जबरजस्ती करणीपछि फरार राई शिवगञ्जमा पक्राउ

दमक/ सात महिना अघि १६ बर्षिया एक नाबालिकालाई जवरजस्ती करणी गरी गर्भवती बनाएर फरार भएका झापाको गौरादह नगरपालिका वडा नं ९ बैगुन्धुराका ५० बर्षिय डिकबहादुर राईलाई प्रहरीले पक्राउ गरेको छ । गत माघको पहिलो साता १६ बर्षिया एक नाबालिकालाई डर त्रास देखाई करणी गरेर गर्भवती बनाई फरार रहेका राईका विरुद्ध इलाका प्रहरी कार्यालय झिलझिलेमा जेठ २८ गते जवरजस्तीकरणी सम्बन्धि कसुर दर्ता भएको थियो । सो पछि बैगुुन्धुराबाट फरार रहेका राईलाई आज बुधबार बिहान करिब ११ बजे गोप्य सूचनाका आधारमा ईलाका प्रहरी कार्यालय झिलझिलेबाट खटिएको प्रहरी टोलीले शिवसताक्षी नगरपालिका वडा नं ६ शिवगञ्जमा फेला पारेको हो । उनलाई आजनै मुलुकी अपराध संहिता २०७४ अन्तर्गत जबरदस्ती करणी कसूरमा जिल्ला अदालत झापाबाट पाँच दिनको म्याद लिई थप अनुसन्धान तथा कारवाही अघि बढाइएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

निर्माणाधीन घरको ट्यांकीभित्र दुई जनाको मृत्यु

सुनसरी/  सुनसरीको दुहबी नगरपालिका-४ स्थित शिव मन्दिर चौकमा निर्माणाधीन घरको सेफ्टी ट्यांकीभित्र दुई पुरुष मृत अवस्थामा फेला परेका छन्।   स्थानीय ५० वर्षीय श्यामबहादुर तामाङ र ३२ वर्षीय रमेश राई भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जानकारी दिएको छ।
घटनास्थल चन्द्रिका रौनियारको निर्माणाधीन घरमा रहेको सेफ्टी ट्यांकीमा शव देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए।   शवको विस्तृत वस्तुस्थिति बुझ्नका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट चिकित्सक टोली झिकाइएको प्रहरीले जनाएको छ।

लिङदेन बाहिरिएपछि राप्रपाका युवाले घोषणा गरे समानान्तर समिति

  काठमाडौं / राप्रपा निकट राष्ट्रिय प्रजातान्त्रिक युवा संगठनको काठमाडौं जिल्ला समिति विभाजित भएको छ । राप्रपा महामन्त्री डा. धवलशम्शेर राणा निकट समूहले समानान्तर समितिको घोषणा गरेका छन् ।

आज चाबहिलमा आयोजित जिल्ला अधिवेशनमा दुई पक्षबीच हात हालाहाल भएको थियो । आफ्नै सामुन्ने युवाहरु हात हालाहालमा उत्रिएपछि लिङदेनले अधिवेशन स्थगनको घोषणा गरे ।

उनी कार्यक्रमस्थल छोडेर हिँडिसकेका छन् । जाँदै गर्दा उनले अधिवेशनमा बाह्य घुसपैठ भएको संकेत गरेका थिए ।  अध्यक्ष हिँडिसकेपछि असन्तुष्ट पक्षले ज्योति लामाको अध्यक्षतामा स्वत नयाँ समिति निर्वाचित भएको घोषणा गर्‍यो । नेपाल प्रेसबाट

झापाका १५ वटै पालिकाहरुमा राप्रपाले चुनियो नेतृत्व

दमक/ झापाको १५ वटै स्थानीय तह (पालिका)हरुमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले पालिकास्तरीय अधिवेशन सम्पन्न गरेको छ । अधिवेशन मार्फत पालिकास्तरमा पार्टीको आगामी कार्यकालका लागि नयाँ नेतृत्व चयन भएको राप्रपा झापाले जनाएको छ ।
अधिवेशनबाट पार्टीको मेचीनगर समितिको चन्द्र निरौलाको अध्यक्षतामा, बुद्धशान्ती गाउँ समिति गणेश प्रसाद खरेलको अध्यक्षतामा , अर्जुनधारा नगर समिति हर्कजंग लिम्बूको अध्यक्षतामा र बिर्तामोड नगर समिति लक्ष्मी गौतमको अध्यक्षतामा बनेको छ ।
त्यसैगरी पार्टी अध्यक्ष राजेन्द्र लिङदेनको गृह नगर भद्रपुरमा राजकुमार राईको अध्यक्षतामा नगर समिति चयन भएको छ भने कचनकवल गाउँसमितिको अध्यक्षमा लक्ष्मी नारायण यादव, हल्दिबारी गाउँ समितिको अध्यक्षमा मदन मगर, बाह्रदशी गाउँ समितिको अध्यक्षमा पि बी कटवाल चुनिनु भएको छ ।
त्यस्तै दमक नगर समितिको अध्यक्षमा पुनः हेम सुवेदी कन्काइ नगर समितिको अध्यक्षमा गोपाल चुडाल, झापा गाउँ समितिको अध्यक्षमा प्रेम प्रसाईं, शिवसताक्षी नगर समितिको अध्यक्षमा मणि खड्का, गौरीगन्ज गाउँ समितिको अध्यक्षमा नन्दु थापा र गौरादह नगर समितिको अध्यक्षमा शान्तिराम पौडेल तथा कमल गाउँ समितिको अध्यक्षमा खड्ग श्रेष्ठ चुनिनु भएको राप्रपा झापाले जनाएको छ ।
पार्टीको पूर्व निर्धारित कार्यक्रम अनुसार गाउँ/ नगर अधिवेशन सम्पन्न भईसकेकाले अब प्रदेश सभा क्षेत्र र संघीय निर्वाचन क्षेत्रस्तरको अधिवेशन गरेर पार्टी संगठनलाई चलायमान बनाउँदै आगामी निर्वाचन केन्द्रित गतिबिधिहरु अघि बढाइने राप्रपाले जनाएको छ । २०७४ मा राप्रपाले झापाका तीन पालिका ( हल्दीबारी, गौरीगञ्ज र कचनकवल)मा नेतृत्व जितेको थियो  २०७९ मा गौरीगञ्ज र कचनकवल गाउँपालिकामा नेतृत्व गुमाएको थियो भने २०७९ मा राप्रपाले कांग्रेस–माओवादी लगायतका दलसँग स्थानीय चुनाव गठबन्धन गरेर दमक नगरपालिकाको नेतृत्व जितेको  छ ।

 

 

दुर्घटनामा तीन जनाको मृत्यु, १५ जना घाईते

सुनसरी/ सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका–३ जलुवाटोलस्थित पूर्वपश्चिम राजमार्गमा दुई सवारी साधन एकपासमा ठोक्किँदा तीन जनाको  मृत्यु भएको छ  भने १५ जना घाइते भएका छन् ।

काँकडभिट्टाबाट दिक्तेलतर्फ जाँदै गरेको मे १ ख १७९९ नम्बरको यात्रुबाहक बस र विपरीत दिशाबाट आइरहेको प्रदेश २–०१–००१ ज ००४७ नम्बरको माइक्रोबस आज विहान एकआपसमा ठोक्किएका जिल्ला प्रहरी कार्यलय सुनसरीका प्रहरी प्रवक्ता योगराज खतिवडाले जानकारी दिए । उनका अनुसार निधन हुनेको पहिचान हुन सकेको छैन ।

घाइतेको इनरुवा , विराटनगर न्यूरो, नोबेल अस्पतालमा उपचार भइरहेको छ । प्रहरी प्रवक्ता खतिवडाले बस चालक झापा अर्जुनधारा नगरपालिका–१, का गोपाल अधिकारीलाई नियन्त्रणमा लिएको र घटनाको थप अनुसन्धान भइरहेको उनको भनाइ छ ।

प्रेस युनियनको सय दिने अभियानबारे झापा शाखाको निर्णय

दमक/ नेपाल प्रेस युनियन झापा शाखाले सय दिने सदस्यता अभियान शुभारम्भ गरेको छ । युनियन केन्द्रबाट जारी परिपत्र अनुसार जिल्ला शाखाको बैठक बसि अभियान सुरु गरेको हो । युनियन केन्द्रिय समितिको बैठकले गत साउन १५ गते देखी आगामी कात्तिक २१ गते सम्म सदस्यता नविकरण तथा नयाँ सदस्यता वितरणका सय दिने अभियान सञ्चालन गर्ने बारेमा गरेको निर्णयको परिपत्र अनुसार झापा जिल्ला शाखाको बैठकले अभियान सञ्चालन गर्ने निर्णय गरेको हो ।
जिल्ला अध्यक्ष गिरिराज भट्टराईको अध्यक्षता र जिल्लामा रहेका युनियनका केन्दिय्र तथा प्रदेशका पदाधिकारी तथा सदस्यहरुको उपस्थितिमा बसेको बैठकले केन्द्रको परिपत्र अनुसार संगठनका गतिबिधि अघि बढाउन अभियान सञ्चालन गर्ने निर्णय गरेको जनाइएको छ ।
बैठकले सो अभियान सञ्चालनका लागि युनियनका जिल्ला उपाध्यक्ष ईश्वर अधिकारीको संयोजकत्वमा उपाध्यक्ष सविना लिम्बु साथै कार्यसमिति सदस्यहरु बिष्णु पौडेल, बिष्णु श्रेष्ठ र देवेन्द्र प्रसाईं सदस्य रहेको पाँच सदस्सीय समिति समेत गठन गरेको छ ।
समितिले पुराना सदस्यहरुको नविकरण र जिल्लामा क्रियाशील पत्रकारहरुलाई युनियनको सदस्यता वितरणका लागि सहजिकरण गर्ने जनाईएको छ ।
त्यसैगरी युनियन झापाको बैठकले संबिधान सम्बन्धि बहस सञ्चालन गर्नका लागि योजना बनाउन जिल्ला अध्यक्ष भट्टराईलाई जिम्मेवारी दिएको पनि जनाईएको छ ।

दमक, गौरादह र गौरीगञ्जमा महिला संघको स्थापना दिवससँगै तिज मिलन

दमक/ नेपाली कांग्रेस सम्बद्ध नेपाल महिला संघले झापाको क्षेत्र नं ५ अन्तर्गत दमक, गौरादह र गौरीगञ्जमा महिला संघ स्थापना दिवस तथा तिज पर्वको समेत सन्दर्भ पारेर विशेष कार्यक्रम सम्पन्न गरेको छ । ति कार्यक्रमहरुमा महिलाहरुको उत्साहजनक सहभागिता पाइएको महिला संघले जनाएको छ ।
नेपाल महिला सघ झापा जिल्ला अध्यक्ष टीका मैनालीको प्रमुख आतिथ्य र महिला संघ दमक नगर अध्यक्ष मन्धरा चिमरिया पौडेलको अध्यक्षतामा दमकमा भएको कार्यक्रममा कांग्रेस कोशी प्रदेश सहमहामन्त्री खड्ग फागोको विशेष आतिथ्य रहेको थियो ।


दमक नगर र आसपास क्षेत्रबाट समेत महिला संघमा आवद्ध महिलाहरुको सक्रिय सहभागिता रहेको सो कार्यक्रममा प्रथम नागरिक ज्येष्ठ आमाहरुको सामुहिक सम्मान गरिएको थियो । कार्यक्रममा पार्टीकी कोशी प्रदेश सदस्य चन्द्रा खड्का , झापा जिल्ला उपसभापति शेर बहादुर भट्टराई , झापा क्षेत्र नं ५ का सभापति ढुण्डीराज भण्डारी लगायत नेतृत्वहरुको आतिथ्य रहेको थियो ।
कार्यक्रममा महिला संघ नगर उपाध्यक्ष होमा आचार्यले स्वागत मन्तब्य राख्नु भएको थियो भने नगर सचिवद्धय रमुना चापागाई र हेमकला न्यौपानेले आलोपालो कार्यक्रम सञ्चालन गर्नुभएको थियो ।

 

करेन्ट लागेर हल्दीबारीमा एक जनाको मृत्यु

झापा/ करेन्ट लगाएर माछा मार्दा हल्दिवारीमा एकजनाको मृत्यु भएको छ ।  आज साँझ ५.४० बजे संखुवासभा चैनपुर वडा नं. २ घर भई हाल हल्दिवारी वडा नं. ४ ऐनावारीमा रहेको मैनाली हाते कागज खरिद बिक्री केन्द्रमा काम गर्ने बर्ष ३०/३१ का रामकुमार अधिकारी नजिकै रहेको खोल्सामा करेन्ट लगाइ माछा मार्न गएका थिए । माछा मार्ने क्रममा करेन्ट लागेर उनको घटनास्थलमा नै मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालयबाट अधिकृतसहितको टोली खटिएर अधिकारीको शव पोष्टमार्टम गर्न प्रादेशिक अस्पताल भद्रपुर पठाइएको डीएसपी खगेन्द्र खड्काले जानकारी दिएका छन् ।

झापामा साउन महिनामा मात्र तीन पुरुष र एक महिलाले ज्यान गुमाएका छन् ।

ओलीको क्षेत्रमा लिङदेनको उदघोष – आगामी चुनावमा उच्च मत ल्याउँछौं

दमक / नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेन चुनावी तालमेल गरेर दुवै जना चुनाव जित्ने रणनीतिमा सफल हुँदै आएका नेता हुनुहुन्छ ।
संयोगले आज राप्रपा अध्यक्ष लिङदेन ओलीको निर्वाचन क्षेत्र झापा ५ मा पर्ने दमकमा पार्टीको नगर अधिवेशन उदघाटन गर्न आउनु भयो । उनले आफ्ना सयौं कार्यकर्ताहरुमाझ दमकस्थित पशुपति मन्दिरको सभाहलमा सम्बोधन गर्दै यतिबेला ओली सरकार भ्रष्टाचार र शोषणमा लिप्त रहेको भनि कडा आलोचना गर्नुभयो ।

चुनाव ताका आफ्नो निर्वाचन क्षेत्र झापा क्षेत्र नं ३ मा एमाले समर्थित मत आफू तर्फ तान्न क्षेत्र नं ५ मा आफ्नो पार्टी नेता कार्यकर्ताहरुलाई ओलीलाई मत दिन सहज बनाइदिने गरेका राप्रपा अध्यक्ष लिङदेनले ओलीकै निर्वाचन क्षेत्रमा आएर शनिबार आगामी निर्वाचनमा राप्रपाले उच्च मत प्राप्त गर्ने र मुलुकमा आमूल परिवर्तन ल्याउने उदघोष गर्नु भयो । राप्रपाले अबको चुनावमा सबै ठाउँबाट उच्च स्तरको मत प्राप्त गर्न सक्ने अबस्था आएको हुँदा अब २००७ र २०४६ सालको जस्तो आमूल परिबर्तन ल्याउन धेरै समय कुर्नु पर्दैन–लिङदेनले भन्नु भयो ।  उहाँले आगामी निर्वाचनमा एमाले वा अरु कुनै दलसँग अघिल्ला चुनावमा जस्तै तालमेल हुने नहुने भन्ने बारे भने स्पष्ट बताउनु भएन ।

उहाँले हालसम्म पार्टीमाथि कसैले पनि भ्रष्टाचारको आरोप लगाउन नसकेको स्पष्ट पार्दै, सुशासन र जनताको पक्षमा राप्रपा सधैं सक्रिय रहने पनि बताउनु भयो।
राप्रपा दमक नगर समितिको ११ औं नगर अधिवेशनलाई सम्बोधन गर्दै अध्यक्ष लिङदेनले त्यस्तो बताउनु भएको हो ।


पार्टीको नगर अधिवेशनले हेम सुवेदीको अध्यक्षतामा २१ सदस्यीय नगर समिति गठन गरेको छ ।  कार्यक्रममा पार्टीमा योगदान पुर्याएका १०२ अग्रजलाई सम्मान गरिएको थियो भने ११७ जना नयाँ सदस्यले पार्टी प्रवेश गरेका थिए । राप्रपामा प्रवेश गर्नेहरुमा प्रेस चौतारी नेपालमा आवद्ध पत्रकार सुजन गौतम समेत रहनु भएको छ ।

कार्यक्रममा राप्रपा कोशी प्रदेश अध्यक्ष रामकुमार थापा, प्रदेश सचिबद्धय बाशुदेब भट्टराई,कुमार भट्टराई केन्द्रिय सदस्य एवं पर्यवेक्षक ईनु अधिकारी, केन्द्रिय सदस्य लक्ष्मीप्रसाद संग्रौला, प्रदेश संगठन विभाग प्रमुख जयबहादुर श्रेष्ठ, युवक संगठन केन्द्रिय सदस्य बिक्रम सुब्बा हरी तिवारी,झापा जिल्ला अध्यक्ष केशवप्रसाद ओझा,सचिब कुमार थापा,प्रदेश सदस्य राजु खड्का कुमार बस्नेत, राष्ट्रिय प्रजातान्त्रिक युवक संगठन कोशी प्रदेश संयोजक राजकुमार योङ्या, झापा क्षेत्र नं ५ का अध्यक्ष भीम पौडेल, लगायतको आतिथ्य रहेको थियो । राप्रपा दमकको नगर नेतृत्वका लागि सुवेदीसहित नेत्र चम्लागाइँ र राजकुमार योङयाको समेत दाबी रहेको भएता पनि अधिवेशनले पुनः सुवेदीको अध्यक्षतामानै आगामी कार्यकालका लागि सर्वसम्मत नगर समिति चयन गरेको बताइएको छ ।

कमल गाउँपालिकामा जनस्तरबाट रंगशाला बनाउन जुट्ने  उदघोष

  कमल/ झापाको कमल गाउँपालिकामा निर्माणाधिन आदिवासी रंगशालालाई राज्यले उपेक्षा गरेको भन्दै सरोकारवालाहरुले अव जनस्तरबाट रंगशाला निर्माणमा जुट्ने  उदघोष गरेका छन् ।

आदिवासी रंगशाला तथा स्मृति प्रतिष्ठानले शनिवार रंगशालाका सन्दर्भमा गरेको अन्तरकृयामा उनीहरुले राज्यको विभेदकै कारण आदिवासी रंगशाला निर्माण हुन नसकेको र अव भने जनस्तरबाट निर्माणको काम शुरु  गरिने उदघोष गरे ।
रंगशाला समितिका अध्यक्ष समेत रहेका कमल गाउँपालिका अध्यक्ष हुकुमसिंह राईले आदिवासी जनजातिहरुको चिहान माथि राजनीति चलखेल गरिदाँ रंगशालाले गति पाउन नसकेको उल्लेख गरे । पितापूर्खाको चिहान नष्ट गरेर आदिवासीको नाममा नै रंगशाला बनाउने भनिएपनि पछिल्ला वर्ष नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शमौ ओलीकै कारण रंगशालाको नाममा भाँजो हाल्ने काम गरेको टिप्पणी गरे ।   उनले अव भने जनता यो विभेदको विरुद्ध उत्रिन बाध्ँय हुने चेतावनी दिए ।  उनले भने, –‘अव जनताकै सहभागितामा रंगशाला निर्माणको अभियानमा जुट्ने छौं ।

अन्तरकृयामा नेपाली कांग्रेसका पूर्व आमन्त्रीत केन्द्रीय सदस्य दिलीप राईले आदिवासी रंगशाला राज्यकै कारण चपेटामा परेको र राज्यको सहयोगबाट निर्माण हुने अवस्था नरहेकाले अव जनस्तरबाट निर्माण गर्न लाग्नुपर्ने उल्लेख गरे ।
किरात राई यायोक्खा कोशी प्रदेश समितिका अध्यक्ष पारषमणि राईले राज्यको उपेक्षामा परेको यस आदिवासी रंगशाला हाम्रा लागि पहिचानकै मुद्धा भएकाले यो अभियान देशविदेशसम्म पुरयाँएर निर्माणमा लाग्नु पर्ने औल्याए ।

कमल -५ स्थित नेपाल रेडक्रस सोसाइटी लखनपुर उपशाखाको सभाहलमा आयोजित अन्तरकृयामा कमल गाउँपालिका ५ की वडा सदस्य चन्द्रकला सुब्बा, यायोक्खा झापाका पूर्व अध्यक्ष इन्द्रमान चाम्लिङले आदिवासी जनजातिको स्मृतिमा निर्माण थालिएको यस रंगशाला बनाउन सवै लागे संभव हुने भएकाले त्यसमा सवैको सहयोग आवश्यक भएको बताए ।

कार्यक्रममा माओवादी केन्द्र कमलका अध्यक्ष रविन गुरुङ, लोकतान्त्रिक खेलकुद संघ झापाका सचिव रोशन दाहाल, किरात राई यायोक्खा कमलका पूर्व अध्यक्ष सन्तोष राई, सगुन युवा क्लवका अध्यक्ष देवेन्द्र आङदेम्बे,दमक तेक्वान्दो डोजाङका अध्यक्ष जितु धिमाल, महिला नेतृ विष्णुमाया भटटराई लगायतले आदिवासी रंगशाला बनाउन जनस्तरबाट अभियान थाल्न ढिलाई गर्न नहुने विचार राखेका थिए ।

अन्तरकृयासहितको बैठकले रंगशाला निर्माणमा राज्यले गरेकाृ विभेदका विरुद्ध धन्यवाद र रंगशाला निर्माण सम्बन्धमा जातिय संघसंस्था, खेलकुदजन्य क्लव,चिहान परिवार लगायतका सरोकारवालाहरुसंग अन्तरकृया गरिने निर्णय भएको महासचिव दिपेनवाला राईले बताए । रंगशाला निर्माणमा संघीय तथा प्रदेश सरकारले आवश्यक वजेट बिनीयोजन नगर्दा रंगशाला निर्माण कार्य अलपत्र बन्न पुगेको छ ।