चिनियाँ विदेशमन्त्री वाङ यीको भारत भ्रमणका क्रममा भारत र चीनबीच लिपुलेक पास हुँदै सीमा व्यापार पुनः सुरु गर्ने सहमति भएको छ ।
मंगलबार नयाँ दिल्लीमा चिनियाँ विदेशमन्त्री यी र भारतीय विदेशमन्त्री एस जयशंकरबीच सम्पन्न उच्चस्तरीय वार्तापछि जारी १२ बुँदे संयुक्त विज्ञप्तिमा यसबारे सहमति सार्वजनिक गरिएको हो ।
विज्ञप्तिको ९ औं बुँदामा भनिएको छ, ‘दुवै पक्षले तोकिएका तीन नाकाहरू, लिपुलेक पास, शिप्कीला पास र नाथुला पास मार्फत सीमानापार व्यापार पुनः सुरु गर्न सहमत भएका छन् ।’
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको कार्यकालमा लगाइएको उच्च ट्यारिफपछि उत्पन्न व्यापारिक दबाबका बीच भएको यो सहमति भारत–चीनबीच गलवान उपत्यकाको झडपपछि दोस्रोपटक भएको उच्चस्तरीय वार्तामा भएको हो ।
लिपुलेक पास नेपालको संवेदनशील क्षेत्रका रूपमा चिनिन्छ । भारत–चीनबीच यसअघि सन् २०१५ मा पनि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको चीन भ्रमणका क्रममा लिपुलेक मार्ग प्रयोग गर्ने सहमति भएको थियो, जसमा नेपाललाई जानकारी नगराइ निर्णय गरिएको भन्दै नेपालले कडा आपत्ति जनाएको थियो ।
नेपालले तत्कालीन अवस्थामा उक्त सहमतिलाई अस्वीकार्य भन्दै परराष्ट्र मन्त्रालयमार्फत चीन र भारत दुवैलाई कूटनीतिक नोट पठाएको थियो ।
लिपुलेक नेपाल, भारत र चीनको त्रिदेशीय सीमा नजिकको क्षेत्र हो । नेपालले लिपुलेकसहित लिम्पियाधुरा र कालापानी क्षेत्रलाई आफ्नो भूमि ठहर गर्दै २०७७ मा संविधान संशोधनमार्फत नयाँ नक्सा सार्वजनिक गरिसकेको छ ।