सुरुङगामा आगोले जलेकी बृद्धाको मृत्यु

कन्काई/  झापाको कन्काई नगरपालिका वडा नं ३ सुरुङगामा ग्याँस सिलिण्डरबाट भएको आगलागीमा परेर घाईते भएकी बृद्धाको मृत्यु भएको छ ।
गत श्रावण २२ गते भएको सो घटनामा घाईते भएकी ताप्लेजुङ घर भई हाल सुरुङगास्थित ध्रुव श्रेष्ठको घरमा बस्दै आएकी ८१ बर्षिया बाटुलीमाया दाहालको किर्तिपुर वर्न उपचार र विएण्डसी हस्पिटलमा उपचारपछि आज बिहीबार मृत्यु भएको हो । दाहालको बिहिबार बिहान करिब साढे १० बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

ढयांग्री खोलामा करेन्ट लगाएर माछा मार्न खोजेका युवकको मृत्यु

कमल / झापाको कमल ३ खानेपानी टोलमा रहेको ढ्याङग्री खोलामा करेन्ट लगाएर माछा मार्ने क्रममा एक युवकको ज्यान गएको छ । सो ठाउँका २१ बर्षिय उज्वल राईको करेन्ट लागेर आज दिउँसो मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालय झापाका अनुसार करेन्ट लागेर घाईते भएका उनलाई आफन्तले देखेर प्रहरीमा खबर गरेका थिए । उनलाई तत्काल उपचारकालागि लाइफलाइन अस्पताल दमकमा ल्याइएको भए पनि दिउँसो ३ बजे अस्पतालले मृत घोषणा गरेको जनाइएको छ ।

 

‘पूर्ण छात्रवृत्ति’ दिनुपर्ने व्यवस्था हटाउन माग गर्दै आन्दोलन

काठमाडौं/  विद्यालय शिक्षा सम्बन्धी विधेयक–२०८० संसदको शिक्षा, स्वास्थ्य तथा प्रविधि समितिमा अन्तिम छलफलमा पुगेको बेला निजी विद्यालय सञ्चालक संगठनहरू नेशनल प्याब्सन र प्याब्सनले संयुक्त रूपमा आन्दोलन घोषणा गरेका छन्।

बुधबार राजधानीमा संयुक्त पत्रकार सम्मेलन गर्दै दुवै निजी विद्यालय सञ्चालक संस्थाले ५ बुँदे माग अघि सार्दै आन्दोलनको घोषणा गरेका हुन् ।

उनीहरूले आफूहरूको अस्तित्व र योगदानलाई उपेक्षा गर्ने गरी विधेयकमा अव्यवहारिक र अन्यायपूर्ण प्रावधान राखिएको दाबी गर्दै तिनको खारेजी तथा संशोधनको माग गरेका छन्।

५ बुँदे मागको पहिलो बुँदामा ‘पूर्ण छात्रवृत्ति’ भन्ने शब्द हटाइनु पर्ने माग गरिएको छ ।

यसैगरी विद्यालयमा उत्पादन नहुने पोसाक, स्टेशनरी, शैक्षिक सामग्री, खाजा जस्ता वस्तु उपलब्ध गराउनुपर्ने प्रावधान खारेज गर्नुपर्ने,  कम्पनी ऐनअनुसार दर्ता भई सञ्चालनमा रहेका विद्यालयलाई गैर नाफामूलक’ बनाउँदै लगिने प्रावधान हटाइनु पर्ने माग गरिएको छ ।

यस्तै छात्रवृत्ति वितरणको अधिकार सम्बन्धित विद्यालयमै रहनुपर्ने, तर पालिका प्रतिनिधिको सहभागितामा पारदर्शी समिति बनाएर वितरण गर्न सकिने व्यवस्था गर्नुपर्ने, ४५% आरक्षणसहितको प्रावधान खारेज गर्नुपर्ने निजी विद्यालय सञ्चालकहरूको माग छ ।

नेशनल प्याब्सनका अध्यक्ष सुभाष न्यौपाने र प्याब्सनका अध्यक्ष कृष्णप्रसाद अधिकारीको हस्ताक्षरमा पत्रकार सम्मेलनमा वितरित संयुक्त विज्ञप्तिमा भदौ ५ गते  बिहान ११ देखि १ बजेसम्म माइतीघर मण्डलादेखि नयाँबानेश्वर चोकसम्म प्रिन्सिपलहरूले ब्यानरसहित र्‍याली गर्ने र कोणसभा गर्ने, भदौ ६ गते देशभर स्कुल बस उतारेर नगर परिक्रमा गर्ने तथा  काठमाडौँको चक्रपथ वरिपरि कालो झन्डा/ब्यानरसहित र्‍याली गर्ने तय भएको छ ।

यसैगरी भदौ ८ गते निर्णायक आन्दोलनमा प्रवेश गर्ने उद्घोष गरिएको छ । आफूहरूले राज्यसँग टकराबभन्दा संवाद र सहकार्य चाहेको भन्दै पत्रकार सम्मेलनमा माग सम्बोधन नभए कडा सङ्घर्षमा उत्रन बाध्य हुने चेतावनी दिइएको छ । सरकारले विद्यालय शिक्षा विधेयकमा सहमति जुटाएर संसद्‍मा पेस गर्ने तयारी गरिरहेको बेला निजी विद्यालय सञ्चालकहरूले असहमति जनाएका हुन् । निजी विद्यालय सञ्चालकहरूले असहमति जनाएको अधिकांश बुँदामा संसदीय समितिमा सहमति जुटिसकेको छ ।

बालबालिका शान्तिक्षेत्र राष्ट्रिय अभियानको अध्यक्षमा पौडेल

काठमाडौँ / बालबालिका शान्तिक्षेत्र राष्ट्रिय अभियान (सिजप)को अध्यक्षमा तिलोत्तम पौडेल चयन भएका छन् । पौडेल सिजपको सदस्य संस्था जागृति बाल तथा युवा सरोकार नेपालका अध्यक्ष तथा जागृति बाल क्लब नेपालका संस्थापक हुन् ।
काठमाडौँमा सम्पन्न भएको २३औँ स्थापना दिवस तथा नवौँ अधिवेशन एवं साधारण सभाले पौडेलको नेतृत्वमा नयाँ नेतृत्व चयन भएको हो । अधिवेशनले सिजपको उपाध्यक्ष द्वयमा हेमराज जोशी र ममता झा, महासचिवमा राजु घिमिरे, कोषाध्यक्षमा सम्झना कुमारी मल्ललाई चयन गरेको छ ।
यसैगरी, सदस्यहरूमा गीता अधिकारी (कोशी), सञ्जयकुमार कुशवाहा (मधेश), शिवप्रसाद खकुरेल (बागमती), केशवप्रसाद पौडेल (गण्डकी), शिवलाल पाण्डे (लुम्बिनी), केशव आचार्य (कर्णाली), गीताकुमारी रावल (सुदूरपश्चिम), पिंकी सिङ राणा (खुल्ला), शान्ताकुमारी दाहाल (खुल्ला) र कुञ्जनी परियार प्यासी (खुल्ला) निर्वाचित भएका सिजपमा महासचिव राजु घिमिरे रहेका छन् । द्वन्द्व, हिंसा, असुरक्षाबाट बालबालिकालाई जोगाउनुपर्ने, विद्यालय र बालबालिका शान्ति क्षेत्र हुन्, उनीहरूको बाँच्न पाउने, संरक्षण, विकास र सहभागिताको अधिकारको सुनिश्चितको पैरवी गर्दै २०६० मा भाद्र ३ गते सिजप स्थापना भएको हो ।
सातै प्रदेशका ५० जिल्लामा रहेका ९८ सदस्य संस्थाहरूको सहभागितामा सम्पन्न भएको अधिवेशनले नयाँ नेतृत्व चयन गरेको हो ।राष्ट्रिय बाल अधिकार परिषद्का उपाध्यक्ष बमबहादुर बानियाँ, सिजपका परिकल्पनाकार गौरी प्रधान, पूर्व अध्यक्ष माधव प्रधान, डा. कृष्ण सुवेदी, नरेन्द्र डंगोल, बालिका प्रतिनिधि कृशाङ्गी अर्याल, सेभ द चिल्ड्रेनका अर्जुन थापाको उपस्थिति तथा मिना शर्माको अध्यक्षतामा सम्पन्न साधारणसभा तथा अधिवेशनले सिजपलाई सातै प्रदेशमा संरचनागत ढङ्गबाट विस्तार गर्ने, बजेट कोड, बालबालिकाको लागि स्वतन्त्र उच्चस्तरीय संयन्त्र निर्माण, बालबालिकामा लगानी वृद्धि, बालबालिका राष्ट्रिय गौरव हुन, बालविवाह अन्त्य, बालश्रममुक्त, बालमैत्री देश निर्माणको अभियानमा योगदान पुर्यायउने निष्कर्ष समेत निकालेको छ ।

 

भारत र चीनबीच लिपुलेक हुँदै सीमा व्यापारमा सहमति

चिनियाँ विदेशमन्त्री वाङ यीको भारत भ्रमणका क्रममा भारत र चीनबीच लिपुलेक पास हुँदै सीमा व्यापार पुनः सुरु गर्ने सहमति भएको छ ।

मंगलबार नयाँ दिल्लीमा चिनियाँ विदेशमन्त्री यी र भारतीय विदेशमन्त्री एस जयशंकरबीच सम्पन्न उच्चस्तरीय वार्तापछि जारी १२ बुँदे संयुक्त विज्ञप्तिमा यसबारे सहमति सार्वजनिक गरिएको हो ।

विज्ञप्तिको ९ औं बुँदामा भनिएको छ, ‘दुवै पक्षले तोकिएका तीन नाकाहरू, लिपुलेक पास, शिप्कीला पास र नाथुला पास मार्फत सीमानापार व्यापार पुनः सुरु गर्न सहमत भएका छन् ।’

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको कार्यकालमा लगाइएको उच्च ट्यारिफपछि उत्पन्न व्यापारिक दबाबका बीच भएको यो सहमति भारत–चीनबीच गलवान उपत्यकाको झडपपछि दोस्रोपटक भएको उच्चस्तरीय वार्तामा भएको हो ।

लिपुलेक पास नेपालको संवेदनशील क्षेत्रका रूपमा चिनिन्छ । भारत–चीनबीच यसअघि सन् २०१५ मा पनि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको चीन भ्रमणका क्रममा लिपुलेक मार्ग प्रयोग गर्ने सहमति भएको थियो, जसमा नेपाललाई जानकारी नगराइ निर्णय गरिएको भन्दै नेपालले कडा आपत्ति जनाएको थियो ।

नेपालले तत्कालीन अवस्थामा उक्त सहमतिलाई अस्वीकार्य भन्दै परराष्ट्र मन्त्रालयमार्फत चीन र भारत दुवैलाई कूटनीतिक नोट पठाएको थियो ।

लिपुलेक नेपाल, भारत र चीनको त्रिदेशीय सीमा नजिकको क्षेत्र हो । नेपालले लिपुलेकसहित लिम्पियाधुरा र कालापानी क्षेत्रलाई आफ्नो भूमि ठहर गर्दै २०७७ मा संविधान संशोधनमार्फत नयाँ नक्सा सार्वजनिक गरिसकेको छ ।

दमकमा ट्रकको ठक्करबाट पत्नीको मृत्यु, पति घाईते

दमक/ झापाको दमकमा आज मंगलबार बिहान भएको सवारी दुर्घटनामा एक महिलाको मृत्यु भएको छ । दमकको पशुहाट डाँडामा बन्दाकोवी बोकेको मालबाहक ट्रकले मोटरसाइकललाई बिहान ८ बजे ठक्कर दिँदा कमल गाउँपालिका वडा नं ५ की ४२ बर्षिया मुना गौतमको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
उहाँ आफ्नै श्रीमान सुकदेव गौतमले चलाएको मोटरसाइकल पछाडी सवार हुनुहुन्थ्यो । मोटरसाइकल चालक सुकदेवको उपचारका लागि दमक अस्पताल पठाइएको र अवस्था समान्य रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । ठक्कर दिने ट्रकका चालक तेह्रथुमका २५ बर्षिया आङदावा शेर्पा र ट्रकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

 

दुर्घटनाका घाईतेको साथबाट सुनको सिक्री चोरी गर्ने पक्राउ

दमक/ दुर्घटनामा घाईते भएका झापाको कमल ६ का एक युवकले घाँटीमा लगाएको सुनको सिक्री चोरी गर्ने शिवसताक्षीका दुई युवा पक्राउ परेका छन् ।
प्रहरीका अनुसार गत श्रावण २९ गते कमल ६ का ३० बर्षिय मनोज लिम्बु दोमुखाबाट घर फर्किने क्रममा झिलझिलेमा स्कुटर दुर्घटना भएर लडेका थिए ।
उनको साथबाट सुनको सिक्री र नगद समेत हराएको थियो ।
सुनको सिक्री हराएको बिषयमा उनले दिएको निवेदनपछि दुर्घटना लगत्तै उनको उद्धार कार्यमा संलग्न शिवसताक्षी ८ झिलझिलेका २८ बर्षिय सुरज हलुवाई र २६ बर्षिय गोविनहाङ लिम्बुलाई खोजी गर्ने क्रममा ३९ ग्राम २२ मिलिग्राम सुन र नगद ३० हजार बरामद गरी नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

को हुन पेट्रोल छर्केर आत्मदहको प्रयास गर्ने शोभा ?

दमक/  झापाको दमकमा एक महिलाले आफ्नो शरीरमा पेट्रोल छर्केर आगो लगाई आत्मदाहको प्रयास गरेकी छन् ।

आज दिउँसो ४.३० बजे दमक नगरपालिका वडा नं १ भानु चोक नजिकै बसोबास गर्दै आएका मनोज साहकी श्रीमती ३० वर्षीया शोभा साहले आफ्नै तीनतले पक्की घरको दोस्रो तलामा आफू सुत्ने कोठाको ढोका थुनेर पेट्रोल आफ्नो शरीरमा छर्की आगो लगाएकी हुन् ।

घाइतेलाई दमक अस्पताल दमकमा ल्याई सामान्य उपचारपश्चात थप उपचारको लागि वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाइएको छ ।

शोभा मनोजकी कान्छी श्रीमती हुन् । पहिलो श्रीमतीको निधन पछि मनोजले केही समय अघि भारतबाट शोभालाई बिहे गरेर ल्याएका हुन् । करिब एक महिना अघि शोभाले मनोजकी पहिलो श्रीमती तर्फकी नाबालिका छोरी समेतलाई लिएर वेपत्ता भएकी थिइन् ।

उनी वेपत्ता भएको घट्ना प्रहरीमा समेत जानकारी गराइएको थियो । नाबालिकासहित वेपत्ता भएकी उनले ति बालिकालाई पानीट्याङकी नजिकैको खुल्ला ठाउँमा छोडेर भागेको दृश्यका आधारमा भारतीय प्रहरीले खोजी गरेको थियो । सो पछि उनी कहिले घर फर्किएकी थिइन् ? भन्नेबारे सार्वजनिक नभई सोमबार अकस्मात सो घट्ना भएको हो । घट्नाका कारण बोल्न नसक्ने अबस्थामा पुगेकी उनको शरीरको ३० प्रतिशत भन्दा बढी भाग जलेको प्रारम्भिक अनुमान गरिएको छ ।

प्रहरीले घट्नाबारे अनुसन्धान भइरहेको जनाएको छ ।

वाणिज्य संघले बस्तुगत संघहरुबीच फुटसल प्रतियोगिता गर्ने

दमक/ दमक उद्योग बाणीज्य संघले ३५ औं स्थापना दिवसको अवसर पारेर बस्तुगत संघहरु विच फुटसल प्रतियोगिता सञ्चालन गर्ने भएको छ । स्थापना दिवसको सन्दर्भ पारेर संघमा आबद्ध ब्यवसायीहरु विच फुटसल प्रतियोगिता सञ्चालन गर्न लागेको सोमबार संघले आयोजना गरेको पत्रकार सम्मेलनमा जनाइएको छ ।
ब्यवसायीहरुलाई खेलकुदका माध्यमबाट स्वास्थ्य सचेतना जगाउन र व्यवसायीहरुबीचको सम्बन्ध प्रगाढ बनाउन फुटसल प्रतियोगिता आयोजना गरिएको दमक उद्योग बाणीज्य संघका अध्यक्ष देवीप्रसाद गुरागाईं (गोपाल)ले जानकारी दिनुभयो ।
संघले यही भदौ ५ र ६ गते दुई दिन प्रतियोगिता सञ्चालन गर्न लागेको फुटसल प्रतियोगिताका कार्यक्रम संयोजक तुलसीराम तिम्सिनाले जानकारी दिनुभयो ।
पत्रकार सम्मेलनकै विच प्रतियोगितामा सहभागी १० वटा टिमहरु विचको टाईसिट ( खेल तालिका) सार्वजनिक गरिएको छ ।
सोही कार्यक्रममा प्रतियोगितामा सहभागी बस्तुगत टिमका प्रतिनिधिहरुबाट गोला प्रथाबाट टाईसिट बनाईएको थियो । संघका कानुनी सल्लाहकार संयोजक नारायण केसीले टाईसिट सार्वजनिकका लागि गोला सञ्चालन गर्नु भएको थियो ।
प्रतियोगितामा जुत्ता चप्पल, स्वास्थ्य, मोबायल, सुनचाँदी, अटो मोबायल, रेडिमेड कपडा, किराना तथा खाद्यान्न, होटल, फर्निचर तथा फर्निसिङ र निर्माण ब्यावसायीहरुको बस्तुगत संघ गरि १० वटा टिम विच प्रतिस्पर्धा हुनेछ ।
प्रतियोगिताको बिजेता टिमले ३३ हजार तिन सय तेत्तीस रुपैयाँ र उप विजेता टिमले २२ हजार दुई सय २२ रुपैयाँ सहित मेडल, ट्रफि र प्रमाणपत्र प्राप्त गर्ने छन् ।

जन्म र विवाहमा अनिवार्य फलफुलका विरुवा रोप्नु पर्ने निर्णय

दमक/  दमक नगरपालिकाको ७ नम्बर वडा कार्यालयमा जन्मदर्ता र बिबाह दर्ता गर्न वृक्षारोपणलाई अनिवार्य गरिएको छ ।
वडाबासी कसैले पनि यि दुई किसिमको दर्ता प्रमाण पत्र लिन सम्बन्धित परिवारले दुई वटा फलफूलका विरुवा अनिवार्य रुपमा रोपेको हुनुपर्ने व्यवस्था गरेको हो ।

वडाध्यक्ष भिमप्रसाद पौडेलका अनुसार सोमबार बसेको वडा समितिको बैठकले औपचारिक रुपमा यस सम्बन्धि निर्णय गरेको छ । वातावरण संरक्षण तथा शहरी सौन्दर्यकरणका लागि वडाबासीको योगदान अनिवार्य भएकाले वडाले नीतिगत रुपमा नै यस्तो निर्णय गरेको वडाध्यक्ष पौडेलको भनाई छ ।

घर परिवारमा कसैको जन्म हुनु र बैबाहिक कार्यक्रम गरिनु सुखद अवसर भएकाले सुखद अवसरलाई अहिलेको अवस्थामा वातावरण संरक्षणका लागि योगदान गर्नैपर्ने व्यवस्था गरिएको हो – ७ नम्बर वडा कार्यालयका सचिव योगेश भट्टराईले भन्नु भयो । जुनसुकै प्रजातिका बहुबर्षे फलफूलका विरुवा रोप्नुपर्ने र यसको प्रमाण स्वरुप फोटो पेश गर्नुपर्ने व्यवस्था गरिएको वडाले जनाएको छ ।