सौतेनी छोरीसहित दमकबाट एक महिला पाँच दिनदेखि वेपत्ता

दमक/ झापाको दमक १ सैनिक चोकबाट एक जना नवविवाहित महिला अढाई बर्षिया नाबालिकासहित वेपत्ता भएकी छिन् । सो ठाउँका मनोज साहकी पत्नी २८ बर्षिया शोभाकुमारी साह गत असार ३२ गतेदेखि एकाएक घरबाट वेपत्ता भएकी हुन् ।
मनोजका अनुसार शोभाकुमारीले घरमा कोही कसैलाई जानकारी नगराई आमाबिहिन आफ्‌नी अढाइ/तीन बर्षकी नाबालिका सुर्बि भनिने निमिसा साहसहित वेपत्ता भएकी हुन् । साह परिवारका अनुसार शोभाकुमारी मनोजकी कान्छी पत्नी हुन् । उनकी पहिलो पत्नीको यस अघि निधन भएपछि मनोजले शोभाकुमारीलाई भारतको बिहारमा पर्ने मजारफारपुरबाट बिबाह गरि ल्याएका थिए । शोभाकुमारीसँगै मनोजकी अघिल्लो पत्नी तर्फकी छोरी निमिसा पनि वेपत्ता छिन् ।
मनोज र शोभाकुमारीबीच ९ महिना अघि विवाह भएको बताइएको छ । सौतेनी छोरीसहित वेपत्ता बनेकी शोभाकुमारीको खोजीका लागि मनोजले गत श्रावण १ गते इलाका प्रहरी कार्यालय दमकमा हुलियासहितको निवेदन दिएका छन् । प्रहरी कार्यालयले उनको खोजी भइरहेको जानकारी गराएको छ । वेपत्ता दुवै जनाको तस्वीरसहित सरकारका सम्बन्धित निकायमा विवरण पठाएर खोजतलास गर्ने काम भइरहेको प्रहरीले जनाएको छ । साह परिवारले उनलाई भेट्ने देख्ने जो कोहीलाई नजिकको प्रहरी कार्यालय वा मोवाइल नम्बर ९८१४९१४७२५ मा सम्पर्क गरिदिन अनुरोध गरेको छ ।

अपडेट- भट्टराईको मृत्यु प्रकरणमा प्रतिष्ठानको ढाकछोप प्रयास, मृत्यु सन्देश पत्रनै शंकास्पद

दमक/ दमकमा केन्द्रिय कार्यालय रहेको भट्टराई कुल बंश प्रतिष्ठानले कार्यालय सचिव दिपेन्द्र भट्टराईको इच्छामरण प्रकरणलाई तोडमोड गर्ने प्रयास गरेको छ ।

दिपेन्द्रले इच्छामरणको बाटो रोज्ने अवस्था सम्मका संस्थासँग जोडिएको उनको पारिश्रमिक र आर्थिक बिषयलाई ओझेलमा पार्दै प्रतिष्ठानले शनिबार पत्रकार सम्मेलन गरेको हो ।
निष्कर्ष न्यूजमा प्रकाशित दिपेन्द्रको मृत्यु प्रकरणमा अनुसन्धानको बिषयलाई प्रभाव पार्ने आशय राखेर प्रतिष्ठानले गरेको पत्रकार सम्मेलनमा समाचारको खण्डन गर्ने प्रयास गरिएको छ ।
शनिबार आयोजित पत्रकार सम्मेलनमा प्रतिष्ठानले दिपेन्द्रको सुसाइट नोट भन्दै एउटा छायाँप्रति पनि विज्ञप्तीसँगै सार्वजनिक गरेको छ ।

मृतक भट्टराईले लेखेको भनि प्रतिष्ठानले  दुई लाइनको सन्देश मात्रै प्रतिष्ठानले सार्वजनिक गरेको छ । समाचार स्रोतहरुका अनुसार प्रहरी अनुसन्धानमा रहेको भट्टराईले लेखेको मृत्यु सन्देश पत्र झण्डै एक पृष्ठ लामो छ ।
प्रतिष्ठानले आज पत्रकार सम्मेलन गरेर सार्वजनिक गरेको सुसाइड नोटमा लेखिएको छ –
“मेरो भन्नु केही छैन, घरायसी समस्या आयो, मैले मिलाउन सकिन, अल बिदा सबैमा ।”
झापा, मोरङ र सुनसरीमा क्रियाशील अन्य सञ्चारकर्मीलाई समेत बोलाएर गरिएको पत्रकार सम्मेलनमा सहभागीहरु कतिपयलाई प्रतिष्ठानले खाजा र पेट्रोल खर्च वापत रकम समेत खर्चिएको छ ।
संवेदनशील घटनामा सूचना लुकाउने, भ्रामक कागजात सार्वजनिक गर्ने र सञ्चारमाध्यममाथि दोष थोपर्ने कार्य प्रतिष्ठानको नियतमै प्रश्न उठाउन बाध्य बनाएको छ ।

पत्रकार सम्मेलनमा मृतक दिपेन्द्रको परिवारको आर्थिक अवस्था कमजोर रहेको भन्दै प्रतिष्ठानले परिवारलाई १ लाख २५ हजार रुपैयाँ सहयोग गरेको पनि सार्वजनिक गरेको छ ।
साता अघि परिवारले उनलाई प्रतिष्ठानको जिम्मेवार समितिकै कारण मृत्युको मुखमा पुग्न बाध्य गराएको आरोप लगाएका थिए ।
सो लगत्तै उनको मृत्युको घटनामा अनुसन्धान पुरा नहुँदै अनुसन्धानलाई प्रभाव पार्ने मनशाय राखेर प्रतिष्ठानले पीडित परिवारलाई राहत सहयोगका नाममा सवा लाख रुपेयाँ नगद दिइएको र उनको परिवारलाई थप आर्थिक सहयोग आवश्यक रहेको भनि पत्रकार सम्मेलन गरेर भनेको हो ।
प्रतिष्ठान परिसरमा निर्माणाधिन संरचनाहरुको भुक्तानीका लागि समेत निर्माण समिति हुँदा हुँदै समितिका जिम्मेवार व्यक्तिहरुलेनै कार्यालय सचिव ( दिपेन्द्र)को नाउँमा पेस्की रकम निकाल्न लगाएको पाइन्छ । निर्माण समितिले पेश्की रकम लिकालेर ठेकेदारलाई भुक्तानी गर्नु पर्नेमा कार्यालय सचिवको नाउँमा लाखौं रकम पेस्की निकालेर समितिले रकम लिएको र पेस्की फछ्र्याैटको लागि कार्यालय सचिवलाई दबाब दिएको पनि स्रोतहरुले जनाएका छन् ।
गत असार २२ गते अपरान्ह ४ बजे भट्टराई प्रतिष्ठानको कम्पाउण्डभित्र रहेको बाँसको झ्याङमा सोही ठाउँ बस्ने ५३ वर्षीय कार्यालय सचिव दिपेन्द्रले नाईलनको डोरीको पासो लगाई आत्महत्या गरेका हुन् ।

शेखर – प्रचण्ड भेटमा सरकार ढाल्ने बारे छलफल

नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले केपी ओली नेतृत्वको सरकार ढाल्नका लागि प्रयास गर्न माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई सुझाव दिएका छन् । बिहीबार प्रचण्ड निवास खुमलटारमा भएको भेटका क्रममा कोइरालाले प्रचण्डलाई यस्तो सुझाव दिएका हुन् ।

स्रोतका अनुसार छलफलका क्रममा प्रचण्डले जनताको आशा कोइरालामा रहेको बताएका थिए । तर, संसदीय दलको नेता शेखर नभएको प्रसङ्ग प्रचण्डले उप्काएका थिए । त्यसपछि शेखरले प्रचण्डलाई भने, ‘पहिला यो गठबन्धन सरकार प्रमुख प्रतिपक्षी दलको नेता भएकाले ढाल्ने प्रयास गर्नुस् न । त्यसपछि पो नयाँ खेलहरू सुरु हुन्छन् । दलको नेता, प्रधानमन्त्री को बन्ने र कसरी अघि बढ्ने भन्ने कुरा हुन्छ ।’

दिउँसो तीन बजेदेखि पाँच बजेसम्म दुई घण्टा भएको छलफलमा प्रचण्डले कोइरालालाई भनेका थिए, ‘जनताको आशा तपाईंसँग छ । तर, कांग्रेसमा दलको नेता नभई प्रधानमन्त्रीको उम्मेदवार हुन सकिन्न । तपाईं दलको नेता बन्न सक्नु भएन ।’

त्यसपछि कोइरालाले वर्तमान एमाले– कांग्रेस गठबन्धन रहँदासम्म आफू दलको नेता बन्न नसक्ने बताएको स्रोतको भनाइ छ ।  कोइरालाले भेटमा कांग्रेस र एमाले मिलेर बलियो गठबन्धनको सरकार बनाउने भनेर आफू नै लागेको समेत बताएका थिए । रातोपाटीबाट

बिद्या भण्डारीको पार्टी सदस्यताबारे ओलीले के भने ?

काठमाडौं/ नेकपा एमालेका अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वराष्ट्रपति विद्या भण्डारीको सदस्ता नवीकरणबारे पार्टीले छलफल गरेर निर्णय गर्ने बताएका छन् ।

पार्टीको पोलिटब्युरो बैठकलाई शुक्रबार च्यासलमा सम्बोधनका क्रममा अध्यक्ष ओलीले भण्डारी सक्रिय राजनीतिमा नफर्किने विश्वाससहित उनलाई दुईपटक राष्ट्रपति बनाइएको बताए ।

बैठकमा सहभागी एक सदस्यका अनुसार नवौँ महाधिवेशनमा उपाध्यक्षमा निर्वाचित भण्डारीको सदस्यता हालसम्म नवीकरण नगरिएको पनि अध्यक्ष ओलीले बताएका छन् ।

बैठकलाई सम्बोधनका क्रममा अध्यक्ष ओलीले पार्टीभित्रको अराजकता रोक्नुपर्ने पनि बाएका छन् ।

‘पार्टीलाई ठूलो र संगठित हमला गरिएको छ’, ओलीको भनाइबारे ती सदस्यले भने, ‘यही बेला पार्टीभित्रबाट पनि बबण्डर उठाउने कोसिस हुनु गलत हो । यो कुरा तत्काल रोकिनुपर्छ। नरोकिए पार्टीले रोक्छ ।’

प्रधानमन्त्री ओलीले पूर्वराष्ट्रपति भण्डारी सक्रिय राजनीतिमा आउने कुरा आफूले पत्रिका पढेर थाहा पाएको बताएका छन् । तर गत असार १४ गते ओली नै सहभागी मदन भण्डारी फाउन्डेशनको कार्यक्रममा पूर्वराष्ट्रपतिले पार्टीको सदस्यता नवीकरण गरिसकेकाले अब सक्रिय राजनीतिमा फर्किएको घोषणाग गरेकी थिइन् ।

राजनीतिमा नफर्किने विश्वासले दुई पटक राष्ट्रपति बनाएको कुरा पनि बैठकमा बताए । ‘दोश्रो पटक उहाँलाई पार्टीले पठाएको हो । अहिले संवैधानिक ब्यवस्था अनुसार फर्किनु हुन्न भनेर जिम्मेवारी दिइएको हो’, ती पोलिटब्युरो सदस्यले ओलीले बैठकमा राखेको कुराबारे भने।

ओलीले सक्रिय राजनीतिमा आउने कुरा र उचालेका आधारमा अध्यक्ष हुने कुरा फरक रहेको पनि बताएका छन् ।

उता भण्डारीले असार १४ मै पार्टी सदस्यता नवीकरण गरेको बताइसकेकी छन् । बिहीबारको सचिवालय बैठकले पनि एमालेको दशौँ महाधिवेशनपछि मात्रै पार्टी सदस्यता नवीकरण गरेकी भण्डारीलाई विधान महाधिवेशनमा भाग लिन नदिने गरि प्रस्ताव अघि बढाएको छ। खबरहबबाट

प्रसाइँलाई साइबर अपराध मुद्धामा सफाइ

मेडिकल व्यवसायी दुर्गा प्रसाईं दुईवटा साईबर अपराधसम्बन्धी मुद्दामा सफाइ पाएका छन् ।

जिल्ला अदालत काठमाडौंले बुधबार सुनाएको फैसलामा उनलाई विद्युतीय अपराध (साइबर क्राइम) को आरोपमा निर्दोष ठहर गरेको हो ।

न्यायाधीश डा. राजेन्द्र कुमार आचार्यको इजलासले सामाजिक सञ्जालमार्फत चरित्र हत्या गरेको र समाजमा घृणा फैलाउने अभिव्यक्ति दिएको आरोपमा दायर दुईवटा छुट्टाछुट्टै मुद्दामा प्रसाईंलाई सफाइ दिएको हो । उनीविरुद्ध रोशन सुवेदी र टीका संग्रौलाले जाहेरी दिएका थिए ।

अदालतको फैसलापछि प्रसाईंलाई साइबर क्राइमको अभियोगमा अब थप कारबाही नहुने भएको छ ।

तर, तिनकुनेमा भएको विध्वंसात्मक घटनामा संलग्न रहेको आरोपमा उनी हाल पनि थुनामा नै छन् । उक्त मुद्दामा छिनोफानो नभएसम्म उनलाई थुनामुक्त गरिने छैन ।

एमालेसँगको सत्ता सहकार्य राष्ट्रिय आवश्यकता- सहमहामन्त्री यादव

झापा/ नेपाली कांग्रेसका सहमहामन्त्री महेन्द्र यादवले नेकपा एमालेसँगको सत्ता सहकार्य वर्तमान सन्दर्भमा राष्ट्रिय आवश्यकता रहेको बताउनु भएको छ ।
प्रतिगामी शक्तिहरु सल्बलाएको र लोकतन्त्रमाथि प्रहार गर्न खोजेका कारण लोकतन्त्र पक्षधर दुई ठुला दल कांग्रेस र एमालेबीचको सहकार्यका लागि पार्टी सभापति शेरबहादुर देउवाले चाल्नु भएको कदम उचित भएको उहाँको तर्क छ ।
झापाको दमकमा आज आयोजित पार्टी नेता, कार्यकर्ताहरुसँगको संक्षिप्त भेटघाटमा उहाँले त्यस्तो बताउनु भएको हो ।
त्यसअघि नेता यादवले दमकमा पार्टी कार्यकर्ताहरुसँगको अनौपचारिक भेटघाटमा कांग्रेस भित्र अनुशासनको खडेरी रहेकाले चुनावमा घात अन्तर्घातले सिंगो पार्टीलाई नोक्सान गरिरहेको फेहरिस्त पनि राख्नु भएको छ ।
पार्टीको केन्द्रिय अनुशासन समितिमा २ हजार १ सय उजुरीहरु परेको बताउँदै नेता यादवले अहिले १५/२० वटा उजुरीमाथि मात्रै सुनुवाई भएको र चुनावमा पार्टी भित्र अन्तर्घातको खेलमा रमाउने तत्वहरुले सधैं अनुशासनको कारवाही गरिँदा खैलाबैला मच्चाउने गरेको पनि टिप्पणी गर्नु भयो ।

छुरा हानेर हत्या गर्ने पक्राउ

विराटनगर/ इलामको माईजोगमाई गाउँपालिका–२ का २३ बर्षीय प्रकाश चापागाईलाई धारिलो हतियार छुरा प्रहार गर्ने र उनका दाजु ३२ बर्षीय निरोज चापागाईलाई घाईते बनाउने सुर्याेदय नगरपालिका–१ का ३३ बर्षीय किरण शेर्पालाई प्रहरीले पक्राउ गरेको छ ।

प्रहरीका अनुसार असार ३२ गते राती सुर्याेदय नगरपालिका–१ स्थित ससुसाली घरमा आएका माईजोगमाई गाउँपालिका–२ का निरोज चापागाई र उनका भाई प्रकाश चापागाईलाई सुर्याेदय नगरपालिका–१ का किरण शेर्पाले सामान्य वादविबादको क्रममा छुरा प्रहार गर्दा प्रकाशको घटनास्थलमानै मृत्यु भएको थियो । घटनामा निरोज गम्भिर घाईते भएका थिए ।

घाईते निरोजको बीएण्डसी अस्पताल बिर्तामोडमा उपचार भईरहेको छ । घटनापछि फरार भएका शेर्पालाई बिहिबार सुर्याेदय नगरपालिका–१ मानेभञ्ज्याङबाट प्रहरीले पक्राउ गरेको हो । पक्राउ परेका शेर्पाको कर्तव्य ज्यान कसुरमा इलाका प्रहरी कार्यालय पशुपतिनगरबाट थप अनुन्सधान तथा कानूनी कारवाही भईरहेको कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।

दमकमा संस्कृति भान्सा घर सञ्चालनमा

दमक/ झापाको दमकमा रैथाने मौलिक खानेकुराहरुको प्रवद्र्धन समेतको उद्धेश्य राखेर संस्कृति भान्सा घर सञ्चालनमा आएको छ ।

विस्ट फैक्ट्रीका सञ्चालकहरु विनोद भट्टराई, विपिन सुवेदी, विशाल पौडेल र प्रकाश साहसहितको टिमले सो भान्सा घर सञ्चालनमा ल्याएको हो ।
दमक १ स्थित फाल्गुनन्द चोक नजिकै नगरपालिका रोडमा पर्ने संस्कृति भान्सा घरको शुक्रबार विधिवत उदघाटन गरिएको हो ।
दमक उद्योग वाणिज्य संघका अध्यक्ष गोपाल गुरागाइँले सो होटलको उदघाटन गर्दै दमकको आवश्यकतालाई पूरा गर्न संस्कृति भान्सा घरले योगदान दिने विश्वास व्यक्त गर्नु भयो । सो होटलमा नेपाली खाना तथा खाजाका परिकारहरु उपलब्ध हुने जनाइएको छ ।

करेन्ट लागेर एक जनाको मृत्यु

दमक/ झापाको अर्जुनधारा ४ भाङबारीमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा दिपक पाण्डे रहेका छन् । बिर्तामोडस्थित बिद्युत प्राधिकरण कार्यालयको फिल्डमा काम गर्ने सिलसिलामा पश्चीम स्टेण्डमा रहेका बिजुलीको ट्रान्समिटर जोड्ने क्रममा अचानक करेन्ट लागेर घाईते भएका पाण्डेको बिएण्डसी अस्पतालमा उपचारका क्रममा आज शुक्रबार दिउँसो ३ बजे मृत्यु भएको हो । घटनाबारे प्रहरीले थप अनुसन्धान अघि बढाएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

सेवारो होटल एन्ड सेकुवा कर्नरमा आगलागी

दमक/ दमक ६ स्थित भृकुटी चोकमा रहेको सेवारो होटल एन्ड सेकुवा कर्नरमा आगलागी भएको छ।

दिलमाया लावतीले सञ्चालन गर्दै आउनु भएको सो होटलमा भान्साको ग्यास पाइप लिक भएर आगो लागेको हुन सक्ने प्रारम्भिक अनुमान गरिएको छ ।

स्थानीयवासी, नेपाल प्रहरी , दमक नगरपालिका र कमल गाँउ पालिकाको बारुण यन्त्रको सहयोगमा आगो निभाइएको छ ।