दमक/ झापाको दमकमा महिलाका लागि राष्ट्रिय अभियान अन्तर्गत राष्ट्रिय महिला अधिकार मञ्चले आयोजना गरेको अन्तरसंवादमा संसदबाट बहुविवाहलाई संरक्षण र प्रोत्साहन गर्ने किसिमको कानुन ल्याइन लागेको भन्दै कडा प्रतिवादमा उत्रिने चेतावनी दिएका छन् ।
उनीहरुले महिलाहरुले मुलुकको व्यवस्था परिवर्तनमा गरेको त्याग, बलिदान र संघर्षबाट प्राप्त उपलब्धीहरु गुम्ने खतरा बढेको भन्दै संसदबाट त्यस किसिमको कानुन ल्याइए चुल्हो चौको छोडेर सडकदेखि सदन सम्म आन्दोलनको बिगुल फुक्ने चेतावनी दिए ।
महिलाहरु अझै पनि घर–घरमा पुरुष प्रधान थीतिका कारण पिल्सीनु परेको पीडा पनि पोखे । महिलाकै कारण महिलालाई पीडा हुने बहुविवाह जस्तो नेपालबाट उन्मुलन भइसकेको सामाजिक समस्यालाई ब्युँताउने काम कसैले गरे बन्दुक बोक्न पनि पछि नपर्ने उनीहरुले उदघोष गरे ।
विभिन्न करकाप र आपराधिक मानसिकता बोकेर राखिएको शारिरीक सम्पर्कबाट जन्मिएका असहाय बालबालिकाको जन्मदर्तासहित नागरिकता जारी गराउने दायित्व राज्यको भएको उल्लेख गर्दै उनीहरुले त्यस्तो अवस्थाका नागरिकहरुको संरक्षण र नागरिकता दिलाउने काम गर्नुपर्ने तर खुलेआम दोश्रो विवाहलाई प्रोत्साहन र संरक्षण गर्ने कामको प्रतिवाद गर्नुपर्ने उनीहरुको साझा निष्कर्ष थियो ।
राजनीतिक आस्था र विचार भन्दा माथि उठेर महिला हक, अधिकार र समानताका पक्षमा अधिकार प्राप्तीको लडाइँ लड्ने राष्ट्रिय महिला अधिकार मञ्चकी केन्द्रिय उपाध्यक्ष मन्धरा चिमरिया पौडेलले बताउनु भयो ।
त्यसैगरी कांग्रेस नेतृ एवं अगुवा महिला रामकुमारी पौडेलले बहुविवाहलाई मान्यता दिएर सिमित मानिसहरुको रजाइँका लागि यो कानुन ल्याइन लागेको भन्ने चर्चा बाहिर आइरहेकोले आम महिलाहरुलाई झस्काएको उल्लेख गर्नु भयो ।
अर्की अगुवा महिला झुमा सेढाइँले अधिकार प्राप्तीको लडाइँमा युद्धको अनुभव समेत आफूसँग रहेको भन्दै परिस्थिती आए फेरी एक पटक बन्दुक बोकेर पनि संघर्षका लागि हिंड्न तयार रहेको बताउनु भयो ।
अर्की महिला नेतृ एवम् अधिकारीवादी पुनम बजगाइँ संग्रौलाले घर घरमा साइलेन्ट डिभोर्सको समस्या रहेको बेला बहुविवाहलाई कानुनी मान्यता दिने कुचेष्टा भइरहेको भन्दै कडा आपत्ती जनाउनु भयो ।
कार्यक्रममा महिला नेतृ मेनुका बुढाथोकी, विष्णुमाया भट्टराई, रमा लिम्बु लगायत दर्जन बढी महिला नेतृहरु तथा अभियान्ताहरुले महिलामाथि हिंसाको अर्को श्रृखंला बहुविवाह भएको चर्चा गर्दै यसको प्रतिवादमा उत्रिने चेतावनी दिए ।
