दमक/ दमकमा केन्द्रिय कार्यालय रहेको भट्टराई कुल बंश प्रतिष्ठानले कार्यालय सचिव दिपेन्द्र भट्टराईको इच्छामरण प्रकरणलाई तोडमोड गर्ने प्रयास गरेको छ ।
दिपेन्द्रले इच्छामरणको बाटो रोज्ने अवस्था सम्मका संस्थासँग जोडिएको उनको पारिश्रमिक र आर्थिक बिषयलाई ओझेलमा पार्दै प्रतिष्ठानले शनिबार पत्रकार सम्मेलन गरेको हो ।
निष्कर्ष न्यूजमा प्रकाशित दिपेन्द्रको मृत्यु प्रकरणमा अनुसन्धानको बिषयलाई प्रभाव पार्ने आशय राखेर प्रतिष्ठानले गरेको पत्रकार सम्मेलनमा समाचारको खण्डन गर्ने प्रयास गरिएको छ ।
शनिबार आयोजित पत्रकार सम्मेलनमा प्रतिष्ठानले दिपेन्द्रको सुसाइट नोट भन्दै एउटा छायाँप्रति पनि विज्ञप्तीसँगै सार्वजनिक गरेको छ ।
मृतक भट्टराईले लेखेको भनि प्रतिष्ठानले दुई लाइनको सन्देश मात्रै प्रतिष्ठानले सार्वजनिक गरेको छ । समाचार स्रोतहरुका अनुसार प्रहरी अनुसन्धानमा रहेको भट्टराईले लेखेको मृत्यु सन्देश पत्र झण्डै एक पृष्ठ लामो छ ।
प्रतिष्ठानले आज पत्रकार सम्मेलन गरेर सार्वजनिक गरेको सुसाइड नोटमा लेखिएको छ –
“मेरो भन्नु केही छैन, घरायसी समस्या आयो, मैले मिलाउन सकिन, अल बिदा सबैमा ।”
झापा, मोरङ र सुनसरीमा क्रियाशील अन्य सञ्चारकर्मीलाई समेत बोलाएर गरिएको पत्रकार सम्मेलनमा सहभागीहरु कतिपयलाई प्रतिष्ठानले खाजा र पेट्रोल खर्च वापत रकम समेत खर्चिएको छ ।
संवेदनशील घटनामा सूचना लुकाउने, भ्रामक कागजात सार्वजनिक गर्ने र सञ्चारमाध्यममाथि दोष थोपर्ने कार्य प्रतिष्ठानको नियतमै प्रश्न उठाउन बाध्य बनाएको छ ।
पत्रकार सम्मेलनमा मृतक दिपेन्द्रको परिवारको आर्थिक अवस्था कमजोर रहेको भन्दै प्रतिष्ठानले परिवारलाई १ लाख २५ हजार रुपैयाँ सहयोग गरेको पनि सार्वजनिक गरेको छ ।
साता अघि परिवारले उनलाई प्रतिष्ठानको जिम्मेवार समितिकै कारण मृत्युको मुखमा पुग्न बाध्य गराएको आरोप लगाएका थिए ।
सो लगत्तै उनको मृत्युको घटनामा अनुसन्धान पुरा नहुँदै अनुसन्धानलाई प्रभाव पार्ने मनशाय राखेर प्रतिष्ठानले पीडित परिवारलाई राहत सहयोगका नाममा सवा लाख रुपेयाँ नगद दिइएको र उनको परिवारलाई थप आर्थिक सहयोग आवश्यक रहेको भनि पत्रकार सम्मेलन गरेर भनेको हो ।
प्रतिष्ठान परिसरमा निर्माणाधिन संरचनाहरुको भुक्तानीका लागि समेत निर्माण समिति हुँदा हुँदै समितिका जिम्मेवार व्यक्तिहरुलेनै कार्यालय सचिव ( दिपेन्द्र)को नाउँमा पेस्की रकम निकाल्न लगाएको पाइन्छ । निर्माण समितिले पेश्की रकम लिकालेर ठेकेदारलाई भुक्तानी गर्नु पर्नेमा कार्यालय सचिवको नाउँमा लाखौं रकम पेस्की निकालेर समितिले रकम लिएको र पेस्की फछ्र्याैटको लागि कार्यालय सचिवलाई दबाब दिएको पनि स्रोतहरुले जनाएका छन् ।
गत असार २२ गते अपरान्ह ४ बजे भट्टराई प्रतिष्ठानको कम्पाउण्डभित्र रहेको बाँसको झ्याङमा सोही ठाउँ बस्ने ५३ वर्षीय कार्यालय सचिव दिपेन्द्रले नाईलनको डोरीको पासो लगाई आत्महत्या गरेका हुन् ।