मेची बोर्डिङका बिद्यार्थीलाई ट्राफिक नियमबारे सचेतना

दमक/ झापाको दमक ५ स्थित मेची सेकेण्ड्री बोर्डिक स्कूलमा साप्ताहिक रुपमा सञ्चालन गरिने अतिरिक्त क्रियाकलाप अन्तर्गत शुक्रबार पाँच सय बढी बिद्यार्थीहरुलाई सवारी दुर्घटना न्यूनिकरणका लागि ट्राफिक नियमको पालना सम्बन्धी सचेतनामुलक कार्यक्रम सम्पन्न भएको छ ।
बिद्यालयले इलाका ट्राफिक प्रहरी कार्यालय दमकसँगको सहकार्यमा बिद्यार्थीहरुलाई ट्राफिक नियमबारे जानकारीमुलक प्रशिक्षणसहित सडक दुर्घटनाबाट बच्ने उपायहरुबारे प्रशिक्षण दिएको हो ।
सो अवसरमा इलाका ट्राफिक प्रहरी कार्यालय दमकका इञ्चार्ज प्रहरी नायव निरिक्षक विजय राईसहित ट्राफिक प्रहरी टोलीले सडक दुर्घटनाका कारणहरु, दुर्घटना न्यूनिकरणका लागि समुदायको भुमिका, बिद्यार्थी र अभिभावकहरुले सार्वजनिक यातायात र निजी सवारी साधनको प्रयोग र यात्राका क्रममा अपनाउनु पर्ने सावधानीहरु लगायतका बिषयमा सहजिकरण गरिएको थियो ।

बिद्यालयका संस्थापक सञ्चालक एवं शैक्षिक सल्लाहकार खेमलाल पोखरेल, ट्राफिक प्रहरी प्रमुख राई, अभिभावकहरुको तर्फबाट पत्रकार बिष्णु पौडेलले त्यस किसिमका कार्यक्रमको आवश्यकता र महत्वबारे प्रष्टयाउँदै मानिसको जिवनमा सवारी दुर्घटनाको जोखिम सधै हुने र ज्यानै जाने सम्मका दुर्घटना हुने भएकाले यसबाट बच्ने एकमात्र उपाय ट्राफिक नियमको पालनानै भएकोमा जोड दिए । कार्यक्रमको सञ्चालन शिक्षक होमराज खतिवडाले गरेका थिए भने स्वागत मन्तव्य मेची बाल क्लबका अध्यक्ष बिदुर पौडेलले गरेका थिए ।
बिद्यालयका प्रिन्सीपल श्रवणकुमार पोखरेलले बालबालिकाहरुलाई साप्ताहिक रुपमा अतिरिक्त क्रियाकलापमा सहभागी गराउँदै समुदायसँग जोड्ने अभिप्रायले यस किसिमका कार्यक्रमहरु आयोजना गर्ने गरिएको बताएका छन् ।

 

दमकमा ख्रीष्टमस उत्सवको तयारी, यस्ता छन कार्यक्रमहरु

दमक/ इसाइ धर्मावलम्बीहरुको साझा संस्था दमक नगर इसाइ समाजले ख्रीष्टमस उत्सव २०८२ विशेष महत्वसाथ समुदाय केन्द्रित कार्यक्रमहरु गर्दै मनाउने भएको छ ।
समाजमा आवद्ध चर्च तथा मण्डलीहरुको सक्रिय सहभागीतामा इसाई धर्मावलम्बीका अतिरिक्त आम नागरिकहरुलाई लक्षित गर्दै सेवामुलक , आपसी सदभाव र एकता बलियो बनाउने किसिमका कार्यक्रमहरु गरिने आयोजक समितिले पत्रकार सम्मेलन मार्फत जानकारी दिएको छ ।
दमक नगर इसाइ समाजले आज बिहान आयोजना गरेको पत्रकार सम्मेलनमा जनाइए अनुसार दमक नगर इसाइ समाज स्थापनाको २९ औं बर्ष पुगेको छ । समाजका अध्यक्ष हेमन्त सुब्बाले समुदायप्रति प्रेम, सेवा र सदभाव अभिव्यक्त गर्ने उद्धेश्यले ख्रीष्टमस उत्सव २०८२ को आयोजना गरिएको बताए ।
कार्यक्रम सम्पन्न गर्न दमक नगर इसाइ समाजका पूर्व अध्यक्ष समेत रहेका पास्टर आकाश थुलुङ राईलाई कार्यक्रम संयोजकको जिम्मेवारी प्रदान गरिएको छ भने समाजमा आवद्ध चर्च तथा मण्डलीका अन्य पास्टरहरुलाई विभिन्न विभागीय जिम्मेवारीहरु तोकिएको छ । आयोजक समितिका अनुसार बडादिन ख्रीष्टमस शुभकामना आदनप्रदान कार्यक्रम पुष २ गते गोरखा डिपार्टमेन्टको प्राङगाण्मा सञ्चालन गरिनेछ ।
सो अवसरमा गीत, संगीत, नृत्य, ख्रीष्टमस सन्देशसहित लोकगायक सिताराम ताजपुरीयालाई सम्मान , परम्परागत नेपाली भेषभुषाको प्रदर्शनसँगै मानव शान्तीका लागि सामुहिक प्रार्थना गरिने कार्यक्रम संयोजक समेत रहेका दमक नगर इसाइ समाजका पूर्व अध्यक्ष आकाश थुलुङले जानकारी दिए ।
त्यस्तै पुष ४ गते दमक ५ स्थित नारायण गोपाल टोलमा निशुल्क दन्त शिविर सञ्चालन गरिनेछ । शिविरमा दन्त परीक्षण, परामर्श, आधारभूत उपचार, दन्त सफाई र दन्त स्वास्थ्य सेवा सम्बन्धि सचेतना कार्यक्रम सञ्चालन गरिनेछ । त्यसैगरी पुष २७ गते अघिल्ला बर्षहरु जस्तै कोशी प्रदेशस्तरीय अन्तर इसाइ समाज फुटसल प्रतियोगिता सञ्चालन गरिने आयोजकले जनाएको छ । प्रतियोगिताको विजेताले नगद ३५ हजार र उपविजेताले १५ हजार रुपैयाँ राशीको पुरस्कार जित्नेछन् । सो प्रतियोगितामा प्रदेशका १४ वटा टीमले भाग लिने संयोजक थुलुङले जानकारी दिए ।
पत्रकार सम्मेलनमा दमक नगर इसाइ समाजका सल्लाहकार राजकुमार राईसहित विशिष्ट व्यक्तित्वहरु सहभागी थिए । पत्रकार सम्मेलनको सञ्चालन समाजका सचिव पास्टर अजय पाठकले गरेका थिए ।

 

कांग्रेसबाट झापामा हारेका र पहुँचवालाहरुनै उम्मेदवार सिफारिस

दमक/  नेपाली कांग्रेसमा दोश्रो, तेस्रो पुस्ता मानिने नेताहरुले यसपटक पुस्तान्तरणको बहस चलाइरहँदा पार्टीका क्षेत्र र जिल्ला नेतृत्वले भने बर्षौदेखि पार्टीबाट उम्मेदवारको टिकट पाएर पनि चुनाव जित्न नसकिरहेकाहरुलाई उम्मेदवारका रुपमा दोहोरयाई तेहरयाई सिफारिस गरेका छन् ।
यस अघि २०७९ मा सांसद बनेर मन्त्री समेत भइसकेकाहरुको नाम पनि मापदण्ड विपरित उम्मेदवारको रुपमा सिफारिस भएको पाइन्छ ।
राष्टिय सभा सदस्यका रुपमा समेत प्रतिनिधित्व गर्दै आएकी नेतृ सरिता प्रसाइँ क्षेत्र नं २ मा प्रत्यक्ष तर्फ उम्मेदवार सिफारिस भएकी छिन् ।
उनीसँगै छत्रबहादुर गिरी र सजेश शिवाकोटीको पनि नाम प्रत्यक्ष तर्फ सिफारिस गरिएको छ ।
कांग्रेस झापाका सभापति समेत रहेका नेता देउमान थेवे आफ्नो निर्वाचन क्षेत्र झापा ४ बाट यसपटक पनि उम्मेदवार सिफारिस भएका छन् ।
सो क्षेत्रबाट २०७४ र २०७९ का दुवै निर्वाचनमा टिकट पाएका थेवेले चुनाव जित्न सकेनन् । त्यस अघिका चुनावमा सो क्षेत्रबाट कांग्रेस नेताहरु स्वर्गीय केशवकुमार बुढाथोकी र चक्रप्रसाद बास्तोला निर्वाचित भएर मन्त्री समेत भएका थिए ।
तर थेवे जिल्ला सभापतिको भुमिकामा रहेर पनि पराजित हुँदै आएका छन् । यसपटक पनि थेवे उम्मेदवार सिफारिस भएका छन् ।
उनीसँगै सो क्षेत्रबाट बैगुन्धुराका पुराना बासिन्दा हाल विराटनगर बस्दै आएका जिपी फाउण्डेशनका अध्यक्ष समेत रहेका उत्तम चौलागाइँ र धनमाया चिमरियाको नाम प्रत्यक्ष तर्फ सिफारिस भएको छ ।
कांग्रेस झापाले समानुपातिक तर्फ क्षेत्र नं ५ बाट दुई पटक सांसद बनिसकेकी नेतृ महेन्द्रकुमारी लिम्बुको नाम पुन समानुपातिक तर्फ सिफारिस गरेको छ ।
दमककी स्थायीबासिन्दा लिम्बु कांग्रेस केन्द्रिय सदस्य पनि हुन् । त्यस्ता उम्मेदवारहरु लिएर कांग्रेस चुनावमा जादा चुनावको परिणाम राम्रो आउन नसक्ने भन्दै कांग्रेस वृत्तमानै भित्र भित्रै चर्चा हुन थालेको छ ।
यस्तै कांग्रेस झापा ५ मा लगातार हारको इतिहास बनाइरहेका डा. खगेन्द्र पाण्डव अधिकारी पनि छैठौं नम्बरमा प्रत्यक्ष तर्फ उम्मेदवार सिफारिस भएका छन् । क्षेत्र नं ५ बाट नयाँ र युवा पुस्ताका नेताहरु, अइन्द्र केरुङ, मेदनी सिटौला,  महिला नेतृ मन्धरा चिमरिया पौडेलसँगै अधिकारीको पनि नाम सिफारिस भएको हो । २०७९ मा सम्पन्न स्थानीय तहको निर्वाचनमा निर्वाचित जनप्रतिनिधिहरूलाई उम्मेदवार सिफारिस गर्न नपाइने पार्टी केन्द्रको परिपत्र छ ।
पटक पटक पार्टीले दिएको अवसरलाई उपयोग गर्न सामथ्र्य नराख्ने नेताहरुलाई पहुँच र शक्तिको आडमा गुठगत राजनीतिलाई प्रश्रय दिँदै टिकट दिलाउने र लिने होडबाजीले कांग्रेसजनमा चिन्ता बढाउने विश्लेषण पनि हुन थालेको छ ।
विशेष गरी उम्मेदवारको सिफारिसका बिषयलाई लिएर मातहतका निकायलाई पार्टी केन्द्रले जारी गरेको परिपत्र र पछिल्लो समय कांग्रेस वृत्तमा चलेको पुस्ताहस्तान्तरण को भावना विपरित क्षेत्रीय समितिहरु र जिल्ला समिति समेतले उम्मेदवारहरुको सिफारिस गरेको पाइन्छ ।
परिपत्रमा प्रतिनिधि सभा क्षेत्रीय कार्यसमितिले योग्यता पुगेका आकांक्षीमध्येबाट प्रत्यक्ष तर्फ बढीमा ३ जनाको नाम सिफारिस गर्नुपर्ने र समावेशी सिद्धान्तलाई ध्यानमा राख्दै कम्तीमा एक महिलासहित बढीमा २ जनाको नाम समानुपातिकमा सिफारिस गर्नुपर्ने उल्लेख छ । सिफारिस गर्दा सर्वसम्मतिको प्रयास गर्ने र नभए बहुमतबाट निर्णय लिन परिपत्रमा निर्देशन गरिएको छ ।

पितृहरुको सम्झनामा अमेरिकाबाट आश्रममा सहयोग

दमक/ हाल अमेरिकामा बसोबास गर्दै आएका एक जोडीले आफ्ना पितृहरुको सम्झनामा दमकस्थित रत्न ज्येष्ठ आश्रममा खाद्यन्न र जाडोमा उपयोगी कपडाहरु सहयोग गरेका छन् ।
स्वर्गीय बुबा बिष्णु प्रसाद भट्टराईको पुण्य तिथीको दिन पारेर छोरी बिमला भट्टराई र ज्वाँई कृष्ण चापागाईंले स्वर्गीय आमा गङ्गा भट्टराई र स्वर्गीय भाईहरु लेखनाथ र तुलसी भट्टराईको समेत सम्झनामा करीब २४ हजार बराबरको सो सहयोग प्रदान गरेका हुन् ।
दमकस्थित रत्न ज्येष्ठ नागरिक वृद्दाश्रममा जाडोमा लगाउने लत्ता कपडा, मोजा जुत्ता, आश्रमका लागि आवश्यक चामल तेल, दाल साबुन ,सरफ , डिस वासिङ लिक्विड, हर्पिक, फिनेल प्रदान गरिएको हो । त्यस्तै आश्रममा आश्रित आमा बुबालाई खाना व्यवस्थापन गरिदिएका छन् ।

चपेटीका होटल ब्यवसायीहरु संगठित, मदन राईले लिए नेतृत्व

दमक/ ईलामको चुलाचुली गाउँपालिकामा पर्ने पूर्वकै चर्चित पर्यटकीयस्थल चपेटीका होटल ब्यवसायीहरु संगठित भएका छन् । चुलाचुली गाउँपालिका वडा नम्बर ५ स्थित चर्चित पर्यटकियस्थल चपेटीमा होटल ब्यवसाय सञ्चालन गर्दै आएका ब्यबसायीहरु संगठित भएका हुन ।
ब्यवसायीहरुको भेलाले मदन राईको अध्यक्षतामा सात सदस्यीय कार्य समिति सर्वसम्मत चयन गरेको हो । गठित समितिको उपाध्यक्षमा रमेश राई, सचिव अन्जिप राई, सह सचिव मौशम राई र कोषाध्यक्ष दिपेन्द्र राई चयन भएका छन् ।
त्यसैगरी सदस्यहरुमा प्रज्ञा राई र अजिता लिम्बु चयन भएका जनाइएको छ । पर्यटकिय क्षेत्रमा लामो समय देखी होटल ब्यवसाय सञ्चालन गर्दै आएका ब्यवसायीहरु ब्यवसायीक हकहित र एकताका लागि संगठित भएको अध्यक्ष राईले बताए । होटल ब्यवसायीको हक अधिकारका साथै ग्राहक तथा उपभोक्ताहरुको सहजतका लागि समेत संगठित भएको उनले बताए ।

 

झापामा उम्मेदवार सिफारिसले कांग्रेस भित्र हलचल, मापदण्ड पनि मिचियो, पुरानै अनुहारलाई प्राथमिकता

दमक/ नेपाली कांग्रेसले झापाको संघीय निर्वाचन क्षेत्रस्तरमा आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा र राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि गरेको उम्मेदवार सिफारिसले कांग्रेसवृत्तमा हलचल पैदा गराएको छ ।
विशेष गरी उम्मेदवारको सिफारिसका बिषयलाई लिएर मातहतका निकायलाई पार्टी केन्द्रले जारी गरेको परिपत्र र पछिल्लो समय कांग्रेस वृत्तमा चलेको पुस्ताहस्तान्तरण को भावना विपरित क्षेत्रीय समितिहरु र जिल्ला समिति समेतले उम्मेदवारहरुको सिफारिस गरेको पाइन्छ ।

परिपत्रमा प्रतिनिधि सभा क्षेत्रीय कार्यसमितिले योग्यता पुगेका आकांक्षीमध्येबाट प्रत्यक्ष तर्फ बढीमा ३ जनाको नाम सिफारिस गर्नुपर्ने र समावेशी सिद्धान्तलाई ध्यानमा राख्दै कम्तीमा एक महिलासहित बढीमा २ जनाको नाम समानुपातिकमा सिफारिस गर्नुपर्ने उल्लेख छ । सिफारिस गर्दा सर्वसम्मतिको प्रयास गर्ने र नभए बहुमतबाट निर्णय लिन परिपत्रमा निर्देशन गरिएको छ ।
उम्मेदवार सिफारिसका लागि पार्टी केन्द्रले तोकेको यो सर्कुलर विपरित कतिपय संघीय निर्वाचन क्षेत्रस्तरका समितिहरुले जिल्ला तहमा र जिल्ला तहले प्रदेश समितिमा उम्मेदवारको नाम सिफारिस गरेका पाइएको छ ।

क्षेत्रीय कार्यसमितिले जिल्लामा पठाएको सिफारिस मंसिर २६ गतेभित्र प्रदेशमा पठाइसक्नु पर्ने भएकाले २५ मसिंरमा नै जिल्ला समितिले कोशी प्रदेश समितिमा नाम सिफारिस गरेको हो । प्रदेश कार्यसमितिले मंसिर मसान्तभित्र केन्द्रमा नाम पठाइसक्नु पर्नेछ ।
कांग्रेसले उम्मेदवार चयनमा यसपटक २०७९ सालको निर्वाचनमा प्रतिनिधि सभा र प्रदेश सभामा समानुपातिक तर्फबाट निर्वाचित भएका व्यक्तिहरूलाई समानुपातिक तर्फको उम्मेदवार बन्न नपाउने गरिको व्यवस्था गरेपछि संसदीय फाँटमा आफूलाई स्थापित गर्दै गरेका पार्टी नेतृत्वहरु यसपटक उम्मेदवार बन्नबाट बञ्चीत छन् ।

यससँगै २०७९ को बन्दसूचीमा नाम समावेश भएका तर निर्वाचित नभएकाहरूलाई पनि यस पटक समानुपातिकमा सिफारिस नगर्ने, २०७९ मा सम्पन्न स्थानीय तहको निर्वाचनमा निर्वाचित जनप्रतिनिधिहरूलाई उम्मेदवार सिफारिस गर्न नपाइने, पार्टीको विधान अनुसार तोकिएको लेबी (सहयोग रकम) नबुझाउने व्यक्ति कुनै पनि तहको निर्वाचनमा उम्मेदवार हुन नपाउने, जातीय विभेद, घरेलु हिंसा जस्ता सामाजिक विसंगतिमा दोषी ठहरिएका व्यक्तिहरू उम्मेदवार बन्न अयोग्य हुने र एउटै व्यक्तिलाई प्रत्यक्ष, समानुपातिक र राष्ट्रिय सभा गरी एकभन्दा बढी पदमा सिफारिस गर्न नपाइने पनि परिपत्रमा स्पष्ट पारिएको छ ।

पुरानै अनुहारलाई प्राथमिकता

कांग्रेसमा दोश्रो, तेस्रो पुस्ता मानिने नेताहरुले यसपटक पुस्तान्तरणको बहस चलाइरहँदा पार्टीका क्षेत्रीय समितिहरुले भने बर्षौदेखि पार्टीबाट टिकट लिएर पनि चुनाव जित्न नसकिरहेकाहरुलाई उम्मेदवारका रुपमा दोहोरयाई तेहरयाई सिफारिस गरेका छन् भने यस अघि २०७९ मा सांसद बनेर मन्त्री समेत भइसकेकाहरुको नाम पनि मापदण्ड विपरित उम्मेदवारको रुपमा सिफारिस भएको पाइन्छ । राष्टिय सभा सदस्यका रुपमा समेत प्रतिनिधित्व गर्दै आएकी नेतृ सरिता प्रसाइँ क्षेत्र नं २ मा प्रत्यक्ष तर्फ उम्मेदवार सिफारिस भएकी छिन् । उनीसँगै छत्रबहादुर गिरी र सजेश शिवाकोटीको पनि नाम प्रत्यक्ष तर्फ सिफारिस गरिएको छ ।

कांग्रेस झापाका सभापति समेत रहेका नेता देउमान थेवे आफ्नो निर्वाचन क्षेत्र झापा ४ बाट यसपटक पनि उम्मेदवार सिफारिस भएका छन् ।
सो क्षेत्रबाट २०७४ र २०७९ का दुवै निर्वाचनमा टिकट पाएका थेवेले चुनाव जित्न सकेनन् । त्यस अघिका चुनावमा सो क्षेत्रबाट कांग्रेस नेताहरु स्वर्गीय केशवकुमार बुढाथोकी र चक्रप्रसाद बास्तोला निर्वाचित भएर मन्त्री समेत भएका थिए ।

तर थेवे जिल्ला सभापतिको भुमिकामा रहेर पनि पराजित हुँदै आएका छन् । यसपटक पनि थेवे उम्मेदवार सिफारिस भएका छन् । उनीसँगै सो क्षेत्रबाट बैगुन्धुराका पुराना बासिन्दा हाल विराटनगर बस्दै आएका जिपी फाउण्डेशनका अध्यक्ष समेत रहेका उत्तम चौलागाइँ र धनमाया चिमरियाको नाम प्रत्यक्ष तर्फ सिफारिस भएको छ । कांग्रेस झापाले समानुपातिक तर्फ क्षेत्र नं ५ बाट दुई पटक सांसद बनिसकेकी नेतृ महेन्द्रकुमारी लिम्बुको नाम पुन समानुपातिक तर्फ सिफारिस गरेको छ । दमककी स्थायीबासिन्दा लिम्बु कांग्रेस केन्द्रिय सदस्य पनि हुन् । त्यस्ता उम्मेदवारहरु लिएर कांग्रेस चुनावमा जादा चुनावको परिणाम राम्रो आउन नसक्ने भन्दै कांग्रेस वृत्तमानै भित्र भित्रै चर्चा हुन थालेको छ ।

क्षेत्र नं ५ बाट प्रत्यक्षमै सात जना सिफारिस
कांग्रेस झापा क्षेत्र नं ५ को क्षेत्रीय समितिले पार्टीले तोकेको मापदण्ड विपरित सात जना उम्मेदवारको नाम प्रत्यक्ष सिफारिस गरेको छ भने जिल्ला समितिले पनि सोही नामावली प्रदेश समितिमा पठाएको छ ।
तोकिएको अधिकतम तीन जना भन्दा धेरै उम्मेदवार सर्वसम्मत चयन हुन नसके निर्वाचनको विधिबाट भए पनि सिफारिस गर्नुपर्नेमा क्षेत्रीय समितिले सात जनाको नाम सिफारिस गरेको हो ।
क्षेत्रीय समितिले सिफारिस गरेका उम्मेदवारहरुको सूचीको पहिलो नम्बरमा अइन्द्र केरुङ , दोश्रोमा पदम पौडेल, तेस्रोमा मन्धरा चिमरिया पौडेल, चौथोमा मेदनी प्रसाद सिटौला , पाँचौमा देवीप्रसाद दाहाल, छैठौंमा डा.खगेन्द्र पाण्डव अधिकारी र सातौमा सेरोम कार्की रहेका छन् ।
सिफारिसमा परेकाहरु मध्ये केरुङ बिद्यार्थी राजनीतिबाट उदाएका युवा नेता हुन् । दमक १ का स्थायीबासिन्दा उनी दमक बहुमुखी क्याम्पसको स्ववियु सभापति भइसकेका छन भने पार्टीमा हाल महासमिति सदस्य छन् ।

त्यस्तै सिफारिसमा परेका सिटौला, नेविसंघ, नेपाल तरुण दल समेतको केन्द्रीय राजनीतिबाट पार्टी राजनीतिमा सक्रिय युवा नेता हुन् । दमक ९ का स्थायीबासिन्दा सिटौला पनि हाल पार्टीको महासमिति सदस्य छन् ।

प्रत्यक्ष तर्फ सिफारिसमा परेकी एक मात्र महिला उम्मेदवार चिमरिया (पौडेल) महिला नेतृ हुन् । पार्टी महासमिति सदस्य समेत रहेकी पौडेल लोकतान्त्रिक आन्दोलनसँगै महिला अधिकारको आन्दोलनमा सक्रिय र जुझारु नेतृ हुन् । उनी राष्ट्रिय महिला अधिकार मञ्चकी केन्द्रिय उपाध्यक्ष, जनचेतना महिला संघकी संस्थापक अध्यक्ष समेत हुन् । राजनीतिसँगै सामाजिक क्षेत्रमा क्रियाशील उनकै नेतृत्वमा दमकमा असहाय बालबालिकाहरुको संरक्षणका लागि बाल आश्रम समेत सञ्चालनमा छ ।

समानुपातिकमा झन धेरै
झापाको क्षेत्र नं ५ बाट समानुपातिक तर्फ पूर्व सांसद समेत कूल १३ जनाको नाम उम्मेदवार सिफारिस गरेको पाइएको छ ।
जिल्ला समितिले आज प्रदेश समितिमा सिफारिस गरेका क्षेत्र नं ५ का नामहरुको सूचीको पहिलो नम्बरमा पूर्व सांसद एवं नेतृ महेन्द्रकुमारी लिम्बुको छ ।
दमककी स्थायीबासिन्दा उनी कांग्रेसको निर्वाचित केन्द्रीय सदस्य र दुई पटक सम्म समानुपातिक कोटामा सांसद बनिसकेकी नेतृ हुन् ।
सो क्षेत्रबाट समानुपातिकमानै सुरेश सुब्बा, दिलिप राई, सत्यनारायण चौधरी, भुमिराज राई, चन्द्रा खड्का भट्टराई, कृष्णबहादुर धिमाल, रामकुमारी पौडेल, मेनुका बुढाथोकी, अम्बर बराईली, निरोज अग्रवाल, भिममाया उप्रेती र रोहितकुमार साह रहेका छन् ।

 

एमालेको सचिवमा दुई झापाली नेताको दाबी- दबाबमा ओली , यस्तो छ दाहालको पृष्ठभुमी

दमक/ नेकपा एमालेको आसन्न ११ औं महाधिवेशनमा पार्टी सचिवका लागि अध्यक्ष केपी शर्मा ओलीको गृह जिल्ला झापाबाटै दुई जनाले आफ्नो दाबेदारी कार्यकर्ताहरुमाझ प्रस्तुत गरेका छन् ।
एमाले पोलिटब्युरो सदस्य एवं पूर्वमन्त्री देवेन्द्र दाहाल र स्थायी कमिटी सदस्य एवं कोशी प्रदेशका बहालवाला मुख्यमन्त्री समेत रहेका हिक्मत कुमार कार्कीले सचिव पदमा आआफ्नो दाबी प्रस्तुत गरेका हुन् ।
अध्यक्ष ओलीको आफ्नै गृह जिल्ला त्यो पनि ओली आफैं प्रतिनिधि सभामा निर्वाचित हुँदै आएको भुगोल ( झापा क्षेत्र नं ५ ) बाट एकै पदमा दुई जना हाइप्रोफाइलले दाबी प्रस्तुत गरेसँगै ओलीमाथि दबाब सिर्जना भएको एमालेजनहरुले अड्कलबाजी गर्न थालेका छन् ।
भदौ २३ र २४ गतेको घटना अघिसम्म दाहाल नेपाल सरकारको भौतिक पूर्वाधार तथा यातायात मन्त्रीको रूपमा कार्यरत थिए । कुशल संगठकको रूपमा लामो समय जिल्ला राजनीतिमा बिताएका उनी पार्टी भित्रको र लाभको पद ढिलो मात्र पाउने नेताको रूपमा चिनिन्छन्। जीवनशैलीमा सरलता र कार्यशैलीमा दृढता उनको परिचायक पनि हो ।
को हुन् दाहाल ?
राजनीतिक क्षेत्रमा परिचित एमाले झापाको भुगोलमा बसेर पार्टीको जिल्ला कमिटी सचिवालय सदस्यदेखि सचिवका रुपमा झण्डै १५ बर्ष बिताएर केन्द्रिय राजनीतिमा अघि लम्किएका दाहालले यो क्षेत्रमा पार्टी अध्यक्ष ओलीको निर्वाचन क्षेत्रमा निर्वाचन परिचालन मूल कमिटी संयोजकका रुपमा पनि जिम्मेवारी निर्वाह गरेबाट उनी अध्यक्ष ओलीका विश्वास पात्र भएको बुझ्न गाह्रो छैन ।

पञ्चायती निरङ्कुशताको जगजगी भइरहेको बेला त्यसको विरुद्ध २०३६ सालमा उठेको विद्यार्थी आन्दोलनबाट प्रभावित भएर किशोरावस्था देखि नै कम्युनिस्ट पार्टीको राजनीतिमा उदाएका दाहाल २०४५ साल देखि तत्कालीन नेकपा मालेको झापा जिल्ला कमिटीमा आबद्ध भए भने सोही बेलादेखि २०५१ सालसम्म नेकपा मालेदेखि एमालेसम्मको जिल्ला कमिटी सचिवालयको जिम्मेवारीमा काम गरेका नेता हुन् ।
२०५१ देखि २०५३ सम्म जिल्ला उपसचिव रहेका दाहाल २०५३ जेठ २३ गते देखि २०६६ साल भदौ २७ गतेसम्म एमाले झापाको नेतृत्व सम्हालेका उनले लगातार करीब १३ वर्ष झापा एमालेको नेतृत्व गरिसकेका छन् ।
स्थानीय तहको निर्वाचन २०५४, २०५६ सालको आम निर्वाचनको कमाण्ड सम्हालेका उनको कमाण्डमा नै केपी शर्मा ओली, आरके मैनाली र सिपी मैनालीहरू झापा जिल्लाबाट निर्वाचित भएर सरकारको बागडोर सम्हाल्न सफल भए । तर दाहाल २०६४ सालको संविधानसभा निर्वाचनमा उम्मेद्वारमै सिमित भएका थिए ।
पार्टीको सङ्घीय संरचना बन्दा प्रदेश कमिटी सदस्य हुँदै २०७५ जेठ ३ पछि केन्द्रीय सदस्यको रूपमा उनले आफूलाई स्थापित गरे र २०७८ मङ्सिरमा चितवनमा भएको नेकपा एमालेका दशौं राष्ट्रिय महाधिवेशनबाट पार्टीको पोलिटब्युरो सदस्य निर्वाचित भएका थिए ।
पूर्णकालिन राजनीतिमा लागेका उनी राष्ट्रिय सभा सदस्यमा निर्वाचित हुँदै सोही सभामा दलको नेताका रुपमा रहेका दाहाल ०८१ असार ३१ देखि ०८२ भाद्र २४ सम्म भौतिक पूर्वाधार तथा यातायात मन्त्री बने । उनको छोटो मन्त्री कालमा समेत उल्लेखनीय कामका नतिजाहरू देखाउन सफल भएका निकटस्थ एमाले कार्यकर्ताहरुको बुझाई छ ।
राष्टिय सभाको सांसदको रूपमा ६ वर्षे कालकालको उत्तरार्धमा पुग्नु भएका दाहालको भूमिकालाई सशक्त रुपमा लिइन्छ । नेकपा एमालेको प्रमुख सचेतक हुँदै संसदीय दलको नेता तथा मन्त्री समेत भई सकेका नेता दाहालको अहिले पार्टीको सचिव पदको उम्मेदवारीलाई स्वभाविक रुपमा कार्यकर्ताहरुले लिदँै उनको पक्षमा खुलेर लागिरहेका बताइएको छ ।

 

अन्तराष्ट्रिय मानब अधिकार दिवशको सन्दर्भमा फलफुल बितरण

 महिला भलिबलको उपाधि पुलिसलाई

बिर्तामोड/  नेपाल पुलिस क्लब झापामा सम्पन्न अर्जुनधारा खुला महिला भलिबल प्रतियोगिताको च्याम्पियन बनेको छ । आज भएको फाइनल प्रतिस्पर्धामा अर्को विभागीय टोली सशस्त्र प्रहरीको एपिएफ क्लबलाई हराउँदै पुलिसले उपाधि उचालेको हो ।
प्रतिस्पर्धात्मक खेलमा पुलिसले एपिएफलाई ३–१ को सेटमा पराजित गर्दै उपाधि उचालेको हो । उपाधिसँगै पुलिसले नगद दुई लाख, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । उपविजेतामा सीमित एपिएफले नगद एक लाख, ट्रफी, मेडल र प्रमाणपत्रमा चित्त बुझायो ।
पुलिसले फाइनल खेलमा पहिलो, तेस्रो र चौथो सेट जित्यो भने एपिएफले दोस्रो सेट जितेको थियो । पुलिसले पहिलो सेट २५–२३, तेस्रो सेट २५–१८ र चौथो सेट २५–२१ ले जितेको हो । एपिएफले दोस्रो सेटमा पुलिसलाई २५–२० ले हराएको थियो ।
प्रतियोगिताकी सर्वोत्कृष्ट खेलाडी पुलिसकी आशिका क्षेत्री भइन् । उनले नगद १५ हजार र ट्रफी पाइन् । बेस्ट कोच पुलिसका रुपेश विष्ट भए । उनले नगद १० हजार र ट्रफी पाए ।
त्यस्तै, बेस्ट स्पाइकर एपिएफकी सृष्टि खड्गी, बेस्ट ब्लकर पुलिसकी मनिषा चौधरी, बेस्ट सर्भर एपिएफकी जोस्ना महतोे, बेस्ट सेटर पुलिसकी कमला पुन र बेस्ट लिबेरो एपिएफकी जमुना रसाइली भए । उनीहरुले नगद १० हजार र ट्रफी प्राप्त गरे ।
लक्ष्मी माविको खेलमैदानमा भएको प्रतियोगिताको आयोजक अर्जुनधारा नगर खेलकुद विकास समिति र सहआयोजक लक्ष्मी मावि थिए ।
विजेता तथा उपविजेतालाई आयोजक अध्यक्ष सुरेन्द्र धिमाल, प्रमुख अतिथि अर्जुनधारा नगरप्रमुख बलदेव गोम्देन, उपप्रमुख खड्गमाया पराजुली, प्रतियोगिताका प्रमुख सल्लाहकार वीरबहादुर राई, संयोजक प्रभा काम्बाङ, नेपाल भलिबल संघका केन्द्रीय उपाध्यक्ष मदन खड्कालगायतले पुरस्कार वितरण गरेका थिए ।

ओली प्यानलबाट उपाध्यक्ष हुने तयारीमा रहेका आचार्यविरुद्ध भ्रष्टाचार मुद्धा

यही मंसिर २७ गतेदेखि हुन लागेको नेकपा एमालेको एघारौँ महाधिवेशनमा उपाध्यक्षका लागि उम्मेदवारी दिन तयार भीमप्रसाद आचार्य पोखरा विमानस्थलमा भएको भ्रष्टाचारका मुख्य प्रतिवादी बनेका छन्। पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका क्रममा भएको भ्रष्टाचारमा उनको मुख्य संलग्नता रहेको ठहरसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीसहित अन्य मन्त्री र कर्मचारीविरुद्ध आइतबार विशेष अदालतमा मुद्दा चलाएको छ ।

पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा भएको भ्रष्टाचार मुद्दामा नेकपा (एमाले) का नेता एवम् पूर्वपर्यटनमन्त्री आचार्यलाई मुख्य प्रतिवादी बनाउँदै विशेष अदालतमा आरोपपत्र दायर गरेपछि उनी उपाध्यक्षमा उठ्ने सम्भावना पनि करिब सकिएको छ ।

सरकारवादी फौजदारी मुद्दा भएका कारण उनी एमालेबाट निलम्बित हुन सक्छन् । यसअघि एमाले सचिव टोपबहादुर रायमाझीविरुद्ध नक्कली भुटानी शरणार्थी प्रकरणमा मुद्दा चलेको थियो । त्यसयता उनी एमालेबाट निलम्बित अवस्थामा छन् ।

आचार्य यसपटक अध्यक्ष केपी शर्मा ओलीको प्यानलबाट उपाध्यक्षमा उम्मेदवारी दिने तयारीमा थिए । उनी कोशी प्रदेशका पूर्वमुख्यमन्त्री समेत हुन् । उनी २०७९ को चुनावमा सुनसरी क्षेत्र नम्बर ३ बाट विजयी भएका थिए ।

आचार्यले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री र नेपाल नागरिक उड्डयन प्राधिकरण सञ्चालक समितिको अध्यक्ष रहँदा (२०७० पुस–फागुन) सार्वजनिक खरिद ऐनको ठाडै उल्लंघन गरी चिनियाँ कम्पनी चाइना सीएएमसी इन्जिनियरिङ कम्पनी लिमिटेडलाई अस्वाभाविक मूल्यमा ठेक्का दिने निर्णयमा निर्णायक भूमिका खेलेको अख्तियारको ठहर छ।