पूर्व प्रहरी संगठनको स्थापना दिवस

धनकुटा / नेपाल पूर्व प्रहरी संगठनको ३५ औ स्थापना दिवसको अवसरमा नेपाल पूर्व प्रहरी संगठन धनकुटाले सम्मान तथा शुभकामना आदन प्रदान कार्यक्रम सम्पन्न गरेको छ ।
कार्यक्रममा धनकुटाका नेपाल पूर्व प्रहरी संगठनका जेष्ठ सदस्य धनकुटा नगरपालिका वडा नं। १ निवासी प्रेम मोक्तान तामाङलाई दोसल्ला ओढाएर सम्मान गरिएको छ ।

कार्यक्रमको उद्घाटन गर्दै नेपाल पूर्व प्रहरी संगठन धनकुटाका केन्द्रिय सदस्य हर्कनारायण सिंह राईले पूर्व प्रहरीहरु एकजुट भएर अगाडी बढ्नु पर्नेमा जोड दिनुभयो ।
त्यस्तै सहायक प्रमुख जिल्ला अधिकारी खगेन्द्र सुवेदीले पूर्व प्रहरीहरु राज्यको सम्पत्ती भएको वताउनु भयो ।

धनकुटा उद्योग बाणिज्य संघका अध्यक्ष विजय सन्तोषी राईले पूर्व प्रहरीले देश,जनता र समाजका लागि महत्वपूर्ण योगदान दिएकाले राज्यले उनीहरुलाई सम्मान गर्नु पर्नेमा जोड दिनु भयो ।
पूर्व प्रहरी संगठन धनकुटाका अध्यक्ष डम्वर कटुवालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नागरिक समाज धनकुटाका अध्यक्ष सुन्दरवाबु श्रेष्ठ,निबृत्त शिक्षक समाज धनकुटाका अध्यक्ष देव वहादुर खड्का,नेपाल पूतपूर्व सैनिक संगठन धनकुटाका उपाध्यक्ष होम प्रसाद अधिकारी,पूर्व मेजर बल वहादुर थापा,नेपाल पत्रकार महासंघ धनकुटका सल्लाहकार सन्तवीर लामा लगायतले शुभ कामना दिदै भूतपूर्व प्रहरीको योगदानको वारेमा चर्चा गरेका थिए ।

 

श्रीकृष्णाष्टमी मेला उदघाटनमा झडप, मेयरसहित पाँच घाईते

रौतहट/ रौतहटको देवाही गोनाही नगरपालिका–९ धरहरी टोलस्थित कृष्ण मन्दिरमा शनिवार आयोजित कृष्णजन्माष्टमी मेलाको उद्घाटनलाई लिएर दुई पक्षबिच विवाद चर्किएपछि झडप भएको छ।

झडपमा परी नगरप्रमुख प्रेमलाल साह कानु सहित पाँच जना घाइते भएका छन्।

नगरप्रमुखको पक्षले मेलाको उद्घाटन नगरप्रमुखकै हातबाट रिबन काटेर गर्ने अडान राखेपछि अर्को पक्षले आपत्ति जनाउँदा वादविवाद हाताहातीमा परिणत भएको हो। स्थिति नियन्त्रण गर्ने क्रममा प्रहरी पनि घाइते भएका छन्।

जिल्ला प्रहरी कार्यालय रौतहटका अनुसार मेयर कानुको टाउकोमा १७ टाँका लागेका छन्। यस्तै, प्रहरी जवान जगदीश राय यादवको गालामा ५ टाँका, प्रहरी जवान धनसुन्दर ठाकुरको टाउकोमा ४ टाँका लागेको छ।

स्थानीय रामविकाश साह र श्याम विनय साह सामान्य घाइते भएका छन्। सबै घाइतेहरूको उपचार गरुडास्थित निजी अस्पतालमा भइरहेको प्रहरीले जनाएको छ।

यसैबिच, घटनामा संलग्न भएको आरोपमा स्थानीय राधामोहन साह, विनोद साह र ऋतिक साहलाई नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय गरुडा पठाइएको छ।

हाल घटनास्थल शान्त रहेको र थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

इष्टर्न स्टारका बिद्यार्थीद्धारा टोलमा सरसफाई

दमक ७ स्थित इष्टर्न स्टार बोर्डिङ स्कूलका स्काउटमा आवद्ध बिद्यार्थीहरु सो ठाउँमा रहेको बुद्ध मार्गमा शुक्रबार सरसफाई गर्दै ।
बिद्यार्थीहरुमा स्वयंसेवा, सामाजिक क्षेत्रमा काम गर्ने , र सामुहिक श्रमको भावना बिकास गर्दै स्वास्थ्य तथा सरसफाईको प्रयोगात्मक सिकाईका लागि यस खाले कार्यक्रमले मद्धत पुरयाउने बिद्यालयका संस्थापक लक्षुदास (एलडी) राई बताउनुहुन्छ ।

दमकका अग्नी सिग्देल दीर्घसेवा पदकबाट सम्मानित

नेपाल विद्युत प्राधिकरणको ४० औं बार्षिकोत्सवको अवसरमा शुक्रबार काठमाडौंमा आयोजित विशेष कार्यक्रममा उर्जामन्त्री दिपक खड्काबाट दीर्घसेवा पदक सम्मान ग्रहण गर्दै प्राधिकरणको दमक वितरण केन्द्रमा कार्यरत कर्मचारी अग्नी सिग्देल । 

  प्राधिकरणमा कार्यरत देशभरका करीब ४०० जनाले यसपटक दीर्घ सेवा पदक प्राप्त गरेका छन् । प्राधिकरणले २० बर्ष सेवा अवधि पूरा गरेका कर्मचारीलाई यस्तो पदकबाट सम्मान गरेको जनाइएको छ ।

 

‘मेरो भ्वाइस युनिभर्स’को फाइनल राउन्डमा जुनु प्रसाईं

झापा/ ताप्लेजुङको हाम्पाङमा जन्मिएकी र तेह्रथुमको आठराई ह्वाकूबाट आफ्नो शिक्षा र सांगीतिक यात्रा सुरु गरेकी गायिका जुनु प्रसाईं ‘मेरो भ्वाइस युनिभर्स सिजन २’ को फाइनल राउन्डसम्म पुगेकी छिन् ।
बाल्यकालदेखि नै गायनप्रति गहिरो रुचि राख्ने जुनुको स्वरमा नेपालीपन मात्र होइन, मेहनत र प्रतिभाको मिठास पनि झल्किन्छ । हाल झापालाई स्थायी ठेगाना बनाएकी उनी रोजगारीको सिलसिलामा कतारमा रहेर पनि आफ्नो सांगीतिक सपना अघि बढाउँदै अन्तर्राष्ट्रिय नेपाली गायन रियालिटी शोमा सहभागिता जनाएकी हुन् ।
विद्यालय जीवनमै विभिन्न कार्यक्रम र स्थानीय गायन प्रतियोगितामा सक्रिय रहँदै अनुभव बटुलेकी जुनु आज अन्तर्राष्ट्रिय स्तरमा नेपाली संगीतको पहिचान बनाउन सफल भएकी छन् ।
नेपाल टेलिभिजनमार्फत प्रसारित ‘मेरो भ्वाइस युनिभर्स’ इन्ट्रा नेसनल वेलफेयर एन्ड सपोर्ट फाउन्डेसनले आयोजना गरेको यो प्रतियोगितामा २३ देशका नेपाली मूलका प्रतिभाशाली गायक–गायिकाले सहभागिता जनाएका छन् । अडिसन राउन्ड विश्वका १३ मुलुकमा सम्पन्न भएकोमा जुनु कतार अडिसनमार्फत छनोट भई अहिले फाइनलसम्म आइपुगेकी हुन् ।
भोट गर्ने तरिका
मोबाइलको म्यासेज बक्समा गएर  MVU 06 टाइप गरी 37000 मा पठाउनुहोस्, वा My Intra एप डाउनलोड गरी जुनुको प्रोफाइलमा क्लिक गरेर भोट गर्न सक्नुहुन्छ ।

कञ्चनजंघा सहकारीको तिज विशेष नृत्य प्रतियोगीता

स्थानीय सरकारलाई प्याव्सन र एनप्याव्सनको ज्ञापन

दमक/ दमक नगरपालिकामा दमक नगर प्याब्सन र एन. प्याब्सनले संयुक्त रूपमा सरकारसमक्ष आफ्ना मागहरू सम्बोधन गर्न आग्रह गर्दै दमक नगर उपप्रमुख रेगिना भट्टराई प्रसाई र शिक्षा शाखा अधिकृत सोमनाथ गुरागाईलाई ज्ञापनपत्र बुझाएका छन् ।
दमक प्याब्सनका अध्यक्ष नबिन योगी र दमक एन. प्याब्सनका अध्यक्ष सागर श्रेष्ठको अध्यक्षतामा आयोजित संक्षिप्त कार्यक्रममा दमक नगर उपप्रमुख रेगिना भट्टराई प्रसाई, शिक्षा शाखा अधिकृत सोमनाथ गुरागाईलाई ज्ञापन पत्र हस्तान्तरण गरिएको थियो ।
ज्ञापनपत्र प्याब्सन केन्द्रिय सदस्य श्रवण कुमार पोख्रेलले बाचन गर्नुभएको थियो । सो अवसरमा ज्ञापन पत्र बुझ्दै नगर उपप्रमुख रेगिना भट्टराई प्रसाईले निजी विद्यालयको आवाज सरकारसम्म पुर्याउन सहयोग गर्ने र आवश्यक सहयोग सधैं गर्ने प्रतिबद्धता जनाउनु भयो ।
निजी विद्यालयहरूको असन्तुष्टिको मूल कारण सरकारले ल्याउन लागेको नयाँ शिक्षा विधेयक हो, जसमा विद्यालयलाई क्रमशः गैर–नाफामूलक बनाउने, पूर्ण छात्रवृत्ति उपलब्ध गराउने, र छात्रवृत्ति अन्तर्गत भर्ना शुल्कदेखि पोसाक, यातायातसम्मको सम्पूर्ण खर्च विद्यालयले व्यहोर्नुपर्ने प्रावधान रहेको छ । यसबारे हिसान, नेशनल प्याब्सन, एन. प्याब्सन र प्याब्सनले यसअघि नै आपत्ति जनाउँदै हालको १० प्रतिशत छात्रवृत्ति व्यवस्था निरन्तरता दिनुपर्ने, ‘पूर्ण छात्रवृत्ति’ शब्द हटाउनुपर्ने, र गैरनाफामूलक बनाउने व्यवस्था पूर्ण रूपमा खारेज गर्नुपर्ने माग गर्दै आएका छन् ।
निजी विद्यालय सञ्चालकहरूले नेपालको शिक्षा क्षेत्रमा करिब ६ खर्ब रुपैयाँ लगानी, ५ लाख रोजगारी र ३४ प्रतिशत विद्यार्थीलाई गुणस्तरीय शिक्षा प्रदान गरेको दाबी गर्दै विधेयकले निजी क्षेत्रलाई निरुत्साहित गर्ने विश्लेषण गर्दै आएका छन् । उनीहरूले माग सम्बोधन नभए कडा आन्दोलनमा उत्रिने चेतावनी समेत दिएका छन्।् ।

एमालेको कोशी प्रदेश कमिटी बैठकमा बिद्याकादेखि प्रदेश टुक्र्याउने सम्मको बहस

धनकुटा/ नेपाल कम्युनिस्ट पार्टी (एमाले) कोशी प्रदेश समितिको बैठक केही विवाद र भनाभनका बिच सम्पन्न भएको छ । बैठक सहभागी कतिपयले पार्टीको केन्द्रीय समिति बैठकले पठाएको अन्तरपार्टी निर्देशन को ६ नम्बर बुँदा सच्याउनु पर्ने माग गरेका थिए ।

 उनीहरूले यस्तो माग गरेपछि धनकुटा बैठकमा होहल्ला र तमासाको स्थिति भएको एक नेताले बताए ।

बैठकमा प्रदेश सदस्य रोशन बस्नेत, डीबी कार्की, अञ्जु पाण्डे र भोजपुरका एमाले अध्यक्ष मकर खड्कालगायतले अपानिको ६ नम्बर बुँदा सच्याउन माग गरेका थिए । अपानिको ६ नम्बर बुँदामा विद्या भण्डारीको सदस्यता नवीकरण नगर्ने भन्ने विषय उल्लेख छ ।

‘केन्द्रीय कमिटीको अपानि १२ को बुँदा नं. ६ मा पूर्व राष्ट्रपति पार्टी राजनीतिमा संलग्न हुन नहुने भन्ने निर्देशनात्मक निर्णयले पार्टी सदस्यहरू निराश भएका छन्, दुःखी भएका छन्,’ बैठकमा आफ्ना कुरा राख्दै प्रदेश सदस्य रोशन बस्नेतले भने, ‘यो निर्णयले मिसन ८४ मा गम्भीर असर गर्ने अवस्था छ । त्यसैले केन्द्रीय कमिटीको यो निर्णय सच्याउन आम कार्यकर्ताको माग छ ।’ बस्नेतले त पार्टी अध्यक्ष केपी शर्मा ओली नै खराब भएको आशयले कुरा राखेका थिए । उनले भने, ‘पानी र बानी माथिबाटै सङ्लो हुनु आवश्यक छ ।’

यस्तै बैठकमा आफ्ना कुरा राख्दै भोजपुरका एमाले अध्यक्ष खड्काले पूर्वराष्ट्रपति भण्डारीको सदस्यता नवीकरण नगर्ने विषयले भूगोलमा समस्या हुने स्थिति रहेको बताएका थिए । ‘नेताहरूले यो विषयको हल गर्नु पर्‍यो,’ खड्काले भने ।

यस्तै एमाले प्रदेश सदस्य  अञ्जु पाण्डेले पार्टी नेतृत्वले विद्या भण्डारीको राजनीतिक पुनरागमनको अध्याय समाप्त भएको भनेर बैठकमा निर्देशन गरेको बताइन् । ‘नेताहरूका अनुसार अब विद्या भण्डारीको सक्रिय राजनीतिक पुनरागमन हुनेछैन भन्ने थियो,’ पाण्डेले भनिन्, ‘त्यसपछि हामीले बैठकमा पार्टीको निर्णय प्रक्रिया र समयमाथि प्रश्न उठायौँ । यदि पुनरागमन रोक्नु नै थियो भने पहिले पार्टी सदस्यता किन नवीकरण गरियो र लेबी किन लिइयो ?’

उनले यस कदमलाई पार्टी निर्माण गर्ने नेतामाथिको अपमान भन्दै वर्तमान नेतृत्वले आफ्नो पद संकटमा पर्ने देखेर मात्र यस्तो निर्णय लिएको आरोप लगाइन् । उनले मदन भण्डारीको सेतो हात्ती पाल्न सकिँदैन भन्ने विचारलाई उद्धृत गर्दै विद्या भण्डारीले राज्य सुविधा त्यागेर राजनीतिमा आउन खोज्दा रोक लगाउनु अन्यायपूर्ण भएको बताएकी थिइन् । एक पछि अर्को गरी भण्डारीको पक्षमा नेताहरु बोल्न थालेपछि प्रतिवाद सुरु भएको थियो । यसरी प्रतिवाद गर्नेहरूमा झापाका होम थापा, निर्मला सिवाकोटी, मातृका भट्टराई र सङ्खुवासभाका खड्ग राई रहेका थिए ।

एमालेका प्रदेश अध्यक्ष घनश्याम खतिवडाले पनि पूर्वराष्ट्रपतिको विषय बैठकमा उठेको बताए । ‘बैठकमा केही सदस्यहरूले अपानि–१२ को बुँदा नम्बर ६ सच्याउनुपर्ने विषय उठाएका हुन् । तर, अन्तरपार्टी निर्देशन छलफलका लागि नभई कार्यान्वयनका लागि हो । यो त्यति महत्वको भएन,’ खतिवडाले भने, ‘एक जना साथीले अलिकति विचार गर्न सकिने भए पार्टीमा के भो र काम गर्छु भन्नेलाई भनेर भन्नुहुन्थ्यो । अरू साथीहरूले खण्डन–मण्डन त्यसमा.. तमासै भइगो फेरि । अनि त्यो पनि ओझेलै पर्‍यो ।’

उता एमाले खोटाङका अध्यक्ष देवविक्रम चाम्लिङले भने सोलुखुम्बु, ओखलढुंगा, खोटाङ र भोजपुरलाई छुट्टै प्रदेश बनाउन माग गरेका थिए । ‘खोटाङमा विकास बजेट केही नआएको र झापामा मात्रै गएकोले सोलु, ओखलढुङ्गा, खोटाङ र भोजपुरलाई छुट्टै प्रदेश बनाउन माग गर्दछु ।’

उनले खोटाङ विकासमा पछि परेको र राज्यबाट हेपिएको भन्दै त्यसको क्षतिपूर्ति दिनुपर्ने माग राखेका थिए । उनले तथ्याङ्क प्रस्तुत गर्दै खोटाङमा मुख्य राजमार्गबाहेक जम्मा १२.७ किलोमिटर मात्रै पक्की सडक रहेको र त्यसमध्ये पनि करिब १०.९ किलोमिटर भूकम्पपछिको पुनर्निर्माण प्राधिकरणले बनाएको बताए । राज्यको लगानी नगण्य भएको उनको तर्क थियो । कि त समानुपातिक विकासको हिस्सा दिनुपर्‍यो, नत्र छुट्टै गरी खान देऊ (छुट्टै प्रदेश बनाऊँ) भन्ने आशयको माग राखेको उनले पनि स्पष्ट पारे । यो माग खोटाङ, सोलुखुम्बु, भोजपुर र ओखलढुङ्गालाई मिलाएर बनाउनुपर्ने भन्ने थियो ।

बैठकमा खोटाङ, भोजपुर, ओखलढुंगा जस्ता पहाडी जिल्लाका एमाले सांसदहरूले भने काम देखाउने बेलामा बजेट नदिएको भन्दै तीव्र असन्तुष्टि व्यक्त गरेका थिए । ‘प्रदेश सरकारले बजेट नपठाएको र काम गर्न गाह्रो भएको गुनासो पर्याप्त आयो,’ बैठकमा सहभागी अर्का नेताले भने, ‘मुख्यमन्त्री हिक्मतकुमार कार्कीले भने प्रदेशको बजेट घटेर आएको र नपुग बजेट केन्द्रबाट ल्याउने प्रयास गर्ने जवाफ दिनुभयो ।’

एमाले बैठकले १४ बुँदे कार्ययोजना पारित गरेको छ । यस्तै भदौ २० देखि २२ गतेसम्म हुने विधान महाधिवेशनका लागि सुझाव संकलन गर्न प्रदेश संगठन विभाग प्रमुख राजकुमार भण्डारीको संयोजकत्वमा कार्यदल गठन गरेको अध्यक्ष खतिवडाले जानकारी दिए । जिल्लाहरूले भदौ १० गतेभित्र सुझाव पठाइसक्नुपर्ने उनले बताए । बैठकमा ४२ जना सदस्यले धारणा राखेका थिए । जसमा विधान, प्रदेश कमिटीको कार्यप्रणाली, कोशी प्रदेश सरकारको प्रभावकारिता र बजेट नपरेको जस्ता विषयमा छलफल भएको खतिवडाको भनाइ छ ।  रातोपाटीबाट

सहकारी बिद्यालय खोल्ने मेची सहकारीको योजना, आवासको जग्गा किन्न ५ करोड

दमक/ झापाको दमकमा मुख्य कार्यालय स्थापना गरेर झापा, मोरङ र इलाममा समेत वित्तीय कारोबार गर्दै आएको मेची बहुउद्धेश्यीय सहकारी संस्थाको २९ औं बार्षिकोत्सव तथा ३१ औं बार्षिक साधारण सभा शुरु भएको छ ।
२८ श्रावणदेखि  शुरु भएको इकाइगत साधारण सभा आगामी भाद्र १२ गते निर्णय प्रमाणीकरण साधारण सभा गर्दै सम्पन्न हुने संस्थाले जनाएको छ ।
साधारण सभा शुरु हुनु अघि बिहान संस्थाको सभाकक्षमा आयोजित पत्रकार सम्मेलनमा संस्थाका अध्यक्ष नारायणप्रसाद भट्टराईले संस्थाको पहिचानलाई कायम राख्दै यस बर्ष मेची आवास २ का लागि जग्गा खरिद गर्न ५ करोड रुपैयाँ बजेटको व्यवस्था गरिनुका साथै योजना ल्याइएको बताउनु भयो ।
त्यस्तै उहाँले विगतदेखिनै संस्थाले परिकल्पना गरेको तर योजनाका रुपमा अघि बढाउन नसकिरहेको सहकारी बिद्यालय सञ्चालनको लागि पनि बजेटको व्यवस्था गरिएको बताउनु भयो । उहाँले भन्नु भयो– संस्थाले पहिलादेखि सहकारी बिद्यालय खोल्ने सोच बनाएर अध्ययन गरेको हो तर केही कानुनी जटिलताहरुका कारण अगाडी बढ्न सकेको थिएन तर पछिल्लो समय सहज बन्दै गएको छ अब सहकारी बिद्यालय सञ्चालन गर्छौै ।
सहकारी संस्थाले सञ्चालन गर्ने त्यस्तो बिद्यालयमा एक बिद्यार्थीका अभिभावकसँग ५० हजार रुपैयाँ लिएर बिद्यालय तहको पूरै पठनपाठन गराउने लक्ष्य राखिएको पनि अध्यक्ष भट्टराईले जानकारी दिनु भयो । बिद्यालय सञ्चालनको लागि हाल २ करोड रुपैयाँ बजेटको व्यवस्था गरिने संस्थाले जनाएको छ ।
अध्यक्ष भट्टराईका अनुसार, सहकारीका विषयमा पीएचडी गर्ने सदस्य सन्तानलाई रु १ लाख अध्ययन खर्च प्रदान गरिनेछ। यसबाहेक, एसईईमा जिल्ला प्रथम हुनेलाई रु ५० हजार र ४ GPA ल्याउनेलाई रु २५ हजार छात्रवृत्ति दिने कार्यक्रम पनि ल्याइएको संस्थाका प्रमुख कार्यकारी अधिकृत खोमप्रसाद बगालेले जानकारी दिनु भयो ।
हाल सहकारीका १२ वटा सेवा कार्यालय (झापामा ६, मोरङमा ५ र इलाममा १) सञ्चालनमा छन्। ३ सय कर्मचारी र १७,८१७ शेयर सदस्य रहेको संस्थाले जन्मदेखि मृत्युसम्मका ३० प्रकारका सुविधा सदस्यलाई प्रदान गर्दै आएको छ।

सार्वजनिक जग्गा व्यक्तिका नाममा ल्याउने पुरीसहित ९ कर्मचारी दोषी ठहर

दमक/  सार्वजनिक जग्गा व्यक्तिको नाममा ल्याएर भ्रष्टाचार गरेको आरोपमा रेवतराज पुरी भनिने गगन पुरी र नापी कार्यालयका कर्मचारी ९ जनालाई विशेष अदालतले भ्रष्टाचारी ठहर गरेको छ ।
विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर र सदस्यहरु मुरारीबाबु श्रेष्ठ र रितेन्द्र थापाको इजलासले यस्तो ठहर गरेको हो । विशेष अदालतले  पुरीलाई एक वर्ष कैद र २० लाख रुपैयाँ जरिवाना गरेको छ । पुरीसँगै ९ जनालाई भ्रष्टाचारको आरोपमा कसुरदार ठहर गरेको हो ।

अरू आरोपितहरूको जग्गा जफत हुने ठहर भएको छ । दमक नगरपालिका वडा नं १३ र १४ मा पर्ने रतुवा र दिपिनी खोला आसपास क्षेत्रको नदी उकास जग्गा व्यक्तिको नाममा कागजात मिलाएर नामसारी गरेको प्रकरणमा नापी र मालपोतका कर्मचारी, जग्गाधनी र बिचौलियालाई मुद्दा दायर गरेको थियो ।
नापी कार्यालय झापाका तत्कालीन प्रमुख नापी अधिकृत शशिकान्त झा, सर्वेक्षक सीताराम यादव, सर्वेक्षक विन्देश्वर पञ्जियार, नापी अधिकृत रामदेव मण्डल धानुक, सर्वेक्षक विष्णुदेव यादव, अमिन ललितकुमार मण्डल, नायब सुब्बा रुद्रप्रसाद श्रेष्ठ, सर्वेक्षक रामकुमार दास र सर्वेक्षक गणेश कुमार धिमालको प्रत्यक्ष संलग्नता देखिएको भन्दै विशेष अदालतले भ्रष्टाचार मुद्दामा दोषी ठहर गरेको हो ।
उनीहरूले पर्ती खाली रहेको सरकारी सार्वजनिक जग्गा स्वावसी प्रक्रियाबाट विभिन्न व्यक्तिहरूको नाउँमा दर्ता गरे गराएको देखिएको अदालतको ठहर छ । विशेष अदालतले व्यक्तिको नाममा दर्ता भएको झण्डै आठ सय रोपनी जग्गा जफत (सरकारीकरण हुने) फैसला गरेको छ । ९ जना बाहेक अरु सबै आरोपितहरूले सफाइ पाएका छन् । खोलाले धार परिवर्तन गर्दा बनेको टारलाई स्थानीयहरू बोलीचालीमा ‘बालुवाटार’ भन्छन् ।

पुरी र उनको परिवारले आफ्नो नाममा आएको जग्गा केही वर्ष राखेर २०७० को दशकको सुरुवातदेखि धमाधम बिक्री गरेको अभिलेखबाट देखिन्छ । उनी र परिवारको नामबाट मात्रै करिब सयपटक भन्दा बढी जग्गा पास भएको थियो ।

२०६६ सालदेखि नै व्यक्तिको नाममा दर्ता हुन सुरु भएको त्यो जग्गा २०७० को दशकको सुरुवातमा आइपुग्दा पुरीको समूहले करिब २ सय रोपनी कब्जा गरिसकेको थियो ।

२०७६ माघमा प्रहरीको केन्द्रिय अनुसन्धान व्यूरोले रतुवा खोला किनाराको जग्गा अतिक्रमणवारे छानबिन गरेको थियो । सीआईबीकै प्रतिवेदनमा आधारित भएर जिल्ला प्रहरी कार्यालय झापाले गगन पुरी लगायतको समूह विरुद्ध किर्ते मुद्दा दर्ता गरेको थियो, जुन अहिले पनि जिल्ला अदालतमा नै विचाराधिन छ ।

६ फागुन, २०८०मा मात्रै विशेष अदालतले सरकारी जग्गा व्यक्तिको नाममा दर्ता गरेर त्यसलाई बेचेर सम्पत्ति बढाएको नाममा सम्पत्ति शुद्धिकरणको अभियोगमा माओवादी नेता गगन पुरीलाई दोषी ठहर गरेको थियो ।