मोडल सहकारीले १० रुपैयाँदेखि बचत लिने, ६ बर्षमै एकमुष्ट सयगुणा भुक्तानी

दमक / दमकमा सञ्चालित मोडल बचत तथा ऋण सहकारी संस्थाले १४ औं बार्षिक साधारण सभा शुक्रबार सम्पन्न गरेको छ ।
दमक उद्योग वाणिज्य संघको सभाकक्षमा आयोजित साधारण सभाको जिल्ला सहकारी संघ झापाका अध्यक्ष प्रेम प्रसाद कोइरालाले उदघाटन गर्दै सहकारी क्षेत्रलाई मर्यादित बनाउन सहकारीकर्मीहरु आफैं इमान्दार हुनुपर्ने सुझाउनु भयो । संस्थाका शेयर सदस्यहरुनै संस्थाको मालिक हुने भएकाले सहकारी संस्थालाई कुन ठाउँमा कसरी पुरयाउने भन्ने छिनोफानो सदस्यहरुमै निर्भर रहने उहाँको भनाई छ ।
संस्थाका अध्यक्ष भोला बरालको अध्यक्षतामा सञ्चालन भएको साधारण सभामा १६ जना उत्कृष्ट कारोबार गर्ने शेयर सदस्यहरुलाई सम्मान तथा पुरस्कार प्रदान गरिएको छ । त्यस्तै ज्येष्ठ सदस्य तर्फ २७ जनालाई सम्मान गरिएको छ ।
साधारण सभाको उदघाटन कार्यक्रममा संस्थाका अध्यक्ष बरालले बार्षिक प्रतिवेदन प्रस्तुत गर्दै संस्थाको बचत नीति अन्तर्गत न्यून बचत खातामा सदस्यहरुले १० रुपैयाँ देखि माथिको रकम जम्मा गर्न र फिर्ता लिन पाउने व्यवस्था रहेको स्मरण गराउनु भयो ।
साधारण बचत खातामा दैनिक ५० रुपैयाँ बचत गर्न सकिने जनाउँदै संस्थाले नारी बचत खाता, कर्मचारी बचत खाता, प्लान बचत खाता, विजनेश बचत खाता र बाल बचत खाता सञ्चालनमा रहेको प्रतिवेदनमा उल्लेख छ ।
संस्थाले १० बर्ष सम्मका बालबालिकाको नाममा खाता खोलेर १८ बर्ष उमेर पूरा भएपछि दैनिक १०० रुपैयाँ देखि २ लाख भन्दा माथि अधिकतमा रकम जम्मा गर्दा १२ प्रतिशत सम्म ब्याजदर उपलब्ध गराउने नीति लिएको छ । संस्थाले उपदान बचत खातामा रकम जम्मा गर्दा मासिक ५०० रुपैयाँ वा सो भन्दा बढी नियमित रुपले ६ बर्ष सम्म जम्मा गर्दा एकमुष्ठ दोब्बर ( सय गुणा भुक्तानी) दिने नीति लिएको जनाइएको छ ।
साधारण सभाको उदघाटन कार्यक्रममा जिल्ला सहकारी संघका लेखा समिति संयोजक चुडामणी ओझा, दमक उद्योग वाणिज्य संघका अध्यक्ष देवीप्रसाद गुरागाइँ ( गोपाल) दमक नगरपालिकाकी कार्यपालिका सदस्य ख्यामकुमारी परियार ( सरु) लगायतले शुभकामना मन्तव्य राख्दै सहकारी अभियानलाई उद्धेश्य र सिद्धान्त अनुरुप सार्थक रुपमा अघि बढाउनु पनेमा जोड दिनु भयो ।

सभामा संस्थाका लेखा समिति संयोजक विश्वेश्वर प्रसाद मिश्रले लेखा प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । संस्थाका दुवै प्रतिवेदन सभाको बन्द सत्रले सर्वसम्मत पारित गरेको संस्थाका सचिव दिपक बरालले जानकारी दिनु भयो ।

 

शिखा सहकारीको सञ्चालक समितिमा पुनः श्रेष्ठ, साधारण सभामा शेयर सदस्यहरुलाई प्रोत्साहन

दमक/ दमकस्थित शिखा बचत तथा ऋण सहकारी संस्थाको १४ औं वार्षिक साधारण सभाले पुनः तेजकुमार श्रेष्ठको अध्यक्षतामा आगामी चार बर्षे कार्यकालका लागि नेतृत्व चयन गरेको छ । बिहीबार दमक–६ स्थित पशुपति सेवा सदनमा सम्पन्न साधारण सभाले पुनः श्रेष्ठको अध्यक्षतामा सञ्चालक समिति चयन गरेको हो ।
जिल्ला सहकारी संघ झापाका अध्यक्ष प्रेमकुमार कोइरालाको प्रमुख आतिथ्यमा भएको साधारण सभाको उदघाटन कार्यक्रममा दमक ६ का वडाध्यक्ष टेकबहादुर थापा, संघका लेखा संयोजक चुडामणी ओझा, संघका सञ्चालक सदस्य तथा फागुनन्द सहकारी संस्थाका अध्यक्ष पदम लिम्बु लगायतले शुभकामना मन्तव्य राख्नु भएको थियो ।
सभामा संस्थाका अध्यक्ष श्रेष्ठले वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै सहकारीमार्फत बचत परिचालन, लगानी अभिवृद्धि तथा ग्रामीण विकासमा संयोजनकारी भूमिका निर्वाह गर्ने लक्ष्यसहित सहकारीलाई सुदृढीकरण गर्ने नीति लिइएको उल्लेख गर्नु भयो ।
लेखा समितिका संयोजक विवेक मैनालीले बार्षिक लेखा प्रतिवेदन प्रस्तुत गर्दै आर्थिक वर्ष २०८१८२ मा संस्थाको कुल खर्च ३ करोड ८२ लाख २४ हजार ६ सय ५१ रुपैयाँ ६८ पैसा, कुल आम्दानी ४ करोड ४ लाख ५५ हजार ४ सय २९ रुपैयाँ ३० पैसा र खुद नाफा १२ लाख १५ हजार ५ सय ६८ रुपैयाँ रहेको जानकारी दिनुभयो। यसै वर्षमा संस्थाको सेयर पुँजी ३ करोड ८ लाख ६६ हजार ५ सय रुपैयाँ पुगेको पनि जानकारी दिनु भयो ।
सभामा उत्कृष्ट कारोबारकर्ता ६८ जना, जेष्ठ सदस्य बचतकर्ता २८ जना तथा उत्कृष्ट बाल बचतकर्ता ४५ जना गरी जम्मा १४१ जनालाई दोसल्ला, प्रमाणपत्र, ब्याग र नगदसहित सम्मान गरिएको ब्यबस्थापक तुल्सी राजवंशीले जानकारी दिनु भयो ।
सभाको सञ्चालन संस्थाका सचिव तीर्थराज चाम्लिङ राईले गर्नुभएको थियो ।

 

एमालेको दोश्रो विधान महाधिवेशन शुरु हुँदै, यि प्रतिवेदनमाथि हुनेछ छलफल

काठमाडौं/ नेपाल कम्युनिस्ट पार्टी (एमाले) को दोस्रो विधान महाधिवेशन आजबाट सुरु हुँदैछ । गोदावरीस्थित सनराइज हलमा हुने यस महाधिवेशनको उद्घाटन पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले गर्ने कार्यक्रम रहेको छ । पार्टीको भावी दिशा र सांगठनिक सुदृढीकरणका लागि महत्वपूर्ण मानिएको यो महाधिवेशनको सम्पूर्ण तयारी पूरा भएको छ ।

महाधिवेशनको पूर्वसन्ध्यामा हिजो बसेको पार्टी सचिवालय बैठकले महाधिवेशनको कार्यतालिकालाई स्वीकृत गरिसकेको छ । उपमहासचिव प्रदीप ज्ञवालीका अनुसार, ४० मिनेटको उद्घाटन सत्रपछि महाधिवेशन दस्तावेज प्रस्तुतीकरणमा केन्द्रित हुनेछ ।

महाधिवेशनमा पार्टी अध्यक्ष ओलीले राजनीतिक प्रतिवेदन प्रस्तुत गर्नेछन्, जसले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय समसामयिक विषयवस्तु र पार्टीको दृष्टिकोणलाई समेट्नेछ । त्यसैगरी, पार्टीका उपाध्यक्ष, उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले विधान संशोधनसम्बन्धी प्रस्ताव पेस गर्नेछन्, जुन पार्टीको आन्तरिक संरचना र कार्यपद्धतिलाई थप गतिशील बनाउन केन्द्रित हुनेछ । महासचिव शंकर पोखरेलले सांगठनिक प्रतिवेदन प्रस्तुत गर्दै पार्टीको संगठनात्मक अवस्था र आगामी कार्ययोजनाबारे जानकारी गराउनेछन् ।

पार्टीभित्रको आन्तरिक लोकतन्त्रलाई सम्मान गर्दै स्थायी कमिटी सदस्य कर्ण थापाको फरक मतसहितको दस्तावेज पनि महाधिवेशनमा प्रस्तुत गरिने उपमहासचिव ज्ञवालीले जानकारी दिए। थापाले हिजो पार्टी कार्यालयमा आफ्नो फरक मतको दस्तावेज दर्ता गराएका थिए ।

महाधिवेशनमा केन्द्रीय अनुशासन आयोगका अध्यक्ष केशव बडाल, केन्द्रीय लेखा आयोगका अध्यक्ष डा. पुष्प कँडेल, केन्द्रीय निर्वाचन आयोगका अध्यक्ष डा. विजय सुब्बा र केन्द्रीय सल्लाहकार परिषद्का अध्यक्ष अमृतकुमार बोहोराले आ-आफ्ना निकायका प्रतिवेदनहरू प्रस्तुत गर्नेछन् । 

धरमपुर सहकारीको १६ औं साधारण सभा सम्पन्न

  शिवसताक्षी/  झापाको शिवसताक्षी नगरपालिका वडा नं १ धरमपुरमा सञ्चालित धरमपुर बचत तथा ऋण सहकारी संस्थाले १६ औं बार्षिक साधारण सभा सम्पन्न गरेको छ ।
सो संस्थाले बुधबार शिवसताक्षी १ का वडाध्यक्ष लक्ष्मीप्रसाद चेम्जोङको अध्यक्षतामा विभिन्न बिधामा संस्थाका उत्कृष्ट शेयर सदस्यहरु र एक जना पत्रकारलाई सम्मान गर्दै साधारण सभा सम्पन्न गरेको हो ।
संस्थाका सञ्चालक समिति अध्यक्ष कुमार शंकरको अध्यक्षतामा सञ्चालित सो साधारण सभामा पत्रकार अनिलदेव राई, शेयर सदस्यहरु भिमबहादुर थापा, फूलकुमारी चेम्जोङ , कुमारी लिम्बु, दिपक श्रेष्ठ, देवेन्द्र कुमार आङ्देम्बे र शान्ता खापुङ्गलाई सम्मान गरिएको हो ।

७ करोड  ७८ लाख रुपैयाँ भन्दा बढी  वासलात रहेको सो संस्थामा गत आर्थिक बर्ष २०८१/ ०८२ मा खुद बचत कूल १७ लाख ९१ हजार रुपैयाँ रहेको संस्थाका व्यवस्थापक विनोद ढकालले जानकारी दिनु भयो ।
कूल ४ सय ३२ जना शेयर सदस्य रहेको संस्थाको जगेडा कोषमा ८९ लाख ६७ हजार रुपैयाँ रहेको जनाइएको छ ।
साधारण सभामा वडा सदस्य नारायण प्रसाद रिजाल, संस्थाका संस्थापक अध्यक्ष सूर्यकिरण ढकाल, पूर्व अध्यक्ष दिपकुमार श्रेष्ठ लगायतको आतिथ्य रहेको थियो ।

साधारण सभामा संस्थाका उपाध्यक्ष चन्द्रकुमार खड्काले स्वागत मन्तव्य राख्नु भएको थियो भने साधारण सभाको संचालन संस्थाका सचिब नारदमणी रिमाल र ब्यवस्थापक बिनोद ढकालले गर्नु भएको थियो । संस्थामा हाल ५,५७,७१,३८२  बचत रहेको छ भने ७ करोड ७४ लाख रुपैयाँ ऋण लगानी रहेको जनाइएको छ ।

संस्थाले सदस्यहरुको मृत्यु संस्कारमा १० हजार देखि ३० हजार सम्म, क्यान्सर, मुटुको भल्भ फेर्न, मृगौला डायलसिस, श्ल्यक्रिया, पुर्ण पक्षघात उपचारको लागि १० हजार रुपैयाँ र दैबी प्रकोपमा १० हजार रुपैयाँ राहत प्रदान गर्दै आएको छ । त्यस्तै संस्थाले ८० बर्ष माथिका शेयर सदस्यहरुलाइ जेष्ठ भत्ता बार्षिक एक हजार रुपैयाँ एवं सुत्केरी तथा नवजात शिशु भेटघाट कार्यक्रम अन्तर्गत १० हजार रुपैयाँ प्रदान गर्दै आएको छ ।

 

प्राध्यापक संघ मोरङ क्याम्पसमा नवीन अधिकारी

विराटनगर/ त्रिवि प्राध्यापक संघ महेन्द्र मोरङ क्याम्पस विराटनगर एकाइ सभापतिमा नवीन अधिकारी चयन हुनुभएको छ । ११ सदस्यीय समितिको उपसभापतिमा डा. उपेन्द्र मेहता, सचिव इ. जयनाथ यादव, सहसचिव डा. राजेन्द्रप्रसाद चौधरी, कोषाध्यक्षमा डा. युवराज साहू रहनु भएको छ ।
सदस्यहरूमा बाबुराम बुढाथोकी, डा तुलसी निरौला, माधव रेग्मी, सीताराम चम्लागाईं, अर्जुन तामाङ र सूर्यनारायण यादव चयन हुनुभएको जनाइएको छ ।

नयाँ नेतृत्वका लागि आवश्यक ११ सदस्यहरूका लागि शुक्रबार निर्वाचन भएको थियो । सो निर्वाचनमा नेपाली कांग्रेस निकट नेपाल प्रजातन्त्रवादी प्राध्यापक संघका अधिकारी, मेहता, ई. यादव, चौधरी, साहू र चम्लागाईं छ सदस्यहरु विजयी भएका र बहुमत सदस्यहरुको आधारमा पदाधिकारी चयन गरिएको हो ।

अन्य सदस्यहरु नेकपा एमाले निकट प्रगतिशील प्राध्यापक संगठनबाट बुढाथोकी, निरौला र रेग्मी एवम् माओवादी निकट नेपाल राष्ट्रिय प्राध्यापक संगठनबाट तामाङ र यादव विजयी हुनुभयो ।
पदविभाजन पछि निर्वाचित पदाधिकारी तथा सदस्यहरुलाई निर्वाचन समितिका संयोजक प्रा.डा. देवेन्द्र अधिकारीले एक समारोहका बीच सोमबार प्रमाणपत्र वितरण गर्नुभयो ।

 

ब्रीज इन्टरनेशनलले दमकमा १८ औं शाखा खोल्यो

दमक/ ब्रीज इन्टरनेशनल एजुकेशनल कन्सल्टेन्सीले दमक–६ आफ्नो १८औं शाखा स्थापना गरेको छ । आइतबार कार्यक्रमबीच कोशी प्रदेश सभा सदस्य होमबहादुर थापाले सो कन्सल्टेन्सीको उदघाटन गर्नुभएको छ ।
थापाले विदेश अध्ययनमार्फत विद्यार्थीले सीप हासिल गरी त्यसलाई स्वदेशमै सदुपयोग गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले उचित परामर्श र तयारीसहित विदेश जानु विद्यार्थीको भविष्यका लागि महत्वपूर्ण हुने उल्लेख गर्नुभयो ।
संस्थाका सीइओ रुपेश थापाले दमक तथा आसपासका विद्यार्थीलाई गुणस्तरीय शैक्षिक परामर्श उपलब्ध गराउने उद्देश्यले शाखा विस्तार गरिएको जानकारी दिनुभयो ।
उहाँका अनुसार अस्ट्रेलिया, अमेरिका, क्यानडा, बेलायत, न्युजिल्याण्डलगायतका देशमा अध्ययनका लागि विद्यार्थी पठाउने क्रममा संस्थाले उच्चस्तरीय परामर्श र सहयोग गर्नेछ ।
विदेशस्थित शाखामार्फत नेपालबाट गएका विद्यार्थीलाई थप सहजता दिलाइने पनि थापाले बताउनुभयो । विशिष्ट अतिथि कमल गाउँपालिकाकी उपाध्यक्ष प्रमिला न्यौपाने तिवारीले विदेश अध्ययनसँगै विद्यार्थीले आफ्नो लक्ष्य र अवसरलाई सही ढंगले उपयोग गर्नुपर्ने धारणा राख्नुभयो। उदघाटन समारोहमा दमक उद्योग वाणिज्य सङ्घका अध्यक्ष गोपाल गुरागाई, विभिन्न राजनीतिक दलका प्रतिनिधि, शिक्षाविद, विद्यार्थीलगायतको उपस्थिति रहेको थियो ।

पानी जमेको खाडलमा महिलाको लाश भेटियो

झापा/ झापाको कचनकवल गाउँपालिका वडा नम्बर २ रतिबारीकी एक महिलाको शव खाल्डोमा डुबेको अवस्थामा फेला परेको छ ।
सो ठाउँकी उखारू राजवंशीकी श्रीमती ४६ बर्षिया उजारु राजवंशीको घर नजिकै झारु राजवंशीको खेतमा माटो निकाल्न खनेको गहिरो खाडलमा जमेको पानीमा डुबेको अवस्थामा भेटिएको हो ।
आइतबार बेलुकी करीब ५ बजे उनलाई डुबेर मृत्यु भएको अवस्थामा स्थानीयहरुले देखेर प्रहरीलाई जानकारी गराएका थिए । घटनाबारे जानकारी पाएको जिल्ला प्रहरी कार्यालय झापाबाट प्रहरी अधिकृत सहितको टोली त्यसतर्फ गएको थियो । सो टोलीले आवश्यक कानुनी प्रकृयाहरु पूरा गरेर शब पोष्टमार्टमको लागि प्रादेशिक अस्पताल भद्रपुर पठाएको छ । घटनाबारे थप अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

राष्ट्रपति पौडेलसँग एनप्याव्सनको टोली, शिक्षा विधेयकबारे विमर्श

काठमाडौं/  प्रतिनिधि सभामा पेस गर्न भनि अन्तिम चरणमा पुगेको विद्यालय शिक्षा विधेयकमा रहेका निजी क्षेत्रका विद्यालयलाई गैरनाफामुलक बनाउने व्यवस्थाबारे राष्ट्रपति रामचन्द्र पौडेलले जिज्ञासा राखेका छन् ।

विधेयकमा गरिएका निजी विद्यालया प्रावधानका  केही विषयहरु संशोधन गर्नु पर्ने मागसहित राष्ट्रिय निजी तथा आवासिय विद्यालय एसोसिएसन नेपाल ( नेसनल प्याबसन)का पदाधिकारीको टोलिले आइतबार राष्ट्रपति रामचन्द्र पौडेललाई भेटेर मागपत्र बुझाउने क्रममा उनले यस्तो जिज्ञासा राखेका हुन् ।

नेसनल प्याबसनकी अध्यक्ष गीता राणाको नेतृत्वमा राष्ट्रपति पौडेल समक्ष विधेयकमा संशोधन गरिनु पर्ने साँत बुँदे लिखित धारणा बुझाएको हो ।

आइतबार शीतल निवासमा भएको भेटमा नेसनल प्याब्सन पदाधिकारीले कम्पनीमा दर्ता भएका निजी विद्यालय गैरनाफामुलक बनाइनु पर्ने , समाजिक सुरक्षा कोष, दुई वर्षे पूर्वप्राथमिक तथा छात्राबृत्ति सम्बन्धी विधेयकमा गरिएको हालको व्यवस्था व्यवहारिक नरहेको भन्दै पुनर्विचार गर्न आवश्यक रहेकोबारे ध्यानाकर्षण गराएका थिए ।

सोही समयमा राष्ट्रपति पौडेलले राज्यको आर्थिक विकासमा निजी क्षेत्रको महत्वपूर्ण भूमिकाको सरहना गर्दै विद्यालय शिक्षा विधेयकमा निजी विद्यालयको सवाललमा अव्यवहारिक र अप्ठ्यारा विषयहरुको समाधान खोजेर मात्र विधेयक अगाडी बढाउनु पर्ने बताएका थिए ।

‘निजी विद्यालयहरु कम्पनीमा संचालन गर्ने भनेपछि गैरनाफामुलक भन्ने कुरा कहाबाट आयो ? कहाँबाट चलखेल भयो ?,’ राष्ट्रपति पौडेलले जिज्ञासा राखे,‘अहिलो धेरै कानून र विधेयक पास गर्नु पर्ने छ । धेरै असुन्तुष्टि पनि छन् ।’

‘शिक्षा विधेयकमा पनि धेरै पक्षको असुन्तुष्टि त छँदै छ । मलाई सबै कुरा थाह छ । यसकारण सरोकारवाला सबै पक्षसँग छलफल गर्नु । म कहाँ त अन्तिममा आउने न हो ।’

नेसनल प्याबसनकी अध्यक्ष राणाले कम्पनीमा दर्ता भई शिक्षा ऐन अन्र्तगत संचालनमा रहेका निजी लगानीका विद्यालयहरुले राज्यलाई बुझाउँदै आएको करका साथै सबै वर्गका निजी विद्यालयले विद्यार्थीलाई उपलब्ध गराउँदै आएको १० प्रतिशत छात्रावृत्तिलाई नै यथावत राखिनु पर्ने माग राखिन् ।

‘सरकारले निजी क्षेत्रका विद्यालयलाई विशिष्ट, क, ख, ग र घ गरि पाँच श्रेणीमा विभाजन गरेको छ। विद्यालयको वर्ग अनुसारै प्रत्येक वर्ष स्थानीय निकायबाट प्रमाणित गर्नु पर्ने कानूनी प्रवधान छ,’ अध्यक्ष राणाले भनिन्,‘विधेयकले ‘पूर्ण छात्रावृत्ति’ (जसमा स्कूलबस, पोशाक, पुस्तक तथा स्टेसनरी, आवास, भोजन आदि) भन्ने अव्यवहारिक व्यवस्था ल्याएको छ।’

उनले थपिन्,‘पूर्ण छात्रावृत्ति निजीले अभिभावकबाट शुल्क लिएरै दिने हो । यसकारण यसले सामान्य अभिभावकको थाप्लोमा आर्थिक भार थपिन्छ ।’

यसले निजीमा अध्ययन गर्ने निम्न आय भएको श्रमजिवी अभिभावकका बालबालिकाहरुले विद्याय छाड्नु पर्ने अवस्था आउने भएकोले पुर्ण छात्राबृत्ति भन्ने शब्द विधेयकबाट हटाइनु पर्ने नेसनल प्याबसनको माग रहेको उनको ठहर छ ।

समाजिका सुरक्षा कोषमा जोडिने सवाल पनि निजीको हकमा पेचिलो बनेको अध्यक्ष राणाको जिकिर छ ।विशष्टि र क वर्ग बाहेक अधिकाँस ख, ग  घ वर्गका विद्यालयहरु रहेका छन् । यस्ता विद्यालयहरुमा निम्न आय भएका अभिभावकका छोराछोरी पढ्ने , विद्यार्थी कम हुने, शुल्क पनि निम्न हुने र शिक्षकहरुको तलब तथा सेवासुविधा पनि कम हने भएकोले पुर्ण छात्राबृत्ति व्यवहारिक नभएको नेसनल प्याबसनको निष्कर्ष रहेको अध्यक्ष राणाले जनाइन् ।

यसैगरी विधेयकले गरेको २ वर्षे पूर्व–प्राथमिक व्यवस्था पनि अन्तराष्ट्रिय मान्यता विपरित रहेकोले ३ वर्षे नै कायम गरिनु पर्ने निजी विद्यालयको माग छ ।

‘विद्यालय शिक्षाको गुणस्तर अभिबृद्धिको मुख्य जड नै पूर्व– प्राथमिक शिक्षा हो । निजी विद्यालयहरुले तीन वर्षे पूर्वप्राथमिक शिक्षाकायम गरेकै करण नतिजा पनि उत्कृष्ट दिँदै आएको छ,’ अध्यक्ष राणाले भनिन्,‘यसकारण ५४ वर्ष पछि आउने विद्यालय शिक्षा विधेयकले विद्यालय शिक्षाको गुणस्तरमा पनि केन्द्रित हुनु पर्छ । ३ वर्षे पूर्व–प्राथमिक शिक्षा नै कायम गरिनु पर्छ ।’

नौ बर्ष सम्म अलपत्र सडक कालोपत्रे योजना : सर्वसाधारणले मन्त्रीसँग पोखे आक्रोश

दमक/  निर्माण थालिएको झण्डै एक दशक सम्म पनि झापाको साविक धरमपुर ९ – राना मिल –इन्द्रेणी चोक–कुञ्जीबारी सडक स्तरोन्नती (प्रिमियर प्रविधिको कालोपत्रे) योजना सम्बन्धित निकायको लापरवाहीको कारण अझै पुरा हुन सकेको छैन ।  १२ किलोमिटर  लामो सो सडक निर्माणको जिम्मेवारी पाएको नागार्जुन–निलगिरी जेभी काठमाडौंले चरम लापरवाही गर्दा सो क्षेत्रका सडक उपभोक्ता (सर्वसाधारण) आक्रोशित बनेका छन् ।

उनीहरुले आज सो योजनाका बिषयमा नियामक निकाय पूर्वाधार बिकास कार्यालय भद्रपुर झापाले आयोजना गरेको सार्वजनिक सुनुवाईमा उपस्थित कोशी प्रदेश सरकारका भौतिक पूर्वाधार तथा विकास मन्त्री भुपेन्द्र राईसहित विभागीय प्रमुखसँग सम्बन्धित निर्माण कम्पनीलाई कालोसूचीमा राखेर तत्काल कारवाहीको दायरामा ल्याउन माग गरे ।
शिवसताक्षी २ साविक धरमपुरको मंगलबारे बजार नजिकै सडक किनारमा आयोजित सो सार्वजनिक सुनुवाईमा उपभोक्ताहरुले निर्माणको जिम्मेवारी पाएको कम्पनीका सञ्चालक युवराज डाँगीले स्थानीय जनप्रतिनिधि र नियामक निकायका प्राविधिक कर्मचारी तथा कार्यालय प्रमुखलाई समेत वेवास्ता गरेर चुनौती दिँदै काम अलपत्र छाडेकोप्रति मन्त्री राईको ध्यानाकार्षण गराउँदै निर्माण कम्पनीलाई बचाउ गर्ने वा माफी दिने काम नगरी दण्डीत गर्नुपर्ने सुझाव राखेका थिए ।


सुनुवाइमा सहभागी करिब १० जना सर्वसाधारणले सो योजना अधुरो राखेर त्यस भेगका नागरिकहरुलाई उपेक्षा गर्ने काम सम्बन्धित निकायहरुले गरेको भनि कडा आपत्ति समेत जनाए । उनीहरुले सडक निर्माणको जिम्मेवारी पाएको कम्पनीलाई कुनै पनि हालतमा पुनः काम गर्ने प्रतिबद्धता जनाएकै भरमा योजनाको म्याद थप गर्न नहुने र सो योजना कार्यान्वयनमा भएको ढिलासुस्तीका कारण फिर्ता भएको बजेटको समेत क्षतिपूर्ति भराउनु पर्ने माग गरे ।
यस्तो छ योजनाको फेहरिस्त
मुलुक संघीय संरचनामा जानु अघिनै २०७३ साल मसिंर २१ गते सडक डिभिजन कार्यालय दमकसँग नागार्जुन निलगिरी जेभीले ७ करोड ९० लाख रुपैयाँको लागतमा ११ किलोमिटर ५ मिटर लामो सो सडक २०७५ जेठ २१ मा निर्माण सम्पन्न गर्ने गरि सम्झौता गरेको थियो ।
त्यसबीचमा योजना अलपत्र पार्दै सम्बन्धित निकायले छैठौं पटक सम्म निर्माण कम्पनीलाई सो योजना सक्ने म्याद थप गरिििदँदै गयो । पछिल्लो पटक थप भएको म्याद सकिएको पनि अहिले २ बर्ष ६ महिना वितिसकेको छ । यसबीचमा सो योजनाको निर्माण कम्पनीले ४ करोड ६८ लाख रुपैयाँ भुक्तानी लिइसकेको छ । सडकको करिब साढे ४ किलोमिटर खण्ड मात्रै कालोपत्रे भएको छ जुन कालोपत्रे भत्किएर जीर्ण भइसक्यो । योजनाको भौतिक प्रगति ६० प्रतिशत र वित्तीय प्रगति ५९ प्रतिशत मात्रै भएको छ । योजनामा आवश्यक बजेट पटक पटक सरकारले विनियोजना गरेको भएपनि निर्माण कम्पनीले काम नगर्दा बर्षेनी फिर्ता हुँदै गएको पाइन्छ । प्रिमियर प्रविधिको कालोपत्रे गर्नुपर्ने सो योजनास्थलमा पर्ने शिवसताक्षी २ का वडाध्यक्ष भिमबहादुर नेम्वाङले सो योजना सम्पन्न गर्न आवश्यक थप बजेटको सुनिश्चीतता गरेर योजना कार्यान्वयनमा आम उपभोक्ताहरुलाई विश्वस्त दिलाउन मन्त्रालय र विभागको ध्यानाकर्षण गराउनु भयो ।

किसान महासंघका निर्वाचितलाई प्रमाणपत्र वितरण

दमक/  नेपाली कांग्रेस सम्बद्ध नेपाल किसान महासंघ कोशी प्रदेशका नबनिर्वाचित पदाधिकारी र सदस्यहरूलाई प्रमाण पत्र वितरण तथा सपथ ग्रहण समारोह सम्पन्न भएको छ । शनिबार दमकमा कांग्रेस कोशी प्रदेश सहमहामन्त्री खड्ग फागोको प्रमुख आतिथ्यमा निर्वाचन समितिद्वारा प्रमाणपत्र वितरण तथा सफत ग्रहण कार्यक्रम सम्पन्न भएको हो । महासंघको प्रदेश अध्यक्षमा दमकका राजेन्द्र भट्टराई निर्वाचित हुनुभएको थियो ।
सो संगै महासंघको पहिलो बैठक समेत बसेको थियो । कार्यक्रममा दमक नगरपालिका उपमेयर समेत रहनु भएकी कांग्रेस कोशी प्रदेश सदस्य रेगिना भट्टराइ (प्रसाई )को विशिष्ट आतिथ्य रहेको थियो भने प्रदेश सदस्य चन्द्रा खड्का भट्टराई, प्रदेश सभा क्षेत्र खका सभापति रवि केसी, दमक नगर सभापति प्रकाश प्रसाई लगायतको आतिथ्य रहेको थियो । सो अवसरमा कोशी प्रदेशका १४ जिल्लाहरूको साङगठनिक स्थिति र चुनौतीसँगै आगामी कार्ययोजनाबारे पनि छलफल भएको थियो ।