झापामा ९२ जना थुनुवा फरार, दमकबाट मात्रै ५१ जना भागेको तथ्याङक सार्वजनिक

दमक/ भाद्र २४ गते भएको जेन–जीको आन्दोलनका क्रममा झापामा विभिन्न अपराधमा प्रहरी हिरासतमा रहेका जम्मा ९२ जना थुनुवाहरुलाई बाहिर भगाएको तथ्याङक सार्वजनिक भएको छ ।
जिल्ला प्रहरी कार्यालय झापाका अनुसार सबैभन्दा धेरै इलाका प्रहरी कार्यालय दमकमा रहेका थुनुव भागेका छन् । प्रहरीका अनुसार जघन्य , गम्भिर प्रकृतिाका र अन्य विभिन्न अपराधमा अनुसन्धानका   सिलसिलामा प्रहरी नियन्त्रणमा रहेका इलाका प्रहरी कार्यालय दमकबाट ५१ जना , इलाका प्रहरी कार्यालय अनारमनीबाट ३६ जना र इलाका प्रहरी कार्यालय झिलझिलेबाट ५ जना थुनुवाहरु भागेका हुन्  ।

आन्दोलनकारीहरुले इलका प्रहरी कार्यालय दमकमा पसेर प्रहरीमाथिनै आक्रमण गर्दै हातहतियार खोसेपछि थुनुवाहरु भगाएका थिए । दमकबाट खोसिएका हतियारहरु बुधबार प्रहरीलाई फिर्ता गरिएपनि फरार भएका थुनुवाहरु सम्पर्कमा आएका छैनन् । आपराधिक क्रियाकलापमा संलग्नहरु बाहिर निस्किएर भागेसँगै दमक र आसपास क्षेत्रमा सुरक्षा चुनौती थप बढेको छ ।

कर्फ्यू तोड्दै दमकका यि चार ठाउँमा भयो आगजनी, जताततै धुँवाको मुस्लो

दमक/ प्रधानमन्त्री केपी शर्मा ओलीले २०७९ सालको चुनावको सन्मुख देखि बस्दै आएको दमक ९ शान्ति मार्गमा रहेको ओलीको घरमा प्रदर्शनकारीहरुले आगजनी गरेका छन् ।
हिजो तोडफोडको प्रयास गर्दा प्रहरीले रोकेको सो ठाउँमा आज कर्फयू आदेशको बाबजुद सयौंको संख्यामा पुगेका प्रदर्शन आफ्नो दमकमा रहेको ओलीको घरसहित दमकका चार ठाउँमा आगजनी गरेका हुन् ।
प्रदर्शनकारीहरुले आज पनि दमक नगरपालिका परिसरमा छिरेर त्यहाँ रहेको एउटा एम्बुलेन्ससहित नगरपालिका कार्यालय भित्रका कागजातहरु बाहिर निकाल्दै त्यहाँको संरचनाहरु लक्षित गरेर आगजनी गर्दा धुँवाको मुस्लो टाढा टाढा सम्म फैलिएको छ । त्यसैगरी प्रदर्शनकारीहरुले दमक ५ क्याम्पसमोड नजिकै रहेको नेपाली कांग्रेसको पार्टी कार्यालयमा र दमक ९ स्थित नेकपा एमालेको पार्टी कार्यालयमा पनि आगजनी गरेका छन् । प्रदर्शनकारीहरु एकपछि अर्को गर्दै आगजनी र तोडफोडमा उत्रिएपछि दमकको स्थिती तनावग्रस्त बनेको छ । आन्दोलनमा ससाना बालबालिकाहरु पनि देखिएका छन् ।

झापामा प्रहरीद्धारा नियन्त्रणमा लिइएका आन्दोलनकारीहरुको विवरण

प्रहरीले सार्वजजिक गर्यो झापाका १२ जना आन्दोलनकारी घाईतेको विवरण

दमक/ सरकार विरुद्धको आन्दोलनलाई नियन्त्रणमा लिने क्रममा सुरक्षाकर्मीले चलाएको गोली , अश्रुग्याँस , लाठी चार्ज लगायतका कारण झापामा घाईते भएका आन्दोलनकारीहरुको विवरण प्रहरीले सार्वजनिक गरेको छ ।
सोमबार दमक, विर्तामोड लगायतका ठाउँमा भएको प्रदर्शनका क्रममा भएका घाईतेहरु र धरपकडको विवरण मंगलबार बिहान जिल्ला प्रहरी कार्यालय झापाले सार्वजनिक गरेको हो ।
सञ्चारमाध्यमहरुलाई जिल्ला प्रहरी कार्यालय झापाले उपलब्ध गराएको विवरण अनुसार आन्दोलनकारी तर्फ १२ जना घाईते भएका छन् । ति मध्ये अधिकांश दमकमा भएको प्रदर्शनकारीहरु हुन् ।
 

घाईतेहरुको विवरण
(१) कमल गापा–५ बस्ने बर्ष ३० का प्रकाश भट्टराई– बाया खुट्टाको फिलामा चोट,
दमक स्पताल दमकमा सामान्य उपचार पश्चात थप उपचारको लागि विएण्डसी अस्पताल बिर्तामोडमा ।
२. दमक –३ बस्ने बर्ष २० का भुपेन्द्र खडका, अनुहार र घाटीमा चोट, अवस्था बोल्न सक्ने मध्यम, लाईफ लाईन अस्पताल दमकमा सामान्य उपचार पश्चात थप उपचारको लागि घोपा धरान पठाइएको
३.जिल्ला झापा गौरीगञ्ज गापा –१  बर्ष २० का सागर हेमरम अनुहार, छातीमा चोट, बोल्न सक्ने मध्यम, लाईफ लाईन अस्पताल दमकमा सामान्य उपचार पश्चात थप उपचारको लागि विर्तामोड ।
दमक – १ बस्ने १८ बर्षीय अभिसेक चेम्जोङ, अनुहारमा चोट, अवस्था सामान्य, लाईफ लाईन अस्पताल दमकमा सामान्य उपचार पश्चात थप उपचारको लागि विर्तामोड ।
५. मोरङ उर्लाबारी –४ का १९ बर्षीय प्रयुस चौहान, दाहिने हात खुट्टा छातीमा चोट, अवस्था सामान्य, लाईफ लाईन अस्पताल दमकमा उपचारपछि नोबेल अस्पताल बिराटनगरमा ।
६.शिवसताषी नपा–११ का बर्ष १८ को युनिस दाहाल, दाहिने कान घाटीमा चोट, अवस्था सामान्य, लाईफ लाईन अस्पताल दमकमा उपचार हुँदै, नोबेल अस्पताल बिराटनगर लगेको ।
७ ईलाम चुलाचुली गापा–३ बस्ने बर्ष २४ को साईन राई, दाहिने खुट्टामा चोट, अवस्था सामान्य, लाईफ लाईन अस्पताल दमकमा उपचाररत ।
८ कमल गापा–५ बस्ने बर्ष १९ को अविनाश राई, दुवै हात खुट्टामा चोट, अवस्था सामान्य, लाईफ लाईन अस्पताल दमकमा उपचार हुँदै, नोवेल अस्पताल बिराटनगरमा ।
९. दमक नपा–१० बस्ने नरेन्द्र रिमालको छोरा बर्ष १७ को औसन रिमाल, बाया हातको पाखुरामा चोट, अवस्था मध्यम, लाईफ लाईन अस्पताल दमकमा सामान्य उपचार पश्चात थप उपचारको लागि बिर्तामोड ।
१०. दमक नपा–७ बस्ने बर्ष १८ को रोयल रिजाल, दुवै खुट्टामा चोट, बोल्न सक्ने सामान्य, लाईफ लाईन अस्पताल दमकमा उपचार हुँदै ।
११. विर्तामोडमा झापा बिर्तामोड नपा–५ बस्ने बर्ष अ. ३३ को प्रदिप खरेल दाहिने खुट्टामा चोट, विएण्डसीमा –अबस्था सामान्य ।
१२. विर्तामोडमा १६ बर्षिय संदेश गिरी अश्रूग्याँसको धुवाले घाईते, बिर्तासिटी अस्पतालमा, अबस्था सामान्य ।

दमकमा शुरु भयो कर्फ्यू, प्रधानमन्त्री ओलीको घर र एमाले पार्टी कार्यालयमा तोडफोड

दमक/ झापाको दमकमा आज सोमबार राती १० बजेदेखि मंगलबार बिहान ५ बजेसम्मका लागि कर्फ्यूआदेश जारी भएको छ ।
जिल्ला प्रशासन कार्यालय झापाले सूचना निकालेर दमकमा पूर्व तर्फ एशियन हाइवेमा रहेको रतुवा पूल, पश्चीममा डिपो, उत्तरमा फाल्गुनन्द चोक र दक्षिणमा हाइवेबाट तीन किलोमिटर दुरी भित्र कर्फयू जारी गरेको हो ।
कर्फयू आदेश जारीसँगे ति क्षेत्रमा कसैलाई पनि भेला हुन, आवतजावत गर्न, सभा , जुलुश प्रदर्शन गर्न , बेठक र घेराउ गर्न नपाइने प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीद्धारा हस्ताक्षरित आदेशात्मक सूचनामा उल्लेख छ । सोमबार दिउँसो विशेष गरी दमकको आकाशे पूल आसपास क्षेत्रमा जम्मा भएका जेन–जी समुह समर्थित प्रदर्शनकारीहरुले सरकार र खासगरी प्रधानमन्त्री केपी शर्मा ओली विरुद्ध चर्का नाराबाजी सहित प्रदर्शन गरेका थिए ।
प्रदर्शनका क्रममा उनीहरुले दमक नगरपालिकाको प्रवेशद्धारमा तोडफोड गर्दै त्यहाँ रहेका केही मोटरसाइकलमा आगजनी पनि गरे । सो स्थितीलाई नियन्त्रणमा लिन भन्दै प्रहरीले गोली प्रहार गर्दै पटक पटक धरपकड र लाठी चार्ज गर्दा आन्दोलनले थप उग्र रुप लिएको हो । प्रदर्शनकारीहरु दमक नगरपालिका अगाडीको प्रदर्शन लगत्तै दमक ९ मा रहेको प्रधानमन्त्री केपी शर्मा ओलीको घर अगाडी पुगेका थिए । उनीहरुले त्यहाँ पनि प्रहरीको आँखा छल्दै घरमा ढुंगामुढा गरेका छन् । त्यस्तै दमक ९ मानै रहेको एमालेको नगर पार्टी कार्यालयमा समेत उनीहरुले ढुंगामुढा गरेर सामान्य तोडफोड मच्चाएका छन् । सो ठाउँमा समेत स्थितीलाई नियन्त्रणमा लिन प्रहरीले दुई राउण्ड हवाई फायरसँगै लाठी चार्ज गरेको थियो । विभिन्न ठाउँमा भएको घटनामा ११ जना प्रदर्शनकारीहरु घाईते भएका छन् । उनीहरु मध्ये एक जना सामान्य उपचारपछि घर फर्किएका र अन्य १० जना विएण्डसी अस्पताल र धरानस्थित घोपा क्याम्पमा उपचारका लागि लगिएका जनाइएको छ ।

दमकमा प्रदर्शन रोकिएन, माओवादी अध्यक्षसहित १० जना घाईते

दमकमा आज भएको सरकार विरुद्धको प्रदर्शन लम्बिएको छ । दमक चोकबाट नगरपालिका परिसर तर्फ अघि बढेका प्रदर्शनकारीहरुले नगरपालिकाको प्रवेशद्धारमा तोडफोड र मोटरसाइकलमा आगजनी गर्न थालेपछि सुरक्षाकर्मीहरुले स्थितीलाई नियन्त्रणमा लिन अश्रुग्याँस र गोली प्रहार गरे पनि स्थिती नियन्त्रणमा आउन सकेको छैन ।

मध्यान्ह १२ बजेपछि प्रदर्शनकारीहरुले उग्ररुपमा प्रदर्शन गर्न थालेपछि प्रतिवादमा अघि बढेको सुरक्षाकर्मीले स्थितीलाई नियन्त्रणमा लिन नसकेको प्रत्यक्षदर्शीहरुको भनाई छ । दिउँसो २ बजे सम्म पनि नगरपालिका गेट अगाडी र आसपास क्षेत्रमा प्रदर्शनकारीहरुको भिडभाड देखिएको छ ।  त्यहाँँ प्रदर्शनका क्रममा  करिब एक दर्जन प्रदर्शनकारी घाईते भएका अनुमान गरिएको छ । घाईतेहरु मध्ये नेकपा माओवादी केन्द्रका दमक नगर अध्यक्ष कूलबहादुर बस्नेत (रवि) समेत छन् । घाईतेहरुको विस्तृत विवरण आएको छैन । उनीहरुको दमक अस्पताल र लाइफलाइन अस्पतालमा उपचार भइरहेको छ ।

दमकको प्रदर्शनमा तोडफोड, सुरक्षाकर्मीको गोली प्रहारबाट प्रदर्शनकारी घाईते

दमक/ झापाको दमकमा जेएन जी समुहको विरोध प्रदर्शनका प्रदर्शनकारीहरु दमक नगरपालिकाको गेट अगाडी तोडफोड गर्दै भित्र प्रवेश गर्न खोजेपछि स्थिती तनावपूर्ण बनेको छ ।
दमकको आकाशे पूल र आसपासमा जम्मा भएका प्रदर्शनकारीहरुको समुह क्रमश नगरपालिका गेट भित्र प्रवेश गर्न खोजेपछि स्थिती तनावपूर्ण बनेको हो ।
प्रदर्शनकारीहरुले नगरपालिका अगाडी मोटरसाइकल आगजनी गरेका छन भने त्यहाँ जोडिएका सीसि क्यामेरा समेत तोडफोड गरेका छन ।

सुरक्षाकर्मीहरुले त्यहाँँ गोली प्रहार समेत गरेका प्रदर्शनकारीहरुले बताएका छन् । यद्यपी सुरक्षा निकायले यसबारे तत्काल केही बताउन चाहेको छैन । प्रत्यक्षदर्शीहरुका अनुसार सुरक्षाकर्मीहरुको  गोली प्रहारबाट एक जना प्रदर्शनकारी घाईते भएका छन् । घाईते कमल ५ का प्रकाश भट्टराई रहेको बताइएको छ ।  उनको दमक अस्पतालको आकस्मिक कक्षमा उपचार भइरहेको अस्पताल स्रोतले जनाएको छ ।

सोह्र श्राद्ध : पूर्वजप्रतिको श्रद्धा र संस्कृतिको निरन्तरता

सोह्र श्राद्ध वा पितृ पक्ष हिन्दू धर्म संस्कृतिमा एक अत्यन्तै महत्वपूर्ण संस्कार हो । यसलाई केवल धार्मिक परम्परा मात्र नभई आस्था, श्रद्धा र कर्तव्यबोधसँग जोडिएको जीवनशैलीका रूपमा पनि बुझिन्छ । प्रत्येक वर्ष आश्विन कृष्ण प्रतिपदादेखि सुरु हुने सोह्र श्राद्ध अर्थात् पितृ पक्ष आजदेखि सुरु भएको छ ।
यो संस्कारमा दिवंगत पितृहरूको सम्झनामा श्राद्ध, तर्पण, दान र पिण्डदान जस्ता धार्मिक कर्महरू गरिन्छन् । यसै अवधिलाई पितृ पक्ष भनिन्छ । जसलाई ‘महालय’ वा ‘सोह्र श्राद्ध’ नामले पनि चिनिन्छ । हिन्दू मान्यताअनुसार पितृ पक्षमा गरिएका श्रद्धा र कर्महरूले दिवंगत आत्मालाई शान्ति, तृप्ति र मोक्ष प्राप्त हुन्छ भन्ने विश्वास छ । परिवार र वंशजले पुण्य कमाउने, घरमा सुख समृद्धि आउने र जीवनमा शान्ति कायम हुने धार्मिक धारणा पाइन्छ ।
शास्त्रीय व्याख्याअनुसार श्राद्ध भन्नाले श्रद्धापूर्वक गरिएको धार्मिक कर्मलाई जनाउँछ । संस्कृत श्लोक “श्रद्धया यत् क्रियते तत् श्राद्धम्” अर्थात् श्रद्धासाथ गरिएको कर्म नै श्राद्ध हो भन्ने कुरा यस परम्पराको मूल आधार हो । यसको अर्थ पितृहरूको सम्झनामा गरिएको हरेक कर्मको जड श्रद्धा नै हो । तसर्थ सोह्र श्राद्धमा वंशजहरूले दिवंगत पितृहरूलाई सम्झने उनीहरूको योगदान र अस्तित्वप्रति कृतज्ञता व्यक्त गर्ने अवसर पाउँछन् । यसरी हेर्दा यो संस्कार जीवन र मृत्युबीचको सम्बन्ध बुझाउने गहिरो आध्यात्मिक अभ्यास पनि हो ।
श्राद्ध कर्ममा विभिन्न विधिहरू अवलम्बन गरिन्छन् । विशेषतः चामल, तिल, कुश, दूध र जल प्रयोग गरी तर्पण गरिन्छ । दिवंगत पितृहरूको नाममा पिण्डदान गरिन्छ जुन आत्माको तृप्तिको प्रतीक मानिन्छ । यसैगरी ब्राह्मणलाई भोजन गराइन्छ र दान दिइन्छ । यो परम्परा केवल धार्मिक विश्वासमा मात्र नभई सामाजिक दृष्टिले पनि गहिरो छ किनभने यसले दानशीलता, परोपकार र सामूहिक सद्भाव बढाउँछ । पितृ पक्षमा गरिएका दान र पुण्य कर्महरूले नकारात्मक ऊर्जा हटाउने घर परिवारलाई विपद्‌बाट जोगाउने र सकारात्मक फल दिने विश्वास गरिन्छ ।
सोह्र श्राद्धलाई समाजशास्त्रीय दृष्टिबाट पनि महत्त्वपूर्ण मानिन्छ । यो केवल व्यक्तिगत धार्मिक अनुष्ठान नभई सामूहिक परिवारिक संस्कार हो । यस समयमा परिवारका सबै सदस्यहरू एकै ठाउँमा भेला भएर दिवंगत पितृहरूको सम्झना गर्छन् । पुराना पुस्ताले नयाँ पुस्तालाई आफ्नो संस्कार, परम्परा र वंशको महत्व सम्झाउँछन् । यसरी यसले परिवारमा एकता, भावनात्मक नजिकता र संस्कृतिको संरक्षण गर्ने कार्य गर्दछ । वास्तवमा यो संस्कारले वंश निरन्तरता र सामूहिक जिम्मेवारीबोधलाई मजबुत बनाउँछ ।
आध्यात्मिक दृष्टिले पितृ पक्ष जीवन र मृत्युको गहिरो सत्यलाई सम्झाउने अवसर पनि हो । मानिसलाई मृत्यु अन्त्य होइन अर्को अस्तित्वको सुरुवात हो भन्ने धारणा यसले प्रस्ट पार्छ । जीवित व्यक्तिलाई आफ्ना कर्म, श्रद्धा र कर्तव्यप्रति सजग गराउँछ । पूर्वजप्रतिको कृतज्ञता व्यक्त गर्नु भनेको वर्तमान जीवनलाई नै धर्म, आस्था र नैतिकताको बाटोमा अघि बढाउने प्रेरणा हो । त्यसैले पितृ पक्षमा गरिने हरेक विधि केवल आत्मा सन्तुष्ट पार्ने कर्म नभई जीवितलाई पनि जीवन दर्शन सिकाउने माध्यम हो ।
यस संस्कारलाई सांस्कृतिक दृष्टिले पनि अत्यन्त महत्त्वपूर्ण मानिन्छ । पुस्तौंदेखि चलिआएको परम्परा निरन्तरता पाउँदै आएको छ जसले नेपाली समाजको सांस्कृतिक पहिचानलाई मजबुत बनाएको छ । आधुनिकतासँगै धेरै संस्कारहरू बिस्तारै हराउँदै गएको देखिए पनि पितृ पक्ष अझै पनि हिन्दू समाजमा उस्तै श्रद्धा र भव्यताका साथ मनाइन्छ । यसले परम्परागत मूल्य, सामाजिक एकता र पारिवारिक सम्बन्धलाई जीवित राख्ने महत्वपूर्ण भूमिका खेलेको छ ।
यसरी हेर्दा सोह्र श्राद्ध वा पितृ पक्ष केवल धार्मिक कर्म मात्र होइन पूर्वजप्रतिको श्रद्धा, परिवारप्रतिको आस्था, सामाजिक एकताको आधार र सांस्कृतिक निरन्तरताको प्रतीक हो । यो परम्पराले वर्तमानलाई अतीतसँग जोड्छ मृत्युपछि पनि आत्माको अस्तित्व रहने विश्वासलाई बल दिन्छ र जीवनलाई कर्तव्य, श्रद्धा र नैतिकताका मार्गमा अघि बढ्न प्रेरित गर्दछ । पितृ पक्ष मनाउनु भनेको दिवंगत आत्मालाई सम्झनु मात्र होइन आफ्नो जीवनलाई पनि धार्मिक, नैतिक र सांस्कृतिक दृष्टिले समृद्ध बनाउनु हो । (लेखक :– बोहोरा अर्थ सवाल साप्ताहिकका सम्पादक हुनुहुन्छ )

लागूऔषध मुद्धामा दमकका एक युवक कारागार चलान

दमक/ झापाको दमक २ का एक युवा लागूऔषध मुद्धामा कारागार चलान भएका छन् । सो ठाउँका २४ बर्षीय विजय धिमाललाई जिल्ला अदालत झापाले आइतबार कारागार चलानको आदेश दिएको हो । २०८१ साल जेठ १४ गतेको फैसलाले सो मुद्धामा धिमाललाई ५ बर्ष ९ महिना ४ दिनको कैद सजायँ र १० हजार बराबरको जरिवाना तोकेको थियो । सो पछि फरार सूचीमा रहेका धिमाललाई शनिबार इलाका प्रहरी कार्यालय दमकको टोलीले दमक ५ बाट पक्राउ गरि आज आइतबार झापा जिल्ला अदालतमा उपस्थित गराउँदा अदालतले कारागार चलानको आदेश दिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

डाँफे सामुदायिक साकोसको १८ औं साधारण सभा, पत्रकार भट्टराईसहित सदस्यहरुलाई सम्मान

दमक/ दमकमा मुख्य कार्यालय रहेको डाँफे सामुदायिक बचत तथा ऋण सहकारी संस्थाले इकाईगत रुपमा १८ औं बार्षिक साधारण सभा सम्पन्न गरेको छ ।
बिर्तामोड, धरमपुर, गौरादह, सुरुङ्गा, बुद्धशान्ति र मोरङको उर्लाबारीमा सेवा केन्द्र सञ्चालन गर्दै आएको संस्थाले ति सेवाकेन्द्र अन्तर्गतका ईकगत साधारण सभाहरु सम्पन्न गरी निर्णय एकीकृत तथा प्रमाणीकरण गरेर औपचारिक समापन गरेको हो । कस्मीक पाटी प्यालेसमा नेपाल वचत तथा ऋण सहकारी संघ नेफ्स्कुनका केन्द्रिय महासचिव घनश्याम अधिकारीको प्रमुख आतिथ्यमा भएको साधारणसभाको उदघाटन सत्रमा वक्ताहरुले मुलुकको आर्थिक क्षेत्रमा ठुलो योगदान गर्ने सहकारी क्षेत्रलाई ब्यवस्थित बनाउन राज्यले सकारात्मक भुमिका निर्वाह गर्नुपर्ने धारणा राखे ।


कार्यक्रममा झापा जिल्ला सहकारी संघका बरिष्ठ उपाध्यक्ष तथा मेची सहकारी संस्था दमकका अध्यक्ष नारायणप्रसाद भट्टराई , दमक उद्योग बाणिज्य संघका अध्यक्ष देवीप्रसाद गुरागाईं गोपाल लगायतले शुभकामना मन्तव्य राख्नु भएको थियो ।
साधारणसभामा संस्थाका अध्यक्ष तुलाराम न्यौपानेले वार्षिक प्रगति प्रतिबेदन प्रस्तुत गर्दै संस्थाले आर्थिक बर्ष २०८१/०८२ मा ९४ करोड ४३ लाख ५ हजार ६ सय ७६ बराबरको कुल कारोवार गरेको उल्लेख गर्नु भयो ।


संस्थाले सोही अवधिमा ९१ लाख ९७ हजार २ सय २१ रुपैयाँ खुद नाफा गरेको जनाइएको छ ।
सो अवसरमा संस्थाले हरेक बर्ष प्रदान गर्दै आएको डाँफे सामुदायिक साकोस पत्रकारिता पुरस्कार पत्रकार गिरिराज भट्टराईलाई प्रदान गरिएको छ ।
यस बर्षको डाँफे सामुदायिक साकोस उत्कृष्ट पत्रकारिता पुरस्कारबाट सप्तरङ्गी एफ.एम. दमकका प्रबन्ध निर्देशक समेत रहेका नेपाल प्रेस युनियन झापाका अध्यक्ष गिरिराज भट्टराईलाई सम्मान गरिएको हो । पत्रकार भट्टराईलाई कार्यक्रमका प्रमुख अतिथी अधिकारी , संस्थाका अध्यक्ष न्यौपानेसहितका व्यक्तित्वहरुले खादा, सम्मान पत्र र नगद सहित सम्मान गर्नुभएको थियो ।
डाँफे सामुदायिक साकोसका उपाध्यक्ष सन्तोष श्रेष्ठले स्वागत मन्तव्य राख्दै संस्थाले सदस्यमुखी थप कार्यक्रमहरु ल्याएको बताउनु भयो । संस्थाका सचिव लिलानाथ खनालले सञ्चालन गर्नुभएको सो कार्यक्रममा लोपोन्मुख सन्थाल जातीका महिलाहरुले मातृभाषाको गीतमा आकर्षक नृत्य प्रस्तुत गरेर मनोरञ्जन दिलाएका थिए । सो अवसरमा संस्थाले ज्येष्ठ शेयर सदस्य तथा विभिन्न बिधामा उत्कृष्ट कारोबार गर्ने सदस्यहरुलाई सम्मान समेत गरिएको थियो ।