘विद्यालयमा हामी बालिकामाथि हुने यौन दुव्यर्ववहारको विरुद्धमा बोल्नुपर्छ, न्याय पाइन्छ भन्ने भएको छ ।’

पीडित बालिका ‘छ’ की आमाले सुरुमा जाहेरी दर्ता हुँदादेखि नै दबाब झेल्नुपरेको बताइन् । ‘सुरुमा मुद्दा नहाल्न भनेर धेरै दबाब दिए । त्यसले गर्दा न्याय पाइँदैन कि भन्ने थियो । तर, हामीले कानुनी उपचार खोज्ने भनेर अडान लियौँ,’ उनले भनिन्, ‘गाउँका मान्छेले समेत मुद्दा हाल्नुहुँदैन भनेका थिए । तर, अदालतको फैसलाले खुसी बनाएको छ ।’

०७७ मा यस्तै आरोपमा उन्मुक्ति
अहिले दोषी ठहर शिक्षक भट्टराईमाथि यसअघि पनि विद्यालयकै छात्राहरूले यौन दुर्व्यवहारको आरोप लगाएका थिए । पीडितले ०७७ माघमा इलाका प्रहरी कार्यालयमा दमकमा जाहेरी दिए पनि बालिकाका परिवारलाई मुद्दा दर्ता नगर्न दबाब दिएर मुद्दा दर्ता गर्नबाट रोकिएको थियो । भट्टराईले त्यसपछि पनि दुर्व्यवहार दोहो¥याएपछि अहिले कानुनी फन्दामा परेका हुन् ।  नयाँ पत्रिकाबाट

आफन्तहरुबाटै महिला हत्या -६ जना पक्राउ

धरान/  धरान ६ स्थित पाँचकन्या सामुदायिक बनमा गत चैत्र २५ गते सोमबार आफन्तबाटै हत्या गरिएकी ४० वर्षीया चुनु कुमारी दाहाल बुढाथोकीको हत्या आरोपमा ६ जनालाई प्रहरी पक्राउ गरेको छ ।
प्रहरीले बिहिबार धरानमा पत्रकार सम्मेलन गरी घट्नामा संलग्न रहेको आरोपमा पक्राउ परेका ६ जनालाई सार्वजनिक गरेको हो ।

धरानको जंगलमा अर्धनग्न अवस्थामा भेटिएकी ३४ वर्षीया चुनुकुमारी दाहाल बुढाथोकीको हत्या उनकै श्रीमान प्रेम दाहालको योजनामा भएको प्रहरी अनुसन्धानबाट खुलेको सुनसरीका प्रहरी प्रमुख एसपी सुमन कुमार तिम्सिनाले जानकारी दिए ।
एसपी तिम्सिनाका अनुसार घटनामा संलग्न मध्ये उनका देवर इकेन्द्र बुढाथोकी, देउरानी सृष्टी बुढाथोकी, डोनु बुढाथोकी र केशवराज दाहाललाई गत चैत २१ गते निजहरुको घरबाट पक्राउ गरिएको हो । यसैगरी, योगेन्द्र गौतमलाई चैत ३० गते नेपाल भारत सिमाना काकडभिट्टाबाट पक्राउ गरिएको उनले बताए ।

घटनाका मुख्य योजनाकार मृतकका पति प्रेम बुढाथोकीलाई घर परिवारसँगको समन्वयमा कोरियाबाट नेपाल झिकाएर बैशाख ३ गते त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ । अर्का एक भारतिय नागरिक राजु थापा भने फरार रहेको प्रहरीले जनाएको छ ।
घटनामा प्रयोग भएको योगेन्द्र गौतमको प्रदेश १–०२–०४३ प ६८६२ नम्बरको १५० सिसिको पल्सार मोटरसाईकल थान–१, मधेश प्रदेश ०३–०२६ प ७१४४ नम्बरको आर टी आर मोटरसाईकल थान–१ र प्रदेश १–०२–००४४ प १०५९ नम्बरको एफ जेट भि टु मोटरसाईकल थान–१ बरामद गरिएको प्रहरीले जनाएको छ ।

घटनाको मुख्य कारण श्रीमान श्रीमती बिचको मनमुटाव र आर्थिक प्रलोभन रहेको प्रहरीले जनाएको छ । हत्यापछि सुनसरी प्रहरी र प्रदेश प्रहरी कार्यालय विराटनगरले संयुक्त रूपमा अनुसन्धान थालेका थिए । चुनुकुमारीको शव गोठालो गएकाहरुले जंगल भित्र लसुनेको रुखमुनि देखेपछि प्रहरीलाई खबर गरेका थिए ।

शुरुमा उनको हत्याका कारणबारे अनेक अडकलबाजीहरु भए पनि प्रहरी अनुसन्धानबाट भने आफन्तहरुलेनै पारिवारिक विवादमा चुनुकुमारीका पति प्रेम दाहालको योजना अनुसार उनको हत्या गरेको खुलन आएको हो ।