दुर्घटनामा शिवसताक्षीका युवकको मृत्यु , एकै परिवारका चार जना घाईते

शिवसताक्षी /  निर्माणाधीन एशियन हाइवे तथा पूर्व पश्चीम राजमार्ग अन्तर्गत झापाको बिरिङ पूलमा मंगलबार राती भएको सवारी दुर्घटनाका मृतकको पहिचान खुलेको छ ।
मृत्यु हुनेमा शिवसताक्षी ७ का २९ बर्षिय नवराज बाँस्कोटा रहेका छन् । दुर्घटना लगत्तै बिएण्डसी अस्पताल पुरयाइएका घाईतेहरु मध्ये बाँस्कोटालाई तत्कालै चिकित्सकहरुले मृत घोषणा गरेका  थिए ।

बाँस्कोटाले चलाएको मे १ च ३४४० मारुती भ्यान र बिर्तामोड तर्फ आउँदै गरेको मे १ च ५४४६ नम्बरको पिकअप मंगलबार राती ८.४० बजे एकापसमा ठोक्किएर भएको दुर्घटनामा बाँस्कोटाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
दुर्घटनामा मारुती भ्यानमा सवार शिबसताक्षी ७ को एकै परिवारका चार जना घाईते भएका छन् । घाईते हुनेहरुमा सो वडाका ४० बर्षिय पृथ्बीनाथ साह, उनकी श्रीमती ३७ बर्षिय पुनमदेबी साह, छोरा १४ बर्षिय प्रसन्न साह र छोरी ९ बर्षिया प्रिन्सा साह घाईते भएका छन् ।
दुर्घटनामा संलग्न पिकअप र पिकअप चालक धनकुटा महालक्ष्मी नगरपालिका वडा नं ८ का २४ बर्षिय सुमन पौडेललाई इलाका प्रहरी कार्यालय अनारमनी विर्तामोडले नियन्त्रणमा लिएको छ ।

हिन्दु नारीहरु तीज मनाउदै

काठमाडौँ / आज भाद्र शुक्ल तृतीया अर्थात् हिन्दु नारीहरूको महान् पर्व हरितालिका तीज । देशभरका हिन्दु महिलाहरू देवाधिदेव महादेवको पूजाआराधना र व्रत बसी अटल सौभाग्यको कामना गर्दै यो पर्व मनाइरहेका छन् ।

यस अवसरमा काठमाडौँको पशुपतिनाथ मन्दिरलगायत देशभरका शिवालयहरूमा बिहानैदेखि भक्तजनको घुइँचो लागेको छ । तीजको विशेष दिनलाई ध्यानमा राख्दै पशुपति क्षेत्र विकास कोषले भक्तजनको सहजताका लागि बिहान ३ बजेदेखि नै पशुपतिनाथका चारवटै ढोका खुला गरेको छ, जसकारण दर्शनार्थीहरू बिहानैदेखि लामबद्ध छन् ।

भाद्र शुक्ल तृतीयामा हरितालिकाको व्रत लिनाले जीवनमा सुख, शान्ति र कल्याण प्राप्त हुने धार्मिक विश्वास छ । विवाहित महिलाहरू पतिको दीर्घायु र सुस्वास्थ्यको कामना गर्दै व्रत बस्छन् भने अविवाहित युवतीहरू सुयोग्य वर प्राप्तिको कामना गर्दछन् । यद्यपि, शास्त्रीय मान्यताअनुसार यो व्रत पुरुषहरूका लागि पनि उत्तिकै फलदायी मानिन्छ ।

यो पर्वको सम्बन्ध सत्ययुगमा हिमालयपुत्री पार्वतीले महादेवलाई पति पाउन गरेको कठोर तपस्यासँग जोडिएको छ। पिता हिमालयले भगवान् विष्णुसँग आफ्नो विवाह गरिदिन खोजेपछि पार्वतीले सो कुरा अस्वीकार गरिन्। उनका साथीहरूले पार्वतीलाई कसैले नदेख्ने ठाउँमा लुकाएर राखे। सोही गुप्त स्थानमा पार्वतीले निराहार व्रत बसेर महादेवको आराधना गरी पति पाएकी थिइन्। साथीहरूद्वारा ‘हरण’ गरिएकाले नै ‘हरित’ (हरण) र ‘आलिका’ (साथी) शब्द मिलेर ‘हरितालिका’ बनेको धार्मिक विश्वास छ।

हरितालिकाको व्रतलाई कठिन व्रत मानिए पनि शास्त्रले स्वास्थ्यलाई ध्यानमा राख्न सुझाएको छ। ‘सर्वतः आत्पान् गोपायेत्’ अर्थात् ‘जसरी भए पनि आफ्नो शरीरको रक्षा गर्नुपर्छ’ भन्ने शास्त्रीय मान्यताअनुसार व्रतालुले आफ्नो स्वास्थ्य अवस्था हेरेर निराहार (अन्नजल केही नखाई), जलाहार (जल मात्र पिएर) वा फलाहार (फलफूल खाएर) व्रत बस्न सक्नेछन्।

स्वास्थ्यका कारण निराहार बस्न नसक्नेहरूले जल, दूध, फलफूल, सखरखण्ड, पिँडालु जस्ता कन्दमूल र गुरुको आज्ञाअनुसारका वस्तु सेवन गर्न सक्ने विधान छ। स्कन्दपुराणमा औषधि सेवन गर्दा व्रत भंग नहुने उल्लेख गरिएको छ, जसले गर्दा नियमित औषधि सेवन गर्नेहरूलाई व्रत बस्न सहज बनाएको छ।

धार्मिक मान्यताअनुसार, आजको दिन विधिपूर्वक व्रत बसेर शिव–पार्वतीको पूजा–आराधना गर्नाले मनोकामना पूरा हुने विश्वास गरिन्छ ।

दिपक मनाङेको क्षेत्रमा कार्तिक १७ मा उपचुनाव

निर्वाचन आयोगले मनाङको प्रदेशसभा क्षेत्र नम्बर २ मा कात्तिक १७ गते उपनिर्वाचन गर्ने तयारी गरेको छ । यससँगै रूपन्देही प्रतिनिधिसभा क्षेत्र नम्बर ३ मा पनि सोही मितिमा उपनिर्वाचन हुने भएको छ । निर्वाचन आयोगका कार्यवाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले उपनिर्वाचन मिति केही दिनभित्रै औपचारिक निर्णय गरिने जानकारी दिए । ‘कात्तिक १७ गते उपनिर्वाचन गर्ने गरी तयारी गरिएको छ,’ उनले भने, ‘अहिले आन्तरिक तयारी भइरहेको छ, दुई–चार दिनभित्रै निर्णय हुन्छ ।’

२०७९ साल मंसिरमा सम्पन्न प्रदेशसभा निर्वाचनमा मनाङ २ बाट स्वतन्त्र उम्मेदवार राजिव गुरूङ (दीपक मनाङे) निर्वाचित भएका थिए । तर, चर्चित चक्रे मिलनमाथि ज्यान मार्ने उद्योगसम्बन्धी पुरानो मुद्दामा सर्वोच्च अदालतले उनलाई दोषी ठहर गर्दै जेल सजाय सुनाएको थियो ।

सर्वोच्चको फैसला अनुसार दीपक मनाङे गण्डकी प्रदेशसभा सदस्य पदमा बस्न अयोग्य ठहरिएका थिए । त्यससँगै प्रदेशसभा क्षेत्र २ को पद रिक्त भएको हो ।

निर्वाचन आयोगले अब रिक्त उक्त पदमा कात्तिक १७ मा उपनिर्वाचन गर्ने निर्णयको अन्तिम तयारीमा जुटेको हो ।

स्थानीय सरकारसँग जनताकाे अपेक्षा 

नेपालको राजनीतिक, प्रशासनिक तथा संवैधानिक विकासक्रममा हाल स्थानीय सरकारको उपस्थिति निर्णायक बन्दै गएको छ। २०७२ सालको संविधानले संघीयता स्वीकार गरेपछि तीन तहको शासन प्रणाली: संघीय, प्रदेश र स्थानीय तहलाई संवैधानिक मान्यता दिएको छ। संविधानले स्थानीय तहलाई “सरकार” को रुपमा परिभाषा गरेको छ, जुन विगतको “स्थानीय निकाय” सँगको संरचनागत भिन्नता मात्र होइन, जिम्मेवारी र अधिकारको दृष्टिकोणले पनि एक क्रान्तिकारी परिवर्तन हो।
नेपालको संविधान २०७२ ले स्थानीय तहलाई सरकारको रुपमा स्पष्ट रुपमा परिभाषित गरेको छ। यसअघि स्थानीय निकायका रुपमा रहेका नगरपालिकाहरू, गाउँ विकास समिति (गाविस) हरूलाई नयाँ संरचनागत आधारमा स्थानीय सरकारको रुपमा पुनर्गठित गरिएको हो। संविधानको अनुसूची ८ ले स्थानीय तहका एकल अधिकारहरू तोकेको छ भने अनुसूची ९ ले संघ, प्रदेश र स्थानीय तहबीच साझा अधिकारहरू निर्धारण गरेको छ। त्यसैले स्थानीय सरकार आज नीतिनिर्माण, योजना निर्माण, सेवा प्रवाह, न्यायिक अधिकार प्रयोगजस्ता विषयहरूमा सक्षम इकाई हो।
स्थानीय सरकार तीन प्रमुख अंगहरूसँग मिलेर बनेको हुन्छ। स्थानीय तहमा निर्वाचित वडा अध्यक्ष, सदस्य, प्रमुख वा उपप्रमुख/मेयर वा उपमेयरबाट बनेको परिषदले विधान, नीति, योजना र बजेट पारित गर्ने कार्य गर्छ। यसले संविधानले दिएको अधिकार अन्तर्गत कानुन निर्माण गर्न सक्ने क्षमता राख्छ। कार्यपालिका प्रमुख/अध्यक्ष, उपप्रमुख/उपाध्यक्ष, वडाध्यक्षहरू र मनोनित सदस्यहरूबाट बनेको हुन्छ। कार्यपालिकाको बैठकबाट कार्यविधि, निर्देशन, बजेट कार्यान्वयन, सेवा प्रवाह लगायतका नीतिगत निर्णयहरू लिइन्छ। न्यायिक समितिमा उपप्रमुख/उपाध्यक्ष संयोजक हुन्छन्, जसले साना तथा स्थानीय विवादहरू मेलमिलापमार्फत समाधान गर्छन्। यसले जनताले सुलभ रूपमा न्याय पाउने आधार तयार पार्दछ।
स्थानीय सरकारलाई स्थायी सरकार मानिन्छ, किनभने यसका प्रमुख, उपप्रमुख, वडा अध्यक्ष, सदस्यहरू सबै प्रत्यक्ष रूपमा जनताबाट निर्वाचित हुन्छन्। यसको तुलनामा संघीय र प्रदेश सरकार संसदको बहुमतमा आधारित हुन्छन्, जुन कहिले पनि फेरबदल हुनसक्छ। संसदीय राजनीति अस्थिर हुँदा सरकारले बारम्बार परिवर्तन हुनसक्छ, तर स्थानीय सरकार पाँच वर्षका लागि निश्चित अवधिका लागि चुन्निएको हुन्छ। यसका केही विशेषताहरू यस्ता छन्: प्रत्यक्ष निर्वाचन, जनतासँग प्रत्यक्ष सम्पर्क, सेवा प्रवाहमा अग्रसरता, भू–प्राकृतिक नजिकको शासन, योजना कार्यान्वयनमा तत्काल प्रतिक्रिया।
स्थानीय सरकार जनताको घरदैलोमै सेवा पुर्‍याउने शासन हो। नागरिकता, जन्म–मृत्यु दर्ता, वडा सिफारिस, शिक्षा, स्वास्थ्य, खानेपानी, सरसफाइ, सडक निर्माण आदि सीधा जनसरोकारका सेवाहरू स्थानीय सरकारले दिन्छ। स्थानीय योजना, ग्रामीण पूर्वाधार, साना उद्योग, सहकारीको प्रवर्द्धन, कृषिमा अनुदान, महिला तथा सीमान्तकृत समुदायको सशक्तीकरणजस्ता कार्यहरू स्थानीय सरकारको नेतृत्वमै हुन्छ। संघीयता अभ्यास गर्ने पहिलो तह स्थानीय सरकार हो। यसमार्फत जनताको प्रतिनिधित्व, सहभागिता, पारदर्शिता, जवाफदेहिता र समावेशी विकास कार्यान्वयनमा देखिन्छ।
स्थायी भए पनि व्यावहारिक रुपमा धेरै समस्या देखा परेका छन्, जस्तै दलियकरणको प्रभाव, जनसेवाभन्दा कार्यकर्ताप्रेम, प्रतिपक्षको कमजोर भूमिका, कर्मचारी प्रशासनमा निर्भरता, पारदर्शिता र जवाफदेहिताको अभाव। वर्तमानमा अधिकांश स्थानीय तहमा दलिय उम्मेदवारमार्फत निर्वाचन हुन्छ। जनप्रतिनिधिहरूको कार्यप्रणालीमा पार्टीको निर्देशन प्रभावशाली देखिन्छ। यसले नीति निर्माण र सेवा प्रवाहमा पक्षपात, पूर्वाग्रह उत्पन्न गरेको छ। जनसेवामा भन्दा आफ्ना पार्टीका कार्यकर्ताहरूलाई रिझाउन प्राथमिकता दिने प्रवृत्तिले सेवाको गुणस्तरमा ह्रास आएको छ। विकास योजना ठेक्कापट्टा वितरणमा पनि पार्टीगत झुकाव देखिएको छ। स्थानीय तहमा प्रतिपक्षको भूमिका न्यून छ। प्रतिपक्षको अनुपस्थितिमा नीति निर्माण वा बजेट कार्यान्वयनमा पर्याप्त निगरानी हुन सक्दैन। कागजी रुपमा स्थानीय सरकार सशक्त भए पनि प्राविधिक, आर्थिक र प्रशासनिक रूपमा केन्द्र वा प्रदेश सरकारमाथि निर्भरता अझै उच्च छ। कतिपय स्थानीय तहमा योजना छनोटदेखि बजेट खर्चसम्म पारदर्शिता अभाव देखिन्छ। जनगुनासो, सामाजिक लेखापरीक्षणजस्ता अभ्यासहरू कमजोर छन्।
यी समस्याको समाधानका लागि सुधारका उपायहरू अवलम्बन गर्न आवश्यक छ। जस्तै पार्टी प्रणालीबिना स्थानीय निर्वाचनको विकल्पमा छलफल, प्रतिपक्षको भूमिकालाई स्पष्ट र प्रभावकारी बनाउने, सामाजिक लेखापरीक्षण अनिवार्य गर्ने, योजना छनोटदेखि कार्यान्वयनसम्म नागरिकको सहभागिता सुनिश्चित गर्ने, जनप्रतिनिधि तथा कर्मचारीहरूको क्षमता अभिवृद्धिमा लगानी गर्ने, सूचना प्रवाह तथा प्रविधिको प्रयोग बढाउने, र भ्रष्टाचार नियन्त्रणमा कठोर उपायहरू अपनाउने।
आज जनताले तीन तहका सरकारहरूबाट के अपेक्षा गरेका छन् भन्ने कुरा बुझ्नु जरुरी छ। संघीय सरकारले राष्ट्रिय नीति निर्माण, सुरक्षाको सुनिश्चितता, मूल पूर्वाधार विकासमा भूमिका खेल्नुपर्ने अपेक्षा गरिएको छ। प्रदेश सरकारले क्षेत्रीय सन्तुलन, भाषा-संस्कृति, शिक्षा, स्वास्थ्यमा नीति निर्माण तथा सेवा प्रवाह गर्नुपर्ने अपेक्षा छ। तर, सबैभन्दा बढी जनताको सरोकार स्थानीय सरकारसँग हुन्छ। घरनजिकको सरकार भएकाले सेवाप्रवाह, विकास निर्माण, सशक्तिकरण, न्याय प्राप्तिमा स्थानीय तहको भूमिका निर्णायक छ।
जनताको विश्वास जित्नका लागि सरकारहरूले जवाफदेही शासन प्रणालीलाई व्यवहारमा उतार्नुपर्छ। आफ्ना कामको समीक्षा समय समयमा जनतासँग बाँड्नुपर्छ। योजना छनोटमा जनताको सक्रिय सहभागिता हुनुपर्छ। भ्रष्टाचार नियन्त्रणका लागि सार्वजनिक खरीद प्रक्रिया पारदर्शी बनाउने, अनुगमन र लेखापरीक्षण प्रक्रिया कडा बनाउने, डिजिटल प्रविधिको अधिकतम प्रयोग गर्ने। तीन तहबीचको समन्वयलाई मजबुत बनाएर स्रोतको दोहोरो प्रयोग रोक्नुपर्छ। अनलाइन सेवा प्रणाली, डिजिटल फिडब्याक सिस्टम, र गुनासो व्यवस्थापन पोर्टलमार्फत नागरिकको आवाजलाई संस्थागत गरिनुपर्छ।
युवालाई सशक्त बनाउने, नवप्रवर्तनशील योजनामा जोड दिने, स्मार्ट गाउँ र डिजिटल नगरको अवधारणा कार्यान्वयन गर्ने। महिला, दलित, जनजाति, मुस्लिम, मधेसी, अपाङ्गता भएका नागरिकहरूको प्रतिनिधित्व सुनिश्चित गर्दै, उनीहरूका लागि लक्षित कार्यक्रम ल्याउने।
स्थानीय सरकार नेपालको संघीय शासन प्रणालीको मेरुदण्ड हो। जनताको प्रतिनिधि भएर उनीहरूको नजिकबाट सेवा प्रवाह गर्ने सरकार स्थानीय तह हो। संविधानले दिएको अधिकार, कानुनी संरचना, निर्वाचित प्रतिनिधिको उपस्थिति, न्यायिक संयन्त्रजस्ता आधारहरूले यसलाई स्थायी सरकारको रुपमा स्थापित गरेको छ। तर, स्थायित्वको अर्थ सधैं गुणस्तर भन्ने होइन। आज धेरै स्थानीय सरकारहरू सेवा प्रवाहमा पूर्वाग्रही, दलिय, अपारदर्शी, गैर–उत्तरदायी देखिन्छन्। योजना निर्माण र कार्यान्वयनमा पारदर्शिता र सहभागिता अभाव छ। दलियकरणले स्थानीय सरकारको लोकतान्त्रिक चरित्रलाई क्षतिग्रस्त बनाएको अवस्था छ।
पार्टी प्रणाली बिना स्थानीय निर्वाचनको विकल्प, प्रतिपक्ष बलियो बनाउने संरचना, सामाजिक लेखापरीक्षण अनिवार्य बनाउने, नागरिक सहभागिता सुनिश्चित गर्ने, कर्मचारी र जनप्रतिनिधिको क्षमता अभिवृद्धि, सूचना प्रवाह र डिजिटल सेवा प्रणालीको विकास, भ्रष्टाचार नियन्त्रण र जवाफदेही शासनजस्ता उपायहरू अवलम्बन गरिन सकेमा मात्र स्थानीय सरकारले जनताको विश्वास जित्न सक्छ। त्यस्तै, प्रदेश र संघीय सरकारले पनि सेवा प्रवाहमा तल्लो तहसँग समन्वय गर्दै जिम्मेवार भएर काम गर्नु आवश्यक छ।
अन्ततः, तीन तहका सरकारहरूको उद्देश्य एउटै हुनुपर्छ – जनताको सेवा, अधिकारको रक्षा, र समावेशी तथा दिगो विकास। यही साझा उद्देश्यमा समर्पित शासन पद्धतिबाट मात्र संविधानले परिकल्पना गरेको समृद्ध नेपाल र सुखी नेपालीको सपना साकार हुन सक्छ।

पार्टीभित्रका कतिपय नेताहरूमा बिचौलिया र दलाल प्रवृत्ति -प्रचण्ड

  काठमाडौं/ नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीभित्रका कतिपय नेताहरू बिचौलिया र दलाल प्रवृत्तिमा लागेकै कारण पार्टी कमजोर बनेको बताएका छन् ।

पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको आर्थिक उत्पादन विभागको पहिलो बैठकमा बोल्दै उनले शान्ति प्रक्रियापछि नेताहरू समाजवादी बन्नुको सट्टा व्यक्तिगत स्वार्थमा केन्द्रित भएको टिप्पणी गरे ।

‘हाम्रो पार्टीका कतिपय नेताहरू शान्ति प्रक्रियामा आइसकेपछि समाजवादी बन्नुपर्नेमा बिचौलिया टाइपका, दलाल टाइपका बनेका कारण पार्टी कमजोर बनिरहेको छ,’ प्रचण्डले भने, ‘अब सोच र शैली दुवैमा आमूल परिवर्तन गर्नैपर्छ ।’

उनले पार्टीलाई समाजवादतर्फ रुपान्तरण गर्न स्थानीय सम्भावनामा आधारित आत्मनिर्भर अर्थतन्त्रको निर्माण आवश्यक रहेको बताए । कृषि, उद्योग, जडीबुटी र पर्यटनलाई प्राथमिकतामा राख्दै उत्पादनमै आधारित समाजवाद सम्भव हुने प्रचण्डको भनाइ थियो ।

‘हामी समाजवादको यात्रातर्फ जाँदैछौँ भने यसको मूल आधार उत्पादन हो,’ उनले भने, “सिङ्गो पार्टी केन्द्रित नभई समाजवाद सम्भव हुँदैन ।’

हेटौंडा महाधिवेशनले लिएको ‘युद्ध होइन, उत्पादन संघर्ष’को नीतिलाई अझै प्रभावकारी ढंगले कार्यान्वयन गर्न नसकेको स्वीकार गर्दै उनले अब पार्टी समुदायमा फर्किने, जनतासँग प्रत्यक्ष जोडिने र उत्पादनमा आधारित अभियान चलाउने स्पष्ट संकेत दिएका छन् ।

केराधापमा मोटरसाइकलको ठक्करबाट मृत्यु

झापाको कमल ३ केराधापमा मोटरसाइकलको ठक्करबाट ८८ वर्षका एक वृद्धको ज्यान गएको छ । प्रदेश १-०१ -०१६ ५१०५ नम्बरको मोटरसाइकल को ठक्करबाट घाईते भएका सो ठाउँका ८८ वर्षीय टिकाराम श्रेष्ठको मृत्यु भएको हो । उहालाई हिजो शुक्रबार ७.१५ बजे मोटरसाइकलले ठक्कर दिएकोमा उपचारका क्रममा शुक्रबार ११.३० बजे बिएनसी हस्पिटल बिर्तामोडमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापा ले जनाएको छ ।

शिवसताक्षीमा वडाले मनायो कुशे औशी र तीज

शिबगञ्ज/ कुशे औशी र हरितालिका तीज दुवै पर्वलाई झापाको शिवसताक्षी नगरपालिका वार्ड नम्बर ६ वडा कार्यालयले सामान महत्व दिँदै सामूहिक रुपमा मनाएको छ । यस अवसर पारेर शुक्रबार शिबगञ्जमा ज्येष्ठ नागरिकलाई सम्मान तथा सामुहिक दर खुवाउँदै शुभकामना आदान प्रदान गरिएको हो ।
वडा कार्यालयले दुई सस ५० जना बुबाहरुलाई टोपी लगाएर सम्मान गर्नुका साथै आमा दिदीबहिनीहरुलाई सामुहिक दर खुवाउने व्यवस्था मिलाएको हो ।
वडाध्यक्ष मनोज खुलाल कार्कीको अध्यक्षतामा र नगर प्रमुख मेघाहाङ (रोशन) थोप्राको प्रमुख आतिथ्यतामा वडा कार्यालय परिसरमा आयोजित कार्यक्रममा नगर प्रमुख थोपाले नेपाली समाजमा सवै खाले चार्डपर्वको आ–आफ्नै अर्थ, महत्व, गरिमा र धार्मीक तथा साँस्कृतिक पक्षहरु रहेको बताउनुभयो ।
नगर प्रमुख थोप्राले कुशे औशीमा बुबाप्रती श्रद्धासम्मान र हरितालिका तिजको महत्व, अर्थ, गरिमा र धार्मीक तथा साँस्कृतिक मूल्य र मान्यताहरु रहिआएको बताउनुभयो ।
कार्यक्रममा नगर प्रमुख थोप्राले हरितालिका तीजमा महिला दिदीबहिनीहरुले स्वतन्त्रता, अधिकार, एकता, धार्मीक र साँस्कृतिक शक्तिको रुपमा लिनुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा कनकाई नहर सिचार्इँ व्यवस्थापन समितिका अध्यक्ष कमल भण्डारी, शिबगञ्ज बहुमुखी क्याम्पसका अध्यक्ष मिलनकुमार ढुंगानासहित सामाजिक राजनीतिक अगुवाहरूको विशेष उपस्थिति रहेको थियो ।
सो अवसरमा जन आदर्श माध्यमिक विद्यालयकी विद्यार्थी प्रजिता भण्डारीले तीजसम्बन्धि कविता बाचन गरेकी थिइन् । वडा कार्यालयकी कर्मचारी समिक्षा भेटुवालले तीज गीतमा नृत्य प्रस्तुत गरेका थिइन् ।
त्यस्तैं, जन आदर्श माध्यमिक विद्यालयका स्काउट विद्यार्थीहरुले स्वागत गीत नृत्य मार्फत कार्यक्रमलाई मनोरञ्जनात्मक बनाएका थिए ।
कार्यक्रममा वडाध्यक्ष कार्कीले वडावासीको समस्या, सेवासुविधा, विकास र संमवृद्धिका लागि वडा कार्यालयले नीतिगत योजना र कार्यक्रमहरु ल्याइरहेको बताउनुभयो ।
वडाध्यक्ष कार्कीले वडाभित्र मुख्यगरी शिक्षा, स्वास्थ्य, कृषि, सडक, सुरक्षा, पूर्वाधार र सशक्तिकरणतर्फ समुदायतर्फ खर्च गरिरहेको जानकारी दिनुभयो ।
त्यसक्रममा वडा अध्यक्ष कार्कीले आजको शिबगञ्ज निर्माणमा विभिन्न समयमा निर्वाचित जनप्रतिनिधिहरु, बुद्धिजीविहरु, सामाजिक तथा राजनीतिक अगुवाहरु र पेशाकर्मीहरुप्रति आभारसहित कृतज्ञता प्रकट गर्नुभयो ।

कुशे औंसी: पिताको महिमा, पितृ ऋणको बन्धन र जीवनको मार्ग

मानव सभ्यताको प्रारम्भदेखि नै परिवारलाई समाजको आधार मानिएको छ। त्यस परिवारको केन्द्रमा उभिएको पिताको भूमिकालाई सर्वोच्च स्थानमा राखिएको छ। वैदिक सनातन धर्ममा पितालाई केवल जन्म दिने व्यक्तिका रूपमा मात्र नभई, सम्पूर्ण अस्तित्वको आधार, जीवनको पहिलो गुरु र साक्षात् देवताको रूपमा पूजा गरिन्छ। पिताको अतुलनीय महत्त्वलाई सम्मान गर्न, उहाँको त्याग र समर्पण सम्झन, र सन्तानले पितृ ऋणबाट मुक्त हुनका लागि विभिन्न पर्व तथा अनुष्ठानहरूको व्यवस्था गरिएको छ। तीमध्ये कुशे औंसी, जसलाई गोकर्ण औंसी वा पितृ औंसी पनि भनिन्छ,अतः योएक प्रमुख पर्व हो जसले पिता र सन्तानबीचको पवित्र सम्बन्धलाई पुनर्जीवित गर्छ।

कुशे औंसीलाई केवल धार्मिक अनुष्ठानका रूपमा मात्र होइन, दार्शनिक, सांस्कृतिक, ऐतिहासिक र वैज्ञानिक दृष्टिकोणबाट पनि महत्त्वपूर्ण पर्वका रूपमा हेरिन्छ। सनातन धर्मका मूल ग्रन्थहरू, जस्तै वेद, उपनिषद्, स्मृति र पुराणहरूले पिताको महिमालाई अत्यन्त उच्च स्थानमा राखेका छन्। पितालाई साक्षात् धर्म, स्वर्ग, र परम तपस्याको प्रतीक मानिन्छ। ऋग्वेदले पितालाई जीवनको संरक्षक र सृष्टिको आधार मान्छ भने यजुर्वेदमा उहाँलाई ज्ञान र विवेकको स्रोत मानिएको छ। शतपथ ब्राह्मणमा पितालाई अग्निको रूपमा चित्रित गरिएको छ, जसले परिवारलाई प्रकाश, न्यानोपन र शक्ति प्रदान गर्छ। पिता घरको आधार हुन्, जसले प्रत्येक सदस्यलाई सुरक्षा र दिशा दिन्छ।(शतपथ शुक्ल यजुर्वेदको एउटा साहित्य सँग सम्बन्धित छ। यसको नाम “शतपथ” त्यसकारण परेको हो कि यसमा सय भन्दा बढी पथ (पाठ वा मार्ग) उल्लेख गरिएको छ, यो ग्रन्थ वैदिक धर्मका प्राचीन अभ्यास र जीवन मूल्यहरू बुझ्नका लागि महत्वपूर्ण स्रोत मानिन्छ।)

“पिता स्वर्गः पिता धर्मः पिता हि परमं तपः।
पितरि प्रीतिमापन्ने सर्वा देवाः प्रीयन्ति हि॥”

यस संस्कृत श्लोकले पिता केवल पारिवारिक सदस्य मात्र नभई साक्षात् देवता रहेको स्पष्ट पार्छ। सन्तानले पिताको सेवा र सम्मान गर्दा सम्पूर्ण देवताहरू प्रसन्न हुन्छन्, जसले जीवनमा आध्यात्मिक उन्नति र मोक्षको मार्ग खोल्छ। मनुस्मृति अनुसार, पिता अन्य सबै सम्बन्धभन्दा माथि मानिन्छन्। पिताले सन्तानलाई दिएको जीवन, ज्ञान र संस्कारको ऋणलाई ‘पितृ ऋण’ भनिन्छ, जुन केवल भौतिक नभई नैतिक, बौद्धिक र आध्यात्मिक पनि हो। यो ऋण सन्तानले आजीवन सेवा, सम्मान र उहाँले देखाएको मार्गमा हिँडेर मात्र चुक्ता गर्न सक्छ।
कुशे औंसीको नामकरणमा प्रमुख भूमिका निर्वाह गर्ने “कुश” हिन्दू धर्ममा अत्यन्त पवित्र वनस्पति मानिन्छ। यसको प्रयोग यज्ञ, हवन, पूजा, श्राद्ध र तर्पणमा अनिवार्य मानिन्छ। पौराणिक कथा अनुसार, भगवान विष्णुले वाराह अवतार लिएर पृथ्वीलाई समुद्रबाट निकाल्दा उहाँको शरीरबाट झरेका रोमकूपहरू नै कुशका रूपमा उत्पन्न भएका थिए। त्यसैले कुशलाई विष्णुको स्वरूप मानिन्छ।
गरुड पुराणमा भनिएको छ कि कुशको प्रयोगले पुण्य प्राप्त हुन्छ र पाप नष्ट हुन्छ।

“अस्मिन् कुशासनं यज्ञेषु सम्यक् स्थापयेत्। 
यस्यां तर्पणं कृत्वा पुण्यं प्राप्नोति नरः॥”

यसले धार्मिक कर्मकाण्ड र पूजा विधिको महत्त्व पुष्टि गर्छ।
कुश केवल धार्मिक मात्र नभई वैज्ञानिक दृष्टिले पनि महत्वपूर्ण छ। यसमा प्राकृतिक एन्टी-सेप्टिक गुण हुन्छ, जसले हावामा रहेका हानिकारक जीवाणु नष्ट गर्छ। यसको स्थिर संरचनाले ध्यान र पूजा गर्दा शरीरको मुद्रालाई सही राख्छ। यसले भूमिको नकारात्मक ऊर्जा रोक्ने र सकारात्मक ऊर्जा प्रवाह बढाउने काम गर्छ। साथै, पारिस्थितिक दृष्टिले कुशले माटोको उर्वरता बढाउँछ, कटाव रोक्छ र प्राकृतिक सन्तुलन कायम राख्छ।
कुशे औंसी भाद्र महिनाको कृष्णपक्षको औंसीमा पर्दछ। यस दिन सन्तानले जीवित पितालाई सम्मान र आशीर्वाद लिन्छन् भने दिवंगत पिताको लागि तर्पण र श्राद्ध गर्छन्। यस दिनको मुख्य अनुष्ठानहरूमा कुशको छेदन गरि संकलन, पिताको सम्मान र दर्शन, पितृ तर्पण र दान समावेश हुन्छ। सूर्योदय अघि पवित्र नदी, तलाउ वा वनबाट मन्त्र उच्चारण गर्दै कुश संकलन गरिन्छ। कुशछेदन मन्त्र
“ॐ विरञ्चिना सहोत्पन्नः परमेष्ठिनिसर्गतः।
नुद सर्वाणि पापानि दर्भ स्वस्तिकरो भव॥”

सन्तानले पितालाई मिठो भोजन खुवाउने, उपहार दिने र चरण स्पर्श गरी आशीर्वाद लिन्छन्। यसले पिता-सन्तानको सम्बन्धलाई अझ प्रगाढ बनाउँछ। दिवंगत पिताको लागि कुशको आसनमा बसेर तर्पण, श्राद्ध र दान-पुण्य गरिन्छ। पितृ तर्पण गर्दा प्रयोग हुने मन्त्रहरूले पितृहरूको आत्मालाई शान्ति र सन्तानलाई पुण्य प्राप्त हुने विश्वास रहि आएको छ।

कुशे औंसीको परम्परा वैदिक कालदेखि चलिआएको मानिन्छ। रामायणमा राम र सीता कुशको आसनमा बसेर विवाहका अनुष्ठान सम्पन्न गरेका थिए। महाभारतमा पाण्डव र कौरवले कुशको प्रयोग गरि युद्धअघि पितृ तर्पण र यज्ञ गरेका थिए। गरुड पुराण र विष्णु पुराणले पितृ तर्पण र श्राद्धको महत्त्व विस्तारपूर्वक वर्णन गरेका छन्। प्राचीन नेपाल र भारतमा राजाहरूले विशेष पूजा, दान र अनुष्ठानहरू गरेर राज्य र प्रजा दुवैमा धर्म, शान्ति र समृद्धि स्थापना गर्थे।

आधुनिक समाजमा कुशे औंसीले अझ महत्त्व राख्छ। व्यस्त जीवनशैलीका कारण परिवारिक सम्बन्ध कमजोर हुँदै गएको अवस्थामा, यस पर्वले पिता र सन्तानबीचको भावनात्मक सम्बन्ध मजबुत बनाउँछ। मनोवैज्ञानिक दृष्टिले, पितासँग समय बिताउँदा, उनको आशीर्वाद लिँदा र सम्मान गर्दा मानसिक शान्ति, सकारात्मक ऊर्जा र तनाव कम हुन्छ । कुशको प्रयोग, यज्ञ र हवनमा ध्यान केन्द्रित गर्न मद्दत गर्छ, जसले शरीर र मन दुवैमा स्थिरता ल्याउँछ।

कुशे औंसी केवल धार्मिक पर्व होइन, यसले परिवारलाई एकताबद्ध बनाउँछ, नयाँ पुस्तालाई संस्कार र सामाजिक मूल्य सिकाउँछ। पिताको योगदान र त्याग सम्झाउन मद्दत गर्छ। यसले सन्तानमा पितृ ऋणको महसुस गराउँछ र जीवनभर पिताप्रति श्रद्धा र सेवा गर्न प्रेरणा दिन्छ।

सांस्कृतिक दृष्टिले, कुशे औंसीले टाढा-टाढा रहेका सन्तानलाई आफ्ना पितासँग जोड्छ। विद्यालय, कलेज वा विदेशमा रहेका युवाहरू पनि यस दिन घर फर्कन्छन्, जसले परिवारिक सम्बन्ध मजबुत बनाउँछ। सामाजिक दृष्टिले, यस पर्वले समुदायमा एकता र सहयोगको भावना विकास गर्छ।

वैज्ञानिक दृष्टिले पनि यस पर्वको महत्व कम छैन। पितासँग समय बिताउँदा मानसिक स्वास्थ्यमा सुधार हुन्छ, पारिवारिक सम्बन्ध सुदृढ हुन्छ र भावनात्मक स्थिरता बढ्छ। कुशको प्रयोग, पवित्र स्थानमा अनुष्ठान र ध्यानले शरीर र मस्तिष्क दुवैमा सकारात्मक प्रभाव पार्छ।

पिताको सेवा र सम्मान गर्नु जीवनको एक गहिरो दार्शनिक अभ्यास हो। यसले सन्तानलाई जीवनका नैतिक, आध्यात्मिक र सामाजिक मूल्य सिकाउँछ। कुशे औंसीले पिताको त्याग, परिश्रम र जीवनभरको योगदानलाई स्मरण गराउँछ। यसले पितालाई भगवानको रूपमा हेर्ने सनातन धर्मको मूल भावनालाई जीवन्त राख्छ।

अन्ततः, कुशे औंसी पिता-सन्तान सम्बन्धको गहिराइ, पितृ ऋणको बन्धन, धार्मिक पुण्य, मानसिक स्थिरता, सामाजिक संरचना र आधुनिक वैज्ञानिक दृष्टिकोणलाई सँगसँगै जोड्ने पर्व हो। यसले पिताको सम्मान, सेवा र आशीर्वाद प्राप्त गर्नु जीवनको सर्वोच्च पुण्य हो भन्ने सन्देश दिन्छ।

उद्योग वाणिज्य कप फुटसलको उपाधि निर्माण व्यवसायीलाई

दमक/ दमकमा भएको ‘तेस्रो उद्योग वाणिज्य कप २०८२’ को उपाधि निर्माण व्यवसायी संघले हात पारेको छ ।  गत बर्षको दोश्रो उद्योग वाणिज्य कप होटल व्यवसायी संघले जितेको थियो ।
दमक उद्योग बाणिज्य संघले आफ्नो ३५ औँ वार्षिक उत्सव र स्थापना दिवसको अवसरमा आयोजना गरेको अन्तर वस्तुगत संघ फुटसल प्रतियोगिताको सो उपाधिसँगै विजेताले नगद ३३ हजार तीन सय ३३, ट्रफी, मेडल र प्रमाणपत्र हात पारेको छ ।

त्यस्तै, उपविजेता बनेको मोबाइल व्यवसायी संघले नगद २२ हजार दुई सय २२ सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ ।
गत बिहीबार र शुक्रबार सञ्चालित सो प्रतियोगिताको अनुशासित टिम फर्निचर तथा फर्निसिङ व्यवसायी संघ घोषित भयो ।
प्रतियोगिताको उत्कृष्ट खेलाडी निर्माण व्यवसायी संघका लेलेन सुब्बा, उत्कृष्ट गोलकिपर निर्माण व्यवसायीतर्फकै दिपेन थापा, हाई स्कोरर मोबाइल व्यवसायी संघका शरण राई घोषित भए ।
विधागत उत्कृष्ट खेलाडीलाईसमेत नगदसहित पुरस्कृत गरिएको दमक उद्योग वाणिज्य संघका कार्य समिति सदस्य एवम् खेलकुद उप समिति संयोजक तुलसीराम तिम्सिनाले जानकारी दिनु भयो ।

प्रतियोगितामा सहभागी अन्य वस्तुगत संघतर्फ जुत्ता चप्पल व्यवसायी संघ, स्वास्थ्य व्यवसायी संघ, रेडिमेट कपडा व्यवसायी संघ, किराना तथा खाद्यान्न व्यवसायी संघ, होटल व्यवसायी संघ, सुनचाँदी व्यवसायी संघ र अटोमोबाइल व्यवसायी संघ रहेका थिए ।
समापन समारोहको प्रमुख अतिथि तथा संघका पूर्व अध्यक्ष विजयप्रसाद बराल रहनु भएको थियो ।  उहाँले व्यवसायीहरुबीचको खेलकुदमैत्री वातावरणको प्रशंसा गर्नुभयो ।

संघका अध्यक्ष गोपाल गुराँगाईले व्यवसायीहरूलाई रिफ्रेस गराउँदै व्यवस्तताका बाबजुद स्वास्थ्यका लागि खेलकुदमा सहभागी हुने वातावरण सिर्जना गराउन र व्यवसायीहरुबीच मित्रवत सम्बन्ध बढाउन यो प्रतियोगिताले महत्वपूर्ण भुमिका खेलेको उल्लेख गर्नु भयो ।
नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रिय सदस्य समेत रहनु भएका दमक उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष गोकूल श्रेष्ठ फुटसल प्रति पछिल्लो समय क्रेज बढिरहेको बताउनु हुन्छ । उहाँले व्यवसायीहरुबीचको आपसी सम्बन्धलार्य यसले थप मजबुत बनाएकोमा आफू विश्वस्त रहेको प्रतिक्रिया दिनु भयो ।

अनेमसंघ झापाले दमकमा मनायो तिज विशेष कार्यक्रम

झापा/ नेकपा एमालेको जनवर्गीय संगठन अखिल नेपाल महिला संघ झापाले शुक्रबार दमकमा बृहत तिज बिशेष कार्यक्रम सम्पन्न गरेको छ । अखिल नेपाल महिला संघकी केन्द्रिय उपाध्यक्ष मेनुका काफ्लेको प्रमुख आतिथ्य र संघकी झापा जिल्ला अध्यक्ष लीला ढुंगेल दाहालको अध्यक्षतामा भएको कार्यक्रमा कोशी प्रदेशका मुख्यमन्त्री समेत रहेका एमाले स्थायी कमिटी सदस्य हिक्मत कार्कीले अखिल नेपाल महिला संघ नेपाली महिलाहरुको अग्रणी संगठन रहेको बताउनु भयो ।
उहाँले नेकपा एमालेको दर्विलो संगठन मध्येको अनेमसंघ रहेको भन्दै आगामी २०८४ को निर्वाचनपछि एमालेको एकल बहुमतको सरकार बनाउने गरि सशक्त भएर काम गर्न महिला नेता कार्यकर्ताहरुलाई आग्रह गर्नुभयो ।
कार्यक्रमका पार्टीका केन्द्रिय सदस्य तथा झापा जिल्ला ईन्चार्ज रोमनाथ ओलीले पछिल्लो समय महिला दिदीबहिनीहरुले मौलिक तीज पर्वलाई भड्किलो बनाउँदै लगेको भन्दै यसलाई नेपाली सांस्कृतिक परम्परा अनुसारनै मनाउनु पर्ने बताउनु भयो ।
कार्यक्रमका वक्ताहरुले तिज पर्व नेपाली महिलाहरुको बिशेष पर्व रहेको भन्दै यो पर्वको महिला आन्दोलनमा समेत महत्वपुर्ण योगदान रहेको उल्लेख गरे ।
कार्यक्रममा जिल्लाका १५ वटै पालिकाबाट अनेमसंघमा आवद्ध महिला कार्यकर्ताहरुका साथै स्थानीयहरुले तिज पर्वको शुभकामना आदनप्रदान गर्दै सांगितिक मनोरञ्जनमा सहभागिता जनाएका थिए ।